Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 217

वीरगंजकाे मुख्य सडक विस्तारविरुद्ध घरधनीहरूको आक्रोश, बजार बन्द र प्रदर्शन

वीरगंज । त्रिभुवन राजपथअन्तर्गत गण्डकदेखि मितेरी पुलसम्मको सडक विस्तारको क्रममा वीरगंज महानगरपालिकाले सुरु गरेको संरचना हटाउने कार्यविरुद्ध घरधनीहरूले बिहीबार बजार बन्द र प्रदर्शन गरेका छन् ।

‘वीरगंज बचाउ संघर्ष समिति’ र ‘वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति’को संयोजनमा गरिएको विरोधका क्रममा घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गरिएको थियो। सो समितिहरूको राणीसति धर्मशालामा बसेको बैठकले शुक्रबार बिहान ११ बजेसम्म बजार बन्द गर्ने निर्णय गरेपछि वीरगंज बजार आंशिक रूपमा प्रभावित बन्यो ।

सङ्घर्ष समितिका अध्यक्ष जवाहरप्रसाद गुप्ताले प्रमुख सडक क्षेत्रका घरहरूमा कालो झण्डा राखेर शान्तिपूर्ण तर शक्तिशाली रूपमा विरोध जनाउने निर्णय भएको जानकारी दिए ।

यसअघि, घरधनीहरूले जिल्ला प्रशासन कार्यालय, पर्सामा ज्ञापन पत्र बुझाउँदै संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेका थिए । उनीहरूले महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई जबरजस्ती घर–टहरा भत्काएको आरोप समेत लगाएका छन् ।

तर, वीरगंज महानगरपालिकाले भने सर्वोच्च अदालतको आदेशअनुसार भन्सार क्षेत्रबाट सडक विस्तारको काम अघि बढाइएको दाबी गरेको छ । सोमबारदेखि सुरु गरिएको कार्य अन्तर्गत डोजर प्रयोग गरी दुई दिनसम्म सडक क्षेत्रका संरचना हटाइएको थियो । यद्यपि, जिल्ला प्रशासनको आग्रहमा महानगरले हालका लागि काम रोकेको छ ।

मुख्य सडक क्षेत्रका घरधनीहरू भने बिना मुआब्जा र पूर्वसूचना संरचना भत्काइएको भन्दै आक्रोशित छन् र आन्दोलन थप चर्काउने चेतावनी दिइरहेका छन् ।

सडक विस्तार पक्षधर समूहले भने वीरगंज सहरको विकासका लागि काम रोकिनु नहुने अडान लिएको छ । अहिले सडक विस्तार र नागरिकको सम्पत्तिको संरक्षणबिच सन्तुलन कायम गर्नु वीरगंज महानगर र प्रशासनका लागि चुनौतीपूर्ण बन्दै गएको छ ।

वीरगंजमा हिन्दू आस्थामाथि हस्तक्षेप नगर्न विश्व हिन्दू परिषदको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका क्षेत्रभित्र हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्था र सांस्कृतिक पहिचानमाथि सम्भावित हस्तक्षेपप्रति भइरहेकाे भन्दै विश्व हिन्दू परिषद्ले गम्भीर आपत्ति जनाउँदै चेतावनी दिएको छ।

परिषद्ले जिल्ला प्रशासन कार्यालय, पर्सामा बुझाएको ज्ञापनपत्रमार्फत हिन्दू समाजको आस्था र परम्परा विपरीतका गतिविधि रोक्न आग्रह गर्दै हिन्दू समुदायमाथि अपमानजनक व्यवहार हुन नदिन माग गरेको छ। विशेषगरी आदर्शनगर क्षेत्रमा ‘जय श्रीराम’ लेखिएको झण्डा हटाइएको घटनाप्रति विश्व हिन्दू परिषद् नेपालले कडा आपत्ति जनाएको छ।

उक्त कार्यलाई हिन्दू धर्म, आस्था र सांस्कृतिक पहिचानमाथिको गम्भीर हस्तक्षेप भन्दै परिषदले तत्काल सार्वजनिक क्षमायाचनाको माग गरेको छ ।

ज्ञापन पत्रमा धार्मिक आस्था, रीतिरिवाज र सांस्कृतिक परम्परामाथि भएको हस्तक्षेप लोकतान्त्रिक मूल्य र संविधानको विपरीत भएकाे उल्लेख गर्दै परिषदले हिन्दू समुदायमाथि अपमानजनक र विभेदपूर्ण व्यवहार गरिएको खण्डमा कडा प्रतिकार गरिने चेतावनी दिइएको छ ।

यस सन्दर्भमा प्रशासन र सुरक्ष निकायले स्पष्ट नीति, सेवा प्रवाह र समावेशीता अपनाउनु पर्ने परिषदले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाएकाे ज्ञापन पत्रमा उल्लेख छ । जिल्ला सचिव विक्की मिश्राले हस्ताक्षर गरेकाे ज्ञापन पत्र मार्फत परिषद्ले हिन्दू समुदायको धार्मिक स्वतन्त्रता र सामाजिक सम्मान सुनिश्चित गर्न स्थानीय प्रशासन, जनप्रतिनिधि र सबै सरोकारवालाहरूसँग तत्काल आवश्यक कदम चाल्न पनि आग्रह गरेको छ ।

श्रेणीविहीन कर्मचारीका हकमा आम जनता पार्टीको मागपत्र संसदमा

वीरगंज । आम जनता पार्टीले तल्लो तहमा काम गर्ने श्रेणीविहीन कर्मचारीहरुको अधिकार सुनिश्चित गर्न माग गर्दै संघीय संसदका सभामुख मार्फत सरकारलाई समर्पित मागपत्र सार्वजनिक गरेको छ।

केन्द्रीय प्रवक्ता चन्द्रकुमार साहद्वारा हस्ताक्षरित शपथ-पत्रमा हालैको निजामती सेवा विधेयकमा श्रेणीविहीन कर्मचारीको सेवा सुरक्षासँग सम्बन्धित प्रावधान समावेश नगरिएको भन्दै आपत्ति जनाइएको छ । पार्टीले यो विधेयक श्रमिकविरोधी रहेको र यसले संविधानको मौलिक हक तथा समान अवसरको सिद्धान्तलाई कुण्ठित गर्ने आरोप लगाएको छ ।

मागपत्रमा श्रेणीविहीन कर्मचारीको पूर्ण अधिकार सुनिश्चित गर्न विधेयकमा संशोधन गर्नुपर्ने, ५८ वर्षको उमेर हद हटाई ६० वर्ष कायम गर्नुपर्ने, कृषिआधारित मानकमा आधारित स्थायीकरण प्रक्रिया अवलम्बन गर्नुपर्ने, अतिरिक्त विशिष्ट सेवा नियमावली तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने, समानताको सिद्धान्त अनुसार न्यायपूर्ण व्यवस्थापन सुनिश्चित गर्न विधेयकमा संशोधन आवश्यक लगायतकाे उल्लेखित प्रमुख बुँदाहरु रहेका छन् ।

पार्टीले चेतावनी दिँदै भनेको छ कि विधेयकले श्रमिकको हित विपरीत व्यवस्था गरेमा आम जनता पार्टी जनअधिकार, न्याय र समानताको पक्षमा आवाज उठाउन सदैव तयार रहनेछ।

प्रवक्ता साहले विश्वास व्यक्त गर्दै भने, “हामी आशा गर्छौं कि संसदले श्रमिक हितमा न्यायोचित निर्णय लिनेछ।”

वीरगंज मुख्य सडक विस्तार कुनै विकल्प होइन, आवश्यकता हो : सांसद विना जयसवाल

वीरगंज । वीरगंजकाे मुख्य सडक विस्तार अब विलम्ब गर्ने विषय नभई तत्काल कार्यान्वयन गर्नुपर्ने अपरिहार्य आवश्यकता भएको प्रतिनिधि सभा सदस्य विना जयसवालले स्पष्ट पार्नुभएको छ ।

उहाँका अनुसार, वीरगंज नेपालको एक प्रमुख व्यापारिक केन्द्र हो, जहाँको आर्थिक गतिविधि केवल स्थानीय क्षेत्रसँग मात्र नभई राष्ट्रकै समग्र विकाससँग गहिरो सम्बन्धित छ । यस्तो संवेदनशील सहरको मुख्य सडक संकुचित, अव्यवस्थित र अत्यधिक चापयुक्त हुनुले दीर्घकालीन रूपमा विकासको गतिमा बाधा पुर्‍याइरहेको छ ।

“यो सडक विस्तार कुनै वैकल्पिक कुरा होइन, यो आवश्यकता हो, जुन जुनसुकै मूल्यमा भए पनि सम्पन्न हुनैपर्छ,” सांसद जयसवालले भनाई छ ।

उहाँले सबै नागरिकलाई आग्रह गर्दै भन्नुभयो, “आजको सानो असहजता भोलिको ठूलो सहजता बन्न सक्छ । मुख्य सडकको विस्तारले यातायात व्यवस्थापन सहज बनाउनेछ, व्यापारिक गतिविधिमा तीव्रता ल्याउनेछ, रोजगारी सिर्जना गर्नेछ र सम्पूर्ण सहरको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ ।”

जयसवालले प्रस्ट पार्नुभयो कि विकासको कुनै पनि कार्यले अस्थायी असुविधा त ल्याउँछ नै, तर स्थायी समाधान र समृद्ध भविष्य त्यसको प्रतिफल हुन्छ ।

“हामी सत्यसँग आँखा चिम्लेर बस्न सक्दैनौं,” उहाँले जोड दिँदै भन्नुभयो, “यदि सडक विस्तारका लागि केही त्याग गर्नुपर्छ भने त्यो त्याग जनताको दीर्घकालीन हितका लागि हुनेछ।”

उहाँले व्यक्तिगत स्वार्थ वा अल्पकालीन असुविधा देखाएर विरोध गर्ने सोचप्रणालीलाई देशको समृद्धिको बाटोमा रोकिने अवरोध मात्र भएको भन्दै त्यसलाई स्पष्ट रूपमा चुनौती दिनुपर्ने धारणा राख्नुभयो।

जयसवालको भनाइमा अन्ततः यस कार्यका लागि अब दोधारमा बस्ने बेला होइन, “निर्णय गर्ने, अघि बढ्ने र विकासको पथमा सहकार्य गर्ने समय” भएको उल्लेख छ ।

“बिरगंजको मुख्य सडक विस्तार राष्ट्रकै मेरुदण्ड मजबुत बनाउने खम्बा हुनेछ,” सांसद जयसवालले आफ्नाे आधिकारिक फेसबुकमा लेख्नु भएकाे छ ।

काेल्हवी प्रहरीद्वारा मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ, ५ ओटा मोटरसाइकल बरामद

0

वीरगंज । इलाका प्रहरी कार्यालय काेल्हवी बाराले मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ भने उनीहरूको साथबाट चोरी गरिएको ५ ओटा मोटरसाइकल समेत बरामद गरेको छ ।

विभिन्न मिति, समय र स्थानहरूबाट हराएका वा चोरी भएका मोटरसाइकलहरू फेला पार्न इलाका प्रहरी कार्यालय कोल्हवीमा निवेदन तथा जाहेरी दरखास्त प्राप्त भएपछि, प्रहरी निरीक्षक रंजन मिश्रको कमाण्डमा खटिएको टोलीले खोजतलासका क्रममा चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुमा बारा जिल्लाको कोल्हबी नगरपालिका–१ बस्ने २१ वर्षीय राहुल बिक, २३ वर्षीय अर्जुन खवास र २३ वर्षीय मुस्कान चौधरी रहेका छन् । पक्राउ परेकाहरूमाथि बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बरामद भएका मोटरसाइकलहरू यस प्रकार छन्:
१. प्र.२-०३-००६ प ६५१५ – Honda Shine, १२५ सिसी
२. ना.४८ प ६९७० – TVS RTR 200, कालो रङ
३. बा.९४ प २१४६ – Bajaj Pulsar 220, निलो रङ
४. ना.६५ प ८८६० – TVS Striker, रातो-कालो रङ
५. प्र.२-०३-००५ प ६२२६ – TVS Striker, निलो रङ

प्रहरीका अनुसार मोटरसाइकल चोरीको घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरुको खोजी पनि जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय बाराले नागरिकहरुलाई आफ्ना सवारी साधनमा आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह समेत गरेको छ।

पाँच गुणा बढी मूल्यमा पोषण पूरक औषधी बेच्ने व्यक्ति वीरगंजबाट पक्राउ

0

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ स्थित विश्वनाथ राउतको घरबाट पोषण पूरक औषधी (फुड सप्लिमेन्ट) कालोबजारीमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।

वीरगंज–२६ निवासी ४२ वर्षीय जितेन्द्र प्रसाद कुर्मीलाई विभिन्न ब्रान्डका ठूलो परिमाणमा औषधीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लम्सालले जानकारी दिए ।

भारतबाट कम मूल्यमा आयात गरी औषधीहरूमा आफुखुसी पाँच गुणासम्म बढी मूल्य प्रिन्ट गरी विक्री वितरण गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सोमबार साँझ १६:४५ बजे उक्त व्यक्ति पक्राउ गरेको प्रवक्ता लम्सालले वताए ।

उनका अनुसार पक्राउ परेका कुर्मीले खाली एमआरपी भएका औषधीहरूमा आफैंले तयार पारेको ५ गुणा बढी मूल्य छापेर बिक्री वितरण गरिरहेका थिए ।

बरामद सामग्रीहरू यस प्रकार छन्

  • ACON2K, CANWEL POWDER, ORTHOHEAL, NITVIT PLUS, SIMROSE, IMMATEK EAL SUSPENSION, ACTIFERON, PREGAFOL, ARTHRAID, VITO-C, LIVUS, EVELTN, IMMUHEAL लगायतका ब्राण्डका हजारौं पिस औषधीहरू

  • MRP छाप्ने मेसिन, बिल तथा अर्डर बुकहरू, नेपाल न्यूट्रास्युटिकल्स कम्पनी प्रा.लि. लेखिएको ठेली

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका औषधीहरूको आकंलित मूल्य लगभग २५ लाख रुपैयाँ बराबर रहेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र कालोबजारी ऐन अन्तर्गत कानुनी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

जगरनाथपुरमा सार्वजनिक सुनुवाई, ७० प्रतिशत खेतीयोग्य जमिनमा विद्युत पुर्याइन्छ : अध्यक्ष यादव

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको जगरनाथपुर गाउँपालिकामा साेमबार सार्वजानिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । जगरनाथपुर गाउँपालिकाकाे आयोजना तथा मधेश खबर मल्टिमेडिया प्रा. लि बीरगंजका सहजीकरणमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

गाउँपालिकाको अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा वडा नं ३ स्थित बाबा बैद्यनाथ आधारभूत बिद्यालय गढैयाको परिसरमा कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा वाेल्दै गाउँपालिका अध्यक्ष यादवले चालू आर्थिक बर्ष २०८१/८२ सम्म पालिकाभित्र रहेका खेतीयोग्य जमिनको सतरी प्रतिशतमा बिद्युतीय तार र पोलको व्यवस्थापन गरिने वताए । जसबाट किसानहरुले न्यूनतम महशुल तिरी भूमिगत सिचाईबाट आधुनिक रुपमा कृषि कार्य गर्न सक्ने उनले बताए ।

यसका साथै पालिकाको सहयोगले किसानहरुलाई कृषि मोटर तथा उन्नत जातका बीऊ बिजन उपलब्ध गराउँदै आएको अध्यक्ष यादवले बताए । आम नागरिकहरुको स्वास्थ्य उच्च प्राथमिकतामा राखी हुन सक्ने बिभिन्न किसिम्मका दिर्धकालिन रोगबाट बच्न समयमै स्वास्थ्य परिक्षण, रगत परिक्षण लगायतका सेवा प्रवाह भइरहेको अध्यक्ष यादवले बताए ।

कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्रीले महिलाहरुको सशक्तीकरण तथा जीवन स्तर उकास्न बिभिन्न किसिम्म सिप तथा तालिमको आयोजना गरिने बताईन।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले चालू आर्थिक बर्षको सम्पन्न भएका कार्यक्रमका बारेमा जानकारी गराएका थिए । साथै अगामी आर्थिक बर्ष २०८२/८३ सालका प्रशासनिक भवन निर्माण, सडक निर्माण, शैक्षिक योजना तथा बिभिन्न योजनाहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले समाजमा बिद्धमान बालबिवाह, बालशोषण, दाइजोप्रथा लगायतका कुरुति हटाउनका लागि आम नागरिक सचेत हुन आवश्यक रहेको र प्रहरीलाई सूचना प्रवाह गर्न आग्रह गरे ।

उनले लागू औषधको ओसार पसार नियन्त्रणका लागि तथा दुर्बयस्नीमा लागेका सन्ततिलाई समयमा निगरानी गर्न प्रहरीलाई सहयोग गर्न पनि आग्रह गरे । स्वदेशमा रासायनिक मलको हाहाकार भएका बेला भारतीय बजारबाट सिमित परिमाण मल ल्यायदा प्रहरीले दुख दिए, आफूलाई जानकारी गराउन आग्रह गर्दै त्यस्ता प्रहरीलाई कारवाही गर्ने प्रहरी उपरीक्षक मिश्रले बताए ।

त्यस्तै शस्त्र प्रहरी उपरीक्षक राधेश्याम धितालले सिमामा हुन सक्ने बिभिन्न किसिम्मका अपराधिक गतिबिधीहरुको जानकारी गराउन आग्रह गरे । यसका साथै समूदायमा हुन सक्ने बिपद सम्बन्धिका घटनाहरुको जानकारी गराउन आग्रह गराउँदै बिपद व्यवस्थापनका लागि सिमा क्षेत्रका हरेक वडाहरुमा जनशक्ति परिचालन गरिएको शस्त्र प्रहरी उपरीक्षक धितालले बताए ।

कार्यक्रममा वडाध्यक्ष लक्ष्मी साह, नेपाली कुशवाहा, सुभाष कुमार यादव, लेखा अधिकृत सन्देश कुशवाहा, शिक्षा अधिकृत अशोक सिंह, स्वास्थ्य शाखा अधिकृत परमेन्द्र साह लगायतका सहभागिता रहेका थिए ।

वीरगंजमा रास्वपाको हस्ताक्षर अभियान सुरु

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पार्टीका सभापति रबि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै वीरगंजमा आम जनताको हस्ताक्षर अभियान सुरु गरेको छ ।

वीरगंजकाे घन्टाघरमा साेमबारदेखि औपचारिक रूपमा सुरु गरिएको यो अभियान रास्वपा पर्साका सभापति हरि पन्तको नेतृत्वमा सञ्चालित भइरहेको छ । रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रका अनुसार यो अभियान केही दिनसम्म लगातार सञ्चालन हुनेछ।

पर्सा सभापति पन्तका अनुसार वीरगंजवासी नागरिकहरूले स्वस्फूर्त रूपमा हस्ताक्षर गरेर अभियानमा सहभागिता जनाइरहेका छन्। “नेपाली जनताले पछिल्ला राजनीतिक घटनाक्रमलाई सूक्ष्म रूपमा नियालिरहेका छन्, त्यसैले हामीलाई धेरै बताउन आवश्यक परेन,” पन्तले बताए।

यसअघि पनि रास्वपा पर्साले बहुदरमाई नगरपालिकाका यस्तै हस्ताक्षर अभियान सञ्चालन गरिसकेको थियाे । पार्टीले जनतामाझ सचेतना फैलाउँदै रबि लामिछानेमाथिको मुद्दालाई ‘राजनीतिक षड्यन्त्र’को संज्ञा दिँदै व्यापक समर्थन जुटाउने प्रयास थालेको छ।

वीरगंजकाे मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन मेयर सिंहद्वारा डोजर परिचालन

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तार गर्ने बहुप्रतीक्षित योजना १६ असारदेखि औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ । मेयर राजेशमान सिंहको नेतृत्वमा त्रिभुवनराज पथकाे वीरगंज भन्सार क्षेत्रबाट सुरु भएको अभियानले बजार क्षेत्रको मुटुमा पर्ने यो मार्गलाई २५ मिटर चौडाइमा विस्तार गर्ने लक्ष्य लिएको छ।

सर्वोच्च अदालतमा स्थानीयवासीहरूले दायर गरेको मुद्दा हालै खारेज भएपछि कानुनी अड्चन हटेको र त्यसपछि डोजरसहितको टोली परिचालन गरिएको महानगरले जनाएको छ । “सहरलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने हाम्रो लक्ष्यमा अब अवरोध सहन सकिँदैन,” मेयर सिंहले बताए ।

त्रिभुवनराज पथ रक्सौलबाट भित्रिने मालवाहक सवारीको मुख्य प्रवेशद्वार हो र यो मार्ग पथलैया–कोलकाता मालवाहक कोरिडोरसँग जोडिन्छ । विगतमा अतिक्रमण, धुलो–धुवाँ र जामका कारण सास्ती खेप्दै आएका नागरिकले यस अभियानबाट ठुलो राहतको अपेक्षा गरेका छन् ।

यद्यपि केही स्थानीयवासीले मुआब्जा नपाएको गुनासो गर्दै विरोध जनाएका छन् । तर महानगरपालिकाले ३० दिनअघि नै सूचना जारी गरेर स्वेच्छिक रूपमा संरचना हटाउन आग्रह गरेको थियो । प्रतिक्रिया नआएपछि मात्रै डोजर प्रयोग गरिएको जनाइएको छ ।

स्थानीय व्यापारी, युवाहरू र सामाजिक अभियन्ताहरूले यो अभियानको स्वागत गर्दै सडक विस्तारपछि वीरगंजकाे स्वरूप नै फेरिने विश्वास व्यक्त गरेका छन् ।

कालिकामाई गाउँपालिकाको ४० करोड ८३ लाखको बजेट सार्वजनिक

0

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ काे ४० कराेड ८३ लाख बराबरकाे बजेट सार्वजनिक गरेकाे छ ।

गाउँपालिकाकाे ११ औं गाउँ सभाबाट पारित बजेट साेमबार एक कार्यक्रमकाे बिच सार्वजनिक गरिएकाे हाे । गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष राजमती बरैनीले अगामी आर्थिक बर्षकाे बजेट सार्वजनिक गरिन ।

गाउँ सभाले अगामी बर्षकाे लागि शिक्षा क्षेत्र विकासमा दुई कराेड, स्वास्थ्यमा एक कराेड, कृषिमा एक कराेड ५० लाख, भाैतिपूर्वाधार विकासमा ५ कराेड र समाजिक क्षेत्र विकासमा ५० लाख बजेट छुट्याएकाे प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले जानकारी दिए ।  उनका अनुसार वडा स्तरिय बजेट सिलिङ्ग ७५ लाख रहेकाे छ ।

मधेश प्रदेश मै सबैभन्दा पहिले निति तथा कार्यक्रम सार्वजनिक गरेकाे कालिकामाई गाउँपालिकाले साेमबार मात्र बजेट सार्वजनिक गरेकाे हाे ।