Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 104

पथलैयामा २१ किलो गाँजासहित दुई किशोर पक्राउ

0

कलैया । बारा प्रहरीले पथलैयाबाट ठूलो परिमाणमा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार राति करिब ८:२० बजे जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित ट्राफिक अफिस अगाडि चेकिङका क्रममा हेटौँडाबाट पथलैया तर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ५७६४ नम्बरको स्कुटर रोकी जाँच गर्दा २१ केजी गाँजा बरामद गरिएको हो ।

प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले स्कुटरको अगाडि खुट्टा राख्ने भागमा कालो प्लास्टिकले बेरेर लुकाईछिपाई ल्याइएको अवस्थामा गाँजा फेला पारेको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा मकवानपुर छतिवन गाउँपालिका–४ का १६ वर्षीय सुरेन्द्र गोले (चालक) र मकवानपुर राक्सिराङ गाउँपालिका–७ का १८ वर्षीय सलमान गुरुङ (पछाडि बस्ने) लाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका दुवै जनामाथि बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिएका छन् ।

वीरगंजमा चौथो नगर राष्ट्रपति रनिङ सिल्ड तेक्वान्दो छनोट प्रतियोगिता सम्पन्न

0

वीरगंज । वीरगंज महानगरपालिकाको आयोजनामा वीरगंजस्थित घडिअर्वा पोखरी कभर्डहलमा ‘चौथो नगर राष्ट्रपति रनिङ सिल्ड तेक्वान्दो छनोट प्रतियोगिता’ सम्पन्न भएको छ ।

कार्यक्रम गणेशमान श्रेष्ठको अध्यक्षता तथा पर्सा जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष दीपक साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रतियोगितामा करिब ३०० जना खेलाडी तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतियोगितामा खेलाडीहरूको तौल समूह र प्रदर्शनका आधारमा विजेता घोषणा गरिएको थियो । पुरुष ४५ केजी तौल समूहमा गौतम कुमार प्रजापति प्रथम, जेनिस खड्का द्वितीय तथा मोहित लिम्बू र प्रणिल थापा तृतीय भएका छन् । ४८ केजी तर्फ आशिष कुमार सराफ प्रथम, विकी कुमार यादव द्वितीय तथा सुलभ थारु र सक्षम चौरसिया तृतीय भएका छन् ।

त्यसैगरी, ५१ केजी तौल समूहमा शिवजी कुमार पटेल प्रथम, अब्राहम भुजु द्वितीय तथा जानिलाल जाफर र आयुस चौधरी तृतीय बनेका छन् । ५५ केजी समूहमा स्वयममान रन्जितकार प्रथम र प्रिन्स कुमार द्वितीय भएका छन् । अन्य प्रतिस्पर्धामा शिवम कुमार प्रथम र शेख रहमान हुसेन द्वितीय भएका छन् ।

पुम्से (काटा) तर्फ पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । एकल पुरुष पुम्सेमा हबिबुल्लाह मियाँ प्रथम, आगमन ठकुरी द्वितीय तथा साजन पटेल र आयुस ठकुरी तृतीय भएका छन् भने एकल महिला पुम्सेतर्फ रोशनी मोक्तान प्रथम हुन सफल भएकी छिन् ।

प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित बनाउन जुरीको भूमिकामा महमद सकिल र गणेशमान श्रेष्ठ रहेका थिए । रेफ्रीतर्फ राजेन्द्र शाही, महमद मन्सुर हवारी, विक्रान्त डङ्गोल, सोएब अख्तर र दिपेश मानन्धरलगायतले जिम्मेवारी निर्वाह गरेका थिए ।

समापन कार्यक्रममा सभापति श्रेष्ठले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराइने जानकारी दिएका छन् ।

पर्सामा योजना वितरणमा कमिशनको आरोप, विरोधमा कार्यालयकाे बोर्डमा मोबिल छर्क्ने दुई पक्राउ

0

वीरगंज । मधेश प्रदेश सरकारअन्तर्गत विकास निर्माणका योजनाहरू कमिशनको आधारमा वितरण भइरहेको आरोपबीच पर्सामा विवाद चर्किएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालय मातहत रहेको पूर्वाधार विकास कार्यालय पर्साले योजनाको कार्यादेश (चिठी) कमिशन लिएर वितरण गरेको आरोप स्थानीयहरूले लगाएका छन् ।

सोमबार बिहान आफ्नो योजनाको कार्यादेश नपाएको भन्दै कार्यालय पुगेको एक समूहले विरोधस्वरूप कार्यालयको बोर्डमा मोबिल छर्केको थियो । उक्त समूहका एक व्यक्तिले आफू ठेकेदार रहेको दाबी गर्दै आफ्ना ९ वटा योजनाको कार्यादेश कार्यालय प्रमुखले नदिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । घटनासम्बन्धी भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

समूहले कार्यालय प्रमुख राजेश कर्णले आइतबार, सार्वजनिक बिदाको दिनमै योजनाहरूको कार्यादेश वितरण गरेको आरोप पनि लगाएको छ । यता कार्यालय पक्षले भने ती व्यक्तिहरूले जबर्जस्ती योजना माग गर्दै कर्मचारीमाथि दुर्व्यवहार गर्न खोजेको दाबी गरेको छ ।

यस विषयमा प्रतिक्रिया लिन कार्यालय प्रमुख कर्णसँग सम्पर्क गर्न खोजिए पनि फोन नउठ्दा प्रतिक्रिया लिन सकिएन ।

यसैबीच, सरकारी कार्यालयको बोर्डमा मोबिल छर्केर फरार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–११ का ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वडा नं.१३ राधेमाईका ३० वर्षीय मनमोहन पाण्डे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार वीरगंज–२३ स्थित पूर्वाधार विकास कार्यालयको प्राङ्गणमा भएको उक्त घटनापछि कार्यालय प्रमुखले दिउँसो करिब २:३० बजे वडा प्रहरी कार्यालय श्रीपुरलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

स्थानीय शशिकपुर मियाँका अनुसार देशमा पछिल्लो राजनीतिक परिवर्तन भए पनि मधेश प्रदेश सरकारको कार्यशैलीमा सुधार नआएको गुनासो बढ्दो छ । उनका अनुसार प्रदेशका केही सांसदहरूले विकास निर्माणका योजनाहरू भागबन्डा गरेर ठेकेदारहरूसँग कमिशनमा दिने प्रवृत्ति कायम रहेको आरोप छ ।

स्थानियका अनुसार जनताकाे याेजना भन्दा प्रदेशका सांसद र मन्त्रीहरुले कमिशन लाेभमा टुक्रे याेजना राखेर कमिशन लिएका ठेक्दार मार्फत संचालन गर्दै आएका छन् । ति नै सांसद र मन्त्रीहरुकाे दबावमा पूर्वाधार कार्यालयले सम्बन्धित वडा र पालिकालाई दिनु पर्ने कार्यदेशकाे चिठी उनीहरुले भनेकाे व्यक्तिलाई दिदै आएका छन् । जस कारण विकास निमार्णकाे कार्य स्तरिय हुन सकेका छैनन् ।

शुल्क नतिरेको भन्दै विद्यार्थीलाई कक्षाबाट निकालियो, गौतम मावि विरुद्ध अभिभावकको उजुरी

0

वीरगंज । वीरगंजका प्रसिद्ध स्कुल गौतम माध्यमिक विद्यालयले शुल्क असुली गर्न विद्यार्थीलाई मानसिक यातना दिएकाे अभिभावकले आराेप लगाएका छन् । गौतम माविको कक्षा १० र कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई शुल्क नबुझाएकै कारण कक्षाकोठाबाट दुई घण्टासम्म बाहिर निकालेर शिक्षकले अपमानित गरेको आरोप लागेको हो ।

वीरगंज महानगरपालिकाका वडा नं. १२, मुर्ली निवासी दिनेश कुमार गुप्ताले साेमबार वीरगंज महानगरपालिकाको शिक्षा महाशाखामा उजुरी दर्ता गराउँदै यस्तो आरोप लगाएका हुन् ।

गौतम माविको कक्षा १० मा अध्ययनरत अंकिता गुप्ता र कक्षा ८ मा अध्ययनरत आराध्या गुप्तालाई शुल्क नतिरेकै कारण कक्षाकोठाबाट बाहिर निकालेर दुई घण्टासम्म मानसिक यातना दिइएको भन्दै विद्यालय प्रशासनविरुद्ध कारबाहीको माग गरिएको छ ।

बक्यौता शुल्क असुली गर्नका लागि विद्यालय प्रशासन तथा शिक्षकले विद्यार्थीलाई कुनै पनि प्रकारले मानसिक यातना दिन नहुने नियम विपरीत गौतम स्कुलले आचरण गरेको भन्दै कानुनबमोजिम कारबाही गर्न गुप्ताले महानगरपालिकासँग माग गरेका छन् ।

गाैतम स्कुलले शुल्क नबुझाएका विद्यार्थीहरुलाई कक्षा काेठा बाहिर निकालेपछि स्कुल मै पुगेर केही अभिभावकहरु विराेध समेत गरेका थिए । स्कुलमा दुई महिनाको एडभान्स हुँदाहुँदै १ महिनाको शुल्क बाँकी भन्दै २ घण्टा विद्यार्थी निष्कासन गरेकाे एक अभिभावले आराेप लगाए । गौतम स्कुलसंग मानवता हराएको अभिभाव उनकाे भनाई थियाे ।

सरकारले एडिमिसन शुल्क, बार्षिक शुल्क नलिन र शुल्क नबढाउन निर्देशन दिएपनि त्यस विपरित स्कुलले असुली गरिरहेकाे भएपनि सम्बन्धित निकाय माैन रहेकाे गुनासाे समेत गरेका छन् ।

यस विषयमा विद्यालय प्रशासनको प्रतिक्रिया लिन स्कुलकाे वेभसाइडमा रहेकाे नम्बरमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

परवानीपुरमा ट्याक्टरले च्याप्दा युवकको मृत्यु

0

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–३ स्थित परवानीपुर बजारमा ट्र्याक्टरले च्याप्दा एक अज्ञात युवकको मृत्यु भएको छ।

स्थानीय रामबाबु रौनियारको खाली जग्गामा रातिको समयमा माटो खसाल्ने क्रममा प्लास्टिक संकलन गर्दै आएका करिब ३५ वर्षका युवक ट्र्याक्टरको चपेटामा परेका हुन्। घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार आइतबार राति भएको उक्त घटनामा युवक ट्र्याक्टरले च्यापिएको प्रारम्भिक अनुमान गरिएको छ। तर, मृतकको शव घटनास्थलबाट केही अगाडि सारिएको अवस्थामा फेला परेकाले घटना शंकास्पद देखिएको उनले बताए।

प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन सिसिटिभी फुटेजको अध्ययनसहित अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। मृतकको पहिचान हालसम्म खुल्न नसकेको र पहिचानका लागि प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

वीरगंजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न, महाराजगञ्ज मेडिकल क्याम्पस प्रथम

0

वीरगंज । नेशनल मेडिकल कलेजको आयोजनामा सञ्चालित ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ प्रतियोगिता शनिबार भव्य रूपमा सम्पन्न भएको छ ।

कलेजको आफ्नै सभाहलमा आयोजित प्रतियोगितामा देशभरका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै आफ्नो बौद्धिक क्षमता प्रदर्शन गरेका थिए । देशभरका ११ वटा मेडिकल कलेजबाट ६८ जना विद्यार्थी सहभागी भएको उक्त प्रतियोगितामा कडा प्रतिस्पर्धाबीच महाराजगञ्ज मेडिकल क्याम्पस प्रथम स्थान हासिल गर्न सफल भयो ।

त्यसैगरी, पाटन एकेडेमी अफ हेल्थ साइन्स दोस्रो तथा बी.पी. कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स तेस्रो स्थानमा रहन सफल भए । विजेताहरूलाई क्रमशः प्रथमलाई ५० हजार, दोस्रो २५ हजार र तेस्रोलाई १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको मेडिकल कलेजका प्रेस सल्लाहकार आंशिक अन्सारीले जानकारी दिए ।

कार्यक्रम नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो. डा. जैनुद्दिन अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालको उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवात कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले स्वागत मन्तव्यबाट गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल आर्मी पर्साका प्रमुख सेनानी लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शैलेन्द्र खड्का लगायत सुरक्षा निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउन कलेजका एकेडेमी निर्देशक डा. रुबी श्रेष्ठ (यास्मिन), मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल रवि शंकर गुप्ता, नर्सिङ क्याम्पसकी भाइस प्रिन्सिपल डा. बबिता सिंह लगायत प्राध्यापक तथा कर्मचारीहरूको सक्रिय भुमिका रहेको थियो।

यस्ता बौद्धिक प्रतिस्पर्धाले विद्यार्थीहरूबीच ज्ञान आदानप्रदानलाई प्रवर्द्धन गर्नुका साथै मेडिकल शिक्षामा नयाँ ऊर्जा थप्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कोडेक कृषि सहकारीको तेस्रो वार्षिक अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन

0

सेढवा । श्री कोडेक कृषि सहकारी संस्था लिमिटेड, सखुवा प्रसौनी गाउँपालिका–२, औराहा पञ्चगावाँको तेस्रो वार्षिक अधिवेशन सम्पन्न भएको छ । वडा सदस्य झपसी दुसादिनको प्रमुख आतिथ्यतामा कार्यक्रम सौहार्दपूर्ण वातावरणमा आयोजना गरिएको थियो ।

अधिवेशनमा सहकारीका सदस्यहरूले संस्थाको हालसम्मको प्रगति, आर्थिक अवस्था, सञ्चालन गतिविधि तथा आगामी योजनाबारे विस्तृत छलफल गरेका थिए । कुल २८ जना सदस्यको सहभागिता रहेको कार्यक्रममा सहकारीलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने विषयमा विशेष जोड दिइएको थियो ।

अधिवेशनले आगामी कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नवगठित समितिले सहकारीको संस्थागत विकास, किसानहरूको हित संरक्षण तथा उत्पादनमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा सहभागी सदस्यहरूले सहकारीलाई सुदृढ, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्न एकजुट भएर अघि बढ्ने अठोट व्यक्त गरेका छन्।

वीरगंजमा साइबर सुरक्षा तालिम सम्पन्न, डिजिटल अपराध नियन्त्रण सचेतनामा जोड

0

वीरगंज । सूचना तथा सञ्चार प्रविधि दिवस–२०८३ को अवसरमा “सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार” भन्ने मूल नारासहित वीरगंजमा एक दिवसीय साइबर सुरक्षा (Cyber Security) तालिम तथा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ, पर्सा जिल्ला शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा पछिल्लो समय बढ्दै गएको साइबर अपराध, अनलाइन ठगी तथा डिजिटल सुरक्षासँग सम्बन्धित चुनौतीहरूबारे केन्द्रित रही प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रम क्यान महासंघ पर्साका अध्यक्ष गणेश कुमारको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथिका रूपमा प्रशान्त कुमारको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रतिक्षा अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा सूरज पटेल, रोशनी लामिछाने, प्रविण राज भण्डारी, राजेश थापा, निरञ्जन केशरी र प्रदिप कर्ण लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमका वक्ताहरूले इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग तीव्र रूपमा बढ्दै गइरहेको अवस्थामा साइबर सुरक्षासम्बन्धी ज्ञान र सचेतना अपरिहार्य बन्दै गएकोमा जोड दिएका थिए । उनीहरूले व्यक्तिगत तथा संस्थागत डेटा सुरक्षाका उपाय अपनाउन र अनलाइन गतिविधिमा सतर्क रहन आग्रह गरेका थिए ।

कार्यक्रम सफल बनाउन नेपाल डिजिटल एजुकेशन (NDE) र डायनामिक टेक्नोसफ्टले सहयोगी संस्थाका रूपमा सहकार्य गरेका थिए ।

वीरगंजका निजी विद्यालयमा पुस्तक परिवर्तनको मनपरी, कमिशनको खेलले अभिभावक मारमा

0

वीरगंज । वीरगंजका निजी विद्यालयहरूले पुस्तकमा लिने कमिशनको प्रचलन यस वर्ष पनि निरन्तरता दिएका छन् । सरकारले हरेक वर्ष पुस्तक परिवर्तन नगर्न निर्देशन दिए पनि यहाँका अधिकांश निजी विद्यालयहरूले त्यसको पालना नगरेको पाइएको छ ।

वीरगंजका नाम चलेका विद्यालयहरूसहित अधिकांशले नर्सरीदेखि कक्षा १० सम्मका पुस्तकहरू परिवर्तन गरेका छन् । पुस्तक व्यवसायीहरूका अनुसार विद्यालयहरूले कमिशनको लोभमा हरेक वर्ष नयाँ पुस्तक लागू गर्ने गरेका छन् ।

अभिभावकका अनुसार दिल्ली पब्लिक, ज्ञानदा एकेडेमी, गौतम, कादम्बरी, रोयल एकेडेमी, जीवन ज्योति, बीपीएस लगायतका प्रतिष्ठित विद्यालयहरूले यस वर्ष पनि पुस्तक परिवर्तन गरेका छन् । ती विद्यालयहरूले सिधै प्रकाशन संस्थासँग सम्झौता गरेर पुस्तक लागू गर्ने गरेका छन् ।

शिक्षा क्षेत्रका जानकारहरू भन्छन्—धेरैजसो विद्यालयले पुस्तकको गुणस्तरभन्दा पनि बढी कमिशन दिने प्रकाशनका पुस्तकलाई प्राथमिकता दिने गरेका छन् । यसले विद्यार्थीको शैक्षिक गुणस्तरभन्दा आर्थिक स्वार्थलाई प्राथमिकता दिएको देखिन्छ ।

उदाहरणका लागि, गौतम स्कूलले गत वर्षको पुस्तक हटाएर यस वर्ष ईसीईसी (ECEC) पब्लिकेशनका अंग्रेजी, नेपाली र गणितका पुस्तक लागू गरेको छ । शिक्षकहरूकै भनाइमा अघिल्ला पुस्तकहरू तुलनात्मक रूपमा स्तरीय थिए, तर परिवर्तनको कारण स्पष्ट छैन ।

त्यस्तै, केही विद्यालयहरूले सीमित पुस्तक पसलहरूसँग मात्र कारोबार गर्ने गरेका छन् । पूजा पुस्तक, गणेश पुस्तक, लक्ष्मी पुस्तक जस्ता पसलहरूसँग मिलेमतोमा पुस्तक बिक्री हुने गरेको आरोप छ । यसका कारण अभिभावकहरूले अन्य पसलबाट पुस्तक किन्न पाउँदैनन् र छुट सुविधा पनि प्राप्त गर्न सक्दैनन् । यी पसलहरु अभिभावकलाई छुट सुविधा उपलब्ध गराउँदैनन् ।

अझै गम्भीर कुरा के छ भने केही प्रकाशनका एउटै नाम र संस्करण भएका पुस्तकहरू बजारमा फरक–फरक सामग्रीसहित बिक्री भइरहेको पाइएको छ, जुन कानुनी रूपमा अनुचित मानिन्छ । उदाहरणका रूपमा कक्षा १० को साइन्स एण्ड टेक्नोलोजी विषयको रिलायन्स पब्लिकेशनको पुस्तक फरक फरक सामग्री सहित भेटिएकाे हाे ।

स्राेतका अनुसार जिवन ज्याेति मावि, वीरगंज पब्लिक स्कुल, कादम्बरी स्कुलले लगाएकाे यी बुक सिमित पसलमा पाइरहेकाे छ । तर सेम एडिसन भएकाे उही पब्लिकेशन र नाम भएकाे पुस्तक अरु पसलमा पाउँदा समेत त्याे पुस्तक विद्यालयले मानेकाे छैन । किनभने पुस्तककाे नाम, एडिसन, पब्लिकेशन सेम भएपनि पुस्तक भित्र पाठ्य सामग्री फरक छ ।

हरेक वर्ष हुने पुस्तक परिवर्तनले अभिभावकहरूलाई आर्थिक भार थप्नुका साथै अनावश्यक झन्झट पनि निम्त्याएको छ । तर यस विषयमा सम्बन्धित निकायको प्रभावकारी निगरानी नहुँदा समस्या ज्यूँका त्यूँ रहेको छ ।

सिर्सिया नदी संरक्षणका लागि प्रधानमन्त्रीलाई खुला पत्र, तत्काल हस्तक्षेपको माग

0

वीरगंज । सिर्सिया नदीको बढ्दो प्रदूषण र अतिक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै स्थानीय अभियन्ताले प्रधानमन्त्री बालेन्द्र साहलाई खुला पत्र मार्फत तत्काल हस्तक्षेप गर्न माग गरेका छन् । वीरगंजका अभियन्ता ओमप्रकाश सरार्फले लेखेको उक्त पत्रमा सिर्सिया नदीलाई प्रदूषणमुक्त तथा अतिक्रमणमुक्त बनाउन ठोस पहल गर्न आग्रह गरिएको छ ।

पत्रमा सिर्सिया नदी वीरगंज महानगर र आसपासका हजारौं नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको ‘लाइफलाइन’ भए पनि अहिले अत्यन्तै प्रदूषित अवस्थामा पुगेको उल्लेख गरिएको छ । नदीमा औद्योगिक ढल, रासायनिक फोहोर तथा अव्यवस्थित फोहोर व्यवस्थापनका कारण गम्भीर वातावरणीय संकट सिर्जना भएको जनाइएको छ ।

अभियन्ता सरार्फका अनुसार नदीको प्रदूषण सीमापार भारतको रक्सौलसम्म फैलिएको छ, जसले अन्तर्राष्ट्रिय सम्बन्धमा समेत नकारात्मक असर पारिरहेको छ । विगतमा पवित्र मानिएको नदी अहिले ‘जहर’मा परिणत भएको उल्लेख गर्दै उनले यसको संरक्षणमा ढिलाइ भए थप भयावह अवस्था सिर्जना हुने चेतावनी दिएका छन् ।

पत्रमा स्थानीय बासिन्दाले दुर्गन्ध, स्वास्थ्य समस्या, कृषि उत्पादनमा गिरावट, भूजल प्रदूषण जस्ता समस्या भोग्नुपरेको उल्लेख गरिएको छ । नदी किनारका समुदायहरू सबैभन्दा बढी प्रभावित बनेका छन् ।

अभियन्ताले एक दशकभन्दा बढी समयदेखि नागरिकस्तरबाट आन्दोलन, संघर्ष तथा सत्याग्रह गर्दै आए पनि समस्या समाधान हुन नसकेको गुनासो गरेका छन्। कानुनी पहल गर्दा समेत अपेक्षित सुनुवाइ नभएको उनको भनाइ छ ।

प्रधानमन्त्रीसमक्ष पेश गरिएका मागहरूमा उद्योगबाट नदीमा मिसाइने ढल र रासायनिक फोहोरमा कडा निगरानी, नदी सफाइका लागि राष्ट्रिय अभियान सञ्चालन, आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण, प्रदूषण गर्ने उद्योगमाथि कानुनी कारबाही, तीन तहका सरकारबीच समन्वय, नदी किनार अतिक्रमण हटाउने र हरियाली प्रवर्द्धन तथा नदीलाई पर्यटकीय पूर्वाधारका रूपमा विकास गर्ने लगायतका विषय समावेश छन् ।

सिर्सिया नदीको संरक्षणलाई वीरगंज मात्र नभई समग्र राष्ट्रको वातावरण, जनस्वास्थ्य र भावी पुस्तासँग जोडिएको विषय भएको उल्लेख गर्दै सरार्फले सरकारबाट शीघ्र ठोस कदम चालिने अपेक्षा व्यक्त गरेका छन् । साथै माग सम्बोधन नभए नागरिकस्तरको आन्दोलन निरन्तर जारी रहने चेतावनी समेत दिएका छन् ।