Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
Home Blog Page 187

सन नेपाल लाइफ र श्री निधि सहकारीबीच बीमा सुरक्षा योजना कार्यान्वयन

वीरगंज । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र श्रीनिधि बचत तथा ऋण सहकारी संस्था बीच ऋणी सदस्यहरुलाई लक्षित गर्दै बीमा सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ।

सोमबार श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसिया र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, वीरगंजका शाखाका मार्केटिङ अफिसर नरेश कुमार पटेलले सहमतीपत्रमा हस्ताक्षर गरे।

कार्यक्रममा सहकारी र इन्स्योरेन्स दुबै पक्षले योजना कार्यान्वयनका उद्देश्य, लाभ र भविष्यका सम्भावनाहरुको बारेमा छलफल गरेका थिए । सहकारीका प्रमुख कार्यकारी अधिकृत चौरसियाका अनुसार, अब सहकारी मार्फत १० हजारदेखि २५ लाख रुपैयाँसम्म ऋण लिने सदस्यहरुलाई बीमा सुरक्षा सुविधा उपलब्ध हुनेछ ।

उनले बताए, “यस योजनाले ऋणी सदस्यहरुलाई आकस्मिक जोखिमको समयमा सुरक्षा मात्र नभई आर्थिक स्थायित्वमा पनि योगदान पुर्याउनेछ । हाम्रो उद्देश्य सदस्यहरुको हितमा दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नु हो।”

चौरसियाले थपे, योजना भदौ ९ गतेबाट पूर्ण रूपमा कार्यान्वयनमा आएको छ र यसबाट सहकारीका सदस्यहरुले ऋण लिदा मनोबल र आत्मविश्वासमा वृद्धि अनुभव गर्नेछन्।

सम्झौता हस्ताक्षर समारोहमा सन नेपाल लाइफका एजेन्सी डेभलपमेन्ट म्यानेजर बब्लु चौरसिया तथा सहकारी संस्थाका अन्य पदाधिकारीहरु पनि उपस्थित थिए । सहभागीहरुले सदस्यहरुको हितमा भएको यस्तो सहकार्य दीर्घकालीन र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

दुबै पक्षले यो सहकार्यलाई प्रारम्भिक कदमका रूपमा लिएर आगामी दिनमा अझ व्यापक र सदस्यमुखी योजनाहरु ल्याउने प्रतिबद्धता जनाएका छन् । साथै, सहकारी संस्थाका अधिकारीहरुले सदस्यहरुको सुझाव, आवश्यकताअनुसार योजना सुधार गर्दै अघि बढ्ने बताएका छन् ।

राष्ट्र बैंक कर्मचारी संघ वीरगंजद्वारा तीज प्रतियोगिता सम्पन्न

वीरगंज । नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगंज समितिद्वारा तीज पर्वको अवसरमा आयोजित विभिन्न प्रतियोगिताहरू उत्साहपूर्वक सम्पन्न भएका छन् । यहीँ भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा वीरगंजस्थित २२ वटा बैंक तथा वित्तीय संस्थाका महिला कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत ब्याडमिन्टन, स्लो स्कुटर रेस, टग अफ वार, लेडिज गट ट्यालेन्ट, बेस्ट रील्स कम्पिटिसन र बेस्ट फाइनान्सियल रील्स कम्पिटिसन गरी ६ वटा प्रतियोगिताहरू आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी महिला कर्मचारीहरूले आफ्नो प्रतिभा, सिप र आत्मविश्वास प्रस्तुत गरेका थिए।

ब्याडमिन्टन खेलमा नेपाल एस.बी.आई. बैंककी रिया झा र नेहा महतो प्रथम भएका थिए भने नेपाल राष्ट्र बैंककी शिल्पा केशरी र निरञ्जु राम द्वितीय बने । स्लो स्कुटर रेसमा सिद्धार्थ बैंककी स्मिता साह प्रथम, नेपाल बैंक लिमिटेडकी अन्सु चौधरी द्वितीय र नबिल बैंककी अनसिका जोशी तृतीय भए ।

यस्तै, टग अफ वार प्रतियोगितामा लक्ष्मी सनराइज बैंकले प्रथम स्थान हासिल गरेको थियो भने प्रभु बैंक द्वितीय र एभरेष्ट बैंक तृतीय बने । लेडिज गट ट्यालेन्टमा नेपाल बैंककी रश्मी कानु विजयी भएकी थिइन् भने द्वितीय स्थान लक्ष्मी सनराइज बैंककी मनिषा कर्माचार्य र सुस्मिता भुसाललाई प्राप्त भयो । तृतीय स्थान नबिल बैंककी दृष्टि गुप्ताले हात पारिन् ।

त्यसैगरी, बेस्ट रील्स कम्पिटिसनमा प्रभु बैंककी प्रिया नेपाल प्रथम भइन् भने लक्ष्मी सनराइज बैंककी शिवानी कार्कीको समूह द्वितीय र प्राइम बैंककी मर्यादा थापा समूह तृतीय बने । बेस्ट फाइनान्सियल रील्स कम्पिटिसनमा एन.एम.बी. बैंककी हिना श्रीवास्तव, अपेक्षा ढकाल, दिशा अधिकारी, ज्योति झा र आयुषा श्रेष्ठको समूह प्रथम, लक्ष्मी सनराइज बैंककी नेहा कुमारी र सुस्मिता भुसालको समूह द्वितीय तथा महालक्ष्मी विकास बैंककी भूमिका दास तृतीय बने ।

प्रतियोगिताका विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै संयोजक नरेश कुमार सर्राफले आगामी वर्षहरूमा अझ व्यापक रूपमा तीज कार्यक्रम आयोजना गरिने बताए ।

झाडापखाला र हैजाका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन

वीरगंज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीरगंजकाे नारायणी अस्पतालमा झाडापखाला र हैजाका बिरामीलाई निःशुल्क औषधि र उपचार उपलब्ध गराउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

मन्त्री पौडेलले अस्पतालमा उपचाररत बिरामीसँग सेवा र गुनासाबारे जानकारी लिँदै कुनै पनि बिरामीले औषधि किन्न नपर्ने व्यवस्था मिलाउन आग्रह गरे । साथै, औषधि अभाव नहोस् भनी तीनै तहका सरकारसँग समन्वय गरी आवश्यक जनशक्ति र सामग्री उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षत्रीले दीर्घकालीन योजना सहित अस्पतालमा औषधि उपलब्ध गराइरहेको जानकारी दिए । वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले एकद्वार प्रणालीबाट उपचार र औषधि वितरणमा जोड दिए ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासका अनुसार हाल ४८ जना बिरामीको उपचार भइरहेको छ भने प्रादेशिक अस्पताल गौर र कलैयाँबाट चिकित्सकसहितको टोली सेवा दिइरहेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म २५४ जना बिरामी दर्ता भएका छन्, जसमा १०३ जना उपचाररत, १२४ जना घर फर्किसकेका, र २२ जना आइसियुमा रहेका छन्।

जगरनाथपुर ढाटमा नियम विपरित कर असुली, ठेक्दारलाई कारवाही गर्न माग

वीरगंज । वीरगंज महानगरपालिका अन्तर्गतकाे राजमार्गमा कर असुलीकाे नाममा ढाट ठेकेदारका कर्मचारीले बलजबरजस्ती अवैध असुली गर्दै आएकाेले कारवाहीकाे माग गर्दै महानगरपालिकामा उजरी परेकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २२ जगरनाथपुरस्थित ढाटमा नियमविपरित बलजबरजस्ती भइरहेकाे कर असुली राेक्न माग गर्दै स्थानिय अमर प्रसाद यादवले साेमबार वीरगंज महानगरपालिका लिखित निवेदन दर्ता गराएका छन् । उनले महानगरपालिकाकाे राजश्व शाखामा दिएको निवेदनमा भारतीय मालवाहक सवारीसाधनलाई कर तिर्नुपर्ने कारण नहुँदा पनि “भारतीय सवारी हो” भन्दै बाटो छेकी जबर्जस्ती रकम असुली गरिएको उल्लेख छ ।

निवेदनमा ठेकेदार कर्मचारीहरूले एउटै सवारीसाधनलाई पटक–पटक करको नाममा रकम असुलेर चालकसँग विवाद, झगडा र कुटाकुट हुने अवस्था सिर्जना गरेको, जसका कारण स्थानीयवासीलाई समेत तनावपूर्ण स्थिति सहनु परेको जनाइएको छ ।

यसरी हुने अनियमित असुलीबारे पत्रपत्रिकामा पटक–पटक समाचार आए पनि ठेकेदारले सुधार नगरेको भन्दै पीडित पक्षले तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न महानगरपालिकालाई आग्रह गरेको छ ।

महानगरपालिकाले “जडिबुटी, कबाडी तथा जीवजन्तु कर” उठाउन अमित ठेक्का पट्टालाई ठेक्का दिएको छ । सम्झौताअनुसार ठेकदारले महानगर क्षेत्रभित्र उत्पादन संकलन तथा व्यवसायिक कारोबारमा मात्र कर लिन पाउने व्यवस्था छ ।

तर ठेकदार कम्पनीले नियम विपरीत सम्पूर्ण भारतीय मालवाहक सवारीसाधनबाट प्रतिगाडी ४ सयदेखि ५ सय रुपैयाँसम्म असुली गर्दै आएको स्थानीयले बताएका छन् । अमित ठेक्का पट्टाले नै वीरगंजसहित परवानीपुर र जितपुरसिमरामा पनि कवाडी करकाे ठेक्का लिएकाे छ ।

जगरनाथपुर गाउँपालिकाबाट कक्षा १२ का विद्यार्थीलाई पोशाक वितरण

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाको आर्थिक सहयोगमा मसिहानीस्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीलाई कोट, पाइन्ट, सर्ट र टाईसहितको पोशाक वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुस्लिम मियाँ, प्रधानाध्यापक हसमोदिन मियाँ, शिक्षा शाखाका प्रविधिक रबिन्द्र यादव, संयोजक शशी भूषण कुमार विनसहित सम्पूर्ण शिक्षक–शिक्षिका तथा कक्षा ११ र १२ का विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

वक्ताहरूले विद्यार्थीहरूलाई अनुशासित, आत्मविश्वासी र उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्न पालिकाको यो पहल सराहनीय रहेको धारणा राखेकाे विनय द्विवेदीले जानकारी दिए । कार्यक्रमकाे संचालन शिक्षक रुपनारायण साहले गरेका थिए ।

वीरगंजमा सशस्त्र प्रहरीद्वारा हैजा रोकथामसहित जनचेतनामूलक अभियान

वीरगंज । सशस्त्र प्रहरीले वीरगंजमा हैजा रोकथामसहित विभिन्न सामाजिक विषयमा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

वीरगंज महानगरपालिकामा देखिएकाे हैजा राेकथामकाे लागि यहाँका समुदायलाई लक्षित गरी जनचेतामूलक अभियान सुरु गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख प्रहरी उपरिक्षक (एसपी) पुरणचन्द भट्टले जानकारी दिए । उनका अनुसार २४ वटा युनिटमार्फत वीरगंजका विभिन्न टाेल, बस्ती तथा समुदायमा पुगेर दैनिक ७२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।

यस अभियानमार्फत नागरिकलाई हैजाबाट बच्ने उपायहरूका साथै शान्ति–सुरक्षा, सामाजिक अनुशासन, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण, सीमापारि हुने गैरकानुनी गतिविधि रोकथाम, महिला तथा बालबालिकाको सुरक्षा लगायतका विषयमा समेत जानकारी दिइएको छ ।

रौतहटमा रुबीको हत्या प्रकरण : शव बोक्ने ई–रिक्सा चालक पक्राउ

वीरगंज । रौतहटको माधवनारायण नगरपालिका–६ की २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा संलग्न भएको आशंकामा एक ई–रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार पक्राउ परेका व्यक्ति गौर बजारका ई–रिक्सा चालक लक्ष्मण महरा हुन् । हत्या गर्ने व्यक्तिले रुबीको शव सुटकेसमा राखी गंगापिप्रा गाउँसम्म लैजान महराको ई–रिक्सा पाँच सय रुपैयाँमा भाडामा लिएको खुलेको छ ।

तर मुडवलवा गेट नजिक पुग्दा ई–रिक्साको चक्कामा समस्या आएपछि हत्यारा सुटकेस सडक किनारमै फालेर भागेको प्रहरीको भनाइ छ । पक्राउ परेका चालक महराले भने सुटकेसभित्र के छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार रुबीको हत्याराको लगभग पहिचान भइसकेको छ र हाल ती व्यक्तिको व्यापक खोजी भइरहेको छ।

प्रहरी अनुसन्धान अनुसार शनिबार राति रुबीलाई गौर बजारस्थित एक डेरामा बोलाई हत्या गरिएको हो । साँझ करिब ६ बजे उनले आमा मिथिलादेवी साहलाई फोन गरी “केही सामान लिन जान्छु” भन्दै घरबाट निस्किएकी थिइन् तर फर्किइनन्।

त्यस राति गौर नगरपालिका–९ मुडवलवा गेटमा शंकास्पद अवस्थामा बेवारिसे सुटकेस फेला परेको थियो । सुरक्षाकर्मीले आइतबार बिहान सुटकेस खोल्दा रुबीको शव भेटिएको थियो ।

शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको देशव्यापी प्रदर्शन

वीरगंज । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत साेमबार देशभर प्रदर्शन गरेका छन् । काठमाडौंमा माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र सातै प्रदेशमा प्रदेशसभा अगाडि प्रदर्शन गरिएको हो ।

प्याब्सन, एनप्याब्सन, हिसान, अपेनलगायतका निजी विद्यालयका संगठनहरूले संयुक्त रूपमा विरोध प्रदर्शनलाई तीव्रता दिएका हुन् । यसै क्रममा मधेश प्रदेशको राजधानी जनकपुरस्थित प्रदेशसभा अगाडि पनि प्रदर्शन गरिएको छ । प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहको नेतृत्वमा आठै जिल्लाबाट पुगेका निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा परिमार्जन गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका हुन् ।

सो कार्यक्रममा पर्साबाट प्याब्सन जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, एनप्याब्सन सल्लाहकार प्रेम यादव, हिसानका जिल्ला अध्यक्ष मुकेश गुप्ता लगायत सहभागी थिए । त्यस्तै प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरन प्रधान, सल्लाहकार इमामुद्दिन अहमद, पूर्व वरिष्ठ उपाध्यक्ष श्याम केसी, संस्थापक सदस्य द्वा. लालबाबु पटेल, एनप्याब्सन वीरगंजका अध्यक्ष जियालाल गुप्ता, सचिव शेख अजहरलगायत पनि उपस्थित थिए ।

निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा राखिएका प्रावधानहरू अन्यायपूर्ण भएको दाबी गर्दै यसअघि पनि आन्दोलनका चरण सञ्चालन गरेका थिए । उनीहरूले विधेयकमा संशोधन नभए विद्यालय बन्द गर्ने चेतावनी समेत दिएका छन् ।

सञ्चालकहरूको प्रमुख मागहरू :
१. ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने।
२. विद्यालयले पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खानारखाजा उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गर्नुपर्ने।
३. कम्पनी ऐनअन्तर्गत दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैर–नाफामूलक’ बनाइने प्रावधान हटाइनुपर्ने।
४. छात्रवृत्ति वितरणको अधिकार विद्यालयमा नै रहनुपर्ने, पालिका प्रतिनिधिसहितको पारदर्शी समिति मार्फत वितरण गर्न सकिने व्यवस्था गर्नुपर्ने।
५. छात्रवृत्ति सम्बन्धी ऐन, नियमावली र संशोधन ऐनमा रहेका विभेदकारी दफा खारेज गर्नुपर्ने।

प्रतिवेदन संसदीय समितिबाट पास भई प्रतिनिधिसभामा पेस भइसकेकाले अब विधेयक संशोधन हुने वा यथावत् पारित हुने भन्ने प्रश्न निजी विद्यालय क्षेत्रको मुख्य चासो बनेको छ ।

वीरगंजमा हैजा नियन्त्रण एकद्वार प्रणालीमार्फत, स्वास्थ्य मन्त्री वीरगंजमा

वीरगंज । हैजाको संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन वीरगंज महानगर प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रमा जथाभावी औषधि वितरण नगरी एकद्वार नीति अवलम्बन गर्न निर्देशन दिएका छन् । उनले हैजालाई “हौवा” बनाएर व्यापार नगर्न सबैलाई आग्रह पनि गरेका हुन् ।

नीजि अस्पतालहरूले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास गरेको उल्लेख गर्दै प्रमुख सिंहले सरकारले नै निशुल्क किट उपलब्ध गराउने स्पष्ट पारे ।

वीरगंजमा आयोजित अन्तरक्रियात्मक छलफलमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरूसँग छलफल गर्दै सिंहले हैजा नियन्त्रणका सबै कार्य एकीकृत प्रयासमार्फत अघि बढाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई उपचारको मुख्य केन्द्र बनाउनुपर्ने धारणा राख्दै, निजी अस्पतालहरूले पनि समान मापदण्ड अपनाउनुपर्ने बताए । यसका लागि मन्त्रालयको टोलीले निजी अस्पतालहरूको अनुगमन गर्ने र आइसियुमा उपचाररत विरामीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तयारी रहेको जानकारी दिए ।

त्यसैगरी, स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखा प्रमुख डा. प्रविण झाले हैजाको परीक्षण बारम्बार आवश्यक नहुने प्रष्ट पार्दै, बिरामीमा एक पटक हैजा पुष्टि भएपछि अन्य बिरामीमा त्यस्तै लक्षण देखिए उपचारमा सीधा ध्यान दिन आग्रह गरे ।

यसैबीच, हैजाको अवस्था प्रत्यक्ष अवलोकन गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगंज आइपुगेका छन् । उनले  नारायणी अस्पताल पुगेर निरीक्षण गर्ने र त्यसपछि महानगर तथा सरोकारवालाहरूसँग छलफल गर्ने तय भएको छ।

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली भने हिजोदेखि नै वीरगंजमा खटिएको छ र हैजा नियन्त्रण तथा उपचारका गतिविधि नजिकैबाट अनुगमन गरिरहेको छ ।

मन्त्री सिंहको उपस्थितिमा पर्सामा हैजा नियन्त्रण रणनीति तय

वीरगंज । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंहज्यूको विशेष उपस्थितिमा आइतबार पर्सामा जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठक बसेको छ ।

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले हाल जिल्लामा फैलिरहेको झाडा पखाला तथा हैजा (कोलेरा) नियन्त्रणका लागि ६ बुँदे निर्णय गरेको छ।

बैठकले सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, नेपाल रेडक्रस सोसाइटी, मिडिया तथा विभिन्न संघसंस्थाको समन्वयमा घरदैलो अभियान, माईकिङ्ग र सचेतना कार्यक्रम तत्कालै सघन रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यसैगरी स्वास्थ्यकर्मीको अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राखी आवश्यकबाहेक बिदा नदिने, औषधि, किट तथा खानेपानी शुद्धिकरणका औषधि पर्याप्त मात्रामा सुनिश्चित गर्ने व्यवस्था मिलाउने, तथा महामारी नियन्त्रणका लागि Joint Operation Centre स्थापना गर्ने निर्णय गरिएको छ।

यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त जनशक्ति र स्रोत साधनलाई Pool खडा गरी व्यवस्थापन गर्ने र हाल फैलिरहेको महामारीको स्रोत पहिचान गर्न सम्बन्धित स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा स्वास्थ्य कार्यालय पर्सालाई आवश्यक औषधि व्यवस्थापनका लागि अग्रसर हुने जिम्मेवारी दिइएको छ भने महामारी नियन्त्रणका लागि प्राविधिक सहयोग प्रदेश तथा संघीय सरकारबाट उपलब्ध गराइने उल्लेख गरिएको छ।