काठमाडौँ । सङ्घीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो एक सय दिनको कार्यकालका उपलब्धिहरू मंगलबार सार्वजनिक गर्दै मन्त्रालयको कामलाई जनअपेक्षाअनुसार द्रुतगतिमा अघि बढाइएको बताएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी गत असार ३१ गते पदभार ग्रहण गरेपछि आफूले मेलम्ची आयोजना पुनः सञ्चालनदेखि बाढी प्रभावित क्षेत्रहरूको पुनर्स्थापनासम्मका कार्यहरूमा विशेष ध्यान दिइएको बताए ।
उनले आफ्नो नेतृत्वमा मन्त्रालयले स्थलगत निरीक्षण र जनसंवादमार्फत योजनाहरूको प्रभावकारिता सुनिश्चित गर्दै सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाइएको दाबी गरे ।
बडादसैँ अगाडि नै मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने आफ्नो अठोट अनुरूप मेलम्चीको पानी गत असोज २२ गतेदेखि पुनः सुन्दरीजल प्रशोधन केन्द्र हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन थालिएको बताए । “यसले उपत्यकावासीलाई दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउन थालिएको छ,” उनले भने, “मेलम्ची आयोजनाको पुनः सञ्चालनमा मैले आफैँ मेलम्ची पुगेर स्थानीय जनप्रतिनिधि र सङ्घर्ष समितिका पदाधिकारीहरूसँग छलफल गरेर पानी आपूर्तिमा सहयोग गर्न अनुरोध गरेको थिए ।”
प्रत्यक्ष जनसंवाद र सहकार्यको प्रयासले काठमाडौँ उपत्यकाको खानेपानी सङ्कटलाई कम गर्न महत्त्वपूर्ण पुगेको उनले बताए । मन्त्री यादवले आफ्नो सय दिनको अवधिमा विभिन्न आयोजनाहरूको स्थलगत अनुगमन र निरीक्षण गर्दै व्यक्तिगत रूपमा प्रगतिमा चासो देखाएका थिए । उनले आयोजनास्थलमा पुगेर जिम्मेवार अधिकारीहरूलाई प्रक्रिया छिटो पूरा गरी काममा तीव्रता दिन समेत निर्देशन दिएका थिए ।
“स्थलगत अनुगमनका क्रममा मलाई जनताका समस्या प्रत्यक्ष बुझ्न र समाधान खोज्न मद्दत मिल्यो,” मन्त्री यादवले भने । उनको निरीक्षणको क्रममा स्थानीयहरूले सुझाव दिने अवसर पाएका थिए, जसले योजनाहरू अझ प्रभावकारी बनाउन सहयोग पुर्याएको छ ।
पानी आपूर्ति सुधारका लागि मन्त्रालयले काठमाडौँ उपत्यकामा एक हजार सात सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरेको मन्त्री यादवले बताए । “जसमा स्वयम्भू, ताहाचल, बालुवाटार, मन्डिखाटार र चाबहिल क्षेत्रमा मात्रै सात सय किलोमिटर पाइप बिछ्याइएको छ । हामीले पानी अभावको समस्या चाँडै समाधान गर्ने अठोट गरेका छौँ,” मन्त्री यादवले भने । त्यसै गरी, कीर्तिपुर र महाँकालचौरमा ६० लाख र ८० लाख लिटर क्षमताका दुई ठूला ट्याङ्कीहरूको निर्माण सम्पन्न भई ती क्षेत्रहरूमा नियमित आपूर्ति सुरु भइसकेको उनले जानकारी दिए ।
मन्त्रालयले सरसफाइ सुधारमा पनि विशेष प्राथमिकता दिएको उनले दाबी गरे । तर, असोज महिनामा आएको अविरल वर्षाका कारण धोवीघाट फोहोर पानी प्रशोधन केन्द्र डुबानमा परेपछि केही उपकरणहरू अवरुद्ध भएका थिए । मन्त्री यादवले समस्या समाधानका लागि तत्काल मर्मत थाल्न निर्देशन दिइएको र बिमा कम्पनीसँग छलफल गरी मर्मत कार्य अघि बढाउने तयारी भइरहेको समेत बताए । उनले भने, “सरसफाइ व्यवस्थापनमा कुनै सम्झौता हुने छैन । हामीले तुरुन्त समाधानको बाटो खोजिरहेका छौँ ।”
मन्त्रालयले भेरी पम्पिङ आयोजनालाई गति दिन २८ अगस्टमा चीनको झेजिङ टोलीसँग ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाइसकेको पनि मन्त्री यादवले बताए । पोखरा खानेपानी सुधार आयोजनामा भने बाढीका कारण अवरोध सिर्जना भएको छ । सेप्टेम्बर २४ मा आएको बाढीले आठ सय मिलिमिटर पाइपलाइनमा क्षति पुर्याएपछि मर्मत कार्य तीव्र गतिमा भइरहेको छ ।
यस्तै मन्त्रालयले देशभरिका विभिन्न जिल्लाहरूमा २० वटा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू सञ्चालनमा ल्याएको छ । यी आयोजनाहरू विभिन्न चरणमा रहेका छन्, जसमा पुरानो योजना मर्मतदेखि नयाँ आयोजना निर्माणसम्मका कामहरू समावेश छन् । मन्त्रालयले यी परियोजनाहरूलाई छिटो सम्पन्न गर्नका लागि अतिरिक्त बजेटको व्यवस्थापनका लागि प्रयास गरिरहेको मन्त्री यादवले बताए । परियोजनाहरूको सफल कार्यान्वयनले करिब १५ लाख मानिसलाई प्रत्यक्ष लाभ पुर्याउने उनले विश्वास व्यक्त गरे ।