Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026
Home Blog Page 261

खसीको मासु हो भनी बाख्राको मासु विक्री गर्ने पक्राउ

वीरगंज । पर्सा प्रहरीले मंगबार वीरगंजबाट खसीको मासु हो भनी बाख्राको मासु विक्री गर्ने एक जनालाई पक्राउ गरेकाे छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटि गएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१३ प्रतिमा चोकबाट आसमिन फ्रेस हाउसका संचालकलाई पक्राउ गरेकाे हाे ।

सूचनाकाे आधारमा प्रहरी टोलीले आसिन प्रेस हाउसकाे तलासी लिँदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसी बेचिरहेको अवस्थामा फेला पारेकोले उक्त पसलका संचालक वीरगंज महानगरपालिकाकाे वडा नं.१३ निवासी ४१ बर्षिय हारून मियाँ अन्सारीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

अन्सारीलाई उक्त खसीको अण्डकोष टाँसिएको बाख्राको मासु १५ के.जी.सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ कालोबजारी सम्बन्धी कसुरमा तालुक जिल्ला प्रशासन कार्यालय पर्साबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लाम्सालले जानकारी दिए ।

विपद् व्यवस्थापनमा सहयाेग गर्ने ९ संस्था सम्मानित

वीरगंज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बाढी, पहिरो र भुकम्प सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेकाे छ । जिल्ला प्रशासन कार्यालय पर्साकाे आयाेजनामा भएकाे कार्यक्रममा विपद् व्यवस्थापन कार्य एवं राहत वितरण कार्यमा सहयाे पुऱ्याउने संस्था र व्यक्तिलाई सम्मान समेत गरिएकाे हाे ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेकाे प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विपद् व्यवस्थापनमा सहयाेग गर्ने ९  संस्थालाई कदर पत्रले सम्मान गरिएकाे हाे ।

सम्मानित हुनेमा सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमाल, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा.पर्सा, रूंगटा वेलफेयर सोसाइटी, वीरगंज उद्योग वाणिज्य संघ नेपाल, रेडक्रस सोसाइटी, रोटरी क्लब अफ वीरगंज, नेपाल यूवा उद्यमी मंच, वीरगंज च्याप्टर ग्रीन सिटी सामुदायीक सेवा केन्द्र, पर्सा, लायन्स क्लब, वीरगंज र नेपाल पत्रकार महासंघ, पर्सा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयकाे सभा हलमा भएकाे कार्यक्रममा पाेखरिया नगरपालिकाका मेयर प्रधुमन चाैहान, कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ठ कुमार गुप्ता, प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी, सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गाैतम, सुमन कुमार कार्की, प्रशासकिय अधिकृत दिपक कुमार पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

सो कार्यक्रम सँगै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट विभिन्न निर्णयहरु भएको एवं यस वर्षको शितलहरबाट प्रभावित गरिब तथा बिपन्न परिवारलाई न्यानो कपडा लगायतका राहत सामाग्री उपलब्ध गराई विपद् व्यवस्थापन कार्य एवं राहत वितरण कार्यमा पुऱ्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै ९ व्यक्ति र संस्थालाई कदर-पत्र प्रदान गरिएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

नारायणी अस्पतालकाे मुद्दा सर्वाेच्चले फैसला गरेपछि वीरगंजबासी खुशी, गरे दिपप्रज्वलन

वीरगंज । सर्वाेच्च अदालतले वीरगंजकाे नारायणी अस्पतालकाे भवन निर्माण सम्बन्धि मुद्दाकाे फैसला गरेपछि वीरगंजबासी खुसी भएका छन् । पाँच बर्षदेखि अड्किएकाे नारायणी अस्पतालमा ५०० शैयाकाे भवन निर्माण सम्बन्धि मुद्दाले निकास पाएपछि साेमबार सांझ वीरगंजकाे घण्टाघरमा दिप प्रज्वलन गरिएकाे छ । 
 

सर्वाेच्च अदालतले ५ बर्षपछि निकास दिएपछि वीरगंजमा दीप प्रज्वलन कार्यक्रम गरेर खुशीयाली मनाइएकाे हाे । साेमबार साँझ नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, नागरिक समाजका अगुवा, राजनीतिक दलका नेताकार्यकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले घणटघर चाेकमा दीप प्रज्वलन गरेर खुशीयाली मनाएका हुन् ।

दिप प्रज्वलनमा सहभागि पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले सर्वाेच्च अदालतकाे फैसला स्वागत योग्य रहेकाे बताए । उनले अब नारायणी अस्पतालकाे भवन निर्माणकाे काम फास्ट ट्रयाकबाट सुरु गराउन नागरिक समाज निरन्तर लाग्नु पर्ने वताए ।

उनले भने,`वीरगन्जका हकमा अन्यपनि महत्वाकांक्षी परियाेजनाका मुद्दा सर्वाेच्चमा बर्षाैदेखि विचाराधीन छन् । अब ती मुद्दाकाेपनि सर्वाेच्चले छिट्टै छिनाेफानाे लगाइदिनु पर्छ ।´त्यसका लागिपनि वीरगंजबासीले यस्तै दबाब र खबरदारी अभियान सुरु गर्नुपर्नु धारणा उनले राखे ।

सर्वाेच्च अदालतले यसअघिको उच्च अदाल जनकपुर अस्थायी इजलाश वीरगंजले निर्माण कम्पनिकाे पक्षमा गरेकाे फैसला साेमबार उल्टाइ दिएपछि भवन निर्माण प्रकृयाले निकास पाएकाे हाे ।
 
सर्वाेच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र सुनिल पाेख्रेलकाे संयुक्त इजलाशले उच्च अदालतले यसअघि निर्माण कम्पनिको पक्षमा गरेको फैसला उल्ट्याउँदै शहरी विकास तथा भवन निर्माण विभागकाे पक्षमा फैसला गरेकाे नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी दिए । साेमबार सर्वाेच्च अदालतले गरेकाे फैसलाकाे पूर्णपाठ भने आउन बाँकी नै रहेकाे उनले बताए ।
 
सर्वाेच्चकाे फैसलाले ५ बर्षदेखि अन्याेलमा रहदै आएकाे ५०० शैयाकाे भवन निर्माण प्रकृयाले अब भने निकास पाएकाे अस्पतालका सुचना अधिकारी वरिष्ठ चिकित्सक डा. उदयनाराण सिंहले बताए । उनले भने,`भवनका लागि हामी ५ बर्षदेखिदिनरात नभनेर लागि परेका थियाैं । आज सर्वाेच्चकाे याे फैसलाले अस्पतालका सबै स्वास्थ्यकर्मी, कर्मचारी मात्रै नभई वीरगंजबासी समेत हर्षित छन् ।
 
अस्पतालका वरिष्ठ चिकित्सकसमेत रहेका भवन निर्माण संघर्ष समितिका संयाेजक डा. नीरज सिंहले सर्वाेच्चकाे फैसलाले अब भवन निर्माणका लागि नयाँ प्रकृया सुरु गर्न सरकारलाई बाटाे खुलेकाे बताए ।
 
वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले लामो समयदेखि बिचारधिन अवस्थामा रहेकाे नारायणी अस्पतालकाे मुद्दामा सर्बोच्च अदालतको ऐतिहासिक फैसलाले अस्पताल निर्माणको बाटो खुलेकाे वताए । उनले मुद्दा फैसला गर्ने सर्बोच्च अदालतका न्यायाधीशहरुलाई धन्यवाद समेत दिए ।
 
सरकारले नारायणी अस्पताललाई २०७४ सालमै केन्द्रिय अस्पताल घोषणा गरेर ५०० शैयाकाे नयाँ पाँच तल्ले भवन निर्माणका लागि २०७५ चैत १८ गते १ अर्ब ५५ करोड ५३ लाख ८४ हजार ७५ रुपैयाँ बजेट विनियोजनपनि गरेको थियो । भवन निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र (टेण्डर ) आह्वान गरेको थियो । २०७६ साल जेठ २ गते बेलपत्र खोल्दा एकमात्र बोलपत्र बंगलादेशको एनडिइ/भ्याली कन्स्ट्रक्सन प्रालि(भिसिपिएल)/ नेसनल डेभलपमेन्ट इञ्जिनियरिङ (एसएसएनसी) पुल्चोक ललितपुरलाई परेको थियो ।
 
तर सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली अनुसार २०७५ को नियम ३१ (ङ) को उपनियम (१) बमोजिम स्वदेशी बोलपत्रदाताहरुबीच मात्रै प्रतिस्पर्धा गराउनु पर्ने व्यवस्था भएकाले उक्त बोलपत्र दाता पूर्णताको परिक्षामा अनुत्तीर्ण भएको निर्णय विभागले गरेको थियो । त्यसपछि विभाग र ठेकेदार कम्पनिबीचको विवाद अदालतमा पुग्यो । उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजले २०७६ मंसिर ८ मा सुरुमा बोलपत्र दाखिला गरेको निवेदन समेतलाई समावेश गरी पुन अर्को बोलपत्र प्रकृया अगाडि बढाउन शहरी विकास तथा भवन निर्माण विभागको नाममा परमादेश जारी गरेको थियो ।
 
त्यसपछि शहरी विकास तथा भवन निर्माण विभागले २०७६ फागुन १ गते पुन अर्को बोलपत्र आह्वान गरेको थियो । तर दोस्रो पटकको बोलपत्र आह्वानमापनि सुरुको निर्माण कम्पनिहरुले बैंक भौचरमा नाम फरक परेको कागजात पेश गरेको भेटिएपछि उसको बोलपत्र विाभगले फेरि बदर गरिदिएको थियो । त्यसपछि  ठेकेदार कम्पनी पुन उच्च अदालतमा पुगेको थियाे । उच्च अदालतले ठेकेदारकै पक्षमा फैसला गरेपछि उक्त फैसलाकाे विरुद्धमा शहरी विकास तथा भवन निर्माण विभागले सर्वाेच्च अदालतमा पुनरावेदन हालेको थियाे ।
 
तर सर्वाेच्च अदालतले उक्त मुद्दाकाे पटक पटक पेसी सार्दै ५ बर्षदेखि छिनाेफानाे नलगाउँदा भवन निर्माण प्रकृया अन्याेलमा परेको थियाे ।
 
सर्वाेच्च अदालतमा ५ बर्षदेखि अड्किएकाे भवन निर्माण सम्बन्धिकाे मुद्दाको छिनाेफानाे छिट्टै लगाउनका लागि दबाब दिन अस्पतालका डाक्टर, नर्स र कर्मचारीहरुले माघ १८ गतेदेखि आन्दोलन गर्दै आइरहेका थिए । उनिहरुकाे आन्दाेलनप्रति वीरगंजका नागरिक समाज, राजनीतिक दल, विद्यार्थी संघसंगठन लगायतले संस्थागत रुपमै ऐक्यबद्धता जनाउँदै सडक प्रदर्शनपनि गर्दै आइरहेका थिए ।
 

वीरगंजमा संचालित एचपिभि खाेप कार्यक्रममा लापरवाही, सुधार गर्न सिडिओ अर्यालकाे निर्देशन

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालय वीरगंजमा संचालित एचपिभि खाेप कार्यक्रमकाे साेमबार स्थलगत अनुगन गरेका छन् । स्थलगत अनुगमनको क्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा संचालन भएको खोप कार्यक्रममा गंभीर लापरवाही भएको देखिएको प्रमुख जिल्ला अधिकारी अर्यालले वताएका छन् । 

अधिकारी अर्यालले उक्त विद्यालयको खोप कार्यक्रम स्थगन गरी ९ बुंदे निर्देशन समेत दिएका छन् । अनुगन पछि वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई पत्र लेख्दै अर्यालले ९ बुंदे निर्देशनकाे पूर्ण कार्यान्वयनको सुनिश्चितता गरी आगामी दिनमा यस्तो लापरवाही नहुने कुराको सुनिश्चितता गरेर मात्र खोप कार्यक्रम संचालन गर्नु/गराउनु हुन सूचित गराएका छन् ।

अधिकारी अर्यालका अनुसार अनुगमनकाे क्रममा खोप कार्यक्रममा सहभागी किशोरीहरुको नाम दर्तामा क्रममा विद्यालयका विधार्थीहरुलाई प्रयोग गरिएको, खोप लगाउने स्थानको सरसफाईमा ध्यान नदिइएको, सेफ्टी बक्सको व्यवस्था नगरिएको र Vaccine Carrier तथा सिरिन्जहरु समेत फोहोर भुईमै राखेर खोप लगाईएको भेटिएकाे थियाे ।

यसैगरी खोप संचालन पूर्व counselling तथा खोप पश्चात आराम गर्ने स्थलको प्रबन्ध नगरिएको, किशोरीहरु खोपको प्रकृति तथा महत्व एवं उपयोगिताका विषयमा पूर्णतः अनभिज्ञ रहेको देखियो, Vaccinator तथा कार्यक्रममा संलग्न कुनैपनि स्वास्थ्यकर्मीले पोशाक लगाएको नदेखिएको। ६. Icepack लगायतका सामग्रीहरु, Cutton तथा Niddle लगायत AEFI Kits को उपयुक्त तवरले प्रबन्ध भएको नपाईएको पनि देखिएकाे थियाे ।

खोपकेन्द्रमा खोपसँग सम्बन्धित सूचना सम्प्रेषण गर्ने जनशक्ति, सामग्री इत्यादीको उपलब्धता देखिएन, किशोरी संख्याको आधारमा Vaccinator तथा Volunteer हरुको प्रबन्ध नगरिएको र खोपस्थलमा न्यूनतम सावधानी, सरसफाई, सुरक्षा लगायतका विषयहरु उपेक्षित रहकोले खाेप अभियानकाे व्यवस्थापन गरि सुधार गर्नु पर्ने अधिकारी अर्यालयले जनाएका छन् ।

वीरगंजमा विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न, बिपिएस प्लस टुका सुमित प्रथम, साउथजाेनका विशाल भए देस्राे

वीरगंज । हिन्दु स्वयंसेवक संघ नेपालद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ साेमबार वीरगंजमा सम्पन्न भएकाे छ ।

वीरगंजकाे पुराना बसपार्क आदर्शनगरमा भएकाे परिक्षामा बीपीएस प्लस टु कलेजका बिपिएस प्लस टुका सुमित प्रसाद कलवार प्रथम, साउथजाेन माविका विशाल यादव दाेस्राे र पिसजाेन एकेडमीका प्रतिक्षा यादव तेस्राे भएकाे कार्यक्रम संयाेजक गुप्ताले जानकारी दिए ।

करिब २२ सय भन्दा बढी विद्यार्थीको सहभागितामा सम्पन्न परिक्षामा प्रथम, दाेस्राे र तेस्राे भएकाहरुलाई क्रमश रु २२ हजार पांच सय, रु १६ हजार ५ सय र रु १२ हजार ५ सय नगदसहित प्रमाण पत्रले पुस्कृत गरिएकाे संयाेजक गुप्ताले वताए । 

यसैगरी परिक्षामा बिपिएस प्लस २ कै अनु साह, विशाल साह कलवार, सिताराम प्रसाद कुशवाहा, साउथजाेनका रुपेश कुमार कानु, प्रिन्स चौहान, अभिजित यादव, रजनी कुमारी गुप्ता लगायतका ५५ जनालाई सान्त्वना पुरस्कार रु एक हजार एक सयकाे दरले वितरण गरिएकाे थियाे । 

हिन्दु स्वयसेवक संघ पर्साका जिल्ला संघचालक माधवराजपालकाे अध्यक्षता र नेपाल प्रहरीका पूर्व एआइजी विजयलाल कायस्थकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल भारत सहयाेग मंचका राष्ट्रिय अध्यक्ष अशाेक वैध, श्री माइस्थान विद्यापिठ माविका प्रधानाचार्य मुनिलाल कर्ण लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन डिसमल कलेजका शनी दुबेले गरेका थिए ।

कार्यक्रममा सगरमाथा स्कुल, काव्य स्कुल, डिसिमल स्कुल, सुरजीदेवी मावि, नगवा मावि, माइस्थान मावि तेजस एकेडेमी, पिस जाेन स्कुलका छात्र/छात्राहरुले सांस्कृति नेतृत्य समेत प्रस्तुत गरेका थिए ।

रोटरी मैत्री क्रिकेट प्रतियोगिता सम्पन्न

वीरगंज । रोटरी क्लब अफ वीरगंज र रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको संयुक्त आयोजनामा रोटरी मैत्री क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । महिलातर्फकाे प्रतियोगितामा विभिन्न क्लबका टोलीहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको पहिलो खेल रोटरी क्लब अफ वीरगंज र रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिस बीच भएको थियाे । पाँच ओभरको खेलमा रोटरी क्लब अफ वीरगंजले २८ रनको अन्तरले जीत हासिल गर्‍याे ।

पुरुषतर्फकाे खेलमा रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिस र रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगंजले संयुक्त रूपमा रोट्रयाक्ट क्लब अफ वीरगंज र रोट्रयाक्ट क्लब अफ शंकराचार्यलाई पराजित गर्‍यो । ९ ओभरको खेलमा युनाईटेडले ७५ रनको फराकिलो जीत निकाल्याे ।

त्यस्तै पुरुषतर्फको तेस्रो खेलमा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिस र रोटरी क्लब अफ वीरगंज बीच सम्पन्न भयो । यस खेलमा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले ९ ओभरमा ८२ रनको विशाल अन्तरले जित दर्ता गर्‍यो ।

प्रतियोगिताले क्लबहरूबीच आपसी भाइचाराको सम्बन्ध थप मजबुत बनाएको रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष अनिल जैसवालले बताए ।

रोयल एकेडेमीकाे वार्षिकोत्सव : बालबालिकाद्वारा मानवता र संस्कृतिमा समर्पित प्रस्तुति

वीरगंज । रोयल एकेडेमी वीरगंजले आफ्नाे नवौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । बालबालिकामा सानै उमेरदेखि नै मानवता, नैतिकता र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्य सहित एक कार्यक्रमकाे आयाेजना गरि विद्यालयले बार्षिकाेत्सव मनाएकाे हाे ।

बार्षिकाेत्सवकाे अवसरमा शनिबार विद्यालयले विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रम प्रस्तुत गर्दै बालबालिकाको सिर्जनात्मक प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेको थियो ।

वीरगंजस्थित क्लासिक बैंक्वेटमा भएकाे कार्यक्रममा बाल कक्षा (पीजी) देखि युकेजीसम्मका विद्यार्थीहरूले “मानवताको सुरुवात आफैंबाट” भन्ने विषयवस्तुमा आधारित नाटक प्रस्तुत गरे । त्यस्तै, जातीय पहिचान झल्काउने परम्परागत भेषभूषामा सजिएका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए ।

विद्यालयका अध्यक्ष ओम श्रेष्ठले प्रविधिको विकाससँगै व्यवहारिक शिक्षाको महत्त्व अझ बढेको बताए । उनले भने, “च्याटजीपीटी, एआई जस्ता प्रविधिहरू द्रुतगतिमा अघि बढिरहेका छन् । यस्तो अवस्थामा केवल सैद्धान्तिक ज्ञान होइन, व्यवहारिक ज्ञान र अनुभवलाई जोड दिनु आजको आवश्यकता हो ।”

विद्यालयकी प्रबन्ध निर्देशक सबनम श्रेष्ठले बालबालिकाको चौतर्फी विकास सुनिश्चित गर्न विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको वताइन । उनले भनिन्, “केवल किताबी ज्ञान मात्र पर्याप्त छैन। अतिरिक्त गतिविधिमा अब्बल बनाउँदा बालबालिकाको आत्मविश्वास बढ्छ र उनीहरू आत्मनिर्भर बन्छन् ।”

विद्यालयकी प्रधानाध्यापक बिजया ओझैयाले परिवार मानवता सिक्ने पहिलो थलो भए पनि विद्यालयले यसमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले भनिन्, “सानै उमेरदेखि विद्यार्थीलाई मानवता, नैतिकता र सामाजिक उत्तरदायित्वबारे सचेत गराउनु आवश्यक छ । यसले उनीहरूलाई भविष्यमा समाजप्रति जिम्मेवार नागरिकका रूपमा स्थापित गर्न मद्दत गर्छ ।”

कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता, सञ्चारकर्मी सूर्यनारायण विक, पत्रकार विमला गुप्ता, आनन्द पटेल, ग्लोबल कलेजका सहायक प्रधानाध्यापक सुमन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

जनमत पार्टीकाे १५ औं आँखा शिविर सम्पन्न

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं.३ खलुचडीमा आइतबार निशुल्क आँखा शिविर सम्पन्न भएकाे छ । जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आँखा शिविर अन्तर्गत १५ औं शिविर सम्पन्न भएको हाे ।

शिविरमा १५९ जना महिला /पुरुषले चेकजाँच गराएकाे जनमत पार्टी पर्साले जनाएकाे छ । सो मध्ये ५४ जनामा मोतियाबिन्द भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिए । मोतियाबिन्दु भएकाकोहरुको शल्यक्रिया वीरगंज सामुदायिक आँखा केन्द्रमा निशुल्क रुपमा गरिने अध्यक्ष सरार्फले बताए ।

जनमत पार्टी क्षेत्र न.४ का संयोजक बृजेश्वर चौधरीको अध्यक्षतामा सम्पन्न शिविरमा गादीमाई साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष सहरुम राउत गद्दी, स्थानीय अगुवाहरु सोनालाल रौनियार, मदिस राउत गद्दी, तबरेज राउत गद्दी, प्रहरी सहायक निरीक्षक पल्टु ठाकुर, जनमत पार्टीका नेताहरू जय भोले, रुक्सना खातुन लगायतको सहभागिता रहेको थियो ।

जनमतकाे लाेककल्याणकारी अभियानबाट अहिले सम्म १८ सय ६० भन्दा बढी जना लाभान्वित भएका छन भने ५१० भन्दा बढीको मोतिया बिन्दुको शल्यक्रिया समेत गरिएकाे जिल्ला अध्यक्ष सरार्फले जानकारी दिएका छन् ।

नारायणी अस्पताल निर्माणकाे काम चाँडै सुरु हुनुपर्छ : नेता चाैधरी

वीरगंज । नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य मनाेज चाैधरीले नारायणी अस्पतालकाे भवन निर्माणकाे काम चाँडै सुरु गर्न माग गरेका छन् । 

उनले सरकारले पाँच वर्षअघि नै नारायणी अस्पताललाई केन्द्रीय अस्पतालका रूपमा स्तरोन्नति गर्ने निर्णय गर्दै पाँच सय शय्याको भवन निर्माणका लागि बजेट विनियोजन गरिसकेको भएपनि हाल सम्म भवन निर्माणकाे काम सुरु नभएका कारण अस्पतालकाे सेवा प्रवाहमा समस्या भएकाेले चाँडै नै काम सुरु गर्नु पर्ने माग गरेका हुन् ।

एकीकृत समाजवादीका वीरगंज महानगर समितिका अध्यक्ष समेत रहेका नेता चाैधरीले अस्पतालकाे भवन निर्माणकाे ठेक्का सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा रहेकाे र २८ गते मुद्दाकाे पेशी रहेकाेले अदालतकाे फैसला पक्ष वा विपक्षमा आएपनि तुरुन्त नारायणी अस्पतालकाे निर्माण कार्य सुरु हुनु पर्ने वताए ।

स्थानीयदेखि प्रदेश र केन्द्रसम्मका जनप्रतिनिधिहरूले नारायणी अस्पतालको विषयलाई गम्भीरताका साथ लिनु पर्ने उनकाे भनाई छ । नारायणी अस्पतालको विषय समयमा नटुंगिए वीरगंजका जनताले सडकमा उत्रिएर सरकारलाई घुँडा टेकाउने उनले चेतावनी समेत दिएका हुन् ।

नारायणी अस्पतालका पूर्वाधार अभावका कारण वीरगंजसहित आसपासका जिल्लाहरू बारा, रौतहट, सर्लाही र भारतको बिहार र उत्तर प्रदेश राज्यका समेत गरी लाखौँ नागरिकले स्वास्थ्य सेवामा कठिनाइ भोग्नुपरेको भन्दै नेता चाैधरीले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रदेश स्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी वीरगंजमा सम्पन्न

वीरगंज । मधेश प्रदेश स्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी २०८१ शनिबार वीरगंजमा सम्पन्न भएको छ । भोजपुरी प्रतिष्ठान (वीरगंज महानगरपालिका) र नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (काव्य/पद्य) विभागको सह-कार्यमा प्रदेश स्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी सम्पन्न भएको हो ।

वीरगंजकाे त्रिजुद्ध माविमा भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्ष्तामा आयोजना गरिएको काव्य सङ्गोष्ठीको प्रमुख अतिथि प्रज्ञा-प्रतिष्ठान (काव्य/पद्य) विभाग प्रमुख बाबा बस्नेतले माता सरस्वतीको तस्बिरमा अबिर चढाई कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

प्रदेशको विभिन्न जिल्लाबाट सहभागी कवयित्रीहरुको शानदार प्रस्तुतिले महिलाहरू भान्सा र घरको काममा मात्र सिमित रहेको भ्रमलाई फेरि पनि तोडने काम गरेको गरेको वक्ताहरुको कथन रहेको थियो ।

कार्यक्रम सञ्चालन देखि अध्यक्ष, प्रमुख अतिथि र कविता पढ्ने महिला मात्रै रहेको यो सम्भवत प्रदेशमा पहिलो कार्यक्रम भएको भाषा आयोगका सदस्य तथा भोजपुरी प्रतिष्ठानका सल्लाहकार गोपाल अश्कले जिकिर गरे ।

कवयित्रीको रुपमा सर्लाहीबाट सुमित्रा आचार्य, महोत्तरीबाट मञ्जु मञ्जु भाषिणी, सप्तरीबाट मिन्टु पटेल, रंजना झा, धनुषाबाट पूनम झा “मैथिली”, रौतहटबाट रेणुका जि सी, बाराबाट रीता चौधरी, सीता अधिकारी, राज श्री, पर्साबाट अनु कुमारी मेहता, मंजु कुमारी कोइराला, सीता शर्मा पन्थी, अस्मिता पटेल, उर्मिला गिरी, सानिया हाडाले कविता वाचन गरेका थिए ।

मधेस प्रदेशको साहित्य क्षेत्रमा महिलाहरूको अवस्था स्थिति बारे गीता भण्डारीले प्रस्तुत गरेकाे कार्यपत्रको टिप्पणी शाेभा कुमारी पटेलले गरेकी थिइन ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठान महाशाखा प्रमुख संध्या पहाडी, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, भोजपुरी प्रतिष्ठान वीरगंजको सल्लाहकार गोपाल अश्क, प्रमोद पाण्डे, वरिष्ठ साहित्यकार मुकुन्द आचार्य, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, भोजपुरी प्रतिष्ठान बाराको अध्यक्ष रामप्रसाद साहका साथै विभिन्न क्षेत्रबाट साहित्य प्रेमीहरुको सहभागीता रहेको मुकेश महतोले जानकारी गराए ।

कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका कार्यसमिति सदस्य अमोद गुप्ताले गरेका थिए भने सहजीकरण माधुरी महतोले गरेकी थिइन् ।