Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026
Home Blog Page 262

वृद्ध–अपाङ्ग सेवाग्राहीलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण

0

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंगको निर्देशनअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरूको Biometric Verification (VERSP-MIS) प्रणालीमार्फत नविकरणको घरदैलो सेवा वडा नं. ५ मा सफलतापूर्वक सम्पन्न भएको छ।

वडा कार्यालयमा उपस्थित हुन नसक्ने वृद्ध–वृद्धा, अपाङ्ग र अस्वस्थ सेवाग्राहीलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको हो। वडा नं. ५ का अध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा सम्पन्न कार्यक्रममा सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरू, महानगरपालिकाको पंजिकरण शाखा प्रमुख बुद्धि माया थापा, वडा सचिव अरुण बस्नेत, तथा कम्प्युटर अपरेटर करिना श्रेष्ठ, आशिष कुश्वाहा, सन्जु दहाल, मनोज साह, मन्जु परियार र रुस्तम अलीको सक्रिय सहभागिता रहेको थियो।

अभियानअन्तर्गत सेवाग्राहीहरूको घरमै पुगेर बायोमेट्रिक विवरण संकलन गरी नविकरण प्रक्रिया सम्पन्न गरिएको हो। यस पहलले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता हटाई घरमै सेवा उपलब्ध गराउने सुविधा दिलाएको छ। साथै सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता र विश्वसनीयता सुनिश्चित हुने अपेक्षा गरिएको छ।

सखुवाप्रसौनी–१ मा भूमिहीनसँग अन्तरक्रिया तथा प्रमाणिकरण कार्यक्रम सम्पन्न

0

वीरगंज । भूमि समस्या समाधान आयोग, पर्साले सखुवाप्रसौनी गाउँपालिका–१ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग अन्तरक्रिया र स्थलगत प्रमाणिकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका मुख्य अतिथि आयोग पर्साका अध्यक्ष तबरेज अहमद रहेका थिए भने बैठक वडा अध्यक्ष बासुदेव महतो थारुको अध्यक्षतामा सञ्चालन भएको थियो।

अन्तरक्रियामा सहभागी सेवाग्राहीहरूले दैनन्दिन बसोबासदेखि कागजी प्रमाण संकलनसम्मका समस्या राखेका थिए । आयोग र स्थानीय सरकारका प्रतिनिधिहरूले सम्बन्धित कानुनी प्रक्रिया, कागजात मिलान तथा राजस्व व्यवस्थापनबारे विस्तृत जानकारी दिएका थिए।

कार्यक्रममा तीन पुस्ताको प्रमाण: परिवारको वंशज सम्बन्ध पुष्टि गर्ने कागजात (नागरिकता, जन्मदर्ता, विवाह दर्ता, घरपरिवार विवरण आदि) कसरी मान्य/प्रमाणित गर्ने भन्ने विषयमा चरणबद्ध मार्गदर्शन।, वैदेशिक रोजगारीमा रहेका सेवाग्राही: विदेशमा रहेका लाभग्राहीका लागि प्रत्यायोजन, म्यादभित्र दुरदराजबाट कागजात पेस गर्ने सुविधा, उपस्थित नभएका व्यक्तिको दर्ता सुरक्षित राख्ने व्यवस्था बारे छलफल भएकाे थियाे ।

यसका सथै मानापाथी/अंशबन्डा: पारिवारिक हिस्साबन्डा, मानापाथी तथा जग्गासम्बन्धी भेरिफिकेसन प्रक्रियाबारे सार्वजनिक जानकारी र राजस्व बराबरी: अव्यवस्थित बसोबासीले सरकारले तोकेको राजस्व/शुल्क कुन अवस्थामा र कसरी बुझाउने भन्ने विषयमा सूची र चरणगत विवरण बारे पनि छलफल भएकाे थियाे ।

कार्यक्रमपछि आयोगको प्राविधिक टोलीले स्थलगत तथ्य संकलन, कागजातको प्रतिलिपि संकलन र प्राथमिक सूची अद्यावधिक गर्ने कार्य अघि बढाएको छ। साथै उपस्थित सेवाग्राहीलाई एकदुई हप्ताभित्र वडा कार्यालय वा आयोगको सम्पर्क बिन्दुमा सहायक कागजात बुझाउन अनुरोध गरिएको छ।

स्थानीय सरोकारवाला, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा दीर्घकालीन बसोबासका प्रमाण, सामाजिक सूचक र आधारभूत सेवामा पहुँच जस्ता सूचनालाई अभिलेखीकरण गर्ने तयारी पनि गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम अन्त्यमा सहभागिता जनाएका समुदायलाई धन्यवाद ज्ञापन गर्दै आयोगले आवश्यक कानुनी तथा प्राविधिक सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेको छ।

नेपाल इञ्जिनियर्स एसोसिएसन वीरगंज केन्द्रका नवनिर्वाचित पदाधिकारीलाई महानगरको सम्मान

0

वीरगंज । नेपाल इञ्जिनियर्स एसोसिएसन वीरगंज केन्द्रको हालै सम्पन्न निर्वाचनबाट चयन भएका पदाधिकारीलाई वीरगंज महानगरपालिकाले औपचारिक रूपमा सम्मान गरेको छ।

महानगर प्रमुख राजेशमान सिंहले मंगलबार आफ्नो कार्यकक्षमा आयोजित कार्यक्रममार्फत नयाँ नेतृत्वलाई सम्मान गर्दै आगामी कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । विजयी पदाधिकारीहरूमा अध्यक्ष प्रियान्सु कुमार गुप्ता, उपाध्यक्ष श्याम किशोर दास, सचिव मनिष केशरीसहित कार्यसमितिका अन्य इञ्जिनियरहरू सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले इञ्जिनियरहरूको पेशागत दक्षता र इमान्दारिता देशको विकासका लागि अनिवार्य रहेको भन्दै नयाँ नेतृत्वले अझ सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “इञ्जिनियरहरू विकासको मेरुदण्ड हुन् । तपाईँहरूको योजनाबद्ध काम र इमानदार प्रयासले मात्र शहर र देशको विकास सम्भव हुन्छ । त्यसका लागि महानगर सधैं सहयोगका लागि तयार छ ।”

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले पनि नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै व्यावसायिक मर्यादा कायम राख्दै महानगर र समुदायसँग सहकार्यमा काम गर्न आग्रह गर्नुभयो । उहाँले नयाँ नेतृत्वले इञ्जिनियरहरूको हकहितसँगै समाज विकासमा ठोस योगदान पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष प्रियान्सु कुमार गुप्ताले महानगरले देखाएको सद्भाव र सम्मानप्रति आभार व्यक्त गर्दै इञ्जिनियरिङ क्षेत्रको उन्नति र पेशागत मर्यादा कायम राख्न सबैलाई साथ दिन आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा युवा इञ्जिनियरहरूको क्षमता विकास, तालिम र प्राविधिक क्षेत्रमा नवीनता ल्याउन आफू प्रतिबद्ध रहने पनि बताउनु भयो ।

उपाध्यक्ष श्याम किशोर दास र सचिव मनिष केशरीले पनि आफ्नो कार्यकालमा संस्थालाई बलियो बनाउन र सदस्यहरूबीच एकता कायम राख्न प्राथमिकता दिने बताउनुभयो ।

कार्यक्रममा उपस्थित अन्य पदाधिकारी तथा इञ्जिनियरहरूले पनि आ-आफ्ना धारणा राख्दै महानगरसँग सहकार्य गरेर वीरगंजलाई आधुनिक, व्यवस्थित र प्राविधिक दृष्टिले सम्पन्न शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेत्रज्योति संघ पर्साद्वारा प्रहरीलाई सनग्लास हस्तान्तरण

0

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सालाई सुरक्षाकर्मीहरूको आँखाको सुरक्षाका लागि सनग्लास चस्मा हस्तान्तरण गरेको छ।

सोमबार एक कार्यक्रमका बिच संघ पर्साका सभापति भगवती चौधरी र केन्द्रीय कार्यालयका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलले उक्त चस्मा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलाई हस्तान्तरण गरेका हुन् ।

दिनभर घाममा खटिने प्रहरीको आँखालाई जोगाउन र उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर संघले चस्मा हस्तान्तरण गरेको संघका सचिव शिताराम उपाध्यायले जानकारी दिए।

सो अवसरमा प्रहरी उपरीक्षक गौतम मिश्रले सुरक्षाकर्मीहरूको आवश्यकता बुझी सहयोग उपलब्ध गराएकोमा संघ परिवारलाई धन्यवाद व्यक्त गरेको संघका सदस्य राजन श्रीवास्तवले दिएका छन्।

गौर घटनामा सर्वोच्चको परमादेशविरुद्ध जसपाको प्रदर्शन, कडा आन्दोलनको चेतावनी

0

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता–कार्यकर्ताले आफ्ना अध्यक्ष उपेन्द्र यादवलाई फसाउन षडयन्त्र गरिएको भन्दै सोमबार साँझ धनुषाकाे जनकपुरसहित विभिन्न जिल्लामा प्रदर्शन गरेका छन्।

१९ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि जसपा निकट कार्यकर्ताहरू आक्रोशित बनेका हुन्। उनीहरूले जनकपुरधामको रामानन्द चोकमा टायर बालेर ‘उपेन्द्र यादवविरुद्धको षडयन्त्र बन्द गर, षडयन्त्रकारी होसियार’ जस्ता नारासहित प्रदर्शन गरेका थिए।

जसपा नेपालका मधेस प्रदेशका प्रमुख सचेतक रामआशिष यादवले सर्वोच्चको परमादेश फिर्ता नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। उनले कांग्रेस–एमाले गठबन्धनले पहिचानवादी शक्तिलाई कमजोर बनाउन षडयन्त्र गरिरहेको आरोप लगाए।

त्यस्तै, जसपा नेपाल धनुषाका अध्यक्ष पशुपति यादवले भूमी अध्यादेश पारित नगर्दा अध्यक्ष उपेन्द्र यादवविरुद्ध षडयन्त्र गरिएको दाबी गर्दै तत्काल सांकेतिक विरोधका साथै थप संघर्षका कार्यक्रम अघि सारिने बताए।

सोमबार नै जसपा निकट समाजवादी युवा संघ पर्साले वीरगन्जको घण्टाघर चोकमा पनि टायर बालेर प्रदर्शन गरेको थियो। उनीहरूले सर्वोच्च अदालतले गौर घटनामा दिएको परमादेश अन्यायपूर्ण भएको भन्दै सडकमा उत्रिएको बताएका छन्।

गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमार्फत सोमबार परमादेश दिएको हो।

वीउवा संघद्वारा सशस्त्रका डिएसपी सुब्बा पुरस्कृत

0

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा स्थापना गरेको “Best Integrity पुरस्कार” सोमबार एक विशेष समारोहबीच वितरण गरिएको छ।

समारोहमा संघका अध्यक्ष हरि गौतम तथा सशस्त्र प्रहरी महानिरीक्षक कृष्णप्रसाद ढकालले संयुक्त रूपमा सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बालाई २५ हजार नगद राशीसहित सम्मानपत्र प्रदान गर्दै पुरस्कृत गरे।

स्व. थपलियाको सत्यनिष्ठा, इमानदारी र कर्तव्यपरायणताको सम्झनामा स्थापना गरिएको यस पुरस्कारमार्फत सुरक्षाकर्मीलाई निष्ठा, निस्वार्थ भावनासहित काम गर्न प्रोत्साहित गर्ने उद्देश्य लिइएको संघले जनाएको छ।

कार्यक्रममा संघका उपाध्यक्ष आशिषकुमार लाठ, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोझ रुंगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव नरेशकुमार टिबडेवाल, प्रशासकीय अधिकृत मनोज उपाध्यायलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक ढकालले नायब उपरीक्षक सुब्बाको कार्यशैली, कर्तव्यनिष्ठा र इमानदारीले संगठनको मर्यादा बढाएको उल्लेख गर्दै योग्य व्यक्तिलाई पुरस्कार प्रदान गर्न पाउँदा गर्व महसुस भएको बताए।

त्यस्तै, संघका अध्यक्ष हरि गौतमले पुरस्कारलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै निजी क्षेत्र र सुरक्षाकर्मीबीच आपसी सहकार्य तथा विश्वासकै आधारमा शान्ति–सुरक्षा बलियो हुने विश्वास व्यक्त गरे।

संघले यो पुरस्कार वार्षिक रूपमा उत्कृष्ट सत्यनिष्ठा प्रदर्शन गर्ने सशस्त्र प्रहरीलाई प्रदान गरिने जनाएको छ।

वीरगंजमा १५ दिने सीपमूलक तालिम सुरु

0

वीरगंज । “सीप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने नारासहित लायन्स क्लब अफ वीरगंज सेन्ट्रलको सहयोगमा वीरगंज–९ रानीघाटस्थित जीवन ज्योति स्कूलमा सोमबारदेखि १५ दिने सीपमूलक तालिम सुरु भएको छ।

तालिममा ३५ जना विद्यार्थीहरूको सहभागिता रहेको छ । विद्यालय प्रशासनका अनुसार, तालिमको उद्देश्य विद्यार्थीलाई सीपमूलक ज्ञान प्रदान गरी भविष्यमा आत्मनिर्भर बन्ने क्षमता विकास गर्नु हो ।

१५ दिनसम्म दैनिक एक घण्टा सञ्चालन हुने तालिममा सहभागी विद्यार्थीलाई कुसन र डल (गुड़िया) बनाउने कला सिकाइँदैछ। तालिमको प्रशिक्षण महिला जागृति मिसनकी प्रशिक्षक नीतु श्रेष्ठले दिइरहेकी छिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब अफ वीरगंज सेन्ट्रलकी अध्यक्ष रेखा वैद्यले सीपमूलक तालिमले विद्यार्थीमा सीप विकासका साथै सामाजिक जिम्मेवारीबोध पनि जगाउने विश्वास व्यक्त गरिन्। उनले लायन्स क्लब सधैँ सामाजिक कार्यमा अग्रणी रहँदै आएको उल्लेख गर्दै यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।

विद्यालय प्रशासनले तालिम पूरा भएपछि सहभागीलाई प्रमाणपत्र वितरण गर्ने र उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने जानकारी दिएको छ।

कार्यक्रममा लायन्स क्लबकी जोन चेयरपर्सन रोमिन्द्र कौर, सचिव हर्षा वैद्य, सिता अग्रवाल, पूजा पोद्दार, कविता हलानलगायतको उपस्थिति रहेको थियो।

जगरनाथपुर चोकस्थित ढाँटमा भारतिय गाडीबाट अवैध असुली, स्थानीयको विरोध

0

वीरगंज । वीरगंज महानगरपालिका–२२ स्थित जगरनाथपुर चोकको ढाँटमा भारतीय गाडीहरूसँग नियमविपरीत अवैध असुली हुँदै आएको भन्दै स्थानीयहरूले विरोध गरेका छन्।

महानगरपालिकाले “जडिबुटी, कबाडी तथा जीवजन्तु कर” उठाउने ठेक्का अमित ठेक्का पट्टालाई दिएको भए पनि, कर्मचारीहरूले नियमविपरीत भारतिय मालवाहक सवारीसाधनहरूबाट प्रतिगाडी ४ सय रुपैयाँसम्म असुली गर्दै आएको स्थानीयको आरोप छ।

प्रत्यक्षदर्शीका अनुसार ढाँटमा खटिएका कर्मचारीहरूले पर्चीको नाममा बलजबरजस्ती असुली गर्ने मात्र होइन, नियमअनुसार पर्ची नकटाउने सवारीचालकलाई हातपात समेत गर्ने गरेका छन्। यसै कारण आइतबार र सोमबार स्थानियवासी विरोधमा उत्रिँदा ढाँट क्षेत्रमा केहीबेर तनाव समेत भएको थियो।

स्थानीयवासीको भनाइअनुसार दिनदहाडै आईसीपी हुँदै निस्कने सयौं भारतीय मालवाहक सवारीसाधनहरूसँग रंगदारी असुली भइरहेको छ, तर सम्बन्धित निकाय भने मौन बसेको छ। यस किसिमको अवैध कार्यले नेपालकै प्रतिष्ठामा आंच पुगेको भन्दै उनीहरूले तत्काल कारबाही गर्न माग समेत गरेका छन्।

स्थानियहरुकाे एक समुहले यस बारे पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई फाेन मार्फत माैखिक जानकारी गराएपछि उनले मंगलबार छलफलकाे लागि जिल्ला प्रशासन कार्यालयमा बाेलाएकाे बुझिएकाे छ ।

यसैगरी बाराको सिमरामा मुख्य राजमार्गमा गाडी रोकेर करका नाममा अवैध रकम असुली गरिरहेकाे ठेक्दार अमित ठेक्कापट्टासंग जितपुर सिमरा उपमहानगरपालिकाले कारवाही प्रकृया शुरु गरेको छ ।

सिमरा–पथलैया खण्डको मुख्य राजमार्गमा अवैध रकम संकलन गरिरहेको गुनासो प्राप्त भएपछि सोमबार उपमहानगरको राजश्व शाखाले उक्त फर्मलाई पत्र काटेर कानुन विपरितका मालबस्तुबाट कर संकलन गरेको विषयमा स्पष्टिकरण मागेको हाे ।

‘उपमहानगरपालिका र अमित ठेक्कापट्टा विच भएको सम्झौता तथा उपमहानगरपालिकाको आर्थिक ऐन विपरितका मालबस्तुबाट कर संकलन भइरहेको भन्ने गुनासो आइरहेकाले सो सम्बन्धमा के कसो भएको हो ? तीन दिन भित्र लिखित जवाफ पेश गर्न अनुरोध छ’ उपमहानगरले काटेको पत्रमा भनिएको छ ।

सुनिल पंडितको नयाँ भोजपुरी गीत ‘राज करतानी’ सार्वजनिक

0

वीरगंज । लोकप्रिय भोजपुरी गायक सुनिल पंडितको नयाँ गीत ‘राज करतानी’ सार्वजनिक गरिएको छ । गीतलाई सोमबार बिहान गायककै आधिकारिक युट्युब च्यानलSsunil Pandit Official मार्फत बजारमा ल्याइएको हो ।

गीतकाे विमाेचन एक कार्यक्रमकाे बिच जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गाैतम मिश्रले गरेका हुन् ।

वीरगञ्जस्थित World of Wonder मा छायांकन गरिएको गीतको भिडियोमा चर्चित टिकटकर निभा यादव, हास्यकलाकार दिपेश शर्मा र गायक पंडितका छोरा धिरज पंडितको दमदार अभिनय देख्न सकिन्छ ।

सुनिल पंडित र चर्चित गायिका शिल्पी राजको आवाजमा सजिएको यस गीतमा शब्द शिव साजनले लेखेका हुन् भने संगीत मन्टु मनिषले दिएका छन् । भिडियो निर्देशन नवीन नेपालीले गरेका हुन् भने मेकअप आर्टिस्टको भूमिकामा मधु चौधरी रहेका छन् ।

आकर्षक जोडीको प्रस्तुतिसहित तयार गरिएको भिडियोले दर्शक तथा श्रोतालाई नयाँ अनुभव दिने विश्वास गरिएको गायक पंडितले बताए । गीत विमोचन समारोहमा कलाकारहरूले आफ्ना अनुभव सुनाउँदै दर्शक तथा श्रोताहरूलाई गीतलाई माया गरिदिन आग्रह गरे ।

निजी विद्यालयको चेतावनी : अव्यवहारिक प्रावधान सच्याइएन भने शिक्षा क्षेत्रमा संकट आउँछ

0

वीरगंज । नेपालको शिक्षा क्षेत्रमा निजी लगानीको संरक्षण र व्यवस्थित सञ्चालनको माग गर्दै निजी विद्यालयका छाता सङ्गठनहरू हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य बीना जयसवाल कुर्मीलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रस्तावित “विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०” मा समावेश केही प्रावधानप्रति असहमति जनाउँदै सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा ज्ञापन पत्र हस्तान्तरण गरिएको हो ।

प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाउनुपर्ने, शिक्षण शुल्क, पाठ्यपुस्तक, पोसाक, यातायातलगायत सेवा निःशुल्क दिनुपर्ने जस्ता प्रावधान अव्यवहारिक भएको बताए । उनका अनुसार, यी प्रावधानले निजी विद्यालयहरूको अस्तित्व संकटमा पार्नुका साथै शिक्षा प्रणाली र समग्र आर्थिक चक्रमा गम्भीर असर पुर्‍याउने छन् ।

ज्ञापन पत्रमा निजी विद्यालयहरूले हाल कुल विद्यार्थीको १० प्रतिशतलाई छात्रवृत्ति सुविधा दिँदै आएको उल्लेख गर्दै उक्त प्रणालीलाई निरन्तरता दिनुपर्ने, पूर्ण निःशुल्क शिक्षा र गैरनाफामूलक प्रावधान हटाउनुपर्ने माग राखिएको छ । साथै, निजी क्षेत्रलाई बाधक ठानिए उचित मुआब्जासहित राष्ट्रियकरण वा विद्यार्थीलाई भौचर प्रणालीमार्फत विद्यालय छान्ने अवसर दिनुपर्ने विकल्प पनि प्रस्तुत गरिएको छ ।

सङ्ग्रौलाले निजी क्षेत्रले चार दशकदेखि शिक्षा क्षेत्रमा योगदान दिंदै ६ खर्बभन्दा बढी लगानी, ४ लाख रोजगारी र ३४ प्रतिशत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको दाबी गरे । उनका अनुसार, निजी क्षेत्रले वार्षिक २ खर्बभन्दा बढीको आर्थिक चक्रमा योगदान दिँदै राजस्वमा ठूलो सहयोग गर्दै आएको छ ।

ज्ञापन पत्र बुझाउने टोलीमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, एन प्याब्सनका वरिष्ठ उपाध्यक्ष रामबिनय चौरसिया, एन प्याब्सनका सदस्य अरविन्द सिंह, प्याब्सन मधेश प्रदेशका सल्लाहकार इमामुद्दिन अहमद, पर्साका सल्लाहकार हरिश्याम ठाकुर, वरिष्ठ उपाध्यक्ष सुशिला साह, प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक लगायतको सहभागिता थियो ।

यसअघि, निजी विद्यालय सञ्चालकहरूले वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा समन्वय इकाईलाई पनि संयुक्त ज्ञापन पत्र बुझाइसकेका छन् । यस्तै ज्ञापन पत्र देशव्यापी रूपमा काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा पनि बुझाइएको छ ।

निजी विद्यालय सङ्गठनहरूले सरकारसँग सहकार्यको अपेक्षा गर्दै विधेयकका अव्यवहारिक प्रावधान सच्याउन माग गरेका छन् । माग सम्बोधन नभए शैक्षिक क्षेत्रमा गम्भीर संकट आउन सक्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।