Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026
Home Blog Page 120

छिपहरमाई–१ मिर्जापुरमा रास्वपाको समिति गठन

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला सम्पन्न भएको छ।

भेलाबाट प्रमेश्वर प्रसाद पटेलको अध्यक्षतामा वडा कार्यसमिति गठन गरिएको छ। नवगठित समितिको उपाध्यक्षमा मनोज प्रसाद यादव र सचिवमा श्रवन यादव चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा शेषनाथ यादव, अमिका यादव, मेघा यादव, बिरेन्द्र शर्मा, अमरेश राम, धमेन्द्र प्रसाद यादव, एकबाली साह कानु र तमराचनन्द साह चयन भएका छन्।

रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राको सभापतित्व र रास्वपा पर्साका सभापति हरि पन्त प्रमुख अतिथ्यतामा भएको भेलामा प्रदेश प्रचार–प्रसार प्रमुख राम सर्राफ, जिल्ला उपसभापति तुलसी पौडेललगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति हरि पन्तले छिट्टै पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा वडा समिति गठन गरिने जानकारी दिए। उनले पछिल्लो समय वीरगञ्ज महानगरसहित जिल्लाभर राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आम नागरिकको आकर्षण बढ्दै गएको दाबी गरे।

वीरगंज महानगरको १९ औँ नगर अधिवेशन सम्पन्न, वडाको २५ प्रतिशत कटौती बजेट पुनः थप

वीरगंज । वीरगंज महानगरपालिकाको १९ औँ नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले यसअघि गएको असोजमा सम्पन्न विशेष अधिवेशनमार्फत कटौती गरिएको वडागत २५ प्रतिशत बजेटलाई पुनः थप गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

गएको भदौ २३/२४ गते जेन्जी आन्दोलनका क्रममा महानगर क्षेत्रमा भएको क्षतिपछि असोजमा विशेष अधिवेशन आयोजना गरिएको थियो। उक्त अधिवेशनले महानगरपालिकाका संरचनामा व्यापक क्षति पुगेकाले पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै सबै वडाको बजेटमा कटौती गर्ने निर्णय गरेको थियो।

महानगर प्रमुख राजेशमान सिंहका अनुसार पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन सफल भएपछि चालु आर्थिक वर्षका लागि १७ औँ अधिवेशनबाट छुट्याइएको वडागत बजेटलाई यथावत राख्ने निर्णय हालको अधिवेशनबाट पारित गरिएको हो।

अधिवेशनमा प्रमुख सिंहले चालु आर्थिक वर्षको आजसम्मको समग्र आय–व्यय विवरणसमेत प्रस्तुत गर्नुभयो। उहाँका अनुसार बिनियोजन गरिएको कुल ३ अर्ब २२ करोड रुपैयाँमध्ये हालसम्म १ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ। खर्च प्रतिशतका आधारमा हेर्दा कुल बिनियोजित बजेटको ३३ प्रतिशत खर्च भइसकेको छ। चालु खर्चतर्फ ३४.७८ प्रतिशत र पूँजीगत खर्चतर्फ ३२.६४ प्रतिशत खर्च भएको जानकारी दिइयो।

यसै आर्थिक वर्षभित्र महानगरपालिकाले शुलभ औषधि पसल सञ्चालन, प्रयोगशाला विस्तार तथा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्यसमेत राखेको छ।

अधिवेशनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्यलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

रणवीर सिंहको ‘धुरन्धर’ ले नेपाली बक्स अफिसमा ८ करोड बढी कमायो

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह अभिनीत एक्सन फिल्म ‘धुरन्धर’ ले नेपाली बक्स अफिसमा उत्कृष्ट व्यापार गर्न सफल भएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेमा : बक्स अफिस रिपोर्टअनुसार फिल्मले नेपालमा ८ करोड ९९ लाख ९३ हजार २८८ रुपैयाँ (नेरु) ग्रस आम्दानी गरेको छ।

रिपोर्टअनुसार नेपालभर फिल्मका २ लाख ७४ हजार ७२३ टिकट बिक्री भएका छन्, जसले दर्शकहरूको उल्लेखनीय आकर्षण पुष्टि गरेको छ।

डिसेम्बर ५ मा रिलिज भएको ‘धुरन्धर’ ले बलिउड बक्स अफिसमा पनि कमाइको सुनामी ल्याउँदै एकपछि अर्को ठूला रेकर्ड तोडिरहेको छ। आदित्य धरको निर्देशनमा बनेको यो फिल्म एक स्पाई–थ्रिलर जनरामा आधारित छ, जसलाई सत्य घटनाबाट प्रेरित भनिएको छ।

फिल्ममा रणवीर सिंहसँगै सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर. माधवन र सारा अर्जुनले मुख्य भूमिका निर्वाह गरेका छन्। सशक्त कलाकार समूह, दमदार कथा र उच्चस्तरीय एक्सनका कारण ‘धुरन्धर’ ले नेपाल र भारत दुवै बजारमा दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ।

प्याब्सन टी–१० बोयज सेमीफाइनलमा ब्लु हेभेन एकेडेमीको शानदार जित

वीरगंज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको बोयजतर्फको सेमी–फाइनल खेलमा पर्साको ग्रामीण भेगस्थित ब्लु हेभेन एकेडेमी स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै शानदार जित हासिल गरेको छ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ब्लु हेभेन एकेडेमीले निर्धारित ८ ओभरमा ६१ रन बनाएको थियो। टोलीका लागि पृथ्वी पटेलले महत्वपूर्ण २२ रन जोड्दै टिमको स्कोर मजबुत बनाए।

६२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको वीरगंजको लिटल फलावर सेकेन्डरी स्कुल ब्लु हेभेन एकेडेमीको कडा बलिङ आक्रमण अगाडि टिक्न सकेन । विपक्षी टोली ७ ओभरमै मात्र १३ रनमा अलआउट हुँदा ब्लु हेभेन एकेडेमीले ४८ रनको फराकिलो जित दर्ता गर्यो।

बलिङतर्फ पृथ्वी पटेलले असाधारण प्रदर्शन गर्दै २ ओभरमा मात्र ३ रन खर्चेर ४ विकेट लिए। ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट योगदान पुर्‍याएका कारण उनी म्यान अफ द म्याच घोषित भए।

यस ऐतिहासिक जितका अवसरमा ब्लु हेभेन एकेडेमीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई विद्यालयका प्रिन्सिपल सुदिल कुमार पटेलले हार्दिक बधाई दिँदै आगामी खेलहरूका लागि सफलताको शुभकामना व्यक्त गरेका छन्।

जसपा फेरि विभाजित: रेणु यादवसहितका नेता उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा समाहित

वीरगंज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फेरि विभाजित भएको छ। यसअघि राजेन्द्र श्रेष्ठको नेतृत्वमा विभाजन भइसकेको जसपा यसपटक उपाध्यक्ष रेणु यादवको नेतृत्वमा फुटेको हो।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आइतबार पार्टी एकीकरणका लागि सैद्धान्तिक सहमति भएको भोलिपल्टै अशोक राई नेतृत्वको जसपामा ठूलो विभाजन आएको हो।

जसपाकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा केही नेताहरु उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फर्किएका छन्। उपेन्द्र यादव र रेणु यादवले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै एकताको औपचारिक जानकारी दिएका छन्।

रेणु यादवसँगै पूर्व मन्त्री प्रदीप यादवलगायतका प्रभावशाली नेताहरूले अशोक राईसँगको सहकार्य अन्त्य गर्दै जसपा नेपालमा पुनः आबद्ध भएको घोषणा गरेका छन्। पूर्व मन्त्री प्रदीप यादवले पार्टीका बहुमत सदस्यहरूसहित मधेस केन्द्रित शक्तिको ध्रुवीकरणमा आफूहरू लागेको बताएका छन्।

यता, जसपाका अध्यक्ष अशोक राईले केही नेताहरू जसपा नेपालमा गएको स्वीकार गरे पनि आफू भने नजाने स्पष्ट पारेका छन्। “म जाने होइन, केही नेताहरू जान लागेका छन्,” राईले प्रतिक्रिया दिएका छन्।

यसअघि २०८१ वैशाखमा उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अशोक राईले जसपा नेपालबाट अलग हुँदै नयाँ जसपा गठन गरेका थिए। आइतबार जसपा नेपाल र लोसपाबीच एकीकरणको सहमति भएपछि राई पक्षका मधेसी नेताहरूमाथि पनि एकताका लागि दबाब बढेको थियो।

स्रोतका अनुसार अध्यक्ष राई एकीकरणका लागि तयार नभएपछि रेणु यादवको नेतृत्वमा केही नेताहरूले उपेन्द्र यादवसँग एकता गर्ने निर्णय गरेका हुन्। यस एकताले मधेस केन्द्रित राजनीतिमा नयाँ शक्ति सन्तुलन कायम गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी पनि एकीकरण प्रक्रियामा सामेल हुने चर्चा चलेको छ। मधेस केन्द्रित दलहरूको बढ्दो ध्रुवीकरणले आगामी निर्वाचनमा ठूला दलहरूलाई कडा चुनौती दिने राजनीतिक विश्लेषकहरूको अनुमान छ।

नेकपा पर्साद्वारा जेन-जि मिरोज अहमद समानुपातिक सांसदका उम्मेदवार सिफारिस

वीरगंज । अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मिरोज अहमद पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सांसदमा सिफारिस भएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पर्साले उनलाई जनवर्गीय समूहअन्तर्गत मुस्लिम क्लस्टरबाट सिफारिस गरेको हो ।

मिरोज अहमद वि.सं. २०७३ सालमा अखिल क्रान्तिकारीको सदस्यका रूपमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका हुन् । एक दशकभन्दा लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनी एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएपछि जिल्ला कमिटी सदस्य बनेका थिए । त्यसपछि उनले वीरगंज महानगर कमिटी सह–संयोजक, महानगर कमिटी सचिव हुँदै पर्सा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै संगठन विस्तार र सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट मिरोज केन्द्रीय सचिव पदमा निर्विरोध निर्वाचित भएका हुन् । लामो समयदेखि निरन्तर संगठन र विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आएको पृष्ठभूमिका कारण उनको निर्विरोध चयनले नेतृत्व क्षमता, संगठनप्रतिको प्रतिबद्धता र लोकप्रियतालाई प्रमाणित गरेको पार्टी नेताहरूको भनाइ छ ।

युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा परिचित मिरोज विद्यार्थीका मुद्दासँगै शिक्षा, रोजगारी, समान सहभागिता र सामाजिक न्यायजस्ता समसामयिक सामाजिक तथा राजनीतिक सवालमा पनि निरन्तर सक्रिय रहँदै आएका छन् । उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै दबाबमूलक भूमिका निर्वाह गर्नुका साथै विभिन्न सामाजिक अभियानमार्फत सामाजिक उत्तरदायित्वको अभ्यासलाई पनि प्राथमिकता दिँदै आएका छन् ।

वीरगंजमा सञ्चालन भएको जेन–जी आन्दोलनमा समेत मिरोजले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । यही पृष्ठभूमिका आधारमा पार्टीले उनलाई जेन–जी पुस्ताको प्रतिनिधित्व गर्ने युवा नेताका रूपमा पर्सा क्षेत्र नम्बर ३ बाट समानुपातिक सांसदका लागि सिफारिस गरेको नेकपा पर्साले जनाएकाे छ ।

प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता: बारौँ दिन ६ खेल सम्पन्न

वीरगंज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत पुस १३ गते (बारौँ दिन) छ वटा प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् । आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्रतर्फका विभिन्न विद्यालय टोलीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका छन् ।

बारौँ दिनको पहिलो खेल (जुनियर छात्र) गोल्डेन फ्युचर सेकेन्डरी स्कुल र लिटल फ्लावर सेकेन्डरी स्कुलबीच भएको थियो । खेलमा लिटल फ्लावर सेकेन्डरी स्कुलले ७ विकेटको जित हात पार्दै विजयी भयो । उक्त खेलका प्लेयर अफ द म्याच सुशांक गुप्ता घोषित भए ।

दोस्रो खेल (छात्रा) गौतम सेकेन्डरी स्कुल र साउथ जोन सेकेन्डरी स्कुलबीच सम्पन्न भयो । साउथ जोन सेकेन्डरी स्कुलले सशक्त प्रदर्शन गर्दै १० विकेटको फराकिलो जित दर्ता गर्‍यो । यस खेलकी प्लेयर अफ द म्याच शिवानी साह घोषित भइन् ।

तेस्रो खेल (जुनियर छात्र) एस.आर. ग्यालेक्सी एकेडेमी र गोल्डेन फ्युचर सेकेन्डरी स्कुलबीच प्रतिस्पर्धात्मक रुपमा सम्पन्न भयो । खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले १५ रनको जित निकाल्न सफल भयो । उत्कृष्ट प्रदर्शन गरेका राजन साह प्लेयर अफ द म्याच बने ।

चौथो खेल (छात्रा) एस.आर. ग्यालेक्सी एकेडेमी र बेकन सेकेन्डरी स्कुलबीच खेलिएको थियो । उक्त खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले ८ विकेटको सहज जित हात पार्‍यो । यस खेलकी प्लेयर अफ द म्याच दीक्षा गिरी घोषित भइन् ।

पाँचौँ खेल (जुनियर छात्र) सुर्योदय सेकेन्डरी स्कुल र ज्ञान वाटिका स्कुलबीच सम्पन्न भयो । उत्कृष्ट टोलीगत प्रदर्शन गर्दै सुर्योदय सेकेन्डरी स्कुलले ७ विकेटको जित दर्ता गर्‍यो । यस खेलका प्लेयर अफ द म्याच साहिद देवान घोषित भए ।

बारौँ दिनको अन्तिम खेल (छात्रा) लिटल फ्लावर सेकेन्डरी स्कुल र एस.आर. ग्यालेक्सी एकेडेमीबीच कडा प्रतिस्पर्धाका बीच सम्पन्न भयो । खेलमा लिटल फ्लावर सेकेन्डरी स्कुलले १२ रनको रोमाञ्चक जित हात पार्‍यो । यस खेलकी प्लेयर अफ द म्याच अर्चना ठाकुर घोषित भइन् ।

आयोजक प्याब्सन वीरगञ्जका अनुसार प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने उत्कृष्ट मञ्च प्रदान गरेको छ । दर्शकको उत्साहपूर्ण उपस्थिती र विद्यालयहरूको सक्रिय सहभागिताले प्रतियोगिता झन् रोचक बन्दै गएको आयोजकले जनाएको छ ।

इप्रका कोल्हवीद्वारा ४६० ग्राम अफिमसहित ३ जना पक्राउ

कलैया । इलाका प्रहरी कार्यालय कोल्हवी बाराले लागू औषध ओसारपसारमा संलग्न रहेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ ।

अफिम जस्तो देखिने ४६० ग्राम लागू औषधसहित रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० निवासी ३२ वर्षीय राजेश साह, २९ वर्षीय नागेन्द्र साह र २२ वर्षीय ज्ञानेन्द्र रामलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक सुरेश राज भट्टले जानकारी दिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हवी बारा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज, पर्साबाट संयुक्त रूपमा खटिएको टोलीले शनिबार दिउँसो ३:३० उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे । कोल्हवी नगरपालिका वडा नम्बर ०१ बजारस्थित तामागढीबाट श्रीपुरतर्फ आउँदै गरेको प्र.२–०३–००५ प ६३१२ नम्बरको टीभीएस मोटरसाइकललाई शंकास्पद देखिएपछि रोकी जाँच गर्दा मोटरसाइकलमा सवार व्यक्तिहरूको साथबाट लागू औषध अफिम जस्तो देखिने पदार्थ बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार चेक जाँचका क्रममा राजेश साहको साथबाट लुकाइछिपाइ राखिएको ४६० ग्राम अफिम जस्तो देखिने पदार्थ फेला परेको हाे । लागू औषध ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा ती व्यक्तिहरू र प्रयोग भएको मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काेल्हवीका प्रमुख प्रहरी निरिक्षक रन्जन मिश्रले वताए ।

रवि र बालेनबीच ‘बृहत् एकता’को सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ । सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा लक्ष्यसहित दुबै पक्षबीच सहकार्यमा सहमति भएको हो ।

सहमति अनुसार २०८२ साल भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनमा शहीद तथा घाइते भएकाहरूको बलिदानलाई प्रेरणादायी स्मृतिका रूपमा राख्दै, भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले गरेको आन्दोलनको अपनत्व लिइ घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ ।

दुबै पक्षले गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै अर्को १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र इमान्दारिताका साथ कार्यान्वयन गर्ने सहमति गरेका छन् ।

बृहत् एकतापछि स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ । पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङ्गको घण्टी रहनेछ भने चुनाव चिन्ह ‘घण्टी’ कायम रहनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमतिमा उल्लेख छ ।

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह रहनेछन् ।

त्यसैगरी बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिइने उल्लेख गरिएको छ । साथै, सम्झौताअनुसार पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ ।

रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत आव्हान गरिएको छ ।

सहमति पत्रमा रास्वपाका सभापति रवि लामिछाने र बालेन्द्र शाहले हस्ताक्षर गरेका छन् ।

वीरगंज–१० मा वडाध्यक्ष कानुको पहलमा दुई दर्जन स्थानमा आगो ताप्ने व्यवस्था

वीरगंज । पछिल्लो केही दिनदेखि बढेको कठ्याङ्ग्रिँदो चिसो र शीतलहरका कारण वीरगंजको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण स्थानीयवासीले भोगिरहेका समस्यालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुले वडावासीका लागि राहतस्वरूप आगो ताप्ने व्यवस्था मिलाएका छन् ।

वडाध्यक्ष कानुको नेतृत्वमा वडाभित्र दुई दर्जनभन्दा बढी स्थानमा दाउरा बालेर आगो ताप्ने सुविधा उपलब्ध गराइएको छ । आइतबारदेखि सुरु गरिएको यो पहल शीतलहरको प्रभाव कम नहुँदासम्म निरन्तर सञ्चालन हुने वडाध्यक्ष कानुले जानकारी दिए ।

विशेष गरी बाहिर बसेर काम गर्नुपर्ने मजदुर, रिक्सा चालक, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई लक्षित गरी यो व्यवस्था गरिएको उनले बताए ।

उनका अनुसार ठाकुरराम क्याम्पस अगाडि, सत्या हल अगाडि, घडिअर्वा चोक, बाबा मठिया चोक, बनारसी चोक, वर्णवाल चोक, अशोक वाटिका चोक, रानीघाट चोक, घडिअर्वा गाउँको इनार अगाडि, प्रहरी चौकी अगाडि, कुमारी माई मन्दिर अगाडि, कर कार्यालय अगाडि, होली ल्यान्ड स्कुल अगाडि लगायत वडाका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था गरिएको छ ।

“चिसोका कारण वडावासीहरू निकै पीडित छन् । उनीहरूको दैनिक जीवन सहज बनाउन र शीतलहरको असर कम गर्न यो पहल गरिएको हो,” वडाध्यक्ष कानुले भने । स्थानीयवासीहरूले वडाध्यक्षको यो कदमलाई समयसापेक्ष र मानवीय भन्दै स्वागत गरेका छन् ।