Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
Home Blog Page 240

लिभिङ विथ एन्भायरनमेन्ट वीरगंजकाे नयाँ कार्यसमिति गठन

0

वीरगंज । वातावरणीय क्षेत्रको अग्रणी संस्था ‘लिभिङ विथ एन्भायरनमेन्ट नेपाल’ को वीरगंज शाखामा शनिबार एक विशेष सभा सम्पन्न भएको छ । सभामा संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानको विशेष उपस्थितीमा नयाँ कार्यसमिति गठन गरिएको हो ।

नयाँ कार्यसमितिको अध्यक्ष पदमा लक्की बरनावल चयन भएका छन् भने उपाध्यक्षमा बसिर आलम गाद्दी, सचिवमा अंकुश पटेल, सह–सचिवमा धीरज कुशवाहा, कोषाध्यक्षमा सिमरन श्रीवास्तव, सह–कोषाध्यक्षमा बिक्की कुमार सिंह, कार्यक्रम समन्वयकमा सुरज पंडित कुम्हार, उप–कार्यक्रम समन्वयकमा मुन्ना कुमार, जनसम्पर्क प्रमुख (प्रो) मा शोभा कुमारी, सह–जनसम्पर्क प्रमुख (जोइन्ट प्रो) मा अजीत थाकुर हजाम र इकोच्याम्प समन्वयकमा रोहित यादव रहेका छन् । पदाधिकारीहरूले आजै शपथ ग्रहण गरेका छन् ।

सभाले तिन महत्त्वपूर्ण निर्णयहरू पनि गरेकाे छ । भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहादत प्राप्त गरेका ‘जेन जेड’ युवा पुस्ताका शहीदहरूको सम्झनामा दुई मिनेट मौन धारण, नयाँ कार्यसमितिले यसपटक ‘पर्सा युवा महोत्सव २’ थप ठूलो र आकर्षक रूपमा आयोजना गर्ने घोषणा गरेको छ ।

महोत्सवमा विज्ञान प्रदर्शनी, नृत्य, कला–शिल्प, गायन, सामान्य ज्ञान, बुद्धिचाललगायत गतिविधि हुनेछन् । विजेताहरूका लागि ५० हजार रुपैयाँको पुरस्कार राशि तय गरिएको छ । नयाँ टोलीले गाउँ–गाउँमा जैविक खेती र पानीको महत्त्वबारे जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

सभामा केन्द्रीय अध्यक्ष आकाश चौहानले नयाँ कमिटीलाई बधाई दिंदै वातावरणीय संरक्षणको महत्त्वमा जोड दिएका थिए । “यदि हामीले हाम्रो वातावरणको हेरचाह गरेनौं भने भविष्य डरलाग्दो हुनेछ,” उनले भने, “त्यसैले यो क्षेत्रमा युवाहरूको सहभागिता आवश्यक छ।”

जेन जि पर्साकाे आह्वानमा वीरगंजमा श्रद्धाञ्जली सभा

0

वीरगंज । जेन जि पर्साको आह्वानमा शनिबार साँझ वीरगंजको माइस्थानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । जेन जि आन्दोलनका क्रममा ज्यान गुमाएका वीरगंजका असहाव आलम ठकुराईलगायत सहादत प्राप्त सबैप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो ।

काठमाडौँमा जेन जि प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर वीरगंज महानगर–१२ का २२ वर्षीय असहाव ठकुराईको मृत्यु भएको थियो । असहाव दुई महिनाअघि मात्रै भारतको विहार, पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाकी रोक्सिता खातुनसँग वैवाहिक जीवनमा बाँधिएका थिए । तर वैवाहिक जीवन प्रारम्भ गरेको छोटो समयमै उनी आन्दोलनकै क्रममा सहादत प्राप्त गरेका हुन् ।

असहाव विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा काठमाडौँमा बस्दै आएका थिए । गत मङ्गलबार बिहान पठाओमार्फत यात्रुलाई गोङ्गबु लैजाने क्रममा प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको परिवारले जनाएको छ ।

उनी वीरगंजको ग्लोबल बिजनेस कलेजबाट कक्षा १२ (व्यवस्थापन) पास गरेर उच्च अध्ययन तथा रोजगारीका लागि राजधानी गएका थिए । असहाव मृत्युपछि उनकी आमा नजला खातुन र पत्नी रोक्सिता खातुन बारम्बार अचेत हुने गरेको छ । परिवारजनका अनुसार असहाव पाँच सन्तानमध्ये तेस्रो छोरा हुन् र आमाबुबाप्रति अत्यन्तै माया गर्ने स्वभावका थिए ।

छिमेकी मनोज गुप्ताका अनुसार असहाव मङ्गलबार बिहान १० बजेपछि सम्पर्कविहीन भएपछि खोजी गर्दा काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनको शव फेला परेको हो । “असहावको छाती र पेटमा दुई गोली लागेको देखिन्छ,” गुप्ताले बताए ।

माइस्थानमा आयोजित श्रद्धाञ्जली सभामा सयौँको संख्यामा स्थानीय नागरिक, युवाहरू र जेन जि अभियन्ताहरूको सहभागिता थियो । उनीहरूले दीप प्रज्वलन गर्दै असहावलगायत आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

शिर्ष आठ राजनीतिक दलका सचेतकद्वारा प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन माग

0

काठमाडौं । प्रमुख राजनीतिक दलका संसदीय दलका प्रमुख सचेतकहरूले हालै प्रतिनिधिसभा विघटन गरिएको भन्ने राष्ट्रपतिको विज्ञप्तिप्रति असहमति जनाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेका छन्।

नेपाली कांग्रेसका श्यामकुमार घिमिरे, नेकपा एमालेका महेश कुमार बर्ताैला, नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे, नेकपा (एकीकृत समाजवादी) का मेटमणी चौधरी, जनता समाजवादी पार्टीका बिरेन्द्र प्रसाद महतो, जनमत पार्टीका अनिता देवी, लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन नेपालको संविधान, सर्वोच्च अदालतका नजीर र संवैधानिक परम्परा विपरीत रहेको ठहर गरेका हुन् ।

आठ दलका प्रमुख सचेतकहरूले जारी गरेकाे विज्ञप्तिमा २०८२ भदौ २३ र २४ गते जेन–जी समूहको प्रदर्शनमा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरिएको छ । घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै सो क्रममा भएको जनधनको क्षतिबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “संविधान र कानून बमोजिम सुसाशनको माग गर्दै भएको आन्दोलनको मर्म विपरीत सडकबाट सरकार गठन र प्रतिनिधिसभाको विघटन गरिएको छ । लोकतान्त्रिक र कानूनी राज्यमा सबै समस्याको समाधान संविधान र कानूनकै दायराभित्र हुनुपर्छ।”

प्रमुख सचेतकहरूले जननिर्वाचित संस्था प्रतिनिधिसभालाई बिघटन गरिएको कार्य नेपाली जनताको मताधिकारको अवमूल्यन र संवैधानिक सर्वोच्चता माथिको प्रहार भएको भन्दै तत्काल संसदको बैठक बोलाई आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन गर्न जोडदार माग गरेका छन्।

 प्रतिनिधिसभा विघटन असंवैधानिक भएको पत्रकार महासंघको ठहर

0

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपतिबाट संविधान विपरीत प्रधानमन्त्री नियुक्ति र त्यसपश्चात प्रतिनिधिसभा विघटन सिफारिसलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै घोर निन्दा र भत्र्सना गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा लोकतन्त्र, संविधानवाद, विधिको शासन, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता उपलब्धिमा आघात पुग्ने चेतावनी दिइएको छ।

महासंघको विज्ञप्तिमा भनिएको छ कि २०६२/६३ को जनआन्दोलनपछि मुलुकले संविधानसभामार्फत संविधान लेख्ने चाहना पूरा गरेको थियो र हालैको जेनेजि आन्दोलनले भ्रष्टाचार र बेथितिविरुद्धको मागलाई संविधानको दायरामा राख्दै उन्नत लोकतान्त्रिक अभ्यासमा अगाडि बढ्ने अवसर दिएको थियो। तर राष्ट्रपतिबाट संविधान विपरीत प्रधानमन्त्री नियुक्ति र मध्यरातमा प्रतिनिधिसभा विघटन सिफारिस सदर गर्नु जनमतको अपमान र अलोकतान्त्रिक कदम भएको महासंघको ठहर छ।

महासंघले यस्ता कदमहरूले मुलुकको लोकतान्त्रिक प्रणाली, संवैधानिक सर्वोच्चता, नागरिकका अधिकार, प्रेस स्वतन्त्रता, संघीयता र समावेशिता जस्ता उपलब्धिमा प्रत्यक्ष आघात पुर्‍याउने भन्दै वर्तमान संविधान र उपलब्धिहरूको रक्षार्थ सबै पक्ष एकजुट हुन आह्वान गरेको छ।

एन प्याब्सन वीरगंजद्वारा शिक्षालाई अवरोधमुक्त बनाउन माग

0

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन), वीरगंजले हाल देशभर चलिरहेको GenZ आन्दोलनका क्रममा वीरगति प्राप्त शहीदहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ । एन प्याब्सन वीरगंज महानगर अध्यक्ष जियालाल गुप्ता र नगर सचिव शेख अजहरद्वारा जारी संयुक्त विज्ञप्तिमा शोकसन्तप्त परिवारजनलाई धैर्य र शक्ति प्राप्त होस् भन्दै हार्दिक समवेदना व्यक्त गरिएको छ । साथै आन्दोलनमा गम्भीर घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “यो ऐतिहासिक आन्दोलनले नेपाली जनतामा समानता, सुशासन, शैक्षिक सुधार, रोजगारी, सामाजिक न्याय र पारदर्शी शासनको नयाँ चेतना जागृत गरेको छ। शिक्षा नै राष्ट्र निर्माणको आधार भएकाले शिक्षा क्षेत्रलाई अझ सबल, गुणस्तरीय र पहुँचयोग्य बनाउन सबै जिम्मेवार र उत्तरदायी हुन आवश्यक छ।”

एन प्याब्सनले लामो समयदेखि निर्वाह गर्दै आएको शैक्षिक योगदानलाई उपेक्षा गरेर आजका विद्यार्थीहरूलाई शिक्षाबाट वञ्चित गर्नु अस्वीकार्य रहेको जनाएको छ। विद्यालय बन्द हुँदा बालबालिकाको शैक्षिक अधिकारमा गम्भीर आघात पुगेको र यसको दीर्घकालीन असर पर्ने चेतावनी समेत दिएको छ।

विज्ञप्तिमा तीनबुँदे धारणा स्पष्ट पारिएको छ :
१. बालबालिकाको शैक्षिक अधिकारलाई कुनै पनि राजनीतिक, सामाजिक वा आन्दोलनका कारण रोक्न नहुने।
२. सरकार, शिक्षक, अभिभावक र सम्पूर्ण समाजले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने।
३. शैक्षिक संस्थानहरूलाई अविच्छिन्न सञ्चालन गर्न सकिने वातावरण राज्यले तत्काल सुनिश्चित गर्नुपर्ने।

एन प्याब्सन वीरग|h शहीदहरूको बलिदानलाई सम्मान गर्दै शिक्षा क्षेत्रलाई अवरोधमुक्त बनाउन सम्पूर्ण सरोकारवालासँग गम्भीर आग्रह गरेको छ । संगठनका अनुसार शिक्षा नै उज्ज्वल भविष्यको आधार हो र गुणस्तरीय शिक्षा, सामाजिक न्याय तथा पारदर्शी शासन स्थापना गर्ने जिम्मेवारी सबैले साझा रूपमा लिनुपर्ने समय आएको छ ।

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुर्नस्थापन हुने विश्वास

0

काठमाडौँ । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहो¥यो । केही मानवीय क्षति भयो ।

राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत छन् ।

यही भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षतिमात्र भएन अन्तरराष्ट्रिय पहिचान र शाखाको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर प¥यो । पर्यटकीय सिजन सुरु हुनै लाग्दाको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनायो । कयौँ पर्यटकीय पूर्वाधारमा क्षति पुग्यो ।

आगामी पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही प्रतिशत रद्द भए । यसले पर्यटन क्षेत्रमा एक खालको अन्यौलता सिर्जना भयो । भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन विस्तारै पुरानै लयमा फर्किएको थियो । पछिल्लो विकसित परिस्थितिले पुनः पर्यटन क्षेत्रलाई झस्काएको छ । तर, कालोबादलभित्र चाँदीको घेरादेखिएझँै पर्यटन क्षेत्रमा अझै आशाका किरण प्रसस्त छन् । र फेरि मुलुकको पर्यटन उठ्ने छ । विगतका विपदजस्तो अवस्था नरहेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान बन्ने विज्ञ एवं सरोकारवालाको विश्वास छ ।

पूर्वअर्थसचिव रामेश्वर खनालले नेपालको पर्यटन क्षेत्र छिट्टै पुनःरुत्थान हुने आशा व्यक्त गर्नुभयो । “पहिलो कुरा पर्यटकलाई थ्रेट छैन । अब, नकारात्मक हैन सकारात्मक प्रचार–प्रसार गर्न जरुरी छ”, पूर्वसचिव खनालले भन्नुभयो, “विगतका विपद्जस्तो पनि हैन अहिलेको अवस्था । जुन मुलुकबाट ट्राभल एडभाइजरीका कारणले घट्ने सङ्ख्या चाही ज्यादै सानो छ । मुख्य स्रोत बजार भारत र चीन हो । पर्यटकीय सिजन पनि सुरु हुनै लागेकाले केही पूर्वाधारमा मात्रै क्षति भएको छ । पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा कुनै असर छैन । यो अवस्था चाँडै सुधार हुन्छ ।”

खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरू रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताउनुभयो ।

अर्थशास्त्री डा समिर खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तरराष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।”

अर्थशास्त्री खतिवडाले पर्यटनको आम्दानीमा केही ह्रास आए पनि पर्यटन क्षेत्र चाँडै पुनःरुत्थान हुने विश्वास व्यक्त गर्नुभयो । “विगतमा पनि विपद्पछि चाँडै पुनःरुत्थान भएको अनुभव छ । यसलाई चाँडो पुनःरुत्थानका लागि प्राथमिकता दिनुपर्छ । जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको छ । सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ ।”

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको पर्यटन पुनःरुत्थानका लागि पहल थालिएको बताउनुभयो । उहाँले पर्यटन पुनःरुत्थानलाई कसरी प्रभावकारी बनाउने भनेर यस क्षेत्रका अगुवा सङ्गठनहरूसँग छलफल गरेर ‘ड्राफ्ट प्लान’ बनाएको र यो छिट्टै प्रस्तुतीकरण हुने जानकारी दिनुभयो । सिइओ जोशीले भन्नुभयो, “पर्यटन पक्कै पनि फेरि उठ्ने छ । विगतको अनुभवका आधारमा तथा पर्यटनसँग आवद्ध अन्तरराष्ट्रिय सङ्घ संस्थाहरूको सहयोगमा चाँडै नेपालको पर्यटन पुनःरुत्थान हुनेछ ।”

उहाँका अनुसार अहिले नेपालमा करिब १५ हजार विदेशी पर्यटक रहेका छन् । उनीहरूमध्ये अधिकांश गन्तव्यमा छन्भने कतिपय पर्यटक यात्रा सकेर स्वदेश फर्किने प्रतीक्षामा छन् । नेपालमा रहेका पर्यटकलाई कुनै पनि नकारात्मक धारणा नबनोस भनेर बढी प्राथमिकता दिइएको छ । बोर्डले जेनजीको प्रदर्शनका क्रममा होटल र पर्यटन क्षेत्रमा के कस्तो क्षति पुगेको छ समग्रमा अध्ययनको काम पनि अघि बढाइएको उहाँले बताउनुभयो ।

बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बरमा साढे २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो अगष्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको थियो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२३ मा १० लाख १४ हजार पर्यटक नेपाल भित्रिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए ।

होटल सङ्घका अध्यक्ष विनायक शाहले सबै सरोकारवालाहरू एकताबद्ध भएर पर्यटन पुनःरुत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “पर्यटकीय सिजन सुरु हुन लागेकाले नेपालबाट सकारात्मक सन्देश प्रबाह गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “विगतका विपद्मा पनि पर्यटन क्षेत्र चाँडो पुनःरुत्थान भएको थियो ।

नेपालमा रहेका पर्यटकलाई सुरक्षित तवरले गन्तव्य पठाउने र फर्किएकालाई सहज रूपमा स्वदेश फर्किने वातावरण बनाउनुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “देशलाई आर्थिक समृद्धि दिनसक्ने महतवपूर्ण क्षेत्र पर्यटन नै हो । होटललगायत पूर्वाधारमा ठूलो लगानी छ । विमानस्थल बनेका छन् । यिनको प्रभावकारी व्यवस्थापन र सञ्चालन गरेर दुई ठूला छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न सकिन्छ ।”

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले नेपालको पर्यटन छिट्टै पुनःरुत्थान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय सिजनमै सिर्जित विषम परिस्थितिले पर्यटनमा नकारात्मक असर त परेको छ तर, आशा गरौँ छिट्टै सामान्य अवस्था आउनेछ र पर्यटन क्षेत्र पनि चलायमान बन्ने छ ।”

नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको शाखको रूपमा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सबै प्रयत्न गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले विषम् परिस्थितिबाट मुलुकलाई निकास दिएर शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल गरेका हुन् ।

होटलमा करिब २५ अर्बको नोक्सानी

जेनजीको प्रदर्शनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरूमा तोडफोड, आगजनी, लुटपाट भएको छ ।

काठमाडौँमा रहेको हिल्टन होटलको मात्रै रु आठ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिको छ । हिल्टनसहित देशैभरि करिब रु २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ ।

जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत

0
काठमाडौँमा मङ्गलबार जेनजी आन्दोलनका क्रममा मृत्यु हुनुभएका वीरगञ्ज महानगर १२ मुर्लीका असहाब आलम ठकुराईका आमा नजला खातुनसहितका आफन्तहरु शोकाकुल अवस्थामा । तस्बिर : हिमाल लम्साल / रासस

वीरगंज । दुई महिनाअघि मात्रै वीरगञ्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिनुभएको थियो । आफ्नो वैवाहिक जीवन राम्रोसँग अघि बढाउन नपाउँदै असहावले गत मङ्गलबार काठमाडौँमा भएको जेनजी समूहको प्रदर्शनीमा प्रहरीको गोली लागेर ज्यान गुमाउनुभयो ।

बाइस वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सिता खातुनसँग दुई महिनाअघि मात्रै प्रणयसूत्रमा गाँसिनुभएको थियो । तर, कलिलो उमेरमै आन्दोलनमा परेर ज्यान गुमाएपछि अहिले वीरगञ्ज महानगर मुर्लीका बासिन्दा शोकमा डुबेका छन् ।

विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा असहाव काठमाडौँमा रहँदै आइरहनुभएको थियो । तर, मङ्लबार पठाओमा यात्रुलाई गोङ्गबु लैजाने क्रममा प्रहरीको गोली लागेर जेनजी आन्दोलनमा सहादत प्राप्त गरेको उहाँको परिवारले जनाएको छ ।

उहाँको मृत्युसँगै अहिले उहाँको आमा नजला खातुन र उहाँकी श्रीमती रोक्सिता खातुन बेलाबखतमा मुर्छित हुँदै अचेत अवस्थामा रहनुभएको छ । आफ्नो छोराको मृत्युले विछिप्त हुनुभएकी आमा नजला खातुनले आफ्नो छोरा श्रवणकुमारजस्तै आमाबुबालाई असाध्यै माया गर्ने सन्तान रहेको बताउनुभयो ।

“मेरो छोरा श्रवणकुमार जस्तै थियो । भर्खरै बिहे गरेर बुहारी भित्र्याएको छ । अब मेरी बुहारी कसको मुख हेरेर बाँच्ली ?” आमा नजलाले रुँदै भन्नुभयो, “दुई महिनाअघि मात्रै विवाह गरेर ल्याएकी बुहारीको सिउँदो उजाडिएको छ ।” आमा नजमाले आफ्नो छोरालाई प्रहरीले किन मारेको भनेर बारम्बार प्रश्न सोध्दै आइरहनुभएको छ । “अहिले बुहारी छोराको यादमा बिलौना गरेर बसिरहेकी छन् । मेरी बुहारीले के अपराध गरेकी थिइन् र उनलाई बिछोड गराइयो ?” उहाँले स्तब्ध हुँदै भन्नुभयो ।

मृतक ठकुराई पाँच सन्तानमध्येका तेस्रो छोरा हुन् । असहाव वीरगञ्जको ग्लोबल विजनेस कलेजबाट कक्षा १२ व्यवस्थापन सङ्कायमा पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौँ गएका थिए । असहावका छिमेकी मनोज गुप्ताले असहाव गत मङ्गलबार बिहान १०ः०० बजेपछि सम्पर्कविहीन भएपछि खोजी गर्दा उहाँको शव काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेट्टिएको जानकारी दिनुभयो ।

“असहावको छाती र पेटमा गरेर दुई वटा गोली लागेको देखिन्छ”, उहाँले भन्नुभयो, “शुक्रबार परीक्षणलगायतका प्रक्रिया पूरा गरेर असहावका काकाले उहाँको शव ल्याउँदै हुनुहुन्छ ।” छिमेकी गुप्ताले असहाव निकै मिजासिलो र आँखामा राख्दा पनि नबिजाउने प्रकृतिको व्यक्तित्व रहेको बताउनुभयो ।

असहावका काका असराल आलम ठकुराईले असहावको मृत्युले निकै मर्माहत भएको बताउनुभयो । “उनको मृत्युले हामी निकै मर्माहत भएका छौँ”, उहाँले भन्नुभयो, “जेनजी आन्दालेनमा असहावजस्तै ज्यानको आहुति दिने योद्धाको बालीदानले मुलुकमा नयाँ क्रान्तिको सुरुआत होस् ।”

वीरगञ्ज महानगर–१३ का पूर्ववडाध्यक्ष तुफान अन्सारीले आफूले एक असल छिमेकी भाइ गुमाउनुपर्दा निकै मर्माहत भएको बताउनुभयो । “असहाव भाइ निकै असल व्यक्ति हुनुहुन्थ्यो । उहाँको निधनले अपुरणीय क्षति भएको छ”, उहाँले भन्नुभयो, “अहिले उहाँको परिवारमात्रै नभएर सिङ्गो मुर्लीवासी स्तब्ध र शोकमा डुबेका छौँ ।” शुक्रबार साँझ जेनजी आन्दोलनमा ज्यान गुमाएका असहावको सम्झना गर्दै वीरगञ्जका मुर्लीवासीले वीरगञ्जको प्रतिमाचोकमा मैनबत्ती बालेर स्मरण गरेका छन् ।

जेन्जी आन्दोलनका शहीदलाई प्याब्सन पर्साको श्रद्धाञ्जली, शिक्षा क्रियाकलाप तुरुन्त सुरु गर्न आह्वान

0

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (नेपाल प्याब्सन), पर्साले जेन्जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पर्सा जिल्लामा अवरुद्ध शैक्षिक क्रियाकलाप तत्काल पुनः सञ्चालन गर्न आह्वान गरेको छ।

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी र सचिव अशोक संग्रौलाले संयुक्ति रुपमा आज शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते देशभर भएको ऐतिहासिक जेन्जी आन्दोलनका क्रममा शहादत प्राप्त सम्पूर्ण शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् । जारी विज्ञप्तिमा शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

विज्ञप्तिमा जेन्जी आन्दोलनको बलिदानले देशको राजनीतिक, सामाजिक र नैतिक चेतनामा ऐतिहासिक परिवर्तन ल्याएको उल्लेख छ। सोही परिणामस्वरूप देशले पहिलो महिला प्रधानमन्त्रीको रूपमा सम्माननीय सुशिला कार्कीलाई पाएकोमा आशा प्रकट गर्दै, नयाँ सरकारले भ्रष्टाचारमुक्त शासन, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा सार्थक परिणाम ल्याउने अपेक्षा व्यक्त गरिएको छ।

शिक्षा क्षेत्रलाई राष्ट्रिय पुनर्निर्माणको आधारस्तम्भको रूपमा लिने सरकारको अपेक्षा गर्दै, प्याब्सनले पर्सा जिल्लामा पछिल्ला पाँच महिनादेखि अवरुद्ध शिक्षण–सिकाइ क्रियाकलाप तत्काल सुरु गर्न सबै सरोकारवालाहरूलाई संवेदनशील हुन आग्रह गरेको छ।

विज्ञप्तिमा चर्को गर्मी, पानीको अभाव, हैजाको महामारी र पछिल्लो जेन्जी आन्दोलनका कारण शिक्षा क्षेत्र अस्तव्यस्त भएको उल्लेख गर्दै अब यस अवस्थालाई लम्ब्याउनु विद्यार्थीहरूको भविष्यमाथिको अन्याय हुने ठहर गरिएको छ।

प्याब्सनले पर्सा जिल्लाका सम्पूर्ण सरोकारवाला, नागरिक समाज, अभिभावक, पत्रकार, शिक्षक र सम्पूर्ण जनसमुदायलाई बालबालिकाको शिक्षाको मौलिक हकको संरक्षण गर्दै शिक्षण–सिकाइ क्रियाकलापलाई तत्काल पुनः सञ्चालन गर्न ठोस पहल गर्न आह्वान गरेको छ।

वीरगंजमा विहान ५ बजेदेखी राति ९ बजेसम्म कर्फ्यु हट्यो, निषेधाज्ञा रहने

0

वीरगंज ।  पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) तोयनारायण सुवेदीको अध्यक्षतामा शनिबार बसेकाे जिल्ला सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।

बैठकले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको निष्कर्ष निकालेको छ र आगामी दिनमा सुरक्षा निकायहरूबीच आपसी समन्वयलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम जारी कर्फ्यू आदेशलाई संशोधन गर्दै जितिया पर्वलाई ध्यानमा राखी बिहान ५:०० बजेदेखि साँझ ९:०० बजेसम्म निषेधाज्ञा जारी गर्ने र साँझ ९:०० बजे देखि बिहान ५:०० बजेसम्म कर्फ्यू लागू गर्ने निर्णय गरिएको छ।

यस क्रममा पाँच जना वा सो भन्दा बढी व्यक्तिहरूको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका गतिविधि निषेध गरिएको छ।

कर्फ्यू तथा निषेधाज्ञा वीरगंज महानगरकाे पूर्वः बाईपास रोड, पश्चिमः सिर्सिया पुल, उत्तरः गण्डक चौक र दक्षिणः शंकराचार्य गेट सिमान तोकिएको छ ।

सुरक्षा व्यवस्थाका लागि नेपाली सेनाको श्री श्रीजंग गण, पर्साको सहयोग लिने निर्णय पनि बैठकले गरेको छ।

यस्तै हालैको जेन–जी प्रदर्शनका क्रममा पर्साका विभिन्न स्थानहरूमा फिर्ता गरिएका प्रहरी चौकीहरूलाई परिस्थितिको मूल्यांकन गर्दै क्रमशः सञ्चालनमा ल्याउने र गृह मन्त्रालयलाई क्षतिको विवरण दुई दिनभित्र पठाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा प्रमुख सेनानी लोकेन्द्र कार्की, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट लगायतका सुरक्षा प्रमुखहरुको उपस्थिति थियो।

प्रधानमन्त्री आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास तयार नभएसम्म निजी निवासमै रहने

0

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले आइतबार (भोली) मात्रै पदभार ग्रहण गर्ने भएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार शुक्रबार चाँडै सपथग्रहणको कार्यक्रम सम्पन्न भए पनि गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी ढिला भएपछि शुक्रबार पदभार ग्रहण हुन सकेको थिएन ।

सपथग्रहणपछि प्रधानमन्त्री कार्की शुक्रबार राति आफ्नै निजी निवासमा गएकी थिइन् । जेनजी आन्दोलनकारीले सरकारी निवास बालुवाटारमा क्षति पुर्‍याएका कारण उनी त्यहाँ नगई निजी निवासमै बसिरहेकी हुन् ।

प्रधानमन्त्री कार्यालयका उच्च स्रोतका अनुसार सरकारी निवासको व्यवस्थापन पूरा नहुन्जेलसम्म प्रधानमन्त्री कार्की आफ्नै निजी निवासबाटै सरकार सञ्चालन गर्नेछिन् ।