वीरगंज । पर्सा प्रहरीले चाँदीकाे गरगहानासहित एक जनालाई पक्राउ गरेकाे छ । सप्तरीकाे राजविराज उपमहानगरपालिका वडा नं. २ मेघरा निवासी चितवनकाे खैरेनी नगरपालिका वडा नं. २ स्थित रहेकाे श्रीया ज्वेलर्सका संचालक ४३ बर्षिय अंगत साहलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित शंकराचार्य गेटबाट बुधबार विहान साढे ८ बजे उनलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।
भारतबाट अवैधरूपमा चाँदीका गरगहानाहरु ल्याउँदै गरेको सूचना प्राप्त भई खटेकाे प्रहरीले शंकास्पदरूपमा पैदल हिंडिरहेकाे उनलाई रोकी तलासी लिँदा निजले बोकेको फेक्टर एक्स लेखिएको कालो ब्याग भित्र चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू ५ के.जी.३३४ ग्राम फेला परेको प्रवक्ता खनालले जानकारी दिए ।
उनलाई उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएकाे प्रहरी कार्यालयले जनाएकाे छ ।