ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय : विद्युतकाे डेडिकेटेड लाइनको बक्यौता रकम असुल्ने
काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका छन् ।
घिसिङले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि बक्यौता रकम उठाउने प्रयास गरेका थिए, तर तत्कालीन सरकारले यसमा रोक लगाएको थियो । उनले आफ्नो पहिलो निर्णयमा खादा–माला तथा अबिर नलिने घोषणा पनि गरेका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्रमा उनलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो । अहिले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यले सम्हालिरहेका छन् ।
नवनियुक्त मन्त्री घिसिङको निर्णयलाई प्राधिकरणमा बक्यौता रकम उठाउने पहललाई पुनः गति दिने सकारात्मक कदमका रूपमा हेरिएको छ ।
बैंकिङ प्रणाली ठिक छ, आक्रमणबाट नआत्तिन गभर्नर पौडेलको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन–जी आन्दोलनका क्रममा बैंकका शाखा र एटिएममा आक्रमण भए पनि देशको बैंकिङ प्रणाली ठिकठाक रहेको बताएका छन् । सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा सहभागी भएपछि बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार ६८ वटा बैंक शाखामा आक्रमण र ६९ वटा एटिएममा केही असर पुगेको भए पनि बैंकिङ प्रणालीका प्रणालीगत कामकाजमा अवरोध नआएको छ । “आन्दोलनकारीहरूले बैंकहरू नै टार्गेट गरेको जस्तो देखिँदैन,” पौडेलले भने ।
गभर्नर पौडेलले अहिलेको परिस्थितिमा सबैको मनोबल घटेको भए पनि पुनः मनोबल बढाउनु पर्ने आवश्यकता रहेको बताए । “यो घटनाअघि पनि चुनौतीहरू थिए, अहिले समस्या थपिएको छ । तर समाधानका लागि तयारी गर्नुपर्छ,” उनले भने ।
अनुभवी अर्थमन्त्री रामेश्वर खनाल आएकाले बैंकिङ क्षेत्रमा काम गर्न सजिलो हुने उनको अपेक्षा छ । उनले ‘जे भएको छ त्यसबाट धेरै नआत्ती काम गर्न’ आग्रह पनि गरे ।
जेन–जी आन्दोलनका शहीदहरूको सम्मानमा राष्ट्रिय शोक मनाइने
काठमाडौं । जेन–जी आन्दोलनमा शहीद भएकाहरूको सम्मानमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै सोमबार यसबारे घोषणा गरेका हुन् ।
उनका अनुसार शहीदहरूको सम्मानमा सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । शोक दिवस कुन दिन मनाउने भन्ने विषय मन्त्रीपरिषद्ले छिनोफानो गर्नेछ ।
यसैगरी, आन्दोलनमा मृतकका परिवारलाई एक लाख–एक लाख रुपैयाँका दरले किरिया खर्च दिने निर्णय पनि गृहमन्त्रीको छ । शव व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरमार्फत शव पुर्याउने निर्णय गरिएको छ ।
गृहमन्त्री अर्यालको यो निर्णयलाई जेन–जी आन्दोलनको मागअनुरूप सरकारको पहिलो सकारात्मक कदमका रूपमा हेरिएको छ ।
जेन–जीको मागअनुसार जनमत पार्टी सुधार गर्दै अगाडी बढने
काठमाडौं । जनमत पार्टीको नियमित केन्द्रीय सचिवालय बैठक आइतबार पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकले जेन–जी आन्दोलनमा शहादत प्राप्त भएकाप्रति श्रद्धाञ्जली र मृतक परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
बैठकमा जेन–जी आन्दोलनको मागलाई ‘नौलो गणतन्त्र’को अवधारणाको रूपमा पहिलादेखि उठाइए पनि राज्यले सुनुवाइ नगरेको कारण अन्ततः आन्दोलन विस्फोट भएको निष्कर्ष निकालिएको छ।
बैठकले आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च सरकार स्वयंले व्यहोर्नुपर्नेमा जोड दिँदै आन्दोलनलाई दीर्घकालीन रूपमा सफल बनाउनुपर्ने प्रस्ताव समेत पारित गरेको छ।
त्यसैगरी, बैठकले जेन–जी युवाहरूको मागअनुसार पार्टीभित्र आन्तरिक सुधार गर्दै युवालाई प्राथमिकता दिने प्रतिबद्धता जाहेर गरेको छ। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतकाे अध्यक्षतामा बसेकाे बैठकमा पार्टीका सचिवालय सदस्यहरुकाे उपस्थिती रहेकाे थियाे ।













