Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
Home Blog Page 181

दलित सशक्तीकरण ऐन संशोधन विधेयकबारे नीतिगत संवाद सम्पन्न

0

वीरगंज । सुदूरपश्चिम प्रदेश सभामा प्रस्तुत दलित सशक्तीकरण ऐन, २०७८ को संशोधन विधेयक सम्बन्धमा सरोकारवालासँग नीतिगत संवाद कार्यक्रम आज धनगढीमा सम्पन्न भएको छ।

नेपालमा विगत २६ वर्षदेखि दलित मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा कार्यरत राष्ट्रिय दलित नेटवर्क, नेपालको अगुवाइमा दलित महिला संघ कैलाली, दलित महिला अधिकार मञ्च कैलाली तथा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नीतिगत संवाद कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिं सार्कीले दलित सशक्तीकरण ऐन, २०७८ को संशोधन समयानुकूल, व्यवहारिक र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सरोकारवालाबाट प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक समेट्दै विधेयकलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री सार्कीले दलित समुदायको शिक्षा, रोजगारी, सीप विकास र न्यायमा पहुँच सुनिश्चित गर्न कानुनी सुधार अपरिहार्य रहेको उल्लेख गर्दै प्रदेश सरकार दलित अधिकारको संरक्षण र प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको बताउनुभयो।

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व शिक्षा तथा युवा खेलकुद मन्त्री एवं प्रदेशसभा सदस्य लक्ष्मी बि.क. ले संशोधन विधेयक अझ स्पष्ट, अधिकारमुखी र कार्यान्वयनयोग्य हुनुपर्ने धारणा राख्नुभयो। उहाँले ऐनमा रहेका अस्पष्ट प्रावधान, कमजोर कार्यान्वयन संयन्त्र तथा उत्तरदायित्वको अभावका कारण ऐन प्रभावकारी हुन नसकेको भन्दै ती कमजोरी सच्याउनुपर्नेमा जोड दिनुभयो। साथै, सरोकारवाला संस्थाहरूबाट प्राप्त सुझाव समेटिनु नितान्त आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक एवं प्रदेशसभा सदस्य बिक्रम धामी, प्रदेशसभा सदस्य जानकी ऐर बम, इन्दीरा गिरी, ललिता सुनार, सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका, नेकपा नेता गोरख सार्की, मुक्ति समाजका प्रदेश अध्यक्ष भानसिं विश्वकर्मा, दलित बुद्धिजीवी बसन्त बागचन्द, गौरीगंगा नगरपालिका कार्यपालिका सदस्य मदन नेपाली, मुक्ति समाज डोटीका अध्यक्ष केशव चुनारा, सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दान बहादुर सुनार, गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव सावित्रा घिमिरे, सञ्चारकर्मी मिलन परियार तथा दलित अधिकारकर्मी अग्नि शिखा, जय बिक र चन्द्र ताम्राकारलगायतले ऐन संशोधनमा समेटिनुपर्ने विषयमा सुझाव प्रस्तुत गर्नुभएको थियो।

राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय अध्यक्ष मोहन ओडको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कैलाली जिल्ला अदालतका निमित्त कार्यालय प्रमुख दिवानीराम लोहारले संशोधन विधेयकसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। सो प्रस्तुतीकरणमाथि वरिष्ठ पत्रकार तथा अनुसन्धानकर्ता मनमोहन स्वारले टिप्पणी गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन दलित अधिकारकर्मी चक्र बिकले गर्नुभएको थियो भने दलित महिला संघ कैलालीकी अध्यक्ष सविना घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

पर्सामा ४ केजी ५० ग्राम गाँजा सहित एक जना पक्राउ

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ४ केजी ५० ग्राम लागुऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा आइतबार बिहान करिब ७ बजे वीरगंज महानगरपालिका वडा नं. १४ गण्डक चोकस्थित सडकखण्डमा सवारी साधन तथा पैदल यात्रुहरूको चेकजाँचका क्रममा प्रहरी चौकी गण्डक पर्साबाट खटिएको प्रहरी टोलीले साईकलमा सवार एक व्यक्तिलाई शंकास्पद रूपमा रोकी जाँच गरेको थियो।

जाँचका क्रममा वीरगंज महानगरपालिका वडा नं. २८ बगही निवासी ४५ वर्षीय राम सुरेश सहनीले कम्मरभन्दा माथिल्लो शरीरमा आकासे रंगको प्लास्टिकभित्र कालो धागोले सिलाई गरी सेतो टेपले बेरेर लुकाइछिपाई राखिएको अवस्थामा प्लास्टिकबाहेक ४ केजी ५० ग्राम लागुऔषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित सहनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

विद्यार्थीलाई न्यानो कपडा सहयोग

0

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ३२ मा रहेको श्री दलित मुक्ति आधारभूत विद्यालय, रामबनमा अध्ययनरत साना विद्यार्थीहरूलाई लक्षित गर्दै न्यानो कपडा सहयोग गरिएको छ ।

श्री नेपाल रेल्वे माध्यमिक विद्यालयको २०७० सालको एसएलसी ब्याचका पूर्व विद्यार्थीहरूले जाडो मौसम र शीतलहरका कारण प्रभावित बालबालिकाका लागि ६० थान स्विटर तथा भेस्ट सहयोग स्वरूप प्रदान गरेका हुन्।

वीरगंज महानगरपालिकाको ग्रामीण भेगमा रहेको उक्त विद्यालयमा चिसो मौसमका कारण विद्यार्थीहरूलाई पठन–पाठनमा कठिनाइ भइरहेको विषय शिक्षक सन्तोष सर्राफमार्फत जानकारी पाएपछि सहयोगको पहल गरिएको एसएलसी ब्याचका सदस्य विक्की सर्राफले जानकारी दिए। उनले सामाजिक उत्तरदायित्वको भावनाले साना विद्यार्थीहरूको स्वास्थ्य र अध्ययनलाई ध्यानमा राखी न्यानो कपडा वितरण गरिएको बताए।

विद्यालय परिवारले यस्तो सहयोगले विद्यार्थीहरूलाई चिसोबाट जोगिनुका साथै नियमित अध्ययनमा उत्साह बढ्ने विश्वास व्यक्त गर्दै सहयोगी समूहप्रति आभार प्रकट गरेको छ।

पर्सा–२ मा चुनावी सरगर्मी चुलिँदै: ठूला दलमा टिकटको रस्साकस्सी, उम्मेदवार अझै अनिश्चित

0

वीरगंज । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. २ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। विभिन्न राजनीतिक दलहरूले उम्मेदवार छनोट प्रक्रिया सुरु गरेसँगै सम्भावित उम्मेदवारबारे चर्चा–परिचर्चा बढेको छ।

नेपाली कांग्रेस पर्साले पुनः पूर्व मन्त्री तथा निर्वतमान प्रतिनिधि सभा सदस्य अजय चौरसिया र संविधान सभा सदस्य राजेन्द्र बहादुर आमात्यको नाम सिफारिस गरेको छ। चौरसिया कांग्रेस संस्थापन पक्षका नेता हुन् भने आमात्य शेखर कोइराला पक्षका नेता हुन्।

यसैगरी क्षेत्रीय समितिले राकेश यादवको नाम पनि सिफारिस गरेकाेमा जिल्ला समितिले दुई जनाको मात्र नाम पठाएपछि मधेश प्रदेश समितिले यादवको नामसमेत उम्मेदवारका लागि सिफारिस गरेको छ। यससँगै कांग्रेसबाट तीन जना आकांक्षी देखिँदा टिकट कसले पाउने भन्ने अझै अन्योलमा रहेको छ।

चाैरसिया र आमात्य मध्ये एकले टिकट पाउने बलियाे सम्भावना रहेपनि महामन्त्री गगन थापाको नेतृत्वमा आयोजित विशेष महाधिवेशनमा यादव खुलेर गगन समूहबाट प्रस्तुत भएकाले युवाको कोटाबाट उनले पनि टिकट पाउन सक्ने आँकलन हुन थालेको छ।

नेकपा एमालेले पूर्व मन्त्री तथा पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित निर्वतमान प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, युवा नेता अरविन्द सिंह र केन्द्रीय सदस्य निर्मला देवकोटाको नाम सिफारिस गरेको छ। पर्सा–२ बाट सिफारिस भएका गुप्ता भ्रष्टाचार मुद्दामा हाल थुनामा रहेकाले उनको उम्मेदवारी अनिश्चित देखिएको छ। यस कारण क्षेत्र नं. १ र २ बाट सिफारिस भएका अरविन्द सिंहले क्षेत्र नं. २ बाट टिकट पाउने सम्भावना देखिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएकी देवकोटाको नामसमेत सिफारिस भएकाले अन्तिम निर्णय माथिल्लो तहबाट हुने देखिन्छ।

प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाबाट मनोज चौधरी, सत्यनारायण रौनियार र प्रभाकर गुप्ताको नाम सिफारिस भएको छ। यीमध्ये कसले टिकट पाउने भन्ने टुंगो लागिसकेको छैन।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वतमान समानुपातिक सांसद विना जयसवाल कुर्मी चुनाव लड्ने सम्भावना छ । पार्टी स्रोतका अनुसार उम्मेदवारकाे लागि अन्यकाे नाम समेत सिफारिस भए पनि कुर्मीले टिकट पाउने सम्भावना बलियो देखिएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, अशोक कुमार टेमानीसहित आधा दर्जन व्यक्तिको नाम सिफारिस भएको छ । २०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार अजय चौरसियासँग पराजित भएका कुर्मी यसपटक परिवारकै सदस्य विना कुर्मी चुनावी मैदानमा उत्रने चर्चा चलिरहेकाले कुर्मी स्वयं उम्मेदवार नबन्ने सम्भावना रहेको बताइन्छ। त्यसो भएमा जसपाबाट टेमानीले टिकट पाउन सक्ने आँकलन गरिएको छ।

जनमत पार्टीबाट राष्ट्रिय अध्यक्ष डा. सीके राउत र जेनजी नेता नविन प्रकाश साहको नाम सिफारिस भए पनि पार्टी स्रोतका अनुसार नविन प्रकाश साह नै उम्मेदवार बन्ने सम्भावना बढी रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म औपचारिक रूपमा कसैको नाम सिफारिस गरेको छैन । यद्यपि केही जिल्ला तहका नेताहरूले पूर्व प्रदेश सांसद राजेश्वर साहलाई पार्टीमा प्रवेश गराई उम्मेदवार बनाउने प्रयास गरिरहेको बुझिएको छ। साहलाई एमालेबाट पनि उम्मेदवार बनाउने केही नेताहरु प्रयसामा रहेकाे बुझिएकाे छ ।

यसैगरी नेपाल जनता पार्टीबाट हिन्दुवादी नेता सन्तोष पटेलले उम्मेदवारी घोषणा गर्दै हिन्दु राष्ट्रको एजेन्डासहित चुनावी अभियान सुरु गरिसकेका छन्। अन्य साना दलहरूबाट पनि उम्मेदवार आउन सक्ने सम्भावना रहे पनि हालसम्म निर्वतमान सांसद वा नेपाली कांग्रेसका उम्मेदवारलाई कडा टक्कर दिने को हुने भन्ने स्पष्ट भइसकेको छैन।

निर्वाचन तालिका अनुसार मनोनयन दर्ताका लागि आठ दिन मात्र बाँकी रहेपनि अहिलेसम्म कुनै पनि दलले उम्मेदवारको अन्तिम टुंगो लगाइसकेका छैनन्। सबै दल आन्तरिक तयारी र समीकरण मिलाउन व्यस्त देखिएका छन्।

विश्व हिन्दी दिवस–२०२६ वीरगंजमा भव्य रूपमा सम्पन्न

0

वीरगंज । भारतीय महावाणिज्य दूतावास, वीरगंजद्वारा विश्व हिन्दी दिवस–२०२६ को अवसरमा आइतबार एक भव्य कार्यक्रम सम्पन्न भएकाे छ। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी भाषण तथा स्वरचित कविता प्रतियोगिता आयोजना गरिएको थियो। साथै शारदा कला केन्द्र, रक्सौलद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रमले उपस्थित दर्शकहरूको मन जितेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्य दूत श्री देवी सहाय मीना ज्यूले हिन्दी भाषाको विश्वव्यापी महत्त्व तथा भारत–नेपालबीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउन हिन्दी भाषाले खेलेको भूमिकामाथि प्रकाश पार्नुभयो। उहाँले यस अवसरमा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको सन्देश वाचन गर्दै हिन्दी भाषा तथा भारतीय संस्कृतिलाई विश्वस्तरमा प्रवर्द्धन गर्न भारत सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले भारत र नेपालबीच युगौँदेखि कायम धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धको महत्त्व विषयमा आयोजित भाषण तथा कविता प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाएका थिए। विद्यार्थीहरूको भाषिक दक्षता र सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई भारतीय महावाणिज्य दूत श्री देवी सहाय मीना ज्यूले पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रममा शैक्षिक संस्था, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधि, भारत–नेपाल मैत्री संघका सदस्यहरू तथा ठूलो संख्यामा हिन्दी प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सफल आयोजनासँगै भारतीय महावाणिज्य दूतावास, वीरगंजले यस क्षेत्रमै हिन्दी भाषा र संस्कृतिको प्रवर्द्धन गर्दै भारत–नेपाल मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

३०४औँ पृथ्वी जयन्तीमा वीरगंजमा नागरिक सभा, संवैधानिक राजतन्त्र नै मुलुक जोगाउने विकल्प : वक्ताहरु

0

वीरगंज । मुलुकलाई असफल राष्ट्र बन्नबाट जोगाएर सफल राष्ट्रतर्फ अग्रसर गराउनु नै पृथ्वी नारायण शाहप्रति सच्चा श्रद्धाञ्जलि हुने वक्ताहरूले बताएका छन्।

३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय नागरिक संघर्ष समिति, वीरगंज केन्द्रद्वारा आयोजित नागरिक सभामा बोल्ने वक्ताहरूले वर्तमान अवस्थामा मुलुकको अस्तित्व र राष्ट्रिय एकता जोगाउन संवैधानिक राजतन्त्रको विकल्प नरहेको धारणा व्यक्त गरे।

सभामा संघर्ष समितिका केन्द्रीय प्रवक्ता हीरा बहादुर चन्दले दलहरूले पनि वर्तमान अवस्थामा राजसंस्थाको विकल्प नरहेको कुरा स्वीकार गरिसकेको भए पनि विभिन्न दबाब र प्रभावका कारण सार्वजनिक रूपमा व्यक्त गर्न नसकेको दाबी गर्नुभयो। उहाँले बडामहाराज पृथ्वी नारायण शाहको दिव्य उपदेशलाई मनन गर्दै मुलुक जोगाउन ढिलाइ नगरी संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र अर्थात् संविधान २०४७ पुनः स्थापना गर्नुको विकल्प नरहेको बताउनुभयो।

चन्दले मुलुकलाई असफल हुनबाट जोगाउन २०६३ साल वैशाख ११ गते दल र राजाबीच भएको पाँचबुँदे सहमति कार्यान्वयन अनिवार्य रहेकोमा जोड दिनुभयो। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम देव सरकारबाट जारी शुभकामना सन्देशको स्मरण गर्दै उहाँले पृथ्वी नारायण शाहको दिव्य उपदेशअनुसार ‘पृथ्वीपथ’ तर्फ अघि बढ्नु नै मुलुक जोगाउने एकमात्र बाटो भएको उल्लेख गर्नुभयो।

सभामा वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले २०७२ सालको संविधानलाई अवैध दस्तावेजको संज्ञा दिँदै त्यसलाई खारेज गरी २०४७ को संविधान जारी गर्नुपर्ने माग गर्नुभयो। “मुलुक नै नरहे के गर्छौं ?” भन्दै उहाँले दलका नेताहरूलाई नामै तोकेर चेतावनी दिँदै यथाशीघ्र संविधान २०४७ तर्फ नफर्किए मुलुक गम्भीर संकटमा फस्ने दाबी गर्नुभयो।

त्यस्तै संघर्ष समितिका केन्द्रीय सदस्य डा. राजीव झाले २०७२ को संविधानलाई सिंगो नेपालले बहिष्कार गरिसकेको दाबी गर्दै २०४७ को संविधान पुनःस्थापना गरी आपसी मतभेद त्यागेर राष्ट्रिय एकता कायम गर्नु नै पृथ्वी नारायण शाहप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा राख्नुभयो।

नागरिक सभा राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता तथा वीरगंज केन्द्रका संयोजक हीरा बहादुर चन्दको सभापतित्वमा सम्पन्न भएको थियो। सभामा राजकुमार सिन्धी, विपिन शाह, अब्दुल सतार, बृजकिशोर गुप्तालगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन मानव सेवकले गर्नुभएको थियो भने स्वागत मन्तव्य दिनानाथ प्रसाद यादवले दिनुभएको थियो।

सभामा पशुपति विक्रम शाह, रोजिना गुरुङ, चन्द्रभूषण साह, पुनित गुप्ता, रमेश मानन्धर, उपेन्द्र यादवलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय नागरिक संघर्ष समितिले सम्झना होटल प्रांगणबाट रथ र बाजागाजासहित नागरिक ¥याली आयोजना गरेको थियो। ¥याली घण्टाघर, आदर्शनगर हुँदै नगर परिक्रमा गरी पुनः घण्टाघर चोकमा पुगेर श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेपछि नागरिक सभामा परिणत भएको थियो।

सशस्त्र प्रहरी दिवसको अवसरमा पर्सामा २०३ विपन्न परिवारलाई न्यानो कपडा वितरण

0

वीरगंज । “२५ औँ सशस्त्र प्रहरी दिवस २०८२” को अवसरमा सशस्त्र प्रहरी बल नेपाल पर्साले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत ROTARY CLUB OF BIRGUNJ सँगको सहकार्यमा न्यानो कपडा वितरण गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा पर्सा जिल्लाका विभिन्न पालिकामा रहेका २०३ विपन्न घरपरिवारलाई जाडोबाट राहत पुर्‍याउने उद्देश्यले पोलार वितरण गरिएको हो।

कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सप्रउ पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूको उपस्थितिमा सीमा सुरक्षा गुल्म तथा बीओपी परिसरहरूमा न्यानो कपडा वितरण गरिएको हो।

विवरण अनुसार, सीमा सुरक्षा गुल्म हे.क्वा. अलौको प्राङ्गणमा वीरगञ्ज महानगरपालिका–१७ का ३४ विपन्न घरपरिवार, बीओपी अमरपट्टीको प्राङ्गणमा बिन्दवासिनी गाउँपालिका–३, ४ र ५ का ३७ घरपरिवार, बीओपी पिडारीगुठ्ठीमा जगरनाथपुर गाउँपालिका–१ का १६ घरपरिवार, बीओपी भिष्वामा छिपहरमाई गाउँपालिका–३, ४ र ५ का ७१ घरपरिवार, बीओपी महादेवपट्टीमा जिराभवानी गाउँपालिका–१ का १५ घरपरिवार तथा सीमा सुरक्षा गुल्म हे.क्वा. भिखमपुरमा धोविनी गाउँपालिका–२ र जगरनाथपुर गाउँपालिका–२ का ३० विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार सीमावर्ती क्षेत्रका विपन्न नागरिकलाई लक्षित गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो।

डा. चन्दन प्रसाद चौहान नेपाली कांग्रेसमा प्रवेश

0

वीरगंज । जनमत पार्टीका पूर्व पर्सा जिल्ला अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य तथा जगरनाथपुर गाउँपालिकाको २०७९ सालको मेयर प्रत्याशी डा. चन्दन प्रसाद चौहानले विधिवत रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

आइतबार आयोजित एक कार्यक्रममा उनलाई पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का सभापति एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव तथा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले पार्टीमा स्वागत गरेका हुन्।

डा. चौहानको कांग्रेस प्रवेशसँगै जगरनाथपुर क्षेत्रको राजनीतिक समीकरणमा नयाँ तरंग आएको स्थानीय नेताहरूले बताएका छन्। पार्टी प्रवेश कार्यक्रमका क्रममा कांग्रेस नेतृत्वले डा. चौहानको राजनीतिक अनुभव, संगठनात्मक क्षमता र स्थानीय स्तरमा रहेको जनसमर्थनले पार्टीलाई थप मजबुत बनाउने क्षेत्रीय कोषाध्यक्ष विनय द्विवेदीले वताए ।

जनमत पार्टीको नगवामा भेटघाट कार्यक्रम, ५० भन्दा बढीले गरे पार्टी प्रवेश

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–१६ को नगवा (मध्य टोल) मा जनमत पार्टीले स्थानीयसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ५० जना भन्दा बढी स्थानीयले जनमत पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रमका क्रममा नगवा बुथ समितिको इन्चार्जमा किरन चौरसिया चयन भएका छन् भने युवा दस्ता संयोजकको जिम्मेवारी निखिल चौरसियालाई दिइएको छ। यसैगरी चन्द्रावती यादवको अध्यक्षतामा बुथ स्तरीय महिला समिति पनि गठन गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर–१ का प्रस्तावित उम्मेदवार ओमप्रकाश सरार्फले मधेस र देशको भविष्यका लागि जनमत पार्टी नै एक मात्र विकल्प रहेको दाबी गरे। उनले जनमत पार्टीको मुख्य एजेन्डा ‘नयाँ गणतन्त्र’ रहेको उल्लेख गर्दै यो एजेन्डा नै युवा तथा जेन–जी आन्दोलनको मूल आधार भएको बताए। सबैले यसलाई आत्मसात गर्दै पार्टीलाई सशक्त बनाए मात्र देशमा दिगो शान्ति र समृद्धि सम्भव हुने उनको भनाइ थियो।

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्यहरू बिध्यालाल प्रसाद, सिमा गुप्ता, श्याम शंकर चौरसिया, राष्ट्रिय परिषद सदस्य ब्रीजकिसोर कलवार, शिव यादव, क्षेत्र नम्बर–१ का पर्यवेक्षक डा. मनोज कुमार, सिए देवराज, निराजन कुशवाहा, क्षेत्र नम्बर–१ का अध्यक्ष दिनानाथ प्रसाद साह, बिजय पास्वान, बबिता पुडासैनी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कालिकामाई गाउँपालिका अध्यक्ष गुप्ताद्वारा युवालाई खेल सामग्री सहयोग

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले युवाहरूको चाहनाअनुसार खेलकुद सामग्री सहयोग गर्दै खेलकुद क्षेत्रप्रति युवालाई प्रोत्साहन गरेका छन्।

आइतबार कालिकामाई गाउँपालिका अन्तर्गतका युवाहरूका लागि अध्यक्ष गुप्ताले ब्याडमिन्टन, केरम बोर्ड, भलिबललगायत विभिन्न खेल सामग्री हस्तान्तरण गरेका हुन् । युवाहरूको रुचि र आवश्यकतालाई ध्यानमा राखेर सामग्री प्रदान गरिएको बताउँदै उनले खेलकुदले युवालाई स्वस्थ, अनुशासित र सकारात्मक दिशातर्फ अघि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

अध्यक्ष गुप्ताले युवाप्रति आफ्नो सद्भाव सधैं कायम रहने उल्लेख गर्दै युवाहरूको हकहित र विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाए। “युवा भाइहरूप्रति मेरो माया र सद्भाव सधैं रहिरहनेछ,” उनले भने।

यसअघि पनि अध्यक्ष गुप्ताले कालिकामाई गाउँपालिका भित्रका युवाहरूको एक समूहलाई क्रिकेट किट, ब्याडमिन्टन र केरम बोर्डलगायत खेल सामग्री सहयोग गरिसकेका छन् । स्थानीय युवाहरूले यस्तो सहयोगले खेलकुद गतिविधि बढ्ने र प्रतिभा विकासमा टेवा पुग्ने प्रतिक्रिया दिएका छन्।