Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 139

पर्सा–१ मा रास्वपाको आक्रामक अभियान : हरि पन्तको ‘घण्टी’ अभियान तीव्र

0

वीरगंज । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी बढ्दो छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई थप आक्रामक र व्यवस्थित बनाएका छन्।

वीरगञ्ज महानगरपालिका–हरपतगन्जमा आयोजित कोणसभामा पन्तले मतदातासामु आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै पुराना राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गरे। महेश यादवको सभापतित्वमा सम्पन्न सभामा उनले विगतका सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।

“पुरानै राजनीतिक शैलीबाट देशको समुचित विकास सम्भव छैन,” पन्तले भने, “नयाँ सोच, स्पष्ट भिजन र जनउत्तरदायी नेतृत्व आवश्यक छ। रास्वपा त्यसैका लागि चुनावी मैदानमा उत्रिएको हो।”

उनले मतदातालाई यसपटक मत परिवर्तनमार्फत देशमा ठोस परिवर्तनको आधार तयार गर्न आग्रह गरे। कार्यक्रममा सहभागी स्थानीय वक्ताहरूले यसपटक ‘घण्टी’ छापका उम्मेदवार पन्तलाई विजयी गराउन प्रतिबद्ध रहेको जनाए। उनीहरूले क्षेत्रीय विकास, रोजगारी सृजना र सुशासनका लागि पन्त नै उपयुक्त विकल्प भएको दाबी गरे।

यसैगरी, जगरनाथपुर मा पनि रास्वपाले कोणसभा सम्पन्न गरेको छ। पार्टीका संयोजक युवराज पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सभापति समेत रहेका उम्मेदवार पन्त प्रमुख अतिथिका रूपमा सहभागी भए।

पन्तले मन्तव्य राख्दै ‘घण्टी’ छापमा मतदान गर्न आग्रह गरे। उनले पुराना दलका नीतिका कारण युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै रास्वपाको विजयले मात्र औद्योगिक पुनर्जागरण सम्भव हुने दाबी गरे।

“वीरगञ्जका पुराना चिनी कारखानालगायत बन्द उद्योग पुनः सञ्चालन गर्ने स्पष्ट भिजन हामीसँग छ,” उनले भने। कार्यक्रममा सगीर अन्सारी, शिवजी ठाकुर, आनन्द शास, भगवान गिरी, नन्दु कुर्मी, उपेन्द्र पटेललगायत युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

यता शुक्रबार बिहान भेडिआही मा उम्मेदवार पन्तले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा स्थानीयले यसपटक पन्तलाई संसद्मा पुर्‍याउन सहयोग गर्ने आश्वासन दिएका छन्।

कार्यक्रमका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कार्यकर्तासँग सामान्य तनावको स्थिति सिर्जना भए पनि पार्टीका नेता–कार्यकर्ताको सुझबुझ र सुरक्षाकर्मीको सक्रियताबाट सम्भावित भिडन्त टरेको बताइएको छ।

निर्वाचन नजिकिँदै जाँदा पन्तले घरदैलो, टोलसभा र युवाकेन्द्रित अन्तरक्रियामार्फत प्रत्यक्ष संवादलाई अझै सशक्त बनाउने रणनीति लिएको बताएका छन्।

पर्सा–१ मा पुराना दल र नयाँ शक्तिबीचको प्रतिस्पर्धा रोचक बन्दै गइरहेका बेला हरि पन्तको सक्रियता रास्वपाको चुनावी अभियानलाई उकालोमा पुर्‍याइरहेको देखिन्छ। अब मतदाताको निर्णयले क्षेत्रको राजनीतिक भविष्य निर्धारण गर्नेछ।

‘कुशासन अन्त्यका लागि घण्टीमा मतदान गर्नुहोस्’ : सुशील कानु

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले शनिवार विभिन्न क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्।

उनले वीरगञ्ज महानगरपालिका–२९ बसडिलवा र बहुदरमाई नगरपालिका–२ सीसीयाडी क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए। घरदैलोका क्रममा उनले कुशासन र भ्रष्टाचार अन्त्य गर्दै सुशासन स्थापना गर्न घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।

कानुले विगत चार दशकदेखि चल्दै आएको राजनीतिक चक्रव्यूह तोडेर विधिको शासन स्थापना गर्ने, जनताको जीवनस्तर उकास्ने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित रास्वपा चुनावी मैदानमा उत्रिएको बताए। “पर्सा जिल्लामा देशकै आर्थिक नगरी वीरगञ्ज पर्छ। भौगोलिक तथा कूटनीतिक दृष्टिकोणले समेत यो क्षेत्र महत्त्वपूर्ण छ,” उनले भने, “तर यहाँबाट निर्वाचित प्रतिनिधिहरूको बेवास्ताका कारण अपेक्षित विकास हुन सकेन।”

उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सडकको अवस्था जीर्ण रहेको उल्लेख गर्दै अघिल्ला प्रतिनिधिहरूले व्यक्तिगत स्वार्थमा केन्द्रित राजनीति गरेको आरोप लगाए। निर्वाचित भए रास्वपा नेतृत्वको सरकारले पर्साको कायापलट गर्ने गरी ठूला विकास योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे।

कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखी आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ। किसानलाई समयमै मल उपलब्ध गराउने व्यवस्था मिलाइने र युवालाई सीपमूलक तालिम दिई स्थानीय स्तरमै रोजगारी सिर्जना गरिने उनले बताए। “युवाले गाउँमै अवसर पाए वैदेशिक रोजगारीको बाध्यता घट्छ,” उनले भने।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक र खानेपानी समस्याबारे गुनासो गरेका थिए। जवाफमा कानुले जनताको आवाज संसद्मा सशक्त रूपमा उठाउने र ठोस परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।

कार्यक्रममा सहभागी युवाहरूले परिवर्तनको समय आएको भन्दै रास्वपाप्रति आकर्षण बढ्दै गएको बताएका थिए। ज्येष्ठ नागरिक तथा महिलाहरूले पनि यसपटक सोचेर मतदान गर्ने र सुशासन तथा जबाफदेहितालाई प्राथमिकता दिने प्रतिक्रिया दिएका थिए।

होलीका दिन मोटरसाइकल चलाउन नपाइने, डीजे र चुनावी प्रचारमा पूर्ण रोक

0

वीरगंज । जिल्ला प्रशासन कार्यालय, पर्साले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न कडा सुरक्षा व्यवस्था लागू गरेको छ।

यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग, नेपाल तथा गृह मन्त्रालय, नेपालबाट प्राप्त निर्देशन, जिल्ला सुरक्षा समितिको निर्णय र सर्वदलीय/सर्वपक्षीय बैठकको सहमतिअनुसार आदेश जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनाेद कुमार पाेखरेलले जानकारी दिए ।

सीमानाका तीन दिन बन्द

जारी सूचनाअनुसार यही फागुन १८ गते राति १२:०० बजेदेखि २०८२ फागुन २१ गते राति १२:०० बजेसम्म पर्साका भारतीय सीमासँग जोडिएका सम्पूर्ण नाका बन्द रहनेछन्। मौन अवधिभर विदेशी नम्बर प्लेटका यात्रुवाहक सवारी साधनसमेत सञ्चालनमा रोक लगाइएको छ।

होली र रमजान घरमै मनाउन आग्रह

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै होली तथा रमजान पर्व सार्वजनिक स्थलमा भीडभाड गरी मनाउन निषेध गरिएको छ। चौर, चौक, खुला स्थानमा मेला, महोत्सव, सांगितिक कार्यक्रम वा मञ्च निर्माण गरी कार्यक्रम गर्न रोक लगाइएको छ।

मादक पदार्थ सेवन गरी हो-हल्ला गर्ने, जबरजस्ती रंग दल्ने, सार्वजनिक शान्ति भंग गर्ने जस्ता गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको छ । साथै कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झण्डा, चुनाव चिन्ह अंकित भेष्ट, टि–सर्ट, गम्छा, टोपी आदि लगाएर पर्व मनाउन पनि रोक लगाइएको छ।

होलीका दिन फागुन २० गते बुधबार मोटरसाइकल प्रयोग गरी पर्व मनाउन समेत निषेध गरिएको प्रशासनले जनाएको छ।

मतदान दिन सवारी पास व्यवस्था

मतदानको दिन एम्बुलेन्स, रेडक्रस, दूध तथा औषधि बोक्ने सवारी, खानेपानी ट्याङ्कर, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल तथा सुरक्षा निकायका सवारीसाधनलाई पास आवश्यक नपर्ने बताइएको छ। अन्य सवारीका लागि निर्वाचन अधिकृत/जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा मिति २०८२ फागुन १९ गते जिल्ला प्रशासन कार्यालयबाट पास वितरण गरिनेछ।

डीजे र चुनावी प्रचारमा पूर्ण रोक

मिति २०८२ फागुन १६ गतेदेखि अन्तिम मत परिणाम घोषणा नभएसम्म पर्सा जिल्लाभर राजनीतिक प्रचार–प्रसार तथा धार्मिक, सामाजिक र सांस्कृतिक कार्यक्रमहरूमा डीजे लगायत ध्वनि प्रदूषण हुने बाजा बजाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलद्वारा जारी सूचनामा आदेशको पालना नगरे प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

पर्सा–१ मा प्रदीप यादवको सक्रियता बढ्दो, विकास एजेन्डासहित घरदैलो तीव्र

0

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगञ्जमा तीव्र घरदैलो अभियानलाई निरन्तरता दिएका छन्।

शनिबार बिहान वीरगञ्ज महानगरपालिका–३० अन्तर्गत लालपर्सा र प्रसोतीपुर क्षेत्रमा आयोजित घरदैलो तथा जनता दर्शन कार्यक्रममा सयौँ स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। मतदाताहरूले यादवलाई फूलमाला र गम्छा ओढाएर भव्य स्वागत गरेका थिए।

पूर्व मन्त्रीसमेत रहेका यादवले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना विगतका दुई संसदीय कार्यकालमा सम्पन्न विकास निर्माणका कामहरूको मूल्याङ्कन गरेर मात्र मतदान गर्न आग्रह गरे। उनले भने, “१० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस्। सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर र मस्जिदहरूको स्थिति कस्तो थियो? आज भएका परिवर्तनहरू तपाईंहरूले आफैँ देख्न सक्नुहुन्छ।”

यादवले आफू क्षेत्रको हरेक टोल, समस्या र आवश्यकताबारे जानकार उम्मेदवार भएको दाबी गर्दै चुनावी मौसममा मात्र देखिने नेताहरूबाट सचेत रहन आग्रह गरे। “पाँच वर्षमा एक पटक मत माग्न आउनेहरूले विकास गर्न सक्दैनन्। म सधैँ जनताको सुख–दुःखमा साथमा रहन्छु,” उनले बताए।

उनले राष्ट्रियता सुदृढीकरण, आर्थिक समृद्धि र समाजवाद उन्मुख विकासलाई प्राथमिक एजेन्डा बनाएको उल्लेख गरे। साथै गरिबी निवारण, रोजगारी सृजना, महिला सशक्तीकरण, युवा बेरोजगारी न्यूनीकरण, कृषि तथा पर्यटन प्रवर्द्धन, स्थानीय उद्योग स्थापना जस्ता कार्यक्रमहरूलाई अगाडि बढाउने प्रतिबद्धता जनाए।

सूर्य चुनाव चिन्हमा मतदान गरी एमाले उम्मेदवारहरूलाई विजयी बनाउन अपिल गर्दै उनले भने, “काम गरेर प्रमाणित नेतृत्वलाई मत दिनुहोस्, बहुरूपियाको पहिचान गर्नुहोस्।”

विगतमा दुई पटक सांसद निर्वाचित भइसकेका यादवले सडक निर्माण, विद्यालय तथा अस्पताल भवन विस्तार, मन्दिर–मस्जिद–धर्मशाला निर्माण, मसान घाट व्यवस्थापन, खानेपानी, सिँचाइ र विद्युत् विस्तार जस्ता क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गरे। संसद्मा पटक–पटक पर्साका जनसरोकारका विषय उठाएको पनि उनले उल्लेख गरे।

कार्यक्रममा स्थानीयहरूले विभिन्न समस्या राखेपछि यादवले ती समस्याहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन दिए। उनले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै संविधान, सङ्घीयता र राष्ट्रिय अखण्डता जोगाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको धारणा राखे। साथै केपी शर्मा ओलीलगायत नेताहरूले विदेशी हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय स्वाभिमानको पक्षमा अडान लिएको प्रसंग पनि उठाए।

कार्यक्रममा एमालेका केन्द्रीय तथा स्थानीय नेता, कार्यकर्ता, युवा, महिला र ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

मुर्लिमा ओमप्रकाश सर्राफको घरदैलो, हर्न छापमा मतदान गर्न आग्रह

0

वीरगंज । पर्सा क्षेत्र नं. १ का वीरगंज महानगरपालिका वडा नम्बर १२ र १३ मुर्लिमा जनमतका उम्मेदवार ओमप्रकाश सर्राफले घरदैलो, भेटघाट र आशीर्वाद ग्रहण कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलोका क्रममा स्थानीयबासी र युवाहरूले उम्मेदवार सर्राफलाई फूलमाला, खादा र सम्मानसहित स्वागत गरेका थिए।

उम्मेदवार सर्राफले भने, “वीरगंजलाई भोट बैंकको रुपमा प्रयोग गर्ने र मतदाता ठग्ने प्रवृत्तिमा यसपालि अन्त्य हुने छ । जनता हरन छापमा मतदान गर्दै जनमत पार्टीलाई सहयोग गर्न आतुर छन् ।” उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रमा व्याप्त समस्या र चुनौतीहरूबारे जानकारी लिएका छन् र समाधानका लागि ठोस योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

सर्राफले शिक्षा, स्वास्थ्य, सडक र सरसफाइ व्यवस्थापन लगायतका आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने योजना रहेको बताए। साथै, स्थानीय युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउने र मुर्ली क्षेत्रको समग्र विकासका लागि संघीय तथा प्रदेश सरकारसँग समन्वय गर्दै बजेट विनियोजन सुनिश्चित गर्ने लक्ष्य रहेको उनले बताए।

कार्यक्रममा स्थानीय नेता, बुद्धिजीवी, विद्यार्थी तथा पार्टीका कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थितिले उम्मेदवारप्रति व्यापक विश्वास र समर्थन देखाएको थियो। स्थानीयबासीहरूले सर्राफसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी निर्वाचनमा पूर्ण साथ र समर्थन दिने प्रतिबद्धता जनाएका थिए।

उम्मेदवार सर्राफको सक्रिय घरदैलो अभियानले पर्सा–१ मा जनमत पार्टीको उपस्थितिलाई थप मजबुत बनाएको र मतदातामा सकारात्मक सन्देश प्रवाह गरेको विश्लेषकहरूले बताएका छन्।

पर्सा–१ मा रामकिशोर सिंहको घरदैलो: रोजगारी र विकासलाई प्राथमिकता दिने प्रतिबद्धता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि Ujyaalo Nepal Party का उम्मेदवार रामकिशोर सिंह (पराग)ले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ अन्तर्गत परवानीपुर, ताजपुर, कोइरिया टोल तथा ततवा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासी तथा युवाहरूले उम्मेदवार सिंहलाई फूलमाला र खादा लगाई भव्य स्वागत गरेका थिए। कार्यक्रममा स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेटघाटका क्रममा स्थानीयवासी तथा युवाहरूले विगतका राजनीतिक दल तथा उम्मेदवारहरूले चुनावको समयमा आश्वासन मात्र दिने तर विकास निर्माण र रोजगारी सिर्जनामा ठोस उपलब्धि हासिल गर्न नसकेको गुनासो गरेका थिए। निर्वाचनपछि जनतासँग सम्पर्कविहीन हुने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनीहरूको धारणा थियो। सक्षम र नयाँ उम्मेदवारलाई आगामी निर्वाचनमा साथ दिने प्रतिबद्धता पनि स्थानीयहरूले व्यक्त गरेका थिए।

स्थानीयहरूले कुलमान घिसिंगलाई काम गर्ने नेतृत्वका रूपमा प्रशंसा गर्दै उम्मेदवार सिंहप्रति समर्थन जनाएका थिए।

उम्मेदवार सिंहले आफू निर्वाचित भएलगत्तै स्थानीयवासीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम अघि बढाइने उनले बताए। साथै, स्थानीय स्तरमै कलकारखाना स्थापना गरी योग्य तथा सक्षम व्यक्तिहरूलाई रोजगारी प्रदान गर्ने योजना रहेको जानकारी दिए।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भई प्राप्त अनुभवलाई संघीय संसदसम्म पुर्‍याई क्षेत्रको समग्र विकासका लागि प्रभावकारी आवाज उठाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई विजयको अग्रिम शुभकामना व्यक्त गर्दै आगामी निर्वाचनमा पूर्ण साथ र समर्थन रहने विश्वास व्यक्त गरेका थिए।

श्रीसियामा अशोक टेमानीको घरदैलो: प्रदूषण, ढल र सडक समस्या समाधान गर्ने प्रतिबद्धता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ मा Janata Samajbadi Party, Nepal (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाउँदै वीरगंज महानगरपालिका वडा नं. २५ अन्तर्गत श्रीसिया टोलका मतदातासँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेका छन्।

चुनावी अभियानअन्तर्गत घरघरमा पुगेका टेमानीले स्थानीय बासिन्दाका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिँदै समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। औद्योगिक क्षेत्र नजिक रहेको बस्ती भएकाले यहाँका बासिन्दाले भोग्दै आएका वातावरणीय प्रदूषण, ढल तथा नाला व्यवस्थापनको अभाव, खानेपानी समस्या, सडकको कमजोर अवस्था, सरसफाइ व्यवस्थापनको चुनौती तथा वर्षायाममा हुने डुबानजस्ता विषयमा उनले स्थानीयसँग विस्तृत छलफल गरेका थिए।

स्थानीयवासीले उद्योगबाट निस्किने धुवाँ, धुलो र फोहोर पानीका कारण वातावरण प्रभावित भई स्वास्थ्यमा नकारात्मक असर परेको गुनासो गरेका थिए। ढल निकासको उचित व्यवस्था नहुँदा वर्षातमा सडक र बस्ती डुबानमा पर्ने, दुर्गन्ध फैलिने र संक्रमणको जोखिम बढ्ने समस्या रहेको उनीहरूले बताएका थिए। साथै सुरक्षित खानेपानीको अभाव र उपलब्ध पानीको गुणस्तरप्रति समेत चिन्ता व्यक्त गरेका थिए।

यसैगरी भित्री सडक जीर्ण अवस्थामा रहेको, वर्षातमा हिलो र पानीका कारण आवतजावतमा कठिनाइ हुने तथा सडक बत्ती र अन्य आधारभूत पूर्वाधार अपर्याप्त रहेको विषय पनि स्थानीयले उठाएका थिए। प्रभावकारी फोहोर व्यवस्थापन नहुँदा वातावरण अस्वस्थ बन्दै गएको उनीहरूको भनाइ थियो।

स्थानीयका समस्या ध्यानपूर्वक सुनेपछि टेमानीले श्रीसिया टोलको समग्र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। औद्योगिक क्षेत्र आसपासका बस्तीमा वातावरणीय सन्तुलन कायम गर्न नीतिगत पहल गर्ने, प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तथा स्थानीयको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने उनले बताए।

खानेपानी, ढल तथा नाला व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइ व्यवस्थापनजस्ता आधारभूत पूर्वाधार विकासलाई योजनाबद्ध रूपमा अघि बढाउने उनको भनाइ थियो। संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी दीर्घकालीन समाधान सुनिश्चित गर्ने योजना रहेको उल्लेख गर्दै उनले जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै विकासको पहिलो चरण भएको बताए।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले प्रत्यक्ष संवादको अवसर पाएकोमा सकारात्मक प्रतिक्रिया दिएका थिए। उनीहरूले समस्या समाधानका लागि ठोस पहल हुने अपेक्षा व्यक्त गर्दै जनप्रतिनिधिले जनताको मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए।

जसपाले पर्सा क्षेत्र नं. २ मा विकास, पूर्वाधार विस्तार, वातावरण संरक्षण, रोजगारी सिर्जना तथा नागरिकको जीवनस्तर सुधारलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको जनाएको छ। टेमानीले आगामी दिनमा पनि विभिन्न टोल तथा बस्तीमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै जनताको समस्या बुझ्ने र समाधानका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पर्सा–३ मा रामाकान्त चौरसियाको घरदैलो तीव्र, विकास र रोजगारीमा जोड

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्त चौरसियाले बिन्दबासिनी गाउँपालिकाका अमरपट्टी, इटियाही, मधवल लगायत विभिन्न वडामा शुक्रबार व्यापक घरदैलो तथा ‘जनता दर्शन’ कार्यक्रम सम्पन्न गरेका छन्। चुनावी अभियानलाई तीव्र बनाउँदै उनले मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष भेटघाट, संवाद तथा सुझाव संकलनलाई प्राथमिकता दिएका छन्।

घरदैलोका क्रममा चौरसियाले स्थानीय बासिन्दासँग विकास निर्माणका दीर्घकालीन योजना, सडक तथा अन्य पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको स्तरोन्नति, कृषि आधुनिकीकरण तथा युवाका लागि रोजगारी सिर्जनाका विषयमा विस्तृत छलफल गरेका थिए। उनले विगतमा आफ्नो पहलमा सम्पन्न भएका विकासे कामहरूको विवरण प्रस्तुत गर्दै अधुरा तथा प्रक्रियामा रहेका योजनाहरूलाई निर्वाचन जित्नासाथ प्राथमिकताका साथ अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरे।

उनले पर्सा–३ लाई आर्थिक, शैक्षिक र सामाजिक दृष्टिले नमूना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै संघीय सरकारसँग समन्वय गरी बजेट विनियोजन र प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिने बताए।

कार्यक्रमका क्रममा स्थानीयवासीले क्षेत्रको समग्र विकास, मुख्य तथा भित्री सडकको स्तरोन्नति, सिँचाइ सुविधाको विस्तार, दीगो खानेपानी व्यवस्थापन, स्वास्थ्य चौकीको सुदृढीकरण तथा युवालाई स्वदेशमै रोजगारी सिर्जनामा विशेष ध्यान दिन आग्रह गरेका थिए। साथै कृषकलाई मल–बीउको सहज उपलब्धता र साना उद्यम प्रवर्द्धनका लागि ठोस कार्यक्रम ल्याउन सुझाव दिएका थिए।

घरदैलो कार्यक्रममा क्षेत्रीय नेता, स्थानीय अगुवा, बुद्धिजीवी, पार्टीका कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा देखिएको उत्साहजनक जनसहभागिताले रास्वपा प्रती क्षेत्रको समर्थन थप मजबुत बन्दै गएको स्थानीय नेताहरूले बताएका छन्। उनका अनुसार चौरसियाको सक्रियता, निरन्तर जनसम्पर्क र विकासप्रति स्पष्ट दृष्टिकोणले मतदातामा सकारात्मक सन्देश प्रवाह गरेको छ।

पर्सा–२ मा मनोज चौधरीको घरदैलो अभियान जारी, चुनाह चिन्ह तारामा मतदान गर्न आग्रह

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मनोज चौधरीले शुक्रबार पनि घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिएका छन्। उनले वीरगंज महानगरपालिका वडा नं. ६ र ९ मा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार चौधरीले स्थानीय बासिन्दासँग छलफल गर्दै क्षेत्रका समस्या समाधानप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले अधिकांश समस्या आधारभूत आवश्यकतासँग सम्बन्धित रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, सिँचाइ तथा सडक पूर्वाधार विकासमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने बताए।

आफू निर्वाचित भएमा क्षेत्रवासीका समस्या समाधानका लागि ठोस पहल गर्ने र विकास निर्माणका कामलाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता थियो। जनताको अपेक्षा अनुसार काम गर्दै जिम्मेवार र उत्तरदायी नेतृत्व प्रदान गर्ने पनि उनले बताए। उम्मेदवार चाैधरीले नेकपाकाे चुनाव चिन्ह तारामा मतदान गर्न आग्रह समेत गरे ।

घरदैलो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बृजलाल पासवान, नेता दुर्गा क्षेत्री, पप्पु मियाँ, विनयलाल गुप्ता, रमेश चौधरी, जयशंकर यादवलगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

पर्सा–४ मा वडाध्यक्ष र जसपाका नगर अध्यक्षसहित ६५० जना कांग्रेसमा प्रवेश

0

वीरगंज । पर्सा क्षेत्र नं. ४ मा ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू पार्टी परिवर्तन गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित एक वडाध्यक्षसहित सयौं नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सन्जय कुमार पटेलको नेतृत्वमा ४५१ जना तथा जसपा नेपाल पोखरिया नगरपालिकाका नगर अध्यक्ष एवं मेयर प्रत्याशी राजु साह र वडा नं. ३ बसन्तपुरका वडा अध्यक्ष प्रत्याशी रबिभूषण तिवारीको नेतृत्वमा थप २०० जना नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेस पर्सा ४ का क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए।

यसैगरी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य विभिन्न दल परित्याग गरी दर्जनौं स्थानीय नेता तथा कार्यकर्ता पनि कांग्रेसमा समाहित भएको सचिव अहमदले बताए ।

नवप्रवेशीहरूलाई पूर्व मन्त्री एवं पर्सा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल, पूर्व मन्त्री, प्रदेश सभा सदस्य एवं कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री तथा जगरनाथपुर गाउँपालिका अध्यक्ष एवं क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव लगायत नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा कांग्रेस मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, पर्साका सह–सचिव नवीन सिंह, जिल्ला कोषाध्यक्ष प्रेम बहादुर थापा, नेता बशिष्ठ नारायण कुर्मी, किशोरी साह कानु, किशोर जैसवाल, अजय पटेल लगायतको उपस्थिति रहेको थियो।

कांग्रेस प्रबेश गर्नेहरुले पर्सा ४ का उम्मेदवार रमेश रिजालाई जिताउनु सक्रिय भुमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।