Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026
Home Blog Page 140

नवदीप एकेडेमीका विद्यार्थीहरू ‘पिस पोष्टर’ चित्रकला प्रतियोगितामा उत्कृष्ट, परी गुप्ता प्रथम

वीरगंज । वीरगंज महानगरपालिका–१५ स्थित नवदीप एकेडेमीका विद्यार्थीहरूले यस वर्षको पिस पोष्टर चित्रकला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको नाम उज्यालो पारेका छन्।

११ देखि १३ वर्ष उमेर समूहका १५ विद्यार्थीहरू सहभागी रहेको प्रतियोगितामा कक्षा ६ की परी गुप्ताले प्रथम स्थान, कक्षा ५ की आचल साहले दोस्रो स्थान, र मिराली जैसवालले तेस्रो स्थान हासिल गरे।

कार्यक्रमका प्रमुख अतिथि पिएमसिसी (PMCC)का डा. रमेशकुमार अग्रवालले विजेताहरूलाई प्रमाणपत्र वितरण गर्दै देशभरका उत्कृष्ट विद्यार्थीहरूले अन्तर्राष्ट्रिय पिस पोष्टर प्रतियोगितामा सहभागी हुने अवसर पाउने जानकारी दिनुभयो। उहाँका अनुसार, अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट ठहरिने विद्यार्थीहरूले धनराशिसहितको पुरस्कार प्राप्त गर्नेछन्।

डा. अग्रवालले बालबालिकाको चित्रमार्फत सन्देश दिने क्षमता, सृजनशीलता र विश्वशान्तिप्रतिको दृष्टिकोण विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रम विद्यालयकी प्रधानाध्यापक तथा लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष सुशीला साहको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा फर्स्ट भिडिजी लायन रामबिहारी पाण्डे, एरिया चिफ पिएमजेएफ लायन रामेश्वर, डिष्टिक मार्केटिङ को–अर्डिनेटर लायन नरोत्तम पाण्डेलगायतका अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण शिक्षिका नेहा अग्रवालले गरेकी थिइन्। अन्त्यमा डा. अग्रवालले विजेता तथा सहभागी विद्यार्थीहरूलाई निरन्तर अध्ययन र सिर्जनात्मक क्रियाकलापमा सक्रिय रहन प्रेरित गर्नुभयो।

हिमालयन पिरामिड स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न

0

वीरगंज । हिमालयन पिरामिड स्कुल/कलेज वीरगंजकाे आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कलेजका प्रधानाध्यापक सञ्जय सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा चार महिला सहित ३८ जनाले रक्तदान गरेका छन्।

कार्यक्रममा मनोज प्रसाद केशरी, कृष्ण गुप्ता, अन्कित ठाकुर, विवेक कुशवाहा, हरिओम पासवान, सुमित साह, सुमित शर्मा, रितिक पटेल, अरपित क्षेत्री, गोपिचन साह, सुरज कुमार गुप्ता, सुमित कुमार साहलगायत विद्यार्थी र स्थानीय युवाहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए।

कार्यक्रमका प्राविधिक पक्षमा रक्त संचार केन्द्र वीरगञ्जका इन्चार्ज सौरभराज पाण्डेको नेतृत्वमा रहेको टोलीले सहयोग प्रदान गरेको थियो।

सो अवसरमा सामाजिक अभियन्ता विक्की सर्राफ, राजेन्द्र भट्टराईलगायतको उपस्थिति रहेको थियो। आयोजक कलेजका अनुसार यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमले युवामा परोपकार र मानवसेवाको भावना अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछन्।

भिष्वामा गाई तस्करीको विरोधमा प्रदर्शन, टायर बालेर आक्रोश प्रकट

वीरगंज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–५ भिष्वामा बुधबार स्थानीयले गाई तस्करी रोक्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्। सीमाक्षेत्रमा तस्करीको आरोपपछि स्थानीयहरूले भिष्वा बजारमा टायर बालेर प्रदर्शन गरेका हुन्।

नेपाल–भारत सीमासँग जोडिएको सिकटा क्षेत्रमा गाई तस्करीको घटनापछि स्थानीय बासिन्दा र गोरु संरक्षण समूहबीच आक्रोश फैलिएको हो। सीमाक्षेत्रमा गाई र बाछा बरामद भएको घटनापछि सामाजिक सञ्जालमा एक अडियो क्लिप भाइरल भएपछि स्थिति थप तनावग्रस्त बनेको बताइन्छ।

स्थानीयवासीका अनुसार भारतको बिहार राज्य अन्तर्गत सिकटा विधानसभास्थित झुमकाबाट केही व्यक्तिहरूले साँझको अँध्यारोको मौका लिएर जयमंगलापुर–खुरडी सडकमार्ग हुँदै गाई तस्करीको प्रयास गरेका थिए। सूचना पाएपछि स्थानीय गोरुरक्षक समूहले उनीहरूलाई रोक्ने प्रयास गरेको र सो क्रममा तस्करहरू भागेका थिए। तस्करहरूले भाग्ने क्रममा एक गाई र एउटा बाछो त्यहीँ छोडेर फरार भएको जनाइएको छ।

उक्त गाई र बाछोलाई पछि भारततर्फको बुढगाई प्रहरी चौकीमा लगेर बाँधिएको बताइए पनि स्थानीयहरूले जब प्रहरी चौकी पुगे, त्यहाँ ती जनावरहरू नभएको बताएका छन्। प्रहरीले सिफारिसका आधारमा जनावरहरू छोडिएको जानकारी दिएको स्थानीयको भनाइ छ।

भिष्वा प्रहरी चौकीका प्रमुखका अनुसार रातको समयमा पर्याप्त सुरक्षा बल नहुँदा तत्काल कार्यवाही गर्न नसकिएको र सीमाक्षेत्रमा थप अनुसन्धान तथा सुरक्षा व्यवस्थापनका लागि पहल भइरहेको बताइएको छ।

स्थानीयहरूले गाई तस्करीमा संलग्नहरूलाई पक्राउ गरी कानूनी कारबाही गर्न र सीमाक्षेत्रको सुरक्षा कडाइ गर्न माग गरेका छन्।

पर्सामा धान भित्र्याउने कार्य तीव्र, उत्पादन घट्दा र मूल्य घट्दा किसान चिन्तित

सेढवा । पर्सा जिल्लाका ग्रामीण भेगमा किसानहरूले वर्षे बाली धान भित्र्याउने कार्य तीव्र रूपमा थालेका छन्। पछिल्ला दिनमा मौसममा सुधार आएपछि सोना मन्सुली, मनी मन्सुली, कतरनी र हाईब्रिड जातका धानबाली कटानीको चहलपहल देखिएको छ।

किसानहरूले यस वर्ष धान कटानीमा आधुनिक कृषि उपकरणहरूको प्रयोग बढाएका छन्। अधिकांश किसानले हार्भेस्टर मेशिनको प्रयोग गरी खेतमै बाली काट्ने, दाइँ गर्ने र सिधै ट्याक्टरमा लोड गर्ने गरेका छन्। यस्तै, पशुपालन गर्ने वा पराल बिक्री गर्ने उद्देश्यले केही किसानले रिपर मेशिन प्रयोग गरेर बाली काट्ने र त्यसपछि थ्रेसर मेशिनमार्फत धान दाइँ गर्ने गरेका छन्।

तर, यस वर्षको उत्पादनमा भने उल्लेखनीय कमी आएको किसानहरूको भनाइ छ। जिराभवानी गाउँपालिका–२ का किसान महेश चौधरीका अनुसार, धान रोपाइँदेखि बाला निस्किने अवधिसम्म खडेरी परेको कारण उत्पादन १५ देखि ३० प्रतिशतले घटेको छ। “गत वर्ष साढे छ मन प्रति कट्ठाको दरले उत्पादन भएको थियो, तर यसपटक चार मन मात्र भयो,” चौधरीले बताए।

धानको उत्पादन घट्नुका साथै यसको मूल्य पनि घटेकाले किसान थप निराश बनेका छन्। जिराभवानी गाउँपालिका–४ सुपौलीका किसान रामराज दासका अनुसार, अहिले व्यापारीहरूले मनी मन्सुली धान प्रतिक्विन्टल २,६०० रुपैयाँ र सोना मन्सुली धान २,७०० रुपैयाँमा खरिद गर्दै आएका छन्। गत वर्ष यिनै धानको मूल्य क्रमशः ३,१०० र ३,२०० रुपैयाँ प्रतिक्विन्टल थियो।

धानको मूल्यमा आएको गिरावटका कारण किसानहरू आगामी गहुँबालीका लागि बीउ, मल, औषधि र सिँचाइ खर्च व्यवस्थापनमा समस्यामा पर्ने बताएका छन्। यद्यपि सरकारले यस वर्ष मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३,४०० रुपैयाँ र पातलो धानको ३,६०० रुपैयाँ तोकेको छ।

वीरगंजकाे छप्कैयामा बेवारिसे सुटकेश फेला, बम डिस्पोजल टोलीद्वारा सुरक्षित रूपमा नष्ट

वीरगंज । वीरगंज महानगरपालिका–२ छप्कैयामा बेवारिसे अवस्थामा सुटकेश फेला परेको छ।

मंगलबार साँझ करिब ६ बजे बिरयानी हाउस अगाडि बेवारिसे सुटकेश देखिएको सूचनापछि प्रहरी बिट छप्कैयाबाट प्रहरी हवल्दार रञ्जन राज पाण्डेको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सुटकेश शंकास्पद देखिएपछि प्रहरीले आसपासको क्षेत्रलाई सुरक्षा घेरामा राख्दै वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा थप टोली खटाएको थियो । त्यसपछि श्री जनगण वीरगंजस्थित नेपाली सेनाको सात सदस्यीय बम डिस्पोजल टोलीलाई बोलाई उक्त सुटकेशलाई सुरक्षित रूपमा डिस्पोज (नष्ट) गरिएको हो।

बम डिस्पोजल टोलीले सुटकेश परीक्षण गर्दा कुनै विस्फोटक पदार्थ नपाइएको र तत्काल कुनै जोखिम नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

वीरगंजमा ८ किलो गाँजा सहित एक जना पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाँजा सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार वीरगंज महानगरपालिका–३२ चोर्नी बस्ने ७१ वर्षीय खेदु महतो धानुकलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले धानुकको किराना पसलमा छापा मार्दा पसल पछाडि पट्टि रहेको कोठामा निलो प्लास्टिकको ड्रमभित्र लुकाइ राखिएको करिब ८ किलो गाँजा फेला पारेको थियो।

लागुऔषध सम्बन्धी कसूरमा पक्राउ परेका धानुकलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी नायब उपरीक्षक तथा कार्यालयका प्रवक्ता हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका धानुकमाथि लागुऔषधको कारोबारमा संलग्नता रहे–नरहेको विषयमा थप अनुसन्धान जारी रहेको छ।

गाउँपालिका अध्यक्ष यसवन्त यादवको चेतावनी : “भ्रष्ट र कमिसनखोरका लागि एमालेमा ठाउँ छैन”

वीरगञ्ज । नेकपा एमालेबाट निर्वाचित पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले पार्टीभित्रका भ्रष्ट र कमिसनखोरहरूलाई कडा चेतावनी दिएका छन्। उनले पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई लक्षित गर्दै भने, “एमालेमा भ्रष्ट र कमिसनखोरका लागि कुनै ठाउँ छैन।”

मङ्गलवार सखुवा प्रसौनी गाउँपालिकाको एकडेरवा टोलमा सम्पन्न एमालेको गाउँपालिका स्तरीय जनसभा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले पार्टीको सिद्धान्त र आचारसंहिता विपरीतका क्रियाकलाप सहन नसकिने बताए।

उनको वक्तव्य हाल पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का पूर्व सांसदसमेत रहेका राजकुमार गुप्तामाथि लागेका भ्रष्टाचारका गम्भीर आरोपसँग जोडिएको देखिन्छ। यादवले स्पष्ट शब्दमा गुप्तालाई सम्बोधन गर्दै भने, “तपाईँ भ्रष्टाचारी हो, तपाईँको लागि एमालेमा कुनै ठाउँ छैन। सखुवा प्रसौनीलगायत पर्साका जनताले अब गुप्ताजस्ता व्यक्तिलाई अस्वीकार गर्नुपर्छ।”

यादवले अझ थप्दै भने, “यदि पार्टीले राजकुमार गुप्तालाई आगामी निर्वाचनमा टिकट दिने हो भने, हामी उनीविरुद्ध अभियान चलाउँछौँ।” उनले गुप्तालाई एमाले केन्द्रीय कमिटीबाट निलम्बन गरिएको दाबी गर्दै पार्टीभित्र शुद्धीकरणको आवश्यकता औँल्याए।

सभामा सहभागी स्थानीय नेताहरू र कार्यकर्ताहरूले समेत पार्टीभित्र अनुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिएका थिए।

मतदाता नामावली दर्ताका लागि निर्वाचन आयोगको अपिल, दैनिक १२ घण्टा सेवा प्रबाहको व्यवस्था

काठमाडौँ । निर्वाचन आयोग, नेपालले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी हुन इच्छुक नागरिकहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको छ।

आयोगका अनुसार मिति २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकहरूलाई पात्र मतदाता मानिने भएकाले उनीहरूले अनिवार्य रूपमा सो मितिभन्दा अघि आफ्नो नाम दर्ता गराउन अपिल गरिएको छ।

नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न आयोगले विशेष व्यवस्था गरेको छ। दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेको जिल्लाहरूमा दुई सिफ्टमा (६/६ घण्टा) गरी दैनिक १२ घण्टा सेवा सञ्चालन गरिने आयोगले जनाएको छ।

यसका लागि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइनेछ भने अन्य जिल्लामा सेवाग्राहीको चापका आधारमा प्रमुख जिल्ला अधिकारीमार्फत थप जनशक्ति खटाउने व्यवस्था गृह मन्त्रालयसँग समन्वय गरी मिलाइएको आयोगले जनाएको छ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार आयोगले सबै पात्र नागरिकलाई समयमा नाम दर्ता गराई आगामी निर्वाचनमा आफ्नो मतदान अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।

प्रभु बैंकका प्रदेश प्रमुखमाथि पद दुरुपयोग र पारिवारिक प्रभावको आरोप

वीरगञ्ज । प्रभु बैंक (पूर्व सेन्चुरी कमर्सियल बैंक) का प्रदेश प्रमुखमाथि पदको दुरुपयोग, कर्जा स्वीकृतिमा अस्वाभाविक सहयोग र पारिवारिक लाभका लागि राजनीतिक प्रभाव प्रयोग गरेको गम्भीर आरोप लगाइएको छ। यस विषयमा वीरगञ्जका जेन–जी युवाहरूले मंगलबार पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, आरोपित प्रदेश प्रमुखले आफ्नो पद र राजनीतिक पहुँचको बलमा कर्जा स्वीकृति प्रक्रियामा हस्तक्षेप गर्दै विशेष व्यक्तिहरूलाई लाभान्वित पारेका थिए। साथै, आफ्नै भाइलाई बैंकको अर्को शाखामा शाखा प्रबन्धक बनाउन राजनीतिक दबाब प्रयोग गरेको आरोपसमेत लगाइएको छ।

त्यस्तै, कर्जा प्रकरणका प्रमुख लाभार्थीले कर्जा नतिर्ने उद्देश्यले छोरासँग औपचारिक सम्बन्ध विच्छेद गरेको विवरणसमेत सार्वजनिक भएको छ। यसलाई कर्जा तिर्ने जिम्मेवारीबाट पन्छिन अपनाइएको रणनीति भएको बताइएको छ।

जेन–जी युवाहरूले ज्ञापनमार्फत प्रभु बैंकका प्रदेश प्रमुख, उनका परिवारजन र सम्बन्धित पक्षहरूबीच भएको कर्जा स्वीकृति, माफी र पदोन्नति प्रक्रियाको पूर्ण विवरण सार्वजनिक गर्न माग गरेका छन्। साथै, स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउन, बैंकिङ प्रणालीमा राजनीतिक र पारिवारिक प्रभाव रोक्न स्थायी नीति लागू गर्न र प्रमाणित भएमा संलग्नमाथि बैंकिङ अपराध ऐनअनुसार कारबाही गर्नुपर्ने माग पनि राखिएको छ।

सिडिओ दाहालले ज्ञापनपत्र प्राप्त गर्दै यस विषयमा उच्च निकायमा जानकारी गराउने प्रतिबद्धता जनाएका छन्।

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

वीरगंज । नेशनल मेडिकल कलेज प्रा.लि. र विश्रामपुर गाउँपालिकाबीच मंगलबार एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न भएको छ । वीरगंज–१५, भेडियाहीस्थित नेशनल मेडिकल कलेजको कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार, विश्रामपुर गाउँपालिकाका पाँच वटै वडाका बासिन्दाहरूलाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमार्फत विशेष छुट र सुविधा सहितका स्वास्थ्य सेवा प्रदान गरिनेछ।

विश्रामपुर गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष जुल्फकार अली भुटो, प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केसरी र स्वास्थ्य शाखा प्रमुख अली अकबर हुसेनको रोहबरमा सम्झौता सम्पन्न भएको हो । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल तर्फबाट प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।

समारोहमा कलेजका इन्जिनियर प्रदीप चौधरी, प्रशासन अधिकृत विश्वनाथ कान्त, प्रशासन अधिकृत पप्पु सिंह र प्रेस सल्लाहकार आशिक अन्सारी उपस्थित थिए।

त्यसैगरी, विश्रामपुर गाउँपालिकाको तर्फबाट वडा नं. २ का वडा अध्यक्ष मनोज यादव, कार्यपालिका सदस्य राजेन्द्र पाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्र. साह, न्यायिक समिति सदस्य मंजुर र आलम, गाउँ प्रहरी मुकतार आलम र सञ्चारकर्मी जोतिलाल पण्डितको समेत उपस्थिति रहेको थियो।

यस सम्झौताले अस्पताल र गाउँपालिका बीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यो सहकार्य संस्थागत सामाजिक उत्तरदायित्व, पारदर्शिता र दीर्घकालीन साझेदारी सुदृढ पार्ने अपेक्षा गरिएको छ।