Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 246

वीरगंज जेसीजद्वारा कलाकार साह, अली र सहनी सम्मानित

वीरगंज । वीरगंज जेसीजको महत्वाकांक्षी साताव्यापी कार्यक्रम जेसीज सप्ताह २०२५ अन्तर्गत ‘कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कला दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा वीरगंजलाई आफ्नो कर्मथलो बनाई विभिन्न क्षेत्रमार्फत आफ्नो कलाको पहिचान स्थापित गरेका युवा कलाकारहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा कलाकार प्रदेशी साह, ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत रहेका अजमत अली अंसारी र ‘द भ्वाइस अफ नेपाल’मा उत्कृष्ट प्रस्तुति दिएका गायक सिद्धान्त सहनीलाई सम्मान गरिएको हो । उनीहरूलाई सम्मानपत्र, दोसल्ला र मायाको चिनो प्रदान गरिएको हो ।

वीरगंज जेसीजका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष मधु राणा, निशान्त कुमार लामिछाने, सन्तोष खनाल, अशोक गुप्ता, जितेन्द्र पुरुष ढकाल, डा. अर्बिन्द श्रेष्ठ, रञ्जन राउत, निवर्तमान अध्यक्ष अजय चौधरी, उपाध्यक्षद्वय सिराज अन्सारी, रोशन दास थारु लगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

राजनीतिक अस्थिरता र आर्थिक संकटले कलाकारलाई असर

कलाकार प्रदेशी साहले दर्जनौं फिल्ममा अभिनय गरे पनि व्यापक सफलता हासिल गर्न नसकेको उल्लेख गर्दै देशको राजनीतिक अस्थिरता र आर्थिक संकटले कलाकारहरूको अवस्था जटिल बनाएको बताए ।

अर्का कलाकार अजमत अली अंसारीले गीत, संगीत तथा चित्रकला माध्यमबाट कला क्षेत्रमा योगदान दिँदै आइरहेका छन् । हाल उनी बालबालिकालाई चित्रकला र संगीत सिकाउँदै नयाँ पुस्ता तयार पार्न क्रियाशील छन् । उनले वीरगंजलाई ‘कलाको शहर’ बनाउनुपर्ने आवश्यकता औंल्याए ।

यस्तै, गायक सिद्धान्त सहनीले स्कुलदेखि नै आफ्नो प्रतिभा पहिचान भई सहयोग पाएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर कलात्मक यात्रालाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।

बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर

– रिसव गौतम
अरु व्यवसाय जस्तो बैंकिङ्ग संस्थाहरु नाफा मात्रै आर्जन गर्ने व्यवसाय होइन् । विश्वभर बंैकिङका नयाँ–नयाँ अवधारणा लागु छन् । बंैकिङले नाफा मात्रै नभएर सामाजिक उत्तरदायित्व, उद्यमशीलता बृद्धि, वित्तिय साक्षरता, आर्थिक विकास र वृद्धि, आर्थिक सन्तुलन र पर्यावरण संरक्षणसम्मलाई ध्यान दिनुपर्छ भनेर भन्न थालिएको छ । खासगरी उद्यमशीलताको विकास र प्रर्बद्धनमा त बैंकहरुले महत्वपुर्ण भुमिका खेल्छन् नै ।

त्यसले गर्दा अन्यन्त्र बंैकिङलाई उच्च सम्मानपूर्वक हेरिन थालिएको छ । खासगरी अमेरिका, चाइना जस्ता व्यपारको जगमा सम्पन्न भएका देशहरुमा बैंकहरुको ब्याजदर अत्यन्त न्युन छन् । तर नेपालमा केही समय अघिसम्म दोहोरो अंकको ब्याजदरको मारबाट उद्योगी–व्यवसायीले उन्मुक्क्ती पाएका थिएनन् । त्यसैले पनि बैंकहरुलाई आधुनिक शुदखोरझै व्यवसायीहरुले ठाने । जति सफाचट र प्रणालीमा चलेको भएपनि समाजमा बैंकहरुको पछिल्लो समय धेरै नै आलोचना भएको हो ।

विगतमा जे–जस्ता महामारी आएपनि बैंकहरुको नाफा बृद्धि भएकै हो । तर उद्योगी व्यवसायीहरु भने मारमा परिरहे । हालै केही बर्ष चलेको कोरोनाको माहामारीको असर अहिले पनि उद्योग व्यवसायमा परिरहेको छ । एकातिर चर्को ब्याजदर र अर्कोतिर कोरोना लगायतका महामारी, आर्थिक असन्तुलन र मन्दी, युवा जनशक्तिको पलायनसँगै उपभोक्ता मागमा आएको कमीले उद्योगी व्यवसायी मारमा परे । साना तथा लघुउद्यम व्यवसाय भयंकर मारमा परे । युवा पलायन बढ्यो । उद्यमशीलता र उद्यमीय सपना भित्रभित्रै मर्यो ।

अहिले पनि अर्थतन्त्र शुस्त हिसावको मन्दीमै छ । आन्तरिक आर्थिक गतिविधिहरु कमजोर भएकैले अर्थतन्त्र सुधार आयोग नै बनाएर अनेकन प्रयास थालेको छ । अर्थतन्त्रको बाह्य पक्ष सकारात्मक भएपनि आन्तरिक अर्थतन्त्र र उद्यमशीलताको अवस्था कमजोर छ । तरपनि बैंकहरुको मुनाफा भने बढेकै देखिन्छ । जस्तो चालु आर्थिक बर्ष ०८१–८२को ८ महिनामा वाणिज्य बैंकहरुले ४३ अर्ब बढी नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले २०८१ फागुन मसान्तसम्ममा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नबिल, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले यसबीच क्रमश ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ, ४ अर्ब ७२ करोड ९४ लाख र ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका छन् । अरु बाणिज्य बैंकहरु पनि राम्रै नाफा आर्जन गरेका देखिन्छन् । यसरी बैंकहरुको मुनाफा मन्दी होस् वा कोरोना माहामारी वा जस्तै विपतद्मा पनि बढेकै देखिन्छ । तर उद्यमशीलता, आर्थिक बृद्धि र आन्तरिक आर्थिक गतिविधि, उद्योगधन्दा भने बढेको छैन । बरु कमजोर हुँदै गएको छ ।

यसले व्यवसायिक वातावरणमा राम्रो रहेको देखाउँदैन । जसले सामाजिक उद्यमशीलता, रोजगारी बृद्धिमा नकारात्मक प्रभाव पारेको छ । हिजोआज मानिसहरु कुन व्यवसाय गर्ने, के गर्ने भन्ने सम्बन्धमा एकचोटी सोच्लान् तर बैंकबाट ऋण लिँदा १० चोटी सोच्न थालेका छन् । वातम्बमा यसले दिर्घकालिन रुपमा बैंकहरुलाई बेफाइदा गर्ने हो ।

बैंकहरुले ब्यवसायको दायरा पो बढाउनु पर्ने हो । तर बढी नाफा आर्जन गर्ने मात्रैको सोच स्थापित हुँदैछ । उनीहरुको नाफामात्रैको प्रतिस्पर्धामा उत्रिएर विगतमा घरजग्गा लगायत क्षेत्रमा धेरै नै लगानी केन्द्रित गर्दा खराब कर्जाको दर कहालीलोग्दो रुपमा बढेको छ । अहिले बाणिज्य बैंकहरुको औषत खराब कर्जाको दर ५ प्रतिशत नाघ्‌न थालेको छ । वास्तम्बमा बैंकहरु अल्पकालिन नाफामा केन्द्रित रहँदा आर्थिक बृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता बृद्धिमा बैंकहरुको ध्यान जान सकेको छैन ।

उद्यमशीलता
नीजि क्षेत्रका कलेज तथा बंैक–वित्तिय संस्थाले उद्यमशीलता अभिबृद्धि गर्न शसक्त भुमिका खेल्न सक्छन् । तर त्यसको प्रभावकारी पहल उनीहरुले गरेका देखिदैनन् ।

राज्यले उमशीलतालाई प्रोत्साहन गरेको पनि छैन । राजनीतिक दलहरु उद्यमी व्यवसायीहरुलाई पार्टी चलाउनका लागि चन्दा उठाउने स्रोत साधन मात्रै ठानेका हुन्छन् । समाजमा उद्यमशीलता बढाउने, आर्थिक विकास गर्ने सोच उनीहरुमा कहिँकतै देखिदैन ।
उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इच्छा हुदैनथ्यो भने उसले कसरी व्यवसाय विस्तार गर्ला ? पैसा कमाउने उद्यमीको प्रकृति वा जात नै हो । उद्यमीले पैसा कमाएकोमा समाजले डाहा गर्नु कचाचित हुदैन । एउटा उद्यमीले पैसा मात्रै कमाइरहेको हुदैन । उसले धेरैलाई रोजगारी पनि दिएको हुन्छ । बैकहरुसँग ऋण लिएर उनीहरुको आम्दानी बृद्धिमा सघाएको हुन्छ । आयात तथा निर्यात व्यापारमा सघाएर राज्यको राजस्व रकम बढाएको हुन्छ । राज्यलाई आयकर तिरेर सरकारलाई आम्दानीको स्रोत जुटाएको हुन्छ । नयाँ–नयाँ उद्योग, कारखाना खोलेर मुलुकलाई आत्मनिर्भर, सम्बृद्ध र विकसित बनाउन उद्यमीले सघाएको हुन्छ । अनि हामी तिनै उद्यमीहरु जो मौरीजस्तो खटिरहेका हुन्छन् दिमाग खियाइरहेका हुन्छौ । तिनैलाई लखेट्छौ भने देश कसरी उभो लाग्छ ? त्यसकारण उद्यमी व्यवसायी भनेका राज्यका गहना हुन् । उनीहरुहरुलाई राज्यले, समाजले, वित्तिय संस्थाहरुले सबैले सम्मान गर्नुपर्छ, उनीहरुलाई सहयोग गर्नुपर्छ ।

उद्यमशीलता बृद्धिमा बै‌ंकको भुमिका
धेरैजसो उद्यमीहरुलाई आफनै स्रोतमार्फत पुँजी पुर्याउन गाह्रो हुन्छ । किनकी उनीहरुलाई वित्तिय ज्ञान र व्यवस्थापनको अभाव पनि हुनसक्छ । त्यसकारण पुँजी विना अर्थात ऋण विना उद्यमीहरुलाई कोष जुटाउन गाह्रो हुन्छ । उनीहरुको प्राथमिक सा्रेत नै बैंकहरुबाट प्राप्त गर्ने ऋण नै हो । जस्तो ऋण प्रवाह गर्नु बाहेक पनि बैंकहरुले विभिन्न तवरले उद्यमीहरुलाई सघाइरहेका हुन्छन् । जस्तो बैंकहरु पैसा र सम्पति सुरक्षित राख्छन् । उनीहरुले उद्यमीका बहुमुल्य सम्पति र पैसा सुरक्षीत राखेर सहयोग गर्छन् । त्यसैगरी ग्राहकसँगको व्यवसायीक कारोबार सहज बनाउन बैंकहरुले भुक्तानी प्रणालीलाई सहज बनाइ दिएका हुन्छन् । फलस्वरुप उद्यमीहरुलाई करोबारमा सहयोग पुग्दछ । त्यसैगरी बैंकहरु नै उद्यमीहरुका उत्कृष्ठ सल्लाहकार पनि हुनेगर्छन् । बैंकहरुले उद्यमीहरुलाई कर, कम्पनी तथा लगानी सम्बन्धी उचित सल्लाह पनि दिन्छन् ।

जस्तो कि अहिले नेपालमा धेरै बंैक तथा वित्तिय संस्थाहरु छन् । उनीहरुले पुँजीको बागडोर सम्हालेर बसिरहेका छन् । उद्यमी व्यवसायी र उनीहरुको सम्बन्ध असाध्यै नरम र सहयोगी हुन जरुरी छ । बैंकहरुको अहिलेको व्यवसायको आकार बढाउन पनि उद्यमी ब्यवसायी चाहिन्छ र उद्यमशीलता अभिवृद्धि भएर अघि बढ्न पनि बैंकहरु नै चाहिन्छन् । त्यसकारण मुलत बैंकहरुले अब आफनै ब्यवसाय बढाउने दिर्घकालिन सोच राखरे पनि उद्यमीहरु कसरी बढाउने भन्नेबारे कार्यक्रमहरु अघि ल्याउन सक्नुपर्छ । केहीहदसम्म राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, एनएमबि बैंकहरुले उद्यमशीलता अभिवृद्धिको लागि पहल सुरु गरेका देखिन्छन् । नबिल बैंकले त दिगो बैकिङको नारा नै अघि सारेको छ । उसले त्यसै नारा अर्न्तगत नयाँ उद्यमी सिर्जना गर्न र तिनैलाई लगानी गर्न वार्षिक ४० जना लाभान्वित हुनेगरी उद्यमशीलता तालिममा आधारित ‘फेलोसिप’ कार्यक्रम नै अघि सारेको छ । भलै नबिलको कार्यक्रमको आकार सानै लाग्ला तर त्यो नविनतम सुरुवात हो । सबै बंैकहरुले त्यस्तै सुरुवात प्रतिस्पर्धात्मक रुपमा गर्न जरुरी देखिन्छ । खाली व्यवसायिक युनिटहरुको विस्तार गर्ने, भाँडो थाप्नेमात्रै होइन् । भाँडो भरिदिने विइङसको सिर्जना गर्दै लैजानुपर्छ । बैंक वित्तिय संस्थाहरुको त्यो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो ।

बैक–वित्तिय संस्था, इन्स्योरेन्स, कलेज आदिले खाली मुद्राको व्यापार र विनिमय मात्रै गरेर हुदैन । आधुनिक समयमा नविनतम हिसावले पनि सोच्न जरुरी छ ।

गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्

वीरगंज जल्दैछ, तपाईं मन्दिर गएर पूजा गर्नु भयो ? कि मस्जिद गएर नमाज ?

0

हाम्रो वीरगञ्ज जहाँ लठ्ठी हान्नु भन्दा अघि चिया खाएर कुरा मिलाउने चलन थियो। जहाँ मुस्लिमहरुको होटेलमा हिन्दूहरु गएर खानुपिउनु र हिन्दुहरुको होटेलमा मुस्लिमहरु खानुपिउनु रमाईलो गर्नु गर्वको कुरा थियो। तर आज ? आज तिनै गल्लीहरूमा कर्फ्यु छ, स्कूल बन्द छन्, अनि साना बालबालिकाहरूले धर्मको नाममा ‘दुश्मन’ चिन्न थालेका छन्।

वीरगञ्जको ऐतिहासिक अस्तित्व – अब विगत मात्रै हो ? वीरगञ्ज सधैं सीमाको शहर हो तर विभाजनको कदापी होइन। संस्कृतिको पुलको रूपमा यहाँ व्यापार मात्रै होइन, विभिन्न धार्मिक समुदायबीच सदभाव सहितको बलियो सम्बन्ध पनि हुँदै आएको थियो।तर हिजोको हनुमान जयन्तीको शोभा यात्रामा भएको घटनाले वीरगञ्जको शिर झुकायो जहाँ कयौं वर्षको सद्भाव लथालिंग पारिदियो। न त हिन्दूले जिते, न मुसलमानले। हार त वीरगञ्जको आत्माले खायो।

ए बाबा ! तिमीहरू दुवै जना मस्जिदतिर हिँड्ने हो कि मन्दिरतिरमलाई फरक पर्दैन।तर घर त एउटै हो नि! किन धार्मिक हिंसा फैलाउदैछौं ? हिजो भात पकाउने मेरो भाँडा फुट्यो, झ्यालका सिसा फुट्यो।अब हामी के खाउँला? फेरी नयाँ सिसा किन्न पैसा कहाँबाट जुटाउँला? वीरगञ्जको सानो गल्लीमा एउटा आमाको आँखाबाट खसेको आँसुले गरेको प्रश्न हो यो।

हिजो वीरगञ्जमा भएको धार्मिक झडपले केवल समाजको सन्तुलन मात्र भत्काएको छैन, हजारौँ वर्षदेखि बनेको आपसी विश्वासलाई पनि चिरिएको छ। अनि सबैभन्दा पीडादायी कुरा के छ भने-हामी अझै दोष लाउँदैछौं, आफैंबाट होइन, अरूबाट सुरू गरिरहेका छौं। कसले सुरु गर्‍यो भन्ने भन्दापनि किन यस्तो भयो भनेर सोध्न सक्ने हिम्मत गरौंम न? हो हामी अदालत होइनौं, तर हामी सचेत नागरिक हौं। हामी फैसला नगर्न सक्छौं, तर प्रश्न गर्न सक्ने अधिकार त पक्कै छ।किन हिजोको शोभा यात्रामा बिना हेलमेटको एउटा बाइकमा ४/५ जना झुण्डिएर सर्कस देखाउने जस्तै हुडदबंगबाजी गरे? किन प्रशासनले पूर्वानुमान गरेर सुरक्षा मिलाएन? किन मुस्लिम समुदायमा हिन्दुहरुको शोभा यात्रा आगमन हुदाँ मुस्लिम युवाले ढुंगा उठाए? किन हामी सबै चुप लागेर भिडियो खिचिरहेका थियौं? यी सबै प्रश्नहरू मिलेर एउटै उत्तर दिन्छन्- हामी सबै दोषी छौं।

तर ती सबै घटनालाई निहालेर हेर्यौ भने त्यहाँ न कुनै धर्म पीडित भए, न त कुनै सम्प्रदाय नै। हार्ने वा पीडित त ती बालबालिकाहरु भए, जो बिहान स्कूल जान पाएन्न। ती आमा भए, जसको घरको सिसा र पानीको भाँडो फुट्यो।ती ६० वर्षीय वृद्ध भए, जो घर फर्किरहँदा हातमा गोलि प्रहार भयो।ती बुबा भए, जसले काममा आज जान पाएका छैनन्, किनकि शहर नै बन्द छ।यति हुदाँ हुदै पनि सबभन्दा दुःखको कुरा के छ भने – दुबै पक्ष अझै पनि आफ्नो-आफ्नो धार्मिक संगठनको पछाडि उभिएर हामी त सही थियौँ” भनेर जिकिर गरिरहेका छन् तर मेरो आत्मामा एउटै प्रश्नले टोकिरहेको छ: के हाम्रो तपाईको भगवान/अल्लाह खुशी छन्? तपाईं हामीले मिलेर कसैको पसल जलाएर, कुनै आमाको घर तोडेर, वा कुनै बालकको सपना कुचलेर?

वीरगञ्ज सहरको पीडा नै हेर्यौ भने अहिले एउटै घरका दुई कोठाबीचको भित्ता बनेको छ।वीरगञ्ज त केवल शहर मात्रै होइन, यो त हाम्रो माया, हाम्रो इतिहास, हाम्रो बचपन हो। हामी सबैका लागि त्यो कुनै न कुनै रूपमा “घर” पनि हो। तर आज त्यही घरमा आगो बलिरहेको छ – धर्मको नाममा, अहंकारको नाममा।

केही दिनअघि, एउटा स्थानीय शिक्षकले मलाई भने,“पढाउने विषय राजनीति थियो, तर विद्यार्थीहरूले सोधे- सर, धर्म के हो? किन मान्छे मारिन्छ धर्मका लागि?” मैले उत्तर दिन सकिनँ। किनभने हामी अहिले कानुन पढिरहेका छौं, तर व्यवहारमा धर्मको नाममा जंगली कानून लागू हुँदैछ।

बिगतका दिनमा यस्ता घटनालाई केलाएर हेर्यौ भने पहिला भन्दा अहिले यस्ता घटनाहरु हामिले जहाताहा सुनिराको छौ भने कहिलेकाही हामी प्रत्यक्ष दर्शी भै यस्ता घटनाहरु सामना गर्नु परिरहेको छ।कहिले सरस्वती पुजाको बिसर्जनमा मुस्लिम समुदायसंग झडप, त कहिले गणेश पुजाको बिसर्जनमा मुस्लिम समुदायसंग पथरावपछी कर्फयु जारि।यी सबै घटनाहरु राज्य, प्रशासन, नागरिक समाज र धार्मिक अगुवाहरूको चरम लापरवाहीले गर्दा हुने गरेको छ।हाम्रो देशमा खास गरि मधेश प्रदेशमा विभिन्न सम्प्रदायसँग सम्बन्धित “धार्मिक संरक्षण समितिहरू”, “धार्मिक जागरण परिषदहरू”, “संस्कृति बचाउ अभियान” लगायत थुप्रै संघसंस्थाहरू स्थापित हुदै गएको छ।तर यी विभिन्न जागरण-मञ्च,-दलहरु जब धार्मिक सहिष्णुताको सवाल आउँछ, जब समुदायबीच संवाद आवश्यक हुन्छ, जब विभिन्न यात्रा वा पर्वमा विभाजनको खतरा देखिन्छ- त्यही बेला यस्ता संगठनहरू मौन बस्छन्, तटस्थ हुन्छन् वा झन् उन्माद फैलाउने भाषामा बोल्न थाल्छन्।यी संगठनहरू यदि साँच्चिकै धर्मका रक्षक हुन् भने, उनीहरूले सम्पूर्ण समाजको बीचमा सेतु बन्नु पर्छ, दुश्मनी होइन। तर देखिन्छ, कतिपय संगठनहरू धर्मको नाममा आफ्नो राजनीतिक एजेन्डा थोपर्ने, सत्ता वा प्रभावको लोभमा विभाजन निम्त्याउने काममा लागि परेका छन।अहिले खास गरी बिरगंजमा धर्मको नाममा राजनितिकरण गर्दै मुल समस्याको खम्बा नै गाड्न खोजेका हुन।कुनै पनि धर्म र राजनीति जब अत्यधिक मिसिन्छन्, तब त्यसको असर सिधै समाजमा पर्छ र त्यो बेला धार्मिक आस्थालाई मत संकलनको उपकरण बनाइन्छ, विभिन्न समुदायबीच ‘हामी’ र ‘तिमी’ भन्ने भावनालाई गहिरो पार्ने र हिंसालाई ‘प्रतिशोध’ को रूपमा वैधता दिने प्रयास गराईन्छ्।

यदि धार्मिक स्वतन्त्रता र कानुनको दायराभित्रको व्यवहारको कुरो गर्यौ भने नेपालको संविधानले धारा २६ मा प्रत्येक नागरिकलाई आफ्नो धर्म पालना र संरक्षण गर्न पाउने अधिकार दिएको छ। तर सोही धारा भन्छ-अरूको धर्म, आस्था र सार्वजनिक शान्तिमा असर पुग्ने कार्य गर्न पाइँदैन।त्यस्तै, मुलुकी अपराध संहिता, २०७४ अनुसार कुनै पनि भीड, नारा, प्रदर्शन, वा उक्साहटले हिंसा निम्त्याउने सम्भावना भएमा, त्यो कार्य दण्डनीय हुन्छ।यसको अर्थ कुनै पनि धर्म समुदायको जुलुस, यात्रामा उग्र नारा, हुडदबंगीय प्रबृति, हिंसात्मक प्रतिक्रिया, अर्को धर्ममा द्वेष फैलाउनु यी सबै कार्य गैरकानुनी हो र यसमा सजायको भागिदार बन्नुपर्छ। किनकी कानुन एउटा यस्तो तराजु हो, जसमा न भावनाको भारी हुन्छ, न जात–धर्मको पक्षपात ।

कुनै पनि धर्मले डर होइन, प्रेम सिकाउनुपर्छ।आज यदि वीरगञ्जमा हिन्दु-मुस्लिम समुदायबीच सदभाव कायम हुन सकेको छेन भने, त्यो धर्मको असफलता होइन- त्यो त हाम्रो असहिष्णुताको परिणाम हो। यदि हामीले यस्ता घटनालाई एक अर्कालाई थुपार्दै गयौम भने, भोली यो आगो काठमाडौं, नेपालगञ्ज, धनगढी हुदै मेची देखी महाकालीसम्म सर्दै जान सक्छ।त्यसैले धर्म कुनै पनि होस्, अन्तिममा त्यो तपाईं र मेरो मानवता जगाउने माध्यम हुनुपर्छ। यदि त्यसैको नाममा हामी मर्दैछौं भने, हामीले धर्म हैन, केवल उन्मादलाई पूजा गरिरहेका छौं।त्यसैले या त तपाई आफूलाई सोध्नुस वा आफ्ना बालबालिकालाई सोध्नुस, आफ्नो हिन्दु समुदायलाई सोध्नुस वा आफनो मुस्लिम समुदायलाई सोध्नुस की वीरगञ्ज जलिरहेको बेला, तपाईं मन्दिर गएर पूजा गर्नु भयो? कि मस्जिद गएर नमाज ?

कन्हैया चौरसिया
(कानुन विद्यार्थी)

शाेभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा एसपि, डिएसपि सहित ४० जना घाइते

वीरगंज । हनुमान जन्माेत्सवकाे अवसरमा शनिबार वीरगंजमा निकालिएको शोभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा ४० जना घाइते भएका छन् ।

छपकैया पुगेकाे शाेभयात्रामा ढुंगामुडा भएपछि भएको झडपमा पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहसहित २५ प्रहरी र १५ भन्दा बढी प्रदर्शनकारी घाइते भएका हुन् । साेही क्रममा आगजनी, तोडफोड समेत भएकाे थियाे । स्थिति नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले शनिवार साँझ साढे ७ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म वीरगंज सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

 प्रहरी तर्फ पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रसिंह सहित २५ जना प्रहरी घाइते भएको अर्यालले जानकारी दिए् । यस्तै प्रदर्शनकारीतर्फपनि शनिबार बेलुकीसम्म १५ जना घाइते भएको उनले बताए । घाइतेहरुको वीरगन्जको नारायणी अस्पताल र अन्य अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

वीरगंजमा शनिबार बेलुकी ७.३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनका अनुसार, पूर्वमा भेडियाही चोक, उत्तर गण्डक चोक,पश्चिममा सिर्सिया चोक र दक्षिणमा शंकराचार्य गेट गरी चार किल्ला तोकर वीरगंज शहरी क्षेत्रमा कर्फु आदेश जारी गरिएको हो । 

कर्फ्यु लगाइएको क्षेत्रमा नेपाली सेनापनि परिचालन गरिएको छ । कर्फ्युमा पनि छपकैयामा प्रदर्शन जारी रहेपछि सडकमा सेना परिचालन गरिएको हाे । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सेना परिचालन भएको पुष्टि गरे ।

योसँगै कर्फ्यु पालना गराउने क्रममा प्रहरीले चलाएको गोली लागेर एक वृद्ध घाइते भएका छन् । वीरगंज-१६ इनार्वाका वृद्ध हरिन्द्र राउत अहिरको हातमा गोली लागेको छ । उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ । बजारबाट दुध लिएर घर फर्किरहेकाे क्रममा पछाडीबाट आफुलाई प्रहरीले गाेली हानेकाे पिडित बृद्धले वताए ।

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार बिहान ७:०० बजे सर्वदलिय बैठक बाेलाएकाे छ । जिल्ला प्रशासन कार्यालय, पर्साको सभाहलमा बस्ने सर्वदलीय बैठक समस्या समाधान खाेजी गर्ने जनाइएकाे छ ।

शनिबार अपरान्हदेखि निस्किएको हिन्दुहरुको शोभा यात्रा नगरपरिक्रममा गर्ने क्रममा छपकैया पुगेपछि ढुंगामुढा भएपछि दुई समुहबीच झडप सुरु भएको थियो । त्यसक्रममा छपकैयाका दुुई वटा बिरियानी हाउस, केहि मासु पसल, एउटा औषधि पसलका साथै निजी घरमा तोडफोड गरियो । बिरयानी हाउसका फर्निचर, फ्रिज, चुल्हो, काउण्टर लगायतका सामान सडकमा ल्याएर आगजनीपनि गरियो । त्यसैक्रममा त्यहाँ ८ भन्दा बढी मोटरसाइकलमा आगजनीपनि गरियो ।

दुुईसमुहबीचको झडप नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जका साथै अश्रु ग्यास र हवाई फायरपनि प्रहार गर्यो । छपकैयाको इदगाह चोकमा शनिबार बेलुकी ८ बजेसम्मपनि प्रहरी र स्थानीयबीच झडप चलिरहेकोपछि नेपाली सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनले भने, बेलुकीसम्मपनि स्थिती नियन्त्रणमा नआएपछि कर्फु लगायौं, कर्फु लागेपछि सेना सडकमा आयो । स्थिती विस्तारै अब नियन्त्रणमा आउन थालेको छ ।

शनिबार बेलुकी ८ बजेसम्म प्रहरीले दुई राउण्ड हवाई फायर र १ सय ३० राउण्ड अश्रु ग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी अर्याललले बताए ।

प्रजिअ अर्यालका अनुसार, शनिबार दिउँसो घण्टाघर चोकबाट निस्किएको हनुमान जन्मोत्सवको शोभायात्रा छपकैयाको श्रीराम हल नजिक पुगेपछि शोभायात्रामा सहभागी एक जनाले बोकेको जय श्रीरामको झण्डा एक अपरिचित युवाले खोसेका थिए । त्यसपछि विवाद सुरु भई झडप भएको र त्यसले स्थिती तनावग्रस्त बन्न पुगेको अर्यालले बताए ।

यसैबिच घटनाकाे निष्पक्ष छानविन गरि दाेषी उपर कारवाही गर्न हिन्दु समाजले माग गरेकाे छ । शनिबार सांझ हनुमान जन्माेत्सवकाे अवसरमा निस्केकाे शाेभा यात्राकाे आयाेजक समेत रहेकाे हिन्दु समाजले पत्रकार सम्मेलन गर्दै घटनाकाे छानविन गरि दाेषी उपर कारवाहीकाे माग गरेकाे हाे ।

पहिचान खोज्दै मुक्त हरवाचरवा

वीरगंज । मधेश प्रदेश सरकारको आगामी नीति, कार्यक्रम र बजेट मार्फत मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापनकाे सवाल सम्बोधन गराउनका लागि राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको अगुवाईमा बुधबार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा डेलीगेसन सम्पन्न भएको छ । मुक्त हरवाचरवाका मागहरु बुझदै भूमि ब्यवस्था मन्त्री जनार्दन सिंह क्षेत्रीले मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि आफु तत्पर रहेको कुरा औल्याउनु भयो ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद सदाद्वारा हस्ताक्षरित माग पत्रमा मन्त्रालयले तयार गरेको हरवाचरवा परिवारको लगत संकलन र परिचयपत्र बितरण निर्देशिका २०८० तत्काल राजपत्रमा प्रकाशन गरिनुपर्ने, स्थानीय तहको समन्वयमा हरवाचरवाको तथ्याँक संकलन, प्रमाणीकरण र परिचय पत्र वितरण सुरु गरिनुपर्ने कुराहरु उल्लेख गरिएको छ ।

साथै मन्त्रालयबाट आगामी आर्थिक बर्षको बजेटमा हरवा चरवा लगत संकलनका लागी आवश्यक बजेट बिनियोजन गरिनुपर्ने, मन्त्रालयबाट हरवाचरवाका लागी शिप बिकास, कृषि,पशुपालन र जिबिकोपार्जन सहयोगका लागी बजेट बिनियोजन गरिनुपर्ने, हरवाचरवाको पुनस्र्थापनाको लागि बिस्तृत कार्ययोजना र कार्यविधि प्रदेश मन्त्रीपरिषदबाट अविलम्व पारित गरी हरवाचरवालाई जमिन् र सुरक्षित बासस्थानको ब्यवस्था गरीनुपर्ने, बाटो बिस्तारका नाममा, बिकासका नाममा र अन्य कारणले भुमिहिन हरवाचरवाहरुको बस्ती बिस्थापन तत्काल रोकीनुपर्ने र भुमि आयोगको समन्वयमा भुमि बितरणमा हरवाचरवाहरुलाई प्राथमिकतामा राखीनाका साथै गरिब लक्षित र कृषि बिकासका क्रार्यक्रममा हरवाचरवा परिवारहरुलाई समेटिनुपर्ने मागहरु राखिएको छ ।

निरन्तर सम्बाद तथा छलफलका कारण तत्कालिन सम्माननिय प्रधामन्त्री शेर बहादुर देउवाले २०७९ साल श्रावण २ गते मुक्तिको घोषणा गर्नुभएको थियो । घोषणा पश्चात मधेश प्रदेश सरकारले २०८०/०८१ को निति कार्यक्रमको बुदा नं. १७९ मार्फत स्थानिय सरकारको समन्वयमा मधेश प्रदेशको सबै जिल्लाहरुमा मुक्त हरवाचरवाको तथ्यांक संकलन गरी प्रमाणीकरण र परिचयपत्र बितरण गरिनेछ भन्ने ब्यवस्था गर्याे । त्यसैगरी ८०/८१ बजेटको बुंदा नं. १७५ मा स्थानीय सरकारको समन्वयमा मधेश प्रदेशका सबै जिल्लाहरुमा मुक्त हरवाचरवाका तथ्यााक संकलन गरी प्रमाणीकरण र परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाएको घोषणा भयो र उक्त निति तथा कार्यक्रम र बजेट पारित समेत भयो ।

यहि घोषणा को जगमा भुमि, कृषि तथा सहकारी मन्त्रालयले लगत संकलन र परिचयपत्र बितरण सम्बन्धि निर्देशिका २०८० मस्यौदा गरी मन्त्रालय स्तरीय निर्णय गरी मन्त्रीपरिषदमा पेश भै पारित भएको भन्ने जानकारी सार्वजनिक भयो । तर हाल सम्म उक्त निर्देशिकाका आधारमा कुनै प्रक्रिया अगाढी बढन नसकेका कुरा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदाले बताए ।

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

बीरगंज । नेपाली नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित भएकाे छ । ब्लेन्डिङ इभेन्ट्स नेपाल, वीरगंज आयोजना गर्न लागेको नेपाली नयाँ वर्षको साँझ विशेष कार्यक्रम हाललाई स्थगित गरिएको छ । विभिन्न सामाजिक, धार्मिक र वातावरणीय अवस्थाहरूका कारणा कार्यक्रम हाललाई स्थगित गरिएको आयाेजकले जनाएकाे छ ।

आयोजक संस्थाले दर्शक, कलाकार, प्रायोजक र समग्र समुदायप्रति कृतज्ञता व्यक्त गर्दै यो दिन रात्रि बजार र हनुमान जयन्ती जस्ता ठूलो भीड हुने कार्यक्रमहरू आयोजना हुँदैछन् । जसका सामाजिक र धार्मिक महत्वलाई सम्मान गर्दै यस कार्यक्रमलाई स्थगित गरिएकाे जनाएकाे छ । साथै मौसम र पूर्वानुमान अनुसार, ठूलो पानी पर्ने सम्भावना रहेको र बाहिरी कार्यक्रमहरूको सुरक्षासँग सम्बन्धित जोखिमका कारण कार्यक्रम स्थगित गरिएकाे आयोजकको भनाई छ । ।

सबैलाई सुखद र समृद्ध नयाँ वर्षको शुभकामना दिदैँ सम्पुर्ण नेपाली दर्शक र सबैको साथको कदर गर्दै भविष्यमा स्थानीय प्रतिभाहरूलाई जोड्ने, प्रविधि र व्यवस्थापनमा सुधार ल्याउने मौका भविष्यमा अझ सशक्त र सृजनात्मक कार्यक्रम ल्याउने योजना रहेको आयोजकले जानकारी दिएकाे छ ।

कार्यक्रमका लागि काटिएका सबै टिकटहरूको पैसा फिर्ता गरिसकिएको र अझै बाँकी रकम फिर्ता हुन बाँकी भएमा त्यसको जिम्मेवारी संस्थाले लिने बताईएको छ । साथै, स्पोन्सरहरूको रकम पनि फिर्ता गरिने जनाईएको छ ।

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको ग्रामीण भेगमा नापतौलका लागि परम्परागत ढक तथा तराजु प्रयोगका कारण घाटा व्यहोर्नु परेको पर्साको ग्रामीण भेगका किसानहरुले गुनासो गरेका छन् । धान, गँहु, मकै तथा अन्य खाद्यान्न बिक्री गर्दा व्यापारीहरुले नेपाल सरकारले तोकेको अप्रमाणित ढक तराजु प्रयोग गरी नापतौल गर्दा मर्कामा परेको किसानको गुनासो छ ।

खाद्यन्न बिक्री गर्दा भारतीय बजारबाट खरिद गरिएका ढक तथा घरेलु तराजुको प्रयोग गरी तौल बढाउने गर्दा किसानहरु ठगिरहेका गुनासा गरेका छन । यसका साथै किसानहरुले उत्पादन गरेका अन्न बाली बिक्री गर्दा जोख्ने क्रममा चोरी गर्न सिपालु रहेका ज्यामी लगाउँदा बढि उत्पादन चोरी हुने गरेको किसानहरु बताउँछन् ।

ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरका हिरा योन्जनले नेपाल सरकारको नापतौल विभागबाट प्रमाणित गरिएको ढक तराजुको प्रयोग गरी सामान जोख्नु पर्ने भएपनि व्यापारीहरुले अन्य ढक तथा काठको डण्डा प्रयोग गरी तराजुबाट सामान जोख्दा पाँच किलोग्राममा कम्तीमा एक पाउ (२५० ग्राम) बढि लैजाने गरेको दुखेसो पोखे ।

खाद्यन्न भएको पल्लालाई जोख्ने मान्छेले हातले उचाल्ने गर्दा एक पटकमा आधा किलोसम्म बढि लैजाने गरेका उनको भनाइ छ । यो हिसाबले पचास क्वीन्टल खाद्यन्न जोख्दा कम्तीमा तीन क्वीन्टल भन्दा बढि खाद्यन्न व्यापारीहरुले लैजाने गरेको उनको आरोप छ ।

यस्ता गतिविधि गर्ने व्यापारीहरुलाई गाउँलेले पक्राउ गरी जरिवाना समेत तिर्न लगाएको उनले बताए। अहिले पनि समुदायमा माना, पाथी तथा सेर( भाडो) प्रयोग गरी समानको लेनदेन गरिन्छ । पशुपालन गरी दुध उत्पादन गर्ने किसानबाट व्यापारीहरुले लोटाबाट दुध नापेर खरिद गर्ने गरेको किसानको गुनासो छ ।

जिल्लाको ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवा प्रसौनी, पर्सागढी, धोबिनी, छिपहरमाई, पकहाँ मैनपुर, कालिकामाई लगायतका अन्य पालिकाहरुमा पनि नापतौलका गर्ने तरिका यस्तै छ । किराना सामान, तरकारी तथा अन्य पसलहरुमा समेत भारतीय बजारमा पाइने ढक, इट्टा, ढुङ्गा, फलामका टुक्रा लगायतका वस्तुलाई ढकको रुपमा प्रयोग गरी सामान जोख्ने कायम नै रहेकाले किसान तथा उपभोक्ता ठगिदै आएका छन ।

अधिकांश किराना पसलहरुमा धान, गँहु, मकै तथा अन्य सामान बिक्री गर्न जाँदा पसलेले अप्रमाणित ढक तराजु प्रयोग गर्ने र सामान खरिद गर्दा अर्को ढक तराजुको प्रयोग गर्ने गरेको स्थानीयबासीको भनाइ छ । कतिपय व्यापारीहरुले उपभोक्ता नजर स्वच्छ देखाउन डिजिटल तराजु प्रयोग गरिरहेका छन् । तर सो डिजिटल तराजुमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जको टाचा भएको शिल नभएको र नेपाली बजारबाट समेत खरिद नगरी, भारतीय बजारबाट खरिद गरी ल्याइन्छ ।

डिजिटल तराजुमा तौल चोर्न व्यापारीहरुलाई सजिलो हुने जानकारहरु बताउँछन् । सो तराजुमा एक केजी सामान दिनुपरे ८ सय ग्राम र एक केजी लिनुपर्ने १ केजी २०० ग्राम सजिलै बनाउन मिल्ने जनाईएको छ ।

यस सम्बन्धमा उपभोक्ता तथा किसानले कुनै पनि उजुरी नगरेको जनप्रतिनिधिहरुले बताउँछन । न्यायिक समितिले यस सम्बन्धमा अनुगमन गर्ने र यस्ता गतिविधि गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने न्यायिक समितिका संयोजकहरूले जानकारी गराए ।

यस सम्बन्धमा उपभोक्ता तथा किसानले कुनै पनि उजुरी नगरेको पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक ममता महतोले बताईन । न्यायिक समितिले यस सम्बन्धमा अनुगमन गर्ने र यस्ता गतिविधि गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने न्यायिक समितिका महतोले बताईन ।

उपभोक्ता, किसान तथा आमनागरिकको हकहित संरक्षणका लागि उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्सा गठन भएको छ । तर यस संगठनका पदाधिकारीहरु पनि आफ्ना कर्तव्य तथा दायित्वप्रति इमानदार भएको देखिएका छैनन । यससँग सम्बन्धित गुणस्तर तथा नापतौल कार्यालय वीरगंज, जिल्ला प्रशासन कार्यालय पर्सा तथा अन्य सम्बन्धित निकायहरु पनि यस कार्यप्रति उदासीन रहेका छन ।

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

वीरगंज । नारायणी रङ्गशालामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) वीरगंज महानगरको आयोजनामा टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता साेमबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र जीएचपी स्कुलकी प्रधानाध्यापक रोमी कौरले क्रिकेट खेलेर संयुक्त रूपमा गरेका थिए ।

नेशनल प्याब्सन वीरगंज महानगरका अध्यक्ष जियालाल गुप्ताकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंह, प्याब्स वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, सेली डटकमका अध्यक्ष राजेन्द्र प्रसाद कोइराला लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाहरूले नृत्य र शुभकामना गीत प्रस्तुत गरेका थिए । जसले समारोहलाई अझ आकर्षक बनाएको थियो ।

आयाेजकका अनुसार प्रतियोगिताले वीरगंजमा खेलकुदको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । प्रतियोगितामा नेशनल प्याब्सन अन्तर्गतका १६ वडा विद्यालयले सहभागिता जनाएका छन् ।

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

 वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठककाे अभिव्यक्ति प्रति नेपाल कांग्रेस पर्सागढी नगरपालिकाले आपत्ति जनाएकाे छ । गत चैत २० गते नगर प्रमुख पाठकले पत्रकार सम्मेलनकाे आयाेजना गरि नेपाली कांग्रेसलाई लक्षित दिएकाे अभिव्यत्ति प्रति समग्र पार्टि पंत्तिले आपत्ति जनाउँदै तत्काल उनीद्वारा जारी बिज्ञप्तीका अभिव्यत्ति सच्याउन नेपाली कांग्रेस पर्सागढी नगर समितिले माग समेत गरेकाे छ ।

नेपाली कांग्रेस पर्सागढी नगरपालिकाका सभापति विश्वमाेहन दास थारु नेतृत्वकाे समुहले साेमबार नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै विवादित शिक्षक नियुक्तिकाे विषयमा आयाेजित पत्रकार सम्मेलनमा नगर प्रमुख पाठकले दिएकाे अभिव्यक्ति सच्याउन माग गरेकाे हाे ।

नगरपालिकामा नगर प्रमुख पाठक नभेटिएपछि प्रमुख प्रशासकिय अधिकृत हरिकिशाेर प्रसाद चन्द्रबंशीलाई कांग्रेसले बुझाएकाे ज्ञापन पत्रमा हत्तोत्साहित मानसिकताले सम्मानित अदालतमा प्रवेश भएको विषयमा हतारमा गरिएको पत्रकार सम्मेलनले प्रष्ट हुन्छ नगर प्रमुखको भूमिका के र नियत के छ भनेर । पत्रकार सम्मेलनमा समेत केही झुठा र भ्रामक कुराहरू प्रस्तुत हुनु समग्र नगरवासिका लागि र हाम्रो लागि खेदजनक विषय भएकाे उल्लेख गरिएकाे छ । 

मिति २०८१/१२/०९ मा सर्वपक्षिय वडा भेला बाट उठान भएको यस विषयलाई नेपाली कांग्रेस केन्द्रित विषय बनाई समग्र जनमानसमा बदनाम गर्न खोज्ने अभिव्यक्तिको समेत नेपाली कांग्रेस पर्सागढी नगरपालिकाले ज्ञापन पत्र मार्फत घोर भर्त्सना गरेकाे छ । 

कांग्रेस पर्सागढीले जनता मा.बि पर्सागढी-३ को शिक्षक नियुक्तिको विषयमा हाम्रो कुनै आधिकारीक धारणा तथा अभिव्यक्ति प्रस्तुत नभएको खण्डमा समग्र पार्टिलाई अंकित गर्दै प्रस्तुत नगर प्रमुख पाठककाे प्रेस विज्ञप्तीको  ज्ञापनपत्रबाट खण्डन गर्दै विभिन्न पश्नकाे जिम्मेबार जवाफ माग गरेकाे छ । •

करिव ३ बर्षको कार्यकाल बित्दै गर्दा हाम्रो पार्टिको तर्फबाट त्यहाँ पालिकाको कामकारबाहिमा कुनै बाधा अवरोध नगर्दा समेत प्रेस विज्ञप्तीमा राजनैतिक द्वन्द निम्त्याउन खोजिएको भन्ने प्रश्नवाचक चिन्ह सहितको अभिब्यत्ति दिई तपाँईले जनमानस र हामिलाई उत्तेजित गर्न खोज्नु भएको हो या चुनौति दिनु भएका नगर प्रमुख पाठकसंग कांग्रसले प्रष्ट गर्न भनेकाे छ ।

साथै शिक्षा नियमावली अनुसार नियुक्तिको सबै जिम्मेवारी विद्यालय व्यवस्थापन समितिको हुने कुरा आफु स्यंमले उल्लेख गरेर आफ्नो भुमिकै छैन भन्दै गर्दा तमाम विषयमा तपाईले नै किन प्रष्टिकरण दिन पयों । करिबन २ वर्ष देखी रित्त पदमा विज्ञापन गर्न वडा अध्यक्ष स्वम सहमत रहदाँ उक्त अवधिमा विज्ञापन नगरी वि.व्य.स.ले म्याद सक्किदै गर्दा नियुक्त गर्ने विषय जिम्मेवार ठहर्छ कि सुनुयोजि प्रश्न गर्दै यसकाे पनि कांग्रेसले जवाफ मागेकाे छ ।

यस्ता कार्यलाई प्रसय दिने तपाँईको कदम कत्तिको सहानिय छ ? यस प्रति विचार गरियोस् । तपाईको वेवास्था प्र.प्रत्र को आफूलाई केहि जानकारी नरहेको अभिव्यक्ति पश्चात् सम्मानित अदालतमा प्रवेश भै सकेके यस बिषयमा बादी बडा अध्यक्ष एवम् अभिभावक समेत रहेको प्रमाणित तथ्य प्रष्ट हुँदाहँदै एक जना पनी अभिभावक भनी दिएको झट्टा अभिव्यक्ति निराधार र झूठा छन् कांग्रेस बुझाएकाे ज्ञापन पत्रमा उल्लेख छ । 

यस अघिका शिक्षक नियुक्ति सम्बन्धमा पचरुखी मा.वि., हर्दासपुर आ.बि.र चैनपुर प्रा.वि. लगाएत पालिकामा हरेक पटक भएका शिक्षक नियुक्तिमा विवाद किन भयो, कस्ले गरायो ? के यि सबै विवाद काग्रेस पार्टीले नै गरेका हुन् ? यस अघिका शिक्षक नियुक्ति‌मा समेत तपाईंकै छोरी, बुहारी, आफन्त ज्वाइ र कार्यकर्ता मात्रै भर्ना हुनाले नाताबाद र कार्यकर्ताबाद, आसपासेवाद पुष्टि हुन्न र ? हाल जनता मा.वि.मा सफल उम्मेद्धवार माधव घिमिरे नितान्त नेपाली नागरिक मात्रै हुन कि तपाईको छोरी ज्वाई हुन प्रष्ट गर्न पनि कांग्रेसकाे माग छ ।  

बिधालयका संरक्षक एवम् प्रतिनिधि सदस्य समेत रहेका निवाचित वडा अध्यक्ष दैनिक रुपमा बिधालयमा गई नियमित हाजिर गराउदै आएका वडा अध्यक्ष सुकमान तामाङ्ग माथि छलफल बिनानै विधालय प्र.अ. र तपाई समेतले अभद्र व्यवहार र ज्यानमार्ने धम्कि सहितको निजमाथि जि.प्र.का.मा उजुरी दिनु कत्तिको नैतिकवान् देखिन्छ अबिलम्ब उक्त उजुरी फिर्ता पनि कांग्रेसकाे माग छ ।

यसका साथै हतारमा सुनियोजित ढङ्गबाट सम्पूर्ण प्रकिया पुरा गर्ने मनशायका साथ शिक्षक विज्ञापनको कामकारबाहि भए गरेको हाम्रो कांग्रेसले ठहर गर्दै यस सम्बन्धमा जनगुनासो समेत रहेको, स्थानिय पत्रपत्रिकामा समेत समाचारहरु सम्प्रेशण भएको साथै सम्मानित अदालतमा समेत यस विषयको मुद्धा रहेको हुदाँ उचित छानविनहुन आवश्यक देखि हालको लागि बिज्ञापन रद्ध गरी पुन: पारदर्शि ढङ्गबाट नगरपालिका जिम्मेवार तथा समन्वयकारी भुमिकामा रहि वि.व्य.स.गठन लाई प्राथमिकता दिदै पुन: बिज्ञापनमा जानु आवश्यक रहेको सम्बन्धित सम्पुर्णमा जानकारी गराएकाे छ ।

ज्ञापन पत्र बुझाउन नगरपालिका पुगेकाे समुहमा नेपाली कांग्रेस पर्सागढी नगरपालिकाका सभापति थारु सहित उपसभापति अच्छेलाल प्रसाद यादव, आत्माराम अधिकारी, सचिव भुमा अधिकारी, अर्जुन गिरी, सह सचिव राम सुन्दर महताे, जिल्ला सदस्य राजेश्वर प्रसाद यादव, वडा नं. ३ का वडाध्यक्ष सुकमान तामाङ, वडा नं. ७ का वडाध्यक्ष शंकर राय भर, वडा नं. ८ का वडाध्यक्ष सुन्दरी देवी थरुनी लगायतकाे सहभागिता रहेकाे थियाे ।

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

वीरगंज । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल वीरगंजले शनिबार वीरगंजका विराेध र्‍याली निकालेकाे छ । “यथास्थिती र प्रतिगामी षडयन्त्रकाे विराेध गराैं, गणतन्त्रकाे सम्बर्द्धन र राष्ट्रिय स्वधिनताकाे संरक्षण गराैं” मुल नारा सहित निस्केकाे विराेध र्‍याली शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे हाे ।

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजस्थित जिल्ला प्रहरी कार्यालय पर्सा अगाडीबाट निस्केकाे विराेध र्‍याली घण्टाघर, माइस्थान, महाबिरस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुन: घण्टाघरमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

काेण सभालाई सम्बाेधन गर्दै नकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य मनाेज चाैधरीले समाप्त भइसकेकाे राजतन्त्र फेरी फर्कन नसक्ने वताए । उनले समाप्त भइसकेकाे निरंकुशन शासन अब कुनै पनि हालत फर्कन नसक्ने दाबी गर्दै पुन: राजगदीमा फर्कन सपना नदेखन पूर्व राजा ज्ञानेन्द्र साहलाई चेतावनी समेत दिए ।

केन्द्रीय सदस्य चौधरीले भने, “राजाले फेरि सक्रियता देखाउने प्रयास गरेमा उनको सुरक्षासमेत हटाइनुका साथै नागरिकता समेत खारेज हुन सक्छ।” उनले मृत घोडालाई घाँस खुवाउने प्रयासको संज्ञा दिँदै राजा गद्दीमा पुनःस्थापनाको कल्पना भ्रम मात्र भएको बताए ।

कोण सभालाई नेकपा (एकीकृत समाजवादी) वीरगंज महानगर कमिटीका सचिव बृजलाल पासवान, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पर्सा सह-इञ्चार्ज सन्जु चौधरी, जयशंकर यादव, सन्दीप कुमार पटेल लगायतले सम्बोधन गरेका थिए ।

विरोध ¥यालीमा युवा संघका महानगर अध्यक्ष तारकेश्वर चाैवे, उपाध्यक्ष अखलेश गुप्ता, सचिव मधु सिंह राजपूत, सह-सचिव नागेश्वर यादव, कोषाध्यक्ष जयप्रकाश मण्डल, शनि यादव, रामबाबु मण्डल, रामनरेश मण्डल, पप्पु महतो, सदाम अन्सारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।