Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

उत्पादन घट्यो, मूल्य पनि खस्यो: पर्साका गहुँ किसान दोहोरो मारमा

spot_img
spot_img

सेढवा । पर्साको ग्रामीण क्षेत्रमा यस वर्ष गहुँ उत्पादनमा कमी आउँदा र बजार मूल्यसमेत घट्दा किसानहरू दोहोरो मारमा परेका छन्। उत्पादन घटेको मात्रै होइन, बिक्री गर्दा समेत ठगीको सामना गर्नुपरेको किसानहरूको गुनासो छ।

जिराभवानी गाउँपालिका–४ का किसान राजेन्द्र चौधरीका अनुसार यस वर्ष गहुँ उत्पादन अपेक्षाकृत कम भएको छ भने बजारमा मूल्यमा भारी गिरावट आएपछि लागत उठाउनै मुस्किल परेको छ। यसैबीच हावाहुरीको मौसमका कारण खेतमै पाकेको गहुँ जोखिममा परेको छ, जसले किसानको चिन्ता झनै बढाएको छ।

गहुँ कटानीका लागि प्रयोग हुने हार्भेस्टर मेसिनको भाडा पनि अचानक बढाइएको छ। जिराभवानी–२ सेढवाका किसान अमृत चौधरीका अनुसार केही दिनअघिसम्म एक बिघा गहुँ काट्न ४ हजार रुपैयाँ वा १ क्विन्टल २० केजी गहुँ लिने गरिएकोमा अहिले सो दर बढाएर ८ हजार रुपैयाँ वा २ क्विन्टल गहुँ पुर्‍याइएको छ।

यसबाहेक, हार्भेस्टर व्यवसायीहरूले गहुँ नाप्दा प्लास्टिकको बाल्टिन प्रयोग गरी १० केजीको सट्टा १२–१३ केजीसम्म लिने गरेको आरोप किसानहरूले लगाएका छन्।

किसानहरूले धान, गहुँ, मकै लगायतका खाद्यान्न बिक्री गर्दा व्यापारीहरूले अप्रमाणित ढक तराजु प्रयोग गरी ठगी गर्ने गरेको बताएका छन्। भारतीय बजारबाट ल्याइएका ढक तथा घरेलु तराजु प्रयोग गरेर तौल बढाइने र किसानलाई घाटा पुर्‍याइने गरेको गुनासो छ।

ठोरी गाउँपालिका–५ सुवर्णपुरका करण योन्जनका अनुसार पाँच केजीमा कम्तीमा २५० ग्रामदेखि आधा केजीसम्म बढी तौल लिने गरिएको छ। उनले जोख्ने क्रममा तराजुको पल्ला हातले उचालेर समेत तौल बढाइने गरेको बताए।

स्थानीयका अनुसार अधिकांश पसलहरूमा खरिद र बिक्रीका लागि फरक–फरक तराजु प्रयोग गरिन्छ। केही व्यापारीहरूले डिजिटल तराजु प्रयोग गरे पनि ती उपकरणहरू गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जबाट प्रमाणित नभएकाले विश्वसनीयता माथि प्रश्न उठेको छ।

जानकारहरूका अनुसार डिजिटल तराजुमा समेत सजिलै मिलावट गर्न सकिने भएकाले एक केजीको सट्टा ८०० ग्राम दिन वा १ केजी २०० ग्राम लिन सकिने अवस्था रहेको छ।

यसरी किसानहरू उत्पादन घट्नु, मूल्य घट्नु र नापतौलमा ठगी हुनुजस्ता समस्याबाट एकैपटक प्रभावित भइरहेका छन्। सम्बन्धित निकाय—गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय पर्सा तथा स्थानीय जनप्रतिनिधिहरू—समेत उदासीन देखिएको भन्दै किसानहरूले गुनासो गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...