Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 199

वीरगंज बलात्कार घटनाकाे दोषीमाथि कडा कारबाहीको माग

वीरगंज । वीरगंज महानगरपालिका–१३ स्थित राधेमाई टोलमा घटेको एक विभत्स बलात्कार घटनाले सिङ्गो समाजलाई स्तब्ध बनाएको छ ।

मोटरसाइकल मर्मत पेशामा संलग्न नेक मोहम्मद र अफ्ताब अन्सारी नामका दुई व्यक्तिले एक निर्दोष किशोरीलाई तीन दिनसम्म बन्धक बनाई बसपार्कस्थित एक होटलमा बलात्कार गरेको र त्यसपछि गम्भीर अवस्थामा घडिअर्वा पोखरीको गल्लीमा फालेको घटनाले जनमानसमा गहिरो आक्रोश सिर्जना गराएको छ ।

यस घटनाको विरोधमा राष्ट्रिय समता पार्टी नेपाल, वीरगंज महानगर समितिले नगर संयोजक अमर सर्राफको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, पर्सामा ध्यानाकर्षण पत्र बुझाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालाई बुझाइएकाे उक्त पत्रमा यो घटना केवल एक चेलीमाथिको हिंसा नभई सम्पूर्ण समाजका चेली–बेटीहरूको अस्मितामाथिको गम्भीर प्रहार रहेको उल्लेख गरिएको छ ।

पार्टीले दोषीहरूमाथि निष्पक्ष र कठोर कानुनी कारबाहीको माग गर्दै, कुनै पनि प्रकारको राजनीतिक संरक्षण, मिलोमतो वा दबाबका आधारमा अपराधीलाई उन्मुक्ति दिने प्रयास भए त्यसको कडा प्रतिवाद गरिने चेतावनी दिएको छ । साथै, आवश्यकता परेमा सडक आन्दोलनमा उत्रनुपर्ने अवस्था आउन सक्ने समेत पार्टीले स्पष्ट पारेको छ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ । स्थानीयवासी र विभिन्न सामाजिक संघसंस्थाहरूले पनि दोषीलाई कडा सजाय दिन माग गर्दै आवाज उठाएका छन् ।

आदर्शनगर रंगशालाको संयोजकमा खेतान नियुक्त

वीरगंज । वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालाको संरक्षण, सम्वर्द्धन, मर्मत–सम्भार तथा प्रभावकारी सञ्चालनका लागि गोपाल प्रसाद खेतानलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

वीरगंज महानगर प्रमुख राजेशमान सिंहद्वारा हस्ताक्षरित पत्रमार्फत खेतानको नियुक्ति गरिएको हो । पत्रमा उल्लेख भएअनुसार, खेतानले विगतमा रंगशालाको व्यवस्थापन तथा संरक्षणमा पुर्‍याएको योगदानलाई मध्यनजर गर्दै उनलाई यो जिम्मेवारी दिइएको हो ।

महानगरले अब रंगशालालाई विशुद्ध खेलकुद क्षेत्रको वृत्ति विकास र स्तरोन्नयनमा केन्द्रित गर्ने नीति लिएको छ । सोही नीति कार्यान्वयनमा सघाउ पुगोस् भनेर खेतानको संयोजकका रूपमा नियुक्ति गरिएको बताइएको छ ।

खेतानले रंगशालाको समग्र समन्वय, आवश्यक मर्मत–सम्भार, व्यवस्थापन तथा स्थानीय खेल गतिविधिलाई प्रोत्साहन गर्ने कार्यमा आफ्नो अनुभव, सिप र दक्षता प्रयोग गर्ने अपेक्षा गरिएको छ ।

महानगर प्रमुख सिंहले खेतानको सफल कार्यकालको शुभकामना दिँदै ईमान्दारिता र लगनशीलताका साथ दायित्व निर्वाह गर्न आग्रह गरेका छन् ।

आदर्शनगर रंगशाला वीरगंजको एक महत्वपूर्ण खेल संरचना हो, जहाँ विभिन्न खेल तथा कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । पछिल्ला केही वर्षमा यसको संरक्षण तथा स्तरोन्नतिको माग बलियो रूपमा उठ्दै आएको थियो।

बागमतीका मेयर भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा दाेषी ठहर

काठमाडौं । सर्लाहीस्थित बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका छन्।

अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापासहित तीन जनालाई दोषी ठहर गरेको हो। थापासँगै विमलकुमार पोखरेल र सागर पौडेल पनि दोषी ठहर भएका छन्।

विशेष अदालतका अनुसार बागमती नगरपालिकामा मूल्य अभिवृद्धि कर (VAT) सहित रु ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थको हानिनोक्सानी भएको पुष्टि भएको छ।

यसैगरी, थापालाई गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा पनि दोषी ठहर गर्दै अदालतले फैसलामा उल्लेख गरेअनुसार उनको कुल आय रु ९ करोड १४ लाख ३१ हजार ९१ पैसा मात्र भए पनि व्यय रु १२ करोड ५९ लाख ५३ हजार १४ पैसा देखिएको हो।

अदालतले थापाले रु ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको ठहर गर्दै एक वर्ष कैद र सोही बराबरको जरिवाना गर्ने फैसला सुनाएको छ। साथै सो सम्पत्ति र त्यसबाट बढाइएको सम्पत्ति जफत गर्ने आदेश पनि दिएको छ।

यही साउन २९ गते दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारणका लागि पुनः पेशी तोकिएको छ।

त्यसैगरी, अन्य प्रतिवादीहरू लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई भने प्रमाण अभावका कारण सफाइ दिइएको छ।

मध्य नेपाल सन्देशकाे १०औं वार्षिकोत्सवमा स्तम्भकार र पत्रकार सम्मानित हुने

वीरगंज । मध्य नेपाल सन्देश साप्ताहिकले आफ्नो प्रकाशनको १०औं वार्षिकोत्सवको अवसरमा पत्रिकाका नियमित स्तम्भकार तथा पत्रकारहरूलाई सम्मान गर्ने निर्णय गरेको छ । बुधबार बसेको मध्य नेपाल मिडिया सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

सम्मानित हुने पत्रिकाकाे स्थापनाकालदेखि सञ्चालनमा रहेको सुशासनमूलक स्तम्भ ‘खोजी जवाफदेहिताको’ का स्तम्भकार।शिवनाथ प्रसाद यादव, विगत एक दशकदेखि महिला सशक्तिकरणका विषयमा कलम चलाउँदै आएकी स्तम्भकार गिता भण्डारी र मधेश प्रदेशकी वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघ धनुषा शाखाकी पूर्वअध्यक्ष मनिका झा रहेकी छन् । झा दुई दशकदेखि विभिन्न सञ्चारमाध्यममा क्रियाशील रहँदै आएकी छिन् ।

कार्यक्रमको माध्यमबाट साप्ताहिकले पत्रकारिता र विचार अभिव्यक्तिमा योगदान पुर्‍याउने व्यक्तिहरूको योगदानको कदर गर्ने जनाइएको छ।

साप्ताहिकका सम्पादकद्वारा जारी विज्ञप्तिमा भनिएको छ “दश वर्षे यात्रामा निरन्तर साथ दिँदै आएका स्तम्भकार तथा पत्रकारहरू हाम्रो प्रेरणा हुन्। यो सम्मान उनीहरूको योगदानप्रति कृतज्ञताको सानो प्रतीक हो।”

कार्यक्रम चाँडै आयोजना गरिने बताइएको छ, जसमा सञ्चार क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ।

जगरनाथपुर गाउँपालिकाबासीलाई स्वास्थ्य सेवामा विशेष छुट, नेशनल मेडिकल कलेजसँग सम्झौता

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न ऐतिहासिक कदम चालेको छ । गाउँपालिका र वीरगंज महानगरपालिका वडा नं. १५ भेडियाहीमा रहेकाे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रा.लि. बीच बुधबार एक विशेष सम्झौता सम्पन्न भएको हो ।

सम्झौता अनुसार अब जगरनाथपुर गाउँपालिकाका बासिन्दाहरूले नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य उपचार सेवामा उल्लेखनीय छुट पाउने भएका छन्। यसले आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई ठूलो राहत पुर्‍याउने विश्वास गरिएको छ। सम्झाैता पत्रमा जगरनाथपुर गाउँपालिकाकाे तर्फबाट गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव र अस्पतालकाे तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले हस्ताक्षर गरेका छन् ।

सम्पन्न सम्झाैता अनुसार मेडिकल कलेजले गाउँपालिकाबासीलाई OPD टिकटमा २५%, सामान्य बेड चार्जमा १५%, ICU/NICU/PICU बेड चार्जमा १६%, सर्जरी (मेजर/माइनर) मा ८%, प्याथोलोजी परीक्षणमा १०%, भिडियो एक्स-रे, एक्स-रे, ECG, ECHO, TMT, Endoscopy मा ७%, CT Scan/MRI मा ७%, फार्मेसी (OPD) मा १०% छुट, फार्मेसी (IPD) मा १५%, दन्त (Dental) सेवामा ७% छुट प्रदान गर्ने छ ।

गाउँपालिकाका अध्यक्ष यादवले भने “हामी सबैका लागि सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रतिबद्ध छौं। यो सम्झौताले गाउँपालिकावासीको स्वास्थ्य उपचारमा ठूलो सहजता ल्याउनेछ।”

यस प्रकारको सहकार्यले गाउँस्तरमै नागरिकहरूको जीवनस्तर सुधार गर्न उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बालसुधार गृह वीरगंजमा मैनबत्ती तालीम

वीरगंज । वीरगंजस्थित बालसुधार गृहमा रहेका बालबालिकाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सानोपाइला संस्थाको आयोजना र कोयष्ट फर्माको आर्थिक सहयोगमा मैनबत्ती बनाउने तालीम सञ्चालन गरिएको छ । सात दिने उक्त तालीमको दोस्रो दिन बुधबार सम्पन्न भएको छ।

तालीम प्रकाश प्रोजेक्ट द्वारा सञ्चालन गरिएको हो । पहिलो चरणमा १५ जना बालकैदी सहभागी भएका छन् । प्रशिक्षक विपिन उपाध्यायले बालबालिकालाई सजावटी मैनबत्ती बनाउने, रंग संयोजन, मोम पगाल्ने प्रविधि लगायतका व्यवहारिक सीपहरू सिकाइरहेका छन्।

कार्यक्रममा प्रकाश प्रोजेक्टकी अध्यक्ष सुशमा गौतम, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, सानोपाइला संस्थाका कार्यक्रम संयोजक राजकुमार तामाङ लगायतको उपस्थिति थियो।

प्रकाश प्रोजेक्टकी अध्यक्ष सुशमा गौतमले भनिन् “बालसुधार गृहमा रहेका बालबालिकाहरूले समाजबाट अलग्गिएको महसुस गरिरहेका हुन्छन्। तिनीहरूलाई आत्मविश्वासी बनाउने र जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यो तालिम सुरु गरिएको हो।”

उक्त तालिममार्फत बालबालिकामा व्यवहारिक सीपको विकास, आत्मबल अभिवृद्धि, र पुनर्सामाजिकिकरण प्रक्रियामा सहयोग पुग्ने आयोजकहरूको विश्वास छ। आगामी दिनमा थप बालबालिकालाई तालिममा समावेश गरिने पनि बताइएको छ। कार्यक्रमले सुधार र पुनर्स्थापनाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पर्साका सुरक्षा निकायले राजस्वमा बुझाउने अधिकांश समानमा कैफियत छैन

वीरगंज । पर्साका दुवै सुरक्षा निकायले बिलबिजकभन्दा बढी भएका मालसामान तथा राजस्व चुहावट भएको आशङ्कामा पथैलयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाउने अधिकांश सामानमा कैफियत भेटिएको छैन ।

वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहबाट निस्किएका मालसामान सहितका ढुवानीका साधनलाई पर्सामा अवस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिलबिजकभन्दा बढी सामान बोकेको र राजस्व चुहावट गरेको आशङ्कामा पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालयमा बुझाउँदै आइरहेका छन् । सुरक्षाकर्मीले बुझाएका मूल्यको आधारमा कैफियत भने नगन्य मात्रामा भेटिँदै आइरहेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले भन्सारको गेटबाट प्रज्ञापत्रसहित छुटेका मालवाहक सवारीसाधनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले बीच सडकमा रोकेर जाँचका नाममा दुःख दिने प्रवृत्ति रहेको बताउनभुयो ।

“सुरक्षा निकायहरूले मालवाहक समान बोकेका सवारीसाधनलाई सडकमा रोकेर विभिन्न मोलतोल पनि गर्छन् भन्ने गुनासा आइरहेका छन्‌”, उहाँले भन्नुभयो, “सुरक्षा निकायले असल नियतले निरीक्षण र अनुगमन गर्नु सकारात्मक कार्य भए पनि खराब नियतले गर्नुभने हँुदैन ।”

अध्यक्ष गौतमले कतिपय व्यापारी र ट्रान्सपोर्ट कम्पनीले पनि कहिलेकाहीँ गलत नियतले बिलबिजकभन्दा बढीमा सामान राख्दा समग्र व्यापारी व्यवसायीले अनावश्यक रूपमा सास्ती र झन्झट बेहोर्नुपरेको बताउनुभयो ।

“सबै व्यापारी असल छन् भन्न सकिँदैन । तर, एक/दुई जना व्यापारीका कारणले असल नियतले काम गर्ने व्यक्तिले पनि जाँचका नाममा सास्ती र झन्झट बेहोर्न बाध्य भइरहेका छन्‌”, सङ्घका अध्यक्ष गौतमले भन्नुभयो । कतिपय सुरक्षाकर्मीले पैसा लिएर बिलबिजकभन्दा बढी सामान बोकेका मालवाहक सवारीसाधनलाई पनि निर्वाध रूपमा छाड्ने गरेका उहाँले आरोप लगाउनुभयो ।

“सडकमा रोकेर जाँच गर्ने प्रहरीले पैसा पाएको खण्डमा ती सवारीसाधनलाई सहजै उम्कन दिन्छन्‌”, उहाँले भन्नुभयो, “पैसा नदिने मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालयमा बुझाएर दुःख दिने गरिएको देखिन्छ”, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख गौतम मिश्रले गत आव २०८१/८२ मा रु ५२ करोड चार लाख ५८ हजार २९३ मूल्य पर्ने मालसामानसहित ९१ वटा सवारीसाधनलाई पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिनुभयो ।

“हामीले बिलबिजकभन्दा बढी भएका सामान र राजस्व चुहावट भएको आशङ्का लागेर पक्राउ गरेका मालवाहक सवारीसाधनलाई पथलैयास्थित राजस्व कार्यालयमा बुझाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “हामीलाई पर्याप्त हुने सूचनाको आधारमा आवश्यक छानबिनका लागि पठाउने गरेका छौँ । हामी राजस्व चुहावट भयो कि भएन भनेर अनुसन्धान गर्ने निकाय नभएकाले पनि बुझाउने गरेका हौँ ।”

पर्सा प्रहरीले आवमा २०८०/८१ मा रु ४५ करोड ८१ लख २५ हजार ६४ मूल्य पर्ने मालसामानसहित ८३ वटा सवारीसाधनलाई पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले पनि गत आवमा रु ११ करोड ९९ लाख ४७ हजार एक सय ७८ मूल्य पर्ने बिलबिजकभन्दा बढी भएका र राजस्व चुहावट भएको आशङ्का सामानसहित सवारीसाधन पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो । अघिल्लो आवमा सशस्त्र प्रहरीले रु १९ करोड ३८ लाख २९ हजार ७५६ मूल्य पर्ने बिलबिजकभन्दा बढी भएको तथा राजस्व चुहावट भएको आशङ्कामा सामान पक्राउ गरेर बुझाएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका सूचना अधिकारी कृष्ण पुजराले सशस्त्र प्रहरीले बिलबिजकभन्दा बढी सामान भएको र राजस्व चुहावट भएको भन्ने विशेष सूचनाको आधारमा मालवाहक सवारीसाधनलाई पक्राउ गरेर राजस्व अनुुसन्धान कार्यालय पथलैया बुझाउने गरेको बताउनुभयो ।

“हामीलाई प्राप्त हुने विशेष सूचनाको आधारमा राजस्व चुहावट भएको आशङ्कामा पथलैयामा बुझाउने गरिन्छ”, उहाँले भन्नुभयो, “बिलबिजक नै नभएका तथा भन्सार छली भएका सामान भने वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गर्छौँ ।”

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गौतमले राजस्व अनुसन्धान कार्यालयले विशेष गरी शिल्डप्याक नगरिएका सामानको बिल छ/छैन, भिसिटिएस र भ्याटबिलसँग त्यसको अर्धकट्टी मिलेको छ/छैन हेर्नेलगायत कार्य गर्दै आएको बताउनुभयो ।

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुरक्षाकर्मीले पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालयमा बुझाइएका सवारीसाधनमा कैफियत भने नगन्य मात्रामा भेटिने गरेको जानकारी दिनुभयो ।

“नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिँदै आइरहेको छ । प्रहरीले आफ्नो लक्ष्य पूरा गर्न मालवाहक सवारीसाधनलाई समात्ने गर्छन् । सोही गाडीको बिलबिजकबमोजिमको जति मूल्य छ । त्यही मूल्यलाई राखेर राजस्व अनुसन्धान कार्यालयमा बुझाउने काम हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “बिल नभएका सामान बढी भएमा राजस्व चुहावटअन्तर्गत पर्छन् । बिलकै मूल्यलाई राजस्व चुहावट भयो भनेर ल्याउने गरेको पनि भेटिने गर्छ ।”

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले १६ जिल्लामा हुने राजस्व चुहावटका घटनालाई हेर्ने गर्छ । कार्यालयले गत आवमा राजस्व चुहावट धरौटीबापत रु ११ करोड ७६ लाख ८५ हजार एक रकम सङ्कलन गरेको छ । कार्यालयले गत आवमा राजस्व चुहावटको १४ वटा मुद्दा दर्ता गरेको छ । अघिल्लो आवमा भने तीन वटा मात्रै राजस्व चुहावटको मुद्दा दर्ता भएको थियो ।

कार्यालयले गत आवमा राजस्व चुहावट मुद्दाको मागदाबी रकम रु ७६ करोड ३५ लाख ३६ हजार ३०० छ । अघिल्लो आवमा भने कार्यालयले राजस्व चुहावट मुद्दाको मागदाबी रकम भने रु चार करोड ५४ लाख ११ हजार २९८ रहेको थियो ।

बीउ अपुगले धान रोपाइँ प्रभावित, महोत्तरीमा रोपाइँ ४९ प्रतिशत

0

महोत्तरी । लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ । सिङ्गो मधेस नै खडेरीको चपेटामा परेका बेला अन्यत्रजस्तै महोत्तरी जिल्लाको रोपाइँ पनि प्रभावित भएको हो ।

स्थानीय किसानका अनुसार लामो खडेरीपछि साउन तेस्रो सातादेखि मनसुनी वर्षा अनुकूल हुँदै गइरहेको अवस्थामा धमाधम रोपाइँ भइरहेकामा पछिल्लो समय बीउको अभाव देखिएको छ ।

साउन तेस्रो साताको अन्त्यमा महोत्तरीको रोपाइँ करिब ४९ प्रतिशत मात्र पुगेको प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सुरुमा पानीको अभाव खेपेका किसान अब बीउको अभावले रोपाइँ प्रभावित भएको बताउँछन् ।

“सबै खेतमा हिल्याउनेगरी पानी अझै पुगेको छैन, हामी कतिपय ठाउँमा सडक, कुलो सोहोरेर खेत हिल्याउँदै छौँ”, भङ्गाहा–४ रामनगरका किसान काशी विन मुखिया भन्नुहुन्छ, “अहिलेलाई दुःखसुख पानी जम्मा गरे पनि बीउले धोका दिएको छ ।”

यसपालि खडेरीले ब्याडमै बीउ सुकाएर हुर्कन नसक्दा अहिले बीउको अभाव भएको मुखियाको भनाइ छ । आफूले हिल्याइसकेको खेतमा बीउ नपुगेर रोपाइँ थाँति रहेको मुखियाले बताउनुभयो । मुखिया अहिले बस्तीबस्ती चाहार्दै बीउ खोज्दै हुनुहुन्छ ।

मुखियाजस्तै सोही बस्तीका अर्का किसान इद्रिस कवारी पनि अब बीउको अभावले रोपाइँ नबढ्ने छाँट देखिएको बताउनुहुन्छ । “खडेरीले पहिले दुखजिलो रोपिएको धान पनि राम्ररी गाँजिन सकेन, त्यसैले खरुअन (पहिलो बीउ रोपो गााजिएपछि त्यो उखलेर रोपिने कार्य) पनि हुर्केन”, कवारी भन्नुहुन्छ, “अब पानी त जेनतेन भयो, बीउले सकस पार्दैछ ।” महोत्तरीको कूल ७१ हजार हेक्टर जग्गामध्ये करिब ४५ हजार हेक्टरमा धानखेती हुँदै आएको छ । “पुरानो अभिलेख हेर्दा अनुकूल वर्षा भएको समयमा ४५ हजार हेक्टरभन्दा बढीमा धानखेती भएको देखिन्छ”, वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादव भन्नुहुन्छ, “हामीले यसलाई ४५ हजार हेक्टर मान्ने गरेका छौँ ।”

यस वर्ष अहिलेसम्म ४९ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ । यो २२ हजार हेक्टरभन्दा माथिको क्षेत्रफल हो । साउन तेस्रो साता सुरु हुनअघि जिल्लामा ३० प्रतिशतमात्र रोपाइँ भएको थियो । यसैबीच वर्षा भएसँगै रोपाइँले गति लिइ अहिले ४९ प्रतिशत पुगेको हो ।

“सबै ठाउँमा पानी अझै पुगेको छैन, किसान सडक, कुलो सोहोरेर, स्यालोट्युवबेल र इनार पम्पसेटबाट पानी जोहो गरेर रोपाइँ गर्दैछन्‌”, यादव भन्नुहुन्छ, “अब मुख्य समस्या बीउको छ, ब्याडमै सुकेको बीउ पछिल्लो वर्षाले बिउँतिने क्रम त छ, तर समय लाग्छ ।”

पानी परीरहेको हुँदा अन्य बालीभन्दा धान नै लगाउन ठिक हुने विज्ञ बताउँछन् । यस वर्ष जिल्लाको सुदूरदक्षिणी र मध्यभेगभन्दा उत्तरी क्षेत्रमा वर्षा बढी भएकाले धान रोपाइँ गति उत्तरीक्षेत्रमा बढी भएको देखिन्छ ।

सिरहामा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

0

सिरहा । सिरहाकाे नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको विहार राज्य, मधुवनी जिल्लाको बेलही पञ्चायत–३ निवासी ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डललाई मङ्गलबार अपराह्न पक्राउ गरिएको हो । उनीहरू एकै मोटरसाइकलमा सवार रहेका थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीको नेतृत्वमा खटिएको टोलीले शङ्का लागेर मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइछिपाइ राखिएको नलकटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई मिर्चैया प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार, आज उनीहरूलाई सिरहा जिल्ला अदालतमा उपस्थित गराई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा म्याद थप गरि अनुसन्धानका अगाडि बढाइने छ ।

एमाले मधेश प्रदेशद्वारा मनोनीत सदस्यहरुलाई जिम्मेवारी पत्र वितरण

जनकपुरधाम । नेकपा (एमाले) मधेश प्रदेश कमिटीले बुधबार एक समारोहबीच विभिन्न विभागमा मनोनीत सदस्यहरूलाई औपचारिक रूपमा पत्र हस्तान्तरण गरेको छ। मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले नियुक्त पत्र प्रदान गर्दै सबै मनोनीत सदस्यहरूलाई जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो।

पार्टीको असार २८ गते सम्पन्न बैठकको निर्णयअनुसार जयप्रकाश थारु संसदीय विकास विभागको सदस्य तथा सचिवालय सदस्यमा, केसी लामिछाने प्रचार तथा प्रकाशन विभागको सदस्यमा, रामकिसोर सिंह पराग स्थानीय विकास विभागको सदस्यमा र ईना अधिकारी आचार्य सहकारी तथा गरिबी निवारण विभागको सदस्यमा मनोनीत गरिएको हो।

पत्र हस्तान्तरण समारोहमा उपाध्यक्ष यादवले भन्नुभयो, “पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु आजको आवश्यकता हो। जनताको विश्वास जित्न र पार्टी सुदृढ गर्न सबैले सक्रिय भएर काम गर्नुपर्छ।”

पार्टीको तर्फबाट गरिएको यो निर्णयले मधेश प्रदेशमा संगठनात्मक संरचना थप प्रभावकारी, सशक्त र लक्ष्यमुखी बन्ने विश्वास व्यक्त गरिएको छ।