Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
Home Blog Page 185

रुबी हत्या आरोपी लक्ष्मणकाे कीर्तिपुर अस्पतालमा निधन

काठमाडौं । रौतहटकी रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका मुख्य आरोपी लक्ष्मण पासवानकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएकाे छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख अपिल बोहराका अनुसार, पासवानको मृत्यु बुधबार अपराह्न ५:५५ बजे भएको हो ।

पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए । । उनको अवस्था गम्भीर देखिएपछि तत्काल उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।प्रहरीले घटनासँग सम्बन्धित अन्य विषयमा अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।

पासवानले आत्मदाहकाे प्रयास गर्नु अघि बनाएकाे आफ्नाे भिडियोमा आफु कक्षा ८ देखि रुबीसँग प्रेम सम्बन्धमा रहेको र काेर्टमा आफुहरुले विवाह समेत गरेकाे दाबी गरेका थिए ।

लक्ष्मणकाे दाबी : “रुबिसंग मैले कक्षा ८ देखि नै प्रेममा थिए, काेर्टमा विवाहपनि भएकाे थियाे”

वीरगंज । रौतहटकी रुबीकुमारी साहको हत्या प्रकरणमा मुख्य आरोपी लक्ष्मण पासवानले बुधबार अपराध स्वीकारेका छन् । आत्मदाहकाे प्रयास गरेका उनलाई प्रहरीले जलेको अवस्थामा गौर नगरपालिका–९ सिरसियाबाट नियन्त्रणमा लिएर प्रारम्भिक उपचारपछि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा थप उपचारका लागि पठाएको छ ।

पासवानले बनाएकाे आफ्नाे भिडियोमा कक्षा ८ देखि रुबीसँग प्रेम सम्बन्ध रहेको, आर्थिक अभाव र रुबीकी आमाको दबाबका कारण सम्बन्ध टुटेको बताएका छन् । उनले आरोप लगाए कि रुबीकी आमा छोरीलाई लोभ-लालच र अन्य व्यक्तिहरूसँगको सम्बन्धमा बाध्य पार्दै सताइरहन्थिन् ।

भिडियोमा पासवानले भनेका छन्, “हामीले भागेर विवाह गरेका थियौं । तर निरन्तर मानसिक दबाब, ब्ल्याकमेल र अन्य व्यक्तिहरूको लोभ-लालचका कारण म बाध्य भएँ । म दोषी हुँ, तर जेलमा बस्न सक्दिनँ। म मर्छु । मेरो प्राण त्यहीँ छ ।”

घटनाको क्रममा पासवानले राजन, सरलु लगायत अन्य व्यक्तिहरूको दबाब र ब्ल्याकमेलका कारण मनोवैज्ञानिक तनावमा रहेकाले आत्मदाह प्रयास गरेको बताएका छन् । उनले घटना अघि प्रेमिकासँग विवाद हुँदा मनोवैज्ञानिक दबाब बढेको र अन्ततः हत्या गरेको स्वीकारेका छन् ।

प्रहरीले घटनास्थल गौर–९ सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सडकको पश्चिम किनारामा शव फेला परेको जनाएको छ । अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, बुधबार बिहान ७ बजे माधवनारायण नगरपालिका–६ स्थित नहरको छेउ, राजदेवी मन्दिर नजिक चौरमा लक्ष्मण पासवान जलेर घाइते अवस्थामा फेला परेका हुन् ।

पासवानलाई रौतहटको गौर नगरपालिका–९ मुडवलवा गेट नजिक सुटकेसमा फेला परेको रुबी देवी साहको शवको हत्याको मुख्य शंकित व्यक्ति मानिएको छ । प्रहरीले प्राप्त सूचना अनुसार, पासवानले आत्मदाह गर्ने उद्देश्यले आफ्नो शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए ।

पर्सामा सशस्त्र प्रहरीद्वारा १९ लाख भन्दा बढीको सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको संयुक्त टोलीले रु. १९ लाख २५ हजार ७३६ बराबरका अबैध सामान बरामद गरी वीरगञ्ज भन्सारमा बुझाएको छ ।

बुधबार खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१० अशोक बाटिका निवासी सिता थापाको घरमा भारतबाट भन्सार छली गरी ल्याएर भण्डारण गरिएको कपडा फेला पारेको हो । सोही स्थानमा बिआर २२ एस ०७१०१ नम्बरको भारतीय मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको सामान समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामानमा Afzal Double Apple Flavour, विभिन्न कपडा र किराना सामग्री रहेका छन् जसको भन्सार मूल्य रु. १७ लाख ८५ हजार ७३६ रहेको छ । त्यस्तै, सामान ओसारपसारमा प्रयोग भएको मोटरसाइकलको मूल्य रु. १ लाख ४० हजार मुल्याङ्कन गरिएको छ ।

बरामद गरिएका सबै सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।

‘माइक अप’ प्रतियोगिता: वीरगंजकी दुई छात्रा थाइल्यान्ड प्रस्थान, प्याब्सनले बिदाई गर्‍यो

वीरगंज । वीरगञ्जस्थित प्याब्सन पर्सा सदस्य विद्यालय गौतम स्कुलकी स्वरा झा र नेशनल इन्फोटेक कलेजकी सारा श्रेष्ठ प्रतिष्ठित ‘माइक अप’ अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिताको सेमिफाइनल चरणमा प्रतिस्पर्धा गर्न बुधबार थाइल्यान्ड प्रस्थान गरेका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्याब्सन पर्साका जिल्ला कार्यसमिति सदस्य सुशील केसीले दुवै छात्रालाई ढाका टोपी र नेपालको झण्डा ओढाएर सफलताको शुभकामना दिदैं बिदाई गरे । त्यस्तै, गौतम स्कूलका शिक्षक एल्बिन रेन्जरलाई पनि खादा ओढाएर सम्मानपूर्वक बिदाई गरिएको थियो । बिदाई गर्दै केसीले यस किसिमको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनु गर्वको विषय भएको भन्दै छात्राहरूले पर्साको नाम उच्च बनाएको खुशी व्यक्त गरे ।

नेपालमा सम्पन्न प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गर्दै उनीहरूले थाइल्यान्डको बैंककमा भदौ ११ गतेदेखि १५ गतेसम्म हुने सेमिफाइनल चरणमा स्थान सुरक्षित गरेका हुन् ।

सारा श्रेष्ठ वीरगञ्ज महानगरपालिका–३ निवासी राजबहादुर श्रेष्ठ र सिता थापा श्रेष्ठकी छोरी हुन् । हाल उनी नेशनल इन्फोटेक कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् र सिनियर विधाबाट छनौट भएकी हुन् ।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–१२ निवासी रविन्द्र झा र अनामिका झाकी छोरी स्वरा झा गौतम स्कुलको कक्षा ९ मा अध्ययनरत छिन् । उनले जुनियर विधाबाट उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।

यदि उनीहरूले सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएमा चीनमा आयोजना हुने फाइनल चरणमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।

परवानीपुर गाउँपालिकाद्वारा हैजा नियन्त्रणका लागि जनचेतना

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाले हैजा रोग नियन्त्रणका लागि सबै वडामा अनुगमन समिति गठन गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अगुवाइमा वडामा जनचेतनामूलक र्‍यालीसमेत निकालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका बासिन्दालाई हैजा सम्बन्धी आवश्यक जानकारी र सचेतना फैलाउनका लागि सञ्चालन गरिएको यस अभियानले स्थानीयस्तरमा सकारात्मक प्रभाव पारेको प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारले जानकारी दिएका छन् ।

उनका अनुसार, हैजाबाट बच्न सबैभन्दा पहिले व्यक्तिगत र सामूहिक सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ । उमालिएको वा फिल्टर गरिएको मात्र सुरक्षित खानेपानी सेवन गर्नुपर्ने, पानी भण्डारण गर्दा सफा भाँडाकुँडामा राख्नुपर्ने र व्यक्तिगत सतर्कता अपनाउनुपर्नेमा पनि विशेष जोड दिइएको छ ।

वीरगंजमा हैजा नियन्त्रणका लागि खानेपानी शुद्धिकरणलाई प्राथमिकता

वीरगंज । हाल वीरगंजमा फैलिएको झाडापखाला र हैजाको जोखिमलाई ध्यानमा राख्दै वीरगंज महानगरपालिकाले खानेपानी शुद्धिकरणलाई प्राथमिकतामा राखेको छ। महानगरले विभिन्न स्थानमा राखिएका ट्यांकीहरूमा ट्यांकरमार्फत पुर्‍याइने पानीलाई क्लोरीन झोल र ब्लिचिङ पाउडर प्रयोग गरेर निर्मलीकरण गरेर मात्रै वितरण गर्दै आएको छ।

महानगरको वातावरण निरीक्षक प्रकाश ऐरका अनुसार फोहोर वा दूषित पानीकै कारण हैजा, टाइफाइडसहित अन्य पाचनसम्बन्धी रोग फैलने सम्भावना उच्च हुन्छ। “हामीले ट्यांकरमै क्लोरीन घोल्छौं र टंकीमा समेत ब्लिचिङ पाउडर प्रयोग गर्छौं। यसरी शुद्धिकरण नगरिकन कुनै पनि स्थानमा पानी पठाइँदैन,” उहाँले भन्नुभयो।

ब्लिचिङ पाउडर पानीलाई सुरक्षित बनाउने प्रभावकारी उपाय मानिन्छ। यसले पानीमा क्लोरीन मुक्त गराएर हैजा र टाइफाइड जस्ता रोगका जीवाणुहरूलाई तुरुन्तै नष्ट गर्ने भएकाले लामो समयसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ।

महानगर प्रमुख राजेशमान सिंहले खानेपानी शुद्धिकरणलाई रोग नियन्त्रणको सबैभन्दा महत्त्वपूर्ण उपाय भन्दै नागरिकलाई पनि घरमै पानी उमालेर मात्र पिउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “सामुदायिक स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो। महानगरले आफ्नो तर्फबाट शुद्धिकरणको सम्पूर्ण प्रक्रिया अवलम्बन गरिरहेको छ, तर नागरिकले पनि सतर्कता अपनाउनुपर्छ। हामी कुनै पनि हालतमा अशुद्ध पानी वितरण गर्न दिने छैनौं।”

महानगरले प्रत्येक घरपरिवारलाई सुरक्षित पानी उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।

वीरगंजकाे राधेमाई मन्दिरमा मधेश फाउण्डेशनद्वारा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

वीरगञ्ज । मधेश फाउण्डेशन नेपालले वीरगञ्ज–१३ स्थित राधेमाई मन्दिरको प्राङ्गणमा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । संस्थाकी अध्यक्ष श्रीमती पिंकी यादवको अध्यक्षतामा कार्यक्रम उद्घाटन गर्दै रात्री सांस्कृतिक तथा झाँकी प्रस्तुति सुरु गरिएको थियो ।

कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष हिरा गिरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । सो अवसरमा मन्दिर सञ्चालकज्यू, समाजसेवी विशेष साह, युवा नेता पावन यादवलगायतको उपस्थिति रहेको थियो ।

तीज पर्वको अवसरमा आयोजना गरिएको यस कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, नृत्य तथा स्थानीय कलाकारहरूको प्रस्तुति देखाइएको थियो । आयोजक संस्थाले यस्ता कार्यक्रमले सांस्कृतिक एकता, परम्परा र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ ।

१५ मध्ये १२ संक्रमितमा हैजा पुष्टि, Vibrio Cholera भेटियो

वीरगंजवीरगंजमा हाल फैलिएको झाडापखालाका संक्रमितहरूको परीक्षण रपोर्ट सार्वजनिक भएसँगै हैजाको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १५ वटा नमूनामध्ये १२ मा Vibrio Cholera नामक जीवाणु पाइएको छ ।

त्यसैगरी केन्द्रिय प्रयोगशालामा पठाइएका १० नमूनामध्ये ८ को रिपोर्ट आइसकेको छ, जसमा समेत सोही जीवाणु भेटिएको छ । विस्तृत परीक्षणका क्रममा भेटिएका स्ट्रेनमध्ये poly O1ogawa serotype पाइएको छ । यी दुवै सिरोटाइप अत्यन्त आक्रमक मानिन्छन् र प्रायः हैजाका महामारी यिनै कारण हुने गरेको पाइएको छ ।

विशेषज्ञहरूले हैजा नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेका छन् । स्वास्थ्यकर्मीहरूले पिउनु अघि पानी उमाल्ने, खानेकुरा खानु अघि र शौचालय प्रयोगपछि साबुनपानीले राम्ररी हात धुने, पखाला लागेमा तुरुन्त जीवनजल (ORS) प्रयोग गर्ने र अवस्था गम्भीर भए नजिकैको स्वास्थ्य संस्थामा चाँडै लैजान सुझाव दिएका छन् ।

“आत्तिनुपर्ने अवस्था छैन तर उच्च सतर्कता आवश्यक छ,” डा. सिंहले बताए । स्थानीयलाई घरमा केही जीवनजल (ORS) राख्न र सरसफाइमा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ ।

रोजगारी दिन्छु भनेका मन्त्रीकै निर्णयले ८० भन्दा बढी कर्मचारी बेरोजगार हुने खतरा

जनकपुरधाम । बेरोजगारीको समस्या समाधान गर्ने वाचा गर्दै सरकारमा पुगेको जनमत पार्टीभित्र उल्टो गतिविधि सुरु भएको छ । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री बसन्त कुशवाहाले आफ्नै मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत करार कर्मचारीलाई हटाउने निर्णय गरेका छन् ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुनु केही दिनअघि मन्त्री कुशवाहाले प्रदेशमा एक लाख रोजगार सिर्जना हुनेगरी नीति ल्याइने बताएका थिए । तर अहिले उनले १४ वटा कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर, हलुका सवारी चालक, कार्यालय सहयोगीसहित करिब ८० जना करार कर्मचारीलाई हटाउने आदेश जारी गरेका छन् ।

मन्त्रालयका सचिव जयकुमार घिमिरेका अनुसार मन्त्रीस्तरीय निर्णयमार्फत करार कर्मचारीहरूको म्याद नथप्न आदेश दिइएको छ । उनले भने, “वर्षौदेखि काम गरिरहेका कर्मचारीहरूलाई हटाउँदा कार्यालय सञ्चालनमै समस्या हुन्छ । तर पनि मन्त्री ज्यूले सिधै म्याद नथप्न भन्नुभएको छ ।”

यस कदमप्रति नेपाल निजामती कर्मचारी युनियन धनुषाका अध्यक्ष धर्मराज पौडेलले आपत्ति जनाउँदै विधि–प्रक्रिया पूरा गरेर नियुक्त भएका कर्मचारीलाई हटाउन नपाइने बताए । उनले भने, “यदि आफ्ना कार्यकर्ता भर्ना गर्न पुराना कर्मचारीलाई हटाउने काम भयो भने आन्दोलन गर्न बाध्य हुनेछौँ । त्यसको जिम्मेवारी मन्त्री कुशवाहा र प्रदेश सरकारले लिनुपर्नेछ ।”

मन्त्री कुशवाहाले आफ्ना निकट व्यक्तिलाई नियुक्त गर्न करार कर्मचारीलाई हटाउन लागेको आरोपसमेत लागेको छ । तर यसबारेमा प्रतिक्रिया लिन खोज्दा मन्त्री कुशवाहा सम्पर्कमा आएका छैनन् ।

वीरगंजमा हैजाको जोखिम बढ्दा होटल र मासु पसलमा अनुगमन

वीरगंज । हैजाको जोखिम बढेसँगै वीरगंज महानगरपालिकाले होटल र मासु पसलहरूमा व्यापक अनुगमन सुरु गरेको छ । मंगलबार महानगरको संयुक्त टोलीले मुर्ली, पानी टंकी, बसपार्क र नगवा क्षेत्रमा रहेका होटल तथा मासु पसलहरूको सरसफाइ अवस्था निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा पसल र होटलभित्रको सरसफाइ, खानेपानीको स्वच्छता, सुरक्षित भण्डारण, फ्रिजमा राखिएका मासु, माछा, अण्डा तथा अन्य खाद्य सामग्रीहरूको अवस्था जाँच गरिएको थियो । टोलीले व्यवसायीहरूलाई स्वास्थ्य र स्वच्छताप्रति विशेष ध्यान दिन चेतावनीसहित सचेत गराएको छ ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा पशु सेवा शाखा, वातावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोलीले अनुगमन गरेको हो । सिंहले हैजा फैलन नदिन व्यवसायी स्वयं जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउँदै नियमित अनुगमनलाई निरन्तरता दिइने बताए ।

उनले भने, “होटल तथा मासु पसलहरूमा स्वच्छता कायम भए मात्र हैजासहितका संक्रमणजन्य रोग नियन्त्रण गर्न सकिन्छ । यसलाई अब दैनिक कार्यको रूपमा अघि बढाइन्छ ।”

हैजा नियन्त्रणका लागि महानगरले जनचेतना कार्यक्रम, दूषित पानीको परीक्षण, संक्रमित क्षेत्रको सरसफाइ र स्वास्थ्यकर्मीमार्फत घरदैलो अभियानलाई पनि सक्रिय पारेको छ । यससँगै स्थानीयवासीलाई पानी उमालेर मात्र पिउन, सफा खानेकुरा सेवन गर्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ ।