Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 239

मानवसेवा आश्रममा आश्रित आमाहरूको स्वास्थ्य परीक्षण

वीरगंज। मानवसेवा आश्रम वीरगञ्जमा आश्रित ४८ जना वृद्ध आमाहरूको स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित यस विशेष शिविरमा वीरगञ्जकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मञ्जु रायले स्वास्थ्य परीक्षण गरेकी थिइन् ।

स्वास्थ्य परीक्षणमार्फत वृद्ध आमाहरूको स्वास्थ्य अवस्था मूल्याङ्कन गरी आवश्यक परामर्श तथा उपचारका लागि सिफारिस गरिएको आश्रमकी प्रमुख मुना मगरले जानकारी दिइन् ।

डा. रायले आमाहरूको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्य समस्याहरूको समयमै पहिचान र उपचारका लागि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

आश्रमकी संयोजक मुना मगरका अनुसार यस्ता स्वास्थ्य परीक्षण कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको महासचिवमा कुँवर

वीरगंज। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको महासचिवमा मेजर शमशेर कुँवर (महेश) निर्वाचित भएका छन् ।

काठमाडौँमा सम्पन्न छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेसँगै महासचिवमा कुँवर निर्वाचित भएका हुन् ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घ अध्यक्षमा उमाकान्त शर्मा, वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल, शेरबहादुर कुँवर, कोषाध्यक्षमा खिन्तबहादुर भण्डारी (भरत) र सह कोषाध्यक्षमा दानबहादुर बोगटी निर्वाचित भएका छन् ।

त्यसैगरी बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा, सुदूरपश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर निर्वाचित भएका छन् ।

केही बेरको वर्षाले घटायो सिंचाईको खर्च, किसानलाई राहत

ओमप्रकाश चौधरी
सेढवा । लामो समयको प्रचण्ड गर्मीपछि आइतवार बिहान परेको बर्षाले ग्रामीण भेगका किसानहरुले राहत महसुस गरेका छन् । केही बेर भएपनि परेको वर्षाले चैते धानबालीसहित अन्य बालीलाई फाईदा पुगेको भन्दै किसानले खुशी व्यक्त गरेका छन् ।

चैत महिनाको पहिलो सातादेखि हालसम्म किसानहरुले रोपाई गरिरहेको चैते धानबालीलाई आज बिहान परेको बर्षाले केही राहत पुगेको छ । जिराभवानी गाँउपालिका वडा नं २ सेढवा निवासी किसान नागेश्वर महतो थारुलाई आठ कट्ठा चैते धानबालीमा दुई पटक सिंचाई गर्दा ३५ घण्टा दमकल चलाउनु परेको थियो । आफ्नो निजी दमकल र बोरिङ नभएकाले दुई सय रुपैयाँ प्रति घण्टाको दरले सात हजार रुपैयाँ उनले खर्चिनु परेको थियो ।

केही स्थानमा नेपाल विद्युत प्राधिकरण तथा विद्युत उपभोक्ता समितिले विद्युत प्रसारणका लागि कृषि मिटर जडान गरेका छन् । जसले गर्दा वाटर पम्प प्रयोग गरी पानी तानेर सिंचाई गर्दा एक सय रुपैया प्रति घण्टाको दरले रकम तिर्नुपर्छ । जुन बोरिङ्को तुलनामा सस्तो परेपनि किसानलाई सिंचाई गर्न पनि रकम खर्चिनुपर्ने अवस्थाले सरकारको कृषिप्रतिको बेवास्तालाई पनि उजागर गरेको छ ।

यद्यपी आईतवार बिहान परेको वर्षाले सिंचाईमा थोरै भएपनि सघाउ पुगेको कृषक बताउँछन् । वर्षाको पानी लामोसम्म टिक्ने र सिचाई गर्दा कम समय लाग्ने उनीहरुको भनाई छ ।

उता ठोरी गाउँपालिकामा चैत महिनामै यो बालीको रोपाई गरिएको थियो । त्याहाँ अहिले बिरुवामा गाभा पलाउन थालेका छन् । यही समयमा सिंचाईको आवश्यक्ता परेको थियो । कृषकलाई ढुंगा खोज्दा देउता भेटे जस्तै भयो । यो पानीले चैते धानबाली बाहेक अन्य बालीलाई समेत फाईदा पुगेको किसानहरुले बताएका छन् ।

अहिले लगाइएका सुर्ती, मकै, विभिन्न किसिम्मका तरकारी बाली, बदाम लगायतका बालीहरुलाई यो बर्षाले फाईदा पुगेको किसानहरुले बताएका छन् ।

आज बिहान परेको पानीले गर्दा बर्षेबाली धानबालीको लागि पनि खेत तयार गर्न पनि सहज हुने भन्दै किसान खुशी छन् । लामो समयदेखि वर्षा नहुँदा जमिनको सतह एकदमै कडा र सुख्खा भएको थियो । जसले गर्दा वर्षेबालीलाई खनजोत गर्न कठीनाई हुने जगरनाथपुर गाँउपालिका वडा नं ३ का धर्म साह तेलीले बताए । बिहानको वर्षाले खेतको सतह र आली नरम तथा खुकुलो भएको छ । जसले खनजोतमा सहज हुनेछ ।

जिराभवानी गाउँपालिका कृषि शाखाका प्राबिधिक सहायक क्षत्रबहादुर गुप्ताकाअनुसार बैशाख जेठ महिनाको घाममा खेतको जोताई गर्दा जमिनको सतहमा रहेका बिभिन्न थरिका जीव तथा किटाणु र तीनका अण्डाहरु नष्ट हुन्छन् । यसले गर्दा बालीमा लाग्न सक्ने रोगहरुको न्यूणीकरण हुने गुप्ताको भनाई छ । आज बिहान परेको पानीले वातावरण सफा पनि भएका छन् ।

मधेशमा सीता जयन्ती र कविर दास जयन्तीमा सार्वजनिक बिदा

वीरगंज । मधेश प्रदेश सरकारले सीता जयन्ती र कविर दास जयन्तीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै बैशाख २३ गते (मंगलबार) जानकी नवमी (सीता जयन्ती) र जेठ २८ गते (बुधबार) कविर दास जयन्तीको दिन मधेश प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएको हो ।

मधेश सरकारद्वारा २०८१ साल चैत्र ११ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा सम्बन्धी सूचनाअनुसार, जानकी नवमी (सीता जयन्ती) र कविर दास जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा लागू हुने निर्णय गरेको थियो ।

यस निर्णयसँगै उक्त दुई दिन मधेस प्रदेशका सरकारी कार्यालय, निकाय तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।

दलित समुदायलाई साढे १५ प्रतिशत कोटा छुट्याइएको छः मन्त्री गुप्ता

काठमाण्डौ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मुलुकको निजामती सेवालाई समावेशी बनाउन दलित समुदायलाई १५ दशमलव ५ प्रतिशत कोटा छुट्याइएको बताएका छन् ।

‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन २०८१’ माथि राष्ट्रिय सभामा उठेका सवालहरूको जवाफ दिने क्रममा आइतबार उनले निजामती सेवालाई बढी भन्दा बढी समावेशी बनाउने उद्देश्यले सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा दलित समुदायलाई १५ दशमलव ५ प्रतिशत कोटा छुट्याइएको बताए ।

‘प्रस्तावित ऐनको मस्यौदामा निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४९% छुट्याइएको र त्यसलाई शतप्रतिशत मानी त्यसको ५०% पदमा महिलाहरूबीच मात्र र बाँकी ५०% पदमा अन्य समूहका उम्मेदवारहरूबीच मात्र प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछ,’ मन्त्री गुप्ताले जवाफका क्रममा भने, ‘महिलाहरूबीच मात्र प्रतिस्पर्धा गराई पदपूर्ति गर्नका लागि छुट्याइएको ५०% पदलाई शतप्रतिशत मानी दलित समुदायलाई १२ दशमलव ७ प्रतिशत छुट्याइएको छ ।’

उक्त महिला समावेशी पदबाहेकका अन्य बाँकी ५० प्रतिशत समावेशी पदलाई शतप्रतिशत मान्दा दलित समुदायलाई १५ दशमलव ५ प्रतिशत कोटा छुट्याइएको मन्त्री गुप्ताको भनाइ छ ।

उनले दलित समुदायको सशक्तीकरण गर्ने संरचनालाई एकीकृत गर्न ‘दलित, उपेक्षित, उत्पीडित वर्गको उत्थान तथा विकास प्राधिकरण’ गठनको प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । प्राधिकरण गठनको सन्दर्भमा राष्ट्रिय दलित आयोग र अर्थ मन्त्रालयबाट सकारात्मक धारणा तथा रायसुझाव प्राप्त भइसकेको पनि उनले बताए ।

यसैगरी, उनले संविधानको धारा ४० मा उल्लेख गरिएको दलितको हक कार्यान्वयन गर्न मन्त्रालयले ‘दलित समुदायको अधिकार तथा विकासम्बन्धी विधेयक’ संसदको चालू अधिवेशनमै पेश गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रमको बुँदा नं. २०२ तथा गत आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. २१३ ले पनि दलित समुदायको सशक्तीकरण गर्ने संरचनाहरूलाई एकीकृत गर्ने लक्ष्य लिएकाले सो काम अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।

मन्त्री गुप्ताले प्रस्तावित दलितको हक अधिकार तथा विकास ऐन, २०८१ तर्जुमा सम्बन्धमा अवधारणापत्र तयार गरी सङ्घीय मामिला मन्त्रालयले रायसुझावका लागि राष्ट्रिय दलित आयोगमा पठाइएको जानकारी राष्ट्रिय सभालाई दिएका छन् ।

सशस्त्र प्रहरीले सिमावर्ती क्षेत्रमा सुरक्षाको नाममा लुट मचाएको छ : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सशस्त्र प्रहरीले सिमामा सुरक्षा हैन, लूट मचाएको बताएका छन् । रुपन्देहीको पिप्रा महजिदिया बजारमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सिमानाको रक्षा गर्ने सिमावर्ती क्षेत्रकै नागरिकलाई सशस्त्र प्रहरी लुटने काम गरिरहेको बताए ।

‘सिमानाको रक्षा, सुरक्षा सिमावर्ती क्षेत्रका नागरिकले गरेका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि सिमाको रक्ष गर्ने त्यही सिमावर्ती क्षेत्रका नागरिकलाई सशस्त्र प्रहरीले लुटने काम गर्नु दुखद हो,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई सरकारले आवश्यक मलखाद्य दिदैन । सिमावर्ती क्षेत्रका नागरिकले भारतबाट ल्याएको एकदुई बोरा मलखाद्य खोस्ने र लुटने काम गरेर सशस्त्र प्रहरीले बहादुरी देखाउँछन् । कमिशनको लोभमा मलखाद्य खोसिदिने सरकारको अपराध हो ।’ सिमावर्ती क्षेत्रमा भन्सार छलीको नाममा लुट मचाउने काम बन्द नगरे कडा आन्दोलन गर्ने चेतावनी उनले दिए ।

किसानलाई आवश्यक मलखाद नदिने तर कमिशनको लोभमा भारतबाट ल्याएको मलखाद खोसिदिने यो सरकारको अपराध भएको उनले बताए । मलखाद्यमात्रै नभई घरायसी प्रयोगका लागि सिमावर्ती क्षेत्रका जनताले कुनै समान ल्याउदा त्यसलाई सोस्ने र उसको नीजि सम्पती लुटने काम वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गरिरहेको बताए ।

‘कमिसनको नाममा अहिले सरकारी लुट मचाइएको छ । पुरस्कारको लोभमा सिमावर्ती क्षेत्रमा लुट मचाउने भएको छ । मन्त्री, आईजिपीसम्मले अदृश्य कमिशन लिईरहेका छन् । वास्तवमा सिमामा प्रहरीले कुनै समान पक्राउ गरेपछि त्यसवातप पाउने पुरस्कार पक्राउ गर्ने प्रहरीले नै पाउनुपर्ने होइन र? तर तलदेखी माथिसम्मकाले बाड़ी रहेका छन्,’ आजपा अध्यक्ष साहले भने । आजपा उपाध्यक्ष डा. उसमानको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु त्रिभुवन साह, नारायण पाण्डे, श्रीभगवान पटेल, विधा शर्मा लगायतका सहभागिता रहेको थियो ।

मुस्कान एक सस्तो औषधि

धेरैजसो मानिसहरू हरेक दिन हजारौँ शब्द बोल्छन्, तर कति पटक साँच्चिकै साँचो मुस्कान बाँड्छन् ? मुस्कान कुनै महँगो उपहार होइन । यसको मूल्य त निःशुल्क छ, तर यसको प्रभाव गहिरो, स्थायी र अकल्पनीय हुन्छ । यसले न त बैंकको खातामा असर पार्छ, न त समयको भारी लाग्छ, तर यो दिनभरि थकित मनलाई एकछिनका लागि उज्यालो पार्न सक्छ । जब शिशु जन्मन्छ, उसको पहिलो अभिव्यक्तिमध्ये एक हो—मुस्कान । त्यो निष्कलंक, निर्दोष मुस्कान जसमा न डर हुन्छ, न बनावट । त्यो मुस्कान हाम्रो अस्तित्वसँग गाँसिएको हुन्छ । समयसँगै हामी व्यस्त, गम्भीर, जिम्मेवारीले भरिएको जीवनको चक्रमा फस्न थाल्छौँ, अनि मुस्कान ओझेल पर्दै जान्छ । तर, हामी किन भुल्दैछौँ कि मुस्कान केवल सामाजिक व्यवहार होइन, एक शक्तिशाली साधन हो—आफ्ना भावना नियन्त्रण गर्न, सम्बन्ध मजबुत बनाउन र जीवनलाई सरल बनाउन ?

विज्ञानले पनि आज मुस्कानको महत्त्व प्रमाणित गरिसकेको छ । हाँसोले शरीरमा ‘एन्डोर्फिन’ र ‘सेरोटोनिन’ नामक रसायन उत्पादन गर्छ जसले तनाव घटाउँछ, पीडा सहन सक्ने क्षमता बढाउँछ र मानसिक स्थिति सुधार गर्छ । बेलायतको एक अध्ययन अनुसार, १० मिनेटसम्म हाँस्नुले करिब १० मिनेट दौडजत्तिकै लाभ पु¥याउँछ । अझ चाखलाग्दो कुरा के छ भने, जब हामी जबरजस्ती पनि मुस्कुराउँछौं, तब पनि शरीरले यिनै सकारात्मक रसायन उत्पादन गर्छ—यसको अर्थ, तपाईंको मन नरमाइलो भएपनि तपाईंको अनुहारले तपाईंलाई फेरि रमाइलो बनाउने सन्देश दिन सक्छ ।

हामी प्रायः सुनिरहेका हुन्छौं—‘पहिलो छाप नै अन्तिम छाप हो ।’ त्यो पहिलो छापमा मुस्कानको भूमिका निर्णायक हुन्छ । जब हामी अरूसँग मुस्कुराउँदै कुरा गर्छौं, हामी केवल शब्द आदानप्रदान गरिरहेका हुँदैनौं, हामी विश्वास, आत्मीयता र खुलापन बाँडिरहेका हुन्छौं ।
एक अध्ययन अनुसार, हस्पिटालिटी क्षेत्रमा काम गर्नेहरूका मुस्कानले ग्राहक सन्तुष्टि प्रत्यक्ष रूपमा बढाउँछ । यही त हो मुस्कानको सामाजिक शक्ति ।
कसैले ठीक भनेका छन्, “सजिलो बेला मुस्कुराउनु सामान्य हो, कठिन बेला मुस्कुराउनु शक्ति हो ।” समस्यासँग लड्दै मुस्कान कायम राख्नु कुनै बनावटी कुरा होइन; यो तपाईँको आत्मबलको प्रमाण हो । यस्तो मुस्कान आत्मअनुशासन, भावनात्मक स्थिरता र सकारात्मक दृष्टिकोणको उपज हो । त्यसैले मुस्कान तपाईंको भित्री मजबुती पनि हो—बाहिरी संसारलाई देखाउने तपाईंको मौन तर गहिरो भाषा ।

हामी आज जहाँ हेर्छौं, त्यहाँ असहिष्णुता, तनाव, र आपसी दूरी बढ्दो छ । यस्तो बेलामा मुस्कान एउटा सामाजिक आन्दोलन बन्न सक्दछ । जब तपाईं बसमा यात्रामा हुनुहुन्छ, र छेउमा बसेको थाकेको मानिसलाई मुस्कुराएर हेर्नुहुन्छ, त्यो केवल ‘शिष्टता’ होइन, त्यो मानवीयता हो । यसरी मुस्कानले घृणालाई माया, निराशालाई आशा, र दूरीलाई नजिकीतामा बदल्न सक्छ ।

मुस्कुराउँ—किनभने मुस्कानले परिवर्तन ल्याउन सक्छ । मुस्कान केवल अनुहारको भाव होइन, यो आत्माको भाषा हो । जब तपाईं मुस्कुराउनुहुन्छ, तपाईं आफ्नो वरिपरिका मानिसलाई पनि मुस्कुराउने अनुमति दिनुहुन्छ । त्यसैले, चाहे जीवनमा आँखा रसाएका क्षणहरू किन नआउन, मुस्कानलाई कहिल्यै हराउन नदिनुस् ।

नारायणी अस्पतालका तात्कालिन मेसु ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वीरगंज । नारायणी अस्पताल वीरगंजका आकस्मिक कक्ष निर्माणमा एक करोड ८४ लाख ३८ हजार भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ९ जना नाविरुद्ध मुद्दा दायर गरेको छ ।  

अख्तियारले अस्पतालका तत्कालिन मेसु संजय कुमार ठाकुर, सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगंजका तत्कालिन कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह र इन्जिनियर म. सकुर अन्सारी, नारायणी अस्पतालका तत्कालिन नासु सुशीलप्रसाद यादब र लेखापाल सुदीप कुमार माझी, मूल्याङकन समितिका संयोजक डा. वीरेन्द्र कुमार प्रधान र सदस्य सचिव माधवी चौधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा‍.लि.का प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका जगत बुढा र विष्णु प्रसाद शर्मालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकाे हाे ।

नारायणी अस्पताल, वीरगंजको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा कूल लागतको ३.५% हिस्सा Interlock Block बिछ्याउने रहेको र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको उक्त निर्माण कार्यमा M35 Interlock Block बिछ्याउने कार्यका आधारमा मात्रै बोलपत्र अस्वीकृत गरी मिलेमतोमा राज्यलाई हानिनोक्सानी गरेको हुँदा मुद्दा दायर गरिएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रवक्ता राजेन्द्र कुमार पाैडेलले वताए ।

प्रतिस्पर्धालाई सीमित हुने गरी बोलपत्रमा योग्यताका आधार तोकिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब.२०७७।०७८ मा नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने गरी काम गरकाे अख्तियारद्वारा जारि विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी गराई रु.१ कराेड ८४ लाख ३८ हजार ४५८ नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानूनी हानिनोक्सानी पुर्‍याएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदावी लिई आइतबार विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले जनाएकाे छ ।

अनुदानमा पालिकाले बाँडेको बिउबाट मकैमा दाना नलाग्दा किसान चिन्तीत

ओमप्रकाश चौधरी /
सेढवा । पर्साको सखुवाप्रसौनी गाँउपालिकाले मकैबाली प्रवद्र्धन क्षेत्रको रुपमा लागू गरेका कार्यक्रमका सहभागी किसानहरु अहिले बिचल्लीमा परेका छन् । किसानहरुले लगाएका मकैबालीमा घोगा तथा घोगामा दाना नलाग्दा बालीबाट निकै नोक्सानी भएकाले किसानहरु चिन्तीत बनेका हुन् । गाँउपालिकाको वडा नं. १ मा पर्ने सिरही, सथवल, औराहा लगायतका गाँउका किसानहरु मकैमा दाना नलाग्दा चिन्ताबाट गुज्रिरहेका छन् ।

यहाँमा ८० देखि एक सय बिघा जमिनमा डेढ सय किसानहरुले मकैबाली लगाएका छन् । गाउँपालिकाद्वारा मकैबाली प्रवद्र्धन क्षेत्रको रुपमा घोषित मकैबाली लगाएका सो वडाका सबै किसान साझा समस्याबाट पिडित छन् । बालीमा भएको क्षतिको बिवरण संकलन गरी उचित क्षतिपूर्ति व्यवहोर्न सो वडाका किसानहरुले बुधवार बैठक बसी पालिकामा पत्राचार गर्ने निर्णय गरेको किसानहरुले बताएका छन् । बिगतमा पटक पटक सो समस्यालाई लिएर पालिकामा जानकारी गराए पनि कुनै पहल नभएको उनीहरुको गुनासो छ ।

गाउँपालिकाको कार्यालयले उपलब्ध गराएको ५० प्रतिशत अनुदानमा साइनजेन्टा एन के ६६०७ हाईब्रिड जातको बीऊ खरिद गरी रोपाई गरेको स्थानीय किसान हिमप्रसाद शिलवालले बताए । उनले सो अनुदानित बीऊ ३७५ रुपैया प्रति केजीको दरले खरिद गरी रोपेका थिए । तर मकैको बोटमा घोगा नै नलाग्दा सारा लगानी नै नष्ट भएको शिलवालले गुनासो गरे ।

सो वडाका अर्का किसान सुरेन्द्र महतो थारुले एक बिघा ६ कट्ठा जमिनमा मकै बाली लगाएका थिए । मंसिर महिनाको दोस्रो साता भन्दा पहिले नै रोपाई गरेको मकैको बिरुवामा बाला आएपनि अधिकांश बिरुवामा घोगा नलागेको उनको दुखेसो छ । रोपाई गरेको मकैको बिरुवामध्ये ५० प्रतिशतमा घोगा नलागेको थारुले बताए । बोटको उचाई १३ फिटसम्म अग्लो बिरुवा भएपनि निकै कम र सानो घोगा लागेको उनको भनाई छ । लागेको घोगामा पनि दाना नलाग्दै सुक्ने तथा घोगा निकै पातलो र सानो भएको थारुले बताए । सो बीऊ मकैबाली प्रवर्धन कार्यक्रमका फोकल पर्सन जेटिए दयाराम वाग्लेले मन्दिप एग्रो सप्लायर्स वीरगंजबाट खरिद गरेका थिए ।

बारामा गाँजा तस्करको बिगबिगी : २२५ किलो गाँजासहित ४ जना पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा लागुऔषध गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । आदर्शकोतवाल गाँउपालिका वडा नं. ३ बतारास्थित खेतमा पार्किङ गरि राखेको प्र. २–०३–००१ त ४८७६ नम्बरको ट्याक्टरबाट २२५ केजी गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको टोलीले १५ वटा कार्टुनमा रहेको २२५ केजी गाँजा बरामद गरिएको हो ।

प्रहरीले पहिले ट्याक्टर चालक बाराको आदर्श कोतवाल गाउँपालिका वडा न.३ बताराका ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई पक्राउ गरेपछि उनीसंग सोधपुछको क्रममा थप ३ जना उक्त कार्यमा संलग्न रहेको खुलेको हो ।

त्यसपछ प्रहरीले बाराको कोल्हवीस्थित रोज उड होटलबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ बस्ने २१ वर्षीय कमान प्रजा, मकवानपुरकै कैलास गाउँपालिका–४ का २४ वर्षीय सिताराम प्रजा र मकवानपुरकै बकैया गाँउपालिका– ५ का २२ वर्षीय नवराज मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।