Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
Home Blog Page 101

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

0

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले ‘सञ्चारमाध्यम’ बलियो भए मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गर्नुभएको छ ।

शनिबार नेपाल पत्रकार महासङ्घ युरोप शाखाले पोर्चुगलको राजधानी लिस्बनमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष शर्माले मिडिया बलियो नभए लोकतन्त्र बलियो नहुने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष शर्माले प्रेस पूर्ण स्वतन्त्र हुनुपर्ने बताउँदै सरकारले मिडियामाथि अङ्कुश लगाउन नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले कृत्रिम बुद्धिमत्ताको प्रभावका कारण पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत ‘कन्टेन्ट’का नाममा भ्रम फैलाउने प्रवृत्तिले पत्रकारितामा असर पारेको धारणा राख्नुभयो ।

सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सूचना तथा समाचारको सत्यतथ्य परीक्षण गरेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकार र सञ्चारमाध्यम पनि उत्तरदायी र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियोे ।

अध्यक्ष शर्माले प्रवासी नेपाली समुदायका गतिविधि, समस्यालगायत विषयमा जानकारीमूलक तथा सूचनामूलक समाचार प्रवाह गर्न र पत्रकारितामार्फत समाजमा योगदान गर्न युरोपमा क्रियाशील नेपाली पत्रकारहरूलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले युरोपमा नेपाली पत्रकारिताको अवस्था, चुनौती, अवसर तथा संस्थागत सहकार्यका विषयमा आफ्ना धारणा राखेका थिए । सहभागीहरुले प्रवासमा पत्रकारितालाई प्रभावकारी बनाउन केन्द्र र शाखाबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउन संस्थागत सहकार्यमा जोड दिएका थिए ।

भगवानमा विश्वास गर्ने र इमान्दार जीवनसाथी खोजिरहेकी छु : नोरा फतेही

0

काठमाडौं । नोरा फतेहीलाई अहिले बलिउडमा कुनै पहिचानको आवश्यकता छैन । डान्सरबाट करिअर सुरु गरेकी उनी बलिउडमा पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । उनी हालै कमेडी फिल्म ‘मडगाउँ एक्सप्रेस’मा देखिएकी थिइन् ।

यो फिल्ममा उनको भूमिकालाई दर्शकले निकै रुचाएका छन् । हालै एक अन्तर्वार्ताका क्रममा अभिनेत्रीले आफ्नो पर्सनल लाइफ र आफ्नो वैवाहिक जीवनका बारेमा खुलेर कुरा गरेकी थिइन् ।

नोरा बलिउडमा बोल्ने शैलीका लागि चर्चित छिन् । हालै उनलाई तपाईं आफ्नो जीवनसाथीमा कस्ता गुण हेर्न चाहनुहुन्छ भनेर सोधिएको थियो । प्रश्नको जवाफमा नोरा भन्छिन्, ‘पहिलेभन्दा यतिबेला मेरो सोच्ने तरिका पूर्णरुपमा बदलिएको छ । प्रेम र विवाहको विषयमा मेरो धेरै पुरानो धारणा छ । म पनि बिहे गरेर बस्न चाहन्छु ।’

नोरा भन्छिन्, ‘म भगवानमा विश्वास गर्ने जीवनसाथीको खोजीमा छु । एकै समयमा उसले राम्रो केयर गर्ने हुनुपर्छ । मेरो लागि पैसा पछि आउँछ, त्यो भन्दा पहिले मानिसको लागि मनको राम्रो हुनु महत्वपूर्ण छ । इमानदारीपूर्वक भन्नुपर्दा आजको संसारमा धेरै स्वार्थी मानिस छन् जो तपाईंबाट फाइदा लिन चाहन्छन् । तिनीहरू केही वर्ष तपाईंसँग बस्छन्, तपाईंको फाइदा उठाउँछन् र छोड्छन् ।’

उनी विवाह गरेर बस्न तयार रहेको बताउँछिन् । ‘चार–पाँच वर्षअघि जीवनसाथीका बारेमा मैले सोचेका विचार एकदमै सतही थिए । अहिले धेरै बदलिसकेको छु । मैले एक आदर्श व्यक्तिको बारेमा फरक दृष्टिकोण विकास गरेको छु,’ नोरा भन्छिन्, ‘मलाई लाग्छ कि पहिला मैले गलत चीज खोज्दै थिएँ । म एक इमान्दार जीवनसाथीको खोजीमा छु जसको रूप पनि राम्रो होस् । मेरो मतलब, मलाई राम्रो आनुवंशिकी चाहिन्छ किनभने म सुन्दर बच्चाहरू जन्माउन चाहन्छु ।’

पुजा पुस्तकले अभिभावकलाई छुट दिदैन तर विद्यालयलाई कमिशन दिन्छ

5

वीरगंज । वीरगंजका अभिभावकहरूले न्यु पुजा पुस्तक पसलले निजी विद्यालयका पाठ्यपुस्तक बिक्रीमा अभिभावकलाई कुनै पनि छुट नदिने गरेको गुनासो गरेका छन् ।

अभिभावकहरूका अनुसार वीरगंजका अन्य पुस्तक पसलहरूले विद्यालयका किताबहरूमा १० देखि २५ प्रतिशतसम्म छुट दिने भए पनि न्यु पुजा पुस्तक पसलले भने एक प्रतिशत पनि छुट नदिने गरेको छ । यसले अभिभावकहरू आर्थिक रूपमा थप मारमा परेको उनीहरूको भनाइ छ ।

अभिभावकहरूले सो पसलले केही निजी विद्यालयहरूसँग मिलेमतो गरी पुस्तक बिक्रीको व्यवस्था गरेको आरोप समेत लगाएका छन् । उनीहरूका अनुसार उक्त पसलले विद्यालयहरूलाई मोटो कमिशन उपलब्ध गराउने कारणले विद्यालयहरूले अभिभावकलाई त्यही पसलमा किताब किन्न पठाउने गरेका छन् ।

यस्तै, कतिपय निजी विद्यालयहरूले अभिभावकलाई किताबको पूर्ण सूची समेत उपलब्ध नगराई न्यु पुजा पुस्तक पसलको कार्ड दिएर मात्र पुस्तक किन्न पठाउने गरेको आरोप पनि अभिभावकहरूको छ । यसले बजारमा प्रतिस्पर्धा कमजोर बनाउँदै अभिभावकहरूलाई अनावश्यक आर्थिक भार थपिएको उनीहरूको दाबी छ ।

पुस्तक पसल संचालकले निजि विद्यालयको किताब बढी फाईदा नहुने भएकोले छुट नदिने गरेको बताउँछन् ।  अभिभावकहरूले भने शिक्षा क्षेत्रमा पारदर्शिता र बजारमा निष्पक्षता कायम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

पोखरियामा बैश्य समाजकाे नगर समिति गठन

0

पोखरिया । पर्साको पोखरियामा सम्पन्न एक भेलाले बैश्य समाज पोखरिया नगर समिति सर्वसम्मत रूपमा गठन गरेको छ। कुल ९ सदस्यीय समिति गठन गरिएको हो।

समितिको अध्यक्षमा रामेश्वर साह तेली, उपाध्यक्षमा अजय प्रसाद कलवार र सचिवमा शैलेश साह कानु चयन भएका छन्। त्यस्तै सदस्यहरूमा उमेश साह कानु, बलिराम साह तेली, रामचन्द्र साह तेली, शिनाथ साह तेली, साधु साह रौनियार तथा रामचन्द्र साह तेली रहेका छन्।

बैश्य समाज पर्साका जिल्ला अध्यक्ष डा. सन्तोष कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेली समाज नेपालका केन्द्रीय अध्यक्ष विश्वनाथ साह तेली प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा कानु समाज नेपालका केन्द्रीय अध्यक्ष किशोरी साह कानु, पूर्व सांसद अरिनारायण रौनियार, पोखरिया नगरपालिकाका पूर्व मेयर दिपनारायण प्रसाद रौनियार, बैश्य समाज नेपालका केन्द्रीय सदस्य असरफी साह तेली, तेली समाज नेपाल पोखरिया नगर समितिका अध्यक्ष मोहन साह तेली, राजेश प्रसाद रौनियारलगायत विभिन्न समाजसेवी तथा अगुवाहरूको उपस्थिति रहेको थियो।

नवनिर्वाचित पदाधिकारीहरूले बैश्य समाजको एकता, सामाजिक विकास, शिक्षा, आर्थिक सशक्तिकरण तथा राज्यका विभिन्न निकायमा समुदायको सहभागिता वृद्धि गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वक्ताहरूले समुदाय अझै पनि छरिएर रहेको उल्लेख गर्दै आगामी दिनमा संगठित भएर हकहित र उत्थानका लागि अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

वीरगंज महानगरले भन्याे : आइतबार विद्यालय नखाेल्नु र किताब–ड्रेस बिक्री नगर्नु

0

वीरगंज । वीरगंज महानगरपालिकाले आइतबारका दिन पठनपाठन पूर्ण रूपमा बन्द गर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ ।

संघीय सरकारले सरकारी कार्यालयसहित शिक्षण संस्थाहरू हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने व्यवस्था गरे पनि वीरगंजका केही निजी विद्यालयहरूले उक्त निर्देशनको अवज्ञा गर्दै आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको पाइएको छ ।

यसलाई लक्षित गर्दै महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गरी निजी विद्यालय तथा मन्टेश्वरीहरूलाई अर्को सूचना जारी नभएसम्म आइतबारका दिन अनिवार्य रूपमा पठनपाठन बन्द गर्न निर्देशन दिएको हो ।

महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा केही विद्यालयहरूले सार्वजनिक बिदाका दिनसमेत कक्षा सञ्चालन गरिरहेको जानकारी प्राप्त भएकाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । साथै, महानगर क्षेत्रमा रहेका विद्यालयहरूको अनुगमनलाई थप प्रभावकारी बनाइने तयारी गरिएको पनि जनाइएको छ ।

त्यस्तै, केही निजी विद्यालयहरूले विद्यालय परिसरभित्रैबाट पाठ्यपुस्तक, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री बिक्री वितरण गरिरहेको गुनासो आएको भन्दै यस्तो गतिविधि तत्काल रोक्न निर्देशन दिइएको छ । निर्देशनको अवज्ञा भएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत महानगरपालिकाले दिएको छ ।

महानगरपालिकाका अनुसार विद्यालयलाई व्यापारिक केन्द्रका रूपमा प्रयोग गर्ने प्रवृत्तिले विद्यार्थी तथा अभिभावकमाथि अनावश्यक आर्थिक भार थपिरहेको छ । साथै, पाठ्यक्रम विकास केन्द्रले तोकेकोभन्दा बढी तथा अनावश्यक पुस्तक विद्यार्थीलाई प्रयोग गराउने कार्यप्रति पनि महानगर गम्भीर बनेको छ ।

अत्यधिक पुस्तकको बोझले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा प्रत्यक्ष असर पर्ने भएकाले यस्तो अभ्यास तत्काल रोक्न निर्देशन दिइएको छ । आवश्यकभन्दा बढी पाठ्यपुस्तक प्रयोग गराई अभिभावकलाई आर्थिक भार र विद्यार्थीलाई तनाव दिने कार्य सह्य नहुने महानगरले स्पष्ट पारेको छ ।

अनुगमनका क्रममा अनावश्यक पुस्तक प्रयोग भएको पाइएमा सम्बन्धित विद्यालय प्रशासनमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि चेतावनी दिइएको छ ।

महानगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन गर्ने, विद्यालयबाटै किताब तथा पोशाक बिक्री गर्ने वा विद्यार्थीमाथि अनावश्यक पुस्तकको बोझ थोपर्ने कार्य दोहोरिएमा कुनै पनि हालतमा छुट नदिइने स्पष्ट गरेको छ ।

प्रि–प्राइमरी शिक्षकलाई अभिमुखिकरण

0

वीरगंज । वीरगंज महानगरपालिका–१२, मुर्लीस्थित विद्या सदन माध्यमिक विद्यालयमा एकदिने “प्रारम्भिक बालविकास (ईसिडी) अभिमुखीकरण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।

अभ्यास नेपाल शैक्षिक प्रतिष्ठान प्रा. लि. को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रि–प्राइमरी तहमा अध्यापनरत शिक्षक–शिक्षिकाहरूको उत्साहपूर्ण तथा सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रारम्भिक बालविकास शिक्षाको महत्व, बालमैत्री शिक्षण पद्धति, सिर्जनात्मक कक्षाकोठा व्यवस्थापन, प्रभावकारी शिक्षण–सिकाइ प्रक्रिया तथा बालबालिकाको समग्र विकाससँग सम्बन्धित विविध पक्षहरूबारे विस्तृत अभिमुखीकरण प्रदान गरिएको थियो।

तालिमका क्रममा सहभागी शिक्षक–शिक्षिकाहरू अत्यन्त उत्साहित देखिएका थिए। उनीहरूले यस्ता कार्यक्रमहरूले आफ्नो शिक्षण सीप, आत्मविश्वास तथा पेशागत दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

विद्यालय प्रशासनले प्रारम्भिक तहको शिक्षा बालबालिकाको भविष्य निर्माणको आधार भएकाले यस तहका शिक्षकहरूको क्षमता विकासलाई विशेष प्राथमिकतामा राखिएको जनाएको छ।

वीरगंजमा लागुऔषधसहित दुई युवति र ६ पुरुष पक्राउ

0
प्रहरीले पक्राउ परेकाहरुसंग बरामद गरेकाे सामान ।

वीरगंज । पर्सा प्रहरीले सञ्चालन गरिरहेको “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान” अन्तर्गत लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ वैशाख २५ गते साँझ वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित चेकपोष्टमा भारतबाट नेपालतर्फ आउने पैदल यात्री तथा सवारी साधनहरूमा जाँच गर्ने क्रममा विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको हो ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, सेतो हेरोइन तथा प्रतिबन्धित ट्याब्लेट बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा २७ बर्षिय विकास कुमार साह, २३ बर्षिय कबिन पराजुली, २० बर्षिय सागर घिमिरे, २३ बर्षिय पूजा जिम्बा, २९ बर्षिय अन्जन थापा, १९ बर्षिय रमेश बम्जन, ३७ बर्षिय राजु बानिया र ५२ बर्षिय अलिहदन मियाँ रहेका छन् ।

प्रहरीका अनुसार विकास कुमार साह र कबिन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको थियो भने अन्य व्यक्तिहरूबाट समेत विभिन्न परिमाणमा लागुऔषध फेला परेको हो । साथै म.प्र.०३–०२८ प ७६५६ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुकाे ठेगाना प्रहरीले खुलाएकाे छैन ।

पक्राउ परेका सबैमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

वीरगंजमा मोटरसाइकल चोरी गर्दै गरेका युवक पक्राउ

0
एआईकाे सहयाेगमा तयार पारिएकाे सांकेतिक तस्बिर

वीरगंज । पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्दै गरेका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ निवासी २० वर्षीय अकतर हुसेन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत २०८३ वैशाख २५ गते साँझ करिब ७ बजे जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका–७ निवासी ३२ वर्षीय दिपेन्द्र कुमार गुप्ताको नाममा दर्ता रहेको प्र.२–०३–०१९ प ६३५० नम्बरको २२० सीसीको कालो–रातो रंगको पल्सर मोटरसाइकल वीरगंज महानगरपालिका–१३ स्थित नारायणी यातायात कार्यालय अगाडि पार्किङ गरी राखिएको थियो ।

सोही क्रममा मोटरसाइकलको लक तोडी चोरी गरी भाग्ने प्रयास भइरहेको अवस्थामा स्थानीयवासी र प्रहरीको संयुक्त सहयोगमा मोटरसाइकलसहित अकतर हुसेनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका हुसेनविरुद्ध चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

वीरगंजका विभिन्न क्यासिनोमा प्रहरीकाे छापा, ६ जना पक्राउ

0
फाइल तस्बिर

वीरगंज । पर्सा प्रहरीले वीरगंजस्थित विभिन्न क्यासिनोमा अनाधिकृत रूपमा प्रवेश गरी जुवातास खेलिरहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

वीरगंजका किङ क्यासिनो, फर्च्युन सिटी गेमिङ क्लब्स र क्यासिनो माहजोङमा नेपाली नागरिकहरू प्रहरीको मिलेमतोमा प्रवेश गरी जुवातास खेल्ने गरेको गुनासो उच्च तहसम्म पुगेपछि प्रहरीले छापामारी गरेको स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार राति करिब ११ः४० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त टोलीले वीरगंजका चार वटा क्यासिनोमा छापा मारेको हो ।

प्रहरीले किङ क्यासिनो, फर्च्युन सिटी गेमिङ क्लब्स र क्यासिनो माहजोङ लगायतका क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा भारत विहार घर बताउने २६ वर्षीय गणेश कुमार, ३८ वर्षीय संदिप कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव, ३६ वर्षीय ओमप्रकाश यादव तथा वीरगंज महानगरपालिका–३२ निवासी ३७ वर्षीय जमुदिन मियाँ अन्सारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरूको साथबाट ५ सय रुपैयाँ बराबरका क्वाइन, नेपाली रुपैयाँ ५ सय ५५, भारतीय रुपैयाँ १ हजार २ सय तथा दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

वीरगंजमा सञ्चालित सबै क्यासिनोमा नेपाली नागरिकको निर्बाध प्रवेश हुँदै आएको स्थानीयको आरोप छ । स्थानीय प्रहरीको संरक्षण र मिलेमतोका कारण यस्तो गतिविधि रोक्न नसकिएको गुनासो बढ्दै गएको बताइएको छ ।

स्रोतका अनुसार काठमाडौंसम्म गुनासो पुगेपछि तथा गृह मन्त्रालयबाट कडा निर्देशन आएपछि प्रहरीले अचानक छापामारी गरेको हो ।

क्यासिनोहरूमा मनोरञ्जनका नाममा युवतीहरू नचाउने, रातभर जुवातास सञ्चालन गर्ने तथा युवाहरूलाई आकर्षित गर्ने गतिविधि बढ्दै गएको स्थानीयले बताएका छन् । यसको असरले वीरगंजकाे लक्ष्मनवा, पिपरा र नगवा क्षेत्र लगायतका सयौँ युवा जुवाको कुलतमा फसेर आर्थिक संकटमा परेको दाबी गरिएको छ ।

कतिपय नेपालीहरूले नक्कली भारतीय आधार कार्ड बनाएर क्यासिनोमा प्रवेश गर्ने गरेको आरोपसमेत स्थानीयले लगाएका छन् । यस्ता गतिविधिबारे प्रहरी र क्यासिनो प्रशासन जानकार हुँदाहुँदै पनि प्रभावकारी कारवाही हुन नसकेको स्थानीयको गुनासो छ ।

वीरगंजमै अब मेडिकल र इञ्जिनियरिङ तयारी, फेम इन्स्टिच्युटद्वारा नयाँ भर्ना खुला

0

वीरगंज । “नाम मात्र निकाल्ने होइन, नाम कमाउने तयारी गर्नुहोस्” भन्ने नारासहित फेम इन्स्टिच्युटले वीरगंज तथा आसपासका क्षेत्रका +२ उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै मेडिकल, इञ्जिनियरिङ तथा म्यानेजमेन्ट प्रवेश तयारी कक्षाको नयाँ भर्ना अभियान सुरु गरेको छ।

संस्थाले एमबीबीएस, बीडीएस, नर्सिङ, बी.फार्मेसी, आईओई इञ्जिनियरिङ प्रवेश परीक्षा तथा सीएम्याट र म्यानेजमेन्ट तयारीसम्बन्धी विशेष कक्षा सञ्चालन गर्ने जनाएको छ । +२ परीक्षा सम्पन्न भएसँगै विद्यार्थीहरूलाई तयारी कक्षाका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्दै वीरगंजमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम विस्तार गरिएको संस्थाले जनाएको हो ।

संस्थाका अनुसार सीमित सिटमा मात्र कक्षा सञ्चालन हुने भएकाले इच्छुक विद्यार्थीलाई समयमै भर्ना हुन आग्रह गरिएको छ । मेडिकल, इञ्जिनियरिङ तथा म्यानेजमेन्ट प्रवेश परीक्षाका लागि अनुभवी शिक्षकद्वारा विशेष मार्गदर्शन र नियमित अभ्यास कक्षा सञ्चालन गरिने जनाइएको छ ।

“डाक्टर, इञ्जिनियर वा म्यानेजर बन्ने सपना अब आफ्नै शहरबाट सम्भव” भन्ने सन्देशसहित संस्थाले विद्यार्थीहरूको भविष्य निर्माणमा केन्द्रित कार्यक्रम अघि बढाएको जनाएको छ ।

वीरगंज महानगरपालिका–१२, पर्सास्थित नेशनल ट्रेडिङ भवनको छेउमा रहेको संस्थाले नियमित डेमो कक्षासमेत सञ्चालन गरिरहेको जानकारी दिएको छ । साथै, नाम दर्ता तथा थप जानकारीका लागि विभिन्न सम्पर्क नम्बरहरू सार्वजनिक गरिएको संस्थाले जनाएको छ ।

अध्ययनप्रति गम्भीर र प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीका लागि यो अभियान उपयोगी अवसर बन्ने विश्वास गरिएको छ ।