Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026
Home Blog Page 95

रास्वपाद्वारा पर्सा–१ का सक्रिय सदस्यसँग अन्तरक्रिया, उम्मेदवार पन्तलाई जिताउन प्रतिवद्धता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पर्सा निर्वाचन क्षेत्र नं. १ का सक्रिय पार्टी सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहभागिहरुले पार्टीका उम्मेदवारलाई क्षेत्र नं. १ का विजयी गराउन प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूलाई विजय गराउन सबै तह र तप्काबाट कसरी प्रभावकारी भूमिका खेल्न सकिन्छ भन्ने विषयमा गहन छलफल तथा अन्तरक्रिया गरिएको थियो । छलफलका क्रममा सहभागीहरूले आ–आफ्ना दृष्टिकोण राख्दै विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा उठेका विषयहरूलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले प्राप्त भएका जायज सुझावहरू पार्टीले सहर्ष ग्रहण गर्ने प्रतिबद्धता जनाए । उनले आगामी फाल्गुन २१ गते नेपाली जनताले वर्षौंदेखि मौलाउँदै आएको भ्रष्टाचार, कुशासन, अनियमितता, नातावाद र कृपावादविरुद्ध मतपत्रमार्फत जवाफ दिने दाबी गरे।

सभापति पन्तले कार्यक्रममा देखिएको उल्लेखनीय पार्टी सदस्य तथा शुभेच्छुकहरूको उपस्थितिले आफू र पार्टीलाई थप हौसला मिलेको उल्लेख गर्दै पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।

सयौं रास्वपा सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्या, फैयाद मिया लगायतका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सहसचिव कृष्ण पास्वानले सञ्चालन गरेका थिए भने महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो।

पर्सा–२ काे अलाैंमा नेकपा उम्मेदवार मनोज चौधरीको घरदैलो

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरीले आज वीरगंज महानगरपालिका वडा नं. १७ अन्तर्गत अलौं र कोन्हिया क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार चौधरीले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय जनताका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। सो अवसरमा उनले कांग्रेस र एमालेको शासनकालमा मुलुक ठूलो जनधनको क्षतिमा परेकाले देश करिब १० वर्ष पछाडि धकेलिएको दाबी गर्दै वर्तमान परिस्थितिमा नेकपा नै एक मात्र विकल्प रहेको बताए।

चौधरीले नेकपाको नेतृत्वमा मात्रै देशले समग्र विकासको गति लिने विश्वास व्यक्त गर्दै जेन्जी पुस्ताको चाहना र आवश्यकताअनुसार काम गर्न सक्ने क्षमता नेकपामै रहेको जिकिर गरे। आफू विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएको र सधैं जनताको दुःख–सुखमा साथ दिँदै आएको उल्लेख गर्दै उनले निर्वाचन जिते पनि जनताको बीचमै रहेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू रामचन्द्र साह, बृजलाल पासवान, विपिन यादव, बिरेन्द्र यादव तथा पार्टी नेता जीवन राम, सुशील हजरा, लालमन वैइबा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

“रमेश रिजाल योग्य र सक्षम उम्मेदवार हुन्, जित सुनिश्चित छ” : नविन सिंह

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसको वडा स्तरीय भेला सम्पन्न भएको छ । भेलाले आगामी फागुन २१ गते हुने निर्वाचनमा पर्सा–४ बाट कांग्रेसका उम्मेदवार पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधिसभा सदस्य रमेश रिजाललाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका सह–सचिव नविन सिंहले पर्सा–४ मा कांग्रेस उम्मेदवार रमेश रिजालको जित सुनिश्चित रहेको दाबी गरे । उनले क्षेत्रका अन्य उम्मेदवारको तुलनामा रिजाल अनुभवी, योग्य र सक्षम नेता भएकाले जनताको विश्वास उनैमाथि रहेको बताए ।

सिंहले भने, “हाम्रा उम्मेदवार सधैं क्षेत्रका जनताको सुख–दुःखमा साथ रहनुहुन्छ । अरू उम्मेदवारजस्तो निर्वाचनको बेला मात्र देखिने होइन, त्यसैले कांग्रेसको जित निश्चित छ ।”

भेलाका प्रमुख अतिथि समेत रहेका युवा नेता सिंहले हावाको पछि नलाग्न नेता–कार्यकर्तालाई आग्रह गर्दै आगामी निर्वाचनमा कांग्रेसको विकल्प नरहेको जिकिर गरे । उनले लोकतन्त्र स्थापनादेखि सुदृढीकरणसम्म कांग्रेसको ऐतिहासिक योगदान रहेको उल्लेख गर्दै कांग्रेस नै लोकतन्त्रको वास्तविक पहरेदार भएको दाबी गरे ।

भेलामा सहभागी नेता–कार्यकर्ताले एकताबद्ध भएर घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्र बनाउँदै रमेश रिजालको जितका लागि सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पर्सा–२ मा रास्वपा उम्मेदवार कानुद्वारा घरदैलो, जनताका समस्या संसद्मा उठाउने प्रतिबद्धता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–२८ बहीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीयहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता, अपेक्षा र विकासप्रतिको चाहनाबारे जानकारी लिएका छन् । उनले जनताका आवाजलाई नीतिगत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

स्थानीयहरूले सडक, खानेपानी, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा सुशासनका विषयमा आफ्ना गुनासा र सुझावहरू राखेका थिए । सो अवसरमा उम्मेदवार कानुले निर्वाचित भएपछि ती समस्याहरूलाई संसद्मा प्रभावकारी रूपमा उठाउने र समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उम्मेदवार कानुले स्वच्छ राजनीति, जबाफदेही नेतृत्व र पारदर्शी शासन प्रणालीमार्फत पर्साको समग्र विकास सम्भव हुने उल्लेख गर्दै जनतासँगै अघि बढ्ने आफ्नो सङ्कल्प दोहोर्‍याए । “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो बल हो,” उनले भने, “जनताको चाहनाअनुसार काम गर्ने प्रतिनिधि बन्ने मेरो लक्ष्य हो।”

घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार कानुले क्षेत्रका विभिन्न वडाहरूमा घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।

नेत्रहीन युवा संघद्वारा तीन वर्षे परियोजना समापन गर्दै खेलाडी र कर्मचारीलाई सम्मान

सिमरा । नेत्रहीन युवा संघ नेपाल, बारा शाखाले शनिबार विशेष समारोहका बीच आफ्नो तीन वर्षे परियोजना सफलतापूर्वक समापन गर्दै कर्मचारी र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चम्काउन सफल खेलाडीलाई सम्मान गरेको छ।

सन् २०२३ देखि २०२५ सम्म सञ्चालित ‘एक्सन फर चेन्ज’ (Action for Change) परियोजना समापन अवसरमा फिल्ड मोबिलाइजर ज्योति कुमारी झालाई उनको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानका साथ बिदाइ गरियो। उनलाई कदरपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर विशेष उपहारसहित सम्मान गरिएको थियो।

सोही कार्यक्रममा सन् २०२५ मा सम्पन्न प्रथम नेत्रहीन महिला विश्वकप टी-२० क्रिकेटमा नेपाललाई उपविजेता बनाउन सफल र ‘म्यान अफ द सिरिज’ उपाधि हात पारेकी खेलाडी मन केसी चौधरीलाई पनि सम्मानपत्र, दोसल्ला र विशेष उपहार प्रदान गरी बधाई ज्ञापन गरिएको थियो।

समारोहमा नेत्रहीन युवा संघ बाराका अध्यक्ष सुधिर चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथिले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदमा उपमहानगरपालिकाको विशेष ध्यान पुग्न नसकेको स्वीकार गर्दै आगामी दिनमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथिको रूपमा अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा प्रसाद वाग्लेले अपाङ्गता भएका व्यक्तिहरूले अवसर पाएमा व्यक्तिगत मात्र नभई राष्ट्रकै गौरव बढाउन सक्ने बताउनुभयो। सिमरा क्रिकेट संघका अध्यक्ष पंकज शर्मा, खेलकुद महासंघ सिमराका प्रतिनिधि तथा विविध क्षेत्रका व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो।

संस्थाका सदस्य जीवन अधिकारीले स्वागत मन्तव्य राख्दै राज्यले अपाङ्गता भएका व्यक्तिहरूको सर्वाङ्गीण सहभागितामा पर्याप्त ध्यान नदिएकोमा चिन्ता व्यक्त गरे। सभापतिको आसनबाट बोल्दै अध्यक्ष सुधिर चौधरीले फिल्ड मोबिलाइजर ज्योति कुमारी झाको योगदान र खेलाडी मन केसी चौधरी जस्ता प्रतिभालाई थप हौसला दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

पर्सा–४ मा मुस्लिम संघद्वारा रमेश रिजाललाई विजयी गराउने प्रतिबद्धता

वीरगंज । पर्सा क्षेत्र नं. ४ को नेपाल मुस्लिम संघ क्षेत्रीय कार्य समितिको बृहत क्षेत्रीय भेला शनिबार जगरनाथपुर गाउँपालिका वडा नं. २, जानकीटोला चौकमा सम्पन्न भएको छ । भेलामा नेपाली कांग्रेससँग आवद्ध मुस्लिम सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

संघकाे क्षेत्रीय सभापति आफताब मियाँ धुनियाको अध्यक्षा र पर्सा क्षेत्र नं. ४ का उम्मेदवार रमेश रिजालकाे प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएकाे हाे । भेलालाई सम्बाेधन गर्दै उम्मेदवार रिजालले फगुन २१ गतेकाे निर्वाचनमा कांग्रेसकाे जित सुनिश्चित रहेकाे वताए । उनले कांग्रेसकाे जितले नै सबै समुदाकाे हित हुने दाबी गरे ।

कार्यक्रममा मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष महमद सहाबुदिन, केन्द्रिय सदस्य सहरुम गद्दी, जिल्ला अध्यक्ष हबीब मिया, उपाध्यक्ष इमरान मिया, सचिव महमद सबिर, तब्रेज आलम, प्रदेश क्षेत्र सभापति महमूद अन्सारी, नेपाली कांग्रेसका जिल्ला सभापति पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री, पर्सा प्रवक्ता रमेश पाण्डेय, क्षेत्रीय सभापति श्रीकान्त यादव लगायत अन्य मुस्लिम नेता तथा कार्यकर्ताहरूको बृहत उपस्थिती थियो।

भेलाले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रमेश रिजाललाई फागुन २१ गते हुने निर्वाचनमा विजयी गराउने प्रतिबद्धता जाहेर गरेको छ।

फागुन २१ काे निर्वाचनमा पर्साका चारै क्षेत्रमा रास्वपा जित्दै छ : सभापति मिश्र

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रले पर्साका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवार विजयी हुने दाबी गरेका छन्।

सभापति मिश्रका अनुसार, पर्सा क्षेत्र नं. १ मा हरि पन्त, २ मा सुशील साह कानु, ३ मा रामाकान्त चौरसिया र ४ मा टेक बहादुर शाक्य उम्मेदवार रहेका छन् । यी सबै उम्मेदवार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गेका हुन् ।

उनले भने, “रास्वपाले मधेशी नेता बालेन्द्र साह ‘बालेन’लाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको कारण जिल्ला सबै क्षेत्रमा जोश र उत्साह छ, र यसले जित सुनिश्चित बनाएको छ।”

सभापति मिश्रको दाबी अनुसार पार्टीका उम्मेदवारहरूले निर्वाचन अभियानमा जनसमर्थन व्यापक रुपमा प्राप्त गरेका छन्।

वीरगंज–२६ सुगौलीमा रास्वपा उम्मेदवार कानुको घरदैलो

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. २६ सुगौली विर्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील साह कानुले घरदैलो गरेका छन् ।

घरदैलो क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए । सो अवसरमा उनले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा विकासका विषयमा रास्वपाको धारणा राख्दै जनताको पक्षमा इमान्दार राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, सरसफाइ, रोजगारी तथा आधारभूत पूर्वाधारका विषयमा आफ्ना गुनासा तथा सुझाव राखेका थिए । उम्मेदवार कानुले ती समस्याहरू संसदमार्फत उठाउने र समाधानका लागि पहल गर्ने विश्वास दिलाएका छन् ।

घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

पर्सा–१ मा रास्वपा बलियो बन्दै, चार सयभन्दा बढी जेन्जी युवा प्रवेश

वीरगंज । पर्सा क्षेत्र नं. १ मा चार सयभन्दा बढी जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

शनिबार वीरगंजस्थित रोयल पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जेन्जी युवा नेता परबेज सेखको नेतृत्वमा कमलेश पटेल, रञ्जित साह कलवार, साहिल सेख, सन्नी अली, आनन्द चौहान, अजय पण्डित, सेख अल्ताफ, प्रियन्जन यादव, सञ्जीत साह, दानिश सेखलगायतका चार सयभन्दा बढी युवाहरू रास्वपामा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी युवा नेता परबेज सेखले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र मुलुकमा वास्तविक परिवर्तन ल्याउन सक्ने बताए । पर्साका जेन्जी युवाहरू परिवर्तनको पक्षमा उभिएको उल्लेख गर्दै उनले अब पर्सामा रास्वपालाई विजयी गराउन सम्पूर्ण जेन्जी युवा शक्ति सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए ।

उनले जेन्जी युवा नेताहरू सुदन गुरुङ, पुरुषोत्तम यादवलगायतका प्रमुख जेन्जी नेताहरू पहिल्यै रास्वपामा प्रवेश गरिसकेको स्मरण गराउँदै जेन्जी आन्दोलनलाई सम्बोधन गर्न सक्ने पार्टी रास्वपा मात्र भएको कारण आफूहरूको रोजाइ यही पार्टी बनेको स्पष्ट पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका पर्सा जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले जेन्जी युवाहरू नै पार्टीको सबैभन्दा ठूलो शक्ति र सम्पत्ति भएको बताए । युवाहरूको साथ र विश्वास पाएकाले आफू ढुक्कका साथ चुनाव जित्ने दाबी गर्दै उनले चुनावमा हुने पैसाको चलखेललाई कानुनसम्मत तरिकाले रोक्न युवाहरूलाई सक्रिय भूमिका खेल्न निर्देशन समेत दिए ।

कार्यक्रम रास्वपा वीरगंज महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो ।

पर्सा ४ काे छिपहरमाई र ठोरीमा कांग्रेसकाे वडास्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नं. ५, भिश्वा टोल तथा ठोरी गाउँपालिका वडा नं. ४, निर्मल बस्तीमा नेपाली कांग्रेसका अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।

भेलालाई सम्बोधन गर्दै क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजालले जनताको भरोसा, साथ र सक्रिय सहभागिताबिना समृद्ध र न्यायपूर्ण समाज निर्माण सम्भव नहुने स्पष्ट पार्नुभयो। उहाँले विकास, सुशासन र जनउत्तरदायी नेतृत्वलाई आफ्नो राजनीतिक प्रतिबद्धताको केन्द्रमा राख्दै स्थानीय जनताको हक–हितका लागि निरन्तर संघर्ष गर्ने दृढ संकल्प व्यक्त गर्नुभयो।

पूर्व मन्त्री एवं निर्वतमान सांसदसमेत रहेका रिजालले कांग्रेसको नेतृत्वमा मात्रै क्षेत्रको दिगो विकास सम्भव हुने दाबी गर्नुभयो।

भेलामा नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवलगायत नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले कांग्रेसको संगठन थप मजबुत बनाउँदै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।