Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 201

संघिय र प्रदेश सरकारलाई जसपा नेपालकाे ११ बुँदे ध्यानाकर्षण

वीरगंज । जनता समाजवादी पार्टी, नेपाल (जसपा) पर्साले मधेश प्रदेशमा चर्किएको सुख्खा संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संघीय सरकार र मधेश प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

पार्टीका पर्सा अध्यक्ष राम नरेश प्रसाद यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीलाई संयुक्त रूपमा सम्बोधन गरिएको पत्र बुझाएको हो । जसपाले सरकारको काम केवल ‘घोषणा मै सीमित’ भएको आरोप लगाएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “सरकारले सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरे पनि कुनै ठोस राहत प्याकेज, बजेट वा कार्यनीति ल्याएको छैन। सर्वसाधारणको जीवन अत्यन्तै कष्टकर बनेको छ।”

जसपा नेपालले मधेश प्रदेशका सबै आठवटा जिल्लामा एकैसाथ प्रशासन कार्यालयमार्फत ध्यानाकर्षण गराएको जनाएको छ।

जसपाले सुख्खाग्रस्त क्षेत्रमा अविलम्ब सिँचाइको व्यवस्था, किसानलाई कृषि ऋणमा छुट र मल–बीउको न्यायोचित वितरण, खानेपानी अभावग्रस्त क्षेत्रहरूमा तत्काल राहत, चुरे वन क्षेत्रको संरक्षण र भूमिगत जल पुनर्भरण योजना, बहुउद्देश्यीय जलाशय निर्माण, कृषि यन्त्रमा सहुलियत र अनुदान, चुरे दोहन गर्ने गिट्टी, बालुवा उत्खनन र क्रसर उद्योग बन्द, अधुरा सिँचाइ तथा खानेपानी योजनाहरू तत्काल सम्पन्न गरी सञ्चालनमा ल्याउने लगायतका मागहरु गरेकाे छ ।

जसपा पर्साले दाबी गरेको छ कि वर्तमान सरकार जनताको जीवनका ठोस सवालमा गम्भीर नभएको र संकटका बेलामा ‘केवल कागजी घोषणा’ गरेर पन्छिन खोजेको देखिन्छ।

ध्यानाकर्षण कार्यक्रममा वीरगञ्ज, सर्लाही, बारा, महोत्तरी, धनुषा, रौतहट, सप्तरी र सिरहा जिल्लाबाट समेत समान प्रकृतिको ज्ञापनपत्र बुझाइएको थियो । जसपाले चेतावनी दिँदै भनेको छ कि यदि सरकारका तर्फबाट तत्काल गम्भीर पहल देखिएन भने पार्टी चरणबद्ध संघर्षमा जानेछ ।

धेरै दिनपछि परेको वर्षाले पर्सा–बारा क्षेत्रका किसानको अनुहारमा ल्यायो मुस्कान

वीरगंज । लामो समयदेखि खडेरीको चपेटामा परेको पर्सा र बाराका किसानका लागि हालै परेको झरीले आशा र राहतको संचार गराएको छ । यस क्षेत्रका किसानहरूले लगाएका धानबाली सुक्न थालेको अवस्थामा समयमै परेको वर्षाले खेतबारीमा जीवन थपेको छ।

साउन महिनाको मध्यसम्म समेत वर्षा नहुँदा खेतमा पानी सिँचाइ गर्न नसक्ने अधिकांश किसान तनावमा थिए । बिउ छर्ने, रोपाइँ गर्ने समयमा खेत सुक्खा भएपछि धान उत्पादनमा गम्भीर असर पर्ने देखिएको थियो। तर, पछिल्ला शनिबार रातिदेखिको लगातार झरीले खेतमा पानी जम्न थालेपछि किसानहरू खुशी भएका छन् ।

“पानी नपर्दा धानबाली सुक्न थालेको थियो, अब खेतभित्र पानी जम्यो, धानले नयाँ जीवन पायो,” पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका निवासी किसान रामसनेही यादवले भने।

बाराको सिमरा, कोल्हवी, पर्साको वीरगंज, जगरनाथपुर, ठोरी, पटेर्वा सुगाैली, पाेखरिया, बहुदरमाई, कालिकामाई, पकहाँ मैनपुर, छिपहरमाई लगायतका अधिकांश क्षेत्रमा भएको वर्षाले मौसमी धानको रोपाइँलाई टेवा पुर्‍याएको छ ।

कृषि प्राविधिकहरूका अनुसार यदि आगामी केही दिन यस्तै निरन्तर वर्षा भएमा अहिलेसम्मको धान उत्पादन लक्ष्यमा केही राहत मिल्नेछ। स्थानीय तह तथा कृषि कार्यालयहरूले किसानहरूलाई प्राविधिक सहयोग प्रदान गर्नुपर्ने आवश्यकता रहेको कृषिविद्हरूले सुझाव दिएका छन्।

अहिलेको वर्षा किसानका लागि मात्र होइन, समग्र खाद्य सुरक्षाका लागि पनि सुखद संकेत मानिएको छ।

अन्तर्राष्ट्रिय फुटबलमा वीरगंजका अरनीसकाे ऐतिहास सफलता, नगरपालिकाद्वारा सम्मानित

वीरगंज । वीरगंज महानगरपालिका–१० का युवा फुटबल खेलाडी अरनीस गुप्ताले डेनमार्कमा सम्पन्न विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुँदै ऐतिहासिक सफलता हासिल गरेका छन् ।

जुलाई २० देखि २७ तारिखसम्म डेनमार्कको होरिङ स्टेडियममा आयोजित प्रतियोगितामा उनले AG10 Academy (Goals Academy) बाट नेपालको प्रतिनिधित्व गर्दै अन्डर–१४ समूहमा टिमलाई समूह विजेता बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्।

फाईनल खेलमा केन्याको LEIT Soccer Academy लाई 3–1 गोल अन्तरले पराजित गर्दै नेपाली टिमले उपाधि जितेको हो। अरनीस गुप्ताले राईट फरवार्डको रूपमा खेल्दै एक निर्णायक गोल गरेका थिए।

उक्त उपलब्धिको कदर गर्दै वीरगंज महानगरपालिकाकाले उनलाई सम्मान गरेकाे छ । आइतबार एक कार्यक्रमका बिच मेयर राजेशमान सिंहदले उनलाई विशेष प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । कार्यक्रममा नेपाल ईनोभेट सोसाइटीका अध्यक्ष कमल चौगाई, मेयर सिंहका स्वकिय सचिव सत्यराज घिमिरे तथा विभिन्न खेलप्रेमी उपस्थिति रहेको थियो ।

साे अवसरमा बाेल्दै मेयर सिंहले अरनीसको यो सफलता वीरगंज मात्र नभई सम्पूर्ण नेपालको गौरवको विषय भएको बताए । महानगरपालिकाले भविष्यमा पनि यस्ता युवा प्रतिभाहरूको पहिचान, प्रोत्साहन र सम्मानमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगितामा ब्राजिल, अमेरिका, क्यानडा, मेक्सिको, डेनमार्क, स्पेन, नर्वे, युएईसहित ५० भन्दा बढी देशका २५०० एकेडेमीहरूको सहभागिता रहेको थियो।

१४ वर्षीया बालिकालाई भारत बेच्न लैजाँदै गरेका युवक वीरगंजबाट पक्राउ

वीरगंज । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक युवकलाई पर्सा प्रहरीले भारत लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार जिल्ला पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ का २५ वर्षीय हिरा माझीले काठमाण्डौंकी १४ वर्षीया बालिकालाई प्रेम सम्बन्धमा पारेर विवाह गर्ने र भारतको दिल्लीमा काम लगाइदिने भन्दै प्रलोभन देखाई वीरगंज ल्याएका थिए।

मिति २०८२ साउन १६ गते बिहान करिब ५ बजे वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट सडकखण्डमा बालिकालाई लिएर भारततर्फ लैजाने क्रममा प्रहरी चौकी इनर्वाबाट खटिएको चेकजाँच टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले बालिकालाई सकुशल उद्धार गर्दै हिरा माझीलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

जिराभवानीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

वीरगंज । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५ शंकरसरैयामा घरेलु विवादका क्रममा आफ्नै श्रीमतीको ज्यान लिएका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा साेही ठाउँ निवासी ३२ वर्षीय जितेन्द्र माझी मुसहर रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका मुसहरले मादक पदार्थ सेवनको अवस्थामा श्रीमती असपतलीया देवी मुसहरमाथि हातपात तथा लाठीले घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । घटनाबारे अस्थायी प्रहरी पोष्ट शंकरसरैयामा जानकारी मिल्ने बित्तिकै प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

प्रहरीको सक्रियतामा भाग्ने प्रयासमा रहेका अभियुक्तलाई घेराबन्दी गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले  जानकारी दिएको छ ।

साथै, इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट SoCo टोली खटाई घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगंज पठाइएको छ।

पक्राउ परेका मुसहरलाई कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

राहत योजना बिना मधेसलाई विपद क्षेत्र घोषणा सरकारको नालायकीपन : प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मधेसलाई राहत प्याकेजबिनै विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु सरकारको गम्भीर लापरवाही र नालायकीपन भएको आरोप लगाएका छन्।

बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा आजपाद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष साहले जलसंकटग्रस्त मधेसमा राहत र दीर्घकालीन समाधान योजना बिना गरिएको घोषणाले जनतालाई झन बढी पीडामा पारेको बताए।

उनले भने, “सरकारले मधेसमा जलसंकट देखिएपछि आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा त गर्‍यो, तर आजसम्म कुनै राहत प्याकेज ल्याएको छैन। के सरकारले पीडित जनताको वेदना बुझ्ने प्रयास गरेन? घोषणामात्रै गरेर सरकार जनताको आँखा छलीरहेको छ।”

अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणामाथि पनि प्रश्न उठाउँदै भने, “प्रधानमन्त्री हेलिकप्टरमा सैयर गर्दै आएर पाँच सय डिपबोरिङ गाड्ने प्रतिवद्धता गर्नुभयो, तर ती डिपबोरिङ कहाँ छन् भन्ने कसैलाई थाहा छैन। यो त जनताको भावनासँग भद्दा मजाक हो।”

उनले सरकारलाई तत्काल राहत प्याकेज ल्याउन र पानी समस्या समाधानका लागि दीर्घकालीन योजना अघि बढाउन आग्रह गरे। “चापाकल, इनार सुकेका छन्, जनता पानीको थोपा–थोपा लागि तडपिरहेका छन्। यस्तो गम्भीर समस्यालाई सरकारले हेलचक्राइ गर्नु अत्यन्त दुर्भाग्यपूर्ण छ,” उनले भने।

आजपा बाराका अध्यक्ष राजकिशोर साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टी कार्यलय सदस्य त्रीभुवन साह, मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, पार्टी नेता बिजय यादव, लखिन्द्र साह, पर्सा जिल्ला अध्यक्ष बिशवराज पटेल, पार्टी आयोजक कमिटि सदस्य राकेश बैठा, अरबिन्द साह, अरुण चौधरी, किरण यादव लगाएतकाे सहभागी रहेको थियो ।

नारायणी अस्पताल : डा. अभिषेकको पहल र टोलीको समर्पणले जोगियो धर्मपालको जीवन

वीरगंज । पर्साकाे सखुवाप्रसौनी गाउँपालिका–१ का २२ वर्षीय धर्मपाल भण्डारीलाई साउन ८ गते दिउँसो करिब १ बजेतिर उनको दाजु रामसरण भण्डारी, भाउजु र दिदीको साथमा वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइयो । धर्मपालको शरीरको झन्डै ८० प्रतिशत छालामा डढेलो झैँ असर परिसकेको थियो। अवस्था अत्यन्तै नाजुक थियो रगत निस्किरहेको, छाला खसेको, बोल्नै नसक्ने अवस्था।

धर्मपाललाई छालासम्बन्धी एक दुर्लभ, प्राणघातक र जटिल रोग टोक्सिक इपिडर्मल नेक्रोलाइसिस (TEN) लागेको पुष्टि भयो। यो रोगमा सामान्यतः ३०–४० प्रतिशत छालाको असर हुँदा पनि ज्यान जोखिममा पर्न सक्छ, तर धर्मपालको अवस्थामा त्योभन्दा दोब्बर बढी क्षति भइसकेको थियो।

नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएलगत्तै वरिष्ठ छाला रोग विशेषज्ञ डा. अभिषेक सुमन स्वयं आकस्मिक कक्षमा पुगेर धर्मपालको तत्काल परीक्षण गरे। उनले अवस्था अत्यन्त गम्भीर रहेको भन्दै तुरुन्तै ICU (सघन उपचार कक्ष) मा सार्न निर्देशन दिए। तर यथार्थ त्यत्तिकै सहज थिएन — ICU बेड खाली भए तापनि व्यवस्थापन मिल्न सकेको थिएन।

धर्मपालका दाजु, भाउजु र दिदीले अस्पताल प्रशासनसँग निरन्तर आग्रह गरे। राति करिब ८ बजेतिर मात्र ICU बेड नम्बर ‘ए’ उपलब्ध भयो र धर्मपाललाई सघन उपचार कक्षमा भर्ना गरी उपचार सुरु गरियो।

ICU मा कार्यरत चिकित्सक डा. इमरान, डा. अभय, डा. नूर, डा. शहाबुद्दीन र समर्पित नर्सिङ टोलीले धर्मपालको जीवन रक्षामा रातदिन एक बनाए। त्यस्तै, नारायणी अस्पतालको मेडिसिन विभागले पनि निरन्तर निगरानी र निर्णयमा सघाएको थियो।

चार दिन ICU मा राखेर उपचार गर्दा पनि अवस्था सहज भएन। छाला र मेडिसिन विभागको समन्वयमा थप परीक्षण र गम्भीर निर्णय लिइयो। अवस्था जटिल हुँदै गएपछि बाह्य केन्द्रमा रिफर गर्न सुझाव दिइयो। तर आर्थिक अवस्था कमजोर भएको धर्मपालको परिवारले बाहिर लैजान सक्ने अवस्था थिएन।

यही संवेदनशील मोडमा डा. अभिषेक सुमन फेरि भगवान बनेर उदाए। उनी आफैंले जिम्मेवारी लिएर भने, “उहाँलाई यहीँ उपचार गर्छु, बाहिर लैजान आवश्यक छैन।” त्यसपछि डा. अभिषेककै नेतृत्वमा सुरु भयो गम्भीर अवस्थाको TEN रोगको गहन उपचार प्रक्रिया।

डा. अभिषेक भन्छन्, “धेरैजसो यस्ता केस झोलाछाप औषधि वा घरेलु उपचारले बिग्रन्छन्। हामीले समयमै पहिचान गरेर सही उपचार गरेकै कारण उहाँलाई बचाउन सफल भयौं। उनका अनुसार धर्मपाल अहिले पूर्ण रूपमा खतरामुक्त भइसकेका छन्।

धर्मपालका दाजु, भाउजु र दिदी सबैको अनुहारमा आज खुशी छ। धर्मपालकी दिदी मञ्जु जोशी भन्छिन्, “हाम्रो भाईलाई बचाउने डाक्टर नै साक्षात भगवान हुन्। भाउजु रिनु देवी अझ भावुक हुँदै भन्छिन्, “उहाँको नाम थाहा छैन तर अनुहार जीवनभर बिर्सिन्न। नारायणीका त्यो दाह्रीपालेको डाक्टरले हाम्रो देवर बचाउनु भयो।

बिरामी धर्मपाल पनि मुस्कुराउँदै भन्छन्, “म त बाबा धाम जान लागेको थिएँ, तर भगवान यहीँ नारायणी अस्पतालमा भेटेँ। डाक्टर साँच्चै भगवानको दोस्रो रूप हुन् भन्ने अहिले बुझें। कहिलेकाहीँ जीवन त्यस्तो मोडमा पुग्छ, जहाँ आँसु नै सहारा हुन्छ। अनि त्यहीँ कतैबाट कोही एक डाक्टर, एक मानव भगवान बनेर उभिन्छन्। धर्मपालको जीवनमा यस्तै सहारा बने डा. अभिषेक सुमन।

नारायणी अस्पताल अझै पनि सर्वसाधारणको आशाको केन्द्र रहेछ भन्ने पुष्टि गर्ने यो एउटा उदाहरण मात्रै हो। अझै पनि केही इमानदार चिकित्सक बाँकी छन्, जसले धन हैन, जीवन प्राथमिकता हो भन्ने मूल्य बचाइरहेका छन्।

औषधी बिक्री प्रबन्धक संगठनको नयाँ कार्यसमिति चयन

वीरगंज ।  नेपाल औषधीगत बिक्रीकाे प्रबन्धक संगठन वीरगंजकाे शनिबार भेला सम्पन्न भएकाे छ । वीरगंजकाे आदर्शनगरस्थित हाेटल पुजनमा भएकाे भेलाले महबुब आलमकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसहमत चयन गरेकाे छ ।

नयाँ कार्यसमितिकाे उपाध्यक्षमा प्रविन मिश्रा, महासचिवमा अवधेश साह, प्रथम सह सचिवमा नरेन्द्र कुशवाहा, द्वितिय सह सचिवमा विनय द्विवेदी, काेषाध्यक्ष सन्नी द्विवेदी र सह काेषाध्यक्षमा राम नरेश यादव चयन भएका छन् । यसैगरी कार्यसमितिकाे सदस्यमा उमेश साह, सतिश ठाकुर, विवेक ठाकुर, कृष्णा सर्राफ, बाला गाेशाई, रेयाज अन्सारी, ध्रुव कुमार कर्ण र मुन्ना सर्राफ पनि सर्वसहमत चयन भएका छन् ।

समितिकाे सल्लाहकारमा राेजन सिंह, स्याजुलदिन मियाँ, सुशिल सिंह, प्रेम चाैरसिया र नवनित कुमार सिंह रहेकाे समितिका नवनिर्वाचित सह सचिव विनय द्विवेदीले जानकारी दिए ।

भोजपुरी फिल्म ‘सइयां जी की जय हो’ को ट्रेलर सार्वजनिक

वीरगंज । भोजपुरी फिल्मका चर्चित अभिनेता विक्रांत सिंह राजपूत फेरि एकपटक नयाँ धमाकेदार फिल्म लिएर दर्शकमाझ आएका छन् । हालै सार्वजनिक गरिएको फिल्म ‘सइयां जी की जय हो’ को ट्रेलरले चार मिनेटको छोटो अवधिमै प्रेम, रोमाञ्च र हास्यव्यंग्यको पूर्ण मनोरञ्जन दिने संकेत दिएको छ।

ट्रेलरको सुरुवातमै विक्रांतको दमदार इन्ट्री र मजेदार शैलीले दर्शकलाई तान्ने काम गरेको छ । ट्रेलरमा देखिएअनुसार, फिल्ममा उनी तीन सुन्दर नायिकाहरू चाँदनी सिंह, जोया खान र प्रीति मौर्यसँग रोमान्स गरिरहेका छन्, जसले चलचित्रलाई मसालेदार रोमान्टिक कमेडीको रुप दिएको छ।

फिल्ममा विक्रांत र नायिकाहरूबीचको राेमान्स, आकर्षक संवादहरू र हल्का हास्यले दर्शकलाई हँसाउने र रोमाञ्चित गराउनेछ भन्ने अनुमान गर्न सकिन्छ।

भोजपुरी फिल्म उद्योगमा लामो समयदेखि सक्रिय विक्रांत सिंह राजपूतको यो फिल्म दर्शकमाझ कत्तिको प्रभाव पार्छ भन्ने हेर्न बाँकी नै छ, तर ट्रेलरले भने उत्सुकता बढाइदिएको छ।

मधेस प्रदेश सरकारले १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण गर्दै

जनकपुरधाम । पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ ।
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो ।
धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिनुभयो । जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा एक हजार दुई सय स्यालो ट्युबवेल वितरण गरिने उहाँको भनाइ छ ।
एउटा स्यालो ट्युबवेल जडान गर्न रु एक लाखदेखि तीन लाखसम्म खर्च हुने मन्त्रालयको अनुमान  छ । साथै सोलार जोड्दा थप खर्च हुनेछ । ट्युबवेल जडान गर्दा  पानीको सतह (गहिराई) कति छ त्यसको आधारमा खर्च लाग्ने उहाँको भनाइ रहेको छ ।
स्यालो ट्युबवेल वितरणका लागि अहिले सातदिने सूचना जारी गरिएको छ । एउटा ट्युबवेल लिनका लागि दुई बिघा खेतीयुक्त जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्ने छ ।
मन्त्रालयले पानीको अभावमा मधेस प्रदेशमा अहिलेसम्म ५० प्रतिशत धानखेती भएको जनाएको छ । रासस