Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
Home Blog Page 207

कलैयामा बोलपत्र सूचना लुकाएर ठेक्का बाँडफाँड : अख्तियारद्वारा चारजनामाथि आरोपपत्र दायर

0

वीरगंज । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बारामा बोलपत्रको सूचना सार्वजनिक नगरी मिलेमतोमा ठेक्का लगाएको गम्भीर अनियमितता पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

उजुरीका आधारमा गरिएको अनुसन्धानपछि आ.व. २०७९/८० मा निर्माणका २३ वटा बोलपत्रहरूको सूचना राष्ट्रिय दैनिकमा अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने भए पनि डिभिजन कार्यालयका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादव, लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.का प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलले आपसी मिलोमतोमा सूचना लुकाएर ठेक्का प्रक्रिया अघि बढाएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार प्रभाव दैनिकको केवल एक प्रति मात्रै बनाइ कार्यालयमा पेस गरी बोलपत्र प्रकाशित भएको झुट्टा प्रमाण पेश गरिएको तथा त्यसकै आधारमा सान्दर्भिक मिडिया नेटवर्कलाई ३ लाख १६ हजार ५७० भुक्तानी गरिएको पाइएको छ । सो कम्पनीको खाताबाट ५० हजार प्रभाव दैनिकका बजार प्रबन्धकले लिएको प्रमाण पनि अनुसन्धानमा देखिएको छ।

प्रेस काउन्सिल नेपाल तथा प्रभाव पब्लिकेशन प्रा.लि.का पत्रहरूबाट सो मिति २०७९ फागुन २१ को कुनै पनि पृष्ठमा बोलपत्र सूचना प्रकाशित नभएको पुष्टि भएपछि अख्तियारले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) बमोजिमको कसूर ठहर गर्दै बिगो असूलसहित कैद र जरिवानाको मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो।

अख्तियारले मुख्य आरोपित यादव र दास, सहमतियारका रूपमा निसान्त सिग्देल तथा सन्तोषराज खरेलमाथि दफा २२ बमोजिम मुख्य कसूरदार सरह सजाय हुनुपर्ने मागसहित बिगो असूलको दाबी राखेको विज्ञप्तिमा उल्लेख छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिए ।

जिराभवानीमा ४५० थान अवैध किप्याड मोबाइल बरामद

0

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–१, बलुवामा सशस्त्र प्रहरीले ठूलो मात्रामा अवैध किप्याड मोबाइल सेट बरामद गरेको छ।

भन्सार छली गरी भारतबाट भित्र्याउँदै ल्याइएका ‘लाभा’ ब्रान्डका मोबाइलहरू स्थानीय धानबारीमा लुकाइराखिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टिबाट निरीक्षक हरि चन्द्र खड्काको नेतृत्वमा गएको गस्ती टोलीले ४५० थान किप्याड मोबाइल बरामद गरेको हो।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका उपरीक्षक पुरन चन्द्र भट्टका अनुसार बरामद मोबाइलको मूल्य करिब ९ लाख रुपैयाँ बराबर पर्ने अनुमान गरिएको छ।

बरामद गरिएका सबै मोबाइल आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालय पठाइएको भट्टले जानकारी दिए।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती भव्य रूपमा सम्पन्न

0

वीरगञ्ज । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र वीरगञ्ज क्षेत्रले आफ्नो स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ। दुई दिने समारोहअन्तर्गत केन्द्रले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै, संस्थाका लागि भवन निर्माण तथा जग्गा दान गर्ने दाताहरूलाई विशेष सम्मान प्रदान गरियो।

यससँगै १ सय ८ कुमारीहरूको पूजा, स्नेह–मिलन कार्यक्रम तथा आध्यात्मिक प्रशिक्षण पनि आयोजनामा समावेश थिए।

कार्यक्रमकी प्रमुख अतिथि तथा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी राजदादीले समाजमा फैलँदै गएको विकृति र नकारात्मक प्रवृत्तिलाई निरुत्साहित गर्न ब्रम्हकुमारी संस्थाले आध्यात्मिक ज्ञानमार्फत भाईचारा, सद्भाव र मेलमिलाप प्रवर्द्धन गर्दै आएको बताइन्। उनले व्यक्तिगत चरित्र निर्माण र सामाजिक परिवर्तनका लागि आध्यात्मिक अभ्यास आवश्यक रहेको उल्लेख गरिन्।

कार्यक्रममा सहभागिहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन ब्रम्हकुमारी संस्थाको भूमिकालाई महत्वपूर्ण बताउँदै, वर्तमान विषम परिस्थितिमा संस्थाले प्रदान गर्ने मार्गदर्शन अझ आवश्यक भएको धारणा राखे। वक्ताहरूले महिलाले नेतृत्व लिन नसक्ने भनाइलाई विश्वव्यापी रूपमा ब्रम्हकुमारी नेतृत्वले गलत साबित गर्न सफल भएको पनि उल्लेख गरे।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जकी प्रमुख रवीना श्रेष्ठले सबैको निरन्तर साथ र सहयोगका कारण केन्द्रले पाँच दशक पार गर्न सफल भएको बताउँदै, ब्रम्हकुमारी संस्था केवल आध्यात्मिक केन्द्र होइन, मानव जातिमा फैलिएको असन्तुष्टि, तनाव र अज्ञानता हटाइ चेतना अभिवृद्धि गर्ने एक ईश्वरीय विश्व विद्यालय भएको बताइन्।

स्वर्ण जयन्तीमा नेपालका विभिन्न क्षेत्र तथा भारतको राजस्थानस्थित माउण्ट आबू मुख्यालय र बिहार राज्यबाट सयौँ ब्रम्हकुमारीहरूको सहभागिता रहेको थियो। नेपालभर करिब १ हजार प्रशिक्षण केन्द्रमार्फत संस्था सक्रिय रूपमा सेवा सञ्चालन गरिरहेको छ।

रामगढवामा ६ महिला सहित ८१ जनाद्वारा रक्तदान

0

वीरगंज । एकता युवा क्लबको आयोजनामा शनिबार वीरगंज–२४ रामगढवामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व र मानव सेवालाई मुख्य उद्देश्य बनाएर सञ्चालन गरिएको कार्यक्रममा ६ महिलासहित ८१ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्रले जनाएको छ।

रक्तदान गर्नेहरूमा नितेश पटेल, जितेन्द्र पटेल, धिरज पटेल, प्रेमचन्द्र पटेल, प्रवीण देवी, खुश्बु कुमारी, लक्ष्मी कुमारी, रमिता देवीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन नेपाल सरकारका पूर्व कानुन मन्त्री अजय कुमार चौरसियाले गरेका थिए।

एकता युवा क्लबका अध्यक्ष रोशन कुमार कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका सांसद श्याम पटेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत, प्रहरी नायब उपरीक्षक राजु कार्की, ट्राफिक प्रहरी निरीक्षक युवराज कटवाललगायतको सहभागिता रहेको थियो।

सहकारीकै मिलोमतोमा अनुदानित मल भारत तस्करी, किसान समस्यामा

0

सेढवा । कृषि कार्य परियोजनाका लागि नेपाल सरकारले उपलब्ध गराएको अनुदानित रासायनिक मल ग्रामीण भेगमा वितरण हुनुपर्नेमा भारतीय बजारमा चोरी–तस्करी भइरहेको खुलासा भएको छ ।

गहुँ रोपाइँका लागि कृषि सामग्री कम्पनी लिमिटेडबाट सहकारीमार्फत किसानसम्म पु‍र्‍याउन पठाइएको मल खुल्ला सीमा नाकाहरू हुँदै भारतको इनरवा र भंगहा बजारसम्म पुग्ने गरेको स्रोतले जानकारी दिएको छ।

स्थानीय पालिकाको कृषि शाखाको सिफारिसमा केही कृषि सहकारी संस्थाले कृषि सामग्री कम्पनी लिमिटेडबाट डिएपी र यूरिया मल खरिद गरे पनि किसानलाई वितरण नगरी रातारात तस्करी गर्ने गरेको किसानहरूले आरोप लगाएका छन्।

जिराभवानी र जगरनाथपुर गाउँपालिकाका केही सहकारीले भने पालिकाको निर्देशनअनुसार तोकिएको मूल्यमै किसानलाई मल वितरण गरिरहेका छन्। किसानहरूका अनुसार कतिपय सहकारीले आएको आधा मल भारत तस्करी गरी बाँकी आधा मात्र किसानलाई वितरण गर्ने गरेको छ।

यस क्षेत्रमा मलको अभाव तीव्र बनेका बेला अनुदानित मलको कालाबाजारी बढेको र सहकारीहरूको मिलोमतोमा तस्करी सहज रूपमा भइरहेको किसानहरूको आरोप छ।

बीरगंजस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडद्वारा पठाइने मल सहकारीका पदाधिकारीहरूले बीच बाटोमै बेच्ने र बाँकी मात्र किसानसम्म पुर्‍याउने गरेको पनि किसानहरूले दाबी गरेका छन्।

भारतमा डिएपी मल प्रति बोरा ३ हजार ३ सय रुपैयाँमा बिक्री भइरहेको छ भने नेपालमा अनुदानित डिएपीको मूल्य २ हजार ४ सय रुपैयाँ निर्धारित गरिएको छ।

त्यस्तै भारतीय यूरिया ४०–४२ केजीको बोराको मूल्य ८ सय रुपैयाँ पर्छ भने नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको ५० केजीको यूरिया ९ सय रुपैयाँमा पाइन्छ। गुणस्तरको दृष्टिकोणले पनि अनुदानित मल भारतीय मलभन्दा राम्रो रहेको किसानहरूको भनाइ छ।

वीरगंजमा ‘कन्टिन्युएस डेनटल एजुकेसन’ कार्यक्रम सम्पन्न

0

वीरगंज । नेपाल डेनटल एसोसिएसन पर्सा शाखाको आयोजनामा दन्त चिकित्सकहरूका लागि निरन्तर शिक्षा र मौखिक स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले ‘कन्टिन्युएस डेनटल एजुकेसन (सीडीई)’ कार्यक्रम सम्पन्न भएकाे छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल डेनटल एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. अजय साहले दन्त चिकित्सा क्षेत्रमा निरन्तर सिकाइ, अनुसन्धान र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गरे । उनले मौखिक स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य नीतिमा प्रभावकारी रूपमा समेटिनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले ज्ञान आदान–प्रदान र दन्त चिकित्सकबीच व्यावसायिक एकता बलियो बन्ने बताए ।

कार्यक्रममा विशेष अतिथिका रूपमा बङ्गलादेशका प्रख्यात दन्त विशेषज्ञ प्रा. डा. मुस्ताक एच. सत्तार र नेपालका चर्चित मुख तथा दन्त इम्प्लान्ट विशेषज्ञ डा. सीमान्त लामिछानेले मुख्य प्रस्तुति दिएका थिए।

प्रा. डा. सत्तारले आधुनिक डेन्टल इम्प्लान्ट प्रविधि, बोन ग्राफ्टिङ तथा ओरल रिह्याबिलिटेसनका अत्याधुनिक विधिबारे विस्तृत जानकारी गराए।

त्यस्तै डा. लामिछानेले जटिल ओरल सर्जरी, ट्रमा म्यानेजमेन्ट तथा मौखिक क्यान्सरको प्रारम्भिक निदानबारे महत्वपूर्ण ज्ञान साझा गरे। सहभागीहरूको भनाइअनुसार दुवै प्रस्तुति अत्यन्तै उपयोगी र प्रेरणादायी रहे।

नेपाल डेनटल एसोसिएसन पर्साका प्रवक्ता डा. आमिर आलमले कार्यक्रमले दन्त चिकित्सकहरूको सीप अभिवृद्धि र समुदायमा मौखिक स्वास्थ्य जागरूकता विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रम अध्यक्ष डा. धनञ्जय कुमार मालीका अनुसार वीरगंज, पर्सा, बारा र रौतहटका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी दन्त चिकित्सकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सहभागी चिकित्सकहरूले यस्ता शैक्षिक सत्रले दैनिक क्लिनिकल अभ्यासमा नवीनतम प्रविधि अपनाउन सहयोग पुग्ने र बिरामीलाई गुणस्तरीय सेवा दिन प्रेरणा मिल्ने प्रतिक्रिया जनाए।

नेपाल डेनटल एसोसिएसन पर्सा शाखाले आगामी दिनमा पनि यस्ता सीडीई कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ।

जगरनाथपुरमा सम्पन्न चौथो अध्यक्ष कपको उपाधि जागृत युवा क्लबलाई

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित चौथो अध्यक्ष कप–२०८२ को उपाधि जागृत युवा क्लबले जितेको छ। शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा जगरनाथपुर गाउँपालिका–६ को क्रिकेट टिमलाई पराजित गर्दै जागृत युवा क्लब विजयी बनेको हो।

सुरुमा ब्याटिङ गरेको वडा नं. ६ को टोलीले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल बनाएको थियो। १०२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको जागृत युवा क्लबले १३ ओभर ५ बलमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधि आफ्नाे नाममा दर्ता गरायो।

विजेता बनेको जागृत युवा क्लबलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले ५१ हजार रुपैयाँको चेक तथा ट्रफी प्रदान गरे। यस्तै उप–विजेता वडा नं. ६ लाई उपाध्यक्ष बिविता सिंह क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले २५ हजार रुपैयाँको चेक तथा ट्रफी प्रदान गरे।

फाइनल खेलको म्यान अफ द म्याच जागृत युवा क्लबका अनिल महरा घोषित भए। बेस्ट ब्याट्सम्यान क्लबका सुजित पटेल, बेस्ट फिल्डर वडा नं. ६ का सन्दिप पटेल, बेस्ट बलर १९ विकेट लिएका वडा नं. २ का सहजाद देवान तथा म्यान अफ द सिरिज वडा नं. २ कै दिपु राउत बने ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा तथा वीरगंज महानगरपालिका उप–मेयर इम्तियाज आलमको प्रमुख आतिथ्यतामा भएको फाइनल खेलामा जगरनाथपुर–५ का वडाध्यक्ष बिहारी महतो नुनिया, वडा नं. ६ का वडाध्यक्ष अयोध्या प्रसाद कुर्मी, कृषि शाखा प्रमुख दया चौहान लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक रूपनारायण प्रसाद साहले गरेका थिए ।

मधुवाहा क्रिकेट मैदानमा आयोजित फाइनल खेलमा विभिन्न व्यक्तिहरू तथा संस्थाहरूले अतिरिक्त पुरस्कारको घोषणा गरेका थिए र ती पुरस्कारसमेत खेलाडीहरूलाई वितरण गरिएको थियो। फाइन खेला हेर्न स्थानियहरुकाे उत्साहजन उपस्थिती रहेकाे थियाे ।

ठोरीमा जोखिममा परेका बालबालिकालाई न्यानो पोसाक वितरण

0

सेढवा । जोखिममा परेका बालबालिकाको सिकाइ सहज बनाउन दीप नेपालले ठोरी गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, निर्मलबस्तीमा न्यानो पोसाक वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३२ जना विद्यार्थीलाई न्यानो पोसाक प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक गोपीलाल श्रेष्ठले जानकारी दिएका छन्।

त्यस्तै, संस्थाले बिहीबार ठोरी गाउँपालिका–३ मा अवस्थित नेपाल राष्ट्रिय विद्यालयमा १० जना अति विपन्न विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ। विद्यालयका अनुसार पोसाक प्राप्त गरेपछि विद्यार्थीको नियमित कक्षामा उपस्थितिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

विगत चार वर्षदेखि दीप नेपालले बेचबिखनमा पर्न सक्ने तथा विभिन्न जोखिममा रहेका बालबालिकालाई लक्षित गर्दै निरन्तर सिकाइ–सहजीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही क्रममा बालबालिकालाई विद्यालय जाने प्रेरणा बढाउन तथा उनीहरूको आवश्यकतालाई मध्यनजर गर्दै पोसाक वितरण गरिएको संस्थाले जनाएको छ।

यससँगै, दीप नेपालले ठोरी गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षकहरूलाई लक्षित गरी एकदिने अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरेको छ। उक्त कार्यक्रममा जोखिम न्यूनिकरण, सिकाइ पद्धति सुधार तथा बालमैत्री शिक्षा वातावरण निर्माणबारे विशेष प्रशिक्षण प्रदान गरिएको थियो।

दीप नेपालका अध्यक्ष विष्णु सापकोटाका अनुसार संस्था आगामी दिनमा पनि समुदायमा प्रभाव पार्ने क्षेत्रमा निरन्तर काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

मधुमेह दिवसको अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श

0

वीरगञ्ज । विश्व मधुमेह दिवस–२०२५ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको पहल तथा रोटार्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जको सहकार्यमा आज बिहान निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

वीरगञ्जको घडियारवा पोखरीमा आयोजित शिविरमा स्थानीय बासिन्दाहरूलाई ब्लड सुगर परीक्षण, BMI चेकअप, रक्तचाप मापन तथा मधुमेहसम्बन्धी स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। बिहान ६:०० देखि ८:०० बजेसम्म सञ्चालन भएको शिविरमा १४१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए, जसमा १२४ जना पुरुष तथा १७ जना महिला सहभागी रहेका थिए। स्थानीयको उत्साहपूर्ण सहभागिताले समुदायमा मधुमेहप्रति रहेको चासो र जनजागरणको आवश्यकता स्पष्ट देखिएको आयोजकहरूले बताए।

कार्यक्रममा वक्ताहरूले मधुमेह विश्वभर तीव्र रूपमा बढ्दै गएको जनस्वास्थ्य चुनौती रहेको उल्लेख गर्दै यसको रोकथाम, पहिचान तथा नियमित निगरानीका लागि निरन्तर जनचेतना आवश्यक भएको धारणा राखे। साथै, समुदायमुखी स्वास्थ्य सेवालाई सुदृढ बनाउन नेशनल मेडिकल कलेजले पुर्‍याउँदै आएको योगदानको पनि प्रशंसा गरिएको थियो।

कार्यक्रममा नेशनल मेडिकल कलेजतर्फबाट डा. अनिल साह कन्सल्टेन्ट, इञ्जिनियर प्रदीप चौधरी मुख्य सूचना अधिकारी, जितेश चन्द्र दास मार्केटिङ प्रबन्धक, ब्रज किशोर चौधरी ओपरेशन्स तथा क्वालिटी प्रबन्धक, बिश्वनाथ कन्थ वरिष्ठ प्रशासन अधिकृत तथा डा. प्रसान्त भण्डारी प्रेसिडेन्ट–स्टुडेन्ट क्लब उपस्थित थिए।

त्यस्तै, रोटार्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जतर्फबाट रोजनी भट्टराई अध्यक्ष, शुजल ठाकुर सचिव तथा सन्दीप राज ओझा कार्यक्रम संयोजक सक्रिय रूपमा सहभागी भएका थिए। स्थानीय समुदाय, विद्यार्थी, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा रोटार्याक्ट सदस्यहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई सफल, प्रभावकारी र उद्देश्यपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताए।

धनुषामा वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या

0

जनकपुर । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकामा शुक्रबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गर्दा वडा नम्बर–९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या भएको छ।

धनुषा प्रहरीले दिएको जानकारीअनुसार वडाध्यक्ष यादवलाई अज्ञात ब्यक्तिले नजिकैबाट गोली हानेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो। तर उपचारका क्रममा चिकित्सकहरूले बचाउन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ।

प्रहरीले घटनालाई अत्यन्त गम्भीर मान्दै हत्या गर्ने व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ। यसबारे प्रारम्भिक अनुसन्धान भइरहेको र हत्या किन र कसले गरेको हो भन्ने तथ्य खुलाउन प्रहरी सक्रिय रूपमा अघि बढेको समेत जनाएको छ।