Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
Home Blog Page 212

ओली चुनाव भाँड्न नाटक मञ्चन गर्दैछन् : प्रभु साह

0

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आगामी २१ फागुनमा हुने चुनाव भाँड्नका लागि नयाँ–नयाँ नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्। उनले चुनाव हुन नदिन गरिएको कुनै पनि षड्यन्त्रविरुद्ध जनस्तरबाट प्रतिवाद गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै साहले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने नाममा ओलीले आफ्नै दलका नेताहरूसँग हस्ताक्षर सङ्कलन अभियान चलाउन लगाएको भन्दै उनलाई चुनावबाट नभाग्न चेतावनी दिए।

साहले भने, “जेन-जि आन्दोलनमा युवाहरूको छाती र टाउकोमा गोली हान्नेहरूले नै आज चुनाव हुन नदिने भन्दै चुनौती दिन थालेका छन्।” उनले ओलीको ‘दम्भकारी शासन र अहंकार’ जनताले युवाहरूको बलमा परास्त गरेको र त्यसैले एमाले अहिले चुनावको सामना गर्न डराएको टिप्पणी गरे।

साहले जेन-जि आन्दोलनका क्रममा मारिएका युवाहरूका हत्यारामाथि कारबाही प्रक्रिया अघि नबढेकोप्रति असन्तोष जनाउँदै सरकार र अपराधीबीचको “नेक्ससको गन्ध” आएको बताए।

त्यसक्रममा उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई “सस्तो लोकप्रियता खोज्ने” व्यक्ति भन्दै आलोचना गरे। “पूर्वराष्ट्रपतिहरूको जलेको घर हेरेर फोटो प्रचार गर्नेभन्दा जेन-जि हत्यारामाथि कारबाही गर्नु नै मन्त्रीको जिम्मेवारी हो,” उनले भने।

साहले आन्दोलनकारीहरूलाई छानीछानी पक्राउ गर्ने तर हत्याराहरूलाई उन्मुक्ति दिने प्रवृत्ति चलाइएको आरोप लगाए। उनले सुशीला कार्की नेतृत्वको सरकारमाथि समेत जेन-जि आन्दोलनको गौरव धुमिल पार्न खोजेको शंका व्यक्त गर्दै भने, “सरकार जसरी पनि २१ फागुनमा चुनाव गराउने दायित्वबाट नभागोस्, यही जनताको माग हो।”

मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत नपाउने सम्भावना

0

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको विश्वासको मतमा संकट उत्पन्न भएको छ। आजको प्रदेशसभा बैठकमा सत्ता पक्षका ५४ जना सांसद उपस्थित भए पनि नेकपा (माओवादी केन्द्र) का दुई सांसदले सदनमै विद्रोह गरेपछि मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने स्थिति बनेको हो।

विश्वासको मतका लागि आवश्यक बहुमत ५४ रहेको मधेश प्रदेशसभामा हाल मत विभाजन प्रक्रिया केहीबेरका लागि रोकिएको छ । कुल १०७ सदस्यीय सभामा जनमतबाट जनस्वराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन शाह आजको बैठकमा अनुपस्थित छन्।

सत्ता गठबन्धनमा लोसपा (८), जसपा नेपाल (१८), जनमत पार्टी (१३), नेकपा (माओवादी केन्द्र) (९) र एकीकृत समाजवादी (७) गरी जम्मा ५५ सांसद छन्। नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सोनललाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। तर संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी अनुपस्थित रहेकी छन्।

यसबीच माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारी र माला राईले सदनमै खुलेर विद्रोह गर्दै मुख्यमन्त्री सोनलको नेतृत्वमा अविश्वास जनाएका छन्। यस घटनासँगै मधेश प्रदेशमा पुनः राजनीतिक अस्थिरता गहिरिएको देखिएको छ।

ट्रिगर आउट फिटनेस जिमद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ५० जनाले गरे रक्तदान

0

वीरगंज । ट्रिगर आउट फिटनेस जिमको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित उक्त कार्यक्रममा १४ महिला सहित ५० जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजले जनाएको छ।

कार्यक्रम ट्रिगर आउटका फाउन्डर अरमान सहानी र डाइरेक्टर श्याम अग्रवालको पहलमा सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंजका अध्यक्ष बृजकिशोर पटेल र नेपाल इनोभेन्ट सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाईले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्दै यस्ता मानवीय कार्यहरूले समाजमा सकारात्मक सन्देश फैलाउने बताएका थिए।

रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेको नेतृत्वमा रहेको प्राविधिक टोलीले रक्त संकलन तथा व्यवस्थापनमा सहयोग पुर्‍याएको थियो । आयोजक अरमान सहानीले भने, “रक्तदान जीवनदान हो, यो हाम्रा फिटनेस सदस्यहरू र समाजका युवाहरूका लागि गर्वको विषय हो। आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिइनेछ।”

कार्यक्रममा स्थानीय युवाहरू, जिमका सदस्य, समाजसेवी राजेन्द्र भट्टराई तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

सांसद रहबर अन्सारीले संसदमा आफैंलाई मोसो दले

0

जनकपुरधाम । मधेश प्रदेशका सांसद रहबर अन्सारीले आज प्रदेशसभाको बैठकमा आफैंलाई मोसो दलेका छन् । सांसद र दलहरूको नैतिक धरातल समाप्त भएको भन्दै उनले संसदभित्रै यस्तो कदम चालेका हुन्।

मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको बेला अन्तिममा बोल्ने अवसर माग्दै सांसद अन्सारीले सभामुखसँग समय मागेका थिए । तर सभामुख रामचन्द्र मण्डलले उनको माइक बन्द गरेपछि उनी आक्रोशित बनेर आफ्नै अनुहारमा मोसो दलेका हुन्।

अन्सारीले दलहरू सत्ता र स्वार्थमा लिप्त भएको र जनताको आवाज बेवास्ता भइरहेको आरोप लगाउँदै प्रतीकात्मक रूपमा विरोध जनाएका हुन् । संसदभित्रको यस घटनाले सभामा एकछिन हलचल मच्चिएको थियो । अन्सारी तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित पर्साका प्रदेश सांसद हुन् ।

लहावरथकरीमा महिला साइकल रेस र पुरुष म्याराथन सम्पन्न

0

वीरगंज । लहावरथकरी मुल्म तथा सीमा सहजीकरण समिति पकहाँ मैनपुरको आयोजनामा शनिबार पकहाँ मैनपुर गाउँपालिका–४ लहावरथकरीमा महिला साइकल रेस र पुरुष म्याराथन प्रतियोगिता सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीको खेलकुद कार्यक्रम–२०८२ अन्तर्गत आयोजित उक्त प्रतियोगिताको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले गरेका थिए।

महिला साइकल रेसमा श्री रमचरित्र भगत मावि पकहाँ मैनपुरकी गीता कुमारी साहनी प्रथम, गोल्डेन लाईफ कोचिङ सेन्टर सबैठवाकी अस्मिता चौरसिया द्वितीय र जह्राराना खातुन तृतीय भएकी छन् ।

त्यसैगरी पुरुष म्याराथनमा गोल्डेन लाईफ कै आदित्य कुशवाहा प्रथम, रवि साह द्वितीय र आकाश राम तृतीय भएका छन्। विजेताहरुलाई प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी दाहालले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रम पकहाँ मैनपुर गाउँपालिका–४ का वडाध्यक्ष एवं सीमा सहजीकरण समितिका संयोजक ढेडी यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिप राज पाठक, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणका गणपति एपसी पुरण चन्द्र भट्ट, डिएसपी लोकनाथ उप्रेती, वडाध्यक्ष सञ्जय चौहान, बलिराम चौरसिया, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख इन्स्पेक्टर प्रदीप पौडेल लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमको सहजीकरण पत्रकार छठू साहले गरेका थिए । सीमाका स्थानीयसँग समन्वय, सहकार्य, जिम्मेवारी र मित्रवत व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी उप्रेतीले बताए ।

बिहार विधान सभा निर्वाचनलाई लक्षित गर्दै पर्साका सीमा नाकाहरू बन्द

0

वीरगंज । भारतको विहार राज्यमा यहि कार्तिक २५ गते (11th November) मा हुने विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै पर्सा जिल्लाका नेपाल–भारत सीमा नाकाहरू अस्थायी रूपमा बन्द भएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साद्वारा जारी सूचनाअनुसार मिति २०८२।०७।२२ गतेदेखि २०८२।०७।२५ गते साँझ ६:०० बजेसम्म सीमावर्ती नाकाहरूमा अत्यावश्यक बाहेक आवतजावतमा रोक लगाइनेछ। निर्वाचनको दिन अर्थात् मिति २०८२।०७।२५ गते साँझ ६:०० बजेसम्म सीमावर्ती नाकाहरूमा पूर्ण रूपमा आवागमन रोक लगाइने जनाइएको छ।

नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय बैठक (BDCC Meeting) मा भएको समझदारीअनुसार यो व्यवस्था लागू गर्न लागिएको हो। पर्सा जिल्ला र भारतको पूर्वी चम्पारण जिल्लासँग जोडिएका मुख्य नाकाहरू सहित अन्य साना नाकाहरूमा समेत यो निर्णय लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार लागू गरिएको यो कदम सीमाक्षेत्रमा सुरक्षात्मक दृष्टिले महत्त्वपूर्ण हुने जनाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले हस्ताक्षर गरेको सूचनामा यस अवधिमा अनावश्यक आवतजावत नगर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

0

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको छ।

पार्टीले वीरगंज महानगरपालिका–१६ का नगवा र फुलवारी टोलमा शुक्रबार उत्प्रेरणामूलक घरदैलो कार्यक्रम सम्पन्न गरेको हो। सो क्रममा जनमत पार्टीका कार्यकर्ताहरूले स्थानीय बासिन्दासँग भेटघाट गर्दै मतदाता नामावलीमा आफ्नो नाम अनिवार्य रूपमा दर्ता गराउन र आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार, “लोकतन्त्रको महापर्वमा कुनै पनि नागरिक मताधिकार प्रयोगबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो घरदैलो अभियान सञ्चालन गरिएको हो।”

कार्यक्रममा पार्टीका नेता भुपेन्द्र साह, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह, उपाध्यक्ष रोषण पान्डे, दलित जिल्ला अध्यक्ष नरेश राम, जिल्ला सदस्यहरू सत्जिव साह र तुलसी राम, क्षेत्रीय संयोजक डा. मनोज साह, निखिल चौरसिया, सुमित सिंह, मन्जय साह लगायतको सक्रिय सहभागिता रहेको थियो।

यो अभियान अहिले पर्साका गाउँ–गाउँ र बस्ती–बस्तीमा विस्तार हुँदै गएको छ। पार्टीले जनचेतनाको यो पहललाई निरन्तरता दिने र सबै नागरिकलाई मतदाता सूचीमा समेट्ने तयारी गरिरहेको जनाएको छ।

जनमत पार्टीले लोकतान्त्रिक सहभागिता र सचेत मतदाताको निर्माणलाई दीर्घकालीन लक्ष्यका रूपमा लिएको बताएको छ।

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

0

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित उद्योगी–व्यवसायीहरूसँगको अन्तरक्रियामा उनले सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई मजबुत बनाउन प्रतिबद्धता व्यक्त गरे।

अर्थमन्त्री खनालले व्यापारिक वातावरणलाई पारदर्शी र विश्वसनीय बनाउन अनलाइन प्रणालीको प्रभावकारी कार्यान्वयन सुरु गरिएको जानकारी दिए। उनले भने, “वैदेशिक व्यापार सहजीकरणका लागि वीरगंज र विराटनगर भन्सारमा अनलाइन मूल्यांकन प्रणाली लागू गरिएको छ। वैध व्यापारलाई प्रोत्साहन र अवैध व्यापार नियन्त्रण गर्न ‘ट्रष्टेड व्यवसायी’ पहिचानको प्रक्रिया अघि बढाइएको छ।”

उनले इमानदार व्यवसायीलाई प्रोत्साहन दिने र गैरकानुनी गतिविधिमा संलग्न जो कोहीमाथि कडा कारबाही हुने चेतावनी समेत दिए। “यदि कर्मचारीतर्फ कुनै गुनासो प्रमाणित भयो भने तहपद नहेरी कारबाही हुन्छ,” भन्दै उनले प्रशासनिक सुधार र उत्तरदायित्वमा सरकार गम्भीर रहेको स्पष्ट पारे।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले निजी क्षेत्रका तर्फबाट उद्योग–व्यवसायमा देखिएका प्रमुख समस्या र सुधारका मागहरू अर्थमन्त्री समक्ष प्रस्तुत गरे। उनले सीमाक्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणका लागि कर नीतिको पुनरअवलोकन, स्थानीय सरकारद्वारा दोहोरो कर असुली रोक्ने, उधारो असुलीसम्बन्धी स्पष्ट कानून निर्माण र उद्योगमा विद्युत आपूर्तिको नियमितता सुनिश्चित गर्न माग गरे।

त्यस्तै, उनले नीतिगत स्थायित्व, कर प्रशासनको सरलीकरण र वैदेशिक लगानीमैत्री वातावरण सृजना गर्न आग्रह गरे। उनका अनुसार बारम्बार नीति परिवर्तन र जटिल कर प्रणालीका कारण उद्योग क्षेत्र निरुत्साहित हुँदै गएको छ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, पूर्वअध्यक्ष गणेश लाठ, नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद, नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटा, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा र उद्यमी साकेत क्याललगायतले पनि उद्योग–व्यापार क्षेत्रका चुनौतीबारे धारणा राख्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

अर्थमन्त्री खनालले उद्योगी–व्यवसायीका सुझाव र समस्या समाधानका लागि मन्त्रालय स्तरमा गम्भीर छलफल गरिने र आवश्यक नीतिगत तथा प्रशासनिक सुधारका पहल तत्काल सुरु गरिने आश्वासन दिए।

कार्यक्रमको अन्त्यमा अर्थमन्त्री र निजी क्षेत्रबीच सहकार्य र विश्वास सुदृढ गर्दै आगामी आर्थिक नीतिहरूलाई उद्योगमैत्री बनाउन मिलेर अघि बढ्ने सहमति गरिएको थियो।

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

0

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

शुक्रबार बिहान १०:०० बजेतिर बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ मुसहरवा बस्ने कन्हाई साहका छोरा शनि कुमार साह डुबेको जानकारी स्थानीयवासीले दिएका थिए । सो जानकारीपछि सशस्त्र प्रहरी बल नेपाल बेश क्याम्प बेलवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक लोकबहादुर कार्कीको कमाण्डमा पाँच जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय पर्साबाट सशस्त्र प्रहरी सहायक निरीक्षक संजिव यादवको कमाण्डमा सात जनाको विपद् उद्धार टोली खटिएको थियो ।

उद्धार टोलीले खोजीकार्यपछि बालकको शव पोखरीबाट बाहिर निकालेर आवश्यक कानूनी प्रकृयाका लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय, पर्साका सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिए ।

सो क्रममा वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक नविन थापाको कमाण्डमा समेत टोली खटिएको थियो ।

पोखरिया नगरपालिकाद्वारा इन्स्पेक्टर प्रदीप पौडेलको स्वागत, शान्ति–सुरक्षामा सहकार्यका लागि प्रतिबद्धता

0

पोखरिया । पोखरिया नगरपालिकाले पोखरिया इलाका प्रहरी कार्यालयमा प्रमुखका रूपमा कार्यभार सम्हालेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेललाई औपचारिक रूपमा स्वागत गरेको छ ।

नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहानले इन्स्पेक्टर पौडेललाई स्वागत गर्दै नगर क्षेत्रको शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सघन समन्वयमा काम गर्न अनुरोध गरे ।

प्रमुख चौहानले भने, “पोखरिया नगरलाई शान्त, सुरक्षित र अपराधमुक्त बनाउन स्थानीय सरकार र सुरक्षाकर्मीबीचको सहकार्य अपरिहार्य छ। नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहनेछ।”

इन्स्पेक्टर प्रदीप पौडेलले पनि पोखरिया क्षेत्रको शान्ति सुरक्षा कायम राख्न आफ्नो टोलीसहित प्रतिबद्धता जनाउँदै जनताको विश्वास जित्ने गरी सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।