Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
Home Blog Page 100

अन्तर्राष्ट्रिय नर्सिङ दिवसमा नेशनल मेडिकल कलेजमा नर्सहरूको सम्मान

0

वीरगंज । २०६औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेशनल मेडिकल कलेज वीरगंजद्वारा आयोजित विशेष कार्यक्रम वीरगञ्जस्थित कलेजको लेक्चर थिएटर–१ मा भव्य रूपमा सम्पन्न भएको छ ।

“हाम्रा नर्स, हाम्रो भविष्य – सशक्त नर्सहरूले जीवनको सेवा गर्छन्” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नर्सिङ निर्देशक प्रा. गंगा गुरुङको अध्यक्षता तथा कलेजका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रबन्ध निर्देशक शहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ, एडमिसन तथा मार्केटिङ निर्देशक आबिद हुसेन अन्सारी तथा अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गान तथा पानस प्रज्वलनबाट गरिएको थियो। त्यसपछि नर्सिङ विद्यार्थीहरूले दीप प्रज्वलन तथा शपथ ग्रहण गरेका थिए। स्वागत नृत्यसहित विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रममा प्राचार्य प्रा.डा. के.एन. सिंह, उप–प्राचार्य प्रा.डा. रविशंकर गुप्ता तथा नर्सिङ क्याम्पसकी उप–प्राचार्य प्रा.डा. बबिता सिंहले नर्सिङ पेशाको गरिमा, समर्पण र स्वास्थ्य सेवामा नर्सहरूको अतुलनीय योगदानबारे धारणा राखेका थिए।

त्यसैगरी अतिथिहरूले नर्सहरू स्वास्थ्य प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको सेवाभाव र समर्पणको उच्च प्रशंसा गरेका थिए। कार्यक्रममा पाँच वर्षभन्दा बढी समयदेखि सेवा गर्दै आएका नर्सहरूलाई विशेष सम्मान समेत गरिएको थियो। साथै अस्पतालका कर्मचारीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम संयोजक तथा प्राध्यापक जाफ्रे आलम अन्सारीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा विभिन्न विभागका प्राध्यापक, चिकित्सक, नर्सिङ विद्यार्थी, अस्पतालका कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दीपनारायण विद्यालयमा निःशुल्क आँखा शिविर, ५१५ विद्यार्थी र शिक्षक लाभान्वित

0

वीरगंज । नेपाल नेत्रज्योति संघ को आयोजनामा श्री दीपनारायण आदर्श नमूना माध्यमिक विद्यालय मा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थी तथा शिक्षकहरूको आँखासम्बन्धी स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले आयोजित उक्त शिविरबाट सयौं व्यक्ति लाभान्वित भएका छन्।

कार्यक्रमको सभापतित्व नेपाल नेत्रज्योति संघ पर्साका सभापति भगवती चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल को उपस्थिति रहेको थियो । पोखरेलले विद्यार्थीहरूलाई चश्मा तथा उपचारसम्बन्धी पर्चा हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

शिविरमा विद्यालयका विद्यार्थी तथा शिक्षक गरी करिब ५१५ जनाको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ । परीक्षणका क्रममा आवश्यकताअनुसार निःशुल्क औषधि तथा चश्मासमेत वितरण गरिएको थियो ।

कार्यक्रमपछि विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूले नेपाल नेत्रज्योति संघ परिवारप्रति आभार व्यक्त गरेका थिए। विद्यालय व्यवस्थापन समितिका सदस्य राजन श्रीवास्तव ले यस्ता स्वास्थ्यसम्बन्धी शिविरहरूले विद्यार्थीहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक उपचारमा सहज पहुँच पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

आयोजकका अनुसार आगामी दिनमा पनि समुदायस्तरमा यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिइनेछ ।

वीरगंजमा रगतको चरम अभाव, रक्तदान गर्न आग्रह

0
एआईकाे सहयाेगमा तयार पारिएकाे सांकेतिक तस्बिर

वीरगंज । अत्यधिक गर्मी बढेसँगै वीरगंजस्थित रक्त सञ्चार केन्द्रमा विभिन्न समूहका रगतको अभाव भएको छ। केन्द्रका प्रमुख सरोज राज पाण्डेका अनुसार हाल केन्द्रमा O Positive (0+ve) बाहेक अन्य कुनै पनि रक्त समूहको पर्याप्त मौज्दात छैन ।

उनका अनुसार वीरगंजका विभिन्न अस्पतालमा उपचाररत बिरामीको संख्या बढ्दै गएपछि रगतको माग उच्च भएको छ । दुर्घटना, शल्यक्रिया, प्रसूति तथा दीर्घरोगी बिरामीका लागि दैनिक ठूलो मात्रामा रगत आवश्यक पर्ने भए पनि पछिल्लो समय रक्तदान कार्यक्रम न्यून हुँदा समस्या जटिल बन्दै गएको उनले बताए ।

गर्मी मौसमका कारण विभिन्न संघ/संस्था तथा क्लबहरूले नियमित रूपमा आयोजना गर्दै आएका रक्तदान कार्यक्रम कम भएका कारण रगत संकलनमा असर परेको केन्द्रको भनाइ छ । “अस्पतालहरूबाट दैनिक रगतको माग आइरहेको छ, तर आवश्यक परिमाणमा रगत उपलब्ध गराउन कठिन भइरहेको छ,” प्रमुख पाण्डेले भने ।

रक्त सञ्चार केन्द्रले सामाजिक संघसंस्था, युवा क्लब, शैक्षिक संस्था तथा सर्वसाधारणलाई रक्तदान कार्यक्रम आयोजना गर्न तथा स्वेच्छिक रक्तदानमा सहभागी हुन आग्रह गरेको छ । केन्द्रले स्वस्थ व्यक्तिलाई रक्तदान गर्न आग्रह गर्दै एक युनिट रगतले कसैको ज्यान बचाउन सक्ने उल्लेख गरेको छ ।

रक्त अभावका कारण आकस्मिक बिरामी तथा शल्यक्रियामा समेत समस्या हुन सक्ने भन्दै केन्द्रले समयमै रक्तदान गरी मानवीय सहयोग गर्न सबैमा अपिल गरेको छ ।

पर्सामा लागूऔषधसहित ४ जना पक्राउ

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान अन्तर्गत लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८३ वैशाख २८ गते वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित चेकपोइन्टमा भारतबाट नेपालतर्फ आउने पैदल यात्री तथा सवारी साधनहरूमा चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा २६ वर्षीय पैयाल अन्सारी, ३४ वर्षीय संजय साह र २१ वर्षीय विशाल यादव रहेका छन् । उनीहरूको साथबाट खैरो हिरोइन र चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पैयाल अन्सारी र संजय साहबाट ०.१० मिलिग्राम खैरो हिरोइन तथा ४ ग्राम चरेस बरामद गरेको जनाएको छ । त्यसैगरी संजय साहकै साथबाट थप ३ ग्राम ४२ मिलिग्राम खैरो हिरोइन फेला परेको थियो भने विशाल यादवबाट ०.४३ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका चारै जनामाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

रामजन्म तिवारीको २७औँ स्मृति दिवस वीरगंजमा मनाइयाे

0

वीरगंज । मधेशवादी आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय रामजन्म तिवारीको २७औँ स्मृति दिवस वीरगंजमा मनाइएको छ। वीरगंजको घण्टाघरस्थित स्व. तिवारीकाे सालिक परिसरमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक तथा बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रोफेसर भाग्यनाथ गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेशवादी आन्दोलनका योद्धा अधिवक्ता सुरेन्द्र कुर्मी, अधिवक्ता पन्नालाल गुप्ता, शशी कपूर मियाँ, नेजामुदिन समानी, शिव पटेल, शम्भु गुप्ता, श्याम गुप्ता, अखिलेश प्रसाद लगायत स्व. तिवारीका पुत्र अधिवक्ता आशुतोष तिवारी, परिवारजन, अनुयायी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले स्व. तिवारीको सालिकमा माल्यार्पण तथा पुष्प अर्पण गर्दै उहाँले देखाएको मार्गमा अघि बढ्दै अधिकार सम्पन्न, समुन्नत मधेश र समृद्ध नेपाल निर्माण गर्ने संकल्प व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता सुरेन्द्र कुर्मीले स्व. रामजन्म तिवारीलाई मधेशी जनताको हक–अधिकारका लागि पहिलो पटक सशक्त आवाज उठाउने योद्धाका रूपमा स्मरण गरे । उनले स्व. तिवारीले २००७ सालको क्रान्तिदेखि पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनसम्म निरन्तर संघर्ष गरेको उल्लेख गर्दै विभिन्न समयमा जेल जीवन बिताउनुपरे पनि कहिल्यै विचलित नभएको बताए ।

कुर्मीले २०४६ सालको जनआन्दोलनमा पनि स्व. तिवारी अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे । उनले नेपाल सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीको रूपमा विस्तार गरी मधेशी मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गराउन महत्वपूर्ण योगदान दिएको बताए । चुनावपछि स्वयं मन्त्री नबनी गजेन्द्र नारायण सिंहलाई मन्त्री बनाएर मधेशी मुद्दालाई संसदसम्म पुर्‍याउन त्यागपूर्ण भूमिका खेलेको उनले बताए।

कार्यक्रमका अध्यक्ष प्रो. भाग्यनाथ गुप्ताले २००७ सालदेखि नै मधेश र मधेशी समुदायको आवाज बुलन्द गर्ने पहिलो योद्धा स्व. रामजन्म तिवारी नै रहेको बताए । उनले मधेशी समुदायमाथि भएको विभेदविरुद्ध तराई कांग्रेसमार्फत नेपाली कांग्रेस सरकार र तत्कालीन राजा त्रिभुवनसमक्ष समेत आवाज उठाएको स्मरण गरे ।

प्रो. गुप्ताले राजा महेन्द्रद्वारा २०१६ सालमा जननिर्वाचित सरकार हटाएर सत्ता आफ्नो हातमा लिएपछि स्व. तिवारीले त्यसको कडा विरोध गरेको बताए । साथै पञ्चायती व्यवस्थाका क्रममा हर्क गुरुङको बसाइँसराइ सम्बन्धी प्रतिवेदन तथा मधेशविरोधी नीतिको समेत सशक्त विरोध गर्दा पटक–पटक जेल जानुपरेको स्मरण गरे ।

कार्यक्रममा स्वागत मन्तव्य स्व. तिवारीका पुत्र अधिवक्ता आशुतोष तिवारीले राखेका थिए भने कार्यक्रम सञ्चालन वीरगंज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंहले गरेका थिए ।

पर्सामा २१ वर्षदेखि फरार सवारी ज्यान मुद्दाका अभियुक्त पक्राउ

0
एआईकाे सहयाेगमा तयार पारिएकाे तस्बिर

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले २१ वर्षदेखि फरार रहेका सवारी ज्यान मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–५ पंचरुखी बस्ने ४७ वर्षीय दिनेश प्रसाद यादव रहेका छन् ।

प्रहरीका अनुसार मिति २०६२ साल मंसिर १५ गते वीरगंज महानगरपालिका–१४ चिनीमिल आवास क्षेत्र अगाडिको सडकखण्डमा ना.३ प ६३६२ नम्बरको मोटरसाइकलले पैदलयात्री बारा निवासी ६५ वर्षीय कालिका सिंह राजपुतलाई ठक्कर दिएको थियो । दुर्घटनापछि घाइते राजपुतलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएकोमा उपचारकै क्रममा मंसिर २६ गते चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि मोटरसाइकल चालक यादव सवारीसाधन घटनास्थलमै छाडेर फरार भएका थिए । लामो समयदेखि फरार रहेका उनलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी सवारी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।

घुससहित पक्राउ परेका विद्युत प्राधिकरणका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण अन्तर्गत वितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्र कुमार दास विरुद्ध घुस/रिसवत लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी विद्युत लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दासलाई सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा दासले चार्जिङ स्टेशन सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा भइसकेपछि लाइन छाडिदिएवापत सेवाग्राहीसँग घुस रकमका लागि बार्गेनिङ गरेको तथा रकम नदिए लाइन काटिदिने धम्कीसमेत दिएको खुलेको अख्तियारले जनाएको छ ।

आयोगले दासविरुद्ध विशेष अदालत मा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गर्दै बिगो १ लाख ४० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

कांग्रेस केन्द्रीय सदस्यमा पर्साका रिजाल र चौरसिया मनोनीत

0

वीरगंज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पर्साका दुई नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

सभापति थापाले सोमबार पार्टी विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम पर्साका रमेश रिजाल र अजय कुमार चौरसियालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

दुवै नेता यसअघि शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा पनि केन्द्रीय सदस्य थिए । रिजाल लामो समयदेखि पार्टी संगठन तथा मधेस राजनीतिमा सक्रिय नेताका रूपमा परिचित छन् भने चौरसिया पनि पर्सा जिल्लामा कांग्रेस संगठन विस्तारमा सक्रिय रहँदै आएका छन् ।

सभापति थापाले सोमबार कुल १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । तीमध्ये पर्साबाट दुई नेताले अवसर पाएका हुन् ।

गाैतम माविकाे विवाद सहमतिमा टुंगियो, विद्यालयले व्यक्त गर्‍यो खेद

0

वीरगंज । गौतम माध्यमिक विद्यालय मा अध्ययनरत दुई छात्रामाथि भएको व्यवहार सम्बन्धी विवाद अन्ततः आपसी सहमति र मेलमिलापमार्फत समाधान गरिएको छ ।

विद्यालय र अभिभावक पक्षबीच भएको सहमति–पत्र अनुसार नयाँ शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा गत वैशाख २१ गते विद्यालय परिसरमा विद्यार्थी भर्ना प्रवेश परीक्षा सञ्चालन भइरहेको तथा बाहिर ग्रीनसिटी अभियान र वीरगंज महानगरपालिका को सहकार्यमा नाला सफाइ कार्यक्रम चलिरहेका कारण अत्यधिक भीडभाड भएको उल्लेख गरिएको छ ।

सोही क्रममा कक्षा–१० मा अध्ययनरत छात्रा अंकिता गुप्ता र कक्षा–८ की छात्रा आराध्या गुप्ता कक्षा प्रवेश कार्ड साथमा नल्याई आएको कारण केही समय कक्षाबाहिर बस्नुपरेको जनाइएको छ । उक्त विषयमा छात्राहरूसँग सहज संवाद गरी कक्षामा प्रवेश गराउनुपर्नेमा परिस्थितिवश त्यसो हुन नसकेको र त्यसबाट छात्रा तथा अभिभावकलाई मानसिक पीडा पुगेकोप्रति विद्यालय प्रशासनले हार्दिक खेद प्रकट गरेको छ ।

विद्यालयले उक्त घटना नियतवश नभई परिस्थितिजन्य भएको स्पष्ट पार्दै भविष्यमा यस्ता त्रुटि पुनः नदोहोरिने प्रतिबद्धता जनाएको छ । दुवै पक्षबीच आपसी समझदारी, सहमति तथा मेलमिलापमार्फत विवाद समाधान गरी सुमधुर सम्बन्ध कायम राख्न सहमति भएको जनाइएको छ ।

सहमति–पत्रमा अभिभावक पक्ष प्रथम पक्ष तथा विद्यालय दोस्रो पक्षका रूपमा रहेका छन् । सहमतिमा पिन्टु रानिमार, सन्तोष पटेल, ललित कर्ण र रमेश कुमार शर्मा साक्षी बसेका छन् भने सुरेश प्रसाद गुप्ता रहोबर रहेका छन् ।

विद्यालय–पसलको मिलेमतोमा आर्थिक शोषण, पर्सा प्रशासनद्वारा कारवाहीको चेतावनी

0
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले निजी विद्यालय र पुस्तक तथा पोशाक पसलहरूको मिलेमतोमा भइरहेको आर्थिक शोषणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानून विपरीत विद्यार्थी तथा अभिभावकलाई तोकिएकै निश्चित पसलबाट मात्र पाठ्यपुस्तक र विद्यालय पोशाक खरिद गर्न बाध्य पार्ने कार्य तत्काल बन्द गर्न चेतावनी दिएको हो ।

सूचनामा कतिपय निजी विद्यालयहरूले अभिभावकलाई अन्य पसलबाट सामान खरिद गर्न नदिई निश्चित पसलबाट मात्र किन्न बाध्य बनाएको, साथै उपभोक्ताले पाउनुपर्ने छुटसमेत नदिई विद्यालय प्रशासन र व्यवसायीबीच मिलेमतोमा गैरकानूनी आर्थिक लाभ लिइरहेको भन्ने जनगुनासो प्राप्त भएको उल्लेख गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा जारी सूचनामा यस्तो सिन्डिकेट, एकाधिकार र आर्थिक शोषणजन्य गतिविधि तत्काल बन्द नगरे विद्यालय र सम्बन्धित पसल दुवैलाई प्रचलित ऐन तथा कानून बमोजिम हदैसम्मको कडा कानुनी कारवाही गरिने चेतावनी दिइएको छ ।

कार्यालयले अभिभावक तथा सरोकारवालालाई यदि कसैले निश्चित पसलबाट मात्रै किताब वा पोशाक खरिद गर्न बाध्य पारेको प्रमाण, बिल वा अन्य ठोस आधार भए कार्यालयमा उजुरी दर्ता गराई कानुनी कारवाहीमा सहयोग गर्न आग्रह गरेको छ ।

वीरगंजका अधिकांश निजी विद्यालयहरूले केही सीमित पुस्तक तथा कपडा पसलसँग मात्रै कारोबार गर्दै आएका छन् । ती पसलहरूले विद्यालयलाई मोटाे रकम कमिशनका रूपमा उपलब्ध गराउने गरेको आरोपसमेत लाग्दै आएको छ ।

वीरगंजका चर्चित तथा नाम चलेका विद्यालयहरू पनि कमिशनको लोभमा निश्चित पसलसँग मात्र कारोबार गर्दै आएको अभिभावकहरूको गुनासो छ ।

यस विषयमा कालिका टाइम्स लगायतका केही सञ्चारमाध्यमहरूले समाचार प्रकाशन गरेपछि जिल्ला प्रशासनकाे ध्यानाकर्षण भएको हाे । प्रशासनको पछिल्लो चेतावनीपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा अभिभावकहरूले गरेका छन् ।

यसअघि वीरगंज महानगरपालिका शिक्षा महाशाखाले पनि निजी विद्यालयहरूलाई यस्ता गतिविधि नगर्न चेतावनी दिइसकेको छ ।