Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 222

वीरगंजमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, ५१ जनाले गरे रक्तदान

वीरगंज । ‘कसैलाई पनि रगतको अभावमा मृत्युवरण गर्न नपरोस्’ भन्ने उद्देश्यका साथ वीरगंज सिटी मार्केट वीरगंजकाे आयोजनामा शनिवार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

वीरगंजकाे घण्टाघरस्थित रोयल पार्टी प्यालेसमा कार्यक्रमकाे उद्घाटन जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले गरेका थिए । साे कार्यक्रममा एक महिलासहित ५१ जनाले रक्तदान गरेकाे कार्यक्रम संयाेजक बिक्की सर्राफले जानकारी दिए ।

कार्यक्रममा बलिराम राउत, रन्जित गुप्ता, जुमन आलम, राज गुप्ता, अभय पटेल, राजन कुमार राैनियार, अभय कुमार साह, राजाबाबु पटेल, जाेतिश पटेल, राेहित पटेल, साहिल हुसेन, कुन्दन प्रसाद, बृजेश यादव, साहिल पटेल, सुरज पटेल, पिन्टु राैनियार, आन्नद कुमार राैनियार, ओम यादव, सुरज पटेल, नितेश कलवार, सुनिल ठाकुर, चन्दन कुमार राैनियार लगायतले रक्तदान गरेका हुन् ।

पछिल्लो समय वीरगंज रक्तसञ्चार केन्द्रमा देखिएको रगतको अभाव र नेपाल रेडकरेस सोसाइटी पर्साले रक्तदान कार्यक्रमहरू सञ्चालन गर्ने आह्वानलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक सर्राफले वताए ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी पर्साका सभापति बृजकिशाेर पटेल, ब्लड डाेनर्स एसाेसियसन नेपाल, पर्साका सचीव अरबिन्द सिंह, वीरगंज सिटी मार्केटका संचालक पिन्टु राैनियार, राजन श्रीवास्तव, संताेष पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

पर्सागढी नगरपालिकाको ५६ करोडको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

वीरगंज । पर्साको पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ६ लाख २ हजार ४ सय ७९ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरसभाको १३औं अधिवेशनमा उपमेयर पूजा चौधरीले बजेट प्रस्तुत गरेकी हुन्।

बजेटमा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक आय समावेश गरिएको छ। संघीय समानीकरण अनुदान ११ करोड ७६ लाख, संघीय सशर्त अनुदान २६ करोड ९० लाख, राजस्व बाँडफाँड १० करोड ६१ लाख १ हजार ८९९, प्रदेश समानीकरण अनुदान ८२ लाख ६ हजार, प्रदेश सशर्त अनुदान ९५ लाख, प्रदेश राजस्व बाँडफाँड ८० लाख ८४ हजार ५८०, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख र आन्तरिक आय २ करोड ७१ लाख १० हजार रुपैयाँ रहेको छ।

कार्यक्रममा मेयर गोकर्ण पाठकले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र खेलकुदलाई प्राथमिकतामा राखिएको जानकारी दिए। उनले जनताको प्रत्यक्ष लाभ हुने कार्यक्रम कार्यान्वयनमा पारदर्शिता र प्रभावकारिता सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहले स्वागत मन्तव्य राख्दै जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यबाट पर्सागढी समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे।

स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको अन्त्यमा नगरपालिकाबाट अवकाश पाएका कर्मचारीहरू र उत्कृष्ट कार्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको थियो।

पोखरियामा दुई करोड ८० लाखको लागतमा सडक र नाला निर्माण सुरु, मेयर चौहानद्वारा सिलान्यास

पोखरिया । पर्साकाे पोखरिया नगरपालिकाकाे वडा नं. ५ सतवरियामा मेयर प्रदुमन प्रसाद चौहान र उपमेयर रुवी कुमारी ठाकुरले संयुक्त रूपमा २ करोड ८० लाख रुपैयाँ लागतमा सडक तथा नाला निर्माणको शिलान्यास गरेका छन् ।

निर्माण कार्य अन्तर्गत कमल मुखियाको घरदेखि नहरसम्म कालोपत्र, लक्ष्मण सिंह ख्वासको घरदेखि राधाकृष्ण मन्दिरसम्म कालोपत्र, दलित बस्ती नजिक रहेको मस्जिददेखि स्ल्याब कलभर्टसम्म र मन्सुर मियाको घरदेखि नहरसम्म ग्राभेलसहितको ढलान गरिनेछ। योजना अन्तर्गत एक हजार ३ मिटर लम्बाइ र ६ मिटर चौडाइको सडक तथा ३९४ मिटर नालाको निर्माण गरिनेछ ।

शिलान्यास कार्यक्रममा बोल्दै मेयर चौहानले निर्माण कार्य स्टिमेटअनुसार गुणस्तरीय र समयमा सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएका छन् । साथै, काममा लापरवाही भए कडा कारबाही हुने चेतावनी दिएका उनले स्थानीयहरूलाई समेत निगरानीमा सहयोग गर्न आग्रह गरे ।

वडा अध्यक्ष महेन्द्र महतो चाईको अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, इन्जिनियर सुमित प्रसाद यादव, अखिलेश प्रसाद चौरसिया, ज्ञानेन्द्र यादव, हृदयलाल साह लगायतकाे उपस्थिति रहेकाे थियो ।

वीरगंजका होटल व्यवसायीका लागि खाद्य सुरक्षा तथा सरसफाइ अभिमुखिकरण

वीरगंज । वीरगंज महानगरपालिकाले स्थानीय उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूसँग खाद्य सुरक्षा तथा सरसफाइसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

होटल मकालुमा आयोजित कार्यक्रममा जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले सहभागी व्यवसायीहरूलाई स्वच्छ खाना, सरसफाइ मापदण्ड, खाद्यजन्य रोगहरूको रोकथाम तथा सार्वजनिक स्वास्थ्य सुरक्षाका विषयमा विभिन्न प्रस्तुति दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले वीरगंज महानगरपालिका अनुगमनकारी निकाय पनि भएकाले अनुगमन हुनु अगावै सबै होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूले आवश्यक जानकारी हासिल गर्नुपर्नेमा जोड दिए । उनले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै आगामी अनुगमनमा सम्पूर्ण रूपमा तयार रहन निर्देशनसमेत दिए ।

अभिमुखिकरण कार्यक्रमको अध्यक्षता होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले गरेका थिए । उनले कार्यक्रम व्यवसायीहरूका लागि उपलब्धिमूलक भएको भन्दै व्यवहारमा समेत सुधार ल्याउन आग्रह गरे । कार्यक्रमको सञ्चालन हान मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधानले गरेका थिए ।

गर्मीमा विद्युत कटौतीले जनजीवन कष्टकर : जनमत पार्टीको प्राधिकरणलाई ध्यानाकर्षण

वीरगंज । पर्सा जिल्लामा बढ्दो गर्मी, चर्को तापक्रमसँगै विद्युत आपूर्तिमा देखिएको अनियमितता, अत्यधिक पावर कट तथा भोल्टेज समस्याले जनजीवन थप कष्टकर बन्दै गएको जनाउँदै जनमत पार्टी, पर्सा जिल्ला समन्वय समितिले नेपाल विद्युत प्राधिकरण, वीरगंज वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको हस्ताक्षर रहेको पत्रमा हालको विद्युत आपूर्तिको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । पत्रमा भनिएको छ, “गर्मीको तीव्रता बढिरहेको बेला विद्युतको अत्यधिक पावर कट, भोल्टेज समस्या र अनियमित आपूर्तिले जनजीवन अत्यन्तै कष्टकर बनेको छ।”

ध्यानाकर्षण पत्रमा जनमत पार्टीले विद्युत समस्या घरायसी मात्र नभई खेतीपाती तथा औद्योगिक क्षेत्रमा समेत गम्भीर असर पुर्‍याएको उल्लेख गरेको छ। “खेतीको समय भएकोले सिँचाइमा समेत असर पुगेको छ, उद्योगहरू ठप्प हुने स्थिति आइसकेको छ,” पत्रमा भनिएको छ ।

विद्युत आपूर्तिमा तत्काल सुधार नआए चरणबद्ध आन्दोलनको चेतावनी दिँदै पार्टीले यस समस्यालाई यथाशीघ्र समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ ।

उक्त ध्यानाकर्षण टोलीमा अध्यक्ष सरार्फसँगै केन्द्रीय नेतृ रम्भा मिश्र, नजमा खातुन, महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, नगर सचिव लोकेश कर्ण, जिल्ला सदस्यहरू नागेन्द्र यादव, ध्रुप महतो, महानगर युवा संयोजक संजय सिंह, युवा नेताहरू धिरेन्द्र पन्जियार, सिकेन्द्र राम, मुना चौधरी, नितिम गिरि लगायतको सहभागिता थियो ।

ध्यानाकर्षण पत्रको प्रतिलिपि नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय, काठमाडौंमा पनि पठाइएको जनाइएको छ ।

पोखरियाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र नायब सुब्बा अख्तियारकाे नियन्त्रणमा

वीरगंज । पर्साकाे पोखरीया नगरपालिका तत्कालिन हालका बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृतलाई अख्तियारले अनुसन्धान गर्न नियन्त्रणमा लिएकाे छ ।

पाेखरिया नगरपालिकाका योजनाको स्वीकृति तथा कर्मचारी नियुक्तिमा अनियमितता र भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालकाे टाेलीले पाेखरियाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको हाे ।

आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १२ स्थित प्रतिमा चोकबाट अधिकृत श्रीवास्तवलाई र वीरगंज कै वडा नं. ३ प्रगतिनगरबाट नायब सुब्बा साहलाई मोबाइल फोनसहित नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

त्यस्तै, हाल पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बिनय कुमार सिंह र वडा नं. २ का सचिव ओम प्रकाश चौरसियाको साथबाट समेत दुई थान मोबाइल नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रवक्ता थपलियाले वताए ।

तुलसी पौडेललाई स्व. अर्चना गुप्ता महिला सशक्तिकरण पुरस्कार प्रदान

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लामा अझै करिब ८ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर रहेको उल्लेख गर्दै यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

गैरसरकारी संस्था महासंघ नेपाल पर्साद्वारा आयोजित “स्व. अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” वितरण समारोहमा बोल्दै उनले पर्सा मधेश प्रदेशकै तुलनामा विकसित जिल्ला भए पनि बालबालिका र महिलाको अधिकार सुनिश्चित गर्न अझै पनि साझा प्रयास आवश्यक रहेको बताए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै प्रजिअ अर्यालले पर्सा जिल्ला तुलनात्मक रूपमा मधेश प्रदेशका अन्य जिल्लाहरूभन्दा विकसित मानिए पनि, अझै ती बालबालिकाहरूलाई विद्यालयसम्म पुर्‍याउनु गैरसरकारी संस्थाहरू र सबै सरोकारवालाहरूका लागि ठूलो चुनौती रहेको औंल्याए । अर्यालले महिला सशक्तिकरणको सवालमा अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

महिला सशक्तिकरणको सवालमा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा दैनिक २–४ उजुरी आउने गरेको उल्लेख गर्दै अर्यालले कानुनी रूपमा विवाह, दर्ता, नागरिकता आदि नपुर्‍याउने व्यक्तिमाथि कारबाही गरिनेजस्तो कडाइ अझै आवश्यक रहेको बताए। “जहिलेसम्म महिलाले न्याय पाउँदैनन्, हामी कठोर कदम चालिरहनेछौं,” उनले दोहोर्‍याए ।

कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिका–१ की सामाजिक अभियन्ता तुलसी पौडेल अधिकारीलाई यस वर्षको स्व. अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार प्रदान गरिएको थियो । उनी विगत दुई दशकदेखि महिला अधिकार, सशक्तिकरण र बालबालिकासम्बन्धी क्षेत्रमा समर्पित हुँदै विभिन्न संस्थामार्फत समाज परिवर्तनमा सक्रिय रहिएकी छिन्।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कारस्वरूप उनलाई नगद ११ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरियो ।

गैरसरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, रेडक्रस पर्साका सभापति वृजकिशोर पटेल, समाजवादी प्रेस संगठन नेपालका सचिव बृजलाल पासवान, गैसस महासंघ मधेश प्रदेशका उपाध्यक्ष नरेश जयसवाल तथा स्व. अर्चना गुप्ताका पति शिवचरण रौनियार लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा गैसस उपाध्यक्ष सुरज पण्डितले स्वागत मन्तव्य राखेका थिए भने ललन तिवारीले स्व. अर्चना गुप्ताको जीवनी प्रस्तुत गरेका थिए । गैर सरकारी संस्था महासंघ पर्साका कार्य समिति सदस्य समेत रहेकी स्व. गुप्ताकाे ४० वर्षको उमेरमा गत वर्ष वैशाख ९ गते असामयिक निधन भएको थियो ।

जनकपुर क्षेत्र विकास परिषद्को १ करोड भ्रष्टाचार प्रकरणमा बलराम ठाकुरसहित ९ जनाविरुद्ध मुद्दा

जनकपुर । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी, हिनामिना र भ्रष्टाचारको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

सहायक प्रवक्ता देवी प्रसाद थपलियाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, ठाकुरले परिषद्को रकम स्वीकृत प्रक्रिया नअपनाई व्यक्तिगत स्वार्थका लागि खर्च गरेको, साथै स्कर्पियो गाडी खरिद तथा बिक्रीमा समेत ठगी र अनियमितता गरेको अनुसन्धानबाट खुलेको हो।

अनुसन्धानका क्रममा ठाकुरले कार्यकालकाे दौरानमा (२०७५ मंसिर ५ देखि २०७९ मंसिर ४) बा १३ च २०३७ नम्बरको स्कर्पियो गाडी खरिद गरी एक वर्षपछि सो गाडी आफ्नै श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा नामसारी गराएका थिए।

यसपछि उनले अर्का गाडी धनी मुकेश यादवसँग झुटो सम्झौता देखाई गाडी भाडाको नाममा नक्कली कागजात तयार पारेर यादवको खातामा रु. १० लाख रुपैयाँ सरकारी रकम अनधिकृत रूपमा भुक्तानी गराएको प्रमाण भेटिएको छ।

यो कार्यमा ठाकुरसहित अन्य आठ जना प्रतिवादीको संलग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको हो।

सार्वजनिक सम्पत्तिको दुरुपयोग र गैरकानुनी लाभ उठाउने कार्यलाई राज्यकोषमाथिको गम्भीर धोखाधडी मान्दै आयोगले कडा कारबाहीको माग गर्दै मुद्दा अघि बढाएको जनाएको छ।

सरकारको बजेट वितरणमा चरम असमानता, देश चोरतन्त्रमा चलेको छ: आजपा अध्यक्ष प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारले बजेट वितरणमा चरम असमानता देखाएको आरोप लगाउँदै प्रतिनिधिसभामा तीव्र आलोचना गरेका छन्।

बिहीबार संसदमा बोल्दै उनले सत्ता पक्षका नेताहरूको क्षेत्रमा मात्रै बजेट खन्याइएकामा आक्रोश व्यक्त गरे। “नेताजीहरूको क्षेत्रमा पूरै बजेट खन्याइयो, बाँकी सांसदहरू हेरेको हेर्यैजस्तो भयो,” साहले भने, “जनताले तिरेको कर नेताहरूको भुँडी भर्ने कामका लागि हो?”

उनले १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट १६५ वटै निर्वाचन क्षेत्रमा समान रूपमा बाँडिएको भए करिब ११ अर्ब ९० करोड रुपैयाँ पर्थ्यो भन्दै अहिलेको बजेट वितरण अन्यायपूर्ण र जनविरोधी भएको बताए।

साहले सत्ता सञ्चालनमा रहेका नेताहरूलाई “चोर” को संज्ञा दिँदै देशलाई चोरतन्त्रबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। “नेता बन्नु भनेको नेपाल बेच्न हो कि चलाउन भन्ने प्रश्न अहिले उठिरहेको छ,” उनले भने।

उनले कर आतंक, व्यवसायीको समस्याहरू, जल-जंगल र नदीनालामा भइरहेको लुटतन्त्रको पनि उल्लेख गर्दै सरकार जनताको पक्षमा नभई आफ्ना नजिकका व्यक्तिहरूको स्वार्थमा चलिरहेको आरोप लगाए।

साहले सभामुखसँग संसदको गरिमालाई कायम राख्न र यस्ता असमानताका विषयमा गम्भीर ध्यान दिन आग्रह गरे। “कुशल नेतृत्व भयो भने बेइमानी हुँदैन, चोरहरूको हातबाट देशलाई मुक्त गराउन जरुरी छ,” उनले भने।

छोरीको बाल विवाह गराएको आरोपमा एक महिला पक्राउ

वीरगंज । छोरीको बाल विवाह गराएको आरोपमा एक महिला पक्राउ परेकी छन् । मिति २०८२ असार १ गते बिहान ८:०० बजे प्राप्त जाहेरीका आधारमा छोरीलाई नाबालिग अवस्थामा विभिन्न प्रलोभन देखाई विवाह गराइदिएको भन्दै शिबर्वाबाट एक महिला पक्राउ परेकी हुन् ।

प्रहरीका अनुसार पक्राउ परेकी महिलाले छोरीलाई रु. ४ लाख ८० हजार नगद लिएर, उमेर नपुग्दासमेत, तीन गुणा बढी उमेरका पुरुषसँग अन्तरजातीय विवाह गराइदिएकी थिइन् । प्राप्त जाहेरी र प्रमाणका आधारमा बुधबार आरोपी महिलालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको छ ।

प्रहरीले घटनासँग सम्बन्धित अन्य पक्षहरूको खोजी पनि अघि बढाएको जानकारी दिएको छ । बाल अधिकार हननसम्बन्धी यस घटनाले समाजमा अझै पनि कति बालबालिकाहरू जोखिममा छन् भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।