बीरगंज, १५ जेठ ।
वीरगन्जको प्रगतीनगरबाट ५ दिन अगाडी अपहरणमा परेको बालकको हत्या भएको छ । वीरगंज महानगरपालिका ३ प्रगतिनगरबाट गत शुक्रबार अपहरित स्थानिय शम्भु साहका छोरा ८ वर्षीय करण साहको हत्या भएको हो ।
जेठ १० गते घर नजिकैबाट अपहरणमा परेका करणको शव प्रहरीले फेला पारे पछि हत्या भएको खुलेको हो । बाराको कलैया उपमहानगरपालिका २५ मा पर्ने खौरहीस्थित खोलामा हत्या गरी फालिएको अवस्थामा बुधबार बिहान २ बजे करणको शव भेटिएको प्रहरीले जनाएको छ ।
करणको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतमा स्थायी घर भइ वीरगन्जको प्रगतिनगरमा डेरा गरी बस्दै आएका २० वर्षीय विकाश शर्मा, बाराको कलैया उपमहानगरपालिका ११ का २१ वर्षीय सिकेन्द्र साह तेली र बाराको खपरपाता निवासी २० वर्षीय रामविनेश महतो रहेका छन् ।
गत शुक्रबार बिहान आफ्नै घर अगाडी खेलिरहेका करण बेपत्ता भएका थिए । बालक बेपत्ता भएकै दिन बेलुकी ९ बजेर २१ मिनेटमा नचिनेको मान्छेले बालकका बुवा शम्भुलाई फोन गरी ३० लाख रुपैयाँ फिरौती मागेका थिए ।
प्रहरीका अनुसार, बालकको अपहरणपछि अपहरणकारीले सुरुमा ३० लाख फिरौती मागेको तर परिवारका सदस्यले त्यति रकम दिन नसक्ने भनेपछि ५ लाख दिने सहमत भएको थियो । तर, फिरौती रकम दिएपछि मात्रै बालक फिर्ता दिने अडान अपहरणकारीले लिएपछि पिडित शम्भुले प्रहरीलाई खबर गरेका थिए ।
शम्भुले प्रहरीलाई खबर गरेपछि बालकको खोजीमा जुटेको जिल्ला प्रहरी कार्यालय पर्सा र बाराको संयुक्त टोलीले बालकको अपहरण र हत्यामा संलग्न तीनैजनालाई मङगलबार नियन्त्रणमा लिएको थियो । पक्राउ परेका तीनै जनासँग प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुले करणको कलैया उपमहानगरपालिका २५ को खौरहीस्थित खोलामा हत्या गरी शव फालेको बयान दिएका थिए ।
त्यसपछि तीनजनालाई लिएर प्रहरी घटनास्थल गएको थियो । बुधबार बिहान २ बजेतिर प्रहरी पुग्दा बालकको शव भेटिएको थियो । त्यसबेला प्रहरीलाई नै झुक्याई अपरहरणकारी मध्येका विकास र सिकेन्द्र भाग्न खोजेपछि प्रहरीले चार राउण्ड गोली हानेर दुवैलाई पुन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
प्रहरीले चलाएको गोली विकास र सिकेन्द्रको खुट्टामा लागेको छ । दुवैजनाको कलैया अस्पतालमा उपचार हुन नसके पछि थप उपचार वीरगन्जको नारायणी अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
शम्भुको घर नजिकै डेरा गरी बस्दै आएका विकास अपहरण र हत्याको मुख्य योजनाकार रहेको प्रहरीले दावी गरेको छ ।
बालकका बुवा शम्भुसँग विकासको केही समय पहिले समान्य विवाद भएको र त्यही रिसबी साध्नका लागि बालकको अपहरण गरेर फिरौती असुल्न अपहरण गरी हत्या गरेको प्रहरीको भनाई छ ।
’रिसिबी साध्न अहपरण गरेकै केही बेरमा उनीहरुले करणको हत्या गरिसकेको बुझिएको छ, प्रहरी उपरीक्षक ढकालले भने, ’अपहरण गरेकै बेला करणको रकर्ड गरेको भ्वाइस् फोनमार्फत बालकका बुवा शम्भुलाई सुनाएर ३० लाख रुपैयाँ फिरौती मागेको अनुसन्धानबाट खुलेको छ ।
यता अपरहरणमा परेको बालकको खोजीमा प्रहरीले खासै चासो नदेखाएको आफन्तजनको गुनासो छ । नेपाली नम्बरबाट नै फोन गरी फिरौती माग्ने अपरहरणकारीको खोज तलाशमा प्रहरीले चासो देखाएको भए करणको ज्यान जाने थिएन पिडितको भनाई छ ।