Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026
Home Blog Page 190

वीरगंज महानगरपालिकाद्वारा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न, दुई हजार विद्यार्थी सहभागी

वीरगंज । वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षा शुक्रबार सम्पन्न गरेको छ। संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई अवसर दिलाउन महानगरले चारवटा परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरेको हो।

यस वर्ष कक्षा ९ र ११ मा अध्ययन गर्न २ हजार ३ सय १ जना विद्यार्थीले अनलाइन फाराम भरेका थिए। तर, करिब २ सय ६८ जना विद्यार्थी अनुपस्थित रहँदा बाँकीले बिहान साढे ७ बजे सुरु भई डेढ घण्टा सञ्चालन भएको परीक्षामा सहभागी भए। परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको महानगरको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो।

महानगरले हरेक वर्ष कक्षा ९ र ११ का लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ। यस अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले क्रमशः कक्षा १० र १२ सम्म सोही सुविधा निरन्तर पाउने व्यवस्था मिलाइएको छ। यस वर्ष महानगरभित्र सञ्चालनमा रहेका कक्षा ९ का लागि ८० र कक्षा ११ का लागि ३८ संस्थागत विद्यालयमा छात्रवृत्तिको व्यवस्था गरिएको छ। विद्यालयको विद्यार्थी संख्याको १० प्रतिशत बराबर छात्रवृत्ति सिफारिस गर्नुपर्ने नियम रहेको छ, जसअनुसार परीक्षामा सफल हुने विद्यार्थीलाई क्लस्टरअनुसार सिफारिस गरिनेछ।

छात्रवृत्ति सिफारिस गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका र वीरगञ्ज महानगरपालिकाका स्थायी बासिन्दा रहेका विद्यार्थीलाई प्राथमिकता दिइएको छ। साथै महिला, दलित, आदिवासी–जनजाति, अपाङ्गता भएका व्यक्ति, शहीद तथा बेपत्ता परिवारका बालबालिका र मधेश आन्दोलनका घाइतेका बालबालिकाका लागि छुट्टै आरक्षण कोटा राखिएको छ।

शुक्रबार सम्पन्न परीक्षा चारवटा केन्द्रमा एकैपटक सञ्चालन गरिएको थियो। विद्यार्थीहरूको सहजता र व्यवस्थापनलाई ध्यानमा राखेर परीक्षा केन्द्र तोकिएको शिक्षा महाशाखाले जनाएको छ। प्रश्नपत्र तयारीदेखि उत्तरपुस्तिका व्यवस्थापनसम्म सम्पूर्ण प्रक्रिया पारदर्शी ढंगले गरिएको दाबी गरिएको छ।

महानगरले केही दिनमै नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा प्रकाशित भएपछि छात्रवृत्ति पाएका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा पठाउन आवश्यक प्रशासनिक प्रक्रिया सुरु गरिनेछ। यसले आर्थिक तथा सामाजिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको महानगरको भनाइ छ।

सूर्य नेपालद्वारा वीरगंजका दुई विद्यालयमा कम्प्युटर ल्याब हस्तान्तरण

वीरगंज । सूर्य नेपाल प्रा.लि.ले वीरगंजका दुई विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरी हस्तान्तरण गरेको छ । वीरगंज महानगरपालिका–३२ स्थित श्री मनमिश्र आधारभूत विद्यालय र वडा नं. ३१ स्थित सोलकपुर माध्यमिक विद्यालयमा शुक्रबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा ल्याब हस्तान्तरण गरिएको हो ।

सूर्य नेपालका यज्ञबहादुर आलेका अनुसार सोलकपुर माध्यमिक विद्यालयमा १५ थान कम्प्युटर, १ थान प्रिन्टर र १ थान यूपीएससहितको ल्याब स्थापना गरिएको छ भने मनमिश्र आधारभूत विद्यालयमा १० थान कम्प्युटर, १ थान प्रिन्टर र १ थान यूपीएस उपलब्ध गराइएको छ । यसरी प्रविधिमूलक पूर्वाधार विद्यालयमै स्थापना भएपछि विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा डिजिटल शिक्षा सिक्ने अवसर मिल्ने बताइएको छ ।

मनमिश्र आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा वीरगंज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यालयमा प्रविधि प्रवेश गराउनु ठूलो उपलब्धि भएको बताउँदै सूर्य नेपालले गरेको यो लगानीले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

विद्यालयका शिक्षक र अभिभावकहरूले कम्प्युटर ल्याब स्थापना भएपछि विद्यार्थीहरूको सिकाइ अझ व्यवहारिक र प्रविधिमैत्री हुने प्रतिक्रिया दिएका छन् । उनीहरूले यस किसिमको सहयोगले डिजिटल सीप, अनुसन्धान क्षमता र प्रतिस्पर्धी योग्यता विकासमा मद्दत गर्ने अपेक्षा गरेका छन् ।

विद्यालय शिक्षा विधेयकविरुद्ध वीरगंजमा प्याब्सन–एनप्याब्सनको बस जुलुस

वीरगंज । सरकारद्वारा संसद्मा दर्ता गरिएको विद्यालय शिक्षा विधेयक विरुद्ध निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन र एन–प्याब्सनले संयुक्त रूपमा वीरगंजमा विरोध प्रदर्शन गरेका छन्।

शुक्रबार बिहान गण्डक र घण्टाघर क्षेत्रलाई केन्द्र बनाएर गरिएको विरोध कार्यक्रममा सहभागीहरूले स्कुल बससहित रिंग रोड वरिपरि नगर परिक्रमा गर्दै नाराबाजी गरेका थिए । उक्त प्रदर्शनलाई मधेस प्रदेश प्याब्सनका उपाध्यक्ष पुरन प्रधानले नेतृत्व गरेका थिए।

विरोध कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, सञ्चालक, शिक्षक तथा व्यवस्थापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्याब्सन मधेस प्रदेशका सल्लाहकार श्याम केसी, पर्सा सचिव अशोक संग्रोला, शिवजी गुप्ता, एन–प्याब्सन नगर अध्यक्ष जियालाल गुप्ता, प्याब्सन उपाध्यक्ष शर्मानन्द कुशवहा, मधेस प्रदेश सल्लाहकार मनि पाख्ररिङलगायतका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्याब्सन–एनप्याब्सनले संयुक्त रूपमा चार बुँदे माग अघि सारेका छन् । तीमा निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउनुपर्ने, “पूर्ण छात्रवृत्ति” भन्ने शब्दावली खारेज गर्नुपर्ने, हाल कायम रहेको १०% छात्रवृत्ति प्रणालीलाई निरन्तरता दिनुपर्ने तथा छात्रवृत्तिसम्बन्धी शुल्क संरचना यथावत् राखिनुपर्ने समावेश छन्।

संघ–संगठनहरूले शिक्षा सुधार संवाद र सहकार्य मार्फत मात्रै सम्भव हुने भन्दै सरकारलाई विधेयक पुनर्विचार गर्न आग्रह गरेका छन्। साथै, निजी क्षेत्रको योगदानलाई विधेयकले अवमूल्यन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै देशभर चरणबद्ध आन्दोलन अघि बढाइने चेतावनीसमेत दिएका छन्।

यसरी, सरकार र निजी विद्यालय सञ्चालकबीचको शिक्षा विधेयकसम्बन्धी असहमति अझ प्रष्ट बन्दै गएको देखिन्छ, जसको प्रभाव आगामी दिनमा शिक्षा क्षेत्रमा थप तनाबपूर्ण अवस्था सिर्जना गर्ने आकलन गरिएको छ।

अमित ठेक्का पट्टाकाे अवैध असुली रुकेन, जिम्मेवार निकाय मौन

वीरगंज । वीरगंज महानगरपालिका–२२ स्थित जगरनाथपुर चोकको ढाँटमा भइरहेको अवैध असुली अझै रोकिएको छैन।

महानगरपालिकाले “जडिबुटी, कबाडी तथा जीवजन्तु कर” उठाउने जिम्मा अमित ठेक्का पट्टालाई दिएको छ। सम्झौताअनुसार ठेकदारले महानगर क्षेत्रभित्र उत्पादन संकलन तथा व्यवसायिक कारोबारमा मात्र कर लिन पाउने व्यवस्था छ।

तर ठेकदार कम्पनीले नियम विपरीत सम्पूर्ण भारतीय मालवाहक सवारीसाधनबाट प्रतिगाडी ४ सयदेखि ५ सय रुपैयाँसम्म असुली गर्दै आएको स्थानीयले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार ढाँटमा खटिएका कर्मचारीहरूले बलजबरजस्ती कर असुली गर्ने मात्र नभई, मागअनुसार पर्ची नकटाउने चालकलाई कुटपिटसमेत गर्ने गरेका छन्।

यस्ता घटनाप्रति स्थानीयवासी पटक–पटक विरोधमा उत्रिँदा विवाद समेत भएको भए पनि सम्बन्धित निकायको ध्यान नपुगेको गुनासो छ।

स्थानियका भनाइअनुसार दिनहुँ आईसीपी हुँदै निस्कने सयौं भारतीय मालवाहक सवारीसाधनसँग रंगदारी असुली भइरहेको छ, तर सरोकारवाला निकाय मौन बसिरहेको छ। उनीहरूले यसरी भइरहेका गतिविधिले नेपालको प्रतिष्ठामै आघात पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने तयारी थालेका छन्।

यस विषयमा प्रतिक्रिया दिँदै वीरगंज महानगर प्रमुख राजेशमान सिंहले नियम विपरीत असुली गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्। उनले महानगरलाई यसबारे लिखित जानकारी नभएको बताए पनि जानकारी आउँनेबित्तिकै कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन् ।

गौर हत्याकाण्डकाे परमादेशपछि जसपा आन्दोलित, वीरगंजमा विरोध प्रदर्शन

वीरगंज । सर्वोच्च अदालतले २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको २७ जनाको ज्यान जाने घटनाको छानबिन गर्न परमादेश जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल आन्दोलित बनेको छ।

अदालतको आदेशलाई जसपाले राजनीतिक प्रतिशोध र मधेस आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रका रूपमा व्याख्या गर्दै बिहीबार वीरगंजकाे घण्टाघरमा नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा जसपाका कार्यकर्ताहरूले “उपेन्द्र यादवमाथि षड्यन्त्र बन्द गर”, “मधेस आन्दोलनको अपमान बन्द गर” जस्ता नारा लगाएका थिए।

विरोध सभालाई सम्बोधन गर्दै जसपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सिंहासन साह कलवारले अदालतको निर्णयलाई मधेस आन्दोलनको भावनामाथिको आघातको रूपमा चित्रण गरे । उनले उपेन्द्र यादवलाई राजनीतिक रूपमा कमजोर बनाउने उद्देश्यले मुद्दा पुनः उठाइएको दाबी गर्दै, यदि यस्तो कदम जारी रह्यो भने देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

जसपा नेतृ करिमा बेगमले पनि अदालतको आदेशलाई मधेसी नेताहरूलाई लक्षित गरिएको षड्यन्त्रको रूपमा व्याख्या गरिन् । उनले भनिन्, “यो कदमले मधेसी जनताको आत्मसम्मान र अधिकारको लडाइँलाई कमजोर बनाउन खोजिएको हो । यदि यो षड्यन्त्र रोकिएन भने मधेस फेरि आन्दोलनको आगोमा बल्नेछ।”

जसपा पर्साका अध्यक्ष रामनरेश यादवले चार–चार वटा राष्ट्रिय र अन्तर्राष्ट्रिय आयोगले गौर घटनाबारे प्रतिवेदन तयार पारे पनि सरकार र अदालतले त्यसलाई सार्वजनिक नगरी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पूर्वाग्रहपूर्ण तरिकाले फसाउन खोजेको आरोप लगाए । उनले अदालतको आदेशलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गर्दै मधेस फेरि आन्दोलनको रणभूमि बन्न सक्ने चेतावनी दिए ।

गौर हत्याकाण्ड मधेस आन्दोलनको संवेदनशील घटना हो । सो क्रममा मधेसी जनअधिकार फोरम (हाल जसपा) र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपमा २७ जनाको ज्यान गएको थियो । घटनाबारे विभिन्न छानबिन समिति बने पनि अहिलेसम्म ठोस नतिजा सार्वजनिक भइसकेको छैन ।

पति राज कुन्द्रासँग रोम्यान्टिक भिडियो सार्वजनिक गर्दै शिल्पा शेट्टीको ‘जोगिया च्यालेन्ज’

नयाँ दिल्ली । बलिउड अभिनेत्री शिल्पा शेट्टीले सामाजिक सञ्जालमा आफ्ना पति राज कुन्द्रासँगको एक रोम्यान्टिक भिडियो सार्वजनिक गरेकी छन्।

शिल्पाले इन्स्टाग्राममार्फत पोस्ट गरेको उक्त भिडियोमा राजको आउँदै गरेको पञ्जाबी फिल्म मेहरको गीत जोगिया समावेश गरिएको छ। क्लिपमा दुवैलाई सँगै हिँड्दै गरेको देखिन्छ भने केही समयपछि राजले शिल्पालाई बोकेर उचाल्ने दृश्य पनि समावेश छ।

भिडियो साझा गर्दै शिल्पाले क्याप्सन लेखेकी छिन्, “सँगै बस्न त सजिलो हो… तर बोकेर देखाउनु भनेको वास्तविक परीक्षा हो #Chakdo। के तपाईंको ‘जोगिया’ ले पनि सक्छ? #JogiyaChallenge #Mehar #love #Gratitude।”

उनको पोस्टमा प्रतिक्रिया दिँदै राजले टिप्पणी गरेका छन्, “लभ यू मेरी जान।”

वीरगंज महानगरमा सम्पदा संरक्षण समिति गठन, मठ–मन्दिर, मस्जिद र गुम्बा सूचिकृत हुने

वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा रहेका मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाको संरक्षण र व्यवस्थापनलाई संस्थागत रूपमा अघि बढाउने भएको छ । यसका लागि महानगरले विशेष सम्पदा व्यवस्थापन समिति गठन गरी काम प्रारम्भ गरेको छ।

महानगरले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरूको दीगो संरक्षण गर्ने उद्देश्यसहित सम्पदा व्यवस्थापनसम्बन्धी ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। अब महानगरका ३२ वटै वडामा रहेका सम्पूर्ण धार्मिक सम्पदाको अभिलेख संकलन गरी सूचिकृत गर्ने तयारी गरिएको छ।

समितिको संयोजक नगर प्रमुख राजेशमान सिंह रहनु भएको छ भने उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा अध्यक्ष जगत साह कानु, प्रदीप चौरसिया, कलावती राजपुतिन, श्रीनन्दन मिश्र र जय किशोर पाण्डे सदस्य छन् । शाखा अधिकृत सुशीला देवकोटा सदस्य–सचिवको जिम्मेवारीमा नियुक्त भएकी छिन् । समितिका सदस्यहरूलाई एक औपचारिक कार्यक्रममार्फत पत्र हस्तान्तरण गरी जिम्मेवारी प्रदान गरिएको हो ।

नगर प्रमुख सिंहले धार्मिक सम्पदाहरू व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न अनिवार्य रूपमा सूचिकृत गरिने बताए । हाल महानगरभित्र कतिपय सम्पदाहरू व्यक्तिगत स्वार्थअनुसार मनपरी ढंगले सञ्चालन हुँदै आएको उल्लेख गर्दै उनले अब ती सम्पदाहरूलाई नियमन गर्ने र भक्तजनले चढाएको दान–चन्दा दुरुपयोग हुन नदिन कडा प्रावधान लागू गरिने जानकारी दिए ।

सिंहले भने, “हाम्रो उद्देश्य सम्पदाको संरक्षण मात्र होइन, पारदर्शिता र धार्मिक संस्थाहरूको दीगो विकास सुनिश्चित गर्नु हो । भक्तजनले गरेको दान–चन्दा त्यही सम्पदाको संरक्षण तथा संवर्द्धनमै खर्च हुने वातावरण सिर्जना गर्नुपर्छ ।”

समितिले आगामी दिनमा सम्पदाहरूको लगत संकलन गरी सार्वजनिक गर्ने र त्यसका आधारमा दीर्घकालीन संरक्षण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । यसबाट धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको दीगो संरक्षणसँगै शहरको पहिचान सुरक्षित हुने विश्वास महानगरले गरेको छ ।

एन प्याब्सनकाे जिल्ला तथा नगर अधिवेशन स्थगित

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) पर्साले शुक्रबार (भदौ ६ गते) हुने भनिएको ९औं जिल्ला तथा २औं नगर अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

संघका केन्द्रीय संस्थापक सदस्य एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसियाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “विद्यालय सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० मा समावेश गरिएका कतिपय प्रावधानहरू निजी लगानीका विद्यालयहरू प्रति अव्यवहारिक रहेका छन् । सरोकारवालाको सुझावलाई बेवास्ता गर्दै सरकारले विधेयक अगाडि बढाएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”

उनले विज्ञप्तिमा सरकारसँग सरोकारवालासँग छलफल गरी मात्र विधेयक अघि बढाउन माग गरिएको उल्लेख गरेका छन् । यसै सन्दर्भमा, देशभरका निजी विद्यालयको आन्दोलनलाई सघाउन र हालको विषम परिस्थितिलाई ध्यानमा राख्दै केन्द्रीय समितिको निर्देशन र संस्थापक प्राचार्यहरूको सल्लाहअनुसार अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको केन्द्रीय वरिष्ठ उपाध्यक्ष चौरसियाले जानकारी दिए ।

काठमाडौंमा निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन, पर्साबाट पनि सहभागिता

वीरगंज । विद्यालय शिक्षा विधेयकलाई बिहीबार अन्तिम रूप दिने तयारी भइरहेका बेला देशभरका निजी विद्यालय सञ्चालकहरू विरोधमा उत्रिएका छन् । सोही सन्दर्भमा निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन, एनप्याब्सन, हिसान, अपेनलगायतका संस्थाहरूको आव्हानमा काठमाडौंको माइतीघर मण्डलामा विद्यालय सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरूले प्रदर्शन गरेका हुन्।

‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’, ‘अभिभावकको पहिलो रोजाइ, निजी विद्यालयको पढाइ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले सरकारको ध्यानाकर्षण गराए।

सो कार्यक्रममा पर्साबाट पनि विद्यालय सञ्चालकहरूको प्रतिनिधि टोली काठमाडौं पुगेको थियो। केन्द्रीय सदस्य छेडुप लामा, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव, जिल्ला सदस्य शुल्भ केसी, विजय कुमार बललगायतको नेतृत्वमा टोलीले ब्यानरसहित शान्तिपूर्ण प्रदर्शनमा सहभागिता जनाएको हो ।

विद्यालय सञ्चालकहरूले सरकारले ल्याउन लागेको शिक्षा विधेयकले निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पार्ने खालका प्रावधान राखेको आरोप लगाएका छन्। उनीहरूले निजी विद्यालयलाई कम्पनीका रूपमा चलाउने अधिकार खोस्ने, जबर्जस्ती पूर्ण छात्रवृत्ति लाद्ने र गैरनाफामूलक बनाउन खोज्ने जस्ता व्यवस्था अस्वीकार्य भएको स्पष्ट पारे।

“निजी विद्यालयहरूले दशकौँदेखि देशमा गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना र अर्थतन्त्रमा ठूलो योगदान दिएका छन्। तर सरकारले त्यसलाई नमान्ने खालको व्यवहार गरिरहेको छ,” उनीहरूको भनाइ थियो।

सञ्चालकहरूले शिक्षा विधेयकलाई पुनर्विचार गरी सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।

रास्वपा पर्सा क्षेत्र नं. ३ काे सभापतिमा मनोज कुर्मी चयन

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ३ को सभापतिमा पोखरिया निवासी मनोज कुर्मी चयन भएका छन् ।

वीरगंजस्थित कन्ट्री इन होटलमा शुक्रबार आयोजित निर्वाचन क्षेत्र पुनर्गठन तथा पदपूर्ति कार्यक्रममा कुर्मीलाई सर्वसम्मत चयन गरिएको हो । लामो समयदेखि शिक्षण पेशामा संलग्न रहेका कुर्मीले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु गरेका थिए । एक वर्षअघि रास्वपा संगठन विभागका सचिव शंकर श्रेष्ठ र पर्सा जिल्ला सभापति हरि पन्तले उनलाई पार्टीमा प्रवेश गराएका थिए ।

नवगठित क्षेत्रिय समितिकाे उपसभापतिमा महेन्द्र नारायण दास र सुजित कुमार, सचिवमा अरुण गुप्ता र तीन क्षेत्रीय सदस्यसहित सात सदस्यीय समिति गठन गरिएको छ ।

जिल्ला सभापति हरि पन्तले क्षेत्रीय समिति पार्टीको मेरुदण्ड भएको भन्दै क्षेत्र विस्तारले जिल्लामा संगठन बलियो हुने बताएका छन् । उनका अनुसार हालसम्म तीन क्षेत्रीय समिति गठन भइसकेको र आगामी ७ गते शनिबार ठोरीमा हुने भेलामार्फत चौथो क्षेत्रीय समिति पनि गठन हुने छ ।

भेलामा केन्द्रीय सदस्य डा. नन्दन यादव, प्रदेश सदस्य सब्बु कंडेल, पुर्षाेत्तम देव, प्रमोद सहनी, जिल्ला उपसभापति तुलसा पौडेल, सचिव सुदीश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी,पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रा लगायतको उपस्थिति थियो ।