Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026
Home Blog Page 105

पर्सा–१ मा १२ स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १२ जना स्वतन्त्रसहित विभिन्न दलबाट कुल ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ को निर्वाचन कार्यालयका अनुसार सोमबार विहान १० बजेदेखि सांझ ५ बजेसम्म उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो ।

निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार नेकपा एमालेबाट पूर्व मन्त्री एवं निर्वतमान प्रतिनिधि सभा सदस्य प्रदीप यादव, नेपाली कांग्रेसबाट अनिल कुमार रुंगटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धि प्रसाद पन्त (हरि पन्त), नेपाली कम्युनिष्ट पार्टीबाट अजय चौरसिया, जनता समाजवादी पार्टीबाट रामनरेश प्रसाद यादव, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ उम्मेदवार बनेका छन् ।

त्यस्तै, उज्यालो नेपाल पार्टीबाट राम किशोर सिंह (पराग), आम जनता पार्टीबाट विश्वराज पटेल, श्रम संस्कृति पार्टीबाट वसिम शेष र राप्रपाबाट नन्द किशोर श्रीवास्तवले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

अन्य दलतर्फ मजदुर किसान पार्टीबाट प्रमोद कुमार पटेल, पिपुल फर्स्ट पार्टीबाट जावेद इकबाल हैदर, नेपाल लोकतान्त्रिक पार्टीबाट शालिक राम प्रसाद कानु, एकल चुनाव चिन्ह बसबाट सोरुब अन्सारी, नेकपा संयुक्तबाट शंकर कुमार कर्ण र जन अधिकार पार्टीबाट महेश कुमार पासवान उम्मेदवार रहेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा शिव प्रसाद कोइरी, अभिनास चौरसिया, विशाल कुमार, प्रेम मेहता, अनिल प्रसाद यादव, नरेश कुमार यादव, दिप कुमार शर्मा र सरोज प्रसाद यादव रहेका छन् ।

पर्सा–१ मा दल र स्वतन्त्र दुवै तर्फका उम्मेदवारको संख्या धेरै भएकाले यस क्षेत्रको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

पर्सामा रास्वपाले तीन क्षेत्रमा टुंग्यायो उम्मेदवार, क्षेत्र नं. २ काे अझै आधिकारिक घोषणा भएन

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये तीन वटामा उम्मेदवारको टुङ्गो लगाएको छ । रास्वपाका केन्द्रीय सदस्य नन्दन यादवका अनुसार पार्टीले पर्सा क्षेत्र नम्बर १, ३ र ४ मा उम्मेदवार निश्चित गरेको हो ।

पार्टीको निर्णयअनुसार पर्सा क्षेत्र नम्बर १ बाट होटल व्यवसायी तथा रास्वपाका जिल्ला सभापति हरि पन्तले टिकट पाएका छन् । यसअघि सो क्षेत्रमा नेकपा एमालेबाट रास्वपामा प्रवेश गरेका शम्भु गुप्ताको नाम चर्चामा रहे पनि अन्ततः पार्टीले पन्तलाई नै चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो ।

त्यस्तै, पर्सा क्षेत्र नम्बर ३ बाट निर्माण व्यवसायी रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ बाट टेकबहादुर शाक्य उम्मेदवार चयन भएका छन् । यसअघि क्षेत्र नम्बर ३ मा रुपेश पाण्डे र क्षेत्र नम्बर ४ मा रहबर अन्सारीको नाम चर्चा चले पनि अन्ततः चौरसिया र शाक्यले नै टिकट पाएका हुन् ।

पर्सा क्षेत्र नम्बर २ मा भने उम्मेदवार चयन प्रक्रिया अझै पेचिलो बनेको छ । सो क्षेत्रबाट वीरगंज महानगरपालिका–१० का वडाध्यक्ष सुशील साह कानुको नाम निकै चर्चामा रहे पनि पार्टीले अहिलेसम्म आधिकारिक घोषणा गरेको छैन ।

वडाध्यक्ष कानुसँगै प्रमेश्वर कलवार र परबेज अख्तरले पनि टिकटमा दाबी नछाडेकाले निर्णय प्रक्रिया लम्बिएको केन्द्रीय सदस्य यादवले जानकारी दिए ।“क्षेत्र नम्बर २ का विषयमा आज बिहान पुनः छलफल गरी उम्मेदवारको टुङ्गो लगाइनेछ,” यादवले बताए ।

नयाँ शक्ति र वैकल्पिक राजनीतिको नारासहित चुनावी मैदानमा उत्रिएको रास्वपाले पर्सामा उम्मेदवार छनोट गर्दा स्थानीय प्रभाव, संगठन क्षमता र व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूलाई प्राथमिकता दिएको देखिन्छ ।

पर्सामा कांग्रेसले पनि टुंग्यायो उम्मेदवार, चारै क्षेत्रमा पुरानै अनुहार

वीरगंज । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ । सोमबार राति बसेको कांग्रेस उम्मेदवार छनौट समितिको बैठकले जिल्लाका सबै क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाएको हो ।

कांग्रेसले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिल रुंग्टालाई उम्मेदवार बनाएको छ । त्यस्तै, क्षेत्र नम्बर २ बाट पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ बाट पूर्व मन्त्री सुरेन्द्र चौधरी र क्षेत्र नम्बर ४ बाट पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य रमेश रिजालले टिकट पाएका छन् ।

यसपटक कांग्रेसले पर्सामा नयाँ अनुहारभन्दा पुराना र अनुभवी नेताहरूलाई नै प्राथमिकता दिएको देखिन्छ । टिकट पाउने उम्मेदवारहरूमध्ये अनिल रुंग्टाबाहेक अन्य सबैले अघिल्ला निर्वाचनहरूमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धा गरिसकेका छन् । गत निर्वाचनमा पनि क्षेत्र नम्बर २ बाट चौरसिया, क्षेत्र नम्बर ३ बाट चौधरी र क्षेत्र नम्बर ४ बाट रिजाल चुनाव लडेका थिए ।

पार्टी सभापतिमा गगन थापा आएपछि यसपटक टिकटमा केही फेरबदल हुन सक्ने अड्कलबाजी गरिए पनि अन्ततः कांग्रेसले निरन्तरताकै बाटो रोजेको छ । पार्टीभित्र लामो समयसम्म चलेको रस्साकस्सीपछि पुरानै अनुहारलाई दोहोर्‍याउने निर्णयले पर्साको चुनावी समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ ।

रास्वपाका उम्मेदवारलाई एकताबद्ध समर्थन गर्ने सर्राफ र मिश्रको प्रतिबद्धता

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश अभियान तथा प्रचार–प्रसार विभागका सदस्य रामकुमार सर्राफ र पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्र ले प्रतिनिधिसभा सदस्य पदका लागि पार्टीले टिकट दिने उम्मेदवारलाई पूर्ण रूपमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टीभित्र टिकट वितरणको विषयलाई लिएर केही स्थानमा असन्तुष्टि र आरोप देखिएको पृष्ठभूमिमा उनीहरूले पर्सा जिल्लामा पार्टीले उम्मेदवार बनाउने जो–कोहीलाई पनि एकताबद्ध रूपमा सहयोग गरिने स्पष्ट पारेका हुन्। उनीहरूले पार्टीको निर्णय नै सर्वोपरि हुने उल्लेख गर्दै नेतृत्वले उम्मेदवारको क्षमता, जनआधार र जित्ने सम्भावनालाई आधार मानेर नै टिकट वितरण गरेको विश्वास व्यक्त गरे।

रामकुमार सर्राफले रास्वपा कुनै व्यक्ति केन्द्रित नभई विचार र प्रणालीमा आधारित पार्टी भएको स्पष्ट पार्दै भने, “रास्वपा कुनै व्यक्ति केन्द्रित पार्टी होइन। पार्टीले जसलाई उम्मेदवार बनाउँछ, उसलाई जिताउनु हामी सबैको साझा दायित्व हो।”

त्यस्तै, क्षेत्रीय सभापति जितेन्द्र मिश्रले पार्टीभित्र देखिने असहमति स्वाभाविक प्रक्रिया भए पनि अन्ततः सबै नेता तथा कार्यकर्ताले पार्टीको निर्णयअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। “हामी कार्यकर्ता हौँ, पार्टीको जित नै हाम्रो जित हो,” मिश्रले भने।

उनीहरूले पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरूलाई सहयोग गर्दै सकारात्मक नतिजा ल्याउन हरसम्भव प्रयास गरिने प्रतिबद्धता जनाएका छन्। साथै, जनकपुरधाम लगायतका स्थानमा टिकट वितरणलाई लिएर भइरहेको विरोध प्रदर्शन अन्त्य गर्दै भोलिदेखि नै सक्रिय रूपमा चुनावी अभियानमा लाग्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

रास्वपाले पहिलो पटक मधेसी मूलका व्यक्तिलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको उल्लेख गर्दै सर्राफ र मिश्रले यो अभियान केवल निर्वाचनमा सीमित नभई समावेशी नेतृत्व र राजनीतिक परिवर्तनको अभियान भएको बताए। उनीहरूले आ–आफ्नो स्थानबाट पार्टीका उम्मेदवारलाई जिताउन सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर लाग्न अपिल गरेका छन्।

पर्सा–१ मा रास्वपाबाट शम्भु गुप्ता उम्मेदवार बन्ने लगभग निश्चित

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शम्भु प्रसाद गुप्तालाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपयुक्त उम्मेदवारको खोजीमा रहेको रास्वपाले अन्ततः गुप्ताको नाममा सहमति जुटाएको पार्टी निकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार गुप्ता हाल जनकपुरधाम मा रहेका छन्। त्यहाँ चुनावी सभाका क्रममा पुगेका रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सँग उम्मेदवारीबारे निर्णायक छलफल भइरहेको बताइएको छ। उक्त छलफलबाट उम्मेदवारीको अन्तिम टुंगो लाग्ने संकेत देखिएको छ।

यसअघि रास्वपाले पर्सा–१ बाट संविधानसभा सदस्य अजय द्विवेदीलाई उम्मेदवार बनाउने प्रयास गरेको थियो। तर द्विवेदीले नेपाली काँग्रेसबाट टिकट नपाएपछि मात्र रास्वपामा प्रवेश गर्ने सर्त राखेपछि पार्टी नेतृत्व पछि हटेको स्रोतको दाबी छ।

गुप्ता नेकपा (एमाले) परित्याग गरी रास्वपामा प्रवेश गर्न लागेका हुन्। उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेको तर्फबाट पर्सा १ (२) बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी मधेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत सँग पराजित भएका थिए।

चुनावी तयारीकै क्रममा गुप्ताले वीरगञ्ज महानगरपालिका को जागिरबाट राजीनामा दिएका थिए। त्यसपछि उनी उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरे पनि टिकट नपाउने निश्चित भएपछि अन्तिम समयमा एमालेबाट चुनाव लडेका थिए। २०७९ को निर्वाचनमा भने उनले प्रत्यक्ष उम्मेदवारी नदिई एमालेका उम्मेदवारलाई सहयोग गरेका थिए।

एमाले निकट बुद्धिजीवी सङ्गठनका मधेश प्रदेश अध्यक्षसमेत रहेका गुप्ता व्यावसायिक पृष्ठभूमिका व्यक्ति हुन्। वीरगञ्ज महानगरपालिका–१२ का स्थायी बासिन्दा उनले विभिन्न सहकारी संस्थामा सञ्चालकको भूमिका निर्वाह गर्दै आएका छन्। साथै, वीरगञ्ज–१२ मै निजी विद्यालय र कलेज सञ्चालन गर्दै आएका छन्।

यसअघि पर्सा–१ बाट रास्वपाका जिल्ला सभापति बुद्धिप्रसाद (हरि) पन्त तथा वीरगञ्ज हेल्थ केयर अस्पतालका सञ्चालक अबुलहैस अन्सारीलगायतका नामहरू पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा थिए। तर पार्टी निकट स्रोतका अनुसार अन्ततः रास्वपाले शम्भु प्रसाद गुप्ताकै नाममा सहमति जुटाएको हो ।

यद्यपि, रास्वपाको तर्फबाट गुप्ताको उम्मेदवारीबारे औपचारिक घोषणा हुन भने बाँकी नै छ।

पर्सामा कांग्रेसको उम्मेदवार टुंगो अझै भएन, ३ र ४ मा पुरानै अनुहार दोहोरिने संकेत

वीरगंज । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता अघिल्लो दिन साँझसम्म पनि नेपाली कांग्रेसले पर्साका उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेको छैन।

पार्टी स्रोतका अनुसार पर्सा क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसबाट पुनः पुरानै अनुहार दोहोरिने करिब–करिब निश्चित जस्तै देखिएको छ। क्षेत्र नम्बर ३ बाट सुरेन्द्र प्रसाद चौधरी र क्षेत्र नम्बर ४ बाट रमेश रिजालको नाम लगभग टुंगो लागिसकेको भए पनि औपचारिक निर्णय भने अझै सार्वजनिक भएको छैन।

यसैबीच, पर्सा क्षेत्र ३ का उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी र क्षेत्र ४ का उम्मेदवार रमेश रिजालका समर्थकहरूले मंगलबार मनोनयन दर्ताका लागि स्थान नै तोकेर भेला हुन आह्वान गरिसकेका छन्। तर पर्साका चारवटै क्षेत्रमध्ये कुनैपनि क्षेत्रमा पार्टीको आधिकारिक निर्णय नभएको कांग्रेसका केन्द्रीय सदस्य रामरुप कुर्मीले जानकारी दिए।

उनका अनुसार गगन, देउवा र शेखर पक्षका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ। “तीनै पक्षबीच छलफल चलिरहेकै छ, तर पर्साको हकमा साेमबार बेलुकीसम्म पनि कुनै क्षेत्रको उम्मेदवारबारे अन्तिम निर्णय भइसकेको छैन,” कुर्मीले बताए।

कांग्रेसभित्र पर्सा क्षेत्र नम्बर १ मा अनिल रुंगटा र अजय द्विवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने सम्भावना रहेको छ भने क्षेत्र नम्बर २ मा अजय चौरसिया र राजेन्द्र बहादुर अमात्यमध्ये एक जनाले टिकट पाउने प्रबल सम्भावना रहेको स्रोतको दाबी छ।

गुगल एकेडेमीको वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. २४ रामगढवामा अवस्थित गुगल एकेडेमीको वार्षिकोत्सव कार्यक्रम सोमबार भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयका प्रिन्सिपल नरेश राउत कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्घाटन वीरगंज उद्योग वाणिज्य महासंघका महासचिव शिवजी प्रसाद साह कलवारले गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै महासचिव कलवारले शिक्षा क्षेत्रकाे विकासमा निजि विद्यालयहरुकाे भुमिका महत्वपूर्ण रहेकाे वताए ।

कार्यक्रममा कृषि अनुसन्धान केन्द्र, परवानीपुरका निर्देशक डा. विश्वेश्वर प्रसाद यादव, श्रीजंग गण, श्रीपुर ब्यारेकका प्रमुख सैनानी लोकेन्द्र कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, एन प्याब्सन वीरगंजका अध्यक्ष जियालाल गुप्ता, ज्ञानदा एकेडेमीका सिइओ राजेन्द्र कोइराला, भास्कर हर्बल हेल्थ टिकल्स प्रा.लि.का डा. राजु बैठा, मानव सेवा आश्रम, वीरगंजका दिवेश गुप्ता, अधिवक्ता रामनारायण कुर्मी, सिए नरेश पटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका संयोजक शान्ति कुमार लामाले राखेका थिए भने कार्यक्रमकाे सञ्चालन शिक्षक संयोजक श्रीशान्त कलवारले गरेका थिए ।

वार्षिकोत्सव अवसरमा गायन, नृत्य, ड्रामा, राइम्स, कराते प्रदर्शन, स्काउट प्रदर्शनलगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए।

कार्यक्रममा शिक्षक अफ द इयर सम्मान स्मरणा चौधरी, जेनिशा ब्लोन लामाराधेश्याम रौनियारलाई प्रदान गरिएको थियो। अभिभावक अफ द इयर सम्मान नरेश पटेलरमिता कुमारीलाई प्रदान गरिएको थियो।

त्यसैगरी विद्यार्थी अफ द इयर सम्मान निरञ्जन पटेलकृतिका चौधरीलाई प्रदान गरिएको विद्यालयका शिक्षक संयोजक कलवारले जानकारी दिए ।

पर्सा–२ मा तीन दलबाट महिला उम्मेदवार

वीरगंज । पर्सा क्षेत्र नम्बर–२ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन राजनीतिक दलबाट महिला उम्मेदवार मैदानमा उत्रिने भएका छन्।

नेकपा एमालेले पर्सा क्षेत्र नं. २ बाट रिमा कुमारी यादवलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । वीरगंज महानगरपालिका वडा नं. २९ मुसैली निवासी २९ वर्षीया यादवलाई एमालेले औपचारिक रूपमा टिकट प्रदान गरेको हो।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिना जैसवाल कुर्मीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ। वीरगंज–२४ रामगढवा निवासी कुर्मी यसअघि राप्रपाबाटै समानुपातिक प्रतिनिधिसभा सदस्य रहेकी थिइन्।

त्यस्तै आम जनता पार्टी (आजपा)ले यस क्षेत्रमा रञ्जु साहलाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ। प्रभु साह नेतृत्वको आजपाले साहलाई औपचारिक रूपमा मैदानमा उतारेको हो।

नेतृ साहले पर्सा–२ लाई विकासको मोडेल बनाउने लक्ष्यसहित आफू उम्मेदवारीमा होमिएको बताउँदै जेन–जी पुस्ताको सपना साकार पार्न र जेन–जी आन्दोलनलाई सार्थक बनाउने उद्देश्य पनि आफ्नो उम्मेदवारीको प्रमुख कारण रहेको स्पष्ट पारिन्।

तीन दलबाट महिला उम्मेदवार मैदानमा उत्रिएसँगै पर्सा–२ को चुनावी प्रतिस्पर्धा थप चासो र उत्सुकतापूर्ण बनेको छ।

देश र मधेसको विकासका लागि रास्वपालाई विजयी गराउन बालेन साहको अपिल

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन आग्रह गर्नुभएको छ।

रास्वपाद्वारा आज जनकपुरधाममा आयोजित परिवर्तन उद्घोषसभालाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई बहुमतले विजयी गराई मधेस र देशको सेवा गर्ने अवसर दिन अपिल गर्नुभयो।

वरिष्ठ नेता साहले प्रतिनिधिसभामा रास्वपा विजयी भए देशले ठूलो उपलब्धि हासिल गर्ने दाबी गर्दै आफ्नो पार्टीको सरकार बनेमा नागरिकले आफ्ना अधिकार आफ्नै प्रदेशमा पाउने आधार थप बलियो हुने धारणा राख्नुभयो।

“म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस्। काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा गरेका कामबारे यहाँहरूले थाहा पाउनुभएको नै छ। प्रतिनिधिसभामा हाम्रो पार्टीलाई निर्वाचित गर्नुभयो भने मधेसमा पनि काम गरेर देखाउने छु, यो मेरो प्रतिज्ञा हो,” उहाँले भन्नुभयो।

मधेस प्रदेशको राजधानी जनकपुरधाम ऐतिहासिक तथा धार्मिक स्थल भए पनि अपेक्षित विकास नदेखिएकोप्रति चिन्ता व्यक्त गर्दै साहले सरसफाइको अभाव र कमजोर पूर्वाधारका कारण पर्यटनसमेत प्रभावित भएको बताउनुभयो। “यो ऐतिहासिक भूमि हो, तर सरसफाइको कमीले जनकपुर प्रदूषित बन्दै गएको छ। पर्याप्त विकास नहुँदा पर्यटकलाई समेत कठिनाइ भइरहेको छ,” उहाँले भन्नुभयो।

आफू र आफ्नो पार्टी विजयी भए जनकपुरसहित मधेसको विकासमा विशेष ध्यान दिने र प्रदेशका नागरिकले अधिकारका लागि काठमाडौं धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पहल गर्ने उहाँको प्रतिबद्धता थियो। “हाम्रो सरकार बनेमा प्रदेशलाई अझ बलियो, सशक्त र प्रभावकारी बनाउनेछौँ,” उहाँले जोड दिनुभयो।

मधेसकै बासिन्दा भएकाले यस क्षेत्रको समग्र विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धतासमेत वरिष्ठ नेता साहले व्यक्त गर्नुभयो।

देशको समस्या समाधानका लागि रास्वपालाई सहयोग गर्न रवि लामिछानेको अपिल

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा विद्यमान समस्या समाधानका लागि आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ।

रास्वपाद्वारा आज जनकपुरधाममा आयोजित परिवर्तन उद्घोषसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले देशको विकास गर्ने सङ्कल्पसहित पार्टी अघि बढेको उल्लेख गर्नुभयो। त्यसका लागि सबैको सहयोग र सद्भाव आवश्यक रहेको उहाँको भनाइ थियो।

सभापति लामिछानेले रास्वपा परिवर्तनको वाहक भएको जिकिर गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीलाई बहुमतका साथ विजयी गराउन अपिल गर्नुभयो। “हामी देश विकासको सङ्कल्पसहित अगाडि आएका छौँ। आउँदो निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत ल्याए त्यो पूरा गर्न सहज हुनेछ,” उहाँले भन्नुभयो।

उहाँले आफूविरुद्ध विगतका सरकारले धेरै मुद्दा तथा आरोप लगाएको उल्लेख गर्दै देश र जनताको मुद्दा बोकेको व्यक्तिलाई अन्य आरोपसँग खासै मतलब नहुने धारणा राख्नुभयो। देशको हितलाई केन्द्रमा राखेकै कारण आफू र बालेन साह एक ठाउँमा आएको उहाँको भनाइ थियो।

सभापति लामिछानेले बालेन साहसँगको सहकार्यप्रति आफू निकै उत्साहित रहेको बताउँदै यस अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व स्वतन्त्र सांसद अमरेशकुमार सिंह र मधेस प्रदेशसभाका निवर्तमान सदस्य रहवर अन्सारी लगायतलाई पार्टीमा स्वागत गरिएको थियो।