Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 117

ओली र रमेश लेखक हाजिर जमानीमा रिहा, दुबै जनालाई पत्नीको जिम्मा लगाइयो

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाका अनुसार दुवै नेतालाई अनुसन्धानका लागि आवश्यक परेको बेला उपस्थित हुने शर्तमा थुनामुक्त गरिएको हो।

प्रहरीका अनुसार अध्यक्ष ओलीलाई स्वास्थ्य अवस्था कारण अस्पतालमै परिवारको जिम्मा लगाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले ओलीको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको र आगामी निर्णय चिकित्सकको सल्लाहअनुसार हुने जानकारी दिए ।

ओली हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । प्रहरीले उनलाई पत्नी राधिका ओलीको जिम्मा लगाएको छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको हिरासतविरुद्ध उनकी पत्नी राधिका ओलीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।

यसैबीच, पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि स्वास्थ्य परीक्षणपछि रिहा गरिएको प्रहरीले जनाएको छ । उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाइएको छ। पक्राउ परेको १३ औँ दिनमा उनी नेपाल प्रहरीको नम्बर–२ गणबाट बाहिरिएका हुन्।

लेखकलाई अनुसन्धानका क्रममा आवश्यक पर्दा उपस्थित हुने सर्तमा रिहा गरिएको एसपी भट्टराईले बताए । चैत १४ देखि हिरासतमा रहेका उनलाई मन्त्रिपरिषद्को निर्णयअनुसार गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयनसँगै भक्तपुरबाट पक्राउ गरिएको थियो।

प्रहरीले दुवै नेतामाथिको अनुसन्धान जारी रहेको जनाएको छ।

हरि खेतान क्याम्पसका प्रमुख किशोरी राय पुनः जिम्मेवारीमा फर्किए

0

वीरगंज । हरि खेतान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख किशोरी राय निलम्बन फुकुवा भएसँगै पुनः आफ्नो पदमा फर्किएका छन्।

क्याम्पस व्यवस्थापन समितिको २०८२ साल चैत २४ गते बसेको बैठकले छानबिन प्रक्रिया सम्पन्न भइसकेको निष्कर्ष निकाल्दै रायमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । यसअघि २०८२ असोज २९ गतेको निर्णयअनुसार उनलाई छानबिनका लागि निलम्बन गरिएको थियो।

समितिको निर्णयपछि किशोरी रायलाई पुनः क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको थियो। सोही अनुसार उनले क्याम्पसमा हाजिर भई नियमित कामकाज सुरु गरिसकेको जनाइएको छ।

रायको पुनरागमनसँगै क्याम्पसको शैक्षिक तथा प्रशासनिक गतिविधि पुनः पुरानै लयमा फर्किने अपेक्षा गरिएको क्याम्पस स्रोतले जनाएको छ।

लोपोन्मुख बन्दै थारू समुदायको घाटो पर्व, संरक्षणमा ध्यान दिन आग्रह

0

सेढवा । आदिवासी जनजाति थारू समुदाय ले परम्परागत रूपमा मनाउँदै आएको घाटो पर्व पछिल्लो समय क्रमशः लोपोन्मुख बन्दै गएको छ। चैत महिनाको शुक्लपक्षमा मनाइने यो सांस्कृतिक पर्व संरक्षणको अभाव र बदलिँदो जीवनशैलीका कारण समुदायबाट हराउँदै गएको हो।

घाटो पर्वमा थारू समुदायका युवतीहरूले असल वर पाउने कामनासहित माता गौरी (पार्वती) को पूजा गर्ने परम्परा रहेको छ। यस क्रममा युवतीहरूले माटोबाट माता गौरीको मूर्ति निर्माण गरी गाउँका कुनै एक घरको आँगनमा स्थापना गर्ने र बिहान–बेलुका पूजा–आराधना गर्ने गर्थे। साथै सामूहिक रूपमा घाटो गीत, चैतार गीत गाउँदै झमटा नृत्य प्रदर्शन गर्ने चलन पनि थियो।

पर्वको विशेष आकर्षणका रूपमा युवतीहरूको समूहले आँपका बगैंचाबाट पात टिपेर ल्याउने, त्यही पातमा खीर पकाई माता गौरीलाई भोग लगाउने र प्रसाद वितरण गर्ने परम्परा रहेको थियो। त्यसपछि गाउँका अग्रजहरूलाई प्रसाद दिँदै चन्दा सङ्कलन गरिन्थ्यो, जसबाट नाचगान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्थ्यो।

माता गौरीको मूर्ति विसर्जन गर्ने दिन विशेष रूपमा मनाइन्थ्यो। सो अवसरमा गाउँभरिका परिवारले आफ्ना छोरी, बहिनी तथा आफन्तलाई निमन्त्रणा गरी भेटघाट गर्ने चलन थियो। खेतीपातीका कारण व्यस्त रहने परिवारका लागि यो पर्व पुनर्मिलनको अवसरका रूपमा लिइन्थ्यो। यस अवसरमा ठेकुवा, तेलही रोटी, दूधपुवा जस्ता परिकार तयार गरी कोसेली पठाउने परम्परा पनि प्रचलित थियो।

तर पछिल्लो समय घाटो पर्वको स्वरूप फेरिँदै गएको छ। अहिले नाचगान र सांस्कृतिक कार्यक्रम सीमित रूपमा आयोजना हुने र अन्य परम्परागत गतिविधि हराउँदै गएका छन्। धेरै ठाउँमा एकै दिन पूजा गरी मूर्ति खोलामा विसर्जन गरेर पर्व समापन गर्ने चलन बढ्दै गएको छ।

पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष तथा थारू कल्याणकारी समितिकी केन्द्रीय पार्षद् ममता महतो का अनुसार व्यस्त जीवनशैली, शिक्षा र रोजगारीका लागि युवापुस्ताको शहरतर्फ आकर्षणले पर्वप्रति चासो घट्दै गएको छ।

उनले एक बस्तीमा पर्व मनाउँदा ठूलो आर्थिक खर्च लाग्ने भएकाले परम्परागत रूपमा मनाउन कठिन भएको बताउँदै संरक्षणका लागि सामूहिक रूपमा एकै स्थानमा आयोजना गर्नुपर्ने सुझाव दिइन्।

हाल थारू समुदायले घाटो पर्वलाई माघीजस्ता कार्यक्रममा प्रदर्शनात्मक रूपमा मात्रै प्रस्तुत गर्ने गरेको देखिन्छ, जसले यसको मौलिकता क्रमशः हराउँदै गएको संकेत गरेको छ।

एमाले पर्साको बृहत् कार्यकर्ता भेला: न्यून उपस्थितिले पार्टीभित्र असन्तुष्टिकाे संकेत

0

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साको जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेला बुधबार वीरगंजमा सम्पन्न भएको छ। तर, अपेक्षाकृत न्यून उपस्थितिले पार्टीभित्र रुचि र सक्रियता घट्दै गएको संकेत नेताहरुले गरेका छन्।

वीरगंजस्थित नगर सभा गृहमा आयोजित भेलामा केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटी, महानगर तथा पालिका स्तरका नेता–कार्यकर्तालाई अनिवार्य रूपमा बोलाइएको भए पनि करिब एक सय जनाको मात्र उपस्थिति रहेको बताइएको छ।

पार्टीभित्र ३ जना केन्द्रीय सदस्य, एक दर्जनभन्दा बढी प्रदेश कमिटी सदस्य, १३५ सदस्यीय जिल्ला कमिटी, १०१ सदस्यीय वीरगंज महानगर कमिटी, १३ वटा पालिका कमिटी तथा २३ वटा जनवर्गीय संगठन सक्रिय रहे पनि भेलामा न्यून सहभागिता देखिएको एक नेताले जानकारी दिए।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध केन्द्रीय सर्कुलरअनुसार आयोजना गरिएको उक्त भेलामा पूर्वमन्त्री प्रदीप यादव तथा केन्द्रीय सदस्य एवं वीरगंज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीलगायत केही प्रमुख नेताहरू अनुपस्थित रहेका थिए।

भेलाले अध्यक्ष ओलीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही तथा गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै तत्काल रिहाइको माग गरेको छ। कार्यक्रममा बोल्ने स्थानीय नेताहरूले वर्तमान सरकारले प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाए।

उनीहरूले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी पूर्वप्रधानमन्त्री ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाए।

एमाले पर्साका नेता रुपेश पाण्डेले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाही गर्नुपर्ने बताए। उनले पार्टी आन्दोलनमा टिकट लिएर चुनाव लडेका तथा निर्वाचित जनप्रतिनिधिहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्नुपर्ने माग पनि गरे।

डा. विशम्भर कुमार शर्मा को अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, प्रदेश उपाध्यक्ष बिचारी प्रसाद यादव, नेता जालिम मियाँ, नेतृ रिमा कुमारी यादव, प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री प्रमोद जयसवाल, जन्नत अन्सारी तथा जिल्ला सचिव महेश दास, मानदेव हजरा, सन्जु छतकुलीलगायतले मन्तव्य राखेका थिए।

सय बुँदे कार्यक्रममा समावेश नभएको भन्दै हरवाचरवा मञ्चको आपत्ति

0

वीरगंज । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले सरकारको १०० बुँदे कार्यक्रममा आफ्नो पुनःस्थापनासम्बन्धी मुद्दा समावेश नगरिएको भन्दै गुनासो व्यक्त गरेको छ।

मञ्चले नयाँ सरकारले देशको राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सार्वजनिक गरेको कार्यक्रममा मुक्त हरवाचरवा समुदायको सवाल बेवास्ता गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।

मंगलबार र बुधबार बर्दिवासमा आयोजित दुई दिने कार्यशाला गोष्ठीबाट मधेश प्रदेशका आठवटै जिल्लाका हरवाचरवा अगुवाहरूले वर्तमान अवस्थाको समीक्षा गर्दै १०० बुँदे कार्यक्रमलाई १०१ बुँदामा विस्तार गरी मुक्त हरवाचरवाको सम्मानजनक पुनःस्थापनालाई समावेश गर्न माग गरेका छन्। सोही अवसरमा ‘बर्दिवास घोषणापत्र’ समेत जारी गरिएको छ।

मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले हरवाचरवा मुक्ति घोषणा ऐतिहासिक उपलब्धि भए पनि त्यसपछिका कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए। “वि.सं. २०७९ साउन २ गते नेपाल सरकारले हरवाचरवा मुक्ति घोषणा गरेको थियो, तर त्यसपछि आवश्यक तथ्यांक संकलन, प्रमाणीकरण, परिचयपत्र वितरण तथा पुनःस्थापनाका कामहरू प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन्,” उनले भने।

उनले नयाँ सरकारले घोषणा गरेको १०० बुँदे कार्यक्रमलाई सकारात्मक पहलका रूपमा स्वागत गर्दै पनि मुक्त हरवाचरवा समुदायको मुद्दा समेट्न आग्रह गरे। साथै, नवगठित सरकारलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

नेपालको संविधानले शोषणविरुद्धको हक सुनिश्चित गर्दै दलित समुदायका लागि भूमि तथा आवासको अधिकार र मुक्त हरवाचरवा, भूमिहीन तथा सुकुम्वासीहरूको सम्मानजनक पुनःस्थापनाको व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन प्रभावकारी नभएको मञ्चको भनाइ छ।

मञ्चका अनुसार मधेश प्रदेशका आठवटै जिल्लामा रहेका करिब एक लाखभन्दा बढी मुक्त हरवाचरवा समुदाय अझै पनि आधारभूत अधिकार र सम्मानजनक जीवनबाट वञ्चित छन्।

वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध घुस प्रकरणमा मुद्दा दायर

0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरूको बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत लिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो । सोही क्रममा खटिएको टोलीले उनलाई कार्यालयबाटै रु. १ लाख २० हजार ८५० सहित नियन्त्रणमा लिएको जनाएको छ।

अनुसन्धानबाट दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने क्रममा गैरकानुनी लाभ लिने उद्देश्यले योजनाबद्ध रूपमा विभिन्न कम्पनी तथा फर्मका प्रतिनिधिसँग मोलमोलाई गरी घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। विशेषगरी उनले भुक्तानी प्रक्रियालाई सहजीकरण गरिदिने सर्तमा सेवाग्राहीसँग रु. ९३ हजार ८५० घुस लिएको स्थापित भएको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कसुर ठहर हुने भन्दै आयोगले सोही रकम बराबर बिगो कायम गरी कैद तथा जरिवाना सजायको मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहद्वारा कूटनीतिक नियोगसँग भेट: “मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउँछौँ”

0

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँग भेटघाट गर्दै नेपाल सरकार मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको बताएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सामूहिक शिष्टाचार भेटका अवसरमा प्रधानमन्त्री शाहले नेपालले सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्व दिने, आपसी विश्वासमा आधारित सम्बन्ध कायम राख्ने र पारस्परिक लाभमा आधारित साझेदारी विस्तार गर्ने नीति लिएको उल्लेख गरे।

“नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ । हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,” प्रधानमन्त्री शाहले भने, “नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्ने सबै मित्र राष्ट्रप्रति हामी आभारी छौँ।”

विश्वका विभिन्न भागमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै उनले ती द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी प्रभावित पार्ने भएकाले विश्व शान्ति साझा प्राथमिकता हुनुपर्नेमा जोड दिए । उनले शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य आवश्यक रहेको बताए।

प्रधानमन्त्री शाहले नेपालमा लगानीका लागि अनुकूल वातावरण निर्माण, उद्यमशीलता प्रवर्द्धन तथा दिगो विकासलाई प्राथमिकतामा राखिएको जानकारी गराए। उनले राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य सरकारको रहेको उल्लेख गरे।

“नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन,” उनले भने, “हामी राजनीतिक स्थायित्व कायम राख्न र नीतिगत दिशालाई स्थिर तथा पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ।”

उनले विकास, व्यापार, लगानी, जलवायु कार्य तथा जनस्तरको सम्बन्ध विस्तारजस्ता क्षेत्रमा मित्र राष्ट्रहरूसँग सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको स्पष्ट पारे।

यसैबीच, विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित संरक्षण सरकारको प्रमुख प्राथमिकतामा रहेको विषयमा समेत प्रधानमन्त्री शाहले विशेष जोड दिएका छन्।

“लाइन होइन, अब अनलाइनको युग सुरु गरौँ” : सांसद अरविन्द साह

0

वीरगंज । बारा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य इन्जिनियर अरविन्द साहले सूचना प्रविधि (आईटी) क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको प्रमुख आधार बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौँ नेपाली युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुकतर्फ उडिरहेको अवस्थालाई स्मरण गर्दै देशमै अवसर सिर्जना गर्न आईटी क्षेत्रको विकास अपरिहार्य रहेको बताए।

उनले “नेपाल भूपरिवेष्ठित राष्ट्र हो” भन्ने पुरानो सोचबाट माथि उठ्दै डिजिटल युगमा सूचना प्रविधिलाई ‘सीमाविहीन र तौलविहीन व्यवसाय’ का रूपमा अगाडि बढाउनुपर्ने धारणा राखे।

सांसद साहका अनुसार नेपालको आईटी सेवा निर्यात १ अर्ब अमेरिकी डलर नाघिसकेको छ भने यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २ प्रतिशत र विदेशी मुद्रा सञ्चितिमा ५.५ प्रतिशत योगदान पुर्‍याएको छ। साथै, देशमा रहेका ६६ हजारभन्दा बढी फ्रीलान्सरमध्ये अधिकांश २० देखि २९ वर्ष उमेर समूहका युवाहरू रहेको उनले जानकारी दिए।

सरकारले सन् २०२४ देखि २०३४ सम्मलाई ‘सूचना प्रविधि दशक’ घोषणा गरेको उल्लेख गर्दै उनले ३ खर्ब रुपैयाँ निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न ठोस नीति कार्यान्वयनमा जोड दिए।

डिजिटल सुशासन र पारदर्शिता प्रवर्द्धनका लागि सांसद साहले चारवटा मुख्य प्रस्ताव अघि सारे। उनले सरकारी सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउँदै ‘मान्छे होइन, डेटा हिँड्ने प्रणाली’ विकास गर्नुपर्ने बताए। सरकारी खरिदमा नेपाली सफ्टवेयरलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो।

त्यस्तै, राष्ट्रिय परिचयपत्रलाई Universal e-KYC का रूपमा प्रयोग गरी बैंक, डिजिटल वालेट तथा अन्य सेवासँग आबद्ध गरिनुपर्ने उनले बताए। उनले स्टार्टअप प्रवर्द्धनका लागि कर छुट, सहुलियत ऋण र सरल विदेशी मुद्रा नीतिसहित ‘भर्चुअल विशेष आर्थिक क्षेत्र (V-SEZ)’ स्थापना गर्नुपर्नेमा जोड दिए।

कृत्रिम बुद्धिमत्ता (AI) मा लगानी बढाउँदै नेपालका १२० भन्दा बढी भाषाहरू समेट्ने Large Language Model (LLM) निर्माण गर्नुपर्ने उनको भनाइ थियो। साथै, सार्वजनिक खरिद प्रक्रियामा ब्लकचेन प्रविधि प्रयोग गरी भ्रष्टाचार नियन्त्रण गर्न सकिने उनले उल्लेख गरे।

सांसद साहले “ब्रेन ड्रेनलाई ब्रेन गेनमा रूपान्तरण गर्दै सेवा निर्यातमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिन्छ” भन्दै पर्यटन र कृषि जस्तै आईटी क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र तथा सरकारको १०० दिने कार्यसूचीमा आईटी क्षेत्रलाई डिजिटल सुशासन, रोजगारी, पारदर्शिता र आर्थिक विकासको आधारका रूपमा समेटिएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

वीरगंजमा ‘जेन जी पर्सा’ गठन, महादेव कुर्मी संयोजक चयन

0

वीरगंज । वीरगञ्जको आदर्शनगरस्थित एक कार्यक्रममा ‘जेन जी पर्सा’ गठन गर्दै महादेव प्रसाद कुर्मीलाई संयोजक चयन गरिएको छ।

मंगलबार आयोजित उक्त कार्यक्रममा करिब १०० जना जेन जी युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख सल्लाहकार बिरेन्द्र कण्ठको संयोजकत्वमा ११ सदस्यीय समिति समेत गठन गरिएको जनाइएको छ।

नवगठित समितिले युवाहरूको सशक्त सहभागिता र सामाजिक सक्रियता अभिवृद्धि गर्ने उद्देश्य लिएको जनाएको छ।

उक्त अवसरमा जेन सहिद असाब आलमका भाइ मुराद आलम तथा गम्भीर घाइते भएका रियाजुल हक मियाँलाई सम्मान गरिएको थियो।

कार्यक्रममा जेन जीका बिशाल पटेल, ग्यानेन्द्र मण्डल, यादव, प्रतीक पटेल, शेख मुम्ताज लगायतको उपस्थिति रहेको थियो भने सल्लाहकारहरूमा सुशील पटेल, रणदिप श्रीवास्तव, शेख जम्सेद, विजय पटेल लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा सयौँ युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण जावेद इकबाल हैदरले गरेका थिए।

फेटामा भ्रष्टाचार: विशेष अदालतद्वारा तीन जनालाई कैद र जरिवाना

0

वीरगंज । बाराको फेटा गाउँपालिकामा कृषि विद्युतीकरण कार्यक्रमसम्बन्धी झुट्टा विवरण पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले तीन जनालाई कैद तथा जरिवानाको सजाय सुनाएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले गौरीशंकर कुमार सिंह, नेपाल मिडिया हाउस प्रालि तथा सो संस्थाका प्रबन्ध निर्देशक नवराज निरौलालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । सोही मुद्दामा मुकेश प्रसाद साहलाई भने अदालतले सफाइ दिएको छ ।

अदालतले मुख्य दोषी ठहरिएका सिंहलाई ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना तोकेको छ । त्यस्तै मतियारको भूमिकामा रहेका कम्पनी र प्रबन्ध निर्देशकलाई पनि समान कैद तथा जरिवाना सजाय सुनाइएको छ ।

साथै, तीनै जनालाई अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति स्वरूप जनही १ हजार ८९५ रुपैयाँ ४७ पैसा पीडित राहत कोषमा जम्मा गर्न आदेश दिइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार फेटा गाउँपालिकाको कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत बोलपत्र सूचना प्रकाशित भएको देखाएर झुट्टा बिल तथा भरपाई तयार गरी १ लाख ४२ हजार १६० रुपैयाँ सरकारी रकम भुक्तानी लिइएको थियो । सोही आधारमा मुद्दा दायर गरिएको हो ।