Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 133

रास्वपा पर्सा सभापति हरि पन्तद्वारा मतदातालाई धन्यवाद, भ्रष्टाचार अन्त्यका लागि प्रतिबद्धता

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य निर्वाचित हरि पन्तले मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा पर्साका चारै क्षेत्रबाट रास्वपाका उम्मेदवारहरू विजयी भएपछि उनले धन्यवाद तथा शुभकामना सन्देश जारी गर्दै मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताप्रति हार्दिक आभार प्रकट गरेका हुन्।

पन्तले जिल्लाका चारै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारहरूको विजयलाई परिवर्तनको लहरको रूपमा व्याख्या गर्दै देशमा भ्रष्टाचार र कुशासन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जारी सन्देशमा उनले भनेका छन्, “पर्सा निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य पदमा मलाई सहित जिल्लाका चारै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउनु भएका सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, पार्टीका नेता तथा कार्यकर्ता, साथीहरू र परिवारका सदस्यहरूप्रति हार्दिक आभार प्रकट गर्दछु।”

उनले मतदाताहरूको साथ, सहयोग र मार्गदर्शनले देशभर परिवर्तनको लहर आएको दाबी पनि गरेका छन्। “तपाईँहरूको साथ, सहयोग र मार्गदर्शनले आज हामीले देशैभर परिवर्तनको लहर ल्याउन सफल भएका छौँ,” पन्तले सन्देशमा उल्लेख गरेका छन्।

पन्तका अनुसार आगामी दिनहरूमा आफू सहित पर्साका चारै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचार, बेथिति र कुशासन अन्त्य गरी विधिको शासन स्थापना गर्ने जिम्मेवारी पूरा गर्नेछन्। देशलाई प्रगतिको बाटोमा लैजान सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वाद आवश्यक रहने उनले बताएका छन्।

पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन्। पर्सा–१ बाट हरि पन्त, पर्सा–२ बाट सुशील कुमार कानु, पर्सा–३ बाट रमाकान्त चौरसिया तथा पर्सा–४ बाट टेक बहादुर शाक्य ऐतिहासिक मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

समानुपातिकतर्फ पनि पर्सामा रास्वपा पहिलो पार्टी बनेको छ। जिल्लामा रास्वपाले हासिल गरेको उल्लेखनीय सफलतालाई राजनीतिक विश्लेषकहरूले परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन्। यस विजयले स्थानीय स्तरमा पार्टीको प्रभाव विस्तार भएको र राष्ट्रिय स्तरमा भ्रष्टाचारविरुद्धको अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

शिल्पा शेट्टीको पक्षमा बम्बई उच्च अदालतको फैसला

0

बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्राले दायर गरेको व्यक्तित्व अधिकार सम्बन्धी मुद्दामा बम्बई उच्च अदालतले उनको पक्षमा निर्णय सुनाएको छ।

अदालतले अभिनेत्रीको अनुमतिबिना उनको नाम, स्वर, तस्बिर वा व्यक्तित्व प्रयोग गरी बनाइएका सामाग्रीहरू हटाउन आदेश दिएको हो।

अभिनेत्री शेट्टीले विभिन्न वेबसाइट, सामाजिक सञ्जाल र एआई प्लेटफर्महरूले आफ्नो तस्बिर र पहिचान दुरूपयोग गर्दै एआईद्वारा बनाइएका मोर्फ गरिएका तस्बिर, भिडिओ र अन्य सामग्री सार्वजनिक गरेको भन्दै अदालतमा निवेदन दिएकी थिइन्।

सुनुवाइका क्रममा अदालतले ती सामग्रीहरूलाई ‘अत्यन्त आपत्तिजनक र अस्वीकार्य’ भन्दै तुरून्तै हटाउन निर्देशन दिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

शिल्पाकी वकिल सना रईस खानका अनुसार बिना अनुमति कुनै व्यक्तिको नाम, छवि वा प्रतिष्ठा प्रयोग गरी व्यावसायिक फाइदा लिनु उनको प्रतिष्ठा र अधिकारमाथि आक्रमण हुने भएकाले कानुनी कारबाही गरिएको हो।

यसअघि पनि केही बलिउडकर्मीले व्यक्तित्व अधिकार सम्बन्धी मुद्दामा राहत पाएका छन्। त्यसमा काजोल, ऐश्वर्या राय बच्चन, शत्रुघ्न सिन्हा, अभिषेक बच्चन, सलमान खान लगायतका नामहरू समावेश छन्।

शिल्पाले नोभेम्बर २०२५ मा आफ्नो व्यक्तित्व अधिकारको सुरक्षाको लागि बम्बई उच्च अदालतमा निवेदन दिएकी थिइन्।

पर्साको जिराभवानीबाट ट्याक्टरमा २१३ किलो गाँजा बरामद

0

वीरगंज । पर्सा प्रहरीले ट्याक्टरमा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। परालले छोपेर लैजाँदै गरेको अवस्थामा प्रहरीले पर्साको जिराभवानी गाउँपालिकाबाट २ सय किलोभन्दा बढी गाँजा बरामद गरेको हो।

विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा जिराभवानी गाउँपालिका वडा नम्बर–४ बाट २ सय १३ किलो लागुऔषध गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिए।

उनका अनुसार ठूलो परिमाणमा गाँजाको तस्करी भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले सरप्राइज चेकिङ गरेको थियो। सोही क्रममा परालले छोपेर लैजाँदै गरिएको गाँजा बरामद गरिएको हो।

प्रहरीले लागुऔषध गाँजासहित मे १ त ५७१४ नम्बरको ट्र्याक्टर पनि नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरी देख्नासाथ ट्याक्टर चालक भने सवारी साधन छाडेर फरार भएको बताइएको छ। बरामद गरिएको गाँजा र ट्र्याक्टर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

ट्र्याक्टरको कागजातको आधारमा लागुऔषध कारोबारीको खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।

बिर्ता माई संरक्षण समितिलाई एक १ लाख ५ हजार सहयोग

0

वीरगंज । वीरगंज महानगरपालिका–४ भगवती टोल निवासी स्वर्गीय प्रताप कुमार उपाध्यायकी धर्मपत्नी सुशीला देवी उपाध्यायले आफ्नो स्वर्गवासी पतिको स्मृतिमा श्री बिर्ता माई संरक्षण समितिलाई एक लाख ५ हजार ५०५ रुपैया सहयोग प्रदान गर्नुभएको छ।

मंगलबार समितिका अध्यक्ष जगत साह कानुको अध्यक्षतामा बसेको बैठकमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

कार्यक्रममा समितिका सल्लाहकार तथा समाजसेवी प्रकाश उपाध्याय, हरि पोखरेल, मुना खनाल, प्रभु गुप्ता, राजु गुप्ता र सोनु तिवारी लगायतकाको उपस्थिति रहेको थियो।

सो अवसरमा समितिका अध्यक्ष जगत साह कानुले दाता सुशीला देवी उपाध्यायलाई खादा तथा माला लगाएर सम्मान गर्दै सहयोगका लागि धन्यवाद ज्ञापन गरे । उनले धार्मिक तथा सामाजिक कार्यका लागि गरिएको यस सहयोगले बिर्ता माई मन्दिरको संरक्षण तथा विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

पर्सा २ मा पूर्व सांसद सहित २८ उम्मेदवारकाे जमानत जफत

0

वीरगंज । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। सार्वजनिक मतपरिणाम अनुसार कुल ३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहे पनि केवल तीन जनाले मात्र आफ्नो जमानत जोगाउन सफल भएका छन्।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानु ३० हजार ४७० मत प्राप्त गर्दै विजयी भएका छन्। त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार एवं पूर्व मन्त्री अजयकुमार चौरसियाले १९ हजार ८१० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) की उम्मेदवार रीमा कुमारी यादवले ११ हजार ६०५ मत ल्याएर आफ्नो जमानत जोगाएका छन्।

निर्वाचनमा बाँकी २८ जना उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको छ। जमानत जफत हुनेमध्ये जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक कुमार टेमानीले २ हजार ६४२ मत मात्र प्राप्त गरेका छन्। टेमानी वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष समेत हुन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार बिना जयसवालले १ हजार ९९९ मत प्राप्त गरेकी छन्। जयसवाल यसअघि राप्रपाबाट समानुपातिक सांसद रहिसकेकी छन्।

त्यस्तै नेकपाका उम्मेदवार मनोज कुमार चौधरीले ९२३ मत प्राप्त गरेका छन्। चौधरीको सवार गाडीबाट निर्वाचनको पूर्वसन्ध्यामा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनी हाल पनि प्रहरी हिरासतमा रहेका छन्।

अन्य उम्मेदवारहरूमा प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिताभ बच्चन दास तत्माले ३३०, जनमत पार्टीका श्याम प्रसाद गुप्ताले २२८, आम जनता पार्टीकी रन्जु कुमारी साहले २०३, नेपाल जनता पार्टीका सन्तोष कुमार पटेलले १८७ तथा उज्यालो नेपाल पार्टीका कृष्णा मुरारी प्रजापतिले १४८ मत प्राप्त गरेका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार लक्ष्मी नारायण गुप्ताले १००, श्रम संस्कृति पार्टीका पुन्देश्वर प्रसाद यादवले ८३, स्वतन्त्र उम्मेदवार शिव बचन ठाकुर लोहारले ६३, जन अधिकार पार्टीका देव शंकर यादवले ३०, जय मातृभूमि पार्टीका वीरेन्द्र प्रसादले २१, स्वतन्त्र उम्मेदवार उमेश प्रसाद सह तेलीले १७ र रवीन्द्र कुमार चौधरीले १६ मत प्राप्त गरेका छन्।

नेपाल लोकतान्त्रिक पार्टीका विकास कुमार साहले २२ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार सन्तोष महतोले १२, राकेश कुमार सहनीले १०, किशोरी प्रसाद यादवले ९ र मनोज साह कानुले ७ मत ल्याएका छन्।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार उमेश कुशवाहले ५ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार कृष्णा कुमार गिरी, महेश महतो धानुकले ५/५ मत, किसमती देवी र साहेब प्रसाद रामले ३/३ मत, रामनरेश प्रसाद चौरसियाले २ तथा रोशन प्रसाद अहिरले १ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरूको जमानत फिर्ता नहुने प्रावधान छ। सोही प्रावधानअनुसार पर्सा क्षेत्र नम्बर–२ मा २८ जना उम्मेदवारको जमानत जफत भएको हो। जमानत जफत भएसँगै उम्मेदवारी मनोनयन दर्ताका क्रममा राखिएको धरौटी रकम उनीहरूले फिर्ता पाउने छैनन्।

वीरगंजस्थित भारतीय दूतावासमा नारी दिवस मनाइयो

0

वीरगंज । वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले दूतावास परिसरभित्र एक भव्य समारोहको आयोजना गर्दै अन्तर्राष्ट्रिय महिला दिवस २०२६ मनाएको छ। यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा “गिभ टु गेन” रहेको थियो, जसले महिला सशक्तीकरण तथा समाजमा महिलाहरूको योगदानको महत्वलाई उजागर गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रममा सामाजिक अभियन्ता, शिक्षाविद् तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सहभागीहरूले नेपाल र भारतका महिलाहरूले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धि तथा उनीहरूले सामना गरिरहेका चुनौतीबारे आफ्ना अनुभव र विचार साझा गरेका थिए।

सो अवसरमा वीरगंजस्थित चान्दनी एकेडेमी र रक्सौलको शारदा कला केन्द्रका विद्यार्थीहरूले नेपाल र भारतको समृद्ध सांस्कृतिक परम्परा झल्किने आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए, जसले कार्यक्रममा थप रौनक थपेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत देवी सहाय मीनाले अन्तर्राष्ट्रिय महिला दिवसको महत्वबारे प्रकाश पार्दै महिलाहरूले दैनिक जीवन तथा राष्ट्रको विकासमा पुर्‍याएको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो । उहाँले महिला सशक्तीकरणले दिगो समृद्धि ल्याउने र समग्र समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

दूतावासका अनुसार कार्यक्रमको मुख्य उद्देश्य लैङ्गिक समानताको प्रवर्द्धन, महिलाहरूका उपलब्धिहरूको सम्मान तथा अझ समावेशी र समानतामूलक समाज निर्माणका लागि सामूहिक पहललाई प्रोत्साहित गर्नु रहेको थियो।

बालेन लहरमा काम र नामले परिचित नेताहरूसमेत जनताले पत्याएनन्

0

वीरगंज । जेन–जि आन्दोलनपछि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काम र नामका आधारमा चर्चित बनेका धेरै नेताहरूले पनि पराजय व्यहोरेका छन्। ‘बालेन लहर’को प्रभावका कारण विकास निर्माणका कामले लोकप्रियता कमाएका नेताहरू समेत चुनावमा टिक्न नसकेको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ।

मनोयन दर्ताको केही दिनअघि मात्रै नेपाली कांग्रेसभित्र विद्रोह गरेर सभापति बनेका गगन थापा पनि यसपटकको निर्वाचनमा पराजित भएका छन्। जेन–जि आन्दोलनपछि दलहरूको नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै विशेष अधिवेशनमार्फत सभापति बनेका थापा मधेशको सर्लाही–४ बाट चुनाव लडेका थिए । तर उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले फराकिलो मतान्तरले पराजित गरेका छन्।

त्यसैगरी मुलुकमा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका कुलमान घिसिङ पनि पराजित भएका छन् । कामकै मूल्यांकन गर्दै उनी सुशिला कार्की नेतृत्वको सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा समेत पुगेका थिए । तर ती पदबाट राजीनामा दिएर दल दर्ता गरी चुनावी मैदानमा उत्रिएका घिसिङलाई रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले पराजित गरेका छन् । भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चा हुँदै आएका घिसिङको हारलाई धेरैले ‘बालेन लहर’सँग जोडेर हेरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेकी रेनु दाहाल पनि यसपटक पराजित भएकी छन् । भरतपुरमा दोस्रो पटक मेयर निर्वाचित भई विकास निर्माणका कामले चर्चित बनेकी दाहाललाई रास्वपाकी उम्मेदवार सोविता गौतमले हराएकी हुन् । उनको हारलाई पनि धेरैले रास्वपाको बढ्दो प्रभावसँग जोडेर व्याख्या गरेका छन् ।

त्यसैगरी रौतहटमा विकास निर्माणका कामले परिचित नेता प्रभु साह पनि यसपटक पराजित भएका छन् । रौतहट–३ बाट लगातार चार पटक निर्वाचित हुँदै आएका साहलाई रास्वपाका उम्मेदवार रविन्द्र पटेलले पराजित गरेका हुन् । माओवादी जनयुद्धकालदेखि स्थापित हुँदै आएका साहले पछि आफ्नै दल ‘आम जनता पार्टी’ दर्ता गरेर चुनाव लडे पनि यसपटक जनताको समर्थन कायम राख्न सकेनन्।

यसैगरी मधेशमा आफ्नो पार्टीलाई स्थापित गर्न सफल जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि यसपटकको निर्वाचनमा पराजित भएका छन् । अघिल्लो निर्वाचनमा मधेशका प्रभावशाली नेता उपेन्द्र यादवलाई हराएर चर्चामा आएका राउतलाई यसपटक मतदाताले विश्वास नगरेको विश्लेषण भइरहेको छ । संघीय र प्रदेश सरकारमा जनमत पार्टी सहभागी भए पनि आफू मन्त्री नबनी अरूलाई अवसर दिएका राउतलाई समेत मतदाताले साथ नदिएको देखिएको छ।

अघिल्लो निर्वाचनमा मधेश प्रदेशमा जनमत पार्टीले समानुपातिकतर्फ उल्लेख्य मत पाएको थियो । तर यसपटक समानुपातिक मतसमेत घटेको देखिएकाले जनमत पार्टीप्रति मतदाताको विश्वास कम भएको आकलन गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचनमा नयाँ राजनीतिक शक्ति र ‘बालेन लहर’ले पुराना तथा स्थापित नेताहरूलाई समेत चुनौती दिएको स्पष्ट देखिएको छ ।

पूर्व मुख्यमन्त्री लालबाबु राउतको वडामै जसपा नेपाललाई ३९ मत

0

वीरगंज । पूर्व मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी बस्ने वडामै जनता समाजवादी पार्टी (जसपा) नेपालले अत्यन्त न्यून मत प्राप्त गरेको तथ्य सार्वजनिक भएको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पर्सा क्षेत्र नं. १ र २ सहित सबै निर्वाचन क्षेत्र जित्ने दाबी गर्दै आएका गद्दी बस्ने वीरगंज महानगरपालिका वडा नं. १३ तेजारथ टोल मुर्लीमा जसपा नेपालको चुनाव चिन्ह ‘छाता’ले जम्मा ३९ मत मात्रै प्राप्त गरेको हो।

आफूलाई पार्टीका वरिष्ठ नेता बताउँदै आएका गद्दीको आफ्नै वडामा यस्तो नतिजा आएपछि पार्टीभित्रैका नेताहरू समेत आश्चर्यचकित बनेका छन् । गद्दीसँगै पर्सा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका जसपा नेपाल पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवको समेत जमानत जफत भएपछि दुबै नेताको जनाधार कति रहेको भन्ने विषय थप स्पष्ट भएको चर्चा भइरहेको छ।

यता, जसपा नेपाल पर्साका अध्यक्षसमेत रहेका उम्मेदवार यादव बस्ने वीरगंज महानगरपालिका वडा नं. २८ मा पनि ‘छाता’ले जम्मा २५ मत मात्रै प्राप्त गरेको बताइएको छ।

पार्टीभित्रका केही नेताहरूका अनुसार मधेश प्रदेशका विवादित पूर्व मुख्यमन्त्री गद्दीमाथि लागेको भ्रष्टाचार आरोप तथा जिल्ला अध्यक्ष यादवको नेतृत्व शैलीका कारण पर्सामा जसपा नेपालको संगठन कमजोर बन्दै गएको हो । एक समय पर्सामा पहिलो शक्ति मानिने जसपा नेपालको संगठन अहिले कमजोर अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव बढिरहेका बेला आफूलाई मधेशको ‘मसीहा’ भन्दै आएका उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि कमजोर बन्दै गएको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ।

पर्सालाई जसपा नेपालको बलियो गढ मानिँदै आए पनि अध्यक्ष यादव र पूर्व मुख्यमन्त्री गद्दीको नेतृत्वका कारण पार्टी संगठन कमजोर भएको आरोप पार्टीभित्रै उठिरहेको बताइएको छ।

यस निर्वाचनले गद्दी र यादवको वास्तविक जनाधार कस्तो रहेको छ भन्ने कुरा स्पष्ट पारेको भन्दै पर्साको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ। उनीहरूकै कारण पर्सामा पार्टी कमजोर भएको भन्दै पार्टीभित्र आरोप–प्रत्यारोप पनि बढेको छ।

पर्सामा १६ हजारभन्दा बढी मत बदर

0

वीरगंज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पर्सा जिल्लामा ठूलो संख्यामा मत बदर भएको पाइएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी १६ हजारभन्दा बढी मत बदर भएको विवरण सार्वजनिक भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पर्सा जिल्लामा प्रत्यक्षतर्फ खसेको कुल मतमध्ये ६ प्रतिशतभन्दा बढी मत बदर भएको छ।

चारवटै क्षेत्रमा गरी कुल २ लाख ५९ हजार २ सय ६४ मत खसेकोमा ६ दशमलव ३३ प्रतिशत अर्थात् १६ हजार ४ सय ३० मत बदर भएको मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले जानकारी दिए।

क्षेत्रगत विवरण अनुसार पर्सा क्षेत्र नम्बर–१ मा ४ हजार ८१ मत बदर भएको छ भने क्षेत्र नम्बर–२ मा ४ हजार ५ सय मत बदर भएको छ। यसैगरी क्षेत्र नम्बर–३ मा ४ हजार ७ सय ३० र क्षेत्र नम्बर–४ मा ३ हजार १ सय १९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचनमा पर्सा क्षेत्र नम्बर–१ मा ६१ हजार ३०६, क्षेत्र नम्बर–२ मा ६५ हजार ८७८, क्षेत्र नम्बर–३ मा ६७ हजार ११३ र क्षेत्र नम्बर–४ मा ६४ हजार ९६७ मत खसेको थियो।

निर्वाचनबारे पर्याप्त प्रचारप्रसार तथा मतदातामाझ आवश्यक जनचेतना अभाव भएका कारण यसपटक मतपत्र बढी बदर भएको हुन सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पर्सा–१ मा ३० मध्ये २७ उम्मेदवारको जमानत जफत

0

वीरगंज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिस्पर्धा गरेका ३० उम्मेदवारमध्ये २७ जनाको जमानत जफत भएको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूको जमानत जफत भएको हो। निर्वाचन आयोगका अनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरूको जमानत फिर्ता नहुने कानुनी प्रावधान रहेको छ। सोही प्रावधानअनुसार पर्सा–१ का २७ उम्मेदवारले मनोनयन दर्ता गर्दा राखेको धरौटी रकम गुमाएका छन्।

यस निर्वाचन क्षेत्रमा कुल ३० उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। तीमध्ये केवल तीन जनाले मात्र आवश्यक मत प्राप्त गर्दै आफ्नो जमानत जोगाउन सफल भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिप्रसाद (हरि) पन्त २७ हजार २७४ मत प्राप्त गर्दै विजयी भएका छन्। यस्तै नेकपा (एमाले) का पूर्वमन्त्री प्रदीप यादवले १३ हजार ३० मत र नेपाली कांग्रेसका अनिलकुमार रुङटाले ११ हजार ८८५ मत प्राप्त गर्दै जमानत जोगाउन सफल भएका छन्।

जमानत जफत हुने उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्द किशोर प्रसाद श्रीवास्तव (१ हजार २७२ मत), जनता समाजवादी पार्टी नेपालका रामनरेश प्रसाद यादव (१ हजार २०१ मत), नेकपा (माओवादी केन्द्र) का अजय चौरसिया (५३७ मत), उज्ज्वल नेपाल पार्टीका रामकिशोर सिंह (पराग) (४१५ मत), स्वतन्त्र उम्मेदवार विशाल कुमार सर्राफ (३८१ मत), जनमत पार्टीका ओमप्रकाश सर्राफ (३४१ मत), पिपुल्स फस्ट पार्टीका जावेद एकबाल हैदर (२४२ मत) र राष्ट्र निर्माण दल नेपालका मोहम्मद उमर खान (२४० मत) रहेका छन्।

आयोगका अनुसार बाँकी अन्य उम्मेदवारहरूले पनि १० प्रतिशतभन्दा कम मत प्राप्त गरेकाले उनीहरूको जमानतसमेत जफत भएको छ।