Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 225

“नारायणी स्पोर्ट्स क्लब कब्जामुक्त, वडाबासीको जिम्मामा सञ्चालन”

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ५ स्थित नारायणी स्पोर्ट्स क्लब लामो समयदेखि केही स्वार्थपरस्त व्यक्तिहरूको एकाधिकारमा रहेको अवस्थामा वडा कार्यालयको पहलमा कब्जामुक्त गरिएको छ ।

सार्वजनिक सम्पत्तिको संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि गठित महानगरको समितिका संयोजक एवं वडा नं. ५ का अध्यक्ष प्रदिप चौरसिया स्वयं उपस्थित भई क्लबलाई औपचारिक रूपमा कब्जामुक्त गराएका हुन् ।

क्लबलाई स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि र नगर प्रहरीको रोहवरमा ताल्चा खोली पुनः वडावासीहरूको जिम्मामा हस्तान्तरण गरिएको छ । यसअघि पटक–पटक सूचना टाँसिए तापनि सम्बन्धित पक्षहरूले बेवास्ता गर्दै ताल्चाको साँचो नबुझाएकाले अन्ततः वडा समितिले सर्वसहमति जुटाई ताल्चा खोलेको जानकारी प्राप्त भएको छ।

अध्यक्ष चौरसियाले जानकारी दिए अनुसार, अब क्लबको सञ्चालन वडावासी र वडा समितिको प्रत्यक्ष निगरानीमा पारदर्शी रूपमा गरिनेछ। उनले भने, “खेलकुद क्षेत्रको विकास, खेलाडीहरूको भविष्यको रक्षा र वडावासीहरूको भावना सम्मान गर्ने उद्देश्यले गरिएको यो निर्णय अत्यन्तै महत्वपूर्ण छ।”

यस निर्णयले सार्वजनिक सम्पत्तिको संरक्षणमा बल पुर्‍याउनुका साथै स्थानीय युवा र खेलाडीहरूलाई अझ प्रभावकारी ढंगले खेलकुद गतिविधिमा संलग्न गराउने आशा गरिएको छ ।

“माओ, मार्क्स होइन – अब नेपाली जनताको विकल्प नेपालवाद हो” : सभापति पन्त

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले देशको विकासका लागि अब मार्क्सवाद, लेनिनवाद र माओवादजस्ता आयातित वादहरूको साटो नेपाली माटो सुहाउँदो ‘नेपालवाद’ आवश्यक रहेको बताएका छन्।

बहुदरमाई नगरपालिका–३ स्थित नगरदाहमा आयोजित रास्वपाको प्रथम वडा भेलालाई सम्बोधन गर्दै सभापति पन्तले ती वादहरू विदेशी परिस्थिति अनुसार जन्मिएका हुँदा नेपालको सामाजिक, राजनीतिक र आर्थिक यथार्थसँग मेल नखाने बताए।

“मार्क्स, लेनिन र माओले आ–आफ्नो देशको विशिष्ट परिस्थिति अनुसार तिन वादहरूको प्रतिपादन गरेका थिए, तर नेपालमा यिनको नक्कल मात्रै गरिएको छ,” उनले भने, “अब हाम्रो देशलाई नेपालको आवश्यकता र माटो सुहाउँदो विचार–नेपालवाद चाहिन्छ।”

फरक सन्दर्भमा सभापति पन्तले मलेसियाका महाथिर मोहम्मद, भियतनामका हो चि मिन र सिङ्गापुरका लि क्वान युले आफ्नो देशलाई विकासको शिखरमा पुर्‍याएको उदाहरण दिँदै भने, “त्यो जस्तै नेपालमा पनि सम्भावना थियो तर कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलहरू मिलेर देशलाई खरानी बनाउने काम गरे। सुन जस्तो मुलुकलाई दोहन गरियो। अब रास्वपा मात्रै बिकासको वैकल्पिक बाटो हो।”

कार्यक्रममा रास्वपाको बहुदरमाई नगरपालिका–३ मा ११ सदस्यीय वडा समिति गठन गरिएको छ। नवगठित वडा समितिकाे अध्यक्षमा राजकिशोर साह, उपाध्यक्षमा राजु यादव, सचिवमा शत्रुधन यादव, सदस्यहरूमा राजकुमार गुप्ता, बानारसी साह, इम्तियाज आलम, सागर यादव, ललिता देवी, सङ्गीता देवी, सितापती देवी, सफिना खातुन, कुश्मा देवी पासवान लगायतका रहेका छन् ।

भेला रास्वपा बहुदरमाई नगर सभापति चन्दन यादवको अध्यक्षतामा भएकाे कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव, पूर्व जिल्ला संयाेजक दिलीप कुर्मी, नेता सुदीश प्रजापति लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रमोद रायमाझीले गरेका थिए ।

विपदजन्य आगलागी नियन्त्रणका लागि संयुक्त अभ्यास

वीरगंज । आगलागीबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण र नियन्त्रण गर्न पर्सामा संयुक्त रूपमा आगलागी नियन्त्रण अभ्यास तथा ‘फायर एक्स्टिङ्गुइशर’ प्रयोग विधिको डेमोस्ट्रेसन सम्पन्न गरिएको छ ।

पर्सा जिल्लामा सम्भावित आगजन्य घटनाको जोखिमलाई मध्यनजर गर्दै शनिबार विहान जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्वमा, वडा प्रहरी कार्यालय विर्ता पर्सा र मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुर (हाल वीरगञ्ज पर्सा)को संयुक्त आयोजनामा सो अभ्यास गरिएको हो ।

अभ्यासमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृतकाे कमाण्डमा २५ जना, वडा प्रहरी कार्यालय विर्ताबाट ७५ जना र विपद् व्यवस्थापन गुल्म जनकपुरबाट जु.प्र.अ.को कमाण्डमा ४ जना गरी जम्मा १०४ जना सुरक्षाकर्मी सहभागी थिए । साथै, कार्यक्रममा स्थानीय समुदायका व्यक्तिहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।

अभ्यासका क्रममा फायर एक्स्टिङ्गुइशर प्रयोग गर्ने तरिका, प्रारम्भिक प्रतिक्रिया र नियन्त्रणका उपायहरू प्रदर्शन गरिएको थियो । यस प्रकारको अभ्यासले सुरक्षाकर्मीहरूलाई विपद् व्यवस्थापनमा दक्ष बनाउने विश्वास लिइएको छ।

सुरक्षा निकाय र स्थानीयवासीबीचको सहकार्य तथा सजगता अभिवृद्धि गर्न आयोजित अभ्यास प्रभावकारी रहेको भन्दै सहभागीहरूले आगामी दिनमा यस्ता अभ्यासहरू थप नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

“लुटेरा शासकको कमाण्डर हुनुभन्दा पीडित जनताको सिपाही हुन गौरव लाग्छ” : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले लुटेरा र भ्रष्ट शासकहरूको कमाण्डर हुनुभन्दा पीडित, शोसित र अधिकारविहीन जनताको सिपाही बन्नुमा आफूलाई गर्व लाग्ने बताएका छन्।

शनिबार काठमाडौंको कोटेश्वरमा सम्पन्न आम सम्पर्क मञ्च केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले जनताको शासन सुनिश्चित गर्नका लागि आफूले सत्ताको सुख-सुविधा त्यागेको स्पष्ट पारे।

“म जुन पार्टीमा थिए, त्यहाँ राम्रै स्थानमा थिएँ। तर, त्यहाँबाट आम जनताले अधिकार नपाउने, भ्रष्टहरूको रजगज रहेको देखेपछि जनतामै केन्द्रित नयाँ राजनीतिक सोचसहित आम जनता पार्टी गठन गरेको हुँ,” अध्यक्ष साहले भने।

उनले वर्तमान शासन व्यवस्थामा लुटेरा वर्गको कब्जा रहेको उल्लेख गर्दै राज्यसत्तामा आम जनताको पहुँच नभएसम्म संघर्ष जारी राख्ने दृढता व्यक्त गरे। उनले कांग्रेस, कम्युनिष्ट भनिने दलहरूले जनतालाई निरन्तर धोखा दिँदै आएको आरोप पनि लगाए।

अध्यक्ष साहले नेपालमा दुई थरी मानिस रहेको बताए– एकथरीले श्रम गरेर देश बनाउन चाहने र अर्को थरीले भ्रष्टाचार गरी विदेशमा सम्पत्ति जम्मा गर्ने। “देशको पुँजी विदेश पुर्‍याइरहेका छन्, सरकारले पनि त्यसमा मौन सहयोग गरिरहेको छ,” उनले आरोप लगाए।

नेपालमा “तीन तहको सरकार” बनाएर कर आतंक फैलाइएको उल्लेख गर्दै उनले भने, “६५३ भन्दा बढी कर, करमाथि कर, अनि त्यसको पनि कर लिइरहेका छन्। यस्तो कर आतंकको विरुद्ध हामी एकजुट भएर लड्नैपर्छ।”

कार्यक्रमकै अवसरमा विभिन्न दल र संगठन परित्याग गरी दर्जनौं युवा नेताहरू आजपामा प्रवेश गरेका छन्। नयाँ प्रवेशकर्तालाई अध्यक्ष साहले अविर र खादा लगाएर स्वागत गरे।

आजपामा प्रवेश गर्नेमा सप्तरीका इन्जिनियर राधेश्याम मण्डल, प्रमेश्वर साह, रौतहटका हार्दिक साह, रमेशकुमार साह, सत्येन्द्र साह, विपुलेन्द्र सहनी, रोशन सहनी, सर्लाहीका विरेन्द्र साह, रामपृत राय यादव र पर्साका ओमप्रकाश साह लगायत छन्।

बैठक आम सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष देवेन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा इन्चार्ज बिल्टु यादव, सहइन्चार्ज श्रीनारायण साह, नेतृ सीमा जैसवाल, मिना साह, सुमन यादव, उपेन्द्र साह र राजेश शर्मा लगायतको विशेष सहभागिता रहेको थियो। बैठकले संगठन विस्तार, संघर्षका कार्यक्रम र आगामी रणनीतिमाथि छलफल गरेको मञ्चका नेता राजेश शर्माले जानकारी दिए।

जगरनाथपुर–२ मा अध्यक्ष यादव र युवाबीच अन्तरक्रिया

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ स्थित जानकी टोलामा युवाहरू र गाउँपालिका अध्यक्षबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको विशेष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा स्थानीय युवाहरू, जनप्रतिनिधि तथा सर्वसाधारणबीच खुला संवाद भएको थियो । कार्यक्रममा अध्यक्ष यादवले वडाका नागरिकहरूसँग प्रत्यक्ष रुपमा कुराकानी गर्दै स्थानीय स्तरको समस्या, आवश्यकता र आगामी योजनाहरूका विषयमा जानकारी लिने अवसर पाएकोमा खुसी व्यक्त गरे।

उनले आगामी आर्थिक वर्षको बजेटमा समुदायको चाहना झल्कने व्यवहारिक र समावेशी योजनाहरू समेटिने प्रतिबद्धता जनाउँदै यस्ता अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा स्वच्छ खानेपानी, बाटोघाटो, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता बुनियादी आवश्यकता र समाधानमुखी योजना निर्माण विषयमा गहन छलफल भएको थियो ।

अन्तरक्रियामा वडा नं. २ का अध्यक्ष नेपाली कुशवाहा, वडा नं. ३ का अध्यक्ष सुभाष यादव, वडा नं. ५ का अध्यक्ष बिहारी महतो नुनिया, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव लगायत अन्य जनप्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

स्थानीय युवाहरूले आफ्ना अभाव, सम्भावना र सुझावहरू प्रस्ट रूपमा राख्दै विकासमा सहभागी हुन चाहेको आवाज बुलन्द पारेका थिए ।

वीरगंजमा गर्मी विदा थप, असार १ देखि ६ गतेसम्म विद्यालयहरू बन्द

वीरगंज । अत्यधिक गर्मीका कारण वीरगंज महानगरपालिकाले विद्यालयहरूमा गर्मी विदा थप गर्ने निर्णय गरेको छ। महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा असार १ गते आइतबारदेखि असार ६ गते शुक्रबारसम्म पठनपाठन स्थगित गरिने भएको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले शनिबार एक सूचना जारी गर्दै गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम देखिएकाले सावधानी स्वरूप विदा थप गरिएको जानकारी दिए। उनका अनुसार उक्त विदा वर्षे सट्टे विदाबाट मिलान गरिनेछ।

यस अवधिमा विद्यालयहरूमा औपचारिक कक्षा सञ्चालन नहुने भए पनि विद्यालय प्रशासन भने सूचारु राख्न आग्रह गरिएको छ। यसअघि महानगरपालिकाले जेठ २९ र ३० गते दुई दिनका लागि गर्मी विदा दिएको थियो।

अत्यधिक गर्मीका कारण दैनिक जीवन प्रभावित भइरहेका बेला यस निर्णयले विद्यार्थी र अभिभावकलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

अनेरास्ववियुको केन्द्रिय सदस्यमा वीरगंजका अहमद र चौधरी निर्वाचित

वीरगंज । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को केन्द्रिय सदस्यमा वीरगंज नर्सिङ क्याम्पसकी पुर्व स्ववियु सभापति मनिषा चौधरी निर्वाचित भएकी छन् ।

अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा बिहीबार भएको निर्वाचनमा चौधरी केन्द्रिय सदस्य (मधेसी खुल्ला) मा ४८ मतका साथ निर्वाचित भएका हुन् ।

यस्तै अनेरास्ववियुको केन्द्रिय सदस्यमा वीरगंजका आसिफ अहमद निर्वाचित भएका छन् । अहमद केन्द्रिय सदस्य (मधेसी खुल्ला) मा ५२ मतका साथ निर्वाचित भएका हुन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ का स्थायीबासिन्दा आसिफ अनेरास्ववियुको वीरगंज महानगर कमिटी अध्यक्ष पनि हुन् ।

अनेरास्ववियुको केन्द्रिय अध्यक्षमा भने रामेछापका डा. सुजन कडरिया निर्वाचित भएका छन् । म्याग्दीका प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै कडेरिया अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसैगरी खुल्ला उपाध्यक्षमा रामेछापकै ई. विकास श्रेष्ठ भारी मतान्तरले विजयी भएका छन् । श्रेष्ठले ७०८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राजकुमार ढकालले ४२९ मत प्राप्त गरे ।

त्यसैगरी महिला उपाध्यक्षमा अञ्जना सिवाकोटीले ७७५ मत ल्याउँदै निर्वाचित भएकी छन् । महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् । धामीले ७८५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी आरके रोमसले ५५४ मत प्राप्त गरे ।

त्यसैगरी सचिवमा आकाश घर्ती, ई. रचना सापकोटा, ससीम बाबु खान र अधिवक्ता गोपाल नेपाल विजयी भएका छन् ।

उच्च अदालतकाे मोसो घटनापछि १३ न्यायाधीशका पिएसओ फेरिए

वीरगंज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा सुरक्षात्मक फेरबदल गरिएको छ। बिहीबार नेकपा बहुमतका नेताहरूले न्यायाधीशद्वव खुशीराम थारू र अर्जुन महर्जनमाथि मोसो प्रहार गरेपछि अदालतमा कार्यरत १३ जना न्यायाधीशहरूको अंगरक्षकहरु (पिएसओ) फेर्ने निर्णय गरिएको हो।

पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार ती सबै न्यायाधीशका पिएसओहरू फिर्ता बोलाइएका छन्। साथै, अदालतको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको कमान्डअन्तर्गत कार्यरत १० जना प्रहरीलाई समेत फिर्ता बोलाइएको छ।

डीएसपी लम्सालले नयाँ पिएसओहरू पठाइसकिएको जानकारी दिए । साथै, अदालतको नियमित सुरक्षाका लागि यसअघि खटिएका १० जनाको सट्टा अब १५ जना नयाँ प्रहरी सुरक्षार्थ पठाइएको छ।

घटनापछि अदालत परिसरको सुरक्षा सतर्कता बढाइएको छ भने सम्बन्धित घटनामा संलग्नहरूविरुद्ध अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

इट्टा भट्टमा मान्छेलाई जिउँदै जलाएर हत्या गरेको कसूरमा जन्मकैदको सजाय पाएका नेपााली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाई दिने उच्च अदालत अस्थायी इजलास वीरगंजका न्यायधिशद्वय थारु र महर्जनमाथि बिहिबार नेकपा बहुमतद्वारा कालोमोसो प्रहार गरिएको थियाे ।

ड्राइपाेर्टमा सवारी दुर्घटना: दुईजनाको मृत्यु, एक गम्भीर घाइते

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २२ स्थित ड्राईपोट सडकखण्डको सिताराम चौकमा सवारी दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भिर घाइते भएका छन् ।

प्राप्त जानकारी अनुसार, भुसा लोड गरी बिग्रिएर रोकी राखिएको भारतीय नम्बर प्लेट एचआर ५५ के ३९७१ भएको ट्रकमा वीरगञ्जबाट डाईपोट तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनजना पुरुष घाइते भएका थिए ।

घाइतेहरुलाई तत्काल नारायणी अस्पताल वीरगञ्जमा उपचारका लागि पठाइएकोमा दुईजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला छिपहरमाई गाउँपालिका–०३, झलमैया टोल निवासी राम सरण यादवका २३ वर्षीय छोरा रामाकान्त यादव र स्थानीय सुसराम यादवका छोरा २३ वर्षीय विजय यादव रहेका छन् ।

दुवै जनाको उपचारको क्रममा बिहान ८:०० बजे मृत्यु भएको हो । यस्तै, मनिका राउत अहिरका छोरा २२ वर्षीय विजय कुमार यादव गम्भीर अवस्थामा उपचाररत छन् । दुर्घटनास्थलमा दुबै सवारी साधन फेला परेको र ट्रक चालक भने फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।  हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको उनले वताए ।

तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्ट सुरु, खेलले सामाजिक एकता बढाउँछ : सभापति मिश्र

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नम्बर ४ तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्टकाे सुरु भएकाे छ । टुर्नामेन्टकाे एक कार्यक्रमकाे बिच राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) पर्साका क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रले उद्घाटन गरेका छन् ।

टुर्नामेन्टकाे उद्घाटन गर्दै क्षेत्रिय सभापति मिश्रले खेलले समाजिक एकता कायम राख्ने माध्यम भएकाे वताए । उनले भने “खेल मानव जीवनको एक महत्वपूर्ण पक्ष हो । यसले शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक सन्तुलन र सामाजिक एकता कायम राख्न पनि महत्वपूर्ण भूमिका खेल्दछ ।”

रास्वपाका स्थानिय नेता इम्ताफ आलमकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा आयाेजक विवेक शाह तेली, अजाज मिया, हाफि आलम लागायत स्थानियहरुकाे उपस्थिती रहेकाे थियाे ।

छिपहरमाई गाउँपालिका वडा नं. ४ तुल्सिबर्वा र जगरनाथपुर गाउँपालिका वडा नं. २ जानकीटाेला बिच भएकाे उद्घाटन खेलमा जानकी टाेला विजयी भएकाे हाे ।