Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026
Home Blog Page 158

वीरगंज मेलामा ग्याङ फाइटः २४ वर्षीय युवकको मृत्यु, ६ जना नियन्त्रणमा

वीरगंज । वीरगंज मेलामा मंगलबार राति ग्याङ फाइट हुँदा एक जनाको ज्यान गएको छ । मेलाको प्रमुख स्थल माईस्थान चौक र घडिअर्वा पोखरी बीचको गीता मन्दिर नजिक दुई समूहबीच भएको झडपमा अन्दाजी २४ वर्षीय ‘गोल्डेन’ नामक युवकको मृत्यु भएको पर्सा प्रहरीले पुष्टि गरेको छ ।

पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, दुई समूहबीचको हानाहानमा गम्भीर घाइते भएका गोल्डेनलाई उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा राति नै मृत्यु भएको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएको छ । तर अनुसन्धानको क्रममा भएकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।
“झगडाको वास्तविक कारण अझै खुलेको छैन । नियन्त्रणमा लिइएकाहरुसँग सोधपुछ भइरहेको छ,” प्रवक्ता बस्नेतले जानकारी दिए ।

घटनापछि मेलाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । दशैं तिहार लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत मेलाका लागि ११ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीको दाबी भए पनि मेलाको मुख्य चोक नजिकै भएको घटनामा एक युवकको ज्यान जानुले सुरक्षा व्यवस्थामाथि ठुलो प्रश्न उठाएको छ ।

मृतक गोल्डेनको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

बहुवरीबाट उद्धार भएकी गर्भवतीले छोरी जन्माइन्

वीरगंज । पर्साको बहुवरीबाट उद्धार गरिएकी गर्भवती महिलाले आज मंगलबार साँझ ५:२३ बजे नारायणी अस्पतालमा सुरक्षित रूपमा छोरीलाई जन्म दिएकी छन्।

गत असोज ११ गते शनिबार राति करिब ९ बजे वडा प्रहरी कार्यालय विर्ताका प्रहरी सहायक निरीक्षक भुलेन्द्र गिरि तथा मानवसेवा आश्रम वीरगंज शाखाका अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारुले अन्दाजी ३० वर्षकी ती महिलालाई उद्धार गरी आश्रममा ल्याएका थिए। महिलाले आफ्नो नाम–थर स्पष्ट बताउन नसक्ने अवस्था रहेको आश्रमले जनाएको छ।

आज असोज १४ गते बेलुकी ४ बजे पेट दुखेपछि उनलाई तत्काल नारायणी अस्पताल पुर्याइएको थियो। उपचारपछि साँझ ५:२३ बजे उनले छोरी जन्माएकी हुन्।

नारायणी अस्पतालमा शिशु जन्मदिने बेला मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारु, सामाजिक अभियन्ता पिया सिंह, आश्रमका केन्द्रिय सदस्य विवेक महतो, स्वयंसेवकहरू विकास माली, अंशु क्षेत्री, संगीता परियार, प्रहरी जवान नगेश्वर यादव, ओमकुमार झा र दिपेन्द्र चौधरीको उपस्थिति रहेको थियो।

मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले सुन्दर समन्वयका लागि आदरणीय हेमा थापा साथै सम्पूर्ण अस्पताल परिवारप्रति आभार प्रकट गरेका छन्।

पर्सामा सशस्त्र प्रहरीद्वारा ९ किलोभन्दा बढी चरेश बरामद, एक भारतीय नागरिक पक्राउ

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साको टोलीले ठूलो परिमाणको चरेश बरामद गरेको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक नितेश कुमार साह कानुको कमाण्डमा खटिएको ७ जनाको मोबाईल टोलीले छिपहरमाई गाउँपालिका–४ बन्जारीस्थित भिष्वा–जानकी टोला सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारततर्फ लैजाँदै गरिएको ९ किलो ५२२ ग्राम चरेश बरामद गरेको हो ।

बिआर २२ जे ३५५० नम्बरको होण्डा साइन मोटरसाइकलमा फल्स बटम बनाई लुकाइछिपाइ लैजाँदै गरिएको उक्त चरेश १९ वटा प्लास्टिकका प्याकेटमा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार घटनामा संलग्न भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरी टोला वार्ड नं. ३७ का ३१ वर्षीय गुलाम मोहमदलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ ।

पक्राउ परेकाको साथबाट आधार कार्ड र कार्बोन कम्पनीको कीप्याड मोबाईल फोन समेत बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

जेनजी प्रदर्शन छानबिनः पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जनाको विदेश भ्रमणमा रोक

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाएको छ।

आयोगको बैठकले अनुसन्धानको दायरामा रहेका कारण पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भाद्र २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका व्यक्तिहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार गरिएको छ। साथै, छानबिनका क्रममा कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले आयोगको स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराइनेछ।”

त्यसैगरी, आयोगले छानबिन प्रभावकारी बनाउन विज्ञसहितको जनशक्ति आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

तिन महिना ढिलाे धोबीनीको ११औं गाउँसभा सम्पन्न, ३३ करोड ८८ लाखकाे बजेट पारित

वीरगंज । तिन महिना ढिलाे पर्साको धोबीनी गाउँपालिकाकाे ११औं गाउँसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न गाउँ सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ३३ करोड ८८ लाख ८८ हजार ९ सय ८१ रुपैयाँ बराबरको बजेट पारित गरेको हाे ।

गाउँपालिकाकी उपाध्यक्ष मंजु देवी पटेलको आदेशअनुसार प्रमुख प्रशासनिक अधिकृत कृष्ण प्रसाद खतिवडाले बजेट प्रस्तुत गरेका थिए । धोबीनी गाउँपालिका कार्यालयकाे सभा हलमा भएकाे सभाकाे गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले उद्घाटन गरेका थिए ।

गाउँ सभालाई सम्बाेधन गर्दै अध्यक्ष चौहानले स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याइएकाे वताए । उनले राजनीतिक समस्याका कारण गाउँसभा ढिला भए पनि अब विकास र जनताको काम छिटो हुने प्रतिबद्धता जनाए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडाले इमानदारीपूर्वक काम गर्दै धोबीनीलाई स्वच्छ र समृद्ध नमूना गाउँपालिका बनाउने प्रतिवद्धता जनाए ।

गाउँपालिका अध्यक्ष चौहानको अध्यक्षतामा सम्पन्न गाउँ सभामा उपाध्यक्ष मंजु देवी कुर्मिन, वडाअध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, गाउँसभा सदस्य, शिक्षक, स्थानिय पत्रकार, सुरक्षाकर्मीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठीले गरेका थिए ।

गाउँ सभा ढिलाे भएका कारण यस बर्षकाे दशैंमा गाउँपालिका अन्तर्गतका शिक्षक र कर्मचारीहरुले तलब पाएका छैनन् । अब गाउँ सभा सम्पन्न भई बजेट समेत पारित भईसकेका कारण तिहारमा कर्मचारीहरुले बाकी रहेकाे ६ महिनाकाे तलब पाउनुकाे साथै विकास निर्माणकाे काम सुचारु हुने छ ।

वीरगंजमा मानवसेवा आश्रमद्वारा गर्भवती महिला उद्धार

वीरगंज । वीरगंजमा शनिबार राति एक अज्ञात गर्भवती महिलालाई उद्धार गरी मानवसेवा आश्रममा राखिएको छ।

वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भुलेंद्र गिरि र समाजसेवी प्रकाश थारुले अन्दाजी ३० वर्षकी ती महिलालाई मानवसेवा आश्रम वीरगञ्ज शाखामा पुर्‍याएका हुन्। महिलाले आफ्नो नाम, थर र ठेगाना प्रष्ट बताउन नसकेकी कारण आश्रममार्फत उनको पहिचान खुलाउने प्रयास भइरहेको आश्रमले जनाएको छ।

मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ताका अनुसार महिलालाई नारायणी अस्पतालमा हेमा थापाको निगरानीमा स्वास्थ्य जाँच र उपचार गरिनेछ भने मानसिक स्वास्थ्य परीक्षण तथा उपचार डा. भरत गोइतको देखरेखमा हुनेछ।

उद्धार गरिएको महिला हाल सुरक्षित अवस्थामा रहेको आश्रमले जनाएको छ।

रिकभरीङ नेपाल मधेस प्रदेशको नयाँ कार्यसमिति चयन

वीरगंज । रिकभरीङ नेपाल मधेस प्रदेशको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको आगामी कार्यदिशा निर्धारण गर्ने उक्त सभाले आयुष भुजेललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

नव-निर्वाचित कार्यसमितिमा बिकाश लामा उपाध्यक्ष, राजकुमार तामाङ सचिव, भूषण क्षेत्री कोषाध्यक्ष, साथै उदय यादव, अजय कुर्मी लगायत अन्य सदस्यहरू चयन भएका छन् । सभामा सहभागी प्रतिनिधिहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

सहभागीहरूको भनाइअनुसार नयाँ नेतृत्वले संगठनलाई थप सक्रिय, समावेशी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । विशेष गरी समुदायमा पुनर्स्थापना, परामर्श तथा पुनरावृत्त जीवनशैलीको प्रवर्द्धनमा कार्यरत संस्थाले आगामी दिनमा अझ विस्तारित रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।

रिकभरीङ नेपालले विगत केही वर्षदेखि लत तथा दुर्व्यसनबाट प्रभावित समुदायलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले अब मानव अधिकार तथा स्वास्थ्य अधिकार सुनिश्चितताका लागि देशव्यापी रूपमा वकालत र पैरवीलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

नयाँ कार्यसमितिले अभियानलाई थप नीतिगत तहमा प्रभावकारी बनाउने, सरोकारवाला निकायहरूसँग सहकार्य बढाउने र मूलधारको समाजमा पुनःसमावेशीकरण सुनिश्चित गर्ने दिशामा अघि बढ्ने प्रतिवद्धता जनाएको छ ।

वीरगंज महानगरलाई सूर्या नेपालद्वारा कम्प्युटर, ल्यापटप र प्रिन्टर सहयोग

वीरगंज । वीरगंज महानगरपालिकाको प्रशासनिक कामकाज सहज बनाउन सूर्या नेपाल प्रा.लि.ले कम्प्युटर, ल्यापटप, प्रिन्टरसहितका विद्युतीय सामग्री सहयोग गरेको छ ।

गत भदौ २४ गतेको जेनजि आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी हुँदा वीरगंज महानगरपालिकाको भवनसहित भौतिक सामग्री जलेर नष्ट भएपछि दैनिक प्रशासनिक कामकाज प्रभावित भएको थियो । यही अवस्थालाई मध्यनजर गर्दै सूर्या नेपालले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दुई थान कम्प्युटर सेट (युपिएससहित), दुई थान ल्यापटप र दुई थान प्रिन्टर हस्तान्तरण गरेको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगंज महानगर प्रमुख राजेशमान सिंहले असहज अवस्थामा रहेको कार्यालयलाई पुनःसञ्चालन गर्न सूर्या नेपालले पुर्‍याएको सहयोग महत्त्वपूर्ण भएको बताए । उनले भविष्यमा पनि महानगर र सूर्या नेपालबीच सहकार्य र साझेदारी निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरे ।

सो अवसरमा सूर्या नेपाल प्रा.लि.का प्रभाकर विक्रम शाहले नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु भएकाले समस्याको घडीमा सहयोग गर्न सधैं तत्पर रहेको बताए ।

यस्तै, उद्योग प्रमुख सुरेश काजी श्रेष्ठले सूर्या नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंज महानगरलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

सामग्री हस्तान्तरण कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका सिनियर म्यानेजर यज्ञ आलेसहितका व्यक्तिहरूको उपस्थिति थियो ।

काम नगरी अलपत्र परेका सडक र पुलका २३४ ठेक्का तोडिँदै

काठमाडौँ । सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २३४ सडक र पुलका तोडिने भएका छन् । सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आज सम्बद्ध अधिकारीसँग छलफलपछि सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत ३८, काठमाडौँका ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपाडी लोकमार्गका १७ वटा ठेक्का रुग्ण छन् ।

आयोजनाका तर्फबाट गर्नुपर्ने काम नगरी ठेक्कालाई रुग्ण बनाउन संलग्न तत्कालीन एवं हालका जिम्मेवार कर्मचारीलाई पनि छानबिन गर्न समिति बनाइने जनाइएको छ । मन्त्री घिसिङले भौतिक पूर्वाधार मन्त्रालयका सचिव तथा सहसचिवहरू, सडक विभागका महानिर्देशक, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखहरू, आयोजना प्रमुखलगायतसँग छलफल गरी ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिको अन्त्यका लागि रुग्ण ठेक्का तोड्नुको विकल्प नरहेको बताउनुभयो ।

रुग्ण ठेक्का तोडिएमा कम रकम कबोल गरी ठेक्का सम्झौता गरी परिचालन पेश्की लिएर उक्त रकम अन्यत्रै लगानी गर्ने तर काम नगर्ने प्रवृत्तिको समेत अन्त्य हुने उहाँले उल्लेख गर्नुभयो । सुरु निर्माण अवधिको तुलनामा सय प्रतिशतभन्दा बढी समय म्याद थप भइसक्दासमेत ५० प्रतिशतभन्दा कम प्रगति रहेको रु दुई करोडभन्दा बढी सम्झौता भएको ठेक्कालाई रुग्ण ठेक्का मानिएको छ ।

यस्तै, २०० प्रतिशतभन्दा बढी समय म्याद थप भइसक्दासमेत निर्माण प्रगति ८० प्रतिशतभन्दा कम भएका रु दुई करोडभन्दा बढी सम्झौता अङ्क भएका, ४०० प्रतिशतभन्दा बढी समय म्याद थप भइसक्दासमेत निर्माण प्रगति ९५ प्रतिशतभन्दा कम रहेका रु दुई करोडभन्दा बढी सम्झौता अङ्क भएका ठेक्कालाई रुग्ण मानिएको छ ।

मन्त्री घिसिङले मन्त्रालय र मातहतका कार्यालयले गर्ने कुनै पनि कार्यमा अनियमितता, ढिलासुस्ती, घुस माग्ने, सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृत्ति देखिए संलग्नमाथि तत्कालै कारबाही गर्ने उल्लेख गर्नुभयो । उहाँले आफ्नो नाम बेचेर कसैले अनावश्यक दुःख दिएमा तत्कालै जानकारी गराउनसमेत कर्मचारीलाई निर्देशन दिनुभयो ।

मधेस प्रदेशमा चार दलीय सहमति, कांग्रेसका कृष्ण यादव मुख्यमन्त्री बन्ने

जनकपुरधाम । मुख्यमन्त्री सतीश सिंहको सरकार अल्पमतमा परेपछि मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि चार दलीय सहमति बनेको छ । सत्तारूढ दल जनमत पार्टी र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि सिंह नेतृत्वको सरकार अल्पमतमा पुगेको हो ।

जनमत पार्टीका नेता महेश यादवका अनुसार नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा गठन गर्ने चार दलबीच सहमति भएको छ । उनका अनुसार पुरानै समीकरणमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मिलेर सरकार गठनको तयारी भइरहेको छ ।

यादवले प्रदेश प्रमुख काठमाडौंमा रहेकाले बहुमत सांसदको हस्ताक्षरसहित पत्र बुझाउन पर्खाइमा रहेको बताए । ‘प्रदेश प्रमुख फर्कनु भएलगत्तै पत्र पेस गर्ने तयारी छ,’ उनले भने । मन्त्रालयहरूको भागबन्डाबारे भने अझै सहमति नभएको उनको भनाइ छ ।

सहमती अनुसार कांग्रेस संसदिय दलका नेता कृष्ण यादव मुख्यमन्त्री बन्ने छन् । उनी कांग्रेस मधेश प्रदेशका सभापति समेत हुन् । शुक्रबार बसेकाे कांग्रेस, एमाले, जनमत पार्टी र लाेसपाकाे संसदिय दलकाे बैठकमा यस्ताे सहमती भएकाे हाे ।

जनमत पार्टीले गत असोज २८ गते आफ्नै पार्टीबाट बनेका मुख्यमन्त्री सतीश सिंहलाई फिर्ता बोलाएपछि कांग्रेसले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मधेस प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको बहुमत आवश्यक छ ।

नयाँ समीकरणअनुसार प्रदेशसभामा कांग्रेसका २२, एमालेका सभामुखसहित २४ (एक निलम्बनबाहेक), जनमतका १३ र लोसपाका ८ (एक निलम्बनबाहेक) सांसद छन् । यो संख्याका आधारमा नयाँ सरकार गठनका लागि पर्याप्त बहुमत जुट्ने देखिएको छ ।