Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026
Home Blog Page 106

पर्सा–२ मा राप्रपाबाट बिना जैसवाल कुर्मी उम्मेदवार

वीरगंज । पर्सा क्षेत्र नम्बर–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बिना जैसवाल कुर्मीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ।

वीरगंज–२४ रामगढवा निवासी कुर्मीलाई पार्टीले टिकट प्रदान गर्दै पर्सा–२ बाट उम्मेदवारी अघि सारेको हो । यसअघि उनी राप्रपाबाटै समानुपातिक प्रतिनिधिसभा सदस्य रहेकी थिइन्।

यस क्षेत्रमा अन्य दलहरूले पनि उम्मेदवार सार्वजनिक गरिसकेका छन् । नेकपा एमालेबाट रिमा कुमार यादव, नेपाली कम्युनिष्ट पार्टीबाट मनोज चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशिल साह कानु, जनमत पार्टीबाट नविन प्रकाश साह, आम जनता पार्टीबाट रन्जु साह, नेपाली जनता पार्टीबाट सन्ताेष पटेल उम्मेदवार बनेका छन्।

यता नेपाली कांग्रेसले भने पर्सा–२ मा अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन । बहुदलीय प्रतिस्पर्धाका कारण पर्सा–२ को चुनावी माहोल थप रोचक बन्ने देखिएको छ ।

संघीयता मजबुत बनाउन प्रदेश संरचना बलियो हुनुपर्छ : बालेन्द्र शाह

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्रीको उम्मेदवार घोषित बालेन्द्र शाहले संघीयतालाई प्रभावकारी बनाउन प्रदेश संरचनालाई बलियो बनाइनुपर्ने बताएका छन्।

रास्वपाले सोमबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै शाहले प्रदेश कमजोर हुँदा सामान्य प्रशासनिक निर्णयका लागि समेत काठमाडौं धाउनुपर्ने बाध्यता रहेको बताए । उनले वीरगंजको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्न काठमाडौं जानुपर्ने अवस्थाको उदाहरण दिँदै भने, “प्रदेश बलियो बनाए मात्र संघीयता व्यवहारमा उतार्न सकिन्छ।”

काठमाडौं अधिकार माग्न हैन, घुम्न जाने शहर बन्नुपर्छ भन्ने धारणा राख्दै शाहले भने, “काठमाडौं अधिकार माग्न होइन, पशुपति र स्वयम्भुनाथ घुम्न जाने हो।”

देश र मधेसको समग्र विकासका लागि रास्वपालाई मत दिन उनले आग्रहसमेत गरे ।

‘म भाषण होइन, काम गरेर देखाउने मान्छे हुँ’ : बालेन शाह

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफू भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको बताएका छन्।

रास्वपाले सोमबार जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शाहले भने, “म काम गर्ने मान्छे हुँ, भाषण होइन। काम गरेको हेर्न चाहनुहुन्छ?”

काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आफूले काम गरेर देखाइसकेको उल्लेख गर्दै उनले भने, “काठमाडौंबासीले मेरो काम देखिसकेका छन्। अब यहाँहरू पनि मेरो काम हेर्न चाहनुहुन्छ?”

रास्वपाले बालेनलाई अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्रीकाे उम्मेदवार अगाडी सारेकाे छ ।उनको अभिव्यक्तिले विकास र परिणाममुखी नेतृत्वप्रति आफू प्रतिबद्ध रहेको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

नेकपाले टुंग्यायो पर्साका चार वटै क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्सा र बारा जिल्लाका उम्मेदवार टुंगो लगाएको छ।

पार्टीका अनुसार पर्सा क्षेत्र नं. १ बाट सिए अजय चौरसियालाई उम्मेदवार बनाईएको छ । वीरगंज–१६ का स्थायी बासिन्दा चौरसियाले पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।

त्यसैगरी पर्सा क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य मनोज चौधरीले टिकट पाएका छन्। अनेरास्ववियुको आन्दोलनबाट स्थापित मनोज चौधरी पर्साको राजनीतिमा चर्चित युवा नेताका रूपमा परिचित छन्।

पर्सा क्षेत्र नं. ३ बाट छोटेलाल यादवलाई मैदानमा उतारिएको छ। विद्यार्थी कालदेखि नै वामपन्थी आन्दोलनमा सक्रिय यादव केही समय उपेन्द्र यादव नेतृत्वको दलमा आवद्ध भए पनि पुनः वाम आन्दोलनमै फर्किएका थिए।

त्यसैगरी पर्सा क्षेत्र नं. ४ बाट संविधान सभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य जयप्रकाश थारुलाई उम्मेदवार बनाइएको छ। थारु केही दिनअघि मात्रै एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका हुन्।

यस्तै, बारा जिल्लातर्फ क्षेत्र नं. १ मा सन्तोष दंगाल, क्षेत्र नं. २ मा रमेश प्रसाद यादव, क्षेत्र नं. ३ मा भरत प्रसाद साह र क्षेत्र नं. ४ मा अजय कुशवाहालाई उम्मेदवार बनाइएको पार्टीले जनाएको छ।

पर्सा–२ मा नेकपाबाट मनाेज चाैधरी उम्मेदवार

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि मनाेज चाैधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपाले केन्द्रिय सदस्यसमेत रहेका चाैधरीलाई पर्सा–२ को टिकट दिएको हो । वीरगंज महानगरपालिका–१७ निवासी चाैधरी विद्यार्थी कालदेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका छन् ।

उनी नेकपाका सहसंयोजक माधव कुमार नेपालसँग नजिक रहेका नेताका रूपमा चिनिन्छन् । टिकट पक्का भएपछि चाैधरीले भोलि मंगलबार मनोनयन दर्ताका लागि आवश्यक तयारी थालेका छन् ।

नेकपाले यस क्षेत्रबाट चाैधरीसहित प्रभाकर गुप्ता र सत्यनारायण राैनियारकाे नाम उम्मेदवारकाे लागि सिफारिस गरेकाे थियाे ।

एमालेले पर्सा–२ मा रिमा कुमारी यादवलाई दियो टिकट

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पर्सा क्षेत्र नं. २ बाट रिमा कुमारी यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

वीरगंज महानगरपालिका वडा नं. २९ मुसैली निवासी २९ वर्षिय  यादवलाई एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि औपचारिक रूपमा टिकट दिएको हो ।

एमालेका केन्द्रीय सदस्य विजय सरावगी तथा मधेश प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादव लगायत पार्टीका प्रभावशाली नेताहरूको समर्थनमा रिमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरिएको पार्टी स्रोतले जनाएको छ ।

यसैगरी पर्सा क्षेत्र नं. १ मा पुर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई एमालले उम्मेदवार बनाएको छ ।

आईतवार राती जसपा परित्याग गरेर एमाले प्रवेश गरेका पुर्व मन्त्री यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारको लागि पर्सा १ मा एमाले टिकट दिएको हो ।

रहबर अन्सारीले दिए प्रदेश सांसदबाट पनि राजीनामा

वीरगंज । मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य रहबर अन्सारीले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृत भइसकेको छ।

पर्सा क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित अन्सारी केही दिनअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका छन्। उनी आगामी प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नं. ४ बाट उम्मेदवार उठ्ने तयारीमा रहेका छन्।

केही दिन पहिला मात्र अन्सारीले माओवादी केन्द्रका पूर्वअध्यक्षका रूपमा पुष्पकमल दाहाललाई सम्बोधन गर्दै पार्टी समेत परित्याग गरेका थिए । उनले राजीनामा पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तनको चाहनामा संघर्ष गरेकाहरू, अन्ततः सत्ता र सुविधामै केन्द्रित भएकाहरू, अवसरवादीहरू तथा वास्तविक शहीदहरूलाई दिएको उल्लेख गरेका थिए ।

यस अघि उनले प्रदेश सभा बैठकमा आफ्नै मुखमा कालाे मसाे दलेका कारण समेत चर्चामा आएका थिए ।

हरिखेतानका समस्या समाधान नगरे निर्णायक आन्दोलन गर्ने चेतावनी

वीरगंज । हरिखेतान क्याम्पस मा लामो समयदेखि देखिँदै आएको शैक्षिक, प्रशासनिक तथा विद्यार्थीसम्बन्धी गम्भीर समस्या समाधानप्रति सम्बन्धित निकाय उदासीन बनेको आरोप लगाउँदै विद्यार्थी पक्षले निर्णायक आन्दोलनको चेतावनी दिएको छ।

विद्यार्थीहरूले क्याम्पसका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्सा का प्रमुख जिल्ला अधिकारीसमक्ष यसअघि नै औपचारिक रूपमा ज्ञापनपत्र बुझाइसकेको भए पनि हालसम्म कुनै ठोस परिणाम नआएको भन्दै गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। प्रमुख जिल्ला अधिकारीले १० दिनभित्र क्याम्पस व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थी प्रतिनिधिसँग संयुक्त छलफल गरिने आश्वासन दिएको भए पनि सो प्रतिबद्धता कार्यान्वयन नभएको विद्यार्थीको भनाइ छ।

विज्ञप्तिमा क्याम्पस व्यवस्थापन समितिको चरम लापरबाही, प्रशासनिक गैरजिम्मेवारी र विद्यार्थी अधिकारप्रति गरिएको खुला बेवास्ता स्पष्ट देखिएको आरोप लगाइएको छ। साथै क्याम्पसमा प्रदान गरिने भनिएको छात्रवृत्ति सरकारी नभई निजी संस्थाबाट आएको हुन सक्ने गम्भीर आशंका रहेकाले सो प्रकरणको निष्पक्ष छानबिन तत्काल सुरु गर्नुपर्ने, विद्यार्थीका जायज मागहरू स्पष्ट रूपमा सार्वजनिक गरी कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने तथा हरिखेतान क्याम्पसमा व्याप्त शैक्षिक, प्रशासनिक, सुरक्षा र विद्यार्थीसम्बन्धी सम्पूर्ण समस्या समाधानतर्फ ठोस पहल गर्नुपर्ने माग विद्यार्थी पक्षले अघि सारेको छ।

शैक्षिक अवस्था दिनप्रतिदिन कमजोर बन्दै जानु, शिक्षक–विद्यार्थीबीच बढ्दो तनाव, आवागमन तथा सुरक्षासम्बन्धी समस्या यथावत् रहनु गम्भीर विषय भएको उल्लेख गर्दै बारम्बार ‘धैर्य गर्नुस्’ भन्ने बहानामा समय बिताउने प्रवृत्ति अब स्वीकार्य नहुने चेतावनी दिइएको छ।

विद्यार्थी पक्षले आजको मितिले तीन दिनभित्र आफ्ना मागहरू सम्बोधन नभए हरिखेतान क्याम्पसको पठन–पाठनसहित सम्पूर्ण प्रशासनिक गतिविधि पूर्ण रूपमा बन्द गरी आन्दोलनलाई जिल्ला हुँदै केन्द्रीय तहसम्म विस्तार गरिने स्पष्ट चेतावनी विज्ञप्तिमार्फत दिएको छ।

जगरनाथपुरमा स्वास्थ्य सेवा इकाई उद्घाटन तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ३, खलुचढीमा सामुदायिक स्वास्थ्य सेवा इकाई (स्वास्थ्य चौकी) को गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष यादवले स्वास्थ्य चौकी उद्घाटन गर्न पाउँदा अत्यन्तै खुशी र गर्वको अनुभूति भएको बताउनुभयो।

स्वास्थ्य चौकी उद्घाटनसँगै आइतबार नै गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा सामुदायिक स्वास्थ्य सेवा इकाई खलुचढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ (Gyno), फिजिसियनसहित दक्ष चिकित्सकहरूको टोली सहभागी रहेको थियो। शिविरबाट झण्डै २०० भन्दा बढी स्थानीय नागरिकहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा लिएका छन्।

साे अवसरमा गाउँपालिका अध्यक्ष यादवले स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएको उल्लेख गर्दै गाउँपालिकाको तर्फबाट घरदैलोमै गुणस्तरीय, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “खलुचढीमा स्वास्थ्य चौकी स्थापना हुनु स्थानीय नागरिकहरूका लागि ठूलो उपलब्धि हो,” उहाँले भन्नुभयो।

वडा नं. ३ का वडा अध्यक्ष सुबास कुमार यादव को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बविता सिंह क्षेत्री, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह लगायतको उपस्थिति रहेको थियो।

सामुदायिक स्वास्थ्य सेवा इकाई खलुचढीको कार्यालय समुद्घाटनको अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल का ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

पर्सा ४ मा कांग्रेस ठाेरीद्वारा विश्वराज घिमिरे उम्मेदवार सिफारिस

सेढवा । नेपाली काँग्रेस ठोरी गाउँ कार्यसमिति, पर्साले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विश्वराज घिमिरे लाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

ठोरी गाउँ कार्यसमितिका सभापति सन्तोष श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमार्फत नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, सानेपा काठमाडौंमा घिमिरेको नाम औपचारिक रूपमा सिफारिस गरिएको हो। पत्रअनुसार घिमिरे ठोरी गाउँपालिका वडा नं. ५ अन्तर्गत सुवर्णपुर निवासी हुन्। उनी नेपाल किसान महासंघका केन्द्रीय सदस्य रहँदै आएका छन् भने पार्टीको १४ औँ जिल्ला अधिवेशनमा सचिव पदका प्रत्याशीसमेत रहेका थिए।

कार्यसमितिले घिमिरेलाई उम्मेदवार बनाउँदा क्षेत्रका लोकप्रिय नेता, जनताको सुख–दुःखमा सधैँ साथ दिँदै आएको व्यक्तित्व भएकाले पार्टी संगठन थप मजबुत र संगठित हुने विश्वास व्यक्त गरेको छ। साथै स्थानीय तहदेखि नै पार्टी संगठन विस्तार, जनसम्पर्क तथा राजनीतिक सक्रियतामा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै केन्द्रीय नेतृत्वसमक्ष घिमिरेलाई उम्मेदवारका रूपमा अघि सार्न आग्रह गरिएको छ।

ठोरी क्षेत्रको संगठन सुदृढीकरण र आगामी निर्वाचनमा पार्टीको प्रभावकारी उपस्थितिका लागि यो सिफारिस महत्वपूर्ण हुने कार्यसमितिको धारणा रहेको छ।