Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 208

प्याब्सन वीरगंज छात्रवृत्ति परीक्षा साउन १० गते, ५ सयभन्दा बढी विद्यार्थीको सहभागिता अपेक्षित

वीरगंज । कक्षा ११ र १२ मा अध्ययन गर्न इच्छुक एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि प्याब्सन वीरगंजले सुरु गर्न लागेको छात्रवृत्ति परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । यस वर्ष पहिलोपटक सञ्चालन हुन लागेको यो छात्रवृत्ति कार्यक्रममा हालसम्म करिब ४५० विद्यार्थीले आवेदन दिएका छन् भने सहभागी संख्या ५ सय नाघ्ने अपेक्षा गरिएको छ।

परीक्षा यही साउन १० गते सञ्चालन हुनेछ । आवेदन अनलाइन माध्यमबाट मागिएको थियो र आवेदन दिने अन्तिम समय साउन ८ गते बिहान १० बजेसम्म तोकिएको छ ।

प्याब्सन वीरगंज महानगर कमिटी र जिल्ला कार्यसमितिको समन्वयमा हुने यो परीक्षामा काठमाडौं लगायत विभिन्न ठाउँका विद्यार्थीहरूले पनि आवेदन दिएका छन् । नगर अध्यक्ष राहुल श्रीवास्तवका अनुसार कार्यक्रम आर्थिक रूपमा कमजोर, सामुदायिक विद्यालयमा अध्ययन गरेका र शैक्षिक रूपमा जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर ल्याइएको हो ।

परीक्षामा सहभागी हुने विद्यार्थीहरूले आफ्नो प्रवेशपत्र पानीटंकी–१० स्थित लिटिल बडी प्रि-स्कुलबाट परीक्षा समिति सदस्य विजय बलसँग सम्पर्क गरी लिन सक्नेछन् । प्रवेशपत्र छुटेको खण्डमा, परीक्षा सञ्चालन हुने १० वटा कलेजहरूबाट पनि उपलब्ध गराइने नगर सचिव अमित आलोकले जानकारी दिए ।

उनका अनुसार छोटो समयमै उत्साहजनक सहभागिता देखिएकाले आगामी वर्ष छात्रवृत्ति कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाइनेछ । परीक्षा पूर्णतः मर्यादित, पारदर्शी र व्यवस्थित ढंगले सञ्चालन गरिने जानकारी पनि उनले दिए ।

परीक्षामा अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयका प्रश्न सोधिनेछ, जसमा अधिकांश कक्षा १० को पाठ्यक्रम समेटिएको परीक्षा समिति सदस्य सुमित कुमार गुप्ताले जानकारी दिए ।

प्याब्सनले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य शुलभ केसी, नगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, परीक्षा समिति सदस्य विजय बल र सुमित गुप्ता, प्रेस संयोजक दीपु बर्णवाल तथा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौधरीको उपस्थिति रहेको थियो ।

लायन्स क्लबद्वारा निःशुल्क पानी वितरण

वीरगंज । साउन महिनाको दोस्रो सोमबारको पावन अवसरमा लायन्स क्लब अफ वीरगंज आदर्शनगरले धार्मिक आस्थाको केन्द्रको रूपमा परिचित ऐतिहासिक अलखिया मठ मन्दिर अगाडि निःशुल्क चिसो पानी वितरण गरेको छ।

साउन महिनामा सोमबारका दिन मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको ठूलो भीड हुने भएकाले तिर्खाएका भक्तजनलाई सहजता र राहत पुर्‍याउने उद्देश्यले खानेपानी वितरण गरिएकाे क्लबले जनाएकाे छ ।

“सर्वसाधारण र दर्शनार्थीहरूलाई चिसो पानी पिउन दिनु हाम्रो सामाजिक उत्तरदायित्वको अभिव्यक्ति हो,” लायन्स क्लबका डिस्टिक एजुकेटिभ चिफ तथा समाजसेवी प्रकाश बाहेतीले बताए ।

कार्यक्रममा क्लब अध्यक्ष सुरेश रुङटाको अध्यक्षता, सचिव मनिष अग्रवाल, कोषाध्यक्ष दिपु रौनियार, सदस्य प्रदिप डालमिया, भवरलाल पारिख लगायत अन्य पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

उक्त सेवामूलक कार्यले सर्वसाधारण तथा दर्शनार्थीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।  क्लबले यस्ता सामाजिक उत्तरदायित्वमा आधारित कार्यहरू आगामी दिनमा पनि निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

संविधानसभा सदस्य गुप्ता र पूर्व प्रदेश सांसद साह जनमत पार्टीमा प्रवेश

कलैया । बारा जिल्लामा जनमत पार्टीको प्रभाव तीव्र रूपमा बढ्दै गएकाे छ । सोमवार कलैयास्थित करण राज पार्टी प्यालेसमा आयोजित भव्य कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, मधेस प्रदेशका पूर्व सांसद पारस साह, युवा नेता सुजित पाण्डेय र पाँच वडाका वडा सदस्य पदका उम्मेदवारसहित करिब ७ सय नेता–कार्यकर्ता विभिन्न दल परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन् ।

पूर्व सांसद पारस साह र गुप्तासहितका नेताहरूले जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरेर जनमत पार्टीमा प्रबेश गरेका हुन् । उनीहरूको प्रवेशसँगै बारा जिल्लामा जसपाको सांगठानिक उपस्थिति कमजोर हुँदै गएको र जनमत पार्टी जनस्तरसम्म बलियो बन्दै गएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै जनमत पार्टी कुनै ‘०८४ को चुनावी तयारीमा’ नभई ‘पूर्ण अधिकार प्राप्तिको क्रान्ति’का लागि अघि बढिरहेको बताए । उनले कार्यकर्तालाई अधिकार प्राप्तिको आन्दोलनका लागि एकजुट भएर जुट्न आह्वान गरे ।

डा. राउतले संघीयता आए पनि प्रदेशलाई अधिकारविहीन बनाइएको भन्दै त्यसको लागि सिंहदरबारलाई दोषी ठहर गरे । “१० लाख रोजगार दिने भनेका थियौं, तर अधिकार नभएकाले दिन सकिएन,” भन्दै उनले अधिकार र शासन जनमत पार्टीसँग आए मात्र जनताको अपेक्षा पूरा हुने दाबी गरे ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पनि सम्बोधन गर्दै प्रदेश सरकार चाँडै परिवर्तन हुन्छ भन्ने हल्ला निराधार भएको बताएका छन् । उनले १३ महिना पुरा गरेको जनमत नेतृत्वको सरकार जनताका हितमा काम गरिरहेको भन्दै अफवाह फैलाउनेहरू स्वयं संकटमा परेको आरोप लगाए ।

मन्त्री वसन्त कुशवाहा, मन्त्री संजयकुमार यादवसहित जनमत पार्टीका नेताहरूले समेत आफ्नो धारणा राखेका थिए ।

पार्टी प्रवेश गर्दै पूर्व प्रदेशसभा सदस्य पारस साहले जसपा पार्टी नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै दलित र गरिब परिवारसँग पैसा असुली गरिएको खुलासा गरे ।

कार्यक्रममा नवप्रवेशी नेताहरूलाई पार्टी अध्यक्ष डा. राउत, मुख्यमन्त्री सिंह, मन्त्रीद्वय कुशवाहा र यादवले टिका र गम्छा लगाएर स्वागत गरेका थिए ।

पत्रकार यादवलाई धम्की दिनेमाथि कारवाही गर्न समाजवादी प्रेस संगठन मधेश प्रदेशकाे माग

वीरगंज । समाजवादी प्रेस संगठन, नेपाल मधेश प्रदेश समितिका कोषाध्यक्ष तथा प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक पत्रकार रामपुकार यादवमाथि ज्यान लिने धम्की आएको घटना प्रति समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेशकाे गम्भिर ध्यानाकर्ष भएकाे छ ।

संगठनका अनुसार यादवले सिरहाको विष्णुपुर गाउँपालिकाबाट वितरण गरिनुपर्ने चेकहरू अन्य स्थानमा हस्तान्तरण गरिएको विषयमा तथ्यपरक समाचार लेखेका थिए । सोही समाचारप्रति आक्रोशित हुँदै २०८२ साउन १ गते राति करिब ९ बजे स्थानीय सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले फोनमार्फत गालीगलौज गर्नुका साथै गम्भीर रूपमा ज्यान लिने धम्की दिएका हुन् ।

समाजवादी प्रेस संगठन, मधेश प्रदेश समितिले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । “यदि समाचारप्रति असहमति छ भने कानुनी बाटो रोज्न सकिने स्पष्ट विकल्प हुँदाहुँदै यसरी धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको खतरनाक हस्तक्षेप हो,” संगठनले जनाएको छ ।

संगठनले यस्ता अभद्र र आपराधिक गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ र दोषीहरूलाई कानुनी दायरामा ल्याउन कडा माग अघि सारेको छ । यथोचित कारबाही नभए आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत संगठनले दिएको छ ।

साथै, संगठनले सिरहा प्रशासनसँग पत्रकार यादवको सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह समेत गरेको छ ।

तिलावे नदी किनारको सार्वजनिक घेराबारमा तोडफोड

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १९ स्थित तिलावे नदी किनारमा सार्वजनिक जग्गाको संरक्षण र हरियाली प्रवर्द्धनका लागि गरिएको घेराबार तोडफोडमा अज्ञात समूहको संलग्नता देखिएको छ ।

महानगरले हालै गाडेका ८० वटा पोलमध्ये ३४ वटा पोल ढालिएको अवस्थामा फेला परेको छ । महानगरका वातावरण निरीक्षक प्रकाश ऐरको नेतृत्वमा गएको निरीक्षण टोलीले स्थलगत अध्ययनका क्रममा घेराबारमा तोडफोड भएको पुष्टि गरेको हो।

गत असार महिनामै करिब ७ विघा क्षेत्रफल ओगट्ने सो सार्वजनिक जमिनमा वृक्षारोपणको तयारीस्वरूप घेराबार गरिएको थियो। तर, यसअघि सो क्षेत्रको केही भाग केही व्यक्तिहरूले अनधिकृत रूपमा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको पृष्ठभूमिमा घेराबार तोडफोड उनीहरूकै मिलोमतोमा भएको हुन सक्ने आशंका गरिएको छ।

“सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय सुधारका लागि सुरु गरिएको वृक्षारोपण अभियानमा नियोजित अवरोध सिर्जना गरिएको देखिन्छ,” महानगर प्रमुख राजेशमान सिंहले बताए। उहाँले यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न महानगरले स्थानीय प्रशासनमा उजुरी दर्ता गरिसकेको जानकारी दिए।

महानगरले तिलावे नदी किनारमा दीर्घकालीन हरित क्षेत्र विकासको उद्देश्यले वृक्षारोपण कार्यक्रम अघि बढाएको थियो। सार्वजनिक हितमा गरिएका प्रयासमाथि भएको अवरोधप्रति महानगरले कडा आपत्ति जनाउँदै यस्ता कार्यलाई कदापि स्वीकार नगर्ने स्पष्ट पारेको छ।

यस घटनापछि महानगरले स्थायी निगरानी प्रणाली स्थापना गर्ने, सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गर्ने र नागरिकलाई सार्वजनिक सम्पत्तिको संरक्षणमा सहकार्य गर्न आह्वान गर्ने निर्णय गरेको छ।

नयाँ अनुहार, ठूला उपलब्धि : ‘सैयारा’ ले बलिउडमा मचायो धूम

बलिउड फिल्म ‘सैयारा’ ले प्रदर्शनमा आएदेखि नै दर्शक र समीक्षकको मन जित्दै चौतर्फी चर्चा बटुलिरहेको छ।

ठूला स्टार कलाकारहरू, भव्य प्रमोशन र बिदा नपरेको समयावधिमा रिलिज भए पनि फिल्मले असाधारण सफलता हात पार्दै बलिउडमा नयाँ ‘अन्डरडग सक्सेस स्टोरी’ को रूपमा उभिएको छ।

मोहित सुरीद्वारा निर्देशित र यशराज फिल्म्सको ब्यानरमा बनेको यो रोमान्टिक ड्रामा फिल्मबाट दुई नयाँ अनुहार— अहान पाण्डे र अनित पड्डा— बलिउडमा चम्किएका छन्।

२७ वर्षीय अहान पाण्डे अभिनेता चंकी पाण्डेका भाइका छोरा (अनन्या पाण्डेका भाइ) हुन्। उनले यसअघि ‘फ्रिकी अली’ र ‘द रेलवे मेन’ जस्ता फिल्ममा सहायक निर्देशकको रूपमा काम गरेका थिए। तर ‘सैयारा’ बाट उनले अभिनय यात्रा सुरु गरेका हुन्, जुन एकदमै सफल देखिएको छ।

२२ वर्षीया अनित पड्डा भने यसअघि ‘सलाम वेंकी’ मा काजोलसँग सानो भूमिका निर्वाह गरेर बलिउडमा पाइला टेकिसकेकी थिइन्। त्यसपछि उनले वेब सिरिज ‘बिग गल्र्स डन्ट क्राइ’ मा अभिनय र गायनमार्फत राम्रो चर्चा बटुलेकी थिइन्।

‘सैयारा’ मा मुख्य भूमिकाका लागि अडिसन दिएकी अनितलाई निर्देशकले तत्कालै साइन गरेका थिए। अहिले यी दुई कलाकारलाई नयाँ पुस्ताका आशाजनक र बहुपक्षीय प्रतिभा मानिएको छ।

‘आशिकी २’ र ‘एक विलेन’ जस्ता हिट प्रेमकथाका निर्देशक मोहित सुरीको यो नयाँ प्रस्तुति भारतमा ५० करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ। नेपालमा पनि फिल्मले दर्शकबाट राम्रो साथ पाइरहेको छ।

‘सैयारा’ को सफलता हेर्दा दर्शकहरूले भावना, कथा र अभिनयलाई प्राथमिकता दिन थालेको संकेत देखिएको छ – स्टार पावर भन्दा पनि सिनेमाको आत्मा बोल्न थालेको समय हो यो।

खानेपानीमन्त्रीको रातको अनुगमन : मेलम्चीको पानी चाँडै वितरण हुने

काठमाडौं । उपत्यकावासीलाई मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत शुद्ध र नियमित पानी उपलब्ध गराउने उद्देश्यले खानेपानीमन्त्री प्रदीप यादव आइतबार राति स्वयं फिल्डमा निस्किएर छड्के अनुगमन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेवी, विशालनगर, वंशीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची पानीको पाइपलाइन बिच्छाइएको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन मन्त्री यादवले अनुगमन गरेका हुन् ।

मन्त्री यादवले आयोजनाको कार्यान्वयन निर्देशनालय (PID) मार्फत सम्पन्न पाइपलाइन बिच्छाइको काम चाँडै परीक्षण गरी मेलम्चीको पानी वितरण गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिए ।

अनुगमनका क्रममा मन्त्री यादवले भने, “बालुवाटारलगायत क्षेत्रहरूमा पाइपलाइन बिच्छाउने कार्य सफल भएको पाइयो। अब चाँडै मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको छु ।”

पाइप परीक्षण (प्रेसर टेस्ट)को अन्तिम चरणमा रहेको र परीक्षण सफल भएपछि बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेवी, विशालनगर, वंशीधर मार्ग र सुवर्ण शम्शेर सडकलगायत क्षेत्रहरूमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजनाका प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।

पानी आपूर्तिपछि सो क्षेत्रमा करिब ३ हजार ५ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

आयोजना प्रवन्धक अमित रञ्जितका अनुसार दीर्घकालीन समाधानस्वरूप मेलम्चीको पाइपलाइन बिच्छाउने कार्य सम्पन्न भइसकेको हो, जसले उपत्यकावासीलाई स्वच्छ, सुरक्षित र नियमित खानेपानी उपलब्ध गराउनेछ ।

जनकपुरको होटलमा छुरा प्रहार गरी युवककाे हत्या, आराेपित युवती पक्राउ

वीरगंज । जनकपुर उपमहानगरपालिका–२३ मा रहेको हाेटल एसपी एण्ड गेष्ठ हाउसमा एक व्यक्तिको छुरा प्रहार गरि हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक महोत्तरी गाउँपालिका–१, पर्सा टोल निवासी ३२ वर्षीय विमलेश यादव हुन् ।

उनी साउन ३ गते राति करिब ९:५० बजे केटिएम मोटरसाइकल (बा.४५प ४५८६) मा अभियुक्तसँगै उक्त होटलमा प्रवेश गरेका थिए । होटलको कोठा नं. १०२ मा बसेका बेला राति करिब २:५७ बजे विमलेश यादव नग्न अवस्थामा रगताम्य अवस्थामा पहिलो तलाबाट खसेको सिसि टिभि फुटेजमा देखिएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार अभियुक्तले होटलको नाम प्रविष्ट गर्दा आफ्नो नाम ‘शनि यादव’ लेखाएकी थिइन् । घटना लगत्तै जुली झा राति ३:०४ बजे भुइँतलाबाट भाग्दै गरेको दृश्य होटलको सिसि टिभिमा देखिएको थियो ।

घटनाको अनुसन्धान गर्दै गएको प्रहरीले उनलाई सोही दिन मध्यान्ह १२:०० बजे महोत्तरीको परौलतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

घाइते विमलेशलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर ल्याइएको भए पनि बिहान ७:४५ बजे उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्रहरीले मृतकको मोबाइल फोन र होटलको निगरानी क्यामेरा फुटेजका आधारमा घटनाको अनुसन्धानलाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुण बहादुर सिंहले जानकारी दिए ।

पर्सा प्रहरीद्वारा एक हजार ५११ जना फरार प्रतिवादी पक्राउ

वीरगंज । पर्सा प्रहरीले फरार प्रतिवादी पक्राउमा आक्रामक अभियान सञ्चालन गर्दै न्याय सुनिश्चितताका लागि उल्लेखनीय सफलता हात पारेको छ । विशेष अभियान अन्तर्गत हालसम्म एक हजार ५११ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेकामध्येबाट कूल ७३ वर्ष २ महिना कैद सजाय र रू. ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना असुल गरिएको छ।

नेपाल तथा भारतका विभिन्न स्थानमा लुकेर बसेका ती प्रतिवादीहरू पक्राउ नपर्दा पीडितहरू न्यायबाट वञ्चित हुने, समाजमा अराजकता र निराशा फैलिने भएकाले प्रहरीको प्राथमिक कार्यका रूपमा फरार पक्राउलाई राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले बताए।

उनका अनुसार अब कोही पनि राजनीतिक दबाब, सिफारिस वा अन्य बहानामा उम्कन नपाउनेछन्, बाँकी रहेका फरारहरूमाथि पनि कडा निगरानीका साथ यही अभियान जारी रहनेछ ।

मानव बेचबिखन मुद्दामा पनि पर्सा प्रहरीकाे सक्रियता

जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनजस्तो गम्भीर अपराध विरुद्ध पनि कडा कदम चालेको छ । सीमावर्ती जिल्ला भएकाले उच्च जोखिममा रहेको पर्सामा प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा विशेष अभियान सञ्चालन गर्दै पछिल्लो ६ महिनामा १२ वटा मुद्दामा १३ जना प्रतिवादीलाई पक्राउ गरिएको हो।

उनीहरूमध्ये ६ जना कारागार चलान गरिएका छन् भने १३७ जना पीडित तथा जोखिममा रहेका व्यक्तिहरूलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।

अभियानअन्तर्गत होटल, लज, रेस्टुरेन्ट, खाजाघर व्यवसायीहरूसँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम, स्कूल–कलेजमा ‘अवेयरनेस प्रोग्राम’ सञ्चालन गरिएको र सीमावर्ती नाकाहरूमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

यस प्रकारको सक्रियता र प्रतिबद्धताले पर्सा जिल्लामा अपराध नियन्त्रण र न्याय प्रवाहमा उल्लेखनीय प्रगति भएको सरोकारवालाहरूको भनाइ छ ।

पत्रकार महासंघ मधेश प्रदेशलाई जनकपुरमा भवन निर्माणका लागि ४ कट्ठा जग्गा प्राप्त

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत श्रीराम मन्दिर गुठीको ४ कट्ठा बहुमूल्य जग्गा प्राप्त गरेको छ। यस जग्गा प्राप्तिसँगै महासंघले अब भव्य भवन निर्माणको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

गुठी व्यवस्थापन तथा सरकारी सहयोगमार्फत प्राप्त जग्गा कठिन परिश्रम, लामो प्रक्रिया र निरन्तर प्रयासको प्रतिफलस्वरूप उपलब्ध भएको पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले जानकारी दिए । यथार्थमा, उक्त जग्गा प्राप्तिका क्रममा भित्री विरोध र अवरोधहरू आए पनि “पवित्र मनले गरिएको कर्म” सफल भएको उनले बताइएका छन् ।

जग्गा प्राप्तिपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंह र भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले भवन निर्माणमा कुनै कञ्जुस्याँई नगर्ने प्रतिबद्धता जनाएकाले महासंघले गहिरो सम्मान व्यक्त गरेको छ।

यस अभियानमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, महासचिव रामप्रसाद दाहाल, केन्द्रीय लेखा संयोजक केसी लामिछाने, सल्लाहकार राजेश कर्ण, प्रेस चौतारीका महासचिव हिरामान लामा, प्रदेश इन्चार्ज अच्युत पौडेल, प्रेस सेन्टरका नेता गोबिन्द देबकोटा, कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरूको सक्रिय भूमिका स्मरणीय रहेको अध्यक्ष बन्जाराले आफ्नाे फेसबुक स्टेटसमा उल्लेख गरेका छन् ।

गुठी केन्द्रीय कार्यालयसम्म पुगी पहल गर्ने उपाध्यक्ष अम्बिका दाहाल, महासचिव शैलेन्द्र क्रान्ति, उपाध्यक्ष ज्योति झा, सचिव हदीश खुदार, कोषाध्यक्ष अनिल गौरव, दिपक गौतिम र सम्पूर्ण कार्यसमिति सदस्यहरूको योगदानप्रति महासंघले उच्च सम्मान प्रकट गरेको छ ।

अब छिट्टै भवन निर्माणको विस्तृत योजना तयार गरी कार्यान्वयनको चरणमा लैजाने तयारी भइरहेको छ। पत्रकार महासंघले यस सफलताका लागि सबै संचारकर्मी, शुभेच्छुक, संघसंस्था र गुठीका कर्मचारीप्रति हार्दिक आभार प्रकट गरेको छ।

यस उपलब्धिले मधेश प्रदेशको पत्रकारिता क्षेत्रको संरचनात्मक विकासमा ऐतिहासिक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।