Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
Home Blog Page 189

सुशासन र विकासका लागि विगतका कमजोरीबाट पाठ सिक्नुपर्छ : सहसंयाेजक नेपाल

0
नेपाल उद्योग वाणिज्य महासङघद्वारा काठमाडौँमा बुधबार आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’सामूहिक पहल कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थायित्व, सुशासन र विकासका सवालमा विगतमा देखिएका कमीकमजोरी र समस्याबाट पाठ सिक्दै जनताको जीवनस्तर सुधारतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज आयोजित सर्वपक्षीय संवाद कार्यक्रममा बोल्दै उहाँले प्राकृतिक स्रोत, साधन र विविधताका हिसाबले मुलुक सम्पन्न रहेकाले जनअपेक्षाअनुसार समृद्ध नेपाल निर्माण गर्न संरचनागत क्षेत्रमा भएका त्रुटिहरू सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो।

सहसंयोजक नेपालले मुलुकको स्रोत, साधन र सम्पदाको प्रभावकारी सदुपयोग गर्नुपर्ने उल्लेख गर्दै सत्ताको दुरुपयोग गर्ने र नीतिगत अस्थिरता सिर्जना गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो। उहाँले दीर्घकालीन विकासका लागि स्थिर नीति, पारदर्शिता र जिम्मेवार शासन अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

मधेस मन्त्रिपरिषद् विस्तारः पर्साका श्याम पटेल कृषि, शंकर चौधरी वन मन्त्री

0

वीरगंज । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा गठन भएको प्रदेश सरकारले करिब एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएको छ। मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले बुधबार थप ६ जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो।

जनकपुरधामस्थित मधेस भवनमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रिपरिषद् विस्तारसँगै पर्सा जिल्लाको प्रतिनिधित्व सशक्त रूपमा स्थापित भएको छ।

नवनियुक्त मन्त्रीहरूमध्ये शङ्करप्रसाद चौधरी पर्सा जिल्लाबाट वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् भने श्यामप्रसाद पटेल पर्साबाटै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन्। पर्साका दुई जना नेताले महत्वपूर्ण मन्त्रालय सम्हालेपछि जिल्लाको विकास, वातावरण संरक्षण, कृषि र भूमि व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यसैगरी मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।

नयाँ मन्त्रीहरूको नियुक्तिसँगै मधेस प्रदेश सरकारको प्रशासनिक गतिविधि थप सक्रिय हुने विश्वास व्यक्त गरिएको छ। विशेषतः पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले जिल्लाको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।

आमसञ्चार प्रवर्द्धन समितिको संयोजकमा शत्रुघ्न नेपाल

0

वीरगंज । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिको संयोजक पदमा वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन्।

महानगर प्रमुख राजेशमान सिंहले नेपाललाई समितिको संयोजकको जिम्मेवारी प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका नेपालका अनुभव, निष्ठा र व्यावसायिकतालाई कदर गर्दै उक्त जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ।

समितिको मुख्य दायित्व महानगरपालिका र सञ्चारमाध्यमबीच समन्वय सुदृढ गर्नु, सूचना प्रवाहलाई प्रभावकारी बनाउनु तथा आमसञ्चार क्षेत्रको नियमनसम्बन्धी विषयमा आवश्यक सुझाव प्रदान गर्नु रहेको छ।

महानगरपालिकाका अनुसार सञ्चार क्षेत्रको राम्रो बुझाइ, सबै सरोकारवालासँग समन्वय गर्न सक्ने क्षमता र अनुभवयुक्त व्यक्तिको आवश्यकता रहेकाले नेपाललाई संयोजक नियुक्त गरिएको हो। यसअघि उक्त समितिको संयोजकको जिम्मेवारी ध्रुव अधिकारीले सम्हालेका थिए ।

रास्वपाको समानुपातिक सूचीप्रति जेन–जी अर्जुन साहको असहमति, “जेनजी आन्दोलन”को अपमान भएको आरोप

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुझाएको समानुपातिक उम्मेदवारको सूचीप्रति जेन–जी आन्दोलनका अभियन्ता अर्जुन साहले कडा असहमति जनाएका छन्।

समानुपातिक प्रतिनिधित्वको मूल मर्म सबै क्षेत्र, वर्ग, जात, लिङ्ग र भौगोलिक विविधतालाई सुनिश्चित गर्नु भए पनि हाल सार्वजनिक गरिएको सूची त्यसको ठाडो विपरीत रहेको साहको आरोप छ। उनका अनुसार सूचीमा सत्ता केन्द्रसँग नजिकका, चितवन र सुनसरीका झोले, कुर्सी आसपासका व्यक्ति, परिवारका ससुरा र आसेपासेका अनुहारहरूको बाहुल्यता देखिएको छ, जुन जेन–जी आन्दोलन र नेपाली जनताको घोर अपमान हो।

समानुपातिक ११० जनाको सूचीमा कम्तीमा ७७ वटै जिल्लाबाट एक–एक प्रतिनिधि समावेश गरिएको भए अझ उपयुक्त हुने साहको भनाइ छ। साथै, गरीब, सीमान्तकृत, ग्रामीण तथा पछाडि पारिएका समुदायलाई प्राथमिकताका साथ प्रतिनिधित्व गरिनुपर्नेमा उनले जोड दिएका छन्।
“देशको प्रतिनिधित्व चितवन, सुनसरी, सिराहा, सप्तरी र महोत्तरीमा मात्र सीमित हुन सक्दैन, यो नेपालको हरेक कुनाबाट हुनुपर्छ,” साहले भने।

जेन–जी आन्दोलनको मूल उद्देश्य शक्ति र कुर्सी प्राप्ति नभई भ्रष्टाचारविरुद्ध, समावेशी लोकतन्त्रको पक्षमा, राजनीतिक नियुक्ति र ‘नेपो किड्स’ प्रवृत्तिको विरोध तथा प्रणालीगत समानताको लागि रहेको उनले स्पष्ट पारे।

“समानुपातिक प्रणालीमै असमानता स्वीकार्य हुँदैन,” साहको भनाइ छ।

पर्सामा शितलहरको प्रभाव: वीरगंज र पोखरीयामा थप ३ दिन विद्यालय बन्द

0

वीरगंज । पछिल्लो केही दिनदेखि बढ्दै गएको शितलहरलाई मध्यनजर गर्दै पर्साका दुई स्थानीय तहले थप विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। वीरगंज महानगरपालिका र पोखरीया नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय, मन्टेश्वरी र कोचिङ्ग सेन्टरहरूलाई थप ३ दिनका लागि जाडो बिदा दिएका हुन्।

वीरगंज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार महानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालय, मन्टेश्वरी र कोचिङ्ग सेन्टरहरू २०८२ पौष १६ गतेदेखि १८ गतेसम्म जाडो बिदा रहनेछन्। उक्त बिदा वर्षे बिदाबाट कट्टा हुने जनाइएको छ । महानगरपालिकाले २०८२ साल पौष २० गतेदेखि साबिककै समयअनुसार शैक्षिक संस्था सञ्चालन हुने वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।

यस्तै, पोखरीया नगरपालिकाले पनि बढ्दो शितलहरको असरलाई ध्यानमा राख्दै नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू २०८२ पौष १६ गतेदेखि १८ गतेसम्म बन्द रहने निर्णय गरेको छ। यो बिदा पनि वर्षे बिदाबाट कट्टा हुने पोखरीया नगरपालिकाले जनाएको छ।

उक्त सूचना पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंहद्वारा जारी गरिएको हो ।

शितलहरका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय तहहरूले सावधानीस्वरूप बिदा दिने निर्णय गरेको जनाइएको छ ।

पर्सा–१ मा जनमत पार्टीको चुनावी अभियान तीव्र

0

वीरगंज । अगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बनाएको छ। पार्टीले मतदाता भेटघाट, संगठन विस्तार तथा बुथस्तरीय कमिटी गठनलाई प्राथमिकतामा राख्दै अभियान अघि बढाएको हो।

पर्सा क्षेत्र नम्बर १ बाट जनमत पार्टीका तर्फबाट सिफारिस भएका उम्मेदवार ओमप्रकाश सर्राफले पछिल्लो एक हप्ताभित्र वीरगंज महानगरपालिकाका वडा नम्बर २, १४, १५, १६, १८, २१, २३, ३१ र ३२ मा वृहत भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। भेटघाटका क्रममा उनले पार्टी कार्यकर्ता, स्थानीय अगुवा तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै संगठन विस्तारमा जोड दिएका छन्।

सर्राफका अनुसार ती वडाका बुथस्तरमा युवा, महिला तथा मूल कमिटी गठन तथा पुनर्गठन गरिएको छ। संगठनलाई थप मजबुत बनाउने उद्देश्यले स्थानीय तहमै जिम्मेवारी बाँडफाँड गर्दै जनमत पार्टीको आधार विस्तारमा जोड दिइएको उनले बताए।

भेटघाटका क्रममा स्थानीय बासिन्दाले उठाएका दैनिक जीवनसँग सम्बन्धित समस्या, विकासका अवरोध तथा प्रशासनिक झन्झटहरू समाधानका लागि आफू प्रतिबद्ध रहेको सर्राफले स्पष्ट पारे। शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी तथा आधारभूत पूर्वाधार आफ्नो मुख्य एजेन्डा रहेको उनले बताए।

क्षेत्र नम्बर १ का पर्यवेक्षक डा. मनोज कुमारका अनुसार भेटघाटका क्रममा उठाइएका समस्या तत्काल सम्बन्धित निकायसम्म पुर्‍याई समाधानका लागि पहलसमेत गरिएको छ। सर्राफले जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतको भिजन र नेतृत्वले मात्र मधेश, प्रदेश तथा देशको समग्र विकास सम्भव हुने दाबी गर्दै कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह गरेका थिए।

जनमत पार्टी पर्साले आगामी दिनमा पनि घरदैलो अभियान, बुथस्तरीय बैठक तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर १ मा राजनीतिक चहलपहल बढ्दै गएको छ भने जनमत पार्टीले संगठनात्मक सक्रियतामार्फत आफ्नो उपस्थिति थप बलियो बनाउँदै लगेको देखिन्छ।

भेटघाट टोलीमा बिध्यालाल प्रसाद, सिए देवराज, निराजन कुशवाहा, नागेन्द्र गुप्ता, सहनवाज राकी लगायतको सक्रिय भूमिका रहेको थियो।

प्याब्सन टी–१० क्रिकेटको च्याम्पियन बन्यो ग्रामीण भेगको स्कुल ब्लु हेभन एकेडेमी

0

वीरगंज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा सञ्चालन भएको दोस्रो संस्करणको प्याब्सन टी–१० बोयज तथा गल्र्स क्रिकेट प्रतियोगिता मंगलबार सम्पन्न भएको छ।

वीरगंजको आदर्शनगर रंगशालामा सम्पन्न जुनियर बोयजतर्फको फाइनल खेलमा पर्साको ग्रामीण भेगस्थितकाे स्कुल ब्लु हेभन एकेडेमीले वीरगंजको साउथ जोन स्कुललाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । जिल्ला स्तरिय प्रतियाेगिता पहिलाे पटक ग्रामिण भेगकाे विद्यालय विजेता घाेषित भएकाे विद्यालयले जनाएकाे छ ।

प्रतियोगितामा तेस्रो स्थान वीरगंजको मनकामना स्कुलले हासिल गर्दा चौथो स्थान लिटल फलावर स्कुलले प्राप्त गरेको छ।

त्यस्तै प्याब्सन टी–१० गल्र्स क्रिकेट प्रतियोगितातर्फ लिटल फ्लावर एकेडेमी स्कुलले नेशनल एकेडेमी स्कुललाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ। फाइनल खेलमा पराजित नेशनल एकेडेमी स्कुल उपविजेतामा सीमित भएको हो। गल्र्सतर्फ तेस्रो स्थान साउथ जोन स्कुलले हासिल गर्दा चौथो स्थान एसआर ग्यालेक्सी स्कुलले प्राप्त गरेको छ।

विजेता तथा उपविजेता विद्यालयहरूलाई प्रमुख अतिथि वीरगंज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

सो अवसरमा बोल्दै प्रमुख अतिथि लामिछानेले शिक्षा जत्तिकै खेलकुद पनि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले हाल विभिन्न कारणले खेलकुद गतिविधि सञ्चालनमा केही चुनौती देखिए पनि आगामी दिनमा महानगरपालिकाले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो।

खेलकुदले व्यक्तिगत क्षमताको विकाससँगै समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सकारात्मक योगदान पुर्‍याउने बताउँदै उहाँले विद्यार्थीहरूलाई खेलकुदप्रति थप सक्रिय हुन प्रेरित गर्नुभयो।

प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, मानव सेवा आश्रम वीरगंजका दिवेश गुप्ता, प्याब्सन मधेस प्रदेश सल्लाहकार मनि पाख्रिङ, लालबाबु पटेल, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला शाह, सचिव अशोक संग्रौला, सह–कोषाध्यक्ष सुदिल प्रसाद पटेल, हिसान जिल्ला उपाध्यक्ष आलोक चौरसिया, प्याब्सन वीरगंज नगर कोषाध्यक्ष सुरज बाबु पटेल, सदस्य विजय बललगायत विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य प्याब्सन वीरगंजका नगर उपाध्यक्ष शर्मानन्द कुशवाले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नगर सचिव अमित आलोकले गर्नुभएको थियो।

बिन्दबासिनी–५ मा एमाले परित्याग गरि दर्जनौं नेता–कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

0

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाली कांग्रेस पर्सा जिल्ला क्षेत्र नं. ३ ‘ख’ का सभापति तथा बिन्दबासिनी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अनोज कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा एमालेका वडा नम्बर ५ का वडा अध्यक्ष प्रत्याशी अली महम्मद मियाँको नेतृत्वमा जाकिर हुसेन, उसमान मियाँ जोलहा र तुफाईल मियाँ अँसारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। त्यस्तै नेकपा परित्याग गरी एकराम गदी, अनवर गदी र भीम राउत गदीसहित एमाले तथा माओवादीबाट सयौँ जना नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ को प्रसौनीभाठामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साका उपसभापति अशोक कुमार गुप्ताले नवप्रवेशीहरूलाई अबिरको टीका लगाई पार्टीमा स्वागत गर्नुभयो। सो अवसरमा मन्तव्य राख्दै उपसभापति गुप्ताले नवप्रवेशीहरूको आगमनले जिल्ला, क्षेत्र, पालिका तथा वडा नम्बर ५ मा नेपाली कांग्रेस अझ सशक्त बनेको बताउनुभयो।

बब्लु गुप्ताको सक्रियतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बिन्दबासिनी वडा नम्बर १ का सभापति गुडु ओझा, नेपाल विद्यार्थी संघका नेता सुधांशु चौरसिया, बिनोद पाण्डे, शम्भु चौहानलगायत नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता सहमति, नयाँ राजनीतिक शक्तिको घोषणा

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। मुलुकको परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै दुवै दलबीच सहकार्य र एकताको सहमति भएको हो।

सहमति पत्रमा २०८२ साल भदौ २३ र २४ मा सम्पन्न जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनका शहीद तथा घाइतेहरूको बलिदानप्रति सम्मान प्रकट गर्दै, उनीहरूका परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले देखाएको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र सुशासन कायम गर्ने लक्ष्य सहमतिमा उल्लेख छ।

एकतापछि स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने, पार्टीको झन्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृति रहने तथा चुनाव चिन्ह ‘घण्टी’ नै कायम रहने सहमति भएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने जनाइएको छ।

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन् भने उपसभापतिमा कुलमान घिसिङ, डी.पी. अर्याल र स्वर्णिम वाग्ले रहनेछन्। उज्यालो नेपाल पार्टीका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई पार्टीको संगठनात्मक संरचनामा समुचित रूपमा समायोजन गर्ने, जिम्मेवारी बाँडफाँड गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने उल्लेख छ।

त्यसैगरी उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, मेरिटोक्रेसीको स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनमार्फत आगामी दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहितको मार्गचित्र इमानदारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

सहमति बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने र लोकतान्त्रिक सुशासन, समुन्नति तथा सामाजिक न्यायका मुद्दामा विश्वास गर्ने अन्य वैकल्पिक तथा परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि एकताका लागि आव्हान गरिएको छ।

सहमति पत्रमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने बालेन्द्र शाह साक्षीका रूपमा रहेका छन्।

छिपहरमाई–१ मिर्जापुरमा रास्वपाको समिति गठन

0

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला सम्पन्न भएको छ।

भेलाबाट प्रमेश्वर प्रसाद पटेलको अध्यक्षतामा वडा कार्यसमिति गठन गरिएको छ। नवगठित समितिको उपाध्यक्षमा मनोज प्रसाद यादव र सचिवमा श्रवन यादव चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा शेषनाथ यादव, अमिका यादव, मेघा यादव, बिरेन्द्र शर्मा, अमरेश राम, धमेन्द्र प्रसाद यादव, एकबाली साह कानु र तमराचनन्द साह चयन भएका छन्।

रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राको सभापतित्व र रास्वपा पर्साका सभापति हरि पन्त प्रमुख अतिथ्यतामा भएको भेलामा प्रदेश प्रचार–प्रसार प्रमुख राम सर्राफ, जिल्ला उपसभापति तुलसी पौडेललगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति हरि पन्तले छिट्टै पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा वडा समिति गठन गरिने जानकारी दिए। उनले पछिल्लो समय वीरगञ्ज महानगरसहित जिल्लाभर राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आम नागरिकको आकर्षण बढ्दै गएको दाबी गरे।