Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026
Home Blog Page 260

काठमाडौंमा निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन, पर्साबाट पनि सहभागिता

0

वीरगंज । विद्यालय शिक्षा विधेयकलाई बिहीबार अन्तिम रूप दिने तयारी भइरहेका बेला देशभरका निजी विद्यालय सञ्चालकहरू विरोधमा उत्रिएका छन् । सोही सन्दर्भमा निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन, एनप्याब्सन, हिसान, अपेनलगायतका संस्थाहरूको आव्हानमा काठमाडौंको माइतीघर मण्डलामा विद्यालय सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरूले प्रदर्शन गरेका हुन्।

‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’, ‘अभिभावकको पहिलो रोजाइ, निजी विद्यालयको पढाइ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले सरकारको ध्यानाकर्षण गराए।

सो कार्यक्रममा पर्साबाट पनि विद्यालय सञ्चालकहरूको प्रतिनिधि टोली काठमाडौं पुगेको थियो। केन्द्रीय सदस्य छेडुप लामा, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव, जिल्ला सदस्य शुल्भ केसी, विजय कुमार बललगायतको नेतृत्वमा टोलीले ब्यानरसहित शान्तिपूर्ण प्रदर्शनमा सहभागिता जनाएको हो ।

विद्यालय सञ्चालकहरूले सरकारले ल्याउन लागेको शिक्षा विधेयकले निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पार्ने खालका प्रावधान राखेको आरोप लगाएका छन्। उनीहरूले निजी विद्यालयलाई कम्पनीका रूपमा चलाउने अधिकार खोस्ने, जबर्जस्ती पूर्ण छात्रवृत्ति लाद्ने र गैरनाफामूलक बनाउन खोज्ने जस्ता व्यवस्था अस्वीकार्य भएको स्पष्ट पारे।

“निजी विद्यालयहरूले दशकौँदेखि देशमा गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना र अर्थतन्त्रमा ठूलो योगदान दिएका छन्। तर सरकारले त्यसलाई नमान्ने खालको व्यवहार गरिरहेको छ,” उनीहरूको भनाइ थियो।

सञ्चालकहरूले शिक्षा विधेयकलाई पुनर्विचार गरी सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।

रास्वपा पर्सा क्षेत्र नं. ३ काे सभापतिमा मनोज कुर्मी चयन

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ३ को सभापतिमा पोखरिया निवासी मनोज कुर्मी चयन भएका छन् ।

वीरगंजस्थित कन्ट्री इन होटलमा शुक्रबार आयोजित निर्वाचन क्षेत्र पुनर्गठन तथा पदपूर्ति कार्यक्रममा कुर्मीलाई सर्वसम्मत चयन गरिएको हो । लामो समयदेखि शिक्षण पेशामा संलग्न रहेका कुर्मीले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु गरेका थिए । एक वर्षअघि रास्वपा संगठन विभागका सचिव शंकर श्रेष्ठ र पर्सा जिल्ला सभापति हरि पन्तले उनलाई पार्टीमा प्रवेश गराएका थिए ।

नवगठित क्षेत्रिय समितिकाे उपसभापतिमा महेन्द्र नारायण दास र सुजित कुमार, सचिवमा अरुण गुप्ता र तीन क्षेत्रीय सदस्यसहित सात सदस्यीय समिति गठन गरिएको छ ।

जिल्ला सभापति हरि पन्तले क्षेत्रीय समिति पार्टीको मेरुदण्ड भएको भन्दै क्षेत्र विस्तारले जिल्लामा संगठन बलियो हुने बताएका छन् । उनका अनुसार हालसम्म तीन क्षेत्रीय समिति गठन भइसकेको र आगामी ७ गते शनिबार ठोरीमा हुने भेलामार्फत चौथो क्षेत्रीय समिति पनि गठन हुने छ ।

भेलामा केन्द्रीय सदस्य डा. नन्दन यादव, प्रदेश सदस्य सब्बु कंडेल, पुर्षाेत्तम देव, प्रमोद सहनी, जिल्ला उपसभापति तुलसा पौडेल, सचिव सुदीश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी,पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रा लगायतको उपस्थिति थियो ।

पर्साका सिडिओ अर्यालकाे सरुवा, नयाँ सिडिओ सुवेदी आउँदै

0

वीरगंज । गृह मन्त्रालय मातहतका २० सहसचिव र २४ उपसचिवको एकै पटक सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार सरुवा प्रक्रियामा पर्सासहित काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर भएका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मन्त्रालयमा फिर्ता बोलाइएको छ । उहाँको स्थानमा हाल पाल्पाका सीडीओ तोय नारायण सुवेदीलाई पठाइने भएको छ ।

यस्तै, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा पठाइएको छ भने मन्त्रालय प्रशासन महाशाखामा कार्यरत छविलाल रिजाललाई काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी जयनारायण आचार्यलाई दिइएको छ भने उहाँलाई प्रशासन महाशाखामा खटाइएको छ ।

यस सरुवाले गृह मन्त्रालय र मातहतका विभिन्न प्रशासनिक कार्यालयमा महत्वपूर्ण नेतृत्व तहमा व्यापक फेरबदल ल्याएको छ ।

गौरमा दिनदहाडै छुरा प्रहार, १८ वर्षीय युवकको मृत्यु

0

रौतहट । रौतहटको सदरमुकाम गौरमा दिनदहाडै छुरा प्रहार हुँदा एक युवकको मृत्यु भएको छ।

गौर नगरपालिका–८ स्थित गौरीशंकर क्याम्पस नजिकै करिब १८ वर्षीय युवकलाई बुधवार दिउँसो छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार हत्या गर्ने व्यक्तिको पहिचान गौर नगरपालिका–३ निवासी २० वर्षीय सनोज राम रहेको छ । मृतक र आरोपित युवक एकै स्थानमा काम गर्ने साथी रहेको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी राजु कार्कीका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरिएको छ। मृतकको घर फतुवा बिजयपुर नगरपालिका रहेको भए पनि समाचार तयार पार्दासम्म उनको पूर्ण परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।

घटनापछि स्थानीय बासिन्दा त्रासमा परेका छन् भने आक्रोशितसमेत भएका छन्।

परवानीपुरमा निभासा इन्डष्ट्रिजमा आगलागी, करिब ४० लाखको क्षति

0

वीरगंज । पर्साको बिरगंज महानगरपालिका–२१ परवानीपुरस्थित निभासा इन्डष्ट्रिज प्रा.लि.मा आगलागी हुँदा करिब ३९ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

मंगलबार बिहान करिब ९ः४५ बजेतिर घरमालिक फरजना खातुनले सञ्चालन गर्दै आएको उद्योगमा अचानक विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीको सूचना पाउनासाथ प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरीक्षक डिकर देव पन्तको कमाण्डमा ३० जना प्रहरी टोली, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेत तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक सरोज प्रसाद केसीसहितको टोली खटिएको थियो।

प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा आगो करिब एक घण्टापछि बिहान १०ः४५ बजे नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानविय वा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लम्सालले जानकारी दिए ।

तर, उद्योगमा रहेका मेसिन र सामग्रीमा ठूलो क्षति पुगेको छ । आगलागीबाट हिट ट्रान्सफर्मर मेसिन १ थान (मूल्य करिब रु. ३२ लाख), सर्भो स्टेपलाइजर ७२ के.भी. १ थान (रु. २ लाख २० हजार), रोलिङ मेसिन १ थान (रु. ३ लाख), र वायरिङ पार्ट्स २ सेट (रु. २ लाख) जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ ।

उद्याेग संचालकका अनुसार करिब रु. ३९ लाख २० हजार बराबरको क्षति भएकाे पर्सा प्रहरीका प्रवक्ता लम्सालले वताए ।

सखुवाप्रसौनी गाउँपालिकामा रासायनिक मल वितरण विवाद, किसान आक्रोशित

0

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा नेपाल सरकारको अनुदानित रासायनिक मल वितरणलाई लिएर विवाद चुलिएको छ ।

वडा नं. २ मा रहेको कोडेक नेपाल कृषि सहकारी संस्थाले पत्रकार सम्मेलन गरेर गाउँपालिकाका उपाध्यक्ष तथा मल व्यवस्थापन समितिका संयोजक शर्मिला बिष्ट महतोमाथि अन्यायपूर्ण निर्णय गरेको आरोप लगाएको हो । संस्थाका सञ्चालक सत्यजीत चौधरीका अनुसार सावन १८ गते ल्याइएको २६० बोरा यूरिया र ६५ बोरा डीएपी मलमध्ये उपाध्यक्ष महतोका श्रीमान गौरीशंकर महतोले ४० बोरा यूरिया माग गरेको तर नदिएपछि सिफारिस नै खारिज गरिएको दाबी छ।

संस्थाले सावन २२ गते कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा क्रमशः रु. ३ लाख ३० हजार र १ लाख ८२ हजार रकम जम्मा गरेको थियो। तर, सावन २३ गते गाउँपालिकाले अचानक सिफारिस खारेज गरेपछि मल ल्याउन र किसानलाई वितरण गर्न नसकिएको चौधरीले बताए।

उता, वडा नं. २ का किसान सन्देश साहले भने सहकारीले टोलवार आधारमा वितरण गर्ने गरेको र आफूले सावन १९ मा २५ किलो यूरिया पाएको जानकारी दिए।

यता संयोजक शर्मिला बिष्ट महतोले भने सहकारीले मृतक व्यक्तिको नाममा समेत मल दिएको र एउटै नागरिकताको आधारमा ४ बोरा वितरण गरेको प्रमाण पाइएको आरोप लगाइन्। सो कारण सिफारिस खारेज गरिएको र सहकारीमाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाइएको उनले बताइन्।

सहकारी संस्थाको सिफारिस खारेज भएपछि किसान आक्रोशित बनेका छन् । प्राप्त जानकारीअनुसार पालिकाले क्रमशः वडा नं. ५ को किरण भूमि कृषि सहकारी, बेल माई कृषि सहकारी र वडा नं. ३ को कोपिला कृषि सहकारीलाई मल ल्याउने सिफारिस गरेको तर ती सबैको सिफारिस पनि फेरि खारेज गरिएको छ।

यसैबीच, केही दिन अघि जिल्ला प्रशासन कार्यालय पर्साले सखुवाप्रसौनीमै भण्डारण गरिएको १९१ बोरा रासायनिक मल बरामद गरेको थियो । अहिले गाउँपालिका अध्यक्ष यशवन्त यादव, उपाध्यक्ष महतो, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कृषि शाखा र किसानबीच विवाद समाधानका लागि छलफल भइरहेको बुझिएकाे छ ।

पर्सामा यूरिया मलको अभाव गहिरिँदै, कालाबाजारी चुलियो

0

सेढवा । पर्साको ग्रामीण भेगमा धानबालीका लागि अत्यावश्यक मानिने रासायनिक मल यूरियाको अभाव गहिरिँदै गएको छ। रोपाइँपछिको दोस्रो पटक छर्ने मल अभावका कारण किसानहरु चिन्तित बनेका छन्।

स्थानीय कृषि सहकारीमार्फत कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडले नेपाल सरकारको अनुदानमा मल वितरण गर्दै आएका छन्। तर, आपूर्ति आवश्यकताभन्दा निकै कम भएको किसानहरुले गुनासो गरेका छन्।

जिराभवानी गाउँपालिका–३ नौकाटोलाका किसान शंकर चौधरीले हजारौँ रुपैयाँ खर्च गरेर दुईपटक सिँचाइ गरे पनि मल अभावकै कारण धानमा हाल्न नसकेको बताए। उनले भने, “सिँचाइ गरेको पानी सुकिसकेको छ, मल नहुँदा बालीको विकास नै रोकिएको छ, यसरी उत्पादन घट्ने पक्का छ।”

किसान बिरेन्द्र दहितले पनि पाँच बिघा जमिनमा लगाएको धानमा २५ किलो यूरिया मात्र पाएको बताए। “२५ किलोले केही पनि हुँदैन,” उनले गुनासो गरे।

यता, भारतको सीमावर्ती बजार भंगहा, धुमाटाड जसौली, इनरवा, मैनाटाड, सिकटा, भेलाही लगायतका क्षेत्रमा समेत यूरियाको आपूर्ति घट्दा नेपाली किसान प्रभावित भएका छन्। बिहार सरकारले भारतीय नागरिकलाई मात्र ४२० रुपैयाँमा यूरिया उपलब्ध गराए पनि गैर–भारतीयले नपाउने र सीमा हुँदै आयात पनि घटेका कारण समस्या थपिएको छ।

अभावसँगै कालाबाजारी पनि चुलिएको किसानको आरोप छ। कृषि सहकारीका संचालक र आपूर्तिकर्ता बीचको मिलेमतोमा अनुदानित मल बीचमै बिक्री गरेर किसानलाई कम मात्रामा वितरण गर्ने गरिएको उनीहरुको आरोप छ।

जिराभवानी गाउँपालिका–१ मा हाल नेपाली यूरिया मल प्रति बोरा रु. २२०० र भारतीय मल रु. २००० मा बिक्री भइरहेको किसानहरुले जानकारी दिएका छन्।

दिगो जलव्यवस्थापनका लागि भूमिगत स्रोतको वैज्ञानिक उपयोग अपरिहार्य : खानेपानीमन्त्री यादव

0

काठमाडौँ । खानेपानी, जलस्रोत तथा सिँचाइ मन्त्री प्रदीप यादवले खानेपानी तथा जलस्रोत व्यवस्थापनमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु आजको आवश्यकता भएको बताएका छन्।

नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनले आयोजना गरेको प्रथम नेपाल जलभूगर्भ सम्मेलन २०२५ को उद्घाटन गर्दै मन्त्री यादवले भूमिगत जल स्रोतको दिगो प्रयोग, प्रदूषण न्यूनीकरण, वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनिकरणका विषयमा वैज्ञानिक अनुसन्धान र योजनाबद्ध कार्य आवश्यक रहेको उल्लेख गरे।

मन्त्री यादवले भने, “हामी प्रायः हिमालका नदी, ताल र झरनाको चर्चा गर्छौं तर हाम्रो समृद्धिको ठूलो हिस्सा जमिनमुनि लुकेको भूमिगत जल हो। यो अदृश्य तर अमूल्य स्रोत हो, जसले कृषि, उद्योग र दैनिक जीवनलाई नै धानेको छ।”

उनले सतहमा रहेका जलस्रोतमा बढ्दो चापका कारण भूमिगत जल स्रोतको दोहन तीव्र बन्दै गएको र यसले दीर्घकालीन रूपमा गम्भीर समस्या सिर्जना गर्ने चेतावनी दिए। विशेषगरी तराईका लाखौं नागरिकको जीवन भूमिगत जलसँग प्रत्यक्ष सम्बन्धित रहे पनि यसको महत्व अझै पर्याप्त रूपमा नबुझिनु दुःखद भएको उनले बताए।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईन्जिनियर रामकुमार श्रेष्ठले जलवायु परिवर्तनका कारण तराईमा चापाकल सुकेको र खानेपानीको गम्भीर समस्या देखिएको उल्लेख गर्दै मन्त्रालयले तत्काल राहत र दीर्घकालीन समाधानका लागि योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिए।

त्यसैगरी तलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले भूमिगत जल संरक्षण र उपयोगमा वैज्ञानिक दृष्टिकोण अत्यावश्यक रहेको भन्दै यस्ता सम्मेलनहरूले नीति निर्माणमा योगदान पुर्‍याउने बताए।

सम्मेलनमा नेपालका साथै विदेशी जल व्यवस्थापन विज्ञ, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालय, गैरसरकारी संस्था तथा सरोकारवालाको सहभागिता रहेको थियो। करिब १५० भू–वैज्ञानिक, भूमिगत जल विज्ञ, इञ्जिनियर र वातावरणविद् सहभागी उक्त सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षले खानेपानी र जलस्रोत व्यवस्थापनको दीर्घकालीन समाधानमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

वीरगंजमा भदौ ७ गते विशाल रक्तदान अभियान, ५ सय युनिट संकलन गर्ने लक्ष्य

0

वीरगंज । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले “रक्तदान जीवनदान महादान” भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय स्तरको ग्लोबल मेगा रक्तदान अभियान सञ्चालन गर्न लागेको छ।

आगामी भदौ ६ देखि ९ गतेसम्म नेपाल र भारतका विभिन्न स्थानमा आयोजना हुने यस अभियानमा १०० घण्टामा एक लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ। नेपालभर मात्र ३५ हजार युनिट रगत संकलन गरिने जनाइएको छ।

वीरगंजमा भदौ ७ गते शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म छपकैया–२ स्थित विश्वदर्शन भवन परिसरमा विशाल रक्तदान शिविर आयोजना हुनेछ । वीरगंजमै ५ सय युनिट रगत संकलन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।

संयुक्त राष्ट्रसंघबाट सात पटक शान्तिदूत पुरस्कार प्राप्त ब्रह्माकुमारी संस्था UNICEF तथा ECOSOC का उच्चस्तरीय सल्लाहकारका रूपमा मान्यता पाएको, १३७ राष्ट्रमा सक्रिय संस्था हो । नेपाल रेडक्रस, रोटरी क्लब, विश्वविद्यालय, कलेज र विभिन्न संस्थाको सहकार्यमा देशभर रक्तदान शिविर सञ्चालन हुने कार्यक्रम तय भएको छ।

पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजले भदौ ६ गते सिमरा र वरियारपुर, भदौ ७ गते वीरगंज, कलैया, कोल्हवी, चन्द्रपुर र गौरमा शिविर सञ्चालन हुने जनाएको छ।

क्षेत्रीय सञ्चालिका ब्रह्मचारिणी रबिना दिदीको विशेष उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ प्रशिक्षक गुनराज भाईजी, गोबर्धन भाईजी, छोटेलाल भाईजी, प्रकाश थारु लगायतको सहभागिता रहेको थियो।

संस्थाले स्वेच्छिक रक्तदानजस्तो पुण्यदायी कार्यले संकटमा परेका हजारौं जीवनलाई नयाँ जीवन दिने भएकाले यस अभियानलाई सफल बनाउन सम्पूर्ण सञ्चारमाध्यम र समाजको सहयोग आवश्यक रहेको जनाएको छ।

वीरगंजमा पूर्व रानी साहको जन्मदिन मनाउँदै राजावादीहरुको नाराबाजी

0

वीरगंज । देशभक्त राज भक्त पर्साले बुधबार एक कार्यक्रम आयोजना गरी पूर्व रानी लक्ष्मी देवी साहको जन्मदिन मनाएको छ।

वीरगंजको बालमन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागीहरुले “हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ”, “हामी नेपाली एक हौं”, “राजा कसको जनताको, जनता कसको राजाको”, “नेपाली जनता के भन्छ राजतन्त्र दे भन्छ”, “जय देश जय नरेश” लगायतका नाराबाजी गरेका थिए।

देशभक्त राज भक्तका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजावादी नेताहरू पशुपति विक्रम शाह, उषा साह, हिराबहादुर चन्द, जनक साह, ध्रुव सिंह ठकुरी, महेन्द्र प्रसाद साह, अब्दुल सतार अन्सारी, उमाशंकर रौनियार, रामनरेश पाण्डे, रामविनोद पाण्डे लगायतको सहभागिता रहेको थियो।