Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026
Home Blog Page 257

वीरगंजमा हैजा नियन्त्रण एकद्वार प्रणालीमार्फत, स्वास्थ्य मन्त्री वीरगंजमा

0

वीरगंज । हैजाको संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन वीरगंज महानगर प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रमा जथाभावी औषधि वितरण नगरी एकद्वार नीति अवलम्बन गर्न निर्देशन दिएका छन् । उनले हैजालाई “हौवा” बनाएर व्यापार नगर्न सबैलाई आग्रह पनि गरेका हुन् ।

नीजि अस्पतालहरूले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास गरेको उल्लेख गर्दै प्रमुख सिंहले सरकारले नै निशुल्क किट उपलब्ध गराउने स्पष्ट पारे ।

वीरगंजमा आयोजित अन्तरक्रियात्मक छलफलमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरूसँग छलफल गर्दै सिंहले हैजा नियन्त्रणका सबै कार्य एकीकृत प्रयासमार्फत अघि बढाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई उपचारको मुख्य केन्द्र बनाउनुपर्ने धारणा राख्दै, निजी अस्पतालहरूले पनि समान मापदण्ड अपनाउनुपर्ने बताए । यसका लागि मन्त्रालयको टोलीले निजी अस्पतालहरूको अनुगमन गर्ने र आइसियुमा उपचाररत विरामीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तयारी रहेको जानकारी दिए ।

त्यसैगरी, स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखा प्रमुख डा. प्रविण झाले हैजाको परीक्षण बारम्बार आवश्यक नहुने प्रष्ट पार्दै, बिरामीमा एक पटक हैजा पुष्टि भएपछि अन्य बिरामीमा त्यस्तै लक्षण देखिए उपचारमा सीधा ध्यान दिन आग्रह गरे ।

यसैबीच, हैजाको अवस्था प्रत्यक्ष अवलोकन गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगंज आइपुगेका छन् । उनले  नारायणी अस्पताल पुगेर निरीक्षण गर्ने र त्यसपछि महानगर तथा सरोकारवालाहरूसँग छलफल गर्ने तय भएको छ।

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली भने हिजोदेखि नै वीरगंजमा खटिएको छ र हैजा नियन्त्रण तथा उपचारका गतिविधि नजिकैबाट अनुगमन गरिरहेको छ ।

मन्त्री सिंहको उपस्थितिमा पर्सामा हैजा नियन्त्रण रणनीति तय

0

वीरगंज । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंहज्यूको विशेष उपस्थितिमा आइतबार पर्सामा जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठक बसेको छ ।

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले हाल जिल्लामा फैलिरहेको झाडा पखाला तथा हैजा (कोलेरा) नियन्त्रणका लागि ६ बुँदे निर्णय गरेको छ।

बैठकले सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, नेपाल रेडक्रस सोसाइटी, मिडिया तथा विभिन्न संघसंस्थाको समन्वयमा घरदैलो अभियान, माईकिङ्ग र सचेतना कार्यक्रम तत्कालै सघन रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यसैगरी स्वास्थ्यकर्मीको अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राखी आवश्यकबाहेक बिदा नदिने, औषधि, किट तथा खानेपानी शुद्धिकरणका औषधि पर्याप्त मात्रामा सुनिश्चित गर्ने व्यवस्था मिलाउने, तथा महामारी नियन्त्रणका लागि Joint Operation Centre स्थापना गर्ने निर्णय गरिएको छ।

यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त जनशक्ति र स्रोत साधनलाई Pool खडा गरी व्यवस्थापन गर्ने र हाल फैलिरहेको महामारीको स्रोत पहिचान गर्न सम्बन्धित स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा स्वास्थ्य कार्यालय पर्सालाई आवश्यक औषधि व्यवस्थापनका लागि अग्रसर हुने जिम्मेवारी दिइएको छ भने महामारी नियन्त्रणका लागि प्राविधिक सहयोग प्रदेश तथा संघीय सरकारबाट उपलब्ध गराइने उल्लेख गरिएको छ।

बुद्ध एयरकाे लापरवाही : विमानमा ४ दिनदेखि एसी बिग्रिँदा यात्रुहरू त्रस्त

0
फाइल तस्बिर

वीरगंज । मधेश प्रदेशका युवा, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले बुद्ध एयरलाइन्सप्रति यात्रु सुविधा सम्बन्धी गुनासो सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बुद्ध एयरको U-4560 नम्बरको विमानमा एयर कन्डिसन (AC) बिग्रिएर यात्रुहरू अत्याधिक गर्मी सहन बाध्य भएको जानकारी दिएका हुन् ।

मन्त्री जयसवालका अनुसार, सिमराबाट काठमाडौं उडानको क्रममा विमानभित्र AC ले काम नगर्दा यात्रुहरूलाई आकाशमै ठूलो असुविधा भएको थियो । बुझ्दा चार दिनदेखि AC बिग्रिएको थाहा पाइएको उनले उल्लेख गरेका छन् ।

विमान अवतरणलगत्तै उनले बुद्ध एयरको व्यवस्थापनलाई फोन गरी यस्तो गैरजिम्मेवार व्यवहारबारे प्रश्न गरेका थिए । साथै, तत्कालै समस्या समाधान गर्ने प्रतिबद्धता व्यवस्थापनले जनाएको उनले जानकारी दिए । जयसवालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई समेत यो समस्या बारे जानकारी गराइसकेका छन् ।

यसअघि पनि आन्तरिक उडानका यात्रुहरूले बुद्ध एयरमा सेवा सुविधासम्बन्धी असन्तुष्टि प्रकट गर्दै आएका छन् ।

परवानीपुर गाउँपालिकामा हैजा रोकथामका लागि अनुगमन समिति गठन

0

वीरगंज । वीरगंज महानगरपालिकामा फैलिएको हैजाबाट प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै परवानीपुर गाउँपालिकाले आपतकालीन बैठक बसेर आवश्यक तयारी गरेको छ।

गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठकमा वडा अध्यक्षहरू, स्वास्थ्य चौकी प्रमुख, एलएस न्युराे एण्ड जेनरल हस्पिटलका प्रतिनिधि तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । बैठकमा हैजाबाट पालिकामा पर्न सक्ने असर र रोकथामका उपायबारे गहन छलफल गरिएको थियो ।

बैठकपछि प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको निर्देशनमा प्रत्येक वडामा एक–एक र पालिकास्तरमा एक अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ । समितिहरूले नियमित रूपमा अवस्था अनुगमन गरी आवश्यक कदम चाल्ने पालिकाले जनाएको छ ।

पर्सामा ३ हजार बिरुवा रोप्दै वातावरण संरक्षण अभियान सम्पन्न

0

वीरगंज । पूर्ण ब्रह्म कविर उपासक समाज, नेपाल, पर्साको आयोजनामा पर्सागढी नगरपालिका–०३ सिर्जना टोल एरिया, साझेदारी वनमा ३ हजार बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएकाे छ ।

परम पूज्य तत्वदर्शी संत रामपाल महाराजको सानिध्यमा आयोजित यस कार्यक्रमअन्तर्गत वातावरण सन्तुलन र मानव कल्याणको लागि “बोट बिरुवा लगाऔं र संरक्षण गरौं” अभियानलाई अघि बढाइएको छ । कार्यक्रममा साझेदारी वनका पूर्व अध्यक्ष लखन लाल शाह र पर्सागढी नगरपालिकाका पूर्व अध्यक्ष सत्नरायण चौधरीको समेत उपस्थिती रहेको थियो।

पूर्ण ब्रह्म कविर उपासक समाज नेपाल, पर्साका संयोजक नरेश प्रसाद पंडितले कार्यक्रमको उद्देश्य र वृक्षारोपणको महत्वबारे जानकारी दिए । सहभागीहरूद्वारा वृक्षारोपणको काम उत्साहपूर्वक सम्पन्न गरिएको र भविष्यमा पनि नियमित रूपमा वातावरण संरक्षण कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

सशस्त्र प्रहरी पर्साले भन्सार छलीकाे करोडभन्दा बढी मूल्य बराबरका सामान भन्सार बुझायो

0

वीरगंज । सशस्त्र प्रहरी बल, पर्साले सीमामा अबैध भन्सार छली गर्ने काम रोक्दै करोडभन्दा बढी मूल्य बराबरका सामान भन्सार कार्यालय पर्सामा बुझाएको छ। शनिबार र आइतबार खटिएको विभिन्न टोलीले पर्सा जिल्लाभित्र अबैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको चकलेट, किराना, कपडा, पशुचौपाय तथा विभिन्न सामानहरू सहित सवारी साधनहरु नियन्त्रणमा लिएको हो।

वीरगंज महानगरपालिका–११ पावरहाउस चोकबाट भारतबाट अबैध रूपमा ल्याइँदै गरेको रु. ७ लाख ४४ हजार मूल्य बराबरको चकलेट र सो कार्यमा प्रयोग भएको टेम्पो तथा ई-लोडर रु. १३ लाख मूल्य बराबरकाे नियन्त्रणमा लिइ भन्सार कार्यालय बुझाइएको थियो । त्यस्तै रु. ३६ हजार ४४० बराबरको किराना सामान र मो.सा. रु. १ लाख मूल्य बराबरकाे नियन्त्रणमा लिइ कारबाहीका लागि बुझाइएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

आइतबार नै सशस्त्र प्रहरी बलको अर्को टोलीले वीरगंज–१९ विन्दवासिनी चौकबाट अबैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको  ३ लाख ७४ हजार २०५ मूल्य बराबरको कपडा, किराना सामान र माेटरसाइक एक लाख ५० हजार मूल्य बराबरको नियन्त्रणमा लिई भन्सारमा बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण, पर्साले सुवर्णपुर, भिखम्पुर, अमरपट्टी र पिडारीगुठि कार्यालयमार्फत रु. २ लाख ८३ हजार १२० बराबरको पशुचौपाय र विभिन्न सामानहरु भन्सारमा बुझाएको र लिलामी प्रक्रियामा रहेको जानकारी प्राप्त भएको छ । सूचना अधिकारी सुरज कार्कीका अनुसार, अवैध भन्सार नियन्त्रणका लागि निरन्तर कारबाही जारी रहने छ ।

पर्सामा स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा पटेर्वा सुगौली गाउँपालिका प्रथम

0

वीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा प्रकाशित आ.व. २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) नतिजाअनुसार पर्सा जिल्लामा पटेर्वा सुगौली गाउँपालिका पहिलो भएको छ ।

मन्त्रालयले भदौ ६ गते सार्वजनिक गरेको नतिजाअनुसार पटेर्वा सुगौलीले गुणस्तर परीक्षणपछि ७१.२५ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाका १४ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो । मन्त्रालयकाे प्रकाशित नतिजा अनुसार पटेर्वा सुगाेली गाउँपालिका जिल्लामा प्रथम हुनुकाे साथै मधेश प्रदेशका गाउँपालिकामध्ये दोस्रो स्थान भएकाे गाउँपालिका अध्यक्ष दिनेश चौधरीले वताए ।

प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्यका कारण गाउँपालिका उत्कृष्ट स्थानमा पुगेको बताए । मेहता गत वर्ष बाराको परवानीपुर गाउँपालिकामा कार्यरत रहँदा त्याे गाउँपालिका पनि प्रथम स्थान हासिल गरेकाे थियाे ।

यस वर्षको नतिजाअनुसार पर्सामा दोस्रो स्थानमा ठोरी गाउँपालिका ६५.५० अंकसहित र तेस्रो स्थानमा वीरगंज महानगरपालिका ६५.२५ अंकसहित रहेका छन् । ठोरी र वीरगंजबीच मात्र ०.२५ अंकको फरक देखिएको छ । पर्सागढी नगरपालिका ५८.५० अंकसहित चौथो र जगरनाथपुर गाउँपालिका ५१.२५ अंकसहित पाँचौँ स्थानमा रहेका छन्।

सबैभन्दा कम अंक बिन्दवासिनी गाउँपालिकाकाे २१ अंक र बहुदरमाई नगरपालिकाकाे २१.७५ अंकसहित रहेकाे छ ।

जिल्लाकाे अन्य पालिका पोखरिया नगरपालिकाकाे ४३.७५ अंक, जिराभवानी गाउँपालिकाकाे ४२.२५ अंक, छिपहरमाई गाउँपालिकाकाे ४२ अंक, धोबिनी गाउँपालिकाकाे ३७ अंक, कालिकामाई गाउँपालिकाकाे ३३.२५ अंक, सखुवा प्रसौनी गाउँपालिकाकाे ३२.७५ अंक र पकहाँ मैनपुर गाउँपालिकाकाे २९.७५ अंक रहेकाे छ ।

यस नतिजा अनुसार पर्साका विभिन्न स्थानीय तहमा प्रशासनिक क्षमता र सेवा प्रवाह सुधारको क्षेत्रमा अझै प्रयास आवश्यक देखिएको छ ।

जगरनाथपुर गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

0

सेढवा । भौतिक संरचनाको विकाससँगै परम्परा, धर्म र संस्कृतिको संरक्षण गर्नु पनि सबैको नैतिक दायित्व भएको मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले बताएका छन्।

जगरनाथपुर गाउँपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रममा शुभकामना दिँदै मन्त्री क्षेत्रीले धार्मिक परम्परा र संस्कृतिलाई आधुनिकताको नाममा बिसंगति र विकृतिमा जान नदिइ यसको संरक्षण गर्न समुदायले पहल गर्नुपर्नेमा जोड दिए।

उनले विगतमा दैनिक घर–घरमा हुने पाठ–पूजाको परम्परा हराउँदै गएकाले युवा पुस्ता मद्यपान र लागुऔषध दुव्र्यसनतर्फ आकर्षित हुँदै गएको बताए। यस्तो अवस्थामा समाजलाई स्वस्थ बनाउन महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले उनीहरू अग्रसर हुनुपर्ने उनले आग्रह गरे।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, कोषाध्यक्ष प्रेम बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नेपाल शिक्षक संघ जगरनाथपुरका अध्यक्ष रुपनारायण साहले सञ्चालन गरेको कार्यक्रममा महिला जनप्रतिनिधि, शिक्षिका, स्वास्थ्यकर्मी तथा अन्य महिलाहरूले तीजका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

केन्द्रीय सुरक्षा समिति बैठकः वीरगंजमा चिकित्सक टोली परिचालन गर्ने निर्णय 

0
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा भएको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राससलाई जानकारी दिनुभयो । गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन पनि दिनुभयो । “आवश्यकताअनुसार टोली परिचालनका निम्ति तत्काल तयारी थाल्न मन्त्रीज्यूले निर्देशन दिनुभएको छ”, प्रवक्ता काफ्लले भन्नुभयो ।
गृहसचिव गोकर्णमणि दुवाडीसहित सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा मुलुकको शान्तिसुरक्षाको समीक्षा भएको थियो ।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवबीच वीरगञ्ज हैजा सङ्क्रमण नियन्त्रणबारे छलफल भएको छ ।
स्थानीय सरकारसँगको समन्वयमा बिरामीको तत्काल उपचार तथा सरकारी एवं निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिनुभएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।

सशस्त्र प्रहरीद्वारा नेपाल–भारत मैत्री बसबाट गाँजासहित दुई भारतीय पक्राउ

0
नेपाल–भारत मैत्री यात्रुवाहक बसबाट लागु औषध गाँजासहित पक्राउ परेका भारतीय नागरिकहरु । तस्वीर : कालिका टाईम्स

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले पर्साको वीरगंज महानगरपालिका–१६ मा गरिएको चेकजाँचका क्रममा दुई भारतीय नागरिकलाई प्रतिबन्धित लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।

आइतबार नेपालबाट भारततर्फ जाँदै गरेको बा.५ ख १२३७ नम्बरको नेपाल–भारत मैत्री यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा भारत महाराष्ट्र, मुम्बई बस्ने ४२ वर्षीय अनवर सलाउदिन खान र ४१ वर्षीय मोहम्मद इकवाल सय्यदलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुकाे साथमा रहेको झोलामा लुकाइछिपाइ राखिएको ६ किलो ४ सय ग्राम गाँजा बरामद भएकाे छ । सशस्त्र प्रहरीले बरामद गाँजासहित दुबैजनालाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाएकाे छ ।