Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
Home Blog Page 211

वीरगंज महानगर शिक्षा समितिमा अध्यक्ष श्रीवास्तव मनोनीत, मेयर सिंहद्वारा बधाई

0

वीरगंज । वीरगंज महानगरपालिकाको नगर शिक्षा समितिमा तीन नयाँ सदस्यहरूको मनोनयन गरिएको छ। महानगर शिक्षा नियमावली, २०७४ अनुसार नगर कार्यपालिकाको मिति २०८२ साल कात्तिक २४ गतेको निर्णयअनुसार सदस्य पदमा तथा विशेष आमन्त्रित सदस्य पदमा मनोनयन गरिएको हो।

नगर शिक्षा समितिको सदस्य पदमा प्याब्सन नगर कार्य समिति, वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवलाई नियम २४ (१)(च) बमोजिम एक वर्षका लागि मनोनयन गरिएको शिक्षा समितिका सदस्य सचीव आनन्द लामिछानेले जानकारी दिए ।

त्यसैगरी, आलोक कुमार चौरसिया र एनप्याब्सन नगर कार्य समिति, वीरगंजका अध्यक्ष जियालाल गुप्तालाई शिक्षा नियमावलीको नियम २४ (१)(ज) अनुसार विशेष आमन्त्रित सदस्य पदमा एक वर्षका लागि मनोनयन गरिएको छ।

नयाँ मनोनीत सदस्यहरूलाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले औपचारिक रूपमा नियुक्ति प्रदान गर्दै बधाई ज्ञापन गर्नुभएको छ। उनले शिक्षा क्षेत्रको गुणस्तर वृद्धि र नीतिगत सुधारका लागि समितिको सक्रिय योगदान अपेक्षा गरिएको बताउनुभयो।

प्रहरी निरीक्षकहरूले मानवसेवा आश्रममा आश्रितहरूलाई गराए भोजन

0

वीरगंज । समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ पर्साका विभिन्न प्रहरी निरीक्षकहरूले आइतबार विहान मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई सामूहिक भोजन खुवाएका छन्।

उक्त सामाजिक कार्यमा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, श्रीपुर वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन थापा मगर, ट्राफिकका वरिष्ठ प्रहरी निरीक्षक गुननिधि खकुरेललगायतका सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, मुना मगर लगायतका सामाजिक अभियन्ताहरूको उपस्थितिमा आश्रममा आश्रित आमा–बुबाहरुलाई प्रेमपूर्वक खाना खुवाइएको थियो।

सामाजिक कार्यमा प्रहरीको यो सहभागिता निकै सराहनीय रहेको भन्दै सहभागीहरूले प्रहरी केवल अपराध नियन्त्रणमै सीमित नभई मानवीय कल्याणका कार्यमा पनि सकारात्मक उदाहरण प्रस्तुत गरिरहेको टिप्पणी गरेका छन्।

वीरगंजमा मानव अधिकार शिक्षा प्रशिक्षण सम्पन्न

0

वीरगंज । एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगंजद्वारा आयोजित मानव अधिकार शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रम  सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता समूह–१६ वीरगंजका अध्यक्ष रजनीश झाले गरेका थिए भने एमनेस्टी इन्टरनेशनल सचिवालयबाट आएका कुन्दन राज शर्माले प्रशिक्षण दिएका थिए । उनले विश्वभरका मानव अधिकारका मापदण्ड, नेपालमा मानव अधिकारको अवस्था तथा नागरिक सरोकारका विषयमा विस्तृत जानकारी प्रदान गरे ।

वीरगंजस्थित होटल वृन्दावनमा भएकाे प्रशिक्षणमा विभिन्न संघ–संस्था र मानव अधिकारकर्मी गरी ३५ जनाले सहभागिता जनाएका थिए । सहभागीहरूलाई मानव अधिकारको सिद्धान्त, उल्लंघन रोकथामका उपाय, र अधिकारको संरक्षणमा नागरिकको भूमिकाबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा समूहका पूर्व संयोजक राजेश बोहरा, पत्रकार अभिलाष गुप्ता, अनिल ओझा, संतोष कुश्वाहा, एमनेस्टी समूह–१६ वीरगंजका पूर्व अध्यक्ष प्रकाश बाहेती, र दलित महिला संघ वीरगंजकी अध्यक्ष निला रामलगायतको उपस्थिति रहेको थियो ।

नक्कली बिल–विजकमार्फत ठगी गर्ने समूहबाट सावधान रहन पर्सा प्रहरीकाे अनुरोध

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिष्ठित व्यापारिक संस्थाहरूका नक्कली बिल–विजक बनाई ठगी गर्ने घटनाहरू बढ्दै गएको जनाएको छ।

प्रहरीका अनुसार ठगी समूहहरूले नक्कली बिल–विजकमार्फत सिमेन्ट, छड, मदिरा, मोटर पार्ट्स लगायतका सामग्री ठुलो मात्रामा खरिद गरी व्यापारिक समूहहरूलाई ठग्ने कार्य गर्दै आएका छन्।

यस घटनाको अनुसन्धान भइरहेका बेला प्रहरीले व्यापारी तथा उद्योगीहरूलाई कुनै पनि कारोवार गर्दा पूर्ण रूपमा एकिन भएपछि मात्र गर्न आग्रह गरेको छ । साथै, आधिकारिक अनुमति विनाका सामानहरू खरिद नगर्न पनि जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ ।

प्रहरीले यस्ता ठगीमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिँदै सबैलाई सचेत रहन अपील गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

जेन-जि आन्दोलनका क्रममा केन्द्रिय कारागारबाट फरार कैदी वीरगंजमा पक्राउ

0

वीरगंज । जेन-जि आन्दोलनका क्रममा केन्द्रिय कारागार, जगन्नाथदेवल काठमाडौँबाट फरार भएका कैदीलाई पर्सा प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–८ बस्ने ३७ वर्षीय दिपक कुमार महरालाई पक्राउ गरेको हो । महरालाई पर्सा जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकेको थियो ।

महराले मिति २०८२ साल भदौ २४ गते जेन जि आन्दोलनका क्रममा केन्द्रिय कारागारबाट फरार भई आफ्नो गाउँ वीरगंजमा लुकीछिपी बस्दै आएको सूचनाको आधारमा आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महरालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी कारागार कार्यालय वीरगंजमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

“सीप अभिवृद्धि तालिमका लागि आवश्यक सीपहरूको पहिचान” कार्यशाला सम्पन्न

0

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घ र ENSSURE/Helvetas को संयुक्त आयोजनामा सङ्घको सभाहलमा “Skill Upgrading Training का लागि आवश्यक सीपहरूको पहिचान” विषयक एकदिने कार्यशाला (वर्कसप) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा सङ्घका अध्यक्ष हरिप्रसाद गौतम, उपाध्यक्ष आशिष कुमार लाठ, सह–कोषाध्यक्ष निरज कुमार अग्रवाल, तथा ENSSURE/Helvetas मधेश प्रदेशका प्राविधिक संयोजक भरत साहनीकाे विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको संयोजन अनिल कुमार जयसवाल र एसडियु संयोजक मेराजुल हवारीले संयुक्त रूपमा गरेका थिए । साथै, इन्जि. विकास कुमार, इन्जि. गुनानन्द साह र वरिष्ठ आईटी विज्ञ बृजेश प्रधानको प्राविधिक सहयोग उल्लेखनीय रह्यो ।

यस कार्यशालामा विभिन्न २१ उद्योगका ३२ जना प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले औद्योगिक क्षेत्रमा आवश्यक सीपहरू, आगामी सीप अभिवृद्धि तालिमका प्राथमिक क्षेत्रहरू, र सीप विकासका सम्भावित रणनीतिहरूका सम्बन्धमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरे ।

कार्यक्रमले औद्योगिक क्षेत्रमा दक्ष जनशक्ति विकासका लागि आगामी तालिम तथा कार्यक्रमहरूको योजना बनाउन ठोस मार्गनिर्देशन प्रदान गरेको सङ्घले जनाएको छ ।

नारायणी अस्पतालको अनियमितता छानबिन गर्न जेन-जि पर्साकाे माग

0


वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा भएको चरम अनियमितता, आर्थिक दुरुपयोग र व्यवस्थापकीय कमजोरीका विषयमा निष्पक्ष छानबिनको माग गर्दै जेन-जी पर्साले आइतबार जिल्ला प्रशासन कार्यालय, पर्सामा ध्यानाकर्षणपत्र तथा ज्ञापनपत्र बुझाएको छ ।

पछिल्लो समय अस्पतालभित्र औषधि खरिद, उपकरण प्रयोग र प्रशासनिक क्षेत्रमा देखिएका आर्थिक अनियमितता सम्बन्धी गुनासोहरू बढेपछि जेन जी पर्साको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाल समक्ष औपचारिक रूपमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा अस्पतालको आर्थिक वर्ष २०८१/८२ को सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक गर्न, खरिद गरिएका तर प्रयोगमा नआएका उपकरणहरूको अवस्थाबारे छानबिन गर्न, र जिम्मेवार पदाधिकारीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै जेन जी पर्साका प्रतिनिधि विशेष साहले भने, “नारायणी अस्पताल वीरगंजको मुख्य स्वास्थ्य संस्था हो । यहाँ हुने अनियमितताले प्रत्यक्ष रूपमा गरिब र विपन्न वर्गका नागरिकको स्वास्थ्य सेवामा असर पारेको छ । तत्काल छानबिन समिति गठन गरी दोषीमाथि कारबाही हुनुपर्छ ।”

अस्पतालमा व्याप्त बेथिति र सेवाको गुणस्तर कमजोर भएको विषयमा केही संचारमाध्यमा समाचार प्रकाशनमा आएपछि जेनजिहरुकाे त्यस तर्फ ध्यान पुगेकाे हाे । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा प्रशासनले शीघ्र ध्यान दिनुपर्ने उनीहरुले माग गरेका छन् ।

जेन-जिले बुझाएकाे ज्ञापन पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौं र स्वस्थय तथा जनसंख्या मन्त्रालय सिंहदरबार काठमाडौंलाई समेत बाेद्धार्थ गरेकाे छ ।

मधेस प्रदेशसभा खारेज गर्न आजपा प्रदेश अध्यक्ष कुशवाहाको माग

0

वीरगंज । आम जनता पार्टी (आजपा)का मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले मधेस प्रदेशसभा खारेज गर्न माग गरेका छन्।

कालिका टाईम्ससँग कुरा गर्दै अध्यक्ष कुशवाहाले भने, “आजको मधेस प्रदेशसभाको खेल देखेर मधेसका जनता निराश भएका छन्। अब ढिलो नगरी प्रदेशसभा खारेज गरी नयाँ जनादेशमा जानु जरुरी छ।”

उनले मधेस प्रदेशमा चलिरहेको राजनीतिक अस्थिरता र दलभित्रको अन्तर्कलहका कारण प्रदेशसभाप्रतिको जनविश्वास कमजोर बन्दै गएको बताएका छन्।

यसअघि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत मागेका थिए। तर सत्तारूढ दलकै दुई सांसदले मत नदिने घोषणा गरेपछि मुख्यमन्त्री सोनलले राजीनामा दिएका छन्।

त्यस क्रममा प्रदेशसभा बैठकमै एक सांसदले आफैंलाई कालो मसो दल्ने घटनापछि राजनीतिक माहोल थप तातिएको छ।

अध्यक्ष कुशवाहाले यस्तो अवस्थाले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै नयाँ जनादेशमार्फत स्थायी समाधान खोजिनुपर्ने धारणा व्यक्त गरेका छन्।

पर्सामा सशस्त्र प्रहरीद्वारा अवैध औषधिसहित एक युवक पक्राउ

0

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल, पर्साले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको विभिन्न किसिमका औषधिसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार वीरगंज महानगरपालिका–१६, ईनर्वा नजिकको खेती इलाकाबाट एक युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्ति बारा जिल्ला, विश्रामपुर गाउँपालिका–४ बलिरामपुरका १८ वर्षीय हरिओम कुमार पासवान हुन् ।

उनी भारतबाट टाउकोमा बोकी नेपालतर्फ ल्याइरहेको अवस्थामा नियन्त्रणमा लिइएका हुन् । उनको साथबाट विभिन्न प्रकारका मानव उपभोगका औषधिहरू बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । बरामद औषधिको कुल मूल्य ९ लाख ५८ हजार ९१३ रुपैया बराबर रहेको बताइएको छ ।

पक्राउ परेका व्यक्ति र बरामद सामानलाई आवश्यक कानूनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विश्वराज योन्जनले जानकारी दिए ।

पर्साका किसान चिन्तित : पाकेको धानबाली भित्र्याउन नसक्दा घाटाको आशंका

0

सेढवा । पर्साका किसानहरू वर्षे धानबाली पाकी सके पनि प्रतिकूल मौसमका कारण भित्र्याउन नसक्दा चिन्तामा परेका छन्। सोना मन्सुली, मनी मन्सुली, कतरनी र अन्य हाईब्रिड जातका धानबाली खेतमै थन्किएर बिग्रन थालेको किसानहरूले गुनासो गरेका छन्।

गण्डक नहरको उत्तरतर्फ रहेको थरुहट क्षेत्रका किसानहरूले एक साताभन्दा बढी समयदेखि धान पाके पनि कटनी गर्न नसकेको बताएका छन्। जिराभवानी गाउँपालिका–२ सेढवाका किसान बिरजु दास थारुका अनुसार छठ पर्वपछि अधिकांश किसान धान भित्र्याउन तयार भए पनि लगातार दुई दिनसम्म परेको वर्षा र हुरीका कारण काम रोकिएको हो।

“बिगत ४–५ दिनदेखि घाम लागे पनि खेतमा पानी नसुक्दा हार्भेस्टर मेशिन प्रयोग गर्न सकिएको छैन,” थारुले बताए। “मेशिन चलाउँदा भासिने जोखिम छ, जसले अर्को बाली रोप्न पनि असर पार्छ,” उनले चिन्ता व्यक्त गरे।

त्यस्तै, जगरनाथपुर गाउँपालिका–३ का किसान रामचन्द्र रामले भने खेतमा पानी जमेको र हुरीले धान ढलेर बालामै उम्रिन थालेकाले ठूलो नोक्सानीको जोखिम बढेको बताए। “मेशिन पस्दैन, ज्यामी राखौँ भने कामदार नै पाइँदैन,” उनले भने। “एक-दुई दिनमै बाली नभित्र्याए धान जमिनमा झर्ने अवस्था छ।”

धानको रोपाइँदेखि नै पानीको अभाव झेल्दै आएका किसानहरू अहिले बाली भित्र्याउने बेलामा फेरि मौसमी समस्याले मर्का खेपिरहेका छन्। लगातारको विपरीत मौसम र कटनीमा ढिलाइले उनीहरू आर्थिक रूपमा थप कमजोर बन्दै गएका छन्।