Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026
Home Blog Page 259

नेशनल मेडिकल कलेजमा सप्ताहव्यापी खेलकुद कार्यक्रमको शुभारम्भ

वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेजले बिहिबारबाट आफ्नो वार्षिक सप्ताहव्यापी खेलकुद कार्यक्रमको शुभारम्भ गरेको छ । कलेजले फागुन ८ गतेदेखि १५ गतेसम्म सप्ताव्यापी खेलकुद कार्यक्रमको आयोजना गरेको हो ।

कलेजको आफ्नै फिल्डमा आयोजित खेलकुद कार्यक्रमकाे उद्घाटन कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारीले गरेका हुन् । कार्यक्रमकाे उद्घाटन गर्दै प्रबन्ध निर्देशक अंसारीले खेलकुदको महत्वलाई बारे वताउँदै खेलकुदले विद्यार्थीहरूमा अनुशासन, सहकार्य र स्वास्थ जीवनशैलीको विकास हुने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल (चेस) जस्ता खेलहरू समावेश गरिएको उनले वताए । कलेजका भाइस प्रिन्सिपल डा. रविशंकर गुप्ताले खेलकुद कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई स्वास्थ्यप्रति जागरूकता र अनुशासन सिकाउनु रहेको बताए ।

सप्ताहव्यापी खेलकुद कार्यक्रममा एमबिबिएस, बिडिएस, बीएमएलटी, बीएमआईटी र नर्सिङका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कलेजका प्रिन्सिपल डा. के ऐन सिंहको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अंसारी, एडमिसन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसैन अंसारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अंसारी, डाइरेक्टर डा. रुबी अस्मिन्, मेडिकल एजुकेशनका डाइरेक्टर प्रो. डा. ए.के. कौशी, डेन्टलका भइस प्रिन्सिपल प्रो. डा. सरोज देव, नर्सिङका डाइरेक्टर प्रो. गंगा गुरुङ, नर्सिङका भइस प्रिन्सिपल प्रो. डा. बबिता सिंह, विद्यार्थीहरू लगायतकाे उपस्थिति रहेकाे थियो ।

समापन समारोहमा विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने कलेजका प्रेस सलाहकार आशिक अंसारीले जानकारी दिएका छन् ।

वीरगंजबाट लागु औषध चरेश सहित एक महिला पक्राउ

वीरगंज । पर्सा प्रहरीले लागु औषध चरेश सहित बुधबार राति एक महिलालाई पक्राउ गरेकाे छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले बाराकाे प्रसौनी गाउँपालिका वडा नं.२ बुनियाद घर भई हाल वीरगंज महानगरपालिकाकाे वडा नं.१६ बसपार्कमा घरकोठा भाडामा लिइ बस्दै आएकी ३० बर्षिय आरती यादवलाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं.१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने क्रममा आरतीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

आरतीले बोकेको ब्यागमा रातो रंगको ग्यालेन भित्र प्लाष्टिकमा सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ ग्यालेन विनाको ११ के.जी. ४०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुबाष भट्टले जानकारी दिए ।

बरामद लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित निज आरती यादवलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको उनले वताए ।

प्याब्सन पर्साकाे जुनियर फुटबलमा ग्रामिण भेगका स्कुल ब्लु हेभेन विजयी 

वीरगंज । प्याब्सन पर्साले आयोजना गरेको जुनियर फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएकाे एक खेलमा ग्रामीण भेगका स्कुल ब्लु हेभेन एकेडेमी विजयी भएकाे छ ।

प्याब्सन राज होजियारी जुनियर फुटबल प्रतियोगिता अन्तर्गत भएको दोस्रो खेलमा धोबिनी गाउँपालिकाको ब्लु हेभेन एकेडमी स्कूलले वीरगंजका विद्यासागर स्कूललाई १-० ले हराउँदै जित दर्ता गरेको छ । ब्लु हेभेनका अमित कुमार पटेल खेलको म्यान अफ द म्याच घोषित भए ।

यस अघि पहिलो खेलमा ज्ञान ज्योति स्कूलले माउण्ट एडमण्डलाई २-० ले पराजित गर्दै विजयी भएको थियाे । खेलको म्यान अफ द म्याच माउण्ट एडमण्डका प्रज्वल मुखिया भए ।

तेस्रो खेलमा हिमालय पिरामिड विद्यालय मैदानमा उपस्थित नभएकाले वीरगंज पब्लिक ई. स्कूलले वाक ओभर पाउँदै सहज जित हात पारेको छ ।

चौथो खेलमा डिएभी स्कूलले अल्पाइन स्कूललाई २-० ले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको छ । डिएभीका युवराज पटेल खेलको म्यान अफ द म्याच घोषित भए ।

पाँचौँ खेलमा ठोरी एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन फ्युचरलाई १०-० को फराकिलो अन्तरले पराजित गरेको छ । ठोरी एकेडेमीका युवेश राई खेलको म्यान अफ द म्याच बने ।

यसअघि, प्रतियोगिता अन्तर्गत क्रिकेटका खेलहरूमा पनि उत्साहजनक प्रतिस्पर्धा देखिएको थियो । प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह बढाउनुका साथै विद्यालयबीच सौहार्दपूर्ण सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

जगरनाथपुरमा एकै दिन स्कुल भवन, स्वास्थ्य चाैकी र कृषि तथा पशुपन्छी सेवा केन्द्रकाे उद्घाटन

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा एकै दिन दुई वटा स्कुल भवन, स्वास्थ्य चाैकी भवन र कृषि तथा पशुपन्छी सेवा केन्द्रकाे उद्घाटन गरिएकाे छ । 

प्रजातन्त्र दिवसकाे अवसरमा जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ४ स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय सुहपुर र श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालय जगरनाथपुर (सिरा) मा निर्माण भएकाे विद्यालय भवन, जगरनाथपुर गाउँपालिका कै वडा नं. ५ मा निर्माण भएकाे स्वास्थ्य चाैकी मसिहानीकाे भवन र कृषि तथा पशुपन्छी सेवा केन्द्रकाे उद्घाटन गरिएकाे हाे ।

छुट्टा छुट्टै कार्यक्रमकाे बिच चार वटै नवनिर्मित भवनकाे पुर्व उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री एवं प्रतिनिधि सभा सदस्य रमेश रिजालले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व मन्त्री रिजालले विद्यालय भवन, स्वास्थ्य चाैकी र कृषि तथा पशुपन्छी अस्पताल संचालनले गाउँपालिकाबासीलाई सेवा पाउन सहज हुने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पूर्व मन्त्री रिजालले गाउँपालिका अध्यक्षकाे सक्रियताकाे कारण विकास निर्माणकाे कामले गति लिएकाे वताउँदै अझै तिब्र रुपमा विकास निर्माणकाे काममा लाग्न आग्रह गरे । उनले भने  “विद्यालयकाे भवन निर्माणले विद्यार्थीहरुकाे पठनपाठनमा सहज हुन्छ भने स्वास्थ्य चाैकी र कृषि तथा पशु अस्पतालकाे भवन निर्माणले त्यहाँबाट सेवा प्रवाह गर्न सहज हुन्छ ।”

यसका साथै अब चाँडै नै गाउँपालिका कार्यालयकाे भवन निर्माणकाे कार्य अगाडी बढने पनि उनले वताए । त्यसकाे बजेट व्यवस्थापनकाे लागि आफूले पहल थालिसकेकाे उनले जानकारी समेत गराए ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत संदेश कुमार यादव, निर्वतमान प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय यादव, वडाध्यक्षहरु लक्ष्मी साह तेली, सुभाष यादव, बिहारी महताे नुनिया, नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पतीकृष्ण श्रेष्ठ, पर्सा जिल्लाका प्रवक्ता रमेश पाण्डे, काेषाध्यक्ष प्रेम थापा, महाधिवेशन प्रतिनिधि रामदेव चाैहान, क्षेत्रिय काेषाध्यक्ष विनय द्विवेदी, मंजय गिरी, गाउँपालिकाकाे स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह, कृषि शाखा प्रमुख दयानन्द चाैहान लगायतकाे उपस्थिती रहेकाे थियाे ।

२ कराेड ७३ लाखकाे लागतमा कृषि तथा पशुपन्छी सेवा केन्द्रकाे निर्माण

ग्रामिण उद्यम तथा आर्थिक विकास काँरिडाेरकाे रु २ कराेड ७३ लाखकाे लागतमा आधुनिक किसिमकाे सुविधा सम्पन्न कृषी तथा पशुपन्छी सेवा केन्द्रकाे भवन निर्माण भएकाे जगरनाथपुर गाउँपालिकाका कृषि शाखा प्रमुख दायानन्द चाैहानले वताए । उनका अनुसार जिल्लामा पहिलाे सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्रकाे निर्माण भएकाे हाे । 

पर्साकाे ग्रामिण भेगमा संचालनमा आएकाे कृषी तथा पशुपन्छी सेवा केन्द्रबाट जगरनाथपुर गाउँपालिकाकाे साथ साथै साे क्षेत्रका कृषकहरु लभान्वित हुने कृषी शाखा प्रमुख चाैहानले वताए ।

 

कार्यसम्पादन मुल्यांकनमा कानुन मन्त्री चौरसिया देशमै उत्कृष्ट

वीरगंज । पर्साको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट स्थान हासिल गरेका छन् । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको पछिलो प्रतिवेदनमा कानुन मन्त्री चौरसियाले एक सयमा एक सय नम्बर ल्याएर पहिलो स्थान हासिल गरेका छन् । 

सार्वजनिक प्रतिवेदन अनुसार सबैभन्दा कम भौतिक पुर्बाधार मंत्री देबेन्द्र दाहलले नम्बर पाएका छन । भौतिक पुर्बाधार मंत्रालयको सबै भन्दा कम ७.९ सहित अन्तिम स्थानमा नम्बर आएको छ ।

पर्साका संघिय मन्त्री ३ जना भएपनि अन्य दुई मन्त्रीले राम्राे नम्बर पाएका छैनन् । पर्सा कै संघिय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले २५ नम्बर सहित १३ औ स्थानमा छन् भन्ने खानेपानी मन्त्री प्रदिप यादवले २३.३५ अंक सहित १५ औ स्थानमा छन् ।

प्रतिवेदनमा प्रधानमंत्री तथा मन्त्रिपरिषदको कार्यालय तथा प्रधानमंत्रीको नम्बर अंक २८.५ छ । पर्सा जिल्लाका २ जना मंत्री थोरै कम अंकले मात्रै प्रधानमंत्री ओली भन्दा पछाडी रहेका छन ।

प्रधानमंत्री कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार प्रधानमंत्री तथा मंत्रीपरिषदको कार्यालय, २१ वटा मंत्रालय तथा राष्ट्रिय आयोजना आयोग, नेपाल ट्रस्टको कार्यालय, लगानी बोर्ड, सत्कर्ता केन्द्र, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, लगानी बार्डको कार्यालय, तथ्यांक कार्यालय समेत २८ निकायका क्रियाकलाप र माइलस्टोनलाई एकिकृत अनुगमन प्रणालीमा प्रबिष्ट गरी बिश्लेषण गरिएकाे छ ।

लक्ष्यको ३२.०५ प्रतिशत मात्र काम, क्रियाकलाप तफ १७.२ तथा माईलोस्टो तर्फ ४६.९ प्रतिशत मात्रै प्रगती भएको छ । चालु आर्थिक बर्षका लागी एक हजार १० क्रियाकलाप कार्ययोजना तय मध्ये ४.३ प्रतिशत मात्रै सम्पन भएको छ । १ सय ५७ क्रियाकलाप सक्ने लक्ष्य रहेकोमा २७ वटा मात्र सम्पन भएको छ ।

आर्थिक क्षेत्रमा ४१ मध्ये १२, पुर्बाधारमा ३८ मध्ये ५, शासकिय सुधारमा ३९ मध्ये ८ र समाजिक क्षेत्रमा ३९मा २ वटा मात्रै सम्पन भएको छ । माईलस्टोन तर्फ पनि ४६.९ प्रतिशत मात्र लक्ष्य अनुसार काम भएको छ । ६ सय ५१ वटा माईलस्टोन तोकिएकोमा ३ सय ५ वटा मात्र सम्पन भएको हो ।

बार्षिक कार्ययोजनामा तोकिएको माईलस्टोन कार्यन्वयनमा ९ वटा मंत्रालय तथा कार्यालय न्युनतम ३५ अंक ल्याउन पनि असफल भएको प्रधानमंत्री कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । अन्य निकायको पनि प्रधानमंत्री कार्यालय पेश गरेको छ ।

आयोजना आयोगको ४१.६५ सतर्कता केन्द्रको ० लगानीबोडीको १६.६५ नेपाल ट्रस्टको १ सय नमबर , तथयांक कार्यालयको ६०.७, सार्वजनिक खरिदको १६.६५ रहेको कार्यालयले जनाएको छ । पर्साका मंत्रीहरु पर्साका लागी केही नयाँ नगरे पनि ३ मंत्रालय मध्ये एक मंत्रालयले बढी अंक ल्याई देशमै उत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन् ।

वीरगंजमा “जिम्मेवार पत्रकारिता र राससकाे भूमिका” विषयक अन्तरक्रिया

वीरगंज । राष्ट्रिय समाचार समिति (रासस) को ६४ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार वीरगंजमा “जिम्मेवार पत्रकारिता र राससकाे भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएकाे छ । रासस वीरगंज कार्यालयकाे आयाेजनामा भएकाे कार्यक्रममा वाेल्ने वक्ताहरुले जिम्मेवार पत्रकारिता समाज सुधारको प्रमुख आधार भएको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले पत्रकार पनि जिम्मेवार हुनु पर्ने वताए । उनले पत्रकारमाथि प्रश्न उठाउन पाईनेकी नपाईने भन्दै प्रश्न गर्दै पत्रकार पनि जिम्मेवार र जवाफदेहि हुनु पर्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री क्षेत्रीले स्वतन्त्र पत्रकारिता मात्रै समाजलाई सही दिशामा लैजान सक्षम हुने बताए । उनले पत्रकारिता कुनै पनि दबाब वा प्रभावमा नपरी स्वतन्त्र रूपमा सञ्चालन हुनु आवश्यक रहेको उल्लेख गर्दै राससको भूमिकाको प्रशंसा गरे । राससले समाजका विविध मुद्दा उठान गर्दै सरकारका गतिविधि नागरिकसम्म पुर्‍याउने महत्त्वपूर्ण कार्य गरिरहेको मन्त्री क्षेत्रीकाे भनाई थियाे ।

जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले पर्सा जिल्लामा राससले देखाएको सक्रियता उल्लेखनीय रहेको बताए । उनले राससले आम नागरिकका प्रत्यक्ष सरोकारका विषयलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्दै आएको बताए ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले लागु औषध दुव्र्यसन नियन्त्रणदेखि सुरक्षा सम्बन्धी अन्य विषयमा रासससँग समन्वय गरेर प्रभावकारी अभियान सञ्चालन गर्न सकिने धारणा व्यक्त गरे ।

वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले राससलाई सबै सञ्चार माध्यमको लागि अत्यन्तै भरपर्दो स्रोतको रूपमा चित्रित गरे । उनले भने, “राससबाट प्रकाशित समाचारहरू अन्य सञ्चारमाध्यमहरूले समेत प्रकाशन गर्ने भएकाले यसको सूचना प्रवाह महत्वपूर्ण छ । वीरगंजका प्रमुख मुद्दाहरूलाई स्थापित गर्न रासससँग सहकार्य आवश्यक छ ।”

रासस वीरगंज कार्यालयका प्रमुख हिमाल लम्सालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, नेपाल बिमा प्राधिकरण मधेश प्रदेशकी प्रमुख प्रिती देव, प्रतिक दैनिकका प्रकाशक एवं सम्पादक, राससका सेवाग्राही विकास शर्मा, युवा अभियन्ता दिलिपराज कार्की लगायतले कार्यक्रममा राससको योगदानको समीक्षा गर्दै विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै रासस वीरगंजका प्रमुख लम्सालले राससले हाल ७७ वटै जिल्लाका समाचार संकलन, लेखन तथा प्रकाशन गरी नेपाली, अंग्रेजी, मैथिली र अवधि भाषामा समाचार उपलब्ध गराइरहेको जानकारी दिए ।

उनका अनुसार, सीमित स्रोतसाधनका बाबजुद राससले हाल २४ घण्टा समाचार सम्प्रेषण सेवा सञ्चालन गरिरहेको छ । राससले दैनिक नेपालीमा ११० वटा, अंग्रेजी तथा अन्तर्राष्ट्रिय समाचार ३५–३५ वटा प्रकाशन गर्दै आएको जानकारी दिँदै उनले भविष्यमा भोजपुरी भाषामा पनि समाचार सेवा विस्तार गर्ने योजना रहेको खुलासा गरे ।

जिल्ला प्रशासन कार्यालय पर्साकाे सभाहलमा भएकाे कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए । 

प्याब्सन अन्तरविद्यालय टुर्नामेन्ट : क्रिकेटतर्फ ३ र फुटबलतर्फ ४ खेल सम्पन्न

वीरगंज । नवौं संस्करणको प्याब्सन अन्तरविद्यालय टी–ट्वान्टी क्रिकेट तथा फुटबल प्रतियोगितामा मंगलबार विभिन्न विद्यालयबीच प्रतिस्पर्धात्मक खेलहरु सम्पन्न भएका छन् । क्रिकेटतर्फ ३ खेलहरू सम्पन्न भए भने फुटबलतर्फ ४ खेल भएका हुन् ।

क्रिकेटतर्फको पहिलो खेलमा अल्पाईन स्कुलले वाकओभर पाउँदै सफल एकेडेमीलाई पराजित गरेको छ । सफल एकेडेमी निर्धारित समयमा उपस्थित नभएपछि अल्पाईन विजयी घोषित भएको हो । दोस्रो खेलमा ज्ञानदा एकेडेमी र वीरगंज स्कुलबीच भिडन्त भएको थियो ।

टस जितेर ब्याटिङ रोजेको ज्ञानदाले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १४९ रनको विशाल योगफल तयार गर्‍याे । ज्ञानदाका आदिल अन्सारीले अविजित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे भने प्रियान्शु सर्राफले ४८ रन जोडे ।

१५० रनको लक्ष्य पछ्याएको वीरगंज स्कुल १४ ओभरमा ७६ रनमै समेटियो । ज्ञानदाका प्रियान्शु सर्राफ बलिङमा पनि चम्किए, उनले तीन विकेट लिए भने खिलराज सर्राफ र यथार्थ कलवारले २/२ विकेट हात पारे । आदित्य महतोले पनि एक विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ ज्ञानदा एकेडेमीका प्रियान्शु सर्राफ घोषित भए ।

तेस्रो खेलमा मास्कट एकेडेमी र वीरगंज पब्लिक स्कुल भिडेका थिए । टस जितेर ब्याटिङ रोजेको मास्कटले १५ ओभरमा ७ विकेट गुमाउँदै ८४ रन बनायो । ८५ रनको लक्ष्य पछ्याएको वीरगंज पब्लिक स्कुल १५ ओभरमा ६ विकेट गुमाएर ६५ रनमै रोकियो । मास्कटका सलमान आलम र ईशान ठाकुरले २/२ विकेट लिए भने विश्वास पटेल र लकी शर्माले १/१ विकेट हात पारे ।

वीरगंज पब्लिक स्कुलका उज्जल कुमार र शिवम चौधरीले २/२ विकेट लिए भने आशिष साह, प्रथम चौधरी र आलोक कुमार चौधरीले १/१ विकेट लिए । ‘म्यान अफ दी म्याच’ वीरगञ्ज पब्लिक स्कुलका ईशान ठाकुर घोषित भए ।

फुटबलतर्फको प्याब्सन जुनियर नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएकाे पहिलो खेल एमईएस स्कुल र श्री आदर्श स्कुलबीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा एमईएस स्कुल १–० गोल अन्तरले विजयी भयो । ‘प्लेयर अफ दी म्याच’ आदर्श स्कुलका सर्वेस माझी घोषित भए ।

दोस्रो खेलमा लिटल फ्लावर र बिकन स्कुलबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा गोल हुन नसकेपछि टाइब्रेकरमा गएर खेल झनै रोमाञ्चक भएको थियो । ट्राई ब्रेकरमा पनि बराबरी भएपछि सडेन डेथमा लिटल फ्लावर १–० गोल अन्तरले विजयी बन्यो ।

तेस्रो खेल मुनलाईट र सफल एकेडेमीबीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा सफल एकेडेमीले ४–३ गोल अन्तरले जित हात पा-यो । सफलका जर्सी नम्बर १० का राजीव चौधरीले चार गोल गर्दै टिमलाई जित दिलाए । उनलाई ‘म्यान अफ दी म्याच’ घोषित गरियो ।

अन्तिम खेल मास्कट एकेडेमी र लिटिल एञ्जल्सबीच भएको थियो । निर्धारित समयमा दुवै टिमले गोल गर्न सकेनन् । टाइब्रेकरमा लिटिल एञ्जल्सले ३–२ गोल अन्तरले जित हासिल गरेको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए ।

उनकाअनुसार खेलको ‘प्लेयर अफ दी म्याच’ मास्कट एकेडेमीका रेहान पन्चे मगर घोषित भएका छन् । सबै खेलका उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको सचिव सङ्ग्रौलाले बताए ।

जनमत पार्टी पर्साको बैठक सम्पन्न

वीरगंज । जनमत पार्टी पर्साको जिल्ला समन्वय समितिको बिस्तारीत बैठक साेमबार सम्पन्न भएकाे छ । जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा पोखरियामा बसेकाे बैठक सम्पन्न भएको हाे ।

बैठकलाई सम्बाेधन गर्दै जिल्ला अध्यक्ष सरार्फले पार्टीलाई जनमुखी र पर्सा जिल्लामा एक नम्बरको पार्टी बनाउने उदेश्यले यु२४ अभियानलाई प्रभावकारी एवं तिब्र बनाउन जोड दिए ।

उनले मधेसका मुख्यमन्त्री बेथिति र भ्रष्टाचार विरुद्ध चालेका सकारात्मक कदमले पार्टीको गरिमा बढेको र जनमानसमा जनमत प्रति आकर्षण र बिश्वास बढेको जिकिर गरे ।

राजनीति समिति सदस्य सिपु तिवारीले आम जनताको आशा र भरोसा एवं उतम विकल्प डा.सिके राउत र जनमत पार्टी नै रहेको वताए ।

बैठकमा केन्द्रिय सदस्यहरु अनुराग द्विवेदी, रम्भा मिश्र, अनिता रौनियार, नजमा खातुन, वीरगंज महानगर अध्यक्ष महादेव शर्मा, युवा अध्यक्ष उदय यादव, महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता, विद्यार्थी अध्यक्ष बिबेक झा, दलितको जिल्ला अध्यक्ष नरेश राम, वीरगंज महानगर युवा संयोजक संजय सिह, विभिन्न पालिका अध्यक्षहरु एवं जिल्ला समन्वय समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।

नेपाल सेवा निबृत स्वास्थ्यकर्मी समाज पर्साको प्रथम साधारण सभा सम्पन्न

वीरगंज । नेपाल सेवा निबृत स्वास्थ्यकर्मी समाज पर्साको प्रथम साधारण सभा साेमबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजस्थित जिल्ला समन्वय समिती पर्साको सभाहालमा सम्पन्न साधारण सभाले अरुण कुमार महतोकाे अध्यक्षतामा १३ सदस्यी नयाँ कार्यसमिती चयन गरेको छ ।

नयाँ कार्यसमितिकाे उपाध्यक्षमा ईन्द्रदेव साह, सचिवमा अमलेश्वर मिश्रा, कोषाध्यक्षमा राजकिशोर प्रसाद, सदस्यहरुमा सचितानन्द सिंह, योगेन्द्र पंजियार, राजकिशोर पंडित, यमुना चौरसिया, नरेश कम्मकर, रामाधार तिवारी, मंजु थापा, शुभादारा थापा रहेका छन । 

अध्यक्ष महतोको अध्यक्षतामा भएकाे साधारण सभाकाे नारायणी अस्पतालका मेसु चुमनलाल दासले उद्घाटन गरेका थिए । साधारण सभाकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मेसु दासले देशमा मलेरिया, कालाजर तथा खोपका लागी दक्ष जनशक्तिको अभाव रहेको बताए ।

 उनले दक्ष जनशक्ति सेवानिबृत हुँदै गएको र नयाँ दक्षजनशक्ती उत्पादन नभएकोले देशमा दक्षजनशक्ति अभाव रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेसु दासले बेलाबख्तमा देशमा आएको आपतबिपतको समयमा राज्यले सेवानिबृत कर्मचारीबाट सेवा लिएकाे बताए ।

राज्य जुन बेला पनि सेवानिबृत दक्ष जनशक्तिलाई खटाई राज्यको सेवा प्रवाहमा सहयोग लिन सक्ने भएकोले नेपाल सेवा निबृत स्वास्थ्यकर्मी समाज पर्साका अगुवाहरुले डाटा संकल्न गरी सम्बन्धी निकायमा राख्न आग्रह गरे । देशको गहनाको रुपमा सेवानिबृत कर्मचारी रहेको मेसु दासले उल्लेख गरे ।

कार्यक्रमका बिशिष्ठ अतिथी तथा जनस्वास्थ्य प्रमुख मुक्तिनारायण साहले पर्सामा निबृत स्वास्थ्यकर्मी समाजले लिएको पहलकदमी देशभरी नै लागु हुने बताए । सेवानिबृत कर्मचारीहरुले घर निमार्ण गर्न शुरु गरेको र यसै घरमा कुनै कुनै बेला हामी सबै स्वास्थ्यकर्मी आउने बताए ।

उद्घाटन समारोहमा नेपाल ट्रेड युनियन पर्सा तथा मधेश प्रदेशका पुर्ब अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी, डा. अरुण कुमार सिंह, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, सखुवा प्रसौनी गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश प्रसाद रौनियार, कान्तिपुर दैनिकका सह सम्पादक शंकर आचार्य, सिनियर अनमी नारायणी देवी चौधरी लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य जनस्वास्थ्य अधिकृत ईन्द्रदेव साहले राखेका थिए भन्ने कार्यक्रम संचालन नेपाल सेवा निबृत स्वास्थ्यकर्मी समाज पर्साका सचिव अमलेश्वर मिश्राले कार्यक्रम संचालज गरेका थिए ।

प्याब्सन अन्तर विद्यालय क्रिकेट तथा जुनियर फुटबल प्रतियोगिता सुरु

वीरगंज । प्याब्सन पर्साको आयोजनामा प्याब्सन अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट तथा जुनियर फुटबल प्रतियोगिता सुरु भएको छ । वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा सुरु भएकाे प्रतियाेगिताकाे प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुङ्गाना र मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवाल, मधेस प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हरिशंकर साह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, प्याब्सन मधेस प्रदेशका अध्यक्ष गणेश साह, मधेस प्रदेशका वरिष्ठ सल्लाहकार इमामुद्धिन अहमद, केन्द्रीय सदस्य छेदुप लामा, पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

 प्रतियाेगिताकाे पहिलाे दिन साेमबार भएकाे अन्तर विद्यालय स्तरीय टि ट्वाइन्टी नकआउट क्रिकेट प्रतियोगितामा सेन्जेभियर्स स्कुल विजयी भएको छ । पहिलो खेलमा आदर्श स्कुललाई ९ रनको झिनो अन्तरले पराजित गर्दै सेन्जेभियर्स स्कुल विजयी भएको हो ।

टस जितेर ब्याटिंग गरेको सेन्जेभियर्स स्कुलले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो । सेन्जेभियर्सका लागि दिपेश साहले ५५ रनको अर्धशतीय पारी खेले । १०३ रनको लक्ष्य पछ्याएको आदर्श स्कुल निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ९३ रनमै समेटियो ।

प्रतियोगितामा सेन्जेभियर्सका दिपेश साह प्लेयर अफ दी म्याच घोषित भएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए । प्लेयर अफ दी म्याच भएका दिपेशलाई नगद एक हजार रुपैयाँ र मायाको चिनोसहित प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी लगायतले पुरस्कृत गरेका थिए ।

यसैबीच साेमबार नै भएको जुनियर फुटबल प्रतियोगिताको पहिलो खेलमा नवदिप एकेडेमी विजयी भएको छ । ३०–३० मिनेट गरी एक घण्टाको खेलमा दुवै समूहबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा लम्बिएको थियो । ट्राईब्रेकरमा ४–३ गोलले नवदीप एकेडेमी विजयी भएको हाे ।

यस खेलमा नवदिप एकेडेमीका गोलकिपर राज चौधरी प्लेयर अफ दी म्याच घोषित भएका छन् । उनलाई प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीसँगै मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हरिशंकर साह, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, पूर्व केन्द्रिय सदस्य प्रकाश उपाध्याय लगायतले पुरस्कृत गरेका हुन् ।

अन्तर विद्यालय क्रिकेट क्रिकेट प्रतियाेगिता तर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने फुटबलतर्फ ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । साथै उत्कृष्ट खेलाडी, बेस्ट बलर, बेस्ट फिल्डर, बेस्ट डिफेन्डर लगायतका विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने प्याब्सन पर्साका सचिव सङ्ग्रौलाले जानकारी दिए ।