Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 200

शिक्षण संस्थामा मानव बेचबिखन र लागुऔषध बारे जनचेतना

वीरगंज । वीरगंज महानगरपालिका–१६ स्थित सनलाईट कलेजमा बुधबार एक विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी “मानव बेचबिखन तथा लागुऔषध ओसार–प्रसार” सम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको थियो । वडाप्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं कार्यक्रमका प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्रका वरिष्ठ सल्लाहकार श्याम केसीले गर्नुभएको थियो ।

कार्यक्रममा सनलाईट कलेजका प्रिन्सिपल आलोक चौरसिया, समाजसेवी मार्टिन मोक्तान, नन्दलाल राउत, प्रहरी हवल्दार कुमार विक, तारा बिष्ट, सन्तोषमान रंजितकार, टोल सुधार समाजका अध्यक्ष नन्दलाल अहिर लगायत समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि चौलागाईंले मानव बेचबिखनका विविध स्वरूप, त्यसको कानुनी व्याख्या, जोखिमबाट बच्ने उपाय तथा लागुऔषधको दुष्परिणामबारे विद्यार्थीहरूलाई विस्तृत जानकारी दिनुभयो । साथै, उहाँले कुनै पनि आपराधिक गतिविधि देखेमा प्रहरीलाई तुरुन्त खबर गर्न आग्रह गर्दै विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वप्रति सजग रहन प्रेरित गर्नुभयो।

विद्यार्थीहरूले कार्यक्रमप्रति उत्साहजनक सहभागिता जनाए, सोधपुछ र विचार आदानप्रदानमार्फत उनीहरूको विषयप्रतिको चासो र चेतना स्पष्ट रूपमा देखिएको थियो।

कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझीले गर्नुभएको थियो। आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य युवावर्गमा मानव बेचबिखन तथा लागुऔषधसम्बन्धी चेतना फैलाउने, सुरक्षाका उपायहरूबारे जानकारी दिनु तथा अपराधमुक्त समाज निर्माणमा उनीहरूको सक्रिय भूमिका स्थापित गर्नु हो।

“एक घर, एक बिरुवा” अभियानअन्तर्गत वीरगंजमा फलफूलका बिरुवा निःशुल्क वितरण सुरु

वीरगंज । वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वीरगंज महानगरपालिकाले थालेको “एक घर, एक बिरुवा” अभियान अन्तर्गत बुधबार घण्टाघर चोकमा फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ।

उक्त अभियानको शुभारम्भ कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंह स्वयं उपस्थित भई स्थानीयवासीलाई बिरुवा वितरण गर्नुभयो। कार्यक्रममा आँप, लिच्ची, कागती, अनार, अम्बा र बेलजस्ता लोकप्रिय फलफूलका बिरुवाहरू वितरण गरिएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले भन्नुभयो, “हरियालीले शहरलाई स्वस्थ बनाउँछ, र प्रत्येक घरको आँगनमा एक बिरुवा रोप्न सके हामीले वातावरणीय सन्तुलनमा ठूलो योगदान दिन सक्छौं। सहरी विकाससँगै हरित विकास पनि उत्तिकै आवश्यक छ।”

महानगरको कृषि शाखा प्रमुख रोशनी यादवका अनुसार अभियानअन्तर्गत करिब ५ हजार बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ। यस अभियानको शुरुवात बुधबार घण्टाघर चोकबाट गरिएको हो।

महानगरपालिकाले यो अभियानलाई सार्वजनिक स्थल, विद्यालय, धार्मिक स्थल तथा इच्छुक घरधुरीहरूमा विस्तार गर्दै लाने योजना बनाएको छ।

मन्त्री प्रदीप यादवको निर्देशनमा गणेश टोलमा डीप बोरिङ जडान, स्थानीयले पूजा गरी गरे सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ अन्तर्गत नगवास्थित गणेश टोलमा खानेपानीको चरम संकट झेलिरहेका स्थानीयवासीलाई लक्षित गर्दै नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा डीप बोरिङ जडान गरिएको छ।

भूसतहको पानी सुक्दै जाँदा चापाकलहरूले काम गर्न छोडेपछि गम्भीर समस्या झेलिरहेका स्थानीयहरूको आग्रहमा स्थानीय युवा नेता अरुण यादवको पहलमा मन्त्री यादवले हस्तक्षेप गर्दै तत्काल डीप बोरिङ जडानको निर्देशन दिएका थिए।

नयाँ जडान गरिएको डीप बोरिङको उद्घाटन हिन्दु परम्परा अनुसार पूजापाठ गरी सम्पन्न भएको मन्त्री यादवका स्वकीय सचिव हरिन्द्र साहले जानकारी दिए। उनका अनुसार बोरिङबाट पानी वितरण गर्न पाइपलाइन विस्तारको काम पनि आजैबाट सुरु गरिएको छ। यसबाट पाँच दर्जनभन्दा बढी घरधुरीलाई स्वच्छ खानेपानी आपूर्ति हुने अपेक्षा गरिएको छ।

डीप बोरिङसँगै दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की स्थापनाको योजना समेत रहेको बताउँदै साहले ट्याङ्कीले पानी भण्डारण र वितरणमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे।

बोरिङ जडान र पाइपलाइन विस्तारको कार्य सुरु भएसँगै गणेश टोलका स्थानीयवासीमा ठूलो उत्साह छाएको छ। उनीहरूले नियमित पानी आपूर्तिले दैनिकी सहज हुने आशा गर्दै यस्ता जनमुखी कामलाई निरन्तरता दिन माग गरेका छन्।

स्थानीयवासी पाशपति देवी जयसवालले भनिन्, “पानीको संकटले हाम्रो जीवन कठिन बनाएको थियो। मन्त्री प्रदीप यादवज्यूको पहलमा छिट्टै समाधान भएकामा हामी आभारी छौं।” अर्का स्थानीय राहुल गिरीले पनि मन्त्री यादवको छरितो कार्यशैलीको प्रशंसा गर्दै यो कामले समुदायमा ठूलो परिवर्तन ल्याएको बताए।

स्वकीय सचिव साहका अनुसार, मन्त्री यादवको कार्यकालमा वीरगञ्ज महानगरपालिका सहित पर्सा जिल्लाका विभिन्न स्थानीय तहमा हालसम्म ३०० भन्दा बढी डीप बोरिङ जडान भइसकेका छन्। ती बोरिङहरूले हजारौं परिवारलाई स्वच्छ खानेपानीको पहुँच दिलाएको छ।

“मन्त्रीज्यूको प्रमुख प्राथमिकता जनताको आधारभूत आवश्यकता समाधान गर्नु हो,” साहले भने, “खानेपानीको समस्या समाधानमा उहाँ निरन्तर सक्रिय रहनुभएको छ।”

सगरमाथा स्कूलकी अर्पिता गुप्तालाई काठमाडौंको प्रतिष्ठित विद्यालयमा पूर्ण छात्रवृत्ति

वीरगंज । सगरमाथा स्कूल, मुर्ली–१२, वीरगञ्जकी मेधावी छात्रा अर्पिता गुप्ताले काठमाडौं महानगरपालिकाको शिक्षा विभागद्वारा आयोजित छात्रवृत्ति छनोट परीक्षा २०८२ मा सफलता हासिल गर्दै Kathmandu School of Central State, Kalimati (KMC–13) मा कानुन (Law) विषय अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छन्।

एसईई परीक्षा (रोल नं. 03709435 O) मा उत्कृष्ट प्रदर्शन गरेकी अर्पिताले छात्रवृत्तिका लागि योग्य ठहरिँदै विद्यालय र परिवारको नाम गौरवका साथ उज्यालो पारेकी हुन्। विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा सहपाठीहरूले अर्पिताको यो उपलब्धिलाई प्रेरणादायी र गौरवको विषय भन्दै उनको उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरेका छन्।

यसअघि पनि सगरमाथा एकेडेमीका विद्यार्थीहरूले राष्ट्रियस्तरमा सफलता हासिल गर्दै शैक्षिक प्रतिष्ठा कायम राख्दै आएका छन्। हालै मात्र सोही विद्यालयकी करिश्मा गुप्ताले नेशनल प्याब्सन मेघा छात्रवृत्ति (कक्षा ११/१२) मा पूर्ण छात्रवृत्ति प्राप्त गरेकी थिइन्।

विद्यालय प्रशासनले यस्ता निरन्तर सफलताहरूले आफ्ना विद्यार्थीहरूको प्रतिभा, अनुशासन र विद्यालयको गुणस्तरीय शिक्षाको प्रमाणित गरेको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहित गर्न कटिबद्ध रहेको जनाएको छ।

वीरगंजमा २०औं अडान दिवस प्रभातफेरी निकालेर मनाइयाे

वीरगंज । नेपाल अडिटर्स एशोसिएशन (अडान) पर्साको आयोजनामा मंगलबार २०औं अडान दिवस भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । दिवसको अवसरमा लेखापरीक्षकहरू वीरगंजकाे घण्टाघरमा भेला भई “अडान दिवस” लेखिएको ब्यानरसहित आदर्शनगर, घडिअर्वा, माईस्थान परिक्रमा गर्दै पुनः घण्टाघरमा फर्किएर प्रभातफेरी सम्पन्न गरेका हुन् ।

अडान पर्साका अध्यक्ष गजेन्द्र मान सिंहको अध्यक्षतामा भएकाे काेण सभालाई अडानका केन्द्रीय सदस्य दिनानाथ रौनियार, डा. सन्तोष कुमार गुप्ता लगायतकाले सम्बोधन गरेका थिए।

कार्यक्रममा मधेश प्रदेश अडानका उपाध्यक्ष हृदय मोहनलाल दास, अडान पर्साका पूर्व अध्यक्ष प्रदुम्न प्रसाद सेढाई, पदाधिकारी प्रेमचन्द्र चौरसिया, रामबाबु साह, तथा सदस्यहरू श्याम नारायण श्रेष्ठ, रोशन श्रेष्ठ, अरुण कुमार बर्मा, अनिल कुमार कर्ण, जयन्त चौरसिया लगायत लेखापरीक्षक उमेशचन्द्र यादव, श्याम ठाकुर, किशोर गुप्ता, दीपक उपाध्याय, प्रेम उपाध्याय, बैजनाथ साह तथा लेखा सहयोगीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दिवसकै अवसरमा साउन ९ गते वीरगंजस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय भिस्वाका ५१ जना विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरिएको अडान पर्साका काेषाध्यक्ष रामबाबु साहले जानकारी दिए । कार्यक्रमको सञ्चालन अडान पर्साका सचिव कुलोत्तम पोखरेलले गरेका थिए ।

पोखरियाको लमरिया विद्यालयमा खानेपानीका लागि मोटर सहयोग

पोखरिया । पर्साको पोखरिया नगरपालिका–२ स्थित लमरिया विद्यालयमा सुरक्षित र सहज खानेपानी आपूर्तिका लागि उपकार सेवा नेपालद्वारा मोटर हस्तान्तरण गरिएको छ। विद्यालयका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको स्तर सुधार गर्ने उद्देश्यले सोमबार विशेष समारोहका बीच उक्त सहयोग कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विधा देवी सरावगीको विशेष उपस्थितिमा मोटर हस्तान्तरण गरिएको थियो। सो अवसरमा समाजसेवी प्रकाश थारु, स्थानीय अगुवा तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसअघि पनि उपकार सेवा नेपालले सोही क्षेत्रमा रहेका विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा पंखा वितरण गर्दै राहत पुर्‍याएको थियो। झखरा विद्यालयमा थप पंखा उपलब्ध गराउने प्रतिबद्धता पनि संस्थाले जनाएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष सरावगीले आउँदा दिनहरूमा समेत समाजोपयोगी गतिविधिमा संस्थाले निरन्तर सक्रियता जनाउने बताउँदै समस्त दाताहरूप्रति आभार प्रकट गरिन्। उनले स्थानीय सशक्तिकरण र सेवा प्रवाहमा निरन्तर योगदान पुर्‍याउने संस्थाको उद्देश्य दोहोर्याइन्।

विद्यालय परिवार तथा स्थानीयवासीले उपकार सेवा नेपालप्रति आभार व्यक्त गरेका छन्।

गुठी संस्थान र पत्रकार महासंघ, मधेश प्रदेशबीच लिज सम्झौता

वीरगंज । गुठी संस्थान र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीच ऐतिहासिक लिज सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार, गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको श्री राम मन्दिर गुठी अन्तर्गतको ०–४–०–० बिगाहा (चार कठ्ठा) जग्गा पत्रकार महासंघलाई लिजमा प्रदान गरिनेछ।

महासंघले सो जग्गामा व्यावसायिक प्रयोजनका लागि आधुनिक संरचना निर्माण गर्ने लक्ष्य लिएको छ। जनकपुरधामलाई सूचना, सञ्चार र सामाजिक सेवाको केन्द्रबिन्दु बनाउने योजनाअन्तर्गत भवन निर्माण गरिने महासंघले जनाएको छ।

गुठी संस्थान सञ्चालक समितिको निर्णयपछि सार्वजनिक सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरिएको थियो। प्राप्त प्रस्तावहरूमध्ये पत्रकार महासंघको प्रस्ताव प्राविधिक र आर्थिक दृष्टिले उत्कृष्ट ठहरिएको संस्थानले जनाएको छ।

सम्झौताअनुसार निर्माणको पूरै लागत महासंघले आफैं व्यहोर्नेछ। साथै, सबै नक्सा, प्राविधिक प्रतिवेदन, लागत अनुमान र कार्यतालिका गुठी संस्थानमा पेश गरिनुपर्नेछ। संरचना निर्माण कार्य नेपालका प्रचलित भवनसम्बन्धी मापदण्ड तथा कानुनी व्यवस्थाअनुसार गरिनुपर्ने स्पष्ट प्रावधान छ।

गुठी संस्थानका प्रतिनिधिहरूले निष्क्रिय सम्पत्तिको उत्पादक उपयोग गर्दै स्थानीय रोजगारी, पूर्वाधार विकास र सेवा विस्तारमा यो सहकार्यले योगदान दिने विश्वास व्यक्त गरेका छन्।

सम्झौताअनुसार, जग्गाको स्वामित्व गुठी संस्थानकै रहनेछ भने महासंघले पुनः बहालमा दिने अधिकार मात्र पाउनेछ। हक हस्तान्तरण गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।

सम्झौता सम्बन्धी सबै कर, दस्तुर, स्वीकृति र कानुनी प्रक्रिया महासंघले नै व्यहोर्नेछ। सम्झौता हस्ताक्षरको अवसरमा पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, प्रदेश अध्यक्ष श्याम बञ्जारा, सम्पूर्ण पदाधिकारी तथा गुठी संस्थानका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

यो सम्झौता मधेश प्रदेशभरिका पत्रकारहरूका लागि दीर्घकालीन पूर्वाधार निर्माण र पत्रकारिता सशक्तीकरणतर्फको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ। पत्रकार महासंघभित्र यसले नयाँ उत्साह र सम्भावनाको वातावरण सिर्जना गरेको छ।

ठोरी गाउँपालिकामा लालपुर्जा वितरणका लागि नापनक्सा सुरु

वीरगंज । पर्साकाे ठोरी गाउँपालिकामा लालपुर्जा प्राप्त गर्न बाँकी रहेका जग्गाहरूको नापनक्सा उद्घाटन कार्यक्रम साेमबार सम्पन्न भएको छ।

गाउँपालिकाको सभाहलमा आयोजित समारोहमा भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले डिजिटल मेसिनको बटन थिचेर औपचारिक उद्घाटन गरे ।

गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नापी कार्यालय पर्साका प्रमुख दिपक सिंह, नापी अधिकृत राजकुमार बिश्वकर्मा, सर्भेक्षक मधुरेन्द्र झा, ठोरी गाउँपालिका–४ का वडाध्यक्ष मान बहादुर थिङ, वडा नं. १ का अध्यक्ष धनमान थापा, जिल्ला समन्वय समिति पर्साकी सदस्य शुशिला विक, कार्यपालिका सदस्य देबिमाया थिङ, फुलमाया दर्जी लगायत जनप्रतिनिधिहरूको उपस्थिति थियो।

वडा नं. ४ का अध्यक्ष मान बहादुर थिङले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा भूमि समस्या सहजीकरण समिति सदस्य राम बहादुर श्रेष्ठ, पूर्व वडाध्यक्ष बही बहादुर पाख्रीन, बिजयबस्ती माविका प्रधानाध्यापक नारायण लामा, कार्यपालिका सदस्य फुलमाया दर्जी लगायतले मन्तव्य राखेका थिए ।

आयोग अध्यक्ष तवरेज अहमदले कार्यक्रमलाई सम्बोधन गर्दै आगामी दशैंको समयमा केही लालपुर्जा वितरण गरिसक्ने योजना रहेको जानकारी दिए ।

त्यस्तै, गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले ठोरीबासीका लागि यो अत्यन्तै अनुकूल अवस्था रहेको उल्लेख गर्दै नापी टोलीलाई पूर्ण सहयोग गर्न सबैमा आग्रह गरे ।

संचारकर्मी लक्ष्मी खरेलले सहजीकरण गरेकी कार्यक्रममा करिब १५० जना स्थानीयवासीको सहभागिता रहेको थियो।

पेस्तोलसहित प्रसाैनी भाठाका खाँ पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट अवैध हतियारसहित एक युवकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा घर भई हाल वीरगंज महानगरपालिका–१६ इनर्वा स्थित ससुरालीमा बस्दै आएका ४० वर्षीय साहेब खाँ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, खाँ कटुवा पेस्तोल बोकी इनर्वा गाउँमा स्थानीयलाई डरत्रास देखाउँदै हिँडिरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले उनलाई आइतबार साँझ नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता, डिएसपी किशोर लम्सालका अनुसार, खाँविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी सात दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले यस्ता गतिविधिलाई गम्भीर रुपमा लिएको जनाएको छ र भविष्यमासमेत यस्ता आपराधिक क्रियाकलापमा संलग्न जो-कोहीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।

पर्सा ट्राफिक कार्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न

वीरगंज । पर्सा जिल्लाको ट्राफिक प्रहरी कार्यालय परिसरमा वातावरण संरक्षण र सौन्दर्यकरणको उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको नेतृत्व ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्टले गरेका थिए ।

कार्यक्रम अन्तर्गत कार्यालय हाताभित्र आँप र लिच्चीका गरी करिब ५५ वटा फलफूलका विरुवा रोपिएको जानकारी दिइएको छ । वृक्षारोपणमा ग्रीनसिटी सामुदायिक प्रहरी, आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको विशेष सहयोग रहनुका साथै अन्य प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

इन्स्पेक्टर भट्टले बताएअनुसार, “वृक्षारोपणले कार्यालय परिसरलाई हराभरा र आकर्षक बनाउनुका साथै सेवा लिन आउने सर्वसाधारणलाई पनि सहज वातावरण प्रदान गर्नेछ । साथै, यसले पर्यावरणीय सन्तुलनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।”

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकराज भट्ट, प्रहरी बरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेल, हवल्दार, सिपाही लगायत अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले प्रहरी प्रशासन र स्थानीय समुदायबीचको सहकार्यलाई मजबुत बनाएको छ । वृक्षारोपणलाई निरन्तरता दिई फलदायी बनाउन आवश्यक संरक्षण र पालनपोषणको व्यवस्था गर्ने कार्यालयको भनाइ छ ।

यो वातावरणमैत्री पहलले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई नागरिकमैत्री र जिम्मेवार संस्थाका रूपमा स्थापित गर्न थप मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ ।