Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026
Home Blog Page 258

होटल र मसाज सेन्टरहरुमा गलत क्रियाकलाप नगर्न एसपी मिश्रकाे चेतावनी

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यावसायि संघ पर्साको संयुक्त आयोजनामा आइतबार वीरगंजमा “मर्यादित होटल ब्यबसाय संचालनमा ब्यबसायी र प्रहरीको भुमिका” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजका होटल र मसाज सेन्टरहरुलाई ब्यबस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यावसायि संघ पर्साकाे संयुक्त आयाेजना कार्यक्रम सम्पन्न भएकाे हाे । 

कार्यक्रममा वाेल्दै पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले कुनै पनि होटलमा होटल ब्यबसायीहरुको प्रत्यक्ष सम्लग्नतामा गलत क्रियाकलाप र यौनजन्य गतिविधि नगर्न आग्रह गरे । उनले त्यसो गरिएको भेटिए कारवाहीकाे लागि तयार रहन चेतावनी समेत दिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका एसपी मिश्रले आफू पर्सा आएपछि वीरगंजका ४ जना होटल ब्यबसायीहरुलाई मानव बेचबिखानको मुद्दा चलाएको समेत जानकारी गराए ।

होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तले होटल ब्यबसायी र प्रहरीको सहकार्य यस क्षेत्रको तमाम समस्या समाधानमा कोशे ढुङ्गा साबित हुने बताए । उनले २१ औं शताब्दीको प्रहरीले अनावश्यक रूपमा होटलको काेठा कोठा चाहरेर आफ्नाे महत्त्वपूर्ण समय बर्बाद नगर्न समेत सुझाए ।

वीरगंजस्थित क्लासिक ब्यान्क्वेटमा भएकाे कार्यक्रममा ७० भन्दा माथी होटल ब्यबसायिहरुको उपस्थिति रहेको थियाे । कार्यक्रमको ओपन फ्लोअरमा वाेल्ने अधिकान्स होटल ब्यबसायीहरुले आआफ्नाे समस्याहरु राख्ने क्रममा व्यावसायिहरुमाथि कतै कतै अन्याय समेत भएको बताएका थिए ।

होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा रचेन्द्र सिंह थापाले स्वागत तथा दिलिप राज कार्कीले सहजीकरण गरेका थिए ।

प्याब्सन वीरगंज अण्डर-१२ क्रिकेट प्रतियोगिता : दाेस्राे पटक कालिका एकेडेमी विजयी

वीरगंज ।  प्याब्सन वीरगंज महानगर समितिको आयोजनामा वीरगंजमा जारी अण्डर-१२ क्रिकेट प्रतियोगितामा आइतबार दाेस्राे पटक कालिका एकेडेमी विजयी भएकाे छ । प्रतियाेगिता अन्तर्गत आईतबार भएकाे पहिलाे खेलमा पर्साकाे ग्रामिण भेगका विद्यालय कालिका एकेडी विजयी भएकाे हाे ।

वीरगंजस्थित ज्ञानदा एकेडेमीको मैदानमा भएकाे खेलमा अल्पाइन स्कूल वीरगंज श्रीपुरलाई दुई रनले हराउँदै कालिका एकेडेमी कालिकामाई गाउँपालिका २, भेडिहारी विजयी भएकाे प्याब्सन वीरगंजका सचिव राहुल आलाेक अमितले जानकारी दिए ।

कालिका एकेडमी टस जितेर ब्याटिङ राेजेकाे थियाे । सुरुमा ब्याटिङ गरेकाे कालिका एकेडेमीले पुरै १० ओभर खेल्दै ७ विकेटकाे नाेक्सानीमा १२० रन बनाएकाे थियाे । त्यसपछि १२० रनकाे लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रेकाे अल्पाइन स्कूलले १० ओभर मै ६ विकेट गुमाउँदै ११९ रनमै समेटिएपछि कालिका एकेडेमी विजयी घाेषित भएकाे थियाे ।

खेलकाे म्यान अफ दि म्याच कालिका एकेडेमी कै अमित पटेल घाेषित भएका थिए ।

यसैगरी अण्डर-१२ क्रिकेट प्रतियोगिता अन्तर्गत नै भएकाे अर्काे खेलमा विद्यया सागर स्कुल विजयी भएकाे छ । ज्ञानदा स्कुललाई ६ विकेटले हराउँदै विद्यया सागर विजयी भएकाे प्याब्सन पर्साका अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिए । साे खेलकाे म्यान अफ दि म्याच ४२ रन बनाएका जिसान अहमद घाेषित भएकाे अध्यक्ष श्रीवास्तवले वताए ।

प्याब्सन जुनियर फुटबल प्रतियोगिता : ज्ञान ज्योति र ठोरी एकेडेमीको शानदार जित

वीरगंज । वीरगंजस्थित विपद् व्यवस्थापन गुल्मको खेलमैदानमा जारी राज होजियारी प्याब्सन जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आज दुई रोमाञ्चक खेल सम्पन्न भएका छन् । प्रतियोगितामा ज्ञान ज्योति र ठोरी एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो-आफ्नो खेल जितेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा डीएभी र ज्ञान ज्योती बीच प्रतिस्पर्धा भएको थियो । खेलको शुरुवातदेखि नै दुवै टोली आक्रामक देखिए पनि ज्ञान ज्योतिले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै २ गोलको अन्तरले जित हासिल गर्‍यो । ज्ञान ज्योति टोलीका खेलाडी सोयम प्रजापति प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा ठोरी एकेडेमी र बीपीएस भिडन्त भयो । ठोरी एकेडेमीले उच्च प्रदर्शन गर्दै ३ गोलको फराकिलो अन्तरले बीपीएसलाई पराजित गर्‍यो । ठोरी एकेडेमीका खेलाडी सागर पन्तले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याचको उपाधि जिते ।

राज होजियारी प्याब्सन जुनियर फुटबल प्रतियोगिता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पर्साको आयोजनामा भइरहेको छ । प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाका अनुसार, यो प्रतियोगिता विद्यार्थीहरूलाई खेलकुदमा संलग्न गराउँदै उनीहरूको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो ।

प्याब्सन पर्साका अध्यक्ष सराेज चाैधरीकाअनुसार, प्रतियोगिताले खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्न मद्दत गर्नेछ । साथै, वीरगंजमा विद्यालय स्तरको खेलकुद गतिविधिहरूलाई प्रवर्द्धन गर्न यो प्रतियोगिता महत्वपूर्ण सावित हुने उनकाे विश्वास छ ।

कर्मचारी मिलन केन्द्र पर्साको अध्यक्षमा मल्लिक, उपाध्यक्षमा यादव र सचिवमा पटेल

वीरगंज । कर्मचारी मिलन केन्द्र पर्साको वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएकाे छ । अधिवेशनले जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेकाे छ । 

नयाँ कार्यसमितिकाे उपाध्यक्षमा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादव, महिला उपाध्यक्षमा नेपाल बीमा प्राधिकरण मधेश प्रादेशिक कार्यालय प्रमुख प्रिति देव, सचिवमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपककुमार पटेल, सहसचिवमा राष्ट्रिय समाचार समिति वीरगंजका कार्यालयका प्रमुख हिमाल लम्साल, कोषाध्यक्षमा कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका कोष नियन्त्रक सन्तोषप्रसाद कुशवाह सर्वसहमत चयन भएका छन् ।

यसैगरी समितिकाे सदस्यमा यान्त्रिक व्यवस्थापन कार्यालयका पर्साका इन्जिनयर सुरेश प्रसाद, नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक रञ्जनकुमार केशरी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक अमृत बस्नेत, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत अन्जनी मण्डल, वीरगंज महानगरपालिका इन्जियर राकेशप्रसाद साह र साल्ट टे«डिङ्ग कर्पाेरेसन लिमिटेडका सूचना अधिकारी सञ्जयकुमार गुप्ता चयन भएका हुन् । समितिकाे एक सदस्य भने पछि मनोनित हुने बताइएको छ ।

केन्द्रको सल्लाहकारमा जिल्ला प्रमुख न्यायाधीश दिपक खनाल, न्यायाधीश उत्तम सिलवाल, आनन्द श्रेष्ठ, उपेन्द्रकेशर खनाल, रुद्र सुवेदी चयन भएका छन् । त्यस्तै केन्द्रको संरक्षकमा भने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका छन् ।

केन्द्रका नवनिर्वाचित अध्यक्ष मल्लिकले केन्द्रले रचनात्मक र सिर्जनशिल कार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । केन्द्रका निवर्तमान अध्यक्षले राकेश कुमार झाले केन्द्रका वार्षिक गतिविधि र कार्यप्रगति प्रस्तुत गरेका थिए ।

पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीश दिपक खनालले राष्ट्रसेवक कर्मचारी स्थायी सरकार भएकाले पनि रचनात्मक र सिर्जनशिल कार्य गर्न अनुरोध गरे । कर्मचारी मिलन केन्द्र,पर्साको शनिबार आयोजित वार्षिक साधारणसभा तथा अधिवेशनमा बोल्दै न्यायाधीश खनालले फरक–फरक जिल्लाबाट आएर कार्य गर्दै आएका राष्ट्रसेवक कर्मचारीलाई इमान्दारीपूर्वक कार्यसम्पादन गर्न आग्रह गरे ।

‘‘फरक–फरक भूगोलबाट आएर कर्मचारीहरुले यहाँ काम गर्दै आइरहनुभएको छ,’’ उनले भने,‘‘आफ्नो कार्यालयका सेवाग्राहीलाई ध्यान दिदैँ काम गर्न अनुरोध गर्दछु ।’’ न्यायाधीस खनालले कर्मचारी मिलन केन्द्रले पनि विभिन्न रचनात्मक कार्यक्रम गर्दै अघि बढ्नका लागि शुभकामना व्यक्त गरे ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पेशागत हकहितको साथसाथै आफ्नो जिम्मेवारी पनि प्रभावकारी ढंगले गर्न आग्रह गरे ।

संविधान २०४७ पुनः स्थापनाका लागि जनआन्दोलनको अहृवान

काठमाण्डौं । राष्ट्रिय नागरिक संघर्ष समितिले नेपाल अधिराज्यको संविधान २०४७ पुनः स्थापनाका लागि जनआन्दोलन गर्ने अहृवान गरेको छ । समितिका संयोजक नरेश बहादुर सिंहले एक प्रेस विज्ञप्ती जारी गरी ७५ औं प्रजातन्त्र विदवसको पुनित अवसरमा पूर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहबाट देशवासीको नाममा दिएका शुभकामना सन्देशको स्वागत गर्दै जनआन्दोलनका लागि एकताबद्ध हुन अहृवान गरेका हुन् ।

पुर्व राजाबाट प्रजातन्त्र विदवसको अवसरमा जारी भएको शुभकामना सन्देश मार्फत भएको आव्हानलाई मन, वचन र कर्मले कार्यान्वयनको लागि प्रतिवद्धता समेत समितिले विज्ञप्ती मार्फत जाहेर गरेको छ । पुर्व राजाको अहृवानलाई साकार गर्न सार्वभौम नेपाली जनता, आधुनिक शक्तिको रुपमा रहेको सबै राजनीतिक दलहरु, विभिन्न राजनीतिक तथा धार्मिक संघ–संस्थाहरु, विभिन्न अभियानका अभियन्ताहरु, पत्रकारहरु, सुरक्षा निकायहरु, न्यायपालिका, राष्ट्रसेवक कर्मचारीहरु, कानुन व्यवसायी, प्राज्ञिक, डाक्टर, शिक्षक, विद्यार्थी, उद्योगपति, व्यापारी, मजदुर, किसान लगायत विभिन्न वर्ग क्षेत्रमा रहेका सबैको सहभागिता र सहकार्यका लागि समितिले अपिल पनि गरेको छ ।

समितिद्वारा जारी विज्ञप्तीमा मौसुफ सरकारको आव्हानलाई सफल पार्न नेपाल र नेपालीलाई बचाउन राजनीतिक एवं संवैधानिक मार्ग बाहेकको अर्को विकल्प छैन, त्यसको निमित्त निषेध र घृणा सृजना गर्ने मुलुकमारा अवैध २०७२ को संविधानलाई खारेज गर्दै, राष्ट्रिय मेलमिलापको आधारसिलामा खडा भएको आधुनिक र परम्फरागत शक्तिहरुलाई एकाकार गरी राष्ट्रिय शत्तिको निर्माण गर्ने, भू–राजनीति र अन्तर्राष्ट्रिय परिवेशमा राजा, जनता र राजनीतिकदलहरुलाई सहि दिशानिर्देस गर्न, नेपाल अधिराज्यको संविधान २०४७ लाई पुनस्थापना गरी विकल्प रहित अहिंसक जन आन्दोलनको लागि नेपालको राष्ट्रिय झण्डामुनी गोलबद्ध भई निस्कलंक, सक्षम र वरिष्ठ राजानीतिज्ञको संयोजकत्वमा राष्ट्रिय अहिंसक जनआन्दोलन परिचालन समिति गठन गर्न सबै सरोकारवाला पक्षलाई आव्हान गरिएको छ ।

बैंकहरूले प्रस्ताव पत्रमा गरेको प्रतिबद्धता अनुसार ऋण वितरण गर्दैनन् : सिए चाैरसिया

वीरगंज । बैंकहरूले प्रस्ताव पत्रमा गरेको प्रतिबद्धता अनुसार ऋण वितरण नगरेकाे सिए अजय चाैरसियाले गुनासाे गरेका छन् ।

उनले कालिका टाईम्स संग कुरा गर्दै भने “धेरै परियोजनाहरू बैंकहरूद्वारा वित्तीय सहायता प्राप्त गर्छन्, तर केही बैंकहरूको गलत उद्देश्यका कारण, ती परियोजनाहरू सञ्चालनमा आउन सक्दैनन् किनभने बैंकहरूले प्रस्ताव पत्रमा गरेको प्रतिबद्धता अनुसार ऋण वितरण गर्दैनन् ।” अब, समस्याको समाधान गर्ने सट्टा, बैंकहरूले यस्ता परियोजनाहरू लिलाम गर्ने र तिनका मालिकहरूलाई कालोसूचीमा राख्ने प्रयास गरिरहेकाे उनकाे भनाई छ ।

सिए चाैरसियाका अनुसार यस्ता कार्यहरूले बैंकिङ प्रणालीमा गम्भीर संकट सिर्जना गर्नेछ, जसले धेरै सीईओहरू र बैंकहरूलाई ऋणीहरूको सबैभन्दा ठूलो शत्रुमा परिणत गर्नेछ । एक मात्र विवेकपूर्ण उपाय भनेको बाँकी वित्तीय आवश्यकताको पूर्ति गर्नु, परियोजनालाई सञ्चालनमा ल्याउनु, र यसलाई बैंकको दायित्व पूरा गर्न पर्याप्त राजस्व उत्पन्न गर्न सक्ने अवस्थामा पुर्‍याउनु हो ।

वीरगंज ६ गहवामा रहेकाे अजय चाैरसिया एण्ड एशाेसियटका निर्देशक समेत रहेका सिए चाैरसियाले लिलामी कुनै समाधान होइन; बरु यसले अझ ठूलो वैमनस्यता सिर्जना गर्नेछ र बदला लिने मानसिकता फैलाउने वताएका छन् ।

प्याब्सन वीरगंज महिला क्रिकेटमा ओम नेशनल, गौतम र अल्पाइन स्कुल विजयी

वीरगंज । प्याब्सन वीरगंज महानगर समितिको आयोजना जारी प्याब्सन वीरगंज महिला क्रिकेट तथा अण्डर-१२ क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार विभिन्न खेलहरु सम्पन्न भएकाे छ । बिहीबार भएको गर्ल्सको पहिलो खेलमा जीवन ज्योतिलाई हराउँदै ओम नेशनल बिजयी भएकाे छ । 

टस जिति ब्याडिङ्ग  रोजेका जीवन ज्योतिले ४ विकेटको क्षतिमा ४७  रन बनाएका थिए भने ओम नेशनलले ८ बिकेटले बिजयी भएका थिए । सो खेलको म्यान अफ द म्याच ओम नेशनल स्कुलकी प्रिया क्षेत्री  घोषित भइन ।

त्यसैगरि गर्ल्सको तर्फ कै दोस्रो खेलमा गौतम स्कुल  विजयी भएकाे हाे । माउन्ट मकालुलाई १० विकेटले हराउँदै गौतम स्कुल  बिजयी भएको आयाेजकले जनाएकाे छ । माउन्ट मकालु स्कुलले टस जिति ब्याटिङ्ग गर्दै ८ ओभरमा ९ विकेटको क्षतिमा ४६ रन बनाएकाे थियाे । गौतम स्कुलले ८ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पुरा गर्दै बिजयी भएको थियाे । सो खेलको म्यान अफ दि म्याच गौतम स्कुलकी सुरेखा बस्नेत घोषित भएकी थिईन ।

त्यसैगरी गुर्ल्स तर्फ तेस्राे खेलमा अल्पाइन स्कुल विजयी भएकाे हाे । मनकामना स्कुललाई १० विकेटले हराउँदै अल्पाईन स्कुल बिजयी भएको आयाेजकले जनाएकाे छ ।

अल्पाईन स्कुलले टस जितेपनि मनकामना स्कुललाई ब्याटिङ्ग गर्न दिएको र आफुले बलिङ्ग रोजेका थियाे । मनकामना स्कुलले ८ ओभरमा ० विकेटको क्षतिमा ४७ रन बनाएका थिए भने अल्पाइन स्कुलले ५ ओभरमा कुनै विकेट नगुमाई ५१ रन बनाई बिजयी भएकाे थियाे । सो खेलको म्यान अफ दि म्याच अल्पाईन स्कुलकी प्रजिता मिश्रा घोषित भएकि थिईन ।

म्यान अफ द म्याच भएकाहरुलाई लिटल बडी स्कुलका प्रिन्सपल विजय बाल लगायतकाले सिल प्रदान गरेका थिए ।

पर्सामा किसानहरुले चैते धानको बीऊ राख्न थाले

ओमप्रकाश चाैधरी /
सेढवा । पर्साको ग्रामीण भेगका किसानहरुले चैते धान बाली (हर्दिनाथ – १) को बीऊ राख्न शुरु गरेका छन । यस क्षेत्रका खास गरि जिल्लाको उतरी तथा पश्चिमी भेगमा पर्ने ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका, पर्सागढी नगरपालिका तथा बीरगंज महानगरपालिकाका उतरी वडाका किसानहरुले चैते धान बालीको बीऊ राख्न शुरु गरेका हुन ।

किसानहरुले बीऊ छर्नका लागि आवश्यक ब्याडका लागि सिचाई गर्ने, झारपातको गोडमेल गर्ने तथा बीऊ छर्ने कार्य शुरु गरेका छन । बिगत ४/५ बर्षदेखि यस धानबालीबाट किसानहरुले राम्रो उत्पादन गर्दै आएका कारण अन्य किसानहरुले यो बालीको रोपाईको शुरुवात गर्न थालेका छन ।

जिराभवानी गाँउपालिका वडा नं १ शान्तिनगरका किसान रविमोहन सापकोटाका अनुसार आफूले डेढ बिघा चैते धान बाली रोपाईका लागि ब्याडमा बीऊ राखेको बताए । यो बाली लगाउदा एउटै जमिनबाट किसानहरुले दुई बाली धान र अर्को तोरी, सुर्ती या राजमाको खेती गरी तीन बाली उत्पादन गर्न सकिने किसान सापकोटाका भनाई रहेको छ ।

किसानहरुले खेतीबाटै आफ्ना खाद्यान्न, लताकपडा, शिक्षा, औषधी उपचार तथा अन्य खर्च धाउनु परेका हुँदा किसानहरुले बिभिन्न किसिम्मका उत्पादन तिर उन्मुख हुनु परेको किसान सापकोटाले बताए ।

त्यस्तै ठोरी गाउँपालिका वडा नं ५ गडुवालाईनका किसान देवीप्रसाद दहालले अहिले खेतमा सिचाईका लागि भूमिगत सिचाई अन्तर्गत बोरिंगबाट दमकल तथा वाटर पम्पबाट सहज हुने हुँदा किसानहरुले बिभिन्न बाली उत्पादन गर्न अग्रसर भएको बताए । तोरी उखेलेका, सुर्ती बाली भित्रियाउदै गरेका जमिनहरु एक महिना भित्र खाली हुने हुदा सोको सदुपयोग गर्दै चैते धानबालीका लागि बीऊ राख्न शुरु गरेका दहालको भनाई रहेकाे छ ।

यता सखुवाप्रसौनी गाउँपालिका वडा नं १ का सुरेन्द्र महतो थारूले आफ्नो क्षेत्रमा रहेका खेतीयोग्य जमिनको ३० प्रतिशत भन्दा बढि चैते धानबालीको खेती हुने गरेको बताए । यो धानको चामलको भात खानाका लागि स्वादिलो तथा उत्पादन पनि राम्रो हुने हुँदा यो बाली प्रति किसानहरुको आकर्षण बढेका थारुले बताए ।

चैते धानबालीको उन्नत जातका बीऊ पालिका तथा कृषि सम्बन्धि बिभिन्न कार्यालयहरुले पनि पचास प्रतिशत आनुदानमा पनि किसानहरुलाई बीऊ उपलब्ध गराउने गरेका छन । पटेर्वासुगौली गाउँपालिकाका कृषि शाखाका ना. प्रा. स मोहन दास थारुका अनुसार अहिलेसम्म पचास प्रतिशत आनुदानमा २ सय पचास बोरा (३५ के. जी. को बोरा) बितरण भइसकेको बताए । अझै दुई सय बोराको माग रहि रहेको थारुको भनाई रहेकाे छ ।

उता ठोरी गाउँपालिकामा रहेका कृषि सहकारी संस्थाहरुले किसानलाई आधा मूल्यमा बीऊ बितरण गरिरहेको जानकारी प्राप्त भएकाे छ । यी संस्थाहरुले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बारा पर्साको कार्यालय कलैयाबाट हर्दिनाथ – १ को बीऊ ल्याई किसानहरुलाई बितरण भइरहेको ठोरी गापाका प्रमुख चन्दन भैया थारुले बताए ।

यता जगरनाथपुर र सखुवाप्रसौनी गाँउपालिकामा चैते धानबालीको बीऊ मागका लागि फारम भर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । यो बालीको बीऊ फागुन महिनाको पहिलो सातादेखि बीऊ राख्ने तथा चैत्र महिनाको पहिलो सातादेखि रोपाई शुरु गर्ने गरिन्छ ।

९० दिनमा पाकी सक्ने यो बाली जेठ महिनाको अन्तिम सातासम्म भित्रियाउन सकिने किसानहरुले जनाएका छन । सोही खेतमा पुनः यही धानबालीको रोपाई गर्न सकिने किसानहरुले जनाएका छन । गत बर्षसम्म यो बाली पाच मनदेखि आठ मन (२ क्वीन्टल देखि साढे तीन क्वीन्टल) प्रति कटठाको दरमा उत्पादन हुने गरेका छन । अहिले यो बाली भारत बिहारको पश्चिमी चम्पारण जिल्लाको केही स्थानमा समेत खेती हुन थालेका छन ।

लागु औषध गाँजा र चरेश सहित एक भारतिय पक्राउ

वीरगंज । पर्सा  प्रहरीले लागु औषध गाँजा र चरेश सहित एक भारतियलाई पक्राउ गरेकाे छ । प्रहरी चौकी ईनर्वाबाट खटिएकाे टोलीले भारत वंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी निवासी २८ बर्षिय राज अधिकारीलाई पक्राउ गरेकाे हाे ।

नियमित चेकिङ टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने क्रममा बुधबार दिउसाे  २:१५ बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ शंकराचार्य गेटबाट अधिकारीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

अधिकारीले बोकेको क्यामो ब्यागभित्र सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ विना प्लाष्टिकको ६ के.जी.३०० ग्राम र प्लाष्टिकले बेरी राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ बिना प्लाष्टिकको २ के.जी.१०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवाष भट्टले जानकारी दिए ।

बरामद लागु औषध गाँजा जस्तो देखिने पदार्थ र चरेश जस्तो देखिने पदार्थ सहित अधिकारीलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टले जानकारी गराए ।

बौद्धिक पेसाकर्मीको राष्ट्रिय उपाध्यक्षमा डा. आलम

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) निकट जनवर्गीय संगठन बौद्धिक पेसाकर्मीको राष्ट्रिय उपाध्यक्ष पर्साका डा. आमिर आलम नियुक्त भएका छन् । जसपाका संघीय परिषद् सदस्यसमेत रहेका वीरगंज १५ निवासी डा. आलम सफल युवा उद्यमी तथा स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्व हुन् । 

स्माइल डेन्टल क्लिनिक वीरगंजका प्रबन्ध निर्देशक समेत रहेका डा. आलमको नियुक्तिसँगै जसपाको बौद्धिक पेसाकर्मी संगठनमा नयाँ ऊर्जा थपिएको विश्वास गरिएको छ । उनको नेतृत्वमा संगठनले शैक्षिक तथा बौद्धिक क्षेत्रमा सुधार ल्याउने योजनासहित कार्य अघि बढाउने अपेक्षा गरिएको छ ।

डा. आलमलाई विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले बधाई तथा शुभकामना दिएका छन् । शुभेच्छुकहरूले आगामी दिनमा सफल कार्यकालको शुभकामना दिँदै उनको नेतृत्वमा संगठनले अझ प्रभावकारी काम गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

उनी लामो समयदेखि सामाजिक सेवा, स्वास्थ्य, तथा राजनीतिक क्षेत्रका गतिविधिमा सक्रिय रहँदै आएका छन् । जसपा स्रोतका अनुसार डा. आलमको नेतृत्वले संगठनलाई अझ मजबुत बनाउने र देशभरका बौद्धिक पेसाकर्मीलाई एकजुट गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।