Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 224

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल उद्धार गरेर नागरिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन्।

बिहान करिब १०:५० बजे, शालीमार एग्रो फार्म नजिकै  २५ प ५३ को नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा दुई जना सवार गम्भीर घाइते भएका थिए।
प्रदिप पासवान नामका एक युवाको टाउकोमा गहिरो चोट लागेको थियो, तर घटनास्थलमा उपस्थित भीडले सहायता गर्नुभन्दा मोबाइल निकालेर भिडियो खिच्नमै व्यस्तता देखाएको बताइएको छ।

त्यसैबेला कार्यालयको कामले जितपुर जाँदै गरेका सन्तोष साहले दुर्घटना प्रत्यक्ष देखेपछि तुरुन्तै आफ्नो गाडी रोकेर घटनास्थलमा हस्तक्षेप गरे। उनले घाइतेको टाउकोमा कपडा बाँधेर रक्तस्राव रोक्ने प्रयास गरे र नजिकैको नारायणी वयोध्या अस्पतालमा आपतकालीन रूपमा पुर्याए।

अस्पताल प्रशासनले साहको पहललाई “उदाहरणीय सामाजिक दायित्व” को संज्ञा दिएको छ।
सन्तोष यसअघि पनि विभिन्न घटनामा तीन जनाको जीवन बचाएको इतिहास राख्ने कर्मशील व्यक्ति हुन्।

यो घटनाले नबिल बैंकका कर्मचारीहरूको संस्थागत मूल्य, सामाजिक उत्तरदायित्व र संवेदनशील नागरिक भूमिकालाई झल्काएको छ।

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

0

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ।

समाजका अध्यक्ष भुदेव झाको नेतृत्वको मधेशी अधिकृतहरुको एक समुहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

उक्त पत्रमार्फत समाजले विभिन्न समावेशी संवैधानिक निकायहरूको निर्माण प्रक्रिया तथा निजामती सेवा प्रवेशमा मधेशी समुदायको न्यून सहभागिता औंल्याउँदै निजामती सेवा र अन्य सरकारी सेवामा मधेशी समुदायको उचित र न्यायपूर्ण सहभागिता सुनिश्चित गर्न विशेष प्रावधान राख्न आग्रह गरेको छ।

समाजका अनुसार, हाल संघीय निजामती सेवा विधेयकमा रहेको प्रावधानले मधेशी समुदायको पहुँच, भागीदारी र नीतिगत तहमा सहभागिता सुदृढ नगर्ने भन्दै समाजले यो विधेयकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वको मर्म अनुसार संसोधन गर्न माग गरेको हो।

ध्यानाकर्षण पत्रमा संघीय सरकार, संसद, र सरोकारवाला निकायहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएर तत्काल सुधारात्मक कदम चाल्न समाजले आग्रह गरेको छ।

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर कन्डिसन) हस्तान्तरण गरेको छ ।

रक्तदानजस्तो पवित्र कार्य भइरहने रक्तसञ्चार केन्द्रमा गर्मीका कारण रक्तदाताहरूलाई असहज हुने अवस्था रहेको भन्दै वडाध्यक्ष स्वर्णकारले प्रतिबद्धता गरेबमोजिम एसी हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष स्वर्णकारले भने, “रक्तसञ्चार केन्द्रजस्तो पवित्र स्थानलाई सहयोग गर्ने अवसर पाउँदा सन्तुष्टि मिलेको छ । केन्द्र हाम्रो वडाभित्र पर्छ, त्यसैले यो हाम्रो कर्तव्य पनि हो । वडा समिति सधैं समाजको हितमा क्रियाशील रहन्छ ।”

नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल नेतृत्वको कार्यकालको पहिलो सहयोग कार्यक्रम भएको सभापति पटेलले बताए । अध्यक्ष पटेलले भने, “फागुन ७ गते निर्वाचित भएलगत्तै शपथग्रहणको दिनदेखि नै मैले रक्तसञ्चार केन्द्रको अवस्था सुधार्ने अभियान थालें । दैनिक रगत सङ्कलन हुने ठाउँमा एसी नहुनु समस्याको विषय थियो । फ्यानको भरमा दाताहरूले रगत दान गर्नुपरेको अवस्था अब हटेको छ ।”

कार्यक्रममा वडा नं ३ का वडा सदस्यहरु खैरूदिन हवारी, अनेल कलाम, बरकतुन नेशा, संगीता दाससहित सोसाइटीका मन्त्री विनोद गिरी, कोषाध्यक्ष दयाशंकर सिंह राजपूत, सदस्यहरू मुना कुमारी खनाल, दिनानाथ रौनियार, बाबुनन्द चौधरी लगायतको उपस्थिति रहेको रेडक्रस सोसाइटीका राजन श्रीवास्तवले जानकारी दिए ।

सो अवसरमा बहुदरमाई नगरपालिकाबाट पनि डेढ लाख रुपैयाँको सहयोग प्राप्त भएको रेडक्रसका सभापति पटेलले जानकारी दिए । साथै अन्य स्थानीय तहले पनि सहयोग गर्ने क्रम जारी रहेको उनको भनाई छ । पटेलले भने, “ब्लड बैंक रेडक्रसको होइन, सबैको हो । स्रोत साधनको अभावमा पूर्ण व्यवस्थापन गर्न नसकिएको भए पनि हाम्रो प्रयास जारी रहनेछ ।”

सखुवाप्रसौनीमा “कामको संसार चिनाउने” १० दिने कार्यक्रम सुरु, विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्य

ओमप्रकाश चाैधरी ।
सेढवा, २ असार/
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ स्थित दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालयमा “विद्यार्थीलाई कामको संसार चिनाउने कार्यक्रम” (School to Work Transition) अन्तर्गत १० दिने अन्तरक्रिया कार्यक्रमको भव्य सुरुआत भएको छ।

ENSSURE परियोजनाको सहयोगमा, HELVETAS नेपालको प्राविधिक साथ तथा सखुवाप्रसौनी गाउँपालिकाको समन्वयमा संचालन गरिएको कार्यक्रम कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरू लक्षित गरी सञ्चालन गरिएको हो । कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, सीप, उद्यमशीलता र रोजगारीको अवसरबारे जानकारी दिनु हो।

कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर महतोको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष यसवन्त यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि यादवले बाल्यकालदेखि नै विद्यार्थीहरूले आफ्ना रुचि, क्षमता र लक्ष्यको पहिचान गरी तदनुरूप सीप र ज्ञानको विकास गर्न आवश्यक रहेको बताए । उनले भने, “यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई आत्मनिर्भर र सक्षम बनाउने दिशामा महत्त्वपूर्ण योगदान गर्छन्।” साथै, गाउँपालिकाबाट सिपमूलक शिक्षाको विस्तारका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

विशिष्ट अतिथि वडा नं. २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारुले व्यवहारिक शिक्षामा आधारित सिकाइले विद्यार्थीलाई भविष्यमा सक्षम बनाउने उल्लेख गर्दै यस्ता कार्यक्रमको आवश्यकता औंल्याए।

कार्यक्रममा कृषि विकास बैंकका क्षेत्रीय निर्देशक रामप्रसाद गजुरेलले बैंकिङ, कृषि व्यवसाय र स्वरोजगारका अवसरहरूबारे विद्यार्थीलाई जानकारी गराए।

स्थानीय उद्योगपति चन्द्रकिशोर चौधरी थारुले आफ्नो संघर्षको कथा सुनाउँदै परिश्रम र आत्मबलले सफलता प्राप्त गर्न सकिने प्रेरणादायी सन्देश दिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामकिशोर चौधरी थारु, पुनम देवी, ENSSURE परियोजनाका टेक्निकल कोअर्डिनेटर बलबहादुर पौडेल, तथा वृत्ति विकास परामर्शकर्ता राजेश कुशवाहाले पनि आ-आफ्ना क्षेत्रका अनुभवहरू प्रस्तुत गरे।

विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद थारुले स्वागत मन्तव्य दिँदै, यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई मार्गदर्शन, आत्मविश्वास र सकारात्मक सोच विकासमा सघाउने विश्वास व्यक्त गरे।

कार्यक्रमको एक भागस्वरूप “भविष्यमा म जे बन्न चाहन्छु” शीर्षकमा निबन्ध, कविता र चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको थियो। अन्तरक्रिया सत्रमा विद्यार्थीहरूले रोजगारी, सीप तालिम, र भविष्य योजनाबारे जिज्ञासा राखे।

आयोजक पक्षका अनुसार, यो १० दिने कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक रूपमा दक्ष बनाउँदै उनीहरूलाई स्वावलम्बी जीवनयात्रातर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

मातृभाषा पत्रकारितालाई सशक्त बनाउने घोषणा, ६ पर्सेली पत्रकार सम्मानित

पाेखरिया । दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८२ भव्य रूपमा सम्पन्न भएको छ । संघीय राजधानी काठमाडौंको ललितपुर र भक्तपुरमा दुई दिनसम्म चलेको सम्मेलन नेवा राष्ट्रिय पत्रकार दवुको आयोजनामा तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र सार्क जर्नालिष्ट फोरमको समन्वयमा सम्पन्न भएको हो ।

सम्मेलनको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गत शुक्रबार गर्नुभएको थियो भने समापन कार्यक्रम भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले गर्नुभएको थियो। उहाँले कार्यक्रममा मातृभाषाको प्रवर्धनका लागि सम्मेलनले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश लगायतका देशका मातृभाषी पत्रकारहरूको सहभागिता थियो । समापन समारोहमा नेवा पत्रकार दवुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको अध्यक्षता रहेको थियो भने फोनिज अध्यक्ष लक्की चौधरी, सार्क जर्नालिष्ट फोरम अध्यक्ष राजु लामा, संयोजक सुनिल महर्जन, पत्रकार के.के. मानन्धर लगायतले मातृभाषा संरक्षण र पत्रकारिताको भूमिकाबारे विचार व्यक्त गर्नुभयो।

सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गर्दै सार्क राष्ट्रका प्रमुखहरूलाई हस्तान्तरण गर्ने, मातृभाषी पत्रकारको क्षमता विकास, सञ्चार गृहको प्रवर्धन तथा सरकारी बजेट सुनिश्चितताका लागि पहल गर्ने, सरोकारवाला पक्षसँग नियमित छलफल गर्दै चेतना अभिवृद्धिमा काम गर्ने लगायतका विषय समेटिएको छ।

कार्यक्रममा पर्सा जिल्लाबाट प्रतिनिधित्व गरेका रेडियो पोखरिया पर्साका पत्रकार शैलेश साह कानु सहित ६ जना पत्रकारहरूलाई विशेष सम्मान गरिएको छ । सम्मानित हुने अन्य पत्रकारहरूमा प्रेस चौतारी पर्सा अध्यक्ष तथा माई टिभीका निरञ्जन मिश्र, ई-दैनिक जागरणका राजन कुमार सिंह, पोखरिया खबर डटकमकी अञ्जना गिरी, सिआईएन नेपाल डटकमकी विद्या खनाल, र दि ब्लास्ट किंग साप्ताहिकका दिपेन्द्र प्रजापति रहेका छन्।

उनीहरूलाई आयोजक संस्थाले दोसल्ला ओढाई, टिका र फूलमालासहित मायाको चिन्ह, सम्मानपत्र र सरसामान प्रदान गरी सम्मान गरेको हो। सम्मेलनले मातृभाषा पत्रकारिताको विकासमा सशक्त पहल हुने अपेक्षा गरिएको छ।

पटेर्वासुगौलीमा सार्वजनिक सुनुवाई सम्पन्न, उपाध्यक्ष महतोद्वारा ८७ योजना सम्पन्न भएको घोषणा

0

ओमप्रकाश चौधरी / सेढवा, २ असार ।
पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा तथा सृजनशील महिला विकास केन्द्र, वीरगञ्जको समन्वयमा आयोजित कार्यक्रम गुदरबाबा मन्दिर परिसरमा सम्पन्न भएको हो।

गाउँपालिकाको उपाध्यक्ष ममता महतोको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष महतोले चालू आर्थिक वर्ष २०८१/८२ मा हालसम्म ८७ वटा साना तथा ठूला योजनाहरू सम्पन्न भएको जानकारी दिइन्। “कृषि, पर्यटन, हरियो वन! समृद्ध पटेर्वासुगौलीको खुशीयाली मन!!” भन्ने नारासहित गाउँपालिकाले निर्माण गरेका नीति तथा कार्यक्रमहरू अन्तर्गतका योजना कार्यान्वयन भइरहेको उनले बताइन्।

महतोले कृषि परियोजनाका लागि विद्युत तार र पोल जडान, दुई वटा कोल्ड स्टोरको निर्माण, कृषि बजारको व्यवस्थापन लगायत पञ्चवर्षीय योजनाहरू कार्यान्वयनमा रहेको जानकारी दिइन्। साथै, एक वडा एक माध्यमिक विद्यालय कार्यक्रम अन्तर्गत काम भइरहेको र खेल्दै सिक्दै कार्यक्रममार्फत शैक्षिक सुधारको पहल गरिएको उल्लेख गरिन्।

वडा नं. ४ को नवनिर्मित वडा कार्यालय सञ्चालनमा आएको र पालिकाको आफ्नै प्रशासनिक भवन पनि चाँडै सञ्चालनमा आउने जानकारी दिँदै, उपाध्यक्ष महतोले विभिन्न वडामा सडक ढलान, नाला निर्माण, बाउण्ड्रीवाल, सामुदायिक भवन निर्माण, सिचाईका मुहान संरक्षण लगायतका भौतिक पूर्वाधार विकास भएकाे बताइन्।

प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बजेट सीमित रहे पनि प्राथमिकता अनुसारका योजनाहरू कार्यान्वयन भइरहेकाे जानकारी दिए। उनले सरकारले प्रत्येक वर्ष बजेट कटौती गर्दै आएको भए पनि कार्यालयबाट सेवा प्रवाहमा सहजता कायम गरिएको बताए।

कार्यक्रममा सर्वसाधारणहरुले सिचाइ, सडक, विद्युत पोल र तारको मागसँगै थारु समुदायको बढी सहभागिता भएको तर दलित र मुस्लिम समुदायको सहभागिता न्यून रहेको तथा शिवम ह्याचरीका कारण बस्तीमा दुर्गन्ध फैलिएको गुनासोसमेत राखेका थिए।

कार्यक्रममा वडाध्यक्ष विजय गैरे, माधव राउत थारु, बासु पञ्जियार, पूर्व गाबिस अध्यक्ष प्रमेश्वर गौरोलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चारकर्मी माधुरी महतोले सञ्चालन गरेकी थिइन् भने सहजीकरण क्रान्ति साहले गरेका थिए।

तुलसी पौडेल अधिकारीलाई “स्व. अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार”

वीरगंज । गैरसरकारी संस्था महासंघ नेपाल पर्साद्वारा स्थापित “स्वर्गीय अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” यस वर्ष पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–१ मधुवन मथवल निवासी तुलसी पौडेल अधिकारीलाई प्रदान गरिने भएको छ।

स्व. अर्चना गुप्ता स्मृति पुरस्कार छनोट समिति संयोजक तथा महासंघका उपाध्यक्ष सुरज पण्डितको संयोजकत्वमा बसेको बैठकले असार ६ गते तुलसी अधिकारीलाई सम्मान गर्ने निर्णय गरेको हो।

अधिकारीले विगत दुई दशकदेखि अरुणोदय युवा क्लब महुवन लगायत विभिन्न संघसंस्थामार्फत महिला अधिकार, सशक्तिकरण तथा बालबालिकासम्बन्धी सवालमा निरन्तर सक्रियता जनाउँदै समाजमा रहेको विकृति र विसङ्गतिलाई हटाउन ईमान्दारीपूर्वक भूमिका निभाउँदै आएकी छिन् । सोही योगदानको कदरस्वरूप उनलाई पुरस्कृत गरिने निर्णय गरिएको गैसस महासंघ पर्साका अध्यक्ष छठु साहले वताए ।

अध्यक्ष साहका अनुसार उनलाई प्रदान गर्न लागिएकाे पुरस्कार राशी रु ११ हजार रूपैयाँ रहेको छ । असार ६ गते, शुक्रबार नेपाल पत्रकार महासंघ वीरगंज शाखाको सभाहलमा आयाेजना हुने पुरस्कार वितरण कार्यक्रमकाे प्रमुख अतिथि  पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्याल रहेका छन् ।

गैरसकारी संस्था महासंघ नेपाल पर्साकी कार्य समिति सदस्य समेत रहेकी स्व. अर्चना गुप्ताकाे ४० बर्षकाे उम्मेरमा गत बर्ष बैशाख ९ गते असामयिक निधन भएकाे थियाे ।

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको वर्कसपमा गाडीको डेन्टिङ, पेन्टिङ, सडक दुर्घटनामा परेको गाडीको मर्मत सम्भार र वासिङ गरीनेछ ।

उनीहरुका पुरानो मात्र नभई अहिलेको आधुनिक गाडीलाई डिबिएस अटो वर्कसपमा मर्मत सम्भार र वासिङ गर्न सकिनेछ । अन्य वर्कसपको तुलनामा डिबिएसमा सर्वसुलभ मुल्यमा काम हुने योजना अनुसार संचालनमा ल्याउनु परेको संचालकहरुले बताए ।

डिबिएस अटो वर्कसपका संचालक मध्येका दिपेश यादवले यहाँ सानो गाडीमा कुनैपनि प्रकारको गाडीको डेन्टिङ ,पेन्टिङ , दुर्घटनामा परेका गाडीको मर्मत सम्भार र वासिङ गर्न सकिने बताए ।

यस्तै उनीहरुकै लगानीमा कार क्याफे पनि संचालनमा आएको छ । गाडी मर्मत सम्भार देखि वासिङ गराउन आउनेहरुले कार क्याफेमा बस्न सक्नेछन ।

वर्कसपको माथिल्लो तल्लामा संचालनमा आएको क्याफेमा खाजा, चिया, पेयपदार्थ सहितका समाग्री सर्वसुलभ मुल्यमा उपलब्ध हुने संचालक यादवले बताए । गाडी लिएर वर्कसपमा आएका ग्राहकहरुको समय र सुबिधालाई मध्यनजर गरेर क्याफेलाई संचालनमा ल्याईएको हो ।

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन”

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ ।

गत आर्थिक बर्ष २०८०/०८१ मा मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको १५ लाख बजेटमा निर्माण गर्न भनिएको चिल्ड्रेन पार्क निर्माण नहुदै आर्थिक अनियमितता भएको पाएको हो ।
मन्दिर परिसरमा चिल्ड्रेन पार्कको नाममा दुई वटा बस्ने कुर्सी , कम्पाउण्ड मात्र निर्माण भएर चिल्ड्रेन पार्कको निर्माण भएको भन्दै उदघाटन बोर्ड लगाईएको स्थानीयबासी प्रदीप पंडितले बताए ।

उनका अनुसार गत आर्थिक बर्षमा मधेश प्रदेश सरकारको १५ लाखको बजेटमा चिल्ड्रेन पार्क निर्माणको नाममा मन्दिरमा परिसरमा बस्ने बेन्च र मन्दिरको केही कम्पाउण्ड मात्र गरीएको अवस्था छ ।
स्थानीयबासीका अनुसार मन्दिर जस्तो पवित्र स्थलमा सरकारका जिम्मेवार व्यतिmहरुले नै चिल्ड्रेन पार्क नबन्दै निर्माण सम्पन्न भएको भन्दै उद्घाटन बोर्ड झुण्डाईएको पंडितको बताए ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ को ‘क ’का निर्वाचित प्रदेश सभा सदस्य एवं पुर्व वन तथा वातावरण मन्त्री रमेश कुर्मीले पार्क उद्घाटन गरेको बोर्ड मन्दिरको गेटमा लगाईएको छ ।

उनले गत बर्ष २०८१ साउन १९ गते निर्माण सम्पन्न भएको भन्दै पार्कको उद्घाटन गरेको स्थानीयबासीले बताएका छन ।
उतm बोर्डमा वडाअध्यक्ष शम्भु मिश्राको कार्यकालमा निर्माण भएको भन्दै बोर्ड लगाईएको उद्घाटन बोर्डमा देखिन्छ ।

पार्क निर्माण भएको मैले देख्न पाएन : पुजारी

श्रीराम जानकी मन्दिरका पुजारी हिमान्चल दास बैरागीले पनि यहाँ मन्दिरमा कुनैपनि प्रकारको चिल्ड्रेन पार्क निर्माण नभएको गुनासो गरेका छन ।

उनले सरकारको बजेटमा मन्दिरमा चिल्ड्रेन पार्क निर्माण भएर उद्घाटन भएको आफुले यही बसेर पतो पनि नपाएको बताए । मधेश प्रदेश सरकार पुर्व वन तथा वातावरण मन्त्री रमेश कुर्मीले उतm चिल्ड्रेन पार्कको उद्घाटन गरेको बोर्ड लगाएपछि देखेको उनको भनाई छ ।

मन्दिर परिसरमा चिल्ड्रेन पार्क निर्माण भईरहेको आफुले कहिले पनि नदेखेको , तर कम्पाउण्डको पर्खाल लगाउँदा देखेर रोक्न खोजेको बताए । पर्खाल निर्माण पनि कति बजेटमा भएको भने बारेमा स्पष्ट रुपमा आफुले बताउन नसक्ने मन्दिरका मुल पुजारी बैरागी बताउँछन ।

वडाअध्यक्षको सस्तो लोकप्रियताले विवाद ल्यायो
मन्दिरमा चिल्ड्रेन पार्क निर्माण नभई मन्दिरको कम्पाउण्ड पर्खाल लगाईएको तर वडाअध्यक्षले आफ्‌नो लोकप्रियताका लागी आफ्‌नो नाम राखेर शिलालेख नै लगाएको पुर्वमन्त्री निकट एकजनाले नेताले आरोप लगाए ।

पुर्वमन्त्री निकट स्रोतका अनुसार मन्दिर भित्रको ऐलानी जग्गामा चिल्ड्रेन पार्क निर्माण गर्न योजना हुदाँहुदै वडाअध्यक्ष शम्भु मिश्राले अन्तिममा सहजीकरण गर्न नसकेपछि हतार हतारमा कम्पाउण्ड निर्माण गरीएकोे उनले बताए ।
तर आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा चिल्ड्रेन पार्क निर्माण गर्न योजना पठाईएकाले पार्क नै निर्माण हुने उनले बताए ।

वडाअध्यक्ष मिश्राले मन्दिर भित्र नै रहेको ऐलानी १० कठ्ठा जग्गा छुटयाईकाले अब जुनसुकै हालतमा चिल्ड्रेन पार्क नै बनाएर छाड्ने दाबि गरे । गत आर्थिक बर्षको अन्त्यमा असार मसान्तमा बजेट प्रिज हुन नदिनका लागी ऐलानी जग्गा निकाल्न अलिकति समयमा लाग्ने भएकाले मन्दिरको कम्पाउण्ड निर्माण भएको उनले बताए ।

मधेश प्रदेश सरकारमा पुर्वमन्त्री रमेश कुर्मीले पार्क निर्माण गर्नकै लागी योजना छनौट गरेर पठाएको वडाअध्यक्ष मिश्राले बताए ।

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ।

गाउँपालिका अध्यक्षको आदेशमा मिति २०८१ असार १ गतेदेखि ६ गतेसम्म वर्षे विदाबाट कट्टा हुने गरी थप गर्मी विदा दिइएको हो। शिक्षा शाखा प्रमुख अशोक कुमार सिंहले उक्त जानकारी दिँदै सो अवधिभर सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालय बन्द रहने जनाएका छन्।

यद्यपि, विद्यालयहरूको प्रशासनिक सेवा भने नियमित रूपमा सञ्चालनमा रहने छ। गाउँपालिकाले आगामी असार ८ गते आइतबारदेखि सबै विद्यालयमा नियमित पठनपाठन सुरु हुने जानकारी गराएको छ।

यसअघि पनि गाउँपालिकाले दुई दिनको गर्मी विदा दिएको थियो। थप गर्मी विदासँगै विद्यार्थी तथा अभिभावकहरूले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ।