Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

भ्रष्ट र असक्षमबाट मुलुक सुधारिँदैन : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्कीको पछिल्लो गतिविधिप्रति कडा टिप्पणी गर्दै जेन–जी आन्दोलनका हत्यारा र भ्रष्टाचारीसँग सरकारको हिमचिम बढेको आरोप लगाएका छन्। जेन–जी आन्दोलनका हत्यारा र भ्रष्टाचारीलाई कहिले कारबाही हुन्छ भन्दै उनले सरकारसँग प्रश्नसमेत गरे।

आजपाद्वारा सोमबार पर्सा निर्वाचन क्षेत्र नं. ३ को पोखरियामा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको “मुख पनि नहेर्ने” भन्ने प्रधानमन्त्रीले अहिले बालुवाटारमा घण्टौँ चियागफ गरिरहेको टिप्पणी गरे।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका हत्यारालाई अझैसम्म कारबाही नगरिएकोप्रति आक्रोश व्यक्त गर्दै साहले हत्यारासँग चिया पार्टी गरेर शहिद परिवारले न्याय पाउन नसक्ने बताए। जेन–जी शहिद परिवार र आन्दोलनकारीहरूले दिनहुँ न्यायको माग गरिरहे पनि प्रधानमन्त्री उही व्यक्तिसँग भेटघाटमै व्यस्त रहेको उनको आरोप छ।

साहले जेन–जी आन्दोलनको रापतापमा बलपूर्वक र षड्यन्त्रमूलक तरिकाले देशको नेतृत्वमा पुगेकी सुशीला कार्कीलाई आन्दोलनको “हाइज्याकर”को संज्ञा दिए। जेन–जी आन्दोलनमा बल प्रयोग गर्ने नेपाली कांग्रेस र नेकपा एमाले दमनकारी भएको आरोपसमेत उनले लगाए। आन्दोलनका हाइज्याकर र दमनकारीबीचको अस्वाभाविक उठबसले जेन–जी जनविद्रोहलाई गिज्याइएको उनको भनाइ थियो।

उनले पछिल्लो समय नेपाली नागरिकता त्याग्ने, जनताको पसिनाको पैसा ठग्ने, लुट्ने तथा भ्रष्ट र अनाडी प्रवृत्तिबाट मुलुकको संकट समाधान हुन नसक्ने बताए। अहिलेको व्यवस्था र संविधान नै मुलुकको मुख्य समस्या भएको उल्लेख गर्दै त्यसको खारेजीबाट मात्र देश सही दिशामा अघि बढ्न सक्ने दाबी उनले गरे।

आजपा अध्यक्ष साहले दलतन्त्र, नेतातन्त्र र लुटतन्त्रविरुद्ध आफ्नो पार्टी सुरुदेखि नै संघर्षरत रहेको बताउँदै आजपा सधैं जनताको पक्षमा उभिएको दाबी गरे। खराब संविधान र व्यवस्थाका कारण देशको अवस्था झन् खराब भएको टिप्पणी गर्दै हालको संविधानले मुलुकलाई कुनै पनि हालतमा निकास नदिने उनको ठोकुवा थियो।

उनले सरकारपिच्छेको मनोमानी कर आतंक र भन्सारको नाममा भइरहेको लुटका कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको आरोप लगाए। तराई–मधेसका सीमावर्ती क्षेत्रमा सरकारको व्यवहारले नागरिकहरू थप पीडित भएको भन्दै यस्ता गतिविधि तत्काल रोक्नुपर्ने सुझाव दिए।

यस्तै, कुनै पनि बहानामा निर्वाचन सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिँदै साहले तोकिएकै मिति फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुनुपर्नेमा जोड दिए। निर्वाचन सार्ने प्रयास भए नेपाली जनता प्रतिकारमा उत्रिने उनको चेतावनी थियो।

‘भ्रष्टाचारीलाई खबरदारी तथा लघुवित्त पीडितलाई न्याय दिलाउन’ आयोजित उक्त भेलाले निर्वाचन परिचालनसम्बन्धी महत्वपूर्ण निर्णयहरू पनि गरेको जनाइएको छ। आजपा नेता शिव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लघुवित्तबाट पीडितहरूको न्यायका लागि संघर्ष गर्दै आएका मणिराम ज्ञवालीलगायतको विशेष उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...

मधेश प्रदेश : छ वर्षमा २८ हजार ८३ भवन निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ । यसमा...

सडक निर्माण नगरी नक्कली बिलबाट रकम हिनामिना गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा

वीरगंज । सडक निर्माण नै नगरी नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...