Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
Home Blog Page 186

पर्साका नयाँ सिडिओ सुवेदी : इमान्दारीपूर्वक सुशासन कायम गर्ने प्रतिबद्धता

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोय नारायण सुवेदीले इमान्दारीपूर्वक जिल्लाको सुशासन कायम गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार जिल्लाका सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले नागरिकको शान्ति–सुरक्षा सुनिश्चित गर्दै सरकारी कार्यालयमार्फत प्रवाह हुने सेवा–सुविधालाई व्यवस्थित बनाउने आफ्नो प्रमुख दायित्व हुने बताए ।

सुवेदीले जिल्लामा देखिएका समस्याहरूलाई पहिचान गरी योजनाबद्ध ढंगले समाधान गर्ने प्रतिवद्धता जनाउँदै हाल वीरगंजमा फैलिएको हैजा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूसँग समन्वय गरी प्रभावकारी कदम चालिने स्पष्ट पारे । साथै, सिमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि र अपराधजन्य कार्य रोकथाम गर्न निगरानी कडा पारिने बताए ।

उनले मलखादमा हुने कालोबजारी नियन्त्रण गर्न नियमित अनुगमन गरिने र किसानलाई सहज रूपमा मल उपलब्ध गराइने व्यवस्था मिलाइने उल्लेख गरे । सेवाग्राहीको बढी चाप हुने कार्यालयहरूमा आवश्यक व्यवस्थापन गरी छिटो र सहज सेवा प्रवाह गर्ने कार्य प्राथमिकतामा रहने उनको भनाइ थियो ।

सुवेदीले जिल्ला प्रशासन कार्यालयमा खासगरी राष्ट्रिय परिचयपत्र बनाउन लाग्ने भीड देखिएकाे वताउँदै त्यसलाई पनि व्यवस्थतित गरिने वताए । उनले भने “नागरिकले सहज रूपमा सेवा पाउनु पर्छ भन्ने मेरो प्राथमिकता हुनेछ,” त्यस अनुसार नै आफु इमान्दारिक पूर्वक काम गर्छु ।

जिल्ला प्रशासन कार्यालय पर्साकाे सभाहलमा भएकाे परिचात्यमक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीद्वय सुमन कुमार कार्की, बाबुलाल रेग्मी पनि उपस्थिती रहेकाे थियाे ।

जिराभवानी गाउँपालिकामा झाडापखाला–हैजा नियन्त्रणका लागि उपचार केन्द्र स्थापना

सेढवा । वीरगंज तथा पर्साका विभिन्न स्थानमा देखिएको झाडापखाला तथा हैजाको प्रकोपलाई ध्यानमा राख्दै जिराभवानी गाउँपालिकाले पूर्वतयारी थालेको छ ।

गाउँपालिकाको विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले वडा नं ४ स्थित सुपौली स्वास्थ्य चौकीमा झाडापखाला तथा हैजा उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । स्वास्थ्य शाखा प्रमुख अजय चौधरीका अनुसार उपचारका लागि आवश्यक औषधि, जनशक्ति तथा अन्य आधारभूत सुविधाको व्यवस्था मिलाउने काम अघि बढाइएको छ ।

यसै क्रममा पालिकाभर कार्यरत स्वास्थ्यकर्मीलाई अति आवश्यक कार्यबाहेक बिदा नदिने, स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने र आम नागरिकलाई रोगसम्बन्धी जनचेतनामूलक प्रचार–प्रसार गर्ने कार्य पनि सुरु गरिएको जनाइएको छ ।

बैठकमा गाउँपालिका अध्यक्ष अनोज चौधरी, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, वडाध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, स्वास्थ्यकर्मी, जनपद तथा शसस्त्र प्रहरी र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

वीरगंजमा हैजाको जोखिम : थप तीन दिन विद्यालय बन्द

वीरगंज । हैजाको सङ्क्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै वीरगंज महानगरपालिकाले थप तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

महानगरपालिकामा सोमबार बसेको नगर प्रमुखस्तरीय बैठकको निर्णयअनुसार भदौ ११ गते बुधबारदेखि १३ गते शुक्रवारसम्म महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरिने भएको हो । यसअघि पनि महानगरले दुई दिन विद्यालयहरुमा विदा दिएकाे थियाे ।

महानगरले जारी गरेको सूचनामा विद्यालयहरू बन्द रहँदा शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रण तथा जनचेतनामूलक गतिविधिमा अनिवार्य रूपमा संलग्न गराइने उल्लेख गरिएको छ । यस क्रममा विद्यालयको सेवा क्षेत्रमा रहेका समुदायलाई सचेतना दिने, आवश्यक जानकारी प्रवाह गर्ने र सरसफाइमा जोड दिने कार्य हुने जनाइएको छ ।

यस्तै विद्यालयहरूले हैजा नियन्त्रणका लागि आवश्यक पोस्टर, पम्प्लेट तथा जनचेतनामूलक सामग्री महानगरको शैक्षिक प्रशासन महाशाखाबाट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा सबै विद्यालयले निर्णयलाई कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

काठमाडौं महानगरकाे ज्यादतीविरुद्ध कबाड व्यवसायीको आन्दोलन दोस्रो दिन, ५ बुँदे माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको ज्यादतीविरुद्ध कबाड व्यवसायीले मंगलबार दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शन कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयसम्म पुगेर व्यवसायीहरूले घेराउसमेत गरेका छन्।

कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरीत महानगर प्रमुख बालेन्द्र शाहले कबाड व्यवसायमाथि तोडफोड र अत्याचार गरिरहेको आरोप लगाउँदै शान्तिपूर्ण आन्दोलनमा उत्रनु परेको बताए। उनले प्रश्न गर्दै भने, “के मेयर बालेन सर्वोच्च अदालतभन्दा माथि छन्? कानूनी शासनको कुरा गर्नेले अदालतको आदेश पालना गर्नुपर्छ कि पर्दैन?”

उनका अनुसार सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने छ।

आन्दोलनमा सहभागी व्यवसायीहरूले “सर्वोच्च अदालतको आदेश पालना गर”, “कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर”, “बालेनको गुण्डागर्दी बन्द गर” जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन्।

कबाड व्यवसायीहरूले पाँच बुँदे माग राख्दै आन्दोलन थालेका छन्। उनीहरूको प्रमुख मागमा पेशा–व्यवसाय गर्न पाउने संवैधानिक हक सुनिश्चित गर्नुपर्ने, महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तत्काल रोक्नुपर्ने, संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने, व्यवसायी, संकलक र मजदुरको ज्यान–धनको सुरक्षा सुनिश्चित गर्नुपर्ने तथा विगत दुई वर्षमा महानगरबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने छन्।

आन्दोलनकारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी दिएका छन्।

बलरा नगरपालिकाको किसान आन्दोलनप्रति ऐक्यबद्धता, नगरप्रमुख कुशवाहाको समर्थन

वीरगंज । सर्लाहीकाे बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले माइतीघर, काठमाडौँमा जारी किसान आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।

काठमाडाैंमा आयोजित आन्दोलनमा सहभागी भई उनले देशभरिका किसानहरूको हक, अधिकार र न्यायोचित मागको समर्थनमा बलरा नगरपालिकाको तर्फबाट ऐक्यबद्धता जनाएका हुन्।

नगरप्रमुख कुशवाहाले किसानलाई देशको मेरुदण्डको संज्ञा दिँदै उनीहरूको पीडा सुन्ने, बुझ्ने र समाधान गर्न राज्य जिम्मेवार बन्नुपर्ने बताए । उनले भने, “किसान आन्दोलनलाई पूर्ण समर्थन प्रकट गर्दछु । हाम्रो ऐक्यबद्धताले यो आन्दोलनलाई अझ सबल र प्रभावकारी बनाउन मद्दत गर्नेछ।”

आन्दोलनमा सक्रिय किसान र समर्थकहरूलाई अभिवादन गर्दै नगर प्रमुख कुशवाहाले न्यायोचित माग सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

वीरगंज महानगरले सुरु गर्‍यो आफ्नै प्रयोगशालाबाट पानी परीक्षण

वीरगंज । पछिल्ला दिनमा तीव्ररुपमा फैलिरहेको झाडापखाला र हैजाको जोखिमलाई ध्यानमा राख्दै वीरगंज महानगरपालिकाले आफ्नै पहलमा पानी परीक्षण कार्य सुरु गरेको छ। महानगरले संक्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशंकामा नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्न थालेको हो।

महानगर प्रमुख राजेशमान सिंहका अनुसार वडा नं. १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानी नमूना संकलन गरिएको छ। माइक्रोबायोलोजिस्ट अजय मण्डल र वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले संकास्पद क्षेत्रमा पुगेर नमूना संकलन गरी प्रयोगशालामा परीक्षण सुरु गरेका छन्। सोमबारदेखि नै महानगरले नमूना संकलन गरेर परीक्षण अघि बढाएको हो।

महानगरले वडा नं. १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै आधुनिक प्रयोगशाला स्थापना गरेको छ। प्रयोगशालामा इ. कोली परीक्षण सहजै हुने व्यवस्था मिलाइएको छ भने युनिसेफले उपलब्ध गराएको विशेष किट प्रयोग गरेर कोलिफर्म परीक्षण समेत सुरु गरिएको छ। प्रारम्भिक नतिजा २४ घण्टाभित्र र विस्तृत रिपोर्ट ७२ घण्टाभित्र प्राप्त हुने प्राविधिक टोलीले जनाएको छ।

माइक्रोबायोलोजिस्ट मण्डलले भने, “समयमै नतिजा प्राप्त भएपछि कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्ने थाहा पाउन सजिलो हुन्छ र त्यसअनुसार तत्काल कदम चाल्न सकिन्छ।”

संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिँदै महानगर प्रमुख सिंहले सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता रहेको उल्लेख गरे। उनका अनुसार, महानगरपालिकाले आफ्नै स्तरबाट परीक्षण सुरु गर्नुको उद्देश्य वासिन्दालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु हो।

हाल महानगरले सर्वाधिक प्रभावित क्षेत्रका धारामा प्राथमिकता दिँदै परीक्षण अघि बढाइरहेको छ भने आवश्यकता अनुसार अन्य संकास्पद स्थानका पानी नमूना पनि संकलन गरी परीक्षण गर्ने तयारी भएको महानगरले जनाएको छ।

कांग्रेस पर्सा–४ को क्षेत्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न, नवीकरणदेखि प्रशिक्षणसम्म निर्णय

वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय कार्यसम्पादन समितिको बैठक सोमबार ठोरीमा सम्पन्न भएको छ। क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण सम्बन्धी विभिन्न निर्णय गरेको छ।

बैठकमा क्षेत्रभरी छुटेका सक्रिय सदस्यहरूको नवीकरण प्रक्रिया सुरु गर्ने, युवा कार्यकर्ता र बूथ सभापतिको भेला आयोजना गर्ने तथा आगामी दिनमा अगुवा कार्यकर्तालाई लक्षित प्रशिक्षण कार्यक्रम गर्नेबारे छलफल भएको क्षेत्रीय कोषाध्यक्ष विनय द्विवेदीले जानकारी दिए ।

बैठकमा कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला कोषाध्यक्ष प्रेम थापा, क्षेत्रीय सचिव बलिस्टर अहमद लगायतका पदाधिकारी तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

पर्सा–२ मा आमात्यको कमब्याक, कांग्रेसभित्र शक्ति सन्तुलनमा हलचल

वीरगंज । नेपाली कांग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य राजेन्द्र बहादुर आमात्यले पर्सा–२ बाट आफु चुनाव लडने वताएका छन् । एक रेडियाेमा अन्तर्वाता दिदै नेता आमात्यले आफु अगामी निर्वाचनमा पर्सा २ बाट प्रतिनिधि सभामा चुनाव लडने वताएका हुन् ।

अन्तर्वाताकाे क्रममा उनले हल्ला जे चलेपनि आफु पर्सा २ बाटै प्रतिनिधि सभा सदस्यमा चुनाव लडने दाबी गरेका छन् । अमात्यले वीरगंज महानगरकाे मेयरकाे उम्मेदवार हुने चर्चा चलेपनि पत्रकारकाे जिज्ञासामा उनले खण्डन सांसद मै चुनाव लडने वताएका हुन् ।

उनले २०७० सालमा संविधानसभा निर्वाचनमा पर्सा–१ बाट विजयी भई संविधान निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए । लामो अन्तरालपछि गरिएको यो ‘कमब्याक’ले कांग्रेसभित्रै शक्ति सन्तुलनमा प्रभाव पार्ने संकेत देखिएको छ।

अहिले साे क्षेत्रमा नेपाली कांग्रेसबाट अजय कुमार चाैरसिया निर्वाचित भएका छन् । हाल उनी संघिय सरकारकाे कानुन मन्त्री पनि छन् । चौरसियाको क्षेत्रमा आमात्यको प्रवेशले स्थानीय राजनीति नयाँ समीकरणमा पुग्ने विश्लेषण राजनीतिक वृत्तमा सुरु भएको छ ।

आमात्यले संविधान निर्माणलाई आफ्नो पुस्ताको ऐतिहासिक योगदान बताउँदै भने, “संविधान लेख्नु भनेको इतिहास लेख्नु  हो । जातीय, भाषिक, क्षेत्रीय र राजनीतिक भिन्नताबीच सहमतिसहित संविधान बनाउन सक्नु हाम्रो ठूलो उपलब्धि हो।”

विश्लेषकहरूका अनुसार आमात्यको उम्मेदवारीले पर्सा–२ मा जातीय समीकरण, गुटगत शक्ति र स्थानीय नेतृत्वको समीकरण फेरबदल गर्न सक्छ ।

समाजवादी प्रेस संगठनको चौथो स्थापना दिवस, वीरगंजमा प्रभातफेरी र कोणसभा

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साले आफ्नो चौथो स्थापना दिवसको अवसरमा मंगलबार वीरगंजमा प्रभातफेरी सम्पन्न गरेको छ । वीरगंजकाे घण्टाघर चोकबाट शुरु भएको प्रभातफेरी माईस्थान, महावीरस्थान, आदर्शनगर, घडिअर्वा हुँदै नगर परिक्रमा गरेर पुनः घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो।

संगठनका पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कोणसभामा नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले पत्रकारहरुको पक्षमा पार्टी सधैं रहने स्पष्ट पार्दै प्रेस स्वतन्त्रता सुरक्षित गर्न विद्यमान मिडियाविरोधी कानुन संशोधन गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले पछिल्लो समय पत्रकारितामा असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्दै सरकारले ल्याउन लागेको प्रेसविरोधी विधेयक स्वीकार्य नहुने बताए । उनले मिडियामैत्री राज्य निर्माणका लागि पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारले श्रमजीवी पत्रकारहरूको हकहित र क्षमतावृद्धिका लागि महासंघ निरन्तर सक्रिय रहने उल्लेख गर्दै पत्रकारिता क्षेत्रमा देखिएका विकृति–विसंगति निर्मूल गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

कोणसभालाई सम्बोधन गर्ने अन्य वक्ताहरुले मिडियालाई दर्ता र नविकरण प्रशासन मातहतमा राख्ने प्रावधानप्रति असहमती व्यक्त गरेका थिए । साथै सूचना विभागमा हुने कार्य रोकिएको र प्रशासनबाट पनि काम नहुँदा पत्रकारहरु मारमा परेको वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक केशी लामिछाने, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवान, मधेश प्रदेश अध्यक्ष मनोज पटेल, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्र, रेडियो वीरगंज, मधेसदृष्टि एवं टिभी वीरगंजका कार्यकारी अध्यक्ष ध्रुब साह, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, श्रमजीवी पत्रकार संघ पर्साका अध्यक्ष आरके पटेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

परवानीपुरमा सडक निर्माण विवाद: गाउँपालिकाले कानुनी प्रक्रिया अपनाउने

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिकाले वडा नं. ५, बहुअरीको मूल सडक निर्माण कार्यमा अवरोध र भ्रामक सूचना फैलाउने विषयमा सार्वजनिक स्पष्टीकरण जारी गरेको छ ।

गाउँपालिकाका अनुसार, विगत केही दिनदेखि बहुअरीको मूल बाटो निर्माण कार्यमा अवरोध गर्ने प्रयास भइरहेको र विभिन्न संचार माध्यममा भ्रामक सूचना फैलाइएको प्रति कार्यालयको गम्भीर ध्यान गएको छ । यस सन्दर्भमा गाउँपालिकाले स्पष्ट पार्दै भन्यो कि विगत ३ वर्षदेखि योजना तथा बजेट विनियोजन भई सडक निर्माण कार्य अघि बढाइएको हो र केही व्यक्तिहरूले व्यक्तिगत वा राजनीतिक स्वार्थका लागि अवरोध गर्दै आएका छन्।

गाउँपालिकाका प्रवक्ता महमद नुरुल होदा अंसारीद्वारा जारि विज्ञप्ती अनुसार वडा नं. ५ का वडा अध्यक्ष रामेश्वर प्रसाद कलवारको अध्यक्षतामा बसेको बैठकमा सर्वसम्मतिमा २५ फिट चौडा सडक निर्माण गर्ने निर्णय भइसकेको थियो । सो निर्णयअनुसार पटक-पटक सार्वजनिक सूचना जारी गरी घर, टहरा, पर्खाल खाली गर्न भनिएको थियो । यसै क्रममा न्यायिक समितिले २३ फिट चौडाइ कायम गर्ने निर्णय गरेको र कार्यपालिका तथा गाउँसभाबाट पनि यसलाई अनुमोदन गरिएको छ।

हाल अन्तिम निर्णय अनुसार सडक न्यूनतम १९ फिटदेखि अधिकतम २१ फिट चौडाइमा निर्माण हुने योजना तय गरिएको छ। गाउँपालिकाले भन्छ कि केहि व्यक्तिहरूले राजनीतिक तथा व्यक्तिगत स्वार्थका कारण सडक निर्माण अवरुद्ध गरिरहेका छन् र यस विषयमा कानुनी प्रक्रिया अपनाई सार्वजनिक हितमा सडक निर्माण कार्यलाई निरन्तरता दिइनेछ।

गाउँपालिकाले सबैमा अपील गर्दै भन्यो कि गैर जिम्मेवार रूपमा भ्रम फैलाउने वा सडक निर्माण अवरोध गर्ने कार्य तुरुन्त रोकिने र सार्वजनिक कार्यलाई निरन्तरता दिन सबैले सहकार्य गर्नुपर्नेछ।