Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 223

ठोरीबाट चार जनालाई भारत बेच्न लैजाँदै गरेको आरोपमा एक जना पक्राउ

वीरगंज । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पर्साको ठोरीबाट एक जना पुरुष पक्राउ परेका छन् । चितवन माडी नगरपालिका–८, खर्कटा बस्ने ४१ वर्षीय दिपक खड्कालाई भारततर्फ मानिस बेच्न लैजाँदै गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।

बुधबार बिहान ११:४५ बजे पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ ठोरी बजारस्थितबाट सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले मानव बेचबिखनको प्रयासमा संलग्न रहेका खड्कालाई पक्राउ गरेको हो । उक्त घटनामा खड्काले चार जना व्यक्तिहरूलाई “फ्रि टिकट, फ्रि भिसामा दुबई र ओमानमा रोजगारीको प्रलोभन” देखाई भारततर्फ लैजाँदै गरेको खुलासा भएको छ ।

प्रहरीको सक्रियतामा ती चारजनालाई सकुशल उद्दार गरिएको छ । पक्राउ परेका खड्काविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार खड्काले योजनाबद्ध रूपमा बेरोजगार तथा विपन्न व्यक्तिहरूलाई ठगी गर्दै विदेश पठाउने बहानामा भारत हुँदै तस्करी गर्ने प्रयास गरेका थिए । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिन सुरु, इजलासबाट हटाइयो

वीरगञ्ज । जिल्ला अदालत रौतहटले दिएको जन्मकैदको फैसला उल्टाएर पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन प्रक्रिया सुरु गरिएको छ ।

न्याय परिषद्का अनुसार दुवै न्यायाधीशलाई बिहीबारदेखि इजलासबाट हटाइएको छ र उनीहरूलाई सर्वोच्च अदालतमा उपस्थित हुन भनिएको छ । छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको नेतृत्वमा एक सदस्यीय समिति गठन गरिएको हो ।

२०६४ चैत २७ गते बम विस्फोटपछि घाइते भएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको मुद्दामा जिल्ला अदालत रौतहटले आलमसहितलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। तर, पुनरावेदनमा थारु र महर्जनको इजलासले जेठ १४ मा फैसला उल्ट्याएर आलमलाई सफाइ दिएपछि व्यापक आलोचना भएको थियो ।

मृतक पिन्टुका बुबा नारायणसिंह राजपुतले न्यायपरिषद्मा छानबिनको मागसहित उजुरी दिएका थिए । त्यस्तै, अधिवक्ता युवराज सफलले पनि यथाशीघ्र छानबिन हुनुपर्ने माग गरेका थिए ।

न्याय परिषद्ले सुरुमा मौनता साँधेको भए पनि चौतर्फी आलोचना र सर्वोच्चका न्यायाधीशहरूकै अनौपचारिक छलफलपछि अन्ततः छानबिन प्रक्रिया अघि बढाएको हो । न्यायिक क्षेत्रको मर्यादा र निष्पक्षताका लागि न्यायाधीशहरूलाई जिम्मेवार बनाउँदै थप कारबाहीको संकेत पनि परिषद् स्रोतले गरेको छ।

दाइजो नदिएको भन्दै श्रीमतीको हत्या, दोषी जोगाउन नेताहरू र प्रहरी मिलेको आरोप

वीरगञ्ज । दाइजोका लागि हत्या गरिएको भन्दै माइती पक्षले न्याय माग गरेका छन् भने घटनालाई आत्महत्या भनेर मिलाउन स्थानीय नेताहरू र प्रहरीले दबाब दिएको गम्भीर आरोप लगाएका छन्।

रौतहटको कटहरिया नगरपालिका–५ स्थित बजार क्षेत्रमा वैशाख २८ गते सानिया प्रवीण नामकी युवतीको हत्या गरिएको भन्दै माइती पक्षले बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै दोषीलाई जोगाउन ससुराली पक्ष, नेताहरू र प्रहरी मिलेको आरोप सार्वजनिक गरेका हुन्। मृतक सानियाको बिहे भारतको बिहार राज्य, पूर्वी चम्पारण सुगौली निवासी मोलाजिम रौशनसँग मुस्लिम परम्परा अनुसार भएको थियो।

सानियाका मामा अरमान अन्सारी र दाजु साहबाज रौशनले सासू, ससुरा, ज्वाइँ अरमान राय भाट मिलेर योजनाबद्ध रूपमा हत्या गरेको र अर्की भान्जीलाई पनि मार्ने धम्की दिइरहेको आरोप लगाएका छन्। उनका अनुसार केटी पक्षले दाइजोस्वरूप मागिएको नगद, केटीएम ड्युक बाइक आदि दिन नसक्दा सानियामाथि चरम मानसिक र शारीरिक यातना दिइएको थियो।

पीडित पक्षले घटनाको निष्पक्ष अनुसन्धान होस् भन्दै बारम्बार प्रहरीसमक्ष धाउँदा पनि उनीहरूको गुनासो नसुनिएको र अनुसन्धान अपारदर्शी भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

“हामी कसैलाई झूटो आरोप लगाउन चाहन्नौं, तर छानबिन सत्य र प्रमाणमा आधारित हुनुपर्छ,” पत्रकार सम्मेलनमा साहबाज रौशनले भने, “यो हत्या हो भन्ने कुरामा हामी विश्वस्त छौं, तर प्रहरी र नेताहरू यसलाई आत्महत्या बनाउने खेलमा लागिरहेका छन्।”

यस विषयमा हालसम्म स्थानीय प्रहरी प्रशासनले भने कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

ठोरी गाउँपालिकाको ५१ करोडको बजेट सार्वजनिक, आन्तरिक राजस्व ३० लाख मात्र

वीरगंज । पर्साको ठोरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५१ करोड ५४ लाख ६४ हजार ८५२ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार ठोरी–४ स्थित घेयाङ डाँडाको गाउँपालिका कार्यालयमा आयोजित १३औं गाउँसभा अधिवेशनमा उपाध्यक्ष गोकुली कुमारी रेग्मीले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन्।

बजेटमा आन्तरिक राजस्वबाट ३० लाख रुपैयाँ, संघ सरकारको अनुदानमार्फत ३२ करोड ४१ लाख, प्रदेश सरकारको अनुदानबाट १ करोड ९५ लाख, संघ सरकारबाट राजस्व बाँडफाँडतर्फ ६ करोड ९७ लाख ७२ हजार र प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट ७७ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ। साथै, सामाजिक सुरक्षा भत्ता शीर्षकमा संघ सरकारबाट ९ करोड ५० लाख रुपैयाँ आउने जनाइएको छ।

गाउँसभा अध्यक्षता गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय साह सोनार रहेका थिए। कार्यक्रममा पाँचवटै वडाका अध्यक्ष, गाउँ कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको समेत उपस्थिति रहेको थियो।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले बजेटका विवरण र स्रोतबारे जानकारी गराएका थिए।

एक केजी अफिमसहित पटेर्वासुगौलीका चार जना पक्राउ

वीरगंज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ति चोकबाट प्रहरीले १ केजी अफिमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का ४० वर्षीय विनोद गिरी, वडा नम्बर ५ का ३३ वर्षीय प्रदीप चौधरी, २८ वर्षीय सुनीलकुमार श्रीवास्तव र ३४ वर्षीय रामेश्वर राउत रहेका छन् ।

वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले वीरगन्जबाट रक्सौलतर्फ जाँदै गरेका दुईवटा मोटरसाइकल—ना.४६ प २५४० र ना.४० प ६४६९—लाई रजतजयन्ति चोकमा रोकेर चेकजाँच गर्दा ना.४० प ६४६९ नम्बरको मोटरसाइकलमा सवार रामेश्वर र विनोदको साथमा रहेको प्लास्टिकको झोलाबाट १ केजी अफिम फेला परेको थियो ।

प्रहरीका अनुसार, सो कार्यमा संलग्न रहेको पाइएपछि प्रदीप र सुनीललाई समेत पक्राउ गरिएको हो । पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, अफिम र मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई लागू औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

बारामा पुरानो रिसिवीको कारण कुटपिट गरी हत्या, मुख्य आरोपितसहित चार जना पक्राउ

वीरगंज । बाराको कलैया उपमहानगरपालिका–१४ स्थित बघवन टोलमा पुरानो रिसिवीको कारण भएको कुटपिट घटनामा ५० वर्षीय नन्दु राउत कुर्मीको ज्यान गएको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने अन्य आरोपितहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार गत जेठ २९ गते साँझ करिब ६ः१५ बजे, स्थानीय उमेश जैसवालसहित ६ जनाको समूहले नन्दु राउत कुर्मीमाथि सामूहिक रूपमा कुटपिट गरेका थिए ।
गम्भीर रूपमा घाइते भएका कुर्मीलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो, तर चिकित्सकले उनलाई साँझ ७ः२० बजे मृत घोषित गरेका थिए । घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न भएको पुष्टि भएसँगै सोही दिन २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरी ज्यान सम्बन्धी कसूरअन्तर्गत बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, अन्य फरार रहेका आरोपितहरूलाई पक्राउ गर्न प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा विशेष टोली खटाइएको थियो । टोलीले असार ४ गते बुधबार, फरार आरोपितमध्ये तीन जनालाई फरक–फरक स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका–१४ बघवन टोल निवासी उमेश जैसवालकी श्रीमती ३८ वर्षीया रन्जु जैसवाल, उनका छोरा २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय सुजित कुमार जैसवाल छन ।
रन्जु जैसवाललाई सागर लामिछानेको घर कलैया उपमहानगरपालिका–५ बाट र दुई छोरालाई वीरगञ्ज महानगरपालिका–१ शान्तिटोलस्थित बसिर मियाँको घरबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई बारा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अन्य फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको समेत बारा प्रवता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डित जानकारी दिए ।

वीरगञ्जस्थित रेडक्रसद्वारा रक्तदान गर्न सार्वजनिक अपील

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले हाल रक्त अभावका कारण उत्पन्न समस्या समाधानका लागि आम नागरिकहरूलाई रक्तदान गर्न वा गराउन आग्रह गरेको छ।

गर्मीका कारण विभिन्न संघ–संस्थाबाट हुने रक्तदान कार्यक्रमहरूमा कमी आएको भन्दै सोसाइटीले विशेष अपील गर्दै वीरगञ्जस्थित रक्तसंञ्चार सेवा केन्द्रमा आउने थाईसिमिया, एनेमिया, डायलाइसिस उपचाररत बिरामी, सुत्केरी महिला, एचआइभी संक्रमित बिरामीहरूलाई रगतको चरम अभाव भएको उल्लेख गरेको छ।

रेडकसले रक्तदान शिविर सञ्चालन गर्नका लागि विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज र युवाहरूको सहयोग मागेको छ। साथै, महिला पुरुष सबै रक्तदातालाई वीरगञ्ज स्थित रक्तसंञ्चार केन्द्रमा पुगेर स्वेच्छिक रक्तदान गर्न हार्दिक अनुरोध गरिएको छ।

रेडकस पर्सा शाखाका मन्त्री विनोद गिरिले हस्ताक्षर गरेको अपीलमा भनिएको छ, “रक्तदान जीवनदान हो।”

रक्तदानका लागि इच्छुक व्यक्तिहरूले नेपाल रेडक्रस सोसाइटी, पर्सा जिल्ला शाखा, वीरगञ्जमा सम्पर्क गर्न सक्नेछन्।

सर्लाहीमा ४२ लाखभन्दा बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरीले एक ट्रक नियन्त्रणमा लिएको छ, जसमा अवैध तथा बिल-बिजक नभएका सामानहरू भरिएका थिए।

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्र.ना.नि. सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार बिहान ६:१५ बजे वीरगञ्जबाट ईटहरीतर्फ जाँदै गरेको बा ५ ख ३०७ नम्बरको ट्रक रोकी चेकजाँच गरेको थियो।

जाँचका क्रममा ट्रकभित्र टायर, आपमा छर्ने औषधि, मोबिल, खाने तेल, रेगुलेटर, मोटर पार्ट्स, छाता, घिउ, किसमिस, इलेक्ट्रोनिक सामान, कस्मेटिकसहितका विभिन्न प्रकारका खुद्रा सामानहरू भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती सबै सामानहरूमा आवश्यक कागजात, पञ्जीकरणपत्र र बिल-बिजक शंकास्पद पाइएका छन् । अनुमानित रूपमा ती सामानहरूको बजार मूल्य रु ४२ लाख ४० हजार ३४७ बराबर रहेको बताइएको छ।

उक्त ट्रक र सामान हाल ईलाका प्रहरी कार्यालय कर्मैयाको नियन्त्रणमा राखिएको छ र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको स्थान चेकपोष्टबाट करिब ५० मिटर दक्षिणतर्फ पर्दछ ।

सर्लाही प्रहरीको मुद्दा शाखाका सई हनुमानमाथि पीडितसँग बार्गेनिङको आरोप

सर्लाही । तराईका जिल्लामा प्रहरीप्रति जनविश्वास विस्तार हुँदै गइरहेका बेला सर्लाहीमा भने केही प्रहरीका कारण उक्त छवि धमिलिने खतरा बढेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीको मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हनुमान राउत अहिरमाथि मुद्दा मिलाउने नाममा पैसा असुली गरेको गम्भीर आरोप लागेको छ।

स्थानीय पीडितका अनुसार सई राउतले मुद्दा बलियो बनाउने वा कमजोर पार्ने नाममा सम्बन्धित पक्षसँग बार्गेनिङ गर्दै रकम असुल्ने कार्य गर्दै आएका छन्। कतिपय अवस्थामा पीडित र पीडक दुवै पक्षसँग पैसा लिने प्रयाससमेत गरिएको आरोप छ।

एक पीडितले त हनुमान राउत आफैं घरमै आइपुगेर रकम माग्दै मानसिक दबाब दिएको दाबी गरेका छन्। बढ्दो गुनासोका बीच उनलाई सिराहा सरुवा गरिएको भए पनि उनले ‘काज’ मिलाउँदै अझै सर्लाहीमै बसेर प्रभुत्व जमाइरहेको स्रोतको दाबी छ।

प्रहरी संगठनभित्र भ्रष्टाचार नियन्त्रण र जनमैत्री व्यवहारको अभियान चलेकै बेला यस्तो गतिविधिले जनविश्वासमा असर पर्ने खतरा देखिएको छ। अब प्रहरीको उच्च तहबाट छानबिन र कारबाहीको अपेक्षा गरिएको छ।

वीरगंजमा ह्यान्डपम्प सुकेपछि खाने पानीको अभाव

वीरगंज । तराई मधेशमा भईरहेको प्रचण्ड गर्मीका कारण ह्यान्डपम्प, तालतलैया, पोखरी, खोलानाला सुक्न थालेका छन् । जिल्लाका विभिन्न स्थानमा ह्यान्डपम्प सुकेपछि पिउने पानीको अभाव भएको छ । अहिले पशुचौपायालाई पानी खुवाउन समस्या भएको स्थानीयहरुले बताएका छन ।

आगो नियन्त्रणका लागि प्रयोग गरिने दुईवटा दमकललाई खानेपानी संस्थानले पर्याप्त पानी दिन छोडेको छ । ताल, पोखरी सुकेपछि पानी खोज्न समस्या भएको दमकल कर्मचारीले बताए ।

गर्मीले वीरगन्जको गहवा मात्र होइन श्रीपुर, रानीघाट, अशोक वाटिका, प्रगतिनगर, छप्कैया, भेडीयाही, नगवालगायत ठाउँमा पानीको चरम संकट भएको स्थानीय बताउँछन् । गर्मीले पानीको सतह पनि सुक्दै गएकाले ह्यान्डपम्पबाट पानी आउन छाडेको हो ।

वीरगन्ज महानगरपालिका अधिकाश स्थानीयबासी दुई महिनादेखि राति निदाउन पाएका छैनन् । उनीहरुको घरपछाडि २६० फिट गहिरो गाडिएको कलमा पानी आउन छाडेको छ । पानीको चक्करमा रातभरि जाग्राम बस्दा दिउसो काम गर्न नपाएको उनीहरु बताउँछन् ।

वीरगनज २६ का प्रदीप पंडितले कहिलेकाहीँ छेउछाउका सबै घरका कल र मोटर पम्पहरू बन्द भएको बेला मध्यरातमा १२ देखि २ बजेसम्म मोटरले कलबाट पानी तान्छ,” उनले भने, “सौभाग्यले थोरै भए पनि पानी आयो भने आउन्जेल मोटर चलाउँदै बस्नु पर्छ, रातभरि चलाउँदा हजार लिटरको ट्यांकीमा आधी पनि भरिँदैन । पानी आएन भने तनावले नै निद्रा आउँदैन ।”

सामाजिक सञ्जाल फेसबुकमा अहिले यो समस्यालाई उजागर गरेर स्टेटस लेख्नेहरु पनि बढेका छन अहिले सानो बच्चादेखि बुज्रुग महिलाको हातमा बाल्टी, बोतल तथा भाडाहरू लिएर, पिउन र खाना बनाउनका लागि पानी कसको घरमा आएको छ सोध्दै हिँडेका छन ।

केही वर्षदेखि गर्मीयाममा कलहरूमा पानी आउन बन्द हुने तथा इनार र जलाशयहरू सुक्न थालेको छ् । यसपालि संकट चरम अवस्थामा पुगेको उनको भनाइ छ । वीरगन्जका आधाभन्दा धेरै घरधुरीले पानीको समस्या भोगिरहेको उनको अनुमान छ ।

वीरगन्ज महानगरपालिकाको खानेपानी शाखाका अनुसार जमिनमा पानीको स्तर घटेर मोटरले समेत नतान्ने अवस्था भएको कारण शहरी क्षेत्रका स्थानीय समस्यामा छन् । पानी परेपछि मात्र यसको समाधान हुने अवस्था छ । “जमिनमुनि हुने पानीको लेबल बढीमा २८÷२९ फिट हुनुपर्छ । सतहमुनिको पानीको लेबल घटेर अहिले ३१ फिटमा झरिसकेको छ । यसबाट गर्मीले जमिन सुक्यो भनेर बुझ्न सकिन्छ,” ्।

यसअघि, हरेक घरमा कल राखेर पानीको आवश्यक्ता पूर्ति गर्ने चलन बढ्दा खानेपानी संस्थानमार्फत आपूर्ति हुने पानीका ग्राहक कम थिए । पहिले सरकारी धारा जडान नगर्ने ग्राहक पनि अहिले धारा जडानका लागि धाइरहेको खानेपानी संस्थान वीरगन्ज शाखाका एक जना कर्मचारी बताउँछन् । धारा जडानका लागि दैनिक एक दर्जन हाराहारीमा निवेदन आउने उनको भनाइ छ ।

वीरगन्ज महानगरपालिकाले पानीको हाहाकार हटाउन विभिन्न वडाका घरधुरीमा खानेपानीको धारा निःशुल्क जडान गर्ने योजना बनाएको मेयर राजेशमान सिंहले जानकारी दिए । महानगरले खानेपानीको अधिक समस्या रहेका वडामा खानेपानी संस्थानसँग समन्वय गरेर धारा जडान गर्न लागेको उनले बताए ।