Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 132

कालिकामाईमा लागू औषध विरुद्ध जनचेतना अभियान, विद्यार्थीलाई कानुनी जानकारी

0

वीरगंज । कालिकामाई युवा समाजको आयोजनामा तथा इलाका प्रहरी कार्यालय पोखरियाको सहकार्यमा “लागू औषध विरुद्ध जनचेतना अभियान” सम्बन्धि कार्यक्रम शुक्रबार कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा सम्पन्न भएको छ।

मुडलीस्थित श्री जनता माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदिप पौडेलले लागू औषधका जोखिम, त्यसले युवामा पार्ने असर तथा यस सम्बन्धी कानुनी व्यवस्थाबारे प्रशिक्षण दिएका थिए । उनले विद्यार्थीहरूलाई लागू औषधको प्रयोगले स्वास्थ्य, परिवार र समाजमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराउँदै त्यसबाट टाढा रहन आग्रह गरे ।

कार्यक्रममा कक्षा ७, ८, ९, १० र १२ मा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई लागू औषध दुव्र्यसनबाट बच्ने उपाय तथा सचेत नागरिकको भूमिका बारे समेत जानकारी गराइएको थियो।

कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिकामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लालबाबु प्रसाद चौरसिया, शिक्षक देव बहादुर डाँगी, पप्पु पासवान, सुधन गहतराज, सुदिप चौरसिया, युवा समाजका आकाश महतो केवट, विकास पटेल, जितेन्द्र कुशवाहा, कृष्णा चौरसिया लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले लागू औषध दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमले विद्यार्थी तथा युवालाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।

यस्तै प्रकारका जनचेतनामूलक कार्यक्रम आगामी दिनमा अन्य विद्यालयहरूमा पनि सञ्चालन गरिने कालिकामाई युवा समाजका अध्यक्ष चौरसियाले जानकारी दिए।

रमेश रिजालद्वारा ११ लाख ७३ हजार रुपैयाँ बराबरकाे चुनावी खर्च सार्वजनिक

0
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का उम्मेदवार रमेश रिजालले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन्। उनले आफ्नो निर्वाचन प्रतिनिधि विनय भुषण द्विवेदीमार्फत कुल ११ लाख ७३ हजार ७१० रुपैयाँ बराबरको चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका हुन्।

सार्वजनिक गरिएको विवरणअनुसार उम्मेदवार रिजालले विभिन्न शीर्षकमा खर्च गरेका छन् । जसमा मनोयन दर्ता शुल्क १० हजार रुपैयाँ, मतदाता नामावली खरिद ३ हजार रुपैयाँ, झण्डा, ब्याज तथा प्रचारप्रसार सामग्री (३२ वटै वडामा) ५ लाख रुपैयाँ, सवारी साधन तथा इन्धन खर्च २ लाख २ हजार ७१० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

त्यसैगरी नमुना मतपत्र छपाइ तथा ब्यानर प्रिन्टमा १ लाख ५० हजार रुपैयाँ, घरदैलो कार्यक्रममा खाजा, चिया तथा पानीमा १ लाख ५७ हजार रुपैयाँ, मतदाता प्रशिक्षण कार्यक्रम व्यवस्थापनमा ७८ हजार रुपैयाँ, क्षेत्रीय प्रचारप्रसार तथा सम्पर्क कार्यालय सञ्चालनमा २५ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ।

यसैगरी क्षेत्रीय भेलामा पानी तथा चियामा ३ हजार रुपैयाँ र टेन्ट, साउण्ड तथा मञ्च व्यवस्थापनमा ४५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रिजाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्यसँग पराजित भएका थिए । पूर्वमन्त्री तथा निवर्तमान सांसद समेत रहेका रिजाल यसपटकको निर्वाचनमा देशभर नै देखिएकाे बालेन लहरका कारण विजयी हुन सकेनन्।

रेडियो वीरगंजद्वारा पर्साका चारै नवनिर्वाचित सांसद सम्मानित

0

वीरगंज । मधेस तराईकै पहिलो रेडियो, रेडियो वीरगंजले बिहिबार पर्सा जिल्लाबाट नवनिर्वाचित चारै जना प्रतिनिधिसभा सदस्यलाई सम्मान गरेको छ।

रेडियो वीरगंज, टिभी वीरगंज र मधेशदृष्टिका कार्यकारी अध्यक्ष ध्रुव साहको अध्यक्षतामा आयोजित कार्यक्रममा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित पर्सा क्षेत्र नम्बर–१ का हरि पन्त, क्षेत्र नम्बर–२ का सुशिल कुमार कानु, क्षेत्र नम्बर–३ का रामाकान्त चौरसिया र क्षेत्र नम्बर–४ का टेक बहादुर शाक्यलाई सम्मान गरिएको हो।

सम्मान ग्रहण गर्दै पर्सा–१ का नवनिर्वाचित सांसद हरि पन्तले जनताको भरोसा कहिल्यै टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे। उनले वीरगंजस्थित ठाकुर राम क्याम्पस, नारायणी अस्पताल तथा नारायणी रंगशालाको स्तरोन्नति आफ्नो प्राथमिकतामा रहेको बताए।

पर्सा–२ का सांसद सुशिल कुमार कानुले पर्सा जिल्लाको विकासका लागि चारै जना सांसद मिलेर साझा योजना बनाएर अघि बढ्ने बताए। उनले वीरगंजको नारायणी अस्पताल, नारायणी रंगशाला तथा क्षेत्र नम्बर–१ देखि ४ सम्मका सडक पूर्वाधार विकासका विषयमा संयुक्त योजना तयार गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी पर्सा–३ का सांसद रामाकान्त चौरसियाले वीरगंजस्थित पुरानो चिनिमिल रहेको स्थानमा पुनः चिनिमिल सञ्चालन गर्ने अवस्था नरहेको बताए। उनले साे चिनिमिल रहेकाे जग्गा बिक्री गरेर पर्साको ग्रामीण क्षेत्रमा नयाँ जग्गा खरिद गरी चिनिमिल सञ्चालन गर्नुपर्ने धारणा राखे।

पर्सा–४ का सांसद टेक बहादुर शाक्यले ठोरी क्षेत्रलाई मधेस प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित काम गर्ने बताए। साथै उनले ठोरीलाई वीरगंज र चितवनसँग जोड्ने अधुरो हुलाकी सडक निर्माण कार्य सम्पन्न गर्न पहल गरिने जानकारी दिए।

कालोसूची सम्बन्धी प्रावधान पुनरावलोकन गर्दै राष्ट्र बैंक : गभर्नर पौडेल

0

वीरगंज । विश्वनाथ पौडेलले वित्तीय कारोबारका क्रममा कालोसूचीमा राख्ने प्रावधानबारे नेपाल राष्ट्र बैंकले गम्भीर अध्ययन गरिरहेको बताएका छन्।

बिहिबार वीरगंजमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले चेक बाउन्स हुनेबित्तिकै व्यक्तिलाई कालोसूचीमा राख्ने व्यवस्था लगायतका विषय पुनरावलोकनको क्रममा रहेको जानकारी दिए।

उनले हाल धेरै व्यक्ति चेक बाउन्स वा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणका कारण कालोसूचीमा पर्ने गरेको उल्लेख गर्दै यस्तो सूचीलाई कसरी छोटो बनाउने भन्ने विषयमा अध्ययन भइरहेको बताए। “कालोसूचीमा राख्नुपर्ने कति र नराख्नुपर्ने कति भन्ने विषयमा हामीले अध्ययन गरिरहेका छौँ,” उनले भने, “यस विषयमा मैले विस्तृत रूपमा हेरिरहेको छु।”

गभर्नर पौडेलले अत्यधिक कडाइ गरेर मात्रै व्यापार–व्यवसाय र मुलुकको अर्थतन्त्र सञ्चालन गर्न नसकिने धारणा पनि व्यक्त गरे। उनका अनुसार व्यवसाय सञ्चालनका क्रममा उद्यमीले विभिन्न चुनौती र असफलता सामना गर्दै अनुभवबाट सिक्दै अघि बढ्ने भएकाले एकपटक गल्ती गरेकै कारण व्यवसायीलाई अनावश्यक दुःख दिन नहुने बताए।

“व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास हुँदैन,” उनले भने, “व्यवसायीलाई प्रोत्साहन गरेर अघि बढाउनुपर्ने आवश्यकता छ।”

फरक प्रसंगमा उनले डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि उद्योगलाई राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको बताए। भविष्यमा सूचना प्रविधि क्षेत्रले ठूलो सम्भावना बोकेको भन्दै यस क्षेत्रको प्रवर्द्धनमा नीति तथा कार्यक्रममार्फत सहयोग गर्दै आएको उनले जानकारी दिए।

उनले बैंक तथा वित्तीय संस्थालाई पनि डिजिटलाइजेसनतर्फ अघि बढ्न राष्ट्र बैंकले आग्रह गर्दै आएको बताए।

गभर्नर पौडेलले विगतमा वीरगंजमा फोटो स्टुडियो, गाडी वर्कसप तथा ग्यारेज जस्ता व्यवसाय धेरै भए पनि अहिले ती व्यवसाय क्रमशः घट्दै गएको उल्लेख गरे। अहिले धेरै व्यवसाय डिजिटल प्लेटफर्ममा सर्दै गएको भन्दै उनले उद्यमी तथा व्यवसायीले समयानुकूल आफ्नो व्यवसायलाई डिजिटल रणनीतिसँग जोड्नुपर्ने आवश्यकता रहेको बताए।

साथै, नेपालका सूचना प्रविधि कम्पनीलाई विदेशमा लगानी गर्न सहज वातावरण बनाउन पनि राष्ट्र बैंकले पहल गरिरहेको उनले दाबी गरे।

रुपेश पाण्डेयको चुनावी खर्च ११ लाख ७५ हजार, विवरण निर्वाचन कार्यालयमा बुझाए

0

वीरगंज । पर्सा क्षेत्र नम्बर–३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेर चुनाव लडेका रुपेश कुमार पाण्डेयले यसपटकको निर्वाचनमा आफूले गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।

पाण्डेयका निर्वाचन प्रतिनिधि विन्ध्यान्चल ठाकुरमार्फत बिहीबार निर्वाचन कार्यालय पर्सामा खर्च विवरण बुझाइएको हो । उनले पेश गरेको विवरणअनुसार निर्वाचन अभियानका क्रममा कूल ११ लाख ७५ हजार २७१ रुपैयाँ ८ पैसा खर्च भएको उल्लेख गरिएको छ।

खर्च विवरणमा सबैभन्दा बढी रकम प्रचार–प्रसार सामग्रीमा ४ लाख ९५ हजार २७३ रुपैयाँ खर्च गरिएको देखिएको छ । त्यस्तै इन्धनमा २ लाख रुपैयाँ, सवारी साधन भाडामा १ लाख ९० हजार रुपैयाँ र पालिकास्तरीय बैठकका लागि नास्तामा १ लाख ३१ हजार ६५० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

यसैगरी निर्वाचन परिचालनका लागि सम्पर्क कार्यालय सञ्चालनमा ६७ हजार ३४८ रुपैयाँ, नास्ता तथा चियामा ५७ हजार रुपैयाँ, पानीमा १५ हजार रुपैयाँ तथा मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको पाण्डेयले पेश गरेको विवरणमा जनाइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्त चौरसियाबाट एमालेका उम्मेदवार पाण्डेय पराजित भएका थिए ।

प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप, आत्मरक्षामा प्रहरीले चलायो गोली

0
सांकेतिक तस्बिर

वीरगंज । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताको आक्रमणमा एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन् भने आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागेर आक्रमणकारी समूहका एक जना पनि घाइते भएका छन्।

प्रहरीचौकी पदमपोखरीबाट खटिएको टोलीमाथि गएराति आक्रमण हुँदा प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्। उनका अनुसार लागुऔषध सेवन गरेका व्यक्तिहरूले बञ्चरो प्रहार गर्दा तामाङ घाइते भएका हुन्।

घटनाका क्रममा प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन्।

घाइते प्रहरी सहायक निरीक्षक तामाङ र सनिस दुवैको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनासँग सम्बन्धित हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडा निवासी २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेशनल मेडिकल कलेजमा नवप्रवेशी विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

0

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षका एमबीबीएस, बीडीएस, बी.एस्सी. नर्सिङ, बीएनएस, बीएमएलटी तथा बीएमआईटी कार्यक्रमका नवप्रवेशी विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम २०८२ साल फागुन २७ गते कलेजको लेक्चर थिएटर–१, वीरगञ्जमा सम्पन्न भएको हो।

कार्यक्रमको उद्देश्य नयाँ विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम–कानुन, शैक्षिक संरचना र पेशागत दायित्वबारे जानकारी गराउनु रहेको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा कलेजका प्राध्यापक र कर्मचारीबीच परिचयात्मक वातावरण सिर्जना गरिएको थियो।

नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के. एन. सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कलेजका अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारी प्रमुख अतिथि तथा प्रबन्ध निर्देशक श्री शहनवाज अन्सारी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रिय गान प्रस्तुत गर्दै पानस प्रज्वलनमार्फत गरिएको थियो। त्यसपछि नवप्रवेशी विद्यार्थी, अभिभावक र प्राध्यापकहरूले आ–आफ्नो परिचय प्रस्तुत गरे। विद्यार्थीहरूलाई प्रा. डा. रवि शंकर गुप्ताद्वारा शपथ ग्रहण गराइएको थियो।

अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिङ डाइरेक्टर श्री अबिद हुसैन अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ लगायत अन्य विशिष्ट अतिथिहरूले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई अनुशासन, समर्पण र मानव सेवाको भावनासहित अध्ययनमा अग्रसर हुन प्रेरित गरे।

कार्यक्रमको अन्त्यमा प्रबन्ध निर्देशक श्री शहनवाज अन्सारीले धन्यवाद ज्ञापन गर्दै नयाँ विद्यार्थीहरूको उज्ज्वल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्नुभयो।

नेशनल मेडिकल कलेजले गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्दै स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वमा निरन्तर योगदान पुर्‍याउँदै आइरहेको छ।

वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा, दैनिक २० मेट्रिकटन प्रशोधन क्षमता

0

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ। महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिक फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनःप्रयोगमा ल्याउने उद्देश्यसहित उक्त प्लान्ट निर्माण गरिएको हो।

महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउने नीति अनुरूप प्रशोधन केन्द्रभित्र आधुनिक प्लान्ट निर्माण गरिरहेको छ। प्लान्ट सञ्चालनमा आएपछि वीरगंज महानगरभित्रबाट दैनिक संकलन हुने प्लास्टिकजन्य फोहोर छुट्याएर प्रशोधन गरिने र त्यसलाई पुनः प्रयोग गर्न मिल्ने सामग्रीका रूपमा रूपान्तरण गरिनेछ।

महानगरपालिकाका वन तथा वातावरण शाखा प्रमुख राकेश साहका अनुसार सूर्य नेपाल प्रा.लि.को करिब दुई करोड रुपैयाँको लगानीमा उक्त प्लान्ट निर्माण भइरहेको हो। हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।

निर्माण भइरहेको प्लान्टले दैनिक करिब २० मेट्रिकटन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने क्षमता राख्नेछ। वीरगंज महानगर क्षेत्रमा हाल दैनिक करिब ६० देखि ६५ टनसम्म फोहोर संकलन हुँदै आएको छ। संकलित फोहोरमध्ये प्लास्टिकजन्य फोहोरलाई छुट्याएर उक्त प्लान्टमार्फत प्रशोधन गरिने व्यवस्था मिलाइनेछ।

गत असोज महिनामा वीरगंज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रा.लि.बीच फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएपछि यो परियोजनाको निर्माण कार्य अघि बढाइएको हो। उक्त सम्झौताअनुसार निजी क्षेत्रको लगानी र सहकार्यमा महानगरको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

प्लान्ट निर्माणको प्रगति बुझ्न महानगर प्रमुख राजेशमान सिंह र सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख सुरेश काजी महर्जनसहितको टोली बुधबार निर्माण स्थल पुगेको थियो। टोलीले निर्माण कार्यको अवस्था, प्राविधिक पक्ष तथा आगामी सञ्चालन प्रक्रियाबारे स्थलगत जानकारी लिएको थियो।

निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगंज महानगरपालिकालाई हस्तान्तरण गरिने बताइएको छ। त्यसपछि महानगरपालिकाले नै प्लान्ट सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ भने प्राविधिक जनशक्ति (टेक्निकल मेनपावर) को व्यवस्थापन जिरो वेस्ट इनिसिएटिभ नेपालले गर्नेछ।

स्थलगत निरीक्षणका क्रममा महानगर प्रमुख राजेशमान सिंहले वीरगंजलाई फोहोरमुक्त र हरित शहर बनाउने दीर्घकालीन लक्ष्यअनुसार प्लान्ट निर्माण गरिएको बताए। उनका अनुसार यो परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ चरणको सुरुवात गर्नेछ।

उनले फोहोरलाई केवल व्यवस्थापन गर्नुपर्ने समस्याको रूपमा मात्र नभई स्रोतका रूपमा उपयोग गर्ने अवधारणातर्फ महानगर अघि बढिरहेको बताए। “अब फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढ्दैछ,” उनले भने।

महानगरपालिकाले विगत केही वर्षदेखि फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। शहरका सडक, चोक तथा सार्वजनिक स्थलहरू सफा राख्ने अभियानलाई निरन्तरता दिँदै फोहोर संकलन तथा व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउने प्रयास भइरहेको छ।

डम्पिङ साइटमा निर्माण भइरहेको यो प्रशोधन प्लान्ट सञ्चालनमा आएपछि शहरभरिबाट संकलित फोहोरलाई वर्गीकरण गरी प्लास्टिकजन्य फोहोर छुट्याएर प्रशोधन गरिनेछ। प्रशोधनपछि ती सामग्री पुनःप्रयोगयोग्य बनाइने व्यवस्था मिलाइनेछ।

महानगरपालिकाका अनुसार यो परियोजना कार्यान्वयनमा आएपछि यहाँको फोहोर व्यवस्थापन प्रणालीमा महत्वपूर्ण सुधार आउनेछ। साथै प्लास्टिकजन्य फोहोर नियन्त्रणमा प्रभावकारीता बढ्ने र वातावरण संरक्षणमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।

सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख सुरेश काजी महर्जनले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त परियोजनामा लगानी गरेको बताए। उनका अनुसार उद्योगले नाफामुखी व्यापारसँगै समाज र वातावरणप्रति उत्तरदायी रहने प्रतिबद्धताका साथ यो परियोजनामा सहकार्य गरेको हो।

पर्सामा ग्यास, पेट्रोल र डिजेलको अभाव नभएको प्रशासनको निष्कर्ष, कृत्रिम अभाव नगर्न चेतावनी

0

वीरगंज । पर्सा जिल्लामा खाना पकाउने ग्यास, पेट्रोल र डिजेलको अभाव नरहेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रुपमा जम्माखोरी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

बुधवार निमित्त प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले ग्यास तथा पेट्रोलियम पदार्थको अभाव तथा उपभोक्ता हित विपरीतका गतिविधि नियन्त्रण र न्यूनीकरणका विषयमा छलफल गर्दै विभिन्न निर्णय गरेको हो।

बैठकमा नेपाल आयल निगम तथा ग्यास विक्रेता संघ र उद्योगहरुले उपलब्ध गराएको विवरण अनुसार पर्सा जिल्लामा ग्यास, डिजेल र पेट्रोलको मौज्दात पर्याप्त रहेको तथा आयात पनि नियमित रुपमा भइरहेको जानकारी दिइएको थियो । यस आधारमा जिल्लामा हाल कुनै पनि किसिमको अभाव नरहेको र भविष्यमा पनि अभाव हुने सम्भावना नदेखिएको निष्कर्ष निकालिएको प्रशासनले जनाएको छ ।

बैठकले अनावश्यक रुपमा ग्यास, डिजेल र पेट्रोलको जम्माखोरी गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगर्न र नगराउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ। साथै डिजेल र पेट्रोलको खुला बिक्री वितरण (ग्यालेन, ड्रम आदि मार्फत) नगर्न तथा नगराउन समेत निर्णय गरिएको छ।

त्यसैगरी ग्यास डिलरहरुले आफूले बिक्री वितरण गरेको उपभोक्ताको नाम, थर, ठेगाना र सम्पर्क नम्बर सहितको विवरण दैनिक रुपमा ग्यास उद्योगमा उपलब्ध गराउने तथा ग्यास उद्योगहरुले आफ्ना डिलरहरुलाई बिक्री गरेको ग्यास सिलिण्डरको परिमाण सहितको विवरण दैनिक रुपमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज तथा नेपाल आयल निगम शाखा कार्यालय पर्सामा इमेलमार्फत अनिवार्य रुपमा जानकारी गराउने निर्णय गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको उक्त बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका सुनिल चौरसिया, नेपाल आयल निगमका मोहन कुमार सिंह, वीरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास तथा उपभोक्ता मञ्च नेपालका दिना गुप्ता लगायतको उपस्थिति रहेको थियो।

शिवम एग्रोबाट ठूलो परिमाणमा चामल चोरी, दुई जना पक्राउ

0

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–२६ स्थित शिवम एग्रो इन्डस्ट्रीस प्रालिबाट ठूलो परिमाणमा चामल चोरी भएको घटना सार्वजनिक भएको छ।

स्थानीयका अनुसार होली पर्वको एक दिनअघि रातिको समयमा मिलबाट ६० बोरा भन्दा बढी चामल चोरी भएको हो ।

चामल चोरी गरेको आरोपमा मिलकै दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेकामाथि चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट म्याद लिई अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१७ निवासी नितेश सहनी र सुमन सहनी रहेका छन् । उनीहरु दुबै जना इन्डस्ट्रीस कै कर्मचारी हुन् ।

प्रहरीले वीरगंज–१७ शिवान टोलस्थित बिक्रम पटेलको घरबाट ४० बोरा चामल समेत बरामद गरेको छ । उक्त चोरी घटनामा अन्य व्यक्तिहरु समेत संलग्न रहेको आशंका गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी तीव्र बनाएको छ । प्रहरीले खोजतलास सुरु गरेपछि गाउँका एक दर्जनभन्दा बढी युवक फरार भएको स्थानीयहरुले बताएका छन्।

प्रहरीले फरार व्यक्तिहरुको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।