Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026
Home Blog Page 273

अपांग महिलालाई कृत्रिम खुट्टा प्रदान

0

वीरगंज । रोटरी क्लब बीरगंज र माहेश्वरी समाज बीरगंजको संयुक्त पहलमा पर्सा जिल्लाकी एक अपांग महिलालाई निःशुल्क कृत्रिम खुट्टा (तल्लो अप्राकृतिक खुट्टा) प्रदान गरिएको छ।

उक्त सहयोग कार्यक्रम माहेश्वरी समाज बीरगंजका अध्यक्ष प्रकाश बाहेतीको आर्थिक योगदानमा, रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टर मार्फत सम्पन्न भएको हो।

कार्यक्रमका सह–आयोजक तथा स्थानीय संयोजकको रूपमा रोटरी क्लब बीरगंजले सक्रिय भूमिका निभाएको थियो । क्लबका अध्यक्ष रोटेरियन गोपाल खेतानले अपांगता भएका नागरिकहरूको जीवनमा आशा र आत्मनिर्भरता पुनःस्थापित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले रोटरी क्लब समाजसेवामा सदैव अग्रसर रहँदै आएको र आगामी दिनहरूमा पनि यो अभियानलाई अझ व्यापक रूपमा विस्तार गर्ने लक्ष्य रहेको बताए।

माहेश्वरी समाज बीरगंजले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिरहेको यस्तो कार्यले अपांग व्यक्तिहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रोटरी क्लब बीरगंजद्वारा सञ्चालित यस कृत्रिम खुट्टा वितरण अभियानमार्फत हालसम्म सयौं अपांग व्यक्तिहरू लाभान्वित भइसकेका छन्। विज्ञहरूका अनुसार एकवटा कृत्रिम खुट्टा प्रत्यारोपणमा औसत रूपमा १६ हजार ५ सय बराबरको खर्च लाग्ने जानकारी सर्वसाधारणलाई दिइएको छ ।

क्लबका सचिव रोटेरियन राकेश मिश्राले अपांगता भएका व्यक्तिहरूको जीवनमा आशाको उज्यालो फैलाउने यो अभियानले सामाजिक समावेशीता, आत्मसम्मान र मानव अधिकारको संरक्षणमा सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरे ।

लिटिल बडी प्रि-स्कुलमा ‘मम एण्ड मी’ प्रतियोगिता सम्पन्न

0

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ८ स्थित पानी टंकीमा रहेको लिटिल बडी प्रि-स्कुलले ‘मम एण्ड मी’ प्रतियोगिता सम्पन्न गरेको छ । स्कुलका प्रिन्सिपल विजय बलको अध्यक्षता र घरेलु तथा साना उद्योग विभागकी रिमा साहको प्रमुख आतिथ्यमा वीरगंजस्थित क्लासिक ब्यांकेटमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमका प्रमुख अथिती साहले यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक तथा भावनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, स-साना नानीहरूलाई अभिभावकसँग सँगै सहभागी गराइने कार्यक्रमले प्रेरणा प्रदान गर्ने धारणा व्यक्त गरिन् ।

साे अवसरमा प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तवले भने, “विद्यार्थीहरूलाई केवल पढाइ मात्र होइन, उनीहरूको आत्मविश्वास, अभिव्यक्ति र सिर्जनात्मक क्षमताको विकासका लागि यस्ता कार्यक्रम आवश्यक छन्।”

कार्यक्रममा भएकाे डान्स प्रतियोगितामा आठ जोडी सहभागी भएका थिए । साे प्रतियाेगितामा आमा करिश्मा खड्का र छोरी रिधिमा खड्का प्रथम, आमा संगीता चौधरी र छोरी हेजल चौधरी देस्राे र आमा स्मिता कर्ण र छोरा आरब कर्ण तेस्राे भएका थिए ।

कार्यक्रम मै भएकाे फेसन शो प्रतियोगितामा करिब एक सय आमा–सन्तानको उत्साहजनक सहभागिता रहेकाे थियाे । प्रतियाेगिताकाे निर्णायक मण्डलमा रुपसी क्षेत्री र अपेक्षा झा रहेका थिए । कार्यक्रमको सहजीकरण स्वयता साह र एलिसा मिजारले गरेका थिए ।

कार्यक्रममा प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, बीरगंज युवा समाजका सल्लाहकार माटिन मोक्तान, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, विद्यालय व्यवस्थापन समिति सदस्य सुप्रिया पौडेल, रुचिका श्रीवास्तव, अभिभावक, विद्यार्थी र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वीरगंजमा अमेरिकाको प्यालेस्टाइनमाथिको आक्रमणविरुद्ध विरोध प्रदर्शन

0

वीरगंज । संयुक्त बाम अभियान पर्साको आयोजनामा शनिबार वीरगंजको घण्टाघरमा अमेरिकाले प्यालेस्टाइनमाथि गरेको आक्रमणको विरोधमा प्लेकार्डसहित विरोध प्रदर्शन गरिएको छ ।

विरोध प्रदर्शनमा सहभागीहरूले “अमेरिकी साम्राज्यवाद–मूर्दावाद”, “इजरायली फासिवाद–मूर्दावाद”, “संयुक्त राष्ट्रसंघको बडापत्र पालना गर”, “प्यालेस्टायनी सार्वभौमिकताको रक्षा गर”, “नरसंहार बन्द गर” लगायतका नाराहरू प्लेकार्डमा लेखी प्रदर्शन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले प्यालेस्टाइनमाथिको आक्रमण तत्काल बन्द गर्न माग गर्दै भने, “प्यालेस्टाइनी जनता बाँच्न पाउनुपर्छ, विश्व शान्ति कायम हुनु पर्छ।”

प्रदर्शन कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य बाबुराम कौशिक, पूर्व जिल्ला संयोजक रामदरश कुशवाहा, महमद सलाम, एकीकृत समाजवादीका नेता किशोरी कुशवाहा, बृजलाल पासवान, राष्ट्रिय जनमोर्चाका अच्छेलाल साह, हिमालचन्द्र गौतम, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका धनबहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

संयुक्त बाम अभियान पर्साले साम्राज्यवादी हस्तक्षेप र युद्धविरोधी धारणा सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय न्याय र शान्तिको पक्षमा दृढ ऐक्यबद्धता प्रकट गरेको छ ।

पर्सामा खानेपानी र सिंचाई समस्या समाधानका लागि समन्वय समिति बैठक सम्पन्न

0

वीरगंज । पर्सा जिल्लाको खानेपानी र सिंचाई समस्याको समाधानका लागि आइतबार खानेपानी तथा सिंचाई सम्बन्धि समन्वय र सहजीकरण समितिको बैठकमा सम्पन्न भएकाे छ । जिल्ला समन्वय समितिका प्रमुख निरञ्जन साह सोनारको अध्यक्षतामा बसेकाे बैठक सम्पन्न भएकाे हाे ।

बैठकमा पर्सा जिल्लाको पानी संकट समाधान गर्नका लागि नौ बुँदे निर्णयहरू पारित गरिएका छन् । निर्णय अनुसार हालसम्म जडान गरिएका धारा तथा डिप बोरिङहरूको विवरण संकलन गरिनेछ, खानेपानी अभाव रहेका क्षेत्रको पहिचान गरी त्यहाँ पानी आपूर्तिको अवधारणा पत्र तयार गरिनेछ ।

बैठकले वास्तविक अभाव भएका क्षेत्रमा न्यूनतम ५ हजार लिटर क्षमताका पानी ट्याङ्की जडान गर्ने निर्णय पनि गरेको छ। युनिसेफ नेपाल र जिल्ला समन्वय समिति मिलेर सात दिनभित्र यो कार्य सम्पन्न गर्नेछ ।

त्यसैगरी, विद्यमान डिप बोरिङहरूमा विद्युत आपूर्तिका लागि उपभोक्ता समिति गठन गरी मिटर जडान गरिनेछ । साथै, जहाँ वैकल्पिक स्रोत छैन, त्यहाँ स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसमा नयाँ डिप बोरिङ जडान गरिनेछ ।

नेपाल विद्युत प्राधिकरणले खानेपानी तथा सिंचाई प्रयोजनको लागि विद्युत मिटर जडानको निवेदन प्राप्त भएको २४ घण्टा भित्र मिटर जडान गरिसक्नुपर्ने निर्णय समेत गरिएको छ।

खानेपानीको किफायती प्रयोग तथा स्वच्छता प्रवर्द्धन गर्न अभियान सञ्चालन गरिनेछ, जसको समन्वय युनिसेफ नेपालले गर्नेछ । साथै, गण्डक नहरको सरसफाई तथा आवश्यक मर्मतको कार्य आजैदेखि सुरु गरिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गाैतम मिश्र, नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुवे, नेपाल खानेपानी संस्थान वीरगंजका प्रविण कुमार साह, नारायणी सिंचाई व्यवस्थापन कार्यालयका इन्जिनियर सुरेश साह, कृषि ज्ञान केन्द्र पर्साका प्रमुख राम जिवन ठाकुर लगायतकाे उपस्थिति रहेको थियो ।

पर्सामा क्रियाशील कम्युनिस्ट दलहरूको बैठक सम्पन्न, ‘संयुक्त वाम अभियान पर्सा’ गठन

0

वीरगंज । पर्सा जिल्लामा क्रियाशील विभिन्न कम्युनिस्ट पार्टीहरूको संयुक्त बैठक शनिबार वीरगंजकाे रानीसती धर्मशालामा सम्पन्न भएको छ । बैठकले ‘संयुक्त वाम अभियान पर्सा’ नामक समन्वय समिति गठन गरेको छ, जसमा प्रत्येक पार्टीबाट जिल्ला अध्यक्ष वा एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

बैठक नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको हाे । गठित समितिको नेतृत्व प्रत्येक दलले तीन–तीन महिनाको लागि आलोपालो गर्ने सहमति भएको नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश कमिटीका सदस्य सुबेदार यादवले जानकारी दिए । पहिलो चरणको संयोजन एकीकृत समाजवादीका अध्यक्ष थापाले गर्ने निर्णय भएको छ।

बैठकले अमेरिकाले प्यालेस्टाइनमाथि गरेको आक्रमणको विरोधमा साउन ११ गते बेलुका ६ बजे वीरगंजकाे घण्टाघरमा प्लेकार्डसहित विरोध प्रदर्शन गर्ने कार्यक्रमको घोषणा समेत गरेको छ ।

बैठकमा सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरूलाई साझा एजेण्डा बनाएर अघि बढ्ने सहमति पनि भएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य बाबुराम काैशिक, पूर्व जिल्ला संयोजक रामदरश कुशवाहा, महमद सलाम, एकीकृत समाजवादीका बिक्रम चौरसिया, बृजलाल पासवान, राष्ट्रिय जनमोर्चाका अच्छेलाल साह, हिमाल चन्द्र गौतम, नेपाल मजदुर किसान पार्टीका सरोज साह, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका धनबहादुर श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका फिरोज सिको उपस्थिती रहेकाे थियाे ।

बैठकले वाम शक्तिहरूको एकता, जनसमस्या र राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा साझा धारणा निर्माण गर्दै संगठित ढंगमा कार्यक्रम अघि बढाउने प्रतिबद्धता समेत जनाएको छ ।

पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

0

वीरगंज । पर्सा जिल्लामा उत्पन्न जलस्रोत अभाव र विपद् व्यवस्थापनसम्बन्धी समस्या समाधानका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक शनिबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयकाे अध्यक्षतामा बसेको बैठकले कृषक क्षतिपूर्तिदेखि लिएर गण्डक नहर, डिप बोरिङ र खानेपानी समस्यासम्मका विषयमा विभिन्न आठवटा महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले धान खेतीमा भएको क्षतिको मूल्याङ्कन गरी कृषकलाई क्षतिपूर्ति प्रदान गर्न कृषि ज्ञान केन्द्रले आवश्यक विवरण पेश गर्ने, गण्डक सम्झौता बमोजिम ८५० क्युसेक पानी भारतबाट सुनिश्चित गराउन गृह मन्त्रालयमार्फत पहल गर्ने, गण्डक नहर र डिप बोरिङको अवस्था अनुगमन गर्ने निर्णय गर्दै हाल वितरण भइरहेको पानीको नियमित अनुगमन गर्न समितिले निर्देशन दिएको छ ।

यसैगरी बैठकले डिप बोरिङ सञ्चालनका लागि उपभोक्ता समिति गठन गरी, उनीहरूकै नाममा विद्युतीय मिटर जडान गरिनेछ, जसको सहजीकरण वडा अध्यक्ष र विद्युत प्राधिकरणले गर्ने निर्णय गरेकाे छ । यसका साथै खानेपानी र सिंचाइको समस्या समाधानका लागि समन्वय समिति गठन गरिएको छ, जसको संयोजक जिल्ला समन्वय समिति प्रमुख निरञ्जन साह सोनार रहनेछन् ।

नयाँ डिप बोरिङ जडान गर्दा समितिकाे सिफारिसअनुसार मात्रै जडान गर्नुपर्ने निर्णय पनि भएकाे छ । विपद् अवधिमा कार्यालय प्रमुखले जिल्ला प्रशासनको स्वीकृति बिना जिल्ला नछोड्ने निर्णय पनि बैठकमा पारित भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

जिल्ला प्रशासन कार्यालय पर्साकाे सभाहलमा बसेकाे बैठकले जिल्ला स्तरमा समन्वय, निगरानी र जनउत्तरदायिता बढाउन स्थानीय तह, सम्बन्धित कार्यालय तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ ।

रोट्रयाक्ट क्लब अफ वीरगंजकाे नवौं पदस्थापन तथा सम्मान समारोह सम्पन्न

0

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसको नवौं पदस्थापन तथा सम्मान समारोह शनिबार एक भव्य समारोहबीच वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंजस्थित बीपीसी अडिटोरियम, बीआईएम भवनमा भएकाे कार्यक्रमकाे उद्घाटन रोटेरियन संजय जोसीले गरेका थिए । कार्यक्रममा क्लबका नव निर्वाचित अध्यक्ष दिपु कुमार वर्णवाल सहित नयाँ कार्यसमितिको औपचारिक रुपमा पदस्थापन गरिएको थियो । नवौं कार्यकाल (२०२४/२५) का लागि नवगठित समितिलाई पद तथा गोपनीयताको शपथ गराउँदै क्लबका पुराना पदाधिकारीहरूले शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा क्लबले विगत वर्षका उत्कृष्ट सदस्यहरू तथा समाजसेवामा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मानसमेत गरेको थियो । कार्यक्रममा क्लबका अध्यक्ष वर्णवालले आगामी वर्ष क्लबले गर्ने सेवा कार्यहरूबारे प्रकाश पार्दै सबैलाई सहकार्य र साथको अपील गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गाैतम मिश्र, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तव, वीरगंज जेसिसका अध्यक्ष सराेज चाैरसिया, वीरगंज मानव सेवा आश्रमका दिवेश गुप्ता, समाजिक अभियान्ता प्रकाश थारु, राजन श्रीवास्तव, प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकाेटे मगर, समाजवादी प्रेस संगठन मधेश प्रदेशका अध्यक्ष मनाेज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, रोट्र्याक्ट क्लबका सल्लाहकार अलाेक रंजन कर्ण, हरिओम साह, प्रकाश कर्ण लगायतकाे उपस्थिती रहेकाे थियाे ।

पर्सामा असार महिनाका उत्कृष्ट प्रहरी शिवशंकर

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले २०८२ सालको असार महिनाका लागि प्रहरी सहायक हवल्दार शिवशंकर प्रसाद यादवलाई “उत्कृष्ट प्रहरी (Best Police of the Month)” घोषित गरेको छ।

जिल्ला प्रहरी कार्यालय अन्तर्गत सूचना संकलन शाखामा कार्यरत यादवले कार्यालयले तोकेको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दारीपूर्वक, कर्तव्यनिष्ठ भएर र उच्च व्यावसायिकताका साथ निर्वाह गर्दै आएका छन् ।

चोरी नियन्त्रण, हराएका मोबाइलको खोजतलास, साइबर अपराध अनुसन्धान, लागुऔषध तथा अन्य विभिन्न प्रकृतिका अपराधका घटनाहरूको सफल प्रतिवेदन संकलन, नेटवर्किङ तथा सूचना संकलनमा उनले देखाएको दक्षता र सक्रियता विशेष सराहनीय रहेको कार्यालयले जनाएको छ ।

यादवले समाजमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको मूल्यांकन गर्दै २०८२ सालको असार महिनाका लागि उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले शुक्रबार प्रमाणपत्रमार्फत उनलाई असार महिनाकाे उत्कृष्ट प्रहरीकाे रुपमा सम्मान गरेका हुन् । साे अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक किशाेर लम्सालकाे समेत उपस्थिती रहेकाे थियाे ।

प्याब्सन छात्रवृत्ति परिक्षा भाेली शनिबार

0

वीरगंज । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) वीरगंजद्वारा सञ्चालित छात्रवृत्ति परीक्षा भाेली शनिबार हुने भएकाे छ । एसआर ग्यालेक्सी एकेडेमी वीरगञ्ज-१३ राधेमाईमा हुने परिक्षाकाे सम्पूर्ण तयारी पुरा भएकाे प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार परीक्षामा सहभागी विद्यार्थीहरू बिहान ९ बजे नै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने छ । परीक्षा बिहान १० बजेबाट सुरु हुनेछ । परीक्षा दिन आउने सबै विद्यार्थीहरूले अनिवार्य रूपमा आफ्नो मूल प्रवेश पत्र (Original Admit Card) ल्याउनु पर्नेछ, अन्यथा परीक्षा दिन अनुमति नदिइने प्याब्सन वीरगंजले जारी गरेकाे सूचनामा उल्लेख गरिएको छ।

विद्यार्थी वा अभिभावकलाई थप जानकारी आवश्यक परेमा ९८१२२४४२२३, ९८२८१०१४३५, वा ९८०९१२०७०७ मा सम्पर्क गर्न सकिने बताइएको छ । पांच सय भन्दा बढी सहभागि हुन लागेका छात्रवृति परिक्षामा प्याब्सनले २८ जनालाई कक्षा ११ र १२ काे लागि पूर्ण छात्रवृती दिने घाेषणा गरेकाे छ ।

बारा आएका ओलीले पानी संकट समस्या समाधान र राहतकाे बारेमा बाेलेनन्, जनता निराश

0

परवानीपुर । पानी संकट अर्थात विपद् संकटग्रस्त बारा जिल्लाको परवानीपुर गाउँपालिकामा शुक्रबार पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय जनताको मुख्य समस्याबारे कुनै प्रतिक्रिया नजनाउँदै फर्किएका छन्।

परवानीपुर गाउँपालिकाकाे‍ प्रशासनिक भवनको उद्घाटन गर्न आएका प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा विकासका कुराहरू मात्रै उठाए पनि परवानीपुर र आसपासका क्षेत्रका बासिन्दाले झेल्दै आएको पानी संकट, सुख्खा ग्रस्त विपद्सम्बन्धी समस्याबारे भने एक शब्द पनि बोलेनन्।

परवानीपुर र छिमेकी पर्सा जिल्लाका बासिन्दा लामो समयदेखि खानेपानीको अभावले जीवन कष्टकर भएको गुनासो गर्दै आएका छन् । साथै, लामाे समयदेखि पानी नपर्दा धान खेती सुखेकाे र सिचाई अभावमा धान खेती सुख्दै थएकाे छ । यस्ता गम्भीर विषयमा प्रधानमन्त्रीको मौनताले स्थानीय जनता निराश बनेका छन्।

“हामीलाई सडक, भवन भन्दा पहिले खानेपानी र सिचाई चाहिएको हो,” एक स्थानीय बासिन्दाले गुनासो गर्दै भने, “प्रधानमन्त्री आए, तर हाम्रो आवाज नसुनी फर्किए।”

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा देश विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको बताए पनि, स्थानीय जनजीवनका तत्कालीन चुनौतीहरूबारे चासो नदिएकोप्रति सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ ।