Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 218

ठोरीमा यौन व्यवसायविरुद्ध स्थानीय महिलाहरूको प्रदर्शन, भारतीय यौनकर्मी लखेटिए

ओमप्रकाश चाैधरी/
सेढवा ।
पर्साको ठोरी गाउँपालिका–४ आठघरेमा यौन व्यवसायविरुद्ध स्थानीय महिलाहरूको समूह आन्दोलित बनेको छ । आइतबार दिउँसो एक स्थानीय होटेलमा भारतबाट आएका यौनकर्मी पुरुषहरूलाई उनीहरूले लाठी–भाटा सहित खेदाएका छन् । ती भारतीय नागरिकहरू मोटरसाइकल चढेर भाग्न सफल भएको बताइएको छ।

महिलाहरूको समूहले होटेलमा कार्यरत ४–५ जना यौनकर्मी महिलालाई भने उनीहरूको घर फर्काएका छन् । स्थानीयहरूका अनुसार ठोरी गाउँपालिका क्षेत्रका विभिन्न होटेल, रेस्टुरेन्ट तथा पसलहरूमा व्यवसायिक रूपमा यौन धन्धा सञ्चालन हुँदै आएको छ।

स्थानीयवासीहरूका अनुसार यस्ता स्थानहरूमा नेपाली तथा भारतीय नागरिकहरू नास्ता खाने बहानामा अनैतिक कार्यमा संलग्न हुँदै आएका छन्। ती ठाउँमा मादक पदार्थ सेवन, होहल्ला, गालीगलौज, र तीव्र गतिमा सवारी चलाउने घटनाहरूले समुदायमा नकारात्मक असर पारिरहेको छ।

समस्या समाधानका लागि इलाका प्रहरी कार्यालय ठोरी र अन्य सुरक्षा निकायलाई जानकारी दिइए पनि कुनै सुनुवाइ नभएको महिलाहरूको आरोप छ।

वडा नं. २, ३ र ४ का हुलाकी सडक आसपासका आकर्षक संरचनाहरूमा यौन व्यवसाय प्रवर्द्धन गर्न पहाडी जिल्लाबाट युवतीहरू ल्याउने गरिएको जानकारी पनि प्राप्त भएको छ।

स्थानीयहरूको आरोप अनुसार, होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न सुरक्षाकर्मीहरूलाई मासिक रूपमा रकम बुझाउने क्रमसमेत चलिरहेको छ।

समुदायमा फैलिएको असुरक्षा र सामाजिक विकृति नियन्त्रण गर्न स्थानीय महिलाहरूको यस प्रकारको सक्रियता प्रशंसनीय मानिएको छ। स्थानीयहरूले यस्ता अवैध गतिविधिहरूको स्थायी समाधानका लागि तत्काल कडा कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।

वीरगंजमा सञ्चारकर्मीका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

वीरगंज । वीरगंजमा सञ्चारकर्मीहरूको पेशागत दक्षता र मर्यादित पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तीन दिने क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ।

वीरगंज महानगरपालिकाको सहयोगमा नेपाल आजतक मिडिया प्रालिले आयोजना गरेको आम संचार माध्यमहरुमा तथा संचारकर्मीहरुकाे लागि ३ दिने क्षमता अभिवृद्धि कार्यक्रम वीरगंजस्थित बृन्दावन होटेलमा सम्पन्न भएको हो। तालिममा दुई दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो।

समापन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै तथ्य, प्रमाण र निष्पक्षतामा आधारित पत्रकारिता गर्न आग्रह गरे। उनले पछिल्लो समय पत्रकारिता प्रतिको पाठकहरूको विश्वास घट्दै गएकाले मर्यादित पत्रकारिता अनिवार्य रहेको उल्लेख गरे।

नेपाल आजतक मिडिया प्रालिका प्रबन्ध निर्देशक विनोद पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजवादी प्रेस संगठन मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, प्रेस चौतारी मधेश प्रदेशका सचिव श्याम कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य आरोहण साह लगायतको उपस्थिति रहेको थियो।

तालिममा मधेशदृष्टिका सम्पादक रामकुमार एलन र नेपाल पोस्ट मिडियाका सम्पादक मनोज पटेलले प्रशिक्षण दिएका थिए।

तालिमको उद्घाटन शुक्रबार नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले नै गरेका थिए । उद्घाटन कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवान, नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेल, केन्द्रिय परिषद सदस्य सुस्मा शर्मा लगायतको उपस्थिति रहेको थियो।

संघीयता, प्रेस स्वतन्त्रता, तथ्य–आधारित रिपोर्टिङ, र सामाजिक उत्तरदायित्वजस्ता विषयमा केन्द्रित प्रशिक्षणले सहभागीहरूलाई व्यवहारिक पत्रकारितातर्फ प्रेरित गरेको आयोजक संस्थाले जनाएको छ।

वीरगंजमा ‘नारी शक्ति’ भोजपुरी चलचित्रको पत्रकार सम्मेलन, २६ सेप्टेम्बरमा प्रदर्शन हुने

वीरगंज । वीरगंजमा आयोजित पत्रकार सम्मेलनमार्फत भोजपुरी चलचित्र ‘नारी शक्ति’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। चलचित्र लेखक तथा निर्माता सरोज पण्डितले चलचित्र २६ सेप्टेम्बरमा प्रदर्शनमा आउने जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार नन्दु श्रीवास्तवले ‘नारी शक्ति’ चलचित्रले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे। उनले स्थानीय कलाकारहरूको प्रतिभालाई अगाडि ल्याउने यस्ता प्रयासहरू प्रशंसनीय रहेको भन्दै दर्शकलाई नेपाली भूमिमा बन्ने भोजपुरी चलचित्रलाई साथ दिन आग्रह गरे।

चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सूर्यनारायण वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा सहनिर्माता रंजित साहले चलचित्रमा कुनै पनि अश्लील सामग्री नरहेको उल्लेख गर्दै यसलाई परिवारका सबै सदस्यले सँगै बसेर हेर्न सकिने बताए।

मुख्य कलाकार सावन कुमारले पनि ‘नारी शक्ति’ विशुद्ध पारिवारिक चलचित्र भएको बताउँदै सबैलाई साथ दिन अपिल गरे।

चलचित्रका निर्माता दुर्गेश चन्द्र यादव र सरोज पण्डित हुन्। रंजित साह, मैथिली देवी र सुमन भगतले सहनिर्माताको भूमिका निर्वाह गरेका छन्। कार्यकारी निर्माता शमीम अनवर, लाइन प्रोड्युसर मुन्ना सर्राफ र निर्देशक अनुपम साह रहेका छन्। संगीत निर्देशन मनोज बंटीको रहेको छ।

चलचित्रमा सावन कुमार, तनुश्री, सन्नी भगत, सञ्जना, ध्रुव कोइराला, मुन्ना सर्राफ, रामबाबु साह, सन्तु राजलगायतका कलाकारको अभिनय रहेको छ।
‘नारी शक्ति’ भोजपुरी फिल्म नेपाल र भारतबाहेक पहिलोपटक अष्ट्रेलियामा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ।

चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सूर्यनारायण वि.क.ले स्थानीय कला र कलाकारको संरक्षण तथा प्रोत्साहनका लागि संघ सधैं सहयोग गर्न तयार रहेको बताए ।

वीरगंजका १०० स्थानमा डीप बोरिङ, घर–घरमा पाइपलाइनमार्फत पानी आपूर्ति सुरु

वीरगंज । गर्मी याममा खानेपानीको चरम अभाव झेल्दै आएका पर्सावासीका लागि राहतको खबर आएको छ । संघीय सांसद एवं खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साका विभिन्न क्षेत्रमा डीप बोरिङमार्फत पानी आपूर्ति सुरु भएको छ।

वीरगंज महानगरपालिकाकाे छपकैया, नगवा, गहवा, घरिअर्वा, लक्षुमना, मनियारी लगायतका स्थानमा तीव्र रूपमा पाइपलाइनमार्फत पानी आपूर्ति भइरहेपछि स्थानीयवासी हर्षित भएका छन्।

खानेपानी मन्त्री यादवका अनुसार हालसम्म १०० भन्दा बढी स्थानमा डीप बोरिङ जडान गर्ने योजना कार्यान्वयन भइरहेको छ। दीर्घकालीन समाधानका लागि पनि योजना अघि बढाइएको उनले बताए।

मन्त्री यादवले पर्सावासीको घर–घरमा सुरक्षित खानेपानी पुग्ने सुनिश्चितता दिन आफू निरन्तर खटिएको भन्दै आउँदो वर्षदेखि गर्मीयाममा पनि पानीको समस्या नहुने विश्वास दिलाए।

वीरगंज खानेपानी संस्थानका प्रमुख विपुल दासले असार मसान्तसम्म १०० स्थानमा डीप बोरिङ जडान गरिने र प्रत्येक बोरिङबाट ५० देखि ८० घरधुरीलाई पानी आपूर्ति गरिने योजना रहेको जानकारी दिए।

उनका अनुसार, बोरिङसँगै २,००० लिटर क्षमताको ट्याङ्की निर्माण र पाइपलाइन जडान कार्य पनि तीव्र गतिमा अगाडि बढाइएको छ।

स्थानीयवासीले मन्त्री यादवको प्रयासलाई अत्यन्तै सराहना गरेका छन्। छपकैया निवासी सकिना खातुनले “जनजीवन कष्टकर बनिरहेको बेला पानी आपूर्तिले ठूलो राहत दिएको” भन्दै धन्यवाद व्यक्त गरिन्। श्रीपुरका चन्द्रिका प्रसाद र वीरगंज–१६ का अमिन मियाले पनि चापाकल सुक्दा पानीको अभाव भएको र अहिले समाधान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्।

खानेपानी संस्थानका अनुसार, कुनै पनि स्थानमा समस्या देखिए तुरुन्त जानकारी दिन आग्रह गरिएको छ ताकि सेवा अझ प्रभावकारी बनाइयोस्।

नेशनल मेडिकल कलेज र पर्साका २२ सहकारीबीच सम्झौता, सदस्यलाई विशेष छुट

वीरगंज । पर्साको भेडियाही–१५ मा अवस्थित नेशनल मेडिकल कलेज, वीरगंज र पर्सा जिल्लाभरिका २२ वटा सहकारी संस्थाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न भएको छ।

आइतबार नेशनल मेडिकल कलेजको सभाहलमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक शहनवाज अन्सारी र सहकारी प्रतिनिधिहरूबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। कार्यक्रममा कलेजका अध्यक्ष प्रो.डा. जैनुदिन अन्सारीको अध्यक्षता रहेको थियो।

सम्झौताअनुसार सहकारी सदस्य तथा कर्मचारीहरूले कलेजमार्फत विभिन्न २० प्रकारका स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन्।

क वर्ग अन्तर्गत सहकारी सदस्यहरूले ओपिडी टिकटमा २५%, जनरल बेड चार्जमा १५%, आइसियु/पियसियुमा ५%, लाप्रोस्कोपिक सेवामा ८%, पयाथोलोजीमा १०%, भिडियो एक्सरे/एमआरआईमा ७%, फार्मेसीमा १०–१५% छुट पाउनेछन्।

त्यस्तै, ख वर्ग अन्तर्गत सहकारी कर्मचारी र संचालकहरूलाई ओपिडी टिकटमा ५०%, जनरल बेडमा २०%, आइसियुमा ५%, अन्य सेवामा १०–१५% छुट दिइनेछ।

सम्झौता एक वर्षका लागि लागू हुनेछ भने आवश्यक परे दुवै पक्षको सहमतिमा परिमार्जन गर्न सकिने प्रबन्ध निर्देशक अन्सारीले बताए।

वीरगंज महानगरपालिका क्षेत्रका अधिकांश सहकारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सहकारी प्रतिनिधिहरूले गरीब र असहायलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध हुने भन्दै यो सम्झौताका दिनलाई ऐतिहासिक बताएका छन्।

अस्पतालकी निर्देशक डा. ईसरत जहान अन्सारीले सहरीदेखि ग्रामीण क्षेत्रसम्मका नागरिकलाई सहज उपचार सेवा मिल्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा मार्केटिङ तथा एडमिसन डाइरेक्टर आबिद हुसेन अन्सारी, को-अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवलगायत कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।

ब्रिटानियाद्वारा विद्यालयमा कक्षा कोठा र नयाँ शौचालय निर्माण

वीरगंज । ब्रिटानिया नेपाल प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयाेग गरेकाे छ । ब्रिटानियाले  बाराको कलैया–१८, मोतिसरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्लेइङ ग्रुप कक्षा कोठाको नवीकरण तथा नयाँ शौचालय निर्माण गरेकाे हाे ।

करिब ८ लाख रुपैयाँ लागतमा सम्पन्न भएको यो संरचना एक औपचारिक समारोहबीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको ब्रिटानियाले जनाएकाे छ । उक्त सहयोगी कार्य फ्याक्ट्री म्यानेजर सन्दीप बंसल र मानव संसाधन म्यानेजर बिनोद शाहको नेतृत्वमा तथा समन्वयकर्ता सञ्जय शाहको सक्रियतामा सम्पन्न भएको हो ।

ब्रिटानिया नेपालले यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा योगदान दिँदै आएको छ। संस्थाले भविष्यमा पनि शिक्षा, स्वास्थ्य र स्वच्छताजस्ता क्षेत्रमा निरन्तर सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

जगरनाथपुरमा २२औं राष्ट्रिय धान दिवस उत्साहपूर्वक सम्पन्न, किसान सम्मान र प्रतीकात्मक रोपाइँ

0

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले २२औं राष्ट्रिय धान दिवस विशेष उत्साहका साथ मनाएको छ । गाउँपालिकाको वडा नं. ४ स्थित सुहपुर सोहरिमा आयोजना गरिएको विशेष कार्यक्रममार्फत यो दिवस भव्य रूपमा सम्पन्न गरिएको हो ।

गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडा नं. ४ का अध्यक्ष नेपाली प्रसाद कुशवाहा, कृषि अधिकृत दयानन्द चौहान, वडा सदस्यहरू, पालिकाका कर्मचारी, स्थानीय किसान तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

अध्यक्ष यादवले कार्यक्रममा बोल्दै धानलाई नेपाली जनजीवनको अभिन्न हिस्सा तथा देशको संस्कृति र समृद्धिको मूल आधारको रूपमा व्याख्या गरे। उनले कृषिमा आत्मनिर्भरता हासिल गर्नका लागि गाउँपालिकाले किसानहरूसँग सहकार्य गर्दै आएको जानकारी दिँदै, आगामी दिनहरूमा तालिम, प्रविधि र अनुदान कार्यक्रमहरू अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा उत्कृष्ट किसानहरूको सम्मान गरिएको थियो भने, धान उत्पादन प्रवर्द्धन र आधुनिक कृषि प्रविधिको प्रयोगबारे छलफलहरू पनि गरियो । प्रतीकात्मक धान रोपाइँ कार्यक्रमले कार्यक्रममा रमाइलोपन थपेको थियो ।

स्थानीय जनसमुदायको सक्रिय सहभागिताले कृषिको महत्वप्रति जनचेतना फैलाउने मात्र नभई, यसले उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकको रहेको छ ।

वीरगंज–२७ मा जनमतको पक्षमा लहर, सय युवा गरे प्रवेश

वीरगंज । वीरगंज महानगरपालिका–२७ स्थित कुहडीमा आयोजित भव्य कार्यक्रममा एक सयभन्दा बढी युवाहरूले विभिन्न पार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम सम्पन्न भएकाे हाे ।

वडा इकाई समिति अध्यक्ष बिराजु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरि यादव, धुपलाल महतो, सन्दीप यादव, बिटु यादव, बिरेन्द्र यादव, बिपिन यादव, विकास यादव, रन्जित यादव, मुना अन्सारी, अनिल पासवान, चन्देश्वर साह, असलम अन्सारी, जितेन्द्र मण्डल, जयकिशन पटेल लगायत सयभन्दा बढी व्यक्तिहरूले औपचारिक रूपमा जनमत पार्टीको सदस्यता ग्रहण गरेकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रीय सदस्य विद्यालाल प्रसाद, रम्भा मिश्र, नजमा खातुन, राजेश चौरसिया, महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, महानगर युवा अध्यक्ष संजय सिंह, राजुराज गिरी लगायत नेताहरूले सम्बोधन गर्दै जनमत पार्टी नै मधेशको समस्याको वास्तविक सम्बाहक र विकल्प भएको बताएका थिए।

उनीहरूले युवालाई राष्ट्र निर्माणमा अग्रसर गराउन पार्टीले लिएको नीतिगत स्पष्टता र जिम्मेवारीपूर्ण भूमिकाबारे समेत जानकारी गराएका थिए।

कार्यक्रममा प्रदेश सदस्य बृजेश्वर चौधरी, राजनारायण मिश्र, क्षेत्रीय संयोजक गगनदेव यादव, डा. मनोज सरार्फ, देवराज सरार्फ, महिला जिल्ला संयोजक अञ्जना गुप्ता, दलित जिल्ला संयोजक नरेश राम, धिरेन्द्र पन्जियार, महानगर सचिव लोकेश कर्ण, सिकेन्द्र राम, हिरालाल राम, विद्यार्थी नेता अभिषेक झा, अनिता राम लगायतको उपस्थिति रहेको थियो।

जनमत पार्टीको स्थानीयस्तरमा बढ्दो लोकप्रियता र संगठन विस्तारले आगामी राजनीतिक समीकरणमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पर्सा बार एशोसिएशनको अध्यक्षमा रामनारायण कुर्मी विजयी

वीरगंज । नेपाल बार एशोसिएशन अन्तर्गत पर्सा जिल्ला अदालत बार एशोसिएशन वीरगंजकाे अध्यक्षमा अधिवक्ता रामनारायण कुर्मी विजयी भएका छन् ।

असार १३ गते सम्पन्न निर्वाचनमा अधिवक्ता रामनारायण कुर्मी अध्यक्ष पदमा ६१ मत प्राप्त गर्दै विजयी भएकाे प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कमल माेहन पाेखरेलले जानकारी दिए । उनका निकटम प्रतिस्पर्धी अजय कुमार श्रीवास्तवले ३१ मत पाए भने अर्का अध्यक्षका उम्मेदवार श्यामसुन्दर प्रसाद दासले ७ मत पाएका हुन् ।

यसैगरी उपाध्यक्ष पदमा अधिवक्ता अनिरुद्ध कुमार सिंह ५० मतसहित विजयी भए भने सचिव पदमा प्रतिमा कुमारी चाैरसिया ६० मत प्राप्त गर्दै निर्वाचित भइन् । कोषाध्यक्षमा अभय कुमार दास ६३ मत ल्याएर विजयी भएका छन्।

अन्य विजयी सदस्यहरूमा जितेन्द्र पटेल, सुदामा प्रसाद दहित, अशुतोष तिवारी, नरेन्द्र कुमार शाह, रोशनि श्रेष्ठ, विनाेद कुमार दास, श्रीराम राउत कुर्मी, र राजेश्वर कुमार यादव रहेका छन्।

स्व. मदन भण्डारीको जन्मजयन्तीमा पर्साको अलौमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता स्व. मदन कुमार भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा पर्साको वीरगंज–२५ अलौमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। मदन भण्डारी फाउण्डेशन पर्साको आयोजनामा शनिबार सम्पन्न उक्त शिविरमा ९२५ जना सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा आँखा, दाँत, कान, घाँटी तथा जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो । निःशुल्क स्वास्थ्य परीक्षणसँगै औषधि वितरण समेत गरिएको फाउण्डेशन पर्साका शिविर तयारी संयोजक अनवर अलीले जानकारी दिए । उनका अनुसार आँखा परीक्षण गराएका ४५३ जनामध्ये ८६ जनामा मोतियाविन्दु देखिएको र उनीहरूको अपरेशन आगामी आइतबार र सोमबार वीरगंज आँखा तथा दाँत हस्पिटलमा निःशुल्क गरिने व्यवस्था मिलाइएको छ।

कान, नाक, घाँटीसम्बन्धी ११५ जनाले परीक्षण गराएका थिए भने बाँकीले सामान्य चिकित्सक (जनरल फिजिसियन) सेवा लिएको संयोजक अलीले बताए।

शिविरमा डा. प्रमोद सर्राफ (जनरल फिजिसियन), डा. चन्दन बनर्जी (आँखा), डा. अजय अस्थाना, डा. राजिव यादव, डा. स्लेश्मा रिजाल, डा. शैलेश कुमार साहसहित १५ जना विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सक्रिय सहभागिता रहेको थियो ।

निलकण्ठ हस्पिटल, वीरगंज आँखा तथा दाँत हस्पिटल र इम्प्याक्ट नेपालका विशेषज्ञहरूको संयुक्त प्रयासमा शिविर सफलतापूर्वक सम्पन्न भएको हो।

मदन भण्डारी फाउण्डेशन मधेश प्रदेशका सह–सचिव नवराज शर्माले शिविरमा अनुमानभन्दा धेरै जनसहभागिता भएको बताए । कार्यक्रममा फाउण्डेशनका केन्द्रीय सल्लाहकार विजय कुमार सरावगी, पर्सा इञ्चार्ज ठाकुरप्रसाद न्यौपानेसहित विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायमा निःशुल्क स्वास्थ्य शिविरले महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।