Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
Home Blog Page 183

वीरगंज–३१ मा गुडविल सोसाइटीद्वारा ५० थान मच्छरदानी वितरण

वीरगंज । गुडविल सोसाइटीले वीरगञ्ज महानगरपालिका–३१ मा स्थानीयवासीलाई ५० थान मच्छरदानी (Mosquito Net) वितरण गरेको छ।

हाल सो क्षेत्रमा मच्छरको प्रकोप अत्यधिक बढेको र यसका कारण स्वास्थ्य समस्या चर्किरहेको गुनासो आएपछि संस्थाले राहतस्वरूप मच्छरदानी वितरण गरेको हो। वितरण कार्यक्रममा वीरगञ्ज–३१ का वडाध्यक्ष जितेन्द्र यादव विशेष उपस्थितिमा सहभागी भएका थिए।

सो अवसरमा गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलम, उपाध्यक्ष सज्जाद, सदस्यहरू किशन पटेल, शाहनवाज राकि, सुहैब आलम, सलाउदिन आलम, सम्सुदिन हवारी, आमिर आलम, सौकत मिया, साहिल खान, सम्सुल हक उपस्थित थिए । साथै स्थानीयवासी उमर अन्सारी, अली हसनसहित समुदायका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमका वक्ताहरूले मच्छरजन्य रोग नियन्त्रणका लागि सचेतना र सावधानी अपनाउनुपर्नेमा जोड दिएका थिए। साथै, गुडविल सोसाइटीले स्थानीय समस्याका आधारमा आगामी दिनहरूमा पनि यस्ता सामाजिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

पर्सामा हैजा र झाडापखालाको प्रकोप: ७१२ केस, ५१७ निको, १९५ अझै उपचाररत

वीरगंज । पर्सा जिल्लामा हैजा र झाडापखालाका पानीजन्य रोगको प्रकोप तीव्र बन्दै गएको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ। स्वास्थ्य कार्यालयले भदौ १४ गते बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै हालसम्म जिल्लाभर ७१२ जना बिरामी दर्ता भएको जनाएको हो।

प्राप्त विवरणअनुसार हालसालै मात्र ७७ नयाँ केस थपिएका छन्। तीमध्ये ३३ जना बिरामी ICU मा, ४ जना HDU मा र १५८ जना सामान्य वार्डमा उपचाररत छन्। हालसम्म ५१७ जना निको भई डिस्चार्ज भएका छन् भने १९५ जना अझै उपचाररत छन्।

स्वास्थ्य कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख विनोद झाले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै हैजासम्बन्धी परीक्षण (RDT) अनुसार हालसम्म १६२ जना बिरामी पोजिटिभ देखिएको जनाएका छन् । तीमध्ये १०१ जना निको भई डिस्चार्ज वा अन्यत्र रिफर भएका छन् भने ६२ जना अझै उपचारमा रहेका छन्।

साउन २८ गतेदेखि तराई अस्पतालमा झाडापखालाका केस देखिन थालेका थिए भने भदौ ५ गते पहिलो पटक हैजा पुष्टि भएको थियो। त्यसयता संघीय स्वास्थ्य मन्त्रालय, मधेश प्रदेश, WHO, UNICEF, रेडक्रसलगायत विभिन्न निकायको सहकार्यमा जनचेतनामूलक कार्यक्रम, घरदैलो प्रचार, रेडियो सन्देश, रिक्शा माइकिङलगायत गतिविधि सञ्चालन भइरहेको छ।

स्वास्थ्य कार्यालयका अनुसार २२ वटा टोली जनचेतनामूलक कार्यका लागि र ५ वटा समूह तथ्यांक संकलनका लागि गठन गरिएको छ। साथै आपूर्ति व्यवस्थापन केन्द्रमार्फत RDT किट तथा औषधि वितरण गरिएको र थप सामग्रीका लागि पहल भइरहेको कार्यालयले जनाएको छ।

प्रकोपको मूल कारण पत्ता लगाउन पानीको नमुना संकलन गरी सेन्ट्रल ल्याबमा पठाइएको छ। यसैबीच, स्वास्थ्य कार्यालय पर्साले नागरिकलाई उमालेको वा फिल्टर गरिएको सफा पानी पिउन, पकाएको खाना मात्र खान, सरसफाइमा ध्यान दिन तथा लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ।

 

गृहमन्त्री लेखक हैजा प्रभावित वीरगंज आउँदै

वीरगंज । गृहमन्त्री रमेश लेखक सुरक्षा निकायको चिकित्सकको टोलीसहित वीरगञ्जको हैजाप्रभावित क्षेत्रमा आज अर्थात शनिबार आउनुहुने भएको छ ।

गृहमन्त्री लेखक यहाँका हैजाबाट संक्रमित भएका बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक तयारीको विषयमा आवश्यक छलफल र समन्वय गर्नका लागि शनिबार वीरगञ्ज आउन लाग्नुभएको हो ।

पछिल्लो समय वीरगञ्जमा हैजाको संक्रमण फैलिएपनि अहिलेसम्म हैजाको स्रोत पत्ता लाग्न भने सकेको छैन ।
गृहमन्त्रालयको सचिवालयका अनुसार गृहमन्त्री लेखकले आइतबार विहान नारायणी अस्पतालमा उपचारत विरामी तथा अस्पताल प्रशासन र पर्सा जिल्लाको जिल्ला सुरक्षा समिति लगायतसँगपनि भेटघाटको कार्यक्रम राखेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले शनिबार गृहमन्त्री लेखक वीरगञ्जमा आउने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

गृहमन्त्रीको सचिवालयले वीरगञ्जमा आउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चिकित्सकसहितको टोलीले हैजा प्रभावित क्षेत्रका बिरामीको उपचार लगायतमा सहजीकरण गर्ने जनाएको छ ।

गत भदौं ८ गते गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियनत्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सकको टोली परिचालन गर्ने निर्णय गरेको थियो ।

सो बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन दिनुभएको थियो ।

सर्लाहीमा २५ किलो गाँजासहित एक पक्राउ, एक फरार

सर्लाही । सर्लाही प्रहरीले विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा २५ किलो लागुऔषध (गाँजा) सहित एकजनालाई पक्राउ गरेको छ भने एकजना फरार भएका छन्।

बिहिबार बिहान ११:५५ बजे लालबन्दी नगरपालिका–८ खतिवडा चोक नजिक चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा खटिएको टोलीले बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकल रोकेर कारबाही गरेको हो ।

प्रहरीलाई देखेपछि मोटरसाइकलमा सवार दुईजनाले सवारीसाधन र झोला फालेर भाग्ने प्रयास गरेका थिए । पछ्याउँदा सर्लाही, लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई नियन्त्रणमा लिन सफल भए पनि अर्का व्यक्ति भने फरार छन् ।

उक्त मोटरसाइकलमा रहेका दुईवटा कालो झोलामा रातो प्लास्टिकमा प्याक गरिएको ५/५ किलोका गरी २५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति र बरामद गाँजा तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला अदालत सर्लाहीमा पेश गरिएको र पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । फरार व्यक्तिको खोजी कार्य भने जारी रहेको प्रवक्ता राईले वताए ।

एनआरएनए मलेसियाको उपाध्यक्षमा विनोद यादवको उम्मेदवारी घोषणा

क्वालालम्पुर (मलेसिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–२०२७ कार्यकालका लागि हुने नवौं अधिवेशनमा युवा व्यवसायी तथा समाजसेवी विनोद कुमार यादवले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

बारा जिल्ला कलैया घर भई हाल मलेसियामा व्यवसाय गर्दै आएका यादव व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। उम्मेदवारी घोषणा गर्दै उनले सामाजिक संघ–संस्थासँग प्रत्यक्ष जोडिन पाउने र समुदायको हितमा काम गर्ने अवसरकै कारण चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए।

मलेसियामा विभिन्न सामाजिक गतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउँदै आएका यादवलाई उपाध्यक्ष पदका लागि उदीयमान नेतृत्व क्षमता बोकेको दाबेदारका रूपमा हेरिएको छ।

यस्तै, यादव हाल नेपाली समाजका अध्यक्षसमेत रहेका छन् भने नेपालमा जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समितिका सदस्यको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

वीरगंजमा जापानीज इन्सेफलाइटिस नियन्त्रणका लागि सुँगुर फार्ममा अनुगमन

वीरगंज । पछिल्लो समय जापानीज इन्सेफलाइटिस संक्रमण बढ्दै गएपछि वीरगंज महानगरपालिकाले विभिन्न स्थानका पशुपन्छी फार्ममा विशेष अनुगमन तथा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

महानगरको वडा नं. १९ बरवा र वडा नं. २२ मनियारीका सुँगुर तथा बंगुर फार्ममा गरिएको अनुगमनका क्रममा किसान र स्थानीयलाई रोगको जोखिमबारे सचेत गराइएको हो । अभियानमा कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा, वन वातावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोलीको सहभागिता रहेको थियो।

सुँगुरपालन क्षेत्रमा रोगको सम्भावना बढी हुने भएकाले सरसफाइमा निरन्तर ध्यान दिन, पानी जम्न नदिन, मलमुत्रको उचित व्यवस्थापन गर्न र लामखुट्टे नियन्त्रणका उपाय अपनाउन किसानलाई आग्रह गरिएको छ । साथै फार्मभित्र बाहिरी व्यक्तिको आवागमन नियन्त्रण, पशुपन्छीलाई स्वच्छ वातावरण उपलब्ध गराउने र दैनिक सरसफाइलाई प्राथमिकतामा राख्न जोड दिइएको छ।

महानगरले दलित बस्तीहरूलाई समेत जोखिम क्षेत्रका रूपमा पहिचान गरी त्यहाँ जनचेतना कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा स्थानीयलाई सामूहिक सरसफाइमा सहभागी हुन र लामखुट्टे नियन्त्रणमा प्रत्यक्ष सरोकारवाला बन्न प्रेरित गरिएको थियो।

महानगर प्रमुख राजेशमान सिंहले रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको बताउँदै नियमित रूपमा औषधि छर्किने र फार्मस्तरमा सरसफाइ अनुगमनलाई तीव्रता दिइएको जानकारी दिए ।

अनुगमन टोलीमा पशु चिकित्सक डा. सुदिप कुमार शर्मा, वातावरण शाखाका प्रकाश ऐर र महानगर प्रहरी निरीक्षक हरि भुषाल सहभागी थिए।

निमित्त रहेका पर्साका आधा दर्जन पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

वीरगंज । निमित्तकाे भरमा संचालन हुँदै आएका पर्साका पाँच स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।

बिहीबार गरिएको सरुवापछि अब पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, ठोरी गाउँपालिका, छिपहरमाई गाउँपालिका र धोबिनी गाउँपालिकामा निमित्तको भरमा चल्दै आएको अवस्था अन्त्य भएको छ ।

मन्त्रालयको सरुवा नामावली अनुसार पोखरियामा उपसचिव प्रदर्शनी कुमारी, बहुदरमाईमा उपसचिव सागर साह, ठोरीमा शाखा अधिकृत सरोज चौधरी, छिपहरमाईमा मो. महफुज अहमद र धोबिनीमा कृष्ण खतिवडाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

यसअघि यी पालिकामा रामविनय सिंह, बृजकिशोर प्रसाद, अशोक रौनियार, कदिर बाबु देवान, धर्मराज थापा र बिन्दवासिनी गाउँपालिकामा श्याम बाबु साह कानु निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिए।

बिन्दवासिनीमा भने मन्त्रालयले यसअघि नै शाखा अधिकृत महमद प्रवेज आलमलाई पठाइसकेको छ । अब पर्सा जिल्लामा केवल वीरगंज महानगरपालिकामात्र निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुने अवस्था बाँकी रहेको छ, जहाँ अरबिन्द लाल कर्ण कार्यरत छन्।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भागवती न्याैपानेका अनुसार अर्काे चरणमा वीरगंज महानगरपालिकाकाे निमित्तकाे ठाउँमा दरबन्दी अनुसारकाे प्रमुख प्रशासकीय अधिकृत पठाइने छ ।

ढल्केवरका इन्स्पेक्टर यादवको सक्रियतामा मोबाइल पसल फोडी चोरी गर्ने गिरोह पक्राउ

जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–६ गोदार चोकमा रहेको ‘राज कुमार मोबाइल पसल’मा चोरी गर्ने गिरोह प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरले गणेशमान चारनाथ नगरपालिका–७ का २० वर्षीय अर्जुन मुखिया, सोही ठाउँका १९ वर्षीय सिकेन्द्र पासवान र वडा नं. ५ का २२ वर्षीय कृष्ण मण्डललाई पक्राउ गरेकाे हाे ।

जिल्ला धनुषाधाम नगरपालिका–८ केसरकट्टीका ५१ वर्षीय राज कुमार साहले सञ्चालित पसलको सटरको ताला फोडी गत भदौ ६ गते राति विभिन्न किसिमका ४५ थान मोबाइल सेट, २ थान ड्रोन क्यामेरा, १५५ थान हाते घडी, ५ थान देवाल घडी, ५ डब्बा टेम्पर ग्लास, ६ थान टर्च र नगद ९८ हजार ७ सय ६५ रुपैयाँसहित करिब १० लाख बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दल्केवरका प्रमुख प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार, सीसी क्यामेराको सहयोगमा अनुसन्धान अघि बढाउँदा घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । उनीहरूका साथ र लुकाइएको स्थानबाट १२ थान मोबाइल, घडी, क्यामेरा स्टेण्ड, मोबाइल चार्जर, लेन्सलगायतका सामान बरामद गरिएको छ ।

पक्राउ परेकामाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेकाे र अन्य फरार आरोपीहरूको खोजी जारी रहेको प्रहरी निरिक्षक यादवले वताए ।

समाजिक संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साकाे आयाेजनामा शुक्रबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । “रक्तदान जीवन दान, सेवा नै धर्म” भन्ने नारासहित सम्पन्न कार्यक्रममा चार महिला सहित १७ जनाले रगतदान गरेका हुन्।

आयाेजक संस्थाका अध्यक्ष अध्यक्ष इब्राहिम देवानकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका सभापति फुलमहम्मद मियाँले गरेका थिए । साे अवसरमा बाेल्दै मियाँले रगतको अभाव तीव्र रूपमा बढिरहेको बेला सामाजिक संस्थाले गरेको यस्तो पहल महत्त्वपूर्ण भएको टिप्पणी गरे ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्देश चौहान, रामअयोध्य यादव, बिशाल गुप्ता, केशर जाहन, उम्रावति देवी, अन्सार मियाँ, पूजा कुमारी, गिरिया देवी कानु, विक्रम साह, अन्त यादव, राेविन कुमार जयसवाल, बिक्रमाजित प्रसाद साह लगायत १७ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, समाजिक संस्था जिल्ला समन्वय समितिका पूर्व महासचिव रामप्रवेश साह, दिब्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त पटेल, काशी प्रसाद साह, जयकान्त उपाध्याय, रक्त संचार केन्द्रका प्रविधिक धिरेन्द्र झा, सन्तोष पटेल लगायतको उपस्थिति रहेको थियो ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष चन्देश चौहानले राखेका थिए ।

गाउँ र नगरपालिकाको निमित हटाइयो, अर्को चरणमा उपमहानगर र महानगरको हटाईने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भागवती न्यौपानेले शुक्रबारदेखि देशभरका गाउँ  र नगरपालिकामा ‘निमित्त प्रणाली’ अन्त्य भएको घोषणा गरेकी छन् । अबदेखि पालिकाहरू दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत (प्रशासक) को नेतृत्वमा सञ्चालन हुनेछन् ।

मन्त्री न्यौपानेका अनुसार, उनी कार्यभार सम्हाल्दा ७५३ पालिकामध्ये २०० भन्दा बढी पालिका निमित्त कार्यलय प्रमुखको भरमा चलिरहेका थिए । मन्त्रालयले बिहिबार निमित्त हाकिम भएको ठाउँमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।

“सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो । यसलाई निरन्तर सुधार र परिमार्जन गर्दै अघि बढ्नुपर्छ भन्ने सोचका साथ यो निर्णय गरिएको हो,” उनले भनिन् ।

उनले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका कर्मचारीलाई दक्षता र इमान्दारीसहित काम गर्न आग्रह गर्दै पालिका प्रमुख तथा जनप्रतिनिधिहरूलाई पनि स्वागतपूर्वक उनीहरूको क्षमताको सदुपयोग गर्न आह्वान गरिन् ।

मन्त्री न्यौपानेले अबको अर्को चरणमा उपमहानगरपालिका र महानगरपालिकामा पनि निमित्त प्रणाली अन्त्य गरिने जानकारी दिइन् ।

उनले थपिन्, “आम जनताको हितलाई केन्द्रमा राखेर गरिएको यस निर्णयलाई सफल बनाउन सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दछु ।”