Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
Home Blog Page 182

जगरनाथपुर–४ मा अति विपन्नलाई कम्बल सहयाेग

0

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ४ मा अति विपन्न तथा असहाय परिवारलाई ४० थान कम्बल वितरण गरिएको छ।

समाजसेवी तथा जगरनाथपुर गाउँपालिकाका मेयर प्रत्याशी बृजेश्वर प्रसाद चौधरीले जगरनाथपुर–४ स्थित ब्रिलियन्ट मोडेल इङ्ग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा आइतबार बिहानै आयोजना गरिएको कार्यक्रममा स्थानीय अति विपन्न तथा असहाय व्यक्तिहरूलाई कम्बल वितरण गर्नुभएको हो । साथै, सो विद्यालयमा अध्ययनरत साना नानीहरूलाई करिब ८ पोकेट बिस्कुट तथा चाउचाउसमेत वितरण गरिएको थियो ।

चिसो मौसम बढ्दै गएको बेला गरिएको यस सहयोगले स्थानीयहरूलाई राहत मिलेको बताउँदै उपस्थित स्थानीय बासिन्दाहरूले समाजसेवी चौधरीको पहलको खुलेर प्रशंसा गरेका छन् । उनीहरूले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका छन् ।

एन–प्याब्सनद्वारा स्थापना दिवसमा रक्तदान कार्यक्रम

0

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन एन–प्याब्सन वीरगंज समितिको आयोजनामा संगठनको २८औँ राष्ट्रिय स्थापना दिवसको अवसरमा शनिबार वीरगंजको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

एन–प्याब्सन वीरगंजका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन–प्याब्सनका केन्द्रीय संस्थापक सदस्य तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामबिनय चौरसियाले उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौरसियाले एन–प्याब्सनले शिक्षा क्षेत्रसँगै समाजसेवामा पनि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै रक्तदानजस्ता कार्यक्रमले मानव जीवन जोगाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

कार्यक्रममा अध्यक्ष जियालाल गुप्ताले रक्तदानजस्तो पवित्र कार्यमा सहभागी सम्पूर्ण रक्तदाताहरू, सहयोगी संस्था तथा स्वयंसेवकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

समाजसेवा र मानवीय उत्तरदायित्वलाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा ७ महिला सहित कुल ७० जनाले रक्तदान गरेकाे रक्त सञ्चार केन्द्र वीरगंजले जनाएको छ। कार्यक्रमको समन्वय सचिव शेख अजहर तथा कोषाध्यक्ष प्रमोद साहले गर्नुभएको थियो।

कार्यक्रममा सनी दुबे, राकेश यादव, दीपक तुल्स्यान, शौकत अली, हरिन्द्र कुशवाहा, राजेन्द्र आचार्य, श्रीनारायण साह, सोनालाल पटेललगायत विभिन्न विद्यालयका निर्देशक, शिक्षाविद् तथा एन–प्याब्सनका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरीद्वारा लहावरथकरीमा ७ दिने केश कटाइ तालिम सम्पन्न

0

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर लहावरथकरीको आयोजनामा सञ्चालन गरिएको ७ दिने केश कटाइ (हेयर कटिङ) तालिम सम्पन्न भएको छ।

पकहाँ मैनपुर गाउँपालिका–४ लहावरथकरीस्थित सीमा सुरक्षा गुल्म लहावरथकरीमा सञ्चालित तालिमको समापन समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टले बेरोजगार युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने तथा सीमाक्षेत्रमा हुने तस्करी र अपराध नियन्त्रण गर्ने उद्देश्यले यस्ता सिपमूलक तालिम सञ्चालन गरिएको बताए।

उनले सीमाक्षेत्रमा सामाजिक, आर्थिक तथा लागूऔषधसम्बन्धी अपराधको चुनौती रहेको उल्लेख गर्दै त्यसलाई निरुत्साहित गर्न सिपमूलक तालिम प्रभावकारी माध्यम हुने बताए। “हाम्रो मुलुकको ठूलो समस्या बेरोजगारी हो । सिप भए स्वदेशमै रोजगारी गरेर परिवारसँग बस्न सकिन्छ । सिप कहिल्यै खेर जाँदैन,” उनले भने ।

सीमा सुरक्षा गुल्म लहावरथकरीका गणपति प्रहरी नायब उपरिक्षक (डिएसपी) लोकनाथ उप्रेतीले सशस्त्र प्रहरी र स्थानीय नागरिकबीच समन्वय तथा सहकार्य बढाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए । उनले तालिममा सहभागी १५ जनाले व्यवहारिक सिप हासिल गरी आत्मनिर्भर बन्ने आधार तयार भएको बताए ।

समापन समारोहमा सीमा सुरक्षा समितिका संयोजकसमेत रहेका पकहाँ मैनपुर–४ का वडाध्यक्ष ढेडी यादव, पकहाँ मैनपुर–५ का वडाध्यक्ष बलिराम चौरसिया, पत्रकार छठु साह, वडा समिति सदस्य पप्पू गिरी, प्रभु पटेल लगायतले मन्तव्य राख्दै सशस्त्र प्रहरीको पहलको प्रशंसा गरे ।

२५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा आयोजित उक्त सिपमूलक केश कटाइ तालिममा प्रशिक्षक सुकदेव ठाकुर हजाम, सुनिल ठाकुर हजार, धर्मेन्द्र पटेल र कुलदिप पाण्डेले प्रशिक्षण दिएका थिए। समापन समारोहमा तालिमका सहभागीलाई प्रमाणपत्र तथा केश काट्ने सामग्रीसमेत वितरण गरिएको थियो ।

पर्सा–३ मा रुपेश पाण्डेयको उदय: परिणाममुखी र जनमुखी नेतृत्वको खोजीमा मतदाता

0

वीरगंज । आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। लामो समयदेखि दोहोरिँदै आएको परम्परागत राजनीतिबाट आजित मतदाता अहिले परिणाममुखी, जवाफदेही र जनमुखी नेतृत्वको खोजीमा देखिन थालेका छन् ।

यही परिवेशमा व्यावसायिक पृष्ठभूमिबाट समाजसेवामा सक्रिय रुपेश पाण्डेय पर्सा–३ मा आशा र अपेक्षाको केन्द्रका रूपमा उदाउँदै गएका छन्। “सानालाई माया, पूरानालाई सम्मान” भन्ने मान्यतामा आधारित राजनीतिक नीति र व्यवहारका कारण पाण्डेय दलगत सीमाभन्दा माथि उठेर लोकप्रिय बन्दै गएका छन्। स्थानीयका अनुसार उनले कसैलाई कमजोर वा प्रतिस्पर्धीका रूपमा नभई सबैलाई साझेदारका रूपमा व्यवहार गर्ने राजनीतिक संस्कारको अभ्यास गरिरहेका छन्, जसका कारण राजनीतिक दलका कार्यकर्ता, स्वतन्त्र सोच राख्ने नागरिक र तटस्थ मतदातामाझ उनको स्वीकार्यता बढ्दो छ।

राजनीतिक गालीगलौज, आरोप–प्रत्यारोप र व्यक्तिगत कटाक्षभन्दा टाढा रहेर विकास निर्माण र नीतिगत एजेन्डालाई केन्द्रमा राख्दै पाण्डेय मतदातासँग निरन्तर संवादमा छन्। उनले सार्वजनिक रूपमा अबको राजनीति भिडन्त होइन, समाधान खोज्ने प्रक्रिया हुनुपर्ने धारणा राख्दै आएका छन्। यही दृष्टिकोणका कारण उनी पर्सा–३ मा संयमित, परिपक्व र सकारात्मक राजनीतिक अनुहारका रूपमा चिनिन थालेका छन्।

स्थिर व्यवसायिक जीवनलाई थाती राखेर राजनीतिक यात्रामा होमिएका पाण्डेय समाजका लागि केही गर्नुपर्ने हुटहुटी र जनताको आवाज नीति तथा निर्णय तहसम्म पुर्‍याउने चाहनाले राजनीतिमा आएको बताउँछन्। व्यवसायमा रहँदा बनाएको विश्वसनीयता, व्यवस्थापन क्षमता र परिणाममुखी सोचलाई सार्वजनिक सेवामा प्रयोग गर्ने उनको प्रतिबद्धता रहेको छ।

“पार्टीभन्दा जनता ठूलो हुन्छ” भन्ने मान्यतालाई व्यवहारमा उतार्दै आएका पाण्डेय चिया पसलदेखि टोल–गल्ली, बजारदेखि गाउँबस्तीमा पुगेर नागरिकका समस्या सुन्ने, बुझ्ने र समाधान खोज्ने कार्यमा सक्रिय छन्। जनताको साथ र सहभागिताबिनाको परिवर्तन सम्भव छैन भन्ने उनको विश्वासले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
नयाँ पुस्तालाई राजनीतिमा अगाडि ल्याउनुपर्ने धारणा पाण्डेयको अर्को प्रमुख एजेन्डा हो।

जेन–जी आन्दोलनपछि उठेको युवा नेतृत्वको आवाजलाई व्यवहारिक रूप दिन उनी सक्रिय देखिन्छन्। पुराना अनुभव र नयाँ ऊर्जाबीच सन्तुलन कायम गर्दै नेतृत्वको रूपान्तरण आवश्यक रहेको उनको दृष्टिकोणले युवामाझ विशेष आकर्षण पैदा गरेको छ।

विकासका एजेन्डाअन्तर्गत पाण्डेयले पोखरिया, पकाहा, महुवन, चीपुरलगायत क्षेत्रका बजारलाई व्यवस्थित र आधुनिक बनाउने, कृषिमा प्रविधिकरण गर्ने, शिक्षा र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच विस्तार गर्ने योजना अघि सारेका छन्। साथै धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन र रोजगारी सिर्जना गर्ने, राष्ट्रिय निकुञ्जसँग समन्वय गरी धार्मिक गन्तव्यलाई राष्ट्रियस्तरको आकर्षण बनाउने भिजनलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

पर्सा–३ अन्तर्गतका सात स्थानीय तह र ३५ वडालाई समेट्ने एकीकृत दीर्घकालीन विकास योजनामार्फत आर्थिक, सामाजिक र पूर्वाधार सुधार ल्याउने प्रतिबद्धता जनाउँदै पाण्डेयले अब नेतृत्वको मूल्यांकन पार्टीको झण्डा वा भाषणबाट होइन, जनताको जीवनमा ल्याएको परिवर्तनबाट हुनुपर्ने समय आएको बताएका छन्।

धर्म–संस्कृति संरक्षण, सामाजिक सद्भाव, सहकार्य र मेलमिलापलाई सुदृढ बनाउने दृष्टिकोणका कारण रुपेश पाण्डेयको छवि समुदायमा थप मजबुत बन्दै गएको छ। जनताको साथलाई नै आफ्नो सबैभन्दा ठूलो शक्ति मानेर अघि बढिरहेका पाण्डेय अहिले पर्सा–३ मा विकासको हुटहुटी बोकेका, सकारात्मक राजनीति अभ्यास गर्ने र नयाँ पुस्तालाई अघि सार्ने सम्भावित नेतृत्वका रूपमा स्थापित हुँदै गएका छन्।

मधेश साहित्य महोत्सव २०२६ को तयारीबारे सरोकारवालासंग छलफल

0

वीरगंज । आगामी माघ १५, १६ र १७ गते वीरगञ्जमा आयोजना हुने मधेश साहित्य महोत्सव २०२६ को दोस्रो संस्करणको तयारीका विषयमा सरोकारवाला निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूबीच शनिबार छलफल सम्पन्न भएको छ।

उत्कर्ष नेपालका अध्यक्ष ऋतुराजको अध्यक्षतामा सम्पन्न छलफलमा महोत्सवको उद्देश्य, विषयवस्तु, सहभागिता तथा कार्यक्रम संरचनाबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो। उत्कर्ष नेपालको आयोजनामा हुन लागेको महोत्सवको तयारीबारे छलफल गरिएको हो ।

मधेश साहित्य महोत्सव आयोजक समूहकी सलमा खातुनले यस वर्षको महोत्सव ‘गाउँ मन्थन’ लाई मुख्य विषयवस्तुका रूपमा केन्द्रित गरिने जानकारी दिँदै मधेशका सबै क्षेत्र, समुदाय र वर्गको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने बताइन्। महोत्सवले ग्रामीण जीवन, संस्कृति र आवाजलाई प्राथमिकताका साथ उजागर गर्ने लक्ष्य राखेको उनको भनाइ थियो।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै उत्कर्ष नेपालका जय साहले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि मधेश साहित्य महोत्सवको आवश्यकता औँल्याए। साहित्य, संस्कृति र सामाजिक संवादलाई सशक्त बनाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिन लागेको उनले बताए।

छलफलमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, प्रकृति सेवा प्रतिष्ठानका जसपाल सिंह, सामाजिक अभियन्ता प्रकाश थारु, लिडरसिप डेभलपमेन्ट इन्स्टिच्युटका प्रबन्ध निर्देशक अनिल जैयसवाल, मानव सेवा आश्रमका देवेश गुप्ता, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, जेन–जी प्रतिनिधि विशेष साहलगायतले आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

सहभागीहरूले प्यानल छलफलका विषयवस्तु सहभागीहरूको रुचिअनुसार तय गर्नुपर्ने, वक्ताहरूलाई सबै क्षेत्र र समुदायबाट समावेशी बनाइनुपर्ने तथा मधेशका भाषा, साहित्य, संस्कृति र परम्परालाई प्राथमिकताका साथ समेटिनुपर्ने सुझाव दिएका थिए। साथै तराई–मधेशमा विवाहमा गाइने परम्परागत गीत, स्थानीय संस्कृति, खानाका परिकार तथा स्थानीय उत्पादनलाई स्टलमार्फत प्रस्तुत गर्ने विषयमा पनि छलफल भएको छ।

यसैगरी, महोत्सवमा प्रस्तुत गरिने रचनाका लागि माघ ३ गते ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम आयोजना गरी छनोट भएका रचनालाई मात्रै मुख्य कार्यक्रममा समावेश गरिने जानकारी उत्कर्ष नेपालका जय साहले दिए।

मुख्यमन्त्री यादवद्वारा प्रादेशिक अस्पताल पोखरियाको समुद्घाटन, छिट्टै स्तरोन्नतिको प्रतिबद्धता

0

पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नं. ४ मा अवस्थित प्रादेशिक अस्पताल पोखरियाको मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णा प्रसाद यादव तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगी लाल रायले एक कार्यक्रमबीच संयुक्त रूपमा समुद्घाटन गर्नुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कृष्णा प्रसाद यादवले प्रादेशिक अस्पताल पोखरियाको छिट्टै उन्नति तथा प्रगति हुने विश्वास व्यक्त गर्नुभयो। मधेश प्रदेशमा कार्यरत चिकित्सकहरूलाई दरबन्दी भएको स्थानमै पठाउन मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको उल्लेख गर्दै अटेरी गरेमा कारबाही गरिने चेतावनी दिनुभयो। साथै अस्पतालका लागि भौतिक संरचना, उपचार उपकरण, ल्याब केमिकल तथा आवश्यक जनशक्ति यथाशीघ्र व्यवस्थापन गरिने आश्वासन दिनुभयो।

पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युमन प्रसाद चौहानले अस्पतालको उन्नति तथा विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै स्थानीय सरकारले सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। पोखरिया अस्पतालको समग्र विकासका लागि सर्वपक्षीय सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो।

समुद्घाटन समारोहमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले अस्पतालबाट उपलब्ध भइरहेका सेवा–सुविधा, वर्तमान अवस्था तथा बिरामी उपचारका लागि आवश्यक उपकरण, जनशक्ति र पूर्वाधारबारे प्रमुख अतिथि तथा उपस्थित जनसमुदायलाई जानकारी गराउनुभयो। साथै उहाँले अस्पताललाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण तथा सेवा सुविधाको मागसहितको प्रतिवेदन मुख्यमन्त्री यादवलाई हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा पोखरिया क्षेत्रमा रहेको १२ बिघा ऐलानी जग्गामा रंगशाला निर्माण तथा वडा नं. ४ स्थित विशाल हनुमान मन्दिरलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न बजेट विनियोजनको मागसमेत उठाइएको थियो।

पूर्व मेयर दिपनारायण प्रसाद रौनियार लगायत अन्य वक्ताहरूले विनियोजित बजेट कम भएको भन्दै पत्रमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रादेशिक अस्पताल पोखरिया विकास समिति अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगी लाल राय, भूमि व्यवस्था तथा कृषि मन्त्री श्याम पटेल, वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, पुर्व मन्त्री जनार्दन सिंह क्षेत्री लगायत प्रदेश सरकारका वर्तमान तथा पूर्व मन्त्री, सांसद, नगर जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, बुद्धिजीवी, सञ्चारकर्मी, अस्पताल कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको सहजीकरण शिव पटेलले गर्नुभएको थियो।

समापन मन्तव्यमा अध्यक्ष उमेश प्रसाद चौहानले प्रदेश सरकारले दिएको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्दै पोखरिया अस्पतालको प्रगतिको लागि हक अधिकारका निम्ति संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्याब्सन पर्साको दोस्रो जिल्ला परिषद भेला सम्पन्न

0

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साको दोस्रो जिल्ला परिषद भेला शनिबार वीरगंजमा सम्पन्न भएको छ।

वीरगंजस्थित होटल मकालुमा आयोजित भेलाको उद्घाटन प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतमले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपाध्यक्ष गौतमले उद्घाटन सत्रलाई सम्बोधन गर्दै निजी विद्यालयप्रति राज्यको दृष्टिकोण सकारात्मक नरहेको बताए। उनले निजी विद्यालयहरूले छात्रवृत्तिमार्फत शिक्षामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको भए पनि सरकारले त्यसको उचित कदर नगरेको गुनासो गरे।

उपाध्यक्ष गौतमले वीरगंजस्थित ठाकुर राम कलेजको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने, “जस कलेजबाट सांसद र मन्त्री उत्पादन भए, त्यही ठाकुर राम कलेजको अवस्था हरिविजोग देख्दा दुःख लाग्छ।”

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, मधेश प्रदेशका उपाध्यक्ष पूरण प्रधान र इमामुद्दिन अहमद, मधेश प्रदेश प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार तथा सल्लाहकार हरिश्याम ठाकुर, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, हिसानका केन्द्रीय सदस्य मुकेश गुप्ता, प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए।

भेलामा प्याब्सन सदस्य विद्यालयमा १० वर्षभन्दा बढी समयदेखि कार्यरत शिक्षक–शिक्षिकाहरू, एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयहरू तथा प्याब्सन मधेश प्रदेश समितिमा मनोनित हुने पदाधिकारी र सल्लाहकारहरूलाई सम्मान गरिएको थियो।

पर्सा क्षेत्र नं. ४ मा एमाले, जसपा परित्याग गरि वडाध्यक्ष सहित सयाैं जना रास्वपामा प्रवेश

0

वीरगंज । पर्सा क्षेत्र नं. ४ अन्तर्गतका विभिन्न गाउँका नेकपा एमाले, नेपाली कांग्रेस, जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा सुशासन पार्टी परित्याग गरी सयाैं जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

वीरगंजस्थित राेयल पार्टी प्यालेसमा भएकाे कार्यक्रममा जसपा नेपालबाट निर्वाचित कालिकामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लालबाबु चौरसिया, पूर्व गाविस अध्यक्ष नेजामुदिन मियाँ, पूर्व वडाध्यक्ष महादेव चौरसिया, नेपाली कांग्रेसका शिवशंकर प्रसाद चौरसिया, नरेन्द्र राय तिवारी, राजेन्द्र प्रसाद चौरसिया, राजु प्रसाद पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका ललन ठाकुर, सुशासन पार्टीका लक्ष्मण महतो लगायतका नेताहरू रास्वपामा प्रवेश गरेका हुन्।

त्यसैगरी कालिकामाई गाउँपालिका वडा नं. २ का नेकपा एमालेका नेता मनमोहन प्रसाद चौरिया, राजेश साह, अकलेश कुशवाहा, बृजमान सहनी, रामकलश सहनी, महेश प्रसाद चौरसिया, श्याम राउत गद्दी, अनिल कुमार चौरियासहित जेनजीका राजनिश चौरसिया, कृष्णा कुशवाहा, बिरेन्द्र प्रसाद साह, विजय कुमार चौरसिया, अविनाश चौरसिया, चन्देश्वर महतो कोइरी लगायतका युवाहरू पनि रास्वपामा प्रवेश गरेका छन् ।

यसैगरी कालिकामाई गाउँपालिका वडा नं. ५ बाट नेपाली कांग्रेसका हिरो राउत कुर्मी, छविलाल प्रसाद राउत, राजु प्रसाद पटेल तथा जसपा नेपालका रमेश प्रसाद पटेल, छबिलाल राउत, शम्भु प्रसाद चौहानलगायतको पनि रास्वपामा प्रवेश गरेकाे जिल्ला सभापति हरि पन्तले जानकारी दिए ।

नवप्रवेशीहरूलाई रास्वपाका केन्द्रीय सदस्य नन्दन यादव, जिल्ला सभापति हरि पन्त, क्षेत्रीय सभापति जितेन्द्र मिश्र, जिल्ला उपसभापति तुल्सा पौडेल, नेता टेकबहादुर शाक्य, जिल्ला सचिव सुदिश प्रजापति, काेषाध्यक्ष दिलिप कुर्मी लगायतले अबिर र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।

पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति पन्तले यस प्रवेश कार्यक्रमले पर्सा क्षेत्र नं. ४ मा रास्वपा थप बलियो बनेको बताए । उनले आगामी फागुनमा हुने निर्वाचनमा रास्वपाका सबै उम्मेदवारलाई विजयी गराउन कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे ।

क्षेत्रीय सभापति जितेन्द्र मिश्रले पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य रहेको जानकारी दिँदै आगामी निर्वाचनमा भारी बहुमतका साथ जिताउन सबैलाई आह्वान गरे ।

रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रको सभापतित्वमा भएकाे कार्यक्रमको सहजिकरण कृष्ण पासवानले गरेका थिए ।

ठोरीको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाद्वा टिकटक प्रतियोगिता आयोजना

0

सेढवा । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ठोरी गाउँपालिकाले गाउँपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले TikTok प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । देशभरका नेपाली TikTok प्रयोगकर्तालाई लक्षित गर्दै प्रतियोगितामा सहभागिताका लागि गाउँपालिकाले आह्वान गरेको हो ।

प्रतियोगिताअन्तर्गत सहभागीहरूले ठोरी गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरूको प्रवर्द्धन हुने गरी TikTok भिडियो तयार गर्नुपर्नेछ । भिडियोमा ठोरीका प्रमुख पर्यटकीय गन्तव्यहरू स्पष्ट रूपमा देखिनु अनिवार्य रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार अश्लील शब्द प्रयोग गरिएको, अरूको मानहानी हुने, व्यक्ति, संस्था वा स्थानको अपमान गर्ने, जातीय, धार्मिक वा राजनीतिक द्वन्द्व फैलाउने तथा समाजमा अपाच्य विषय समावेश भएका TikTok भिडियोहरू प्रतियोगितामा समावेश गरिने छैनन् ।

विजेता छनोट गर्दा भिडियोको Views, Likes, Comments तथा पर्यटकीय विषयवस्तुको प्रस्तुति प्रत्येकलाई २५ प्रतिशत भार दिइनेछ । नेपालीपन र ठोरीको पहिचान झल्किने भिडियोहरूलाई विशेष प्राथमिकता दिइने गाउँपालिकाले स्पष्ट पारेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता मिति २०८२ पुस २५ गतेदेखि २०८२ माघ २५ गतेसम्म एक महिनासम्म सञ्चालन हुनेछ । उक्त अवधिभित्र अपलोड गरिएका TikTok भिडियोहरू मात्र प्रतियोगितामा सहभागी मानिनेछन् । भिडियो तयार गरेपछि सहभागीले ठोरी गाउँपालिकाको आधिकारिक TikTok ID ‘Thori Gaupalika’ लाई Like, Follow तथा Mention गर्नुपर्नेछ ।

TikTok भिडियो नेपाली वा भोजपुरी भाषामा बनाउन सकिनेछ भने भिडियोको अवधि कम्तीमा ३० सेकेन्ड र बढीमा १ मिनेट हुनुपर्नेछ । प्रतियोगिता सम्पन्न भएको एक साताभित्र नतिजा सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ ।

जंगली जनावरको आतंकले पर्साका किसान रातभर खेतमै जाग्राम बस्न बाध्य

0

सेढवा । पर्सा जिल्लामा जंगलसँग सिमाना जोडिएका क्षेत्रका किसानहरू जंगली जनावरबाट बाली जोगाउन रातभर खेतमै जाग्राम बस्न बाध्य भएका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वन क्षेत्रबाट आउने जंगली जनावरको आतंक बढ्दै जाँदा किसानहरूको खेतीपाती जोखिममा परेको हो ।

जिल्लाको पश्चिमी उत्तरी भेगअन्तर्गत जिराभवानी गाउँपालिकाका सखुवनीया, हरैया, काठमाडौं टोल, शान्तिनगर तथा ठोरी गाउँपालिकाका क्षेत्रीलाइन र गडुवालाईन क्षेत्रका किसानहरू बढी पीडित रहेका छन् । त्यसैगरी पटेर्वासुगौली गाउँपालिकाका भथौडा, भाथा, रंगपुर, सोनबर्षा र सखुवाप्रसौनी गाउँपालिकाका औराहा, छतिवन तथा अकवनिया क्षेत्रका किसानहरूले पनि जंगली जनावरका कारण बाली जोगाउन कठिनाइ भोगिरहेको गुनासो गरेका छन् ।

जिराभवानी गाउँपालिका वडा नं. ५ सखुवनीया निवासी किसान सुदामा महतो कम्कडका अनुसार पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनबाट आउने चितल, हरिण, निलगाई, घोडगधा, बदेल, भालु, स्याल र मयूरजस्ता जंगली जनावरले गहुँ, आलु, तोरीलगायतका बालीमा ठूलो क्षति पुर्‍याउँदै आएका छन् । दर्जनौँको संख्यामा आउने जनावरले रातारात बाली सखाप पार्ने गरेको उनले बताए ।

जंगली जनावरबाट बाली जोगाउन किसानहरूले रुखमा मचान बनाउने तथा खेतमै छाप्रो खडा गरी रातभर पहरा दिने गरेका छन् । जिराभवानी गाउँपालिका वडा नं. ५ हरैया निवासी जलकपूर राउत थारुका अनुसार करिब तीन दर्जनभन्दा बढी किसानले जंगली जनावर बथानसहित खेतमा प्रवेश गर्दा होहल्ला गर्ने, टिन ठट्याउने र आगो बालेर धपाउने गर्दै आएका छन् ।

“रातभर एउटा टर्च र लाठी बोकेर आगो ताप्दै ज्यान जोखिममा पारेर बाली जोगाउनुपरेको छ,” राउतले भने, “बाली नलगाउने हो भने खाने के ? अर्को खेत पनि छैन ।” साँझ पर्नासाथ खाना र पानी बोकेर खेतको छाप्रो वा मचानमा जानुपर्ने र रात बिताउनुपर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ ।

ठोरी गाउँपालिका वडा नं. ५ क्षेत्रीलाइन र गडुवालाईन क्षेत्रमा जंगली जनावरको आतंकबाट बच्न किसानहरूले सुर्ती बाली लगाउन थालेका छन् । तर सुर्ती बालीमा समेत बाँदरको समूहले क्षति पुर्‍याउन थालेपछि समस्या झन् जटिल बन्दै गएको छ । कतिपय जनावरले नखाए पनि तोरी बाली माडेर नष्ट गर्ने तथा मयूरको समूहले पाकेको तोरी टिपेर क्षति पुर्‍याउने गरेको किसानहरूले बताएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जले जंगली जनावर नियन्त्रणका लागि विद्युतिय तारबार र मेस जाली जडान गरे पनि अपेक्षित परिणाम नआएको किसानहरूको गुनासो छ । उनीहरूले दीर्घकालीन समाधानसहित बाली क्षतिको उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।